इन्दु बर्मा १ हजार रन बनाउने पहिलो नेपाली महिला खेलाडी

द एभरेष्ट पोष्ट
२१ असोज २०८२ १३:१२
इन्दु बर्मा १ हजार रन बनाउने पहिलो नेपाली महिला खेलाडी

काठमाडौँ  : नेपालकी कप्तान इन्दु बर्मा महिला ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा १ हजार रन पूरा गर्ने पहिलो नेपाली महिला खेलाडी बनेकी छन् । मलेसियासँगको चौथो ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलमा मंगलबार १५ रन बनाएसँगै इन्दुले यो कीर्तिमान हासिल गरेकी हुन् ।

इन्दुले ७७औँ खेलमा १ हजार रनको उपलब्धि पूरा गरिन् । उनको ट्वान्टी–२० अन्तर्राष्ट्रिय करियरमा अहिलेसम्म एउटा मात्रै अर्धशतक रहेको छ, जुन उनले सन् २०२१ मा कतारविरुद्ध दोहामा ५५ रन बनाउँदै गरेकी थिइन् । उनले हालसम्म ७३ चौका र ३ छक्का प्रहार गरिसकेकी छन् ।

नेपालका लागि महिला ट्वान्टी–२० अन्तर्राष्ट्रियमा सर्वाधिक रन बनाउने खेलाडीहरूको सूचीमा इन्दु अब शीर्ष स्थानमा पुगेकी छन् । यसअघि सीता रानामगरले ६२ खेलमा ९६५ रन र रुविना क्षेत्रीले ७८ खेलमा ९१६ रन बनाइसकेकी छन् । पछिल्ला दुई खेलमा सीता प्लेइङ ११ मा परेकी छैनन् ।

रुविना र सीतापछि इन्दु नेपाली महिला टोलीकी सबैभन्दा अनुभवी खेलाडी हुन् । उनले सन् २०११ देखि राष्ट्रिय टोलीमा खेल्दै आएकी हुन् । तर नेपालले सन् २०१९ देखि मात्र महिला ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल्न थालेको हो, त्यसैले उनको यो उपलब्धि पछिल्ला ६ वर्षको प्रदर्शनमा आधारित हो ।

२०१० मा सिंगापुरमा भएको एसीसी यू–१९ कप इन्दुको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता थियो । आजको जितसँगै नेपालले सिरिजमा २-२ को रोमाञ्चक बराबरी गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस