एनसेलको नयाँ सीईओमा माइकल फोले नियुक्त

द एभरेष्ट पोष्ट
१२ कार्तिक २०८२ १३:२०
एनसेलको नयाँ सीईओमा माइकल फोले नियुक्त

काठमाडौं – एनसेलले आफ्नो नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ)का रूपमा माइकल फोलेलाई नियुक्त गरेको छ।

फोलेले प्रमुख कार्यकारी अधिकृतको कार्यभार सम्हालेसँगै कार्यवाहक सीईओका रूपमा कार्यरत सैयद इनामुल कबीर पुनः कम्पनीको प्रमुख वित्तीय अधिकृत (सीएफओ)को भूमिकामा फर्किने भएका छन्।

दुई दशकभन्दा बढी दूरसञ्चार क्षेत्रमा नेतृत्वको अनुभव बोकेका फोलेले यसअघि एयरटेलमा फ्रेन्च अफ्रिकाका प्रमुखको रूपमा सात अफ्रिकी बजारको जिम्मेवारी सम्हालेका थिए। त्यसअघि उनले टेलिनोर पाकिस्तान (टीपी)को सीईओका रूपमा सफलतापुर्वक कम्पनीलाई नाफातर्फ डोर्‍याएका थिए।

फोलेले ग्रामीणफोन (बंगलादेश) र टेलिनोर (बुल्गेरिया)को सीईओका रूपमा समेत काम गरिसकेका छन्। उनले यी कम्पनीहरूमा ७ करोडभन्दा माथि ग्राहक संख्या पु¥याउँदै ईबिट्डामा ६० प्रतिशतभन्दा बढी नाफा हासिल गरेका थिए। साथै, उनले टामीर माइक्रोफाइनान्स (इजीपैसा, पाकिस्तान) र टेलिनोर हेल्थको अध्यक्षका रूपमा समेत काम गरिसकेका छन्।

हाल उनी अफ्रिकाको अग्रणी एसेट माइक्रोफाइनान्स कम्पनी वाटु अन्तर्गत वाटु डीआरसी एसएको अध्यक्षका रूपमा कार्यरत छन्।

नियुक्तिपछि आफ्नो धारणा व्यक्त गर्दै उनले भने, “काठमाडौंमा एनसेलको यो जिम्मेवारी लिन पाउँदा म अत्यन्त खुसी र सम्मानित महसुस गरिरहेको छु। एनसेल देशका लागि महत्वपूर्ण पूर्वाधार हो, जसले नेपाली जनताका लागि नयाँ अवसरहरू सिर्जना गर्दै डिजिटल रूपान्तरणलाई अघि बढाउने, आर्थिक प्रतिस्पर्धात्मकता बढाउने र विदेशी लगानी आकर्षित गर्ने अपार सम्भावना बोकेको छ।”

एनसेल सञ्चालक समितिले फोलेप्रति विश्वास व्यक्त गर्दै भन्यो, “हामी उनलाई स्वागत गर्न पाउँदा अत्यन्त खुशी छौं। उनको रणनीतिक दृष्टिकोण र अनुभवले एनसेलको रूपान्तरणमा मार्गदर्शन गर्नेछ र समुदायप्रतिको हाम्रो सेवा प्रतिबद्धतालाई थप मजबुत बनाउनेछ।”

फोले म्याकगिल विश्वविद्यालयका स्नातक हुन् । उनले इनसीएडबाट ग्लोबल म्यानेजमेन्ट एन्ड गभर्नेन्स मा कार्यकारी प्रमाणपत्र प्राप्त गरेका छन्। उनी क्यानडा र केन्या दुबैका नागरिक हुन्।

सन् २००४ मा स्थापना भएर २००५ बाट सेवा सुरु गरेको एनसेल नेपालकै पहिलो निजी मोबाइल सेवा प्रदायक कम्पनी हो। यसले हालसम्म कर र शुल्कका रूपमा सरकारलाई ३६० अर्ब रुपैयाँभन्दा बढी तिरेको छ।

एनसेल फाउन्डेसनमार्फत शिक्षा, स्वास्थ्य, वातावरण, कला र संस्कृतिको क्षेत्रमा २ अर्ब रुपैयाँभन्दा बढीको सामाजिक उत्तरदायित्व (सीएसआर) परियोजना सञ्चालन गर्दै आएको पनि कम्पनीले जनाएको छ।

डिसेम्बर १, २०२३ मा बेलायतमा स्पेक्ट्रलाइट यूके लिमिटेडले आजियाटा ग्रुप बरहाद अन्तर्गतको आजियाटा यूकेमार्फत रेनल्ड्स होल्डिङ्स लिमिटेड को १०० प्रतिशत सेयर स्वामित्व लिएको थियो। रेनल्ड्सको एनसेलमा ८० प्रतिशत स्वामित्व रहेको छ।

फोलेको नियुक्ति कार्तिक १५ गतेदेखि लागू हुने कम्पनीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस