जनकपुरमा दुर्गा भवानीको मूर्ति बिसर्जनका क्रममा दुबै समुदायबीच झडप, कर्फ्यू जारी
जनकपुरधाम,१७ असोज ।
धनुषाको जनकपुरधाम उपमहानगरपालिका २० देवपुरा रूपैठामा दुर्गा भवानीको प्रतिमा सेलाउन जाने क्रममा दुई समुदायबीच झडप भएको छ । झडप र ढुंगाहानाहानका क्रममा केही व्यक्ति घाईते भएका छन् ।
दुर्गा भवानीको मूर्ति सेलाउन जाने क्रममा दुई समुदायबीचको झडपपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले २३ सेल अश्रुग्याँस प्रहार गरेको थियो ।
झडपपछि थप क्षति हुन नदिन स्थानीय प्रशासनले साँझ ६ः३० बजेदेखि वडा नम्बर २० को विभिन्न स्थानमा कर्फ्यू आदेश जारी गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका सूचना अधिकारी प्रहरी निरीक्षक संजिव यादवले झडपछि एक अर्काको घरमा आगजनीको प्रयास भएको बताए । झडपपछि एक समुदायले तेलिया पोखरीको डिलमा बनाएको टहरा आगजनी गरेको छ ।
भदौ दोस्रो साता मात्रै गणेश पूजाको मूर्ति विसर्जन गर्ने क्रममा दुई समुदाय बीच झडप भएको थियो । एक समुदायले पोलमा राखेको झण्डा अर्को समुदायले हटाउन खोज्दा विवादपछि दुवै समुदायको झन्डा हटाइएको थियो । यस पटक दुर्गा भवानीको मूर्ति बिसर्जनका क्रममा पुनः दुबै समुदायबीच झड भएको हो ।
