‘अपमानपूर्वक’ कप्तानबाट बर्खास्त गरिए रोहित, सन्न्यास लेलान् कि ब्याटबाट जवाफ देलान् ?

काठमाडौं । फ्यानहरुलाई आश्चर्यमा पार्दै भारतीय क्रिकेट बोर्डले हिजो रोहित शर्मालाई एक दिवसीय कप्तानबाट बर्खास्त गर्यो । युवा खेलाडी शुभमन गिल नयाँ कप्तान बनाइएका छन्, जो टेस्ट कप्तान समेत हुन् ।
राजीनामा गर्ने समेत अवसर नदिइकन रोहितलाई कप्तानबाट हटाइएकोप्रति उनका समर्थकहरु खुशी छैनन् । यसै वर्ष च्याम्पियन्स ट्रफी जिताएका कप्तानको यो बहिर्गमन अपमानजनक भएको उनीहरुको टिप्पणी छ । रोहितको भने कुनै प्रतिक्रिया आएको छैन । यद्यपि, उनले चाँडै सन्न्यास घोषणा गर्न सक्ने चर्चा सुरु भएको छ ।
अष्ट्रेलियाविरुद्धको तीन म्याचको एकदिवसीय श्रृंखलाका लागि गिललाई कप्तान बनाइएको हो । टिममा भने रोहितलाई स्थान दिइएको छ । यसअघि रोहितलाई हटाउने कुनै सार्वजनिक चर्चा थिएन । हरभजन सिंह लगायतका केही दिग्गज खेलाडीलेसमेत यो निर्णयप्रति आश्चर्य प्रकट गरेका छन् ।
चिफ सिलेक्टर अजित अगरकर भने यो निर्णयलाई ‘दीर्घकालीन रणनीति’ को हिस्सा बताउँछन् । ‘हामी २०२७ को वान डे विश्वकपको तयारीमा छौं । गिललाई कप्तानीको अनुभव दिनु जरुरी छ,’ उनले प्रेसमिटमा भने ।
तर, फ्यानहरू यो तर्कसँग सहमत छैनन् । रोहितले ५६ वानडेमा ४६ जित (८१.१४) जित दर) सहित च्याम्पियन्स ट्रफी २०२५ जिताएका थिए । उनी खेल्नका लागि शारीरिकरुपमा फिट पनि थिए । यस्ता लिजेन्ड खेलाडीलाई हटाउनु किन पर्यो ? सोसल मिडियामा फ्यानहरूले बीसीसीआईमाथि प्रश्न उठाएका छन् ।
एक प्रयोगकर्ताले लेखे, ‘रोहितलाई यस्तो अपमान ? उनले टिमलाई फाइनल र ट्रफी जिताए, तर यो व्यवहार ?’ बीसीसीआइ स्रोतले भने दुई वर्षपछि हुने एक दिवसीय विश्वकपलाई हेरेर नयाँ कप्तान बनाइएको जिकिर गरेको छ ।
स्रोतको हवाला दिँदै टाइम्स अफ इन्डियाले लेखेको छ, ‘रोहितको फिटनेस र हालको फर्ममा प्रश्न उठे । उनी पछिल्लो ६ महिनामा नियमित खेलिरहेका छैनन् ।’ तर, रोहितलाई औपचारिक रूपमा जानकारीसमेत नदिई यो घोषणा गरिएको भन्ने हल्लाले फ्यानहरू आक्रोशित देखिन्छन् ।
‘यो त धोनीको टेस्ट सन्न्यासको झल्को हो, तर कमसेकम धोनीले आफैं निर्णय लिएका थिए ’ एक फ्यानले ट्विट गरे ।
हिटम्यानको ब्याट चुप लाग्ला ?
रोहितले सन्न्यासबारे खुलेर बोलेका छैनन्, तर उनको हालको भिडियोले संकेत दिन्छ कि उनी ब्याट थन्क्याइहाल्ने पक्षमा छैनन् ।
‘म फेरि फर्किंदैछु, राम्रो लाग्छ ! ’ उनले जिममा प्रशिक्षण गर्दा बनाएको भिडियोमा भनेका छन् ।
मे २०२५ मा टेस्टबाट सन्न्यास लिएपछि रोहितले वानडे र टी–२० मा ध्यान दिने बताएका थिए । तर, कप्तानी खोसिएसँगै उनको भविष्य अनिश्चित देखिन्छ । बीसीसीआइले अष्ट्रेलिया सिरिज अगाडि नै एकदिवसीयबाट सन्न्यास लिन दवाव दिइरहेको समेत केही सञ्चारमाध्यमको दावी छ ।
एक ट्रेन्डिङ पोस्टमा लेखिएको छ, ‘रोहितका लागि अस्ट्रेलियाविरुद्धको सिरीज अन्तिम हुन सक्छ ।’ तर, रोहितनिकटका स्रोतहरु भने उनले २०२६ को टी–२० वल्र्ड कपसम्म खेल्न चाहेको बताउँछन् ।
बीसीसीआइमा दुई धार
बीसीसीआइका पदाधिकारीहरु कप्तानी परिवर्तनको विषयलाई लिएर दुई धारमा बाँडिएका थिए । एकथरिले रोहितलाई हटाउनु आवश्यक नभएकोमा जोड दिए भने अर्काथरिले चाहिँ २०२७ को एक दिवसीय विश्वकपका लागि अहिल्यैबाट गिललाई तयार गर्नुपर्ने अडान लिए । रोहितलाई हटाउन चाहनेहरुको बाहुल्य हुन गएको टाइम्स अफ इन्डियाले जनाएको छ ।
प्रमुख चयनकर्ता अगरकरले तीनवटा फम्र्याटमा तीन कप्तान राख्नु व्यवहारिक नहुने तर्क गरेका छन् । भारतको टेस्ट कप्तान गिल हुन् भने टि २० को कप्तानी सुर्यकुमार यादवले गरिरहेका छन् । तीन कप्तान हुँदा संयुक्त रणनीति बनाउन र समन्वय गर्न कठिनाइ भएको अगरकरको तर्क छ ।
साथै उनले विश्वकप अगाडि भारतको एकदिवसीय म्याच सिमित संख्यामा मात्रै भएकाले गिललाई अहिल्यै ग्रुम गर्न खोजिएको बताए । रोहितले एकदिवसीय विश्वकप खेल्ने निश्चित नभएकाले यो निर्णय लिनुपरेको उनको भनाइ छ ।
उमेरको कुरा गर्दा रोहित अहिले ३८ वर्षमा हिँडिरहेका छन् । विश्वकपको बेला उनको उमेर ४० वर्ष पुग्ने छ । त्यसबेलासम्म रोहितलाई टिममा राख्न नसकिनेमा बीसीसीआइका पदाधिकारीहरु सहमत बनेको दावी गरिएको छ ।
शुभमन गिलले १९ अक्टोबरबाट अस्ट्रेलियाविरुद्ध वानडे सिरिजमा कप्तानी सम्हाल्नेछन् । रोहित टिममा रहनेछन्, तर उनको भूमिका अब ब्याट्सम्यानमा सीमित हुन सक्छ । यो निर्णयले भारतीय क्रिकेटमा नयाँ युगको सुरुवात गरेको छ, तर रोहितको कथा यहाँ सकिएको छैन । सन्न्यासको हल्ला चर्किए पनि, हिटम्यानको जवाफ मैदानमा ब्याटले दिनेछ कि रु यो प्रश्नको उत्तरका लागि आउँदो सिरिजसम्म पर्खिनुपर्ने हुन्छ ।