बैंकिङ प्रणालीबाट ७० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

काठ्माडौँ- अधिक तरलता व्यवस्थापन गर्नका लागि नेपाल राष्ट्र बैंकले ७० अर्ब रुपैयाँ प्रशोचन गर्ने भएको छ । केन्द्रीय बैंकले ७ दिनका लागि उक्त रकम प्रशोचन गर्न लागेको हो ।

केन्द्रीय बैंकले आइतबार निक्षेप संकलन उपकरण बोलकबोलमार्फत केन्द्रीय बैंकले उक्त तरलता प्रशोचन गर्न लागेको हो । राष्ट्र बैंकले ब्याजदर करिडोरको तल्लो सीमाको रुपमा रहेको निक्षेप संकलन दरमा स्थायी निक्षेप सुविधा पनि उपलब्ध गराइरहेको छ । बोलकबोल गर्दा घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकममा बोलकबोल गर्न सकिने छ । उक्त रकमको साँवा र ब्याज भुक्तानी असोज १२ गते हुने छ ।

नारायणगढ–मुग्लिन सडक अझै अवरुद्ध, यात्रुहरु ३६ घण्टादेखि अलपत्र

चितवन- नारायणगढ– मुग्लिन सडक खण्डको तुइनखोलामा गएको पहिरो अझै हटाउन सकिएको छैन।

आइतबार बिहानैदेखि डिभिजन सडक कार्यालय भरतपुरको ३ वटा मेसिनले बिहानैदेखि पहिरो पन्छाउन सुरु गरिएको छ। तर अहिलेसम्मपनि पहिरो हटाएर सडक खुलाउन सकिएको छैन। माथिबाट पुनः पहिरो खसिरहेको कारणले गर्दा पनि पहिरो पन्छाउन थप चुनौती भएको हो।

शुक्रबार बेलुका साढे छ बजेदेखि पहिरोको कारण सडक खण्ड बन्द भएको थियो। बाटो बन्द हुँदा यात्रुहरू गन्तव्यमा पुग्न नसकेर अलपत्र परेका छन्।

यस सडक खण्ड भएर गुड्ने सवारीसाधन वैकल्पिक बाटो प्रयोग गर्न बाध्य भएका छन्।

आज समापन हुँदै सोह्र श्राद्ध

काठमाडौं– आज असोज ५ गते आइतवार असोज कृष्ण औँशीका दिनदेखि सोह्र श्राद्ध समापन हुँदैछ । आश्विन कृष्ण प्रतिपदादेखि प्रारम्भ भएको पितृ पक्ष आज अपराह्न कालमा दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी समापन गरिँदैछ ।
आश्विन कृष्ण प्रतिपदादेखि प्रारम्भ हुने पितृपक्ष आश्विन कृष्ण आमावास्याका दिन दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी आज समापन गर्न
हिन्दु परम्परा अनुसार छोरा तथा नातिले आफ्ना पितृहरूको श्राद्ध गर्नुपर्ने चलन छ ।

पितृ पक्षको अन्तिम दिन भएकाले वर्षभरि कुनै कारणले श्राद्ध गर्न असम्भव भएको खण्डमा अमावस्या औँशीका दिन श्राद्ध गरिन्छ ।

पितृहरूको उद्धारका लागि घर–घर र तीर्थस्थलहरूमा श्राद्ध गरी पितृहरूको सम्झना गर्ने धार्मिक प्रचलन छ ।

सर्व पितृ मोक्ष औँशीमा पनि अन्य श्राद्ध कर्ममा झैँ पितृहरूका नाममा श्राद्ध तर्पण गरिन्छ । श्राद्ध गर्नाले पितृहरूले आफ्ना सन्तानलाई ऋणमुक्त गरिदिने तथा चित्त शुद्ध गराउने मान्यता छ ।

दशैँ–तिहार लगायत नेपालीहरूका मुख्य चाडपर्वका अगाडि आउने पितृ पक्षमा पितृहरूको सम्झना र सम्मान गरिन्छ ।

सोह्र श्राद्धको अन्तिम दिन सर्व पितृ मोक्ष औँशीलाई पितृ विसर्जन गर्ने दिन भनिन्छ । यो औँशीमा श्राद्ध सम्पन्न गरेपछि मानिसहरू महान् चाड बडादशैँको तयारीमा लाग्ने गर्छन् ।

६–७ सय गाडी रोकिँदा हजारौँ यात्रुको बिचल्ली

चितवन ५ असोज । दसैँको मुखमा सवारीसाधनको चाप बढ्दै गएका वेला शुक्रबार साँझ साढे ६ बजेदेखि अवरुद्ध मुग्लिन–नारायणगढ सडकखण्ड शनिबार दिनभरको प्रयासमा पनि खुल्न सकेन । पहिरोले अवरुद्ध झन्डै डेढ सय मिटर सडक खुलाउने प्रयास शनिबार रातिसम्म सफल नभएपछि हजारौँ यात्रु बिचल्लीमा परेका छन् ।

मुग्लिङ बजारदेखि करिब दुई किलोमिटर दक्षिणपट्टि रहेको चितवनको इच्छाकामना गाउँपालिका– ६ स्थित तुइन खोला पुलछेउमा पहिरो गएपछि सडक दुईतर्फी अवरुद्ध भएको थियो । शुक्रबार साँझदेखि नै सडक खुलाउन पहल थाले पनि निरन्तर ठुल्ठुला ढुंगासहित पहिरो खसेपछि काम अघि बढ्न सकेन । शनिबार वर्षा नभए पनि सुक्खा पहिरो थियो ।

सडक खुलाउन नारायणगढपट्टि दुई र मुग्लिनपट्टि तीन गरेर पाँचवटा मेसिन परिचालन भएका थिए । शनिबार साँझ साढे ६ बजेतिर सडक खुलाउन अधिकांश काम सकिए पनि पुन: ठुला ढुंगासहितको पहिरो खस्दा समस्या भएको चिवतनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए । उनका अनुसार मानवीय हताहत भने छैन ।

‘एक–डेढ घण्टामा सडक खुल्ने आशा थियो । तर, भूकम्प आएजसरी ठुल्ठुला ढुंगासहित पुन: पहिरो आयो । त्यसले मेसिनलाई पनि क्षति पुर्‍यायो । यद्यपि, मानवीय क्षति भएन । त्यसपछि सुरक्षाको दृष्टिकोणलाई ध्यानमा राख्दै शनिबार रातिलाई बाटो खोल्ने काम स्थगित गरिएको छ,’ उनले भने, ‘आइतबार बिहान साढे ४ बजेदेखि पुन: काम सुरु गर्छाैँ । तर, वेलावेला पहिरो खसेकाले कति समय लाग्छ भनेर यकिन गर्न गाह्रो छ ।’

पटक–पटक सुक्खा पहिरो खसेपछि सडक खुलाउन नसकेको सडक डिभिजन भरतपुरका प्रमुख नारायणप्रसाद लामिछानेले बताए । उनका अनुसार त्यस क्षेत्रको भौगोलिक बनावट यसै पनि कमजोर छ । त्यसमाथि त्यहाँ टुक्रे चट्यान छ । त्यसले गर्दा पहिरो रोकिन समय लागेको उनको भनाइ छ । ‘पहिरोले डेढ सय मिटरभन्दा बढी सडक अवरुद्ध गरेको छ । कहिलेसम्म खुलाउन सकिन्छ भन्नै सकिन्न । निर्वाध रूपमा काम भए ८–१० घण्टा लाग्न सक्छ,’ उनले भने ।

सडक अवरुद्ध हुँदा दुईतिर गरेर हजारौँ गाडी अलपत्र परेको तथा दसैँका वेला यात्रा सहज बनाउन कठिन परिस्थिति आएको चितवनका प्रमुख जिल्ला अधिकारी अर्यालले बताए । ‘अहिले दुवैतर्फ ६–७ सय गाडी अलपत्र छन् । त्यसमा हजारौँ यात्रु अलपत्र छन्,’ उनले भने, ‘सडक कहिले खुल्छ भनेर भन्न सक्ने अवस्था छैन । दसैँका वेला कठिन परिस्थिति आयो ।’

हमासको ‘बिदाइ तस्बिर’मा विपिन

काठमाडौं ५ असोज । इजरायलले गाजामा सैन्य कारबाही बढाएपछि हमासको सशस्त्र शाखाले शनिबार गाजामा रहेका ४८ जना बन्दीको ‘बिदाइ तस्बिर’ भन्दै सामूहिक फोटो सार्वजनिक गरेको छ । अलजजिरा र इजरायलका सञ्चारमाध्यमले प्रकाशन गरेको सामूहिक तस्बिरमा २३ असोज ०८० देखि हमास समूहको नियन्त्रणमा रहेका नेपाली नागरिक विपिन जोशी पनि छन् ।

अनलाइनमार्फत सार्वजनिक तस्बिरमा जीवित र मृतक बन्दीहरूको अनुहार देखाइएको छ र सबैको नाममा ‘रोन अराड’ लेखिएको छ । यो नाम १९८६ मा लेबनानमा हराएका इजरायली वायुसेना क्याप्टेनसँग सम्बन्धित छ । उनलाई हमासले नियन्त्रणमा लिएर मारेको मान्ने गरिन्छ ।

हमासले बिहीबार नै इजरायली आक्रमण बढ्दै गए बन्दीको जीवन संकटमा पर्न सक्ने चेतावनी दिएको थियो । हमासको अल–कस्साम ब्रिगेडको वक्तव्यमा थियो, ‘तिमीहरूका बन्दीहरू गाजासिटीका बस्तीहरूमा फैलिएका छन्, । अपरेसन विस्तारको अर्थ हो कि तिमीहरूले कुनै पनि बन्दी प्राप्त गर्नेछैनौँ–न त जीवित, न त मृत । गाजा तिम्रा सैनिकहरूको चिहान हुनेछ ।’

यसैको श्रृंखलामा हमासले शनिबार बिदाइ तस्बिर भनेर सार्वजनिक गरेको हो । ‘हमास समूहको कास्साम ब्रिगेडले गाजामा रहेका ४८ जना बन्दीको एउटा तस्बिर सार्वजनिक गरेको छ, जसलाई उसले बिदाइ तस्बिर भनेर उल्लेख गरेको छ,’ अलजजिरामा माजियार मोतामेदीले समाचार लेखेका छन् ।

इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले यसबारे कुनै जानकारी नभएको बताए । ‘आधिकारिक रूपमा यस सम्बन्धमा हामीलाई जानकारी आएको छैन,’ राजदूत पण्डितले टेलिफोनमा नयाँ पत्रिकासँग भने । राजदूत पण्डितलाई विपिनका परिवारले पनि सोधखोज गरेका थिए । उनले परिवारलाई पनि आफूलाई जानकारी नभएको र इजरायली अधिकारीसँग सम्पर्क गरेर जवाफ दिने बताएका थिए ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमाससँग कुनै पनि सहमति गर्न अस्वीकार गरेको र इजरायली सेना प्रमुख एयाल जामिरले आक्रमण जारी राखेकै वेला हमासको चेतावनी आएको अलजजिराले जनाएको छ । बिदाइ तस्बिर सार्वजनिक हुनुलाई इजरायली अधिकारीले भने परिवारजनमार्फत हमास समूहले सैन्य अपरेसन रोक्न दिएको दबाबका रूपमा लिएका छन् ।

हमासको कब्जामा रहेका ५० मध्ये २० जना जीवित रहेको इजरायली अधिकारीहरूको विश्वास छ । इजरायलको सुरक्षा फौजले परिवारजनलाई बन्दीहरूको अवस्थाबारे यकिन सूचना नभएको जानकारी दिएका छन् । टाइम्स अफ इजरायलले शनिबार प्रकाशित गरेको समाचारअनुसार हमासको कब्जामा रहेकामध्ये कम्तीमा २६ जनाको मृत्यु पुष्टि भइसकेको छ र उनीहरूको शव हमासको नियन्त्रणमा छ । ‘२० जना अझै जीवित रहेको विश्वास गरिन्छ भने दुईजनाको अवस्था गम्भीर भएको आशंका छ,’ जेरुसेलम पोस्टले लेखेको छ ।

०८० असोज २३ मा निर ओज र किबुज आलुमिमबाट हमास समूहले गरेको हमलापछि उसले २५१ जनालाई अपहरण गरेको थियो । गत वर्ष जनवरीदेखि मार्च २०२४ सम्म भएको युद्धविरामको अवधिमा हमासले ३० जना बन्धक (२० जना इजरायली नागरिक, पाँचजना सैनिक र पाँचजना थाई नागरिक)लाई मुक्त गरेको थियो भने आठजना मृत इजरायली बन्धकको शव पनि फर्काइएको थियो । मे २०२४ मा हमासले एकजना अमेरिकी–इजरायलीलाई पनि रिहा गरेको थियो ।

त्यसअघि, नोभेम्बर २०२३ को अन्त्यमा भएको सातदिने युद्धविरामका क्रममा हमासले १०५ जना नागरिकलाई रिहा गरेको थियो । त्यहीबिचमा थप चारजना बन्धक मुक्त भएका थिए । तर, नेपाली नागरिक विपिन जोशीको अवस्था अझै अज्ञात छ ।

हमासले सार्वजनिक गर्यो विपिन जोशी सहित ४८ जना बन्धकको विदाई तस्बिर

काठमाडौँ, ४ असोज ।

हमासले आफ्नो नियन्त्रणमा रहेका ४८ जना बन्धकको बिदाई तस्बिर सार्वजनिक गरेको छ ।

प्यालेस्टिनी विद्रोही लडाकु हमासले शनिवार सार्वजनिक गरेको ४८ जना बन्धकको बिदाई तस्वीरमा कञ्चनपुरका बिपिन जोशीको तस्बिर पनि छ ।

इजरायलले गाजा क्षेत्रमा सैन्य आक्रमण तीव्र बनाइरहेको अगाडि बढिरहेको बेला बन्धकहरुको जीवन जोखिममा रहेको भन्दै हमासले बिदाइ तस्बिर सार्वजनिक गरेको हो ।

दोहा मुख्यालय रहेको अलजजिरा अनलाइनका अनुसार हमासको कसाम ब्रिगेड्सले सार्वजनिक गरे पनि उनीहरुको अवस्था र विस्तृत विवरण खुलाइएको छैन । प्रत्येकलाई १९८६ मा लेबनानमा हराएका इजरायली वायुसेनाका कप्तान रोन अराडको नाम राखिएको छ ।

कञ्चपुरका विपिनसहित ४८ जना ७ अक्टोबर २०२३ देखि हमासको नियन्त्रणमा छन् ।

एक महिना अघि विपिन जोशीकी आमा र बहिनीले ईजरायलको भ्रमण गरेकी थिईन् । उनीहरुले विपिनको रिहाईका लागि पहल गरिदिन ईजरायली सरकारसंगै हमाससंग आग्रह गरेका थिए । हमासको अपहरणमा परेयता विपिनको अवस्था अज्ञात छ ।

प्रधानमन्त्री कार्यालयले भन्यो: ढिलासुस्ती र घुस खोरी भए सिधै फोन गर्नुस्

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले सार्वजनिक सेवा लिँदा कतै ढिलासुस्ती गरे वा घुस मागे सिँधै फोन गर्न आग्रह गरेको छ। शनिबार एक सूचना जारी गर्दै प्रधानमन्त्री कार्यालयले फोन गर्न ‘हटलाइन नम्बर’ पनि सार्वजनिक गरेको छ।

‘सार्वजनिक सेवा प्रवाह गर्ने कुनै पनि सेवा प्रदायक मन्त्रालय,  कार्यालय, निकायमा सेवाग्राहीको काममा ढिलासुस्ती, मोल मोलाहिजा, काम पन्छाउने, घुस–रिसवत माग्ने, अनावश्यक दुःख हैरानी दिने, सेवाग्राहीसँग अपमानजनक व्यवहार गर्ने जस्ता कार्य भएमा देहायका नम्बरमा सम्पर्क गर्नुहुन सम्बन्धित सरोकारवालाहरूमा अनुरोध गरिन्छ,’ सूचनामा भनिएको छ।

प्रधानमन्त्री कार्यालयले हटलाइन नम्बर ९८५११४५०४५ पनि सार्वजनिक गरिएको छ।

कानुनी लफडामा फस्यो कपिल शर्माको शो

एजेन्सी । प्रोड्युसर फिरोज नाडियाडवालाले नेटफ्लिक्सलाई ‘हेरा फेरी’ फ्रेन्चाइजको बाबुराव गणपत राव आप्टेको भूमिकाबारे कानुनी नोटिस पठाए।

प्रोड्युसर फिरोज नाडियाडवालाले नेटफ्लिक्सलाई हेरा फेरी फ्रेन्चाइजको आइकोनिक पात्र बाबुराव गणपत राव आप्टेको भूमिका बिना अनुमति प्रयोग गरेको भन्दै कानुनी कारबाही अघि बढाएका छन्।

नाडियाडवालाका वकिल सना रईस खानले भनेका छन्, “बौद्धिक सम्पत्ति कुनै साधारण कुरा होइन, यो सिर्जनशीलताको आत्मा हो। मेरो क्लाइन्टको आइकोनिक पात्रलाई बिना अनुमति प्रयोग गर्नु मात्र उल्लंघन होइन, यो सबैभन्दा स्पष्ट व्यावसायिक चोरी हो। कानुनले त्यस्ता कानुनी रूपमा प्राप्त र सुरक्षित अधिकारलाई कमजोर हुन दिनेछैन।”

मिडिया रिपोर्टअनुसार नाडियाडवालाले करिब २५ करोड रुपैयाँको कानुनी नोटिस पठाएका छन्। तर, यसबारे आधिकारिक पुष्टि भइसकेको छैन।

यसबीच, अभिनेता अक्षय कुमार पहिलो पटक द ग्रेट इन्डियन कपिल शो मा देखिएका छन्। शोको अन्तिम एपिसोडको प्रोमोमा हास्य कलाकार कीकु शारदा बाबुरावजस्तै भूमिका गर्दै “ये बाबुराव का स्टाइल है” भन्ने आइकोनिक डायलग बोलेका देखिन्छन्।

बाबुरावको भूमिका मूलत: अभिनेता परेश रावलले हेरा फेरी (२०००) र फिर हेरा फेरी (२००६) मा निर्वाह गरेका थिए। पहिलो फिल्म प्रियदर्शनले निर्देशन गरेका थिए भने दोस्रो फिल्म स्व. नीरज वोरा निर्देशक थिए। यी दुवै फिल्ममा अक्षय कुमार र सुनील शेट्टी पनि मुख्य भूमिकामा थिए।

अब फेरि यी तीनै कलाकार हेरा फेरी ३ मा एकसाथ देखिनेछन्। फिल्ममा बाबुराव, श्याम र राजूका पात्रलाई पुनः प्रस्तुत गरिनेछ। यसपटक पनि निर्देशन प्रियदर्शनले गर्ने भएका छन्।

 

दसैँ टीकाको साइत कुन देशमा कहिले ?

काठमाडौं । बडादसैँको टीका विभिन्न देशमा लगाइने शुभसाइत सार्वजनिक गरिएको छ । अन्तर्राष्ट्रिय पञ्चांग निर्णय समितिले शनिबार (असोज ४) साइत सार्वजनिक गरेको हो ।

देशभित्रका निम्ति नेपाल पञ्चांग निर्णायक विकास समितिले यसअघि नै साइत सार्वजनिक गरिरहेको छ । नेपालमा असोज १६ गते बिहान ११ बजेर ५३ मिनेटमा दसैँ टीकाको उत्तमसाइत रहेको समितिले जनाएको छ ।

साइतको समय हेर्नुहोस:

dsfmg-1758368081.jpg

कर्जाको ब्याज अनुदानका लागि करिब १० अर्ब निकासा

काठमाडौँ, ४ असोजः सरकारले सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानका लागि करिब १० अर्ब निकासा गरेको छ । सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०८२ बमोजिम चालु आर्थिक वर्षका लागि आज रु नौ अर्ब ८० करोड निकासा गरेको अर्थमन्त्रालयले जनाएको छ ।

“चालु आर्थिक वर्षको स्वीकृत वार्षिक कार्यक्रममा सहुलियतपूर्ण कर्जा ब्याज अनुदान प्रयोजनका लागि दोस्रो त्रैमासिक अवधिमा विनियोजन रकमलाई कार्यक्रम संशोधनमार्फत प्रथम त्रैमासिक कायम गरी विगत सात वटा त्रैमासिकमा उपलब्ध गराइएको कर्जाको ब्याज अनुदान नेपाल राष्ट्र बैंकलाई शोधभर्ना उपलब्ध गराउन मन्त्रिस्तरीय निर्णय भएको छ”, अर्थमन्त्रालयका सहसचिव एवम् प्रवक्ता टङ्कप्रसाद पाण्डेद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

म शीतलनिवासमा ‘सेलिब्रेट’ गर्न होइन, नेताहरू शिर ठाडो पारेर नहिँडुन् भनेर गएको हुँ: सुदन

काठमाडौं ।  हामी नेपालका संस्थापक सुदन गुरुङले आफू राष्ट्रपति भवन शीतलनिवासमा ‘सेलिब्रेट’ गर्न वा भोज खान नगएको स्पष्ट पारेका छन्।

देश गम्भीर संकटमा परेको बेला संविधानको रक्षा गर्न र राजनीतिक दलहरूलाई उनीहरूको गल्तीको महसुस गराउन मात्र आफू त्यहाँ उपस्थित भएको उनले बताए।

शनिबार एक भिडियो सन्देश जारी गर्दै गुरुङले आफू शीतलनिवास जानुको कारणबारे उठेका प्रश्नहरूको जवाफ दिएका हुन्। उनले राजनीतिक दलहरूको ‘फुटाउ र राज गर’ को नीतिका कारण जनता विभाजित भइरहेको भन्दै यस्तो अवस्थामा सचेत रहन सबैलाई आग्रह गरे।

‘म त्यहाँ सेलिब्रेट गर्न गएको होइन,’ गुरुङले भने, ’नेताहरू सबै आउने भनेपछि, उनीहरू शिर उचालेर नहिँडुन् भनेर म त्यहाँ गएको हुँ।’

उनले आफू कुनै पनि नेतासँग एउटै कुर्सीमा समेत नबसेको र उनीहरूले दिएको चिया-पानीसमेत नखाएको दाबी गरे। ‘मेरो भाइबहिनीको रगतले बनेको सरकारमा मलाई उनीहरूको केही खानु मन छैन, म अशुद्ध हुन्छु भनेर मैले पानीसमेत खाइनँ,’ उनले भने।

गुरुङले जेन जी आन्दोलनपछि देशमा उत्पन्न संकटको घडीमा आफूले देशलाई अभिभावकविहीन हुनबाट बचाउन निर्णायक भूमिका खेलेको बताए। उनका अनुसार, यदि संविधान खारेज गरिएको भए राष्ट्रपति पद रिक्त हुने, देश अभिभावकविहीन हुने र बाह्य हस्तक्षेपको खतरा बढ्ने अवस्था थियो।

‘मलाई १५ मिनेटको समय दिइएको थियो, तपाईंहरूको भविष्यबारे के गर्ने भनेर निर्णय लिन,’ उनले भने, ‘संविधान खारेज गरेको भए राष्ट्रपति पनि जानुहुन्थ्यो, देश अभिभावकविहीन हुन्थ्यो। भारतबाट सेना आउन तयार छ भन्ने हल्ला थियो। के त्यस्तो देश चाहिएको हो हामीलाई ?’

उनले संविधानले नै सबैलाई सुरक्षा दिएको भन्दै त्यसलाई जोगाउनुको विकल्प नरहेको सुनाए। उनले कांग्रेस नेता गगन थापालाई भेटेर समेत ‘संविधानले तपाईंहरूलाई जोगाएको हो, अब यस्तो पाराले हुँदैन’ भनेर प्रष्ट कुरा राखेको जानकारी दिए।

गुरुङले राजनीतिक दलहरूले फैलाउने अफवाह र प्रोपोगान्डाबाट सचेत रहन आम नागरिकलाई आग्रह गरे। उनले ‘हामी नेपाल’ को आधिकारिक सूचनामा मात्र विश्वास गर्न र विभाजित नहुन अनुरोध गरे।

उनले देशका लागि लड्ने हरेक व्यक्ति ‘जेन जी’ र सच्चा नेपाली भएको बताउँदै अब सबै पुस्ताका नेपालीहरू एकजुट हुनुपर्ने बेला आएकोमा जोड दिए। उनले आफ्नो बोली र व्यवहारमा कमजोरी भए त्यसलाई सुधार्न तयार रहेको तर देश बनाउने अभियानमा सबै एक हुनुपर्ने बताए।

शेखरले भने: कांग्रेसले नेतृत्व परिवर्तनका नाममा जथाभाबी गर्न मिल्दैन

काठमाडौं ।  नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अहिले नेतृत्व परिवर्तनका नाममा जथाभाबी गर्ने बेला नभएको बताएका छन्। शनिबार विराटनगरस्थित कोइराला निवासमा आयोजित पत्रकार सम्मेलनमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले उठाएको नेतृत्व परिवर्तनको प्रस्तावबारेको प्रश्नमा बोल्दै नेता कोइरालाले यस्तो बताएका हुन्।

महामन्त्रीद्वय थापाले शुक्रबारको कार्यसम्पादन समितिको बैठकमा नेतृत्व परिवर्तनको विषय उठाएका थिए। तर सभापति शेरबहादुर देउवा अनुपस्थित भएकाले उक्त बैठकमा त्यस सम्बन्धमा थप छलफल भएन। सोही प्रसङ्गबारेको प्रश्न पत्रकारले कोइरालासमक्ष उठाएका थिए।

जबाफमा कोइरालाले भने, ‘कसले के भन्यो भन्ने होइन, नेपाली कांग्रेसले के भन्छ भन्ने कुरा महत्त्वपूर्ण हो। पार्टीको अन्तिम निर्णय केन्द्रीय समितिले गर्छ र त्यसलाई सबैले मानेर जानुपर्छ ।’

कोइरालाले अहिले नै नेतृत्व परिवर्तनको नाममा जथाभाबी गर्दै हिँड्न नमिल्ने पनि जबाफ दिए। ‘जथाभाबी अगाडि बढ्ने हुन्छ त ? मिल्छ ?,’ कोइरालाले प्रतिप्रश्न गर्दै अगाडि भने, ‘त्यो पनि सोचौँ न। तपाईँहरूले परिस्थिति बुझ्नुभएको छैन । परिस्थिति बुझ्नुभएको छ ? मैले यसअघि के बोलेको छु, त्यो म अहिले पनि अडिग छु ।’

पार्टीको केन्द्रीय समिति बैठकले गर्ने निर्णयलाई सबैले मानेर हिँड्नुपर्ने बताए।

आईफोन १७ प्रो र एयर सजिलै स्क्र्याच हुने समस्या, प्रयोग गर्दा सावधानी अपनाउनुपर्ने

काठमाडौँ । एप्पलको नयाँ आईफोन १७ प्रो र आईफोन एयर सिरिजमा एउटा अनौठो समस्या देखिएको छ । यी नयाँ मोडेलको पछाडिपट्टिको भागमा सामान्य प्रयोगमा पनि सजिलै कोतरिने (स्क्र्याच) समस्या आएको हो ।

शुक्रबार अन्तर्राष्ट्रिय सञ्चार माध्यम ब्लुमबर्गले एक रिपोर्ट सार्वजनिक गर्दै यसबारे खुलासा गरेको छ । रिपोर्टअनुसार आईफोन १७ प्रो र प्रो म्याक्सको ‘डिप ब्लु’ र आईफोन एयरको ‘स्पेस ब्ल्याक’ कलर भेरियन्टमा यो समस्या बढी देखिएको छ । यद्यपि यी फोन कसरी प्रयोग गरिएको थिए वा यो समस्या कति सामान्य हो भन्नेबारे स्पष्ट भइसकेको छैन ।​

एप्पलका लागि सबैभन्दा ठुलो बजार रहेको चीनका ग्राहकले सामाजिक सञ्जालहरूमा नयाँ मोडेल सजिलै स्क्र्याच भएको फोटो/भिडिओ सार्वजनिक गरिरहेका छन् । चिनियाँ सामाजिक सञ्जाल विबोमा शुक्रबार साँझ नयाँ आईफोन सजिलै स्क्र्याच हुने समस्याको टपिक ट्रेन्डिङमै परेको थियो । त्यस्तै प्रयोगकर्ताले एक्समा पनि पोस्ट राख्दै यो समस्याको गुनासो राखेका थिए ।

ब्लुमबर्गका अनुसार विज्ञले यसको कारण फोन निर्माणमा प्रयोग भएको सामग्री हुनसक्ने बताएका छन् । आईफोन १७ प्रो मोडेलमा अल्मुनियमको फ्रेम र पछाडि सिसाजस्तै देखिने ‘सेरामिक शिल्ड’ प्रयोग गरिएको छ । यसअघिको आईफोन १६ प्रो मोडेलमा भने टाइटेनियम फ्रेम थियो । टाइटेनियम अल्मुनियमभन्दा कडा र बलियो हुने भएकाले आईफोन १७ प्रो स्क्र्याचप्रति बढी संवेदनशील भएको हुन सक्ने अनुमान छ । त्यस्तै आईफोन एयरमा टाइटेनियम फ्रेम र सेरामिक शिल्ड ब्याक भए पनि यसको ‘स्पेस ब्ल्याक’ कलर भेरियन्टमा स्क्र्याच समस्या देखिएका छन् ।

एप्पल स्टोरमा राखिएका डिस्प्ले मोडेलमा पनि सजिलै स्क्रयाच भएका छन् । ग्राहकले आफ्नो व्यक्तिगत फोन जसरी डिस्प्ले मोडेललाई सावधानी नअपनाउने हुँदा यस्तो भएको हुनसक्ने बताइएको छ । तर, यसले नयाँ आईफोनका प्रयोगकर्तालाई आफ्नो डिभाइस प्रयोग गर्दा थप सचेत रहन र स्क्र्याचबाट जोगाउन केस प्रयोग गर्नुपर्ने सुझाएको छ ।

कैलाली कारागारका ३ सय ७७ कैदी अझै फरार

कैलाली । भदौ २४ गते कैलाली कारागारबाट भागेका ३ सय ७७ कैदी अझै परार रहेका छन् । ६ सय ६६ कैदी रहेको कारागारमा २ सय ८९ जना भने फर्किएका छन् । कारागार प्रशासनले फरार रहेका सबै कैदीलाई फर्कन भन्दै सूचना जारी गरेको थियो । तर पनि अहिले सम्म आधा भन्दा बढी कैदी फर्किएका छैनन् । जिल्ला कारागार कैलालीका जेलर चिरञ्जीवी सापकोटाले कैदीहरू सम्पर्कमा आउने क्रम जारी रहेको बताए ।

उनका अनुसार विभिन्न मुद्दामा सजाय काटिरहेका १८ भारतीय कैदी मध्य एक जना मात्रै कारागार फर्किएका छन् । अन्य परार रहेको र खोजिकार्य भइरहेको जेलर सापकोटाले बताए ।  पक्राउ परेका कैदीहरू मध्य चार जना घाइते भएका छन् । उनीहरूको उपचार भइरहेको र अवस्था सामान्य रहेको कारागार प्रशासनले जनाएको छ  ।

कैलाली कारागारमा ५८ महिलासहित ६६७ जना कैदी बन्दी थिए। जेन्जी प्रदर्शनका क्रममा ६६६ कैदी बन्दी भागेको कारागार फरार भएका थिए ।

रिलिजको केही घण्टामै युट्युब ट्रेन्डिङको पहिलो स्थानमा ‘बलिदान’ ट्रेलर

काठमाडौं । दशैँको फूलपातीमा रिलिज हुने नेपाली चलचित्र ‘बलिदान’को ट्रेलरले युट्युबमा तहल्का मच्चाएको छ । सार्वजनिक भएको केही घण्टामै यो नेपालको युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा पुगेको छ ।

साथै, नेपालीको बसोबास भएका अन्य मुलुकहरूमा पनि यसले ट्रेन्डिङमा आफ्नो स्थान बनाएको छ । धेरै समयदेखि चर्चामा रहेको चलचित्र ‘बलिदान’को ट्रेलर शुक्रवार सार्वजनिक भएसँगै दर्शकमाझ यसले थप उत्सुकता जागेको छ ।

ट्रेलरमा समावेश शक्तिशाली संवाद, तीव्र एक्सन दृश्य र भावनात्मक प्रस्तुतिले धेरै दर्शकको मन जितेको देखिन्छ । विशेष गरी, समीर भट्ट, ऋचा शर्मा, सौगात मल्ल र अर्पण थापाको फरक अवतार र अभिनयले ट्रेलरलाई आकर्षक बनाएको छ ।

ट्रेलरको भावनात्मक सुरुवातदेखि समीर भट्टको शक्तिशाली संवाद र एक्सनले दर्शकलाई बाँधेर राख्छ । यसमा सौगात मल्ल र समीरबीचको द्वन्द्व अनि अन्य पात्रहरूको प्रस्तुतिले चलचित्रको कथावस्तु झन् रोमाञ्चक हुने देखाएको छ ।

छायाङ्कन, संवाद र ब्याकराउन्ड स्कोरको उत्कृष्ट संयोजनले ट्रेलरलाई उच्चस्तरको बनाएको छ ।

चलचित्रका निर्देशक सन्तोष सेनले ‘बलिदान’लाई केवल चलचित्र नभई हरेक नेपालीको विद्रोहको प्रतीक भनेर बताए, जसले गर्दा यो चलचित्र नेपाली दर्शकका लागि अझ विशेष बनेको छ । यसको शीर्षक गीत ‘यो ज्यान बलिदान’ पनि पहिले नै चर्चामा आइसकेको छ ।

 

नेपाली महिला क्रिकेट टोलीले मलेसियासँग पाँच खेलको टी-२०आई शृंखला खेल्ने

काठमाडौं । नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले मलेसियासँग पाँच टी–२० अन्तर्राष्ट्रिय खेल खेल्ने भएको छ। मलेसियाको कुआलालम्पुरमा आगामी अक्टोबर २ देखि ८ सम्म शृंखला हुनेछ।

यसअघि तयारी स्वरूप टोलीका खेलाडीहरू सेप्टेम्बर २४ देखि ३० तारिखसम्म हुने मलेसियन सुपर वुमन सिरिजमा सहभागी हुनेछन्। उक्त प्रतियोगितामा १४ खेलाडी फरक–फरक पाँच टोलीबाट खेलेर अनुभव बटुल्नेछन्। नेपाल क्रिकेट संघ (क्यान) का अनुसार मलेसिया भ्रमणका लागि १४ सदस्यीय टोली घोषणा गरिएको छ ।

टोलीमा इन्दु बर्मा, पूजा महतो, राजमती ऐरि, सम्झना खड्का, कविता जोशी, रिया शर्मा, सोमु बिस्ट, रचना चौधरी, रुबी पोद्दार, यशोदा बिस्ट, सावित्री धामी, कविता कुँवर, रुबिना क्षेत्री, सीता राना मगर छन् ।

नेपाली महिला टोलीले आगामी जनवरीमा घरेलु मैदानमै हुने महिला टी-२० विश्वकपको ग्लोबल छनोट खेल्दै छ । त्यसको तयारीका लागि यी कार्यक्रमहरू राखिएको हो ।

भारतीय दूतावासले आफ्ना नागरिकको हकमा नेपालबारे जारी गर्‍यो ‘एडभाइजरी’

काठमाडौं । भारतले जेनजी आन्दोलनयता बिग्रिएको नेपालको अवस्था केही सुधार भए पनि यात्रा गर्दा अझै सावधानी अपनाउन आफ्ना नागरिकलाई सुझाव दिएको छ। काठमाडौंस्थित भारतीय दूतावासले आफ्ना नागरिकका लागि एडभाइजरी जारी गरेको हो।

नेपालस्थित भारतीय दूतावासले भनेको छ, ‘नेपालको स्थितिमा केही हप्ताको तुलनामा सुधार आएको छ। सडक यातायात र उडान नियमित रूपमा सञ्चालन भइरहेका छन्।’

‘यद्यपि नेपाल यात्रा गर्ने भारतीय नागरिकलाई सावधानी अपनाउन र भारतीय दूतावास वा स्थानीय अधिकारीले जारी गरेका सल्लाह पालना गर्न सल्लाह दिइन्छ।’ भारतीय दूतावासले आफ्ना नागरिकलाई सहयोग गर्न हेल्पलाइन नम्बर, आपत्‌कालीन नम्बर र इमेल ठेगाना पनि जारी गरेको छ।

शुक्लाफाँटामा क्रिकेटः फुटेको पिचमै फुल्दै आशाको सपना

कञ्चनपुरः फुटेको पिच, बल, च्यातिएको जाली, टुटेको ब्याट र जीर्ण खेलमैदानमा शुक्लाफाँटा नगरपालिकाका क्रिकेट खेलाडीले दैनिक अभ्यास गर्दै आएका छन।

क्रिकेट खेल्न आवश्यक आधारभूत सामग्रीको अभाव हुँदाहुँदै पनि खेलाडीहरूको उत्साह भने घटेको छैन। अभावै अभावका विचमा निरन्तर अभ्यास गरेर उत्कृष्ट प्रदर्शन गरी क्रिकेट खेलाडीले शुक्लाफाँटालाई उर्वर थलोका रूपमा चिनाएका छन्। धर्मजनता विद्यालय र कालिका माध्यमिक विद्यालयको मैदान अहिले स्थानीय क्रिकेट खेलाडीहरूको मुख्य अभ्यासस्थलका रूपमा रहेका छन्।

“ती मैदानमा कहिले गाई, भैँसी त कहिले बाख्राको चराउनेको भीड हुन्छ, अभावैअभावका बीच पनि अभ्यास जारी राख्दै आएका छौँ”, प्रशिक्षक साजन गौतम भने, ”हामीसँग सुविधा छैन, तर सपना छ, यही सपना पूरा गर्ने जोशका कारण क्रिकेटमा भविष्यको सपना बुनेका खेलाडी अभ्यासमा अभ्यस्त हुँदै आएका छन्।”

उहाँका अनुसार गत वर्ष प्रधानमन्त्री कप प्रदेशस्तरीय महिला क्रिकेटमा शुक्लाफाँटाकै तीन खेलाडीले प्रदेशको प्रतिनिधित्व गरे। टोली उपविजेता बनेपछि ठूलो खुसी छाएको उनी बताउछन्। “यस वर्ष प्रधानमन्त्री कप प्रदेशस्तरीय महिला अण्डर–१९ प्रतियोगितामा उपाधिनै जित्दा उत्साह झनै बढेको छ”, प्रशिक्षक गौतम भन्छन्, “यो गति कायम रह्यो भने सन् २०२७ को महिला अण्डर–१९ विश्वकपमा शुक्लाफाँटाका महिला खेलाडी नेपालका लागि मैदानमा उत्रिने विश्वास छ।”

प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा सहभागी भई उत्कृष्ट प्रदर्शन गरेकी खेलाडी रविना धामीले भनिन्, “अभ्यास गर्ने पूर्वाधारको सुविधा छैन, तर पनि राष्ट्रियस्तरमा पुग्न सकेका छौँ भने अझै मिहिनेत गरी रहेका छौँ, निरन्तर अभ्यासमा जुट्दै आएका छौँ, ठूलो सपना देख्न पाइन्छ भन्ने आत्मविश्वास बढेको छ।”

पुरुष क्रिकेटको अवस्थासमेत उस्तै छ। संरचना नहुँदा कठिनाइ भए पनि प्रदेश र राष्ट्रियस्तरमा निरन्तर प्रगति गरिरहेका छन् । यसै क्षेत्रबाट ललित भण्डारी, आशिष लुहार र सुशील रावलले अन्तरराष्ट्रियस्तरसम्मका प्रतियोगितामा सहभागिता जनाइसकेका छन्। सरोज ऐर, रमेश भट्ट, सुरज तिरुवा, कैलास ऐरलगायतले राष्ट्रिय टोलीमा खेलिसकेका छन्। यी उपलब्धिले शुक्लाफाँटा क्रिकेटका लागि उर्बर भूमि बनेको पुष्टि गर्छ। पुरुष अण्डर १६ र १९ लाई राष्ट्रिय प्रतियोगितासम्म पु¥याउने लक्ष्य लिएर प्रशिक्षणको कार्य भइरहेको साजन बताउनुहुन्छ, तर कठिनाइ अनगिन्ती छन्। अभावकै कारण धेरै प्रतिभा हराइरहेका छन् । प्रतिभा भएर पनि अवसर नपाउँदा नगरपालिकाका धेरै जना क्रिकेटका खेलाडी घरको आर्थिक अबस्था नाजुक हुँदा जीविकोपार्जनका लागि भारततर्फ लागेका छन्।

यहाँका अधिकांश खेलाडीका परिवार भारतीय बजारमा मजदुरी गर्छन् वा गाउँमै ज्यालामा निर्भर छन्। त्यस्ता अवस्थामै पनि उनीहरूले क्रिकेटलाई निरन्तरता दिएका छन् बल र नेट खरिद गर्नै मुस्किल हुने अवस्था छ। अभ्यास मैदानको पिच वर्षौंदेखि जीर्ण अवस्थामा छ। प्रशिक्षक गौतमको भनाइमा तत्कालीन आवश्यकता भनेकै ट्रफ विकेट, नयाँ नेट, बल र फेन्सिङको हो । “यी आधारभूत कुरा भए अन्तरराष्ट्रियस्तरका थप खेलाडी निस्कन सक्छन्”, गौतमले भने।

प्रशिक्षक गौम भन्छन्, “स्थानीयस्तरमा केही सहयोगी हात बढेका छन्, खेलप्रेमीहरूले बल र अन्य सामग्री उपलब्ध गराएका छन्। तर खेललाई दिगो बनाउन नगरपालिकादेखि प्रदेश सरकारसम्मको ध्यान आवश्यक छ।” क्रिकेटको लोकप्रियता यहाँ यति बढेको छ कि विद्यालयस्तरमा हुने प्रतियोगिता हेर्न सयौँ दर्शक जुट्छन्।

युवाहरूका हातमा ब्याट–बल देख्दा अभिभावकले गर्व गर्ने गरेका छन्। स्थानीय खेलप्रेमी सरोज ऐर भन्छन्, “हाम्रो नाम क्रिकेटकै कारण टाढाटाढा पुगेको छ, संरचनागत सहयोगको आवश्यक छ, आवश्यक सामग्रीको अभावपूर्र्ति हुने हो भने यो क्षेत्र क्रिकेटको हब बन्न सक्छ।”

शुक्लाफाँटामा क्रिकेटको चहलपहल करिब दुई दशकअघि नै सुरु भएको हो। तर संरचना र अभ्यास गर्ने उचित ठाउँ नहुँदा धेरै प्रतिभा हराउँदै गएका छन् । युवा खेलाडीहरूले गर्दै आएको प्रदर्शनले शुक्लाफाँटालाई क्रिकेटको केन्द्रका रूपामा चिनाउने विश्वास ऐर व्यक्त गर्छन्।

पहिरोका कारण नारायणगढ-मुग्लिन सडक अवरुद्ध

चितवन ४ असोज । नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा ठूलो पहिरो खसेको छ । शुक्रबार साँझ ६ः०० बजेदेखि निरन्तर खसेको पहिरोले १०० मिटर सडक ढाकेको छ ।

डिभिजन सडक कार्यालय चितवनका प्रमुख नारायण लामिछानेका अनुसार रातभर पटक–पटक गरी खसेको पहिरोले करिब १०० मिटर सडक ढाकेको हो । उनका अनुसार झण्डै १०० मिटर माथिबाट पहिरो झरेको हो । निरन्तर पहिरो खसिरहेकाले रातको समयमा पहिरो पन्छाउन सकिएको थिएन । बिहान उज्यालो भएसँगै पहिरो पन्छाउने काम सुरु गरिएको छ ।

दुवैतर्फबाट एक–एक वटा लोडरले पहिरो पन्छाउने काम थालेका छन् । नारायणगढतर्फ सेती दोभान क्याम्पमा रहेको एउटा स्काभेटर पनि पठाइएको लामिछानेले बताए ।

पहिरो ठूलो भएको र ढुङ्गा झरिरहेकाले थप पहिरो नखसेमा चार घण्टामा सडक सफा गरेर सवारी सञ्चालन गर्न सकिने अनुमान गरिएको लामिछानेको भनाइ छ ।

शुक्रबार दिउँसो पटक पटक पहिरो खसेर सफा गरिएको थियो । साँझ ६ : ०० बजेपछि सडक बन्द भएकाले यात्रुहरू रातभर सडकमा बस्न बाध्य भएका छन् । पहिरो खसेको ठाउँ मुग्लिनबाट २.५ किलोमिटर नारायणगढतर्फ पर्दछ ।

 

देशले फेरि जल्नु नपरोस्

लेखक :- डा. राधिका बुढ्थापा – देशले इतिहासमै पहिलो पटक महिला प्रधानमन्त्री पाएको छ । सर्वप्रथम नेपालकै विकट जिल्ला जुम्लाकी महिलाको तर्फबाट हार्दिक बधाई दिन चाहन्छु ।

प्रधानमन्त्री सुशीला कार्कीज्यू, स्वार्थ बोकेका बग्रेल्ती पार्टी, यिनका नेता, कार्यकर्ता र सधैं अशान्तिको चाहना राख्ने छर-छिमेकको कर्के नजरका बीचमा तपाईंको कार्यकाल शुरु भएको छ । जर्जर अवस्थाको देश र रेमिट्यान्सको भरमा बाँचेको अर्थतन्त्रले तपाईंको कार्यकालमा सन्तोषको सास फेर्ने र रोजीरोटीका लागि संसारभर छरिएर रहेका हाम्रा सन्ततिले कुशल अभिभावकका रूपमा सदा सम्झिने सबैको अपेक्षा छ ।

तपाईंले नेपाली महिला सक्षम छन्, आवश्यकता पर्दा चुल्हो-चौकोबाट बाहिर निस्केर देश हाँक्ने क्षमता राख्छन् भन्ने प्रमाणित गर्नुहुनेछ भन्ने हामीलाई विश्वास छ ।

समाजमा जरा गाडेर बसेको परम्परागत सोच, वर्तमानको दलगत संरचना, अन्तरपार्टी गुटबन्दी आदिका कारण राज्यका निकायहरूमा भएको भनिएको महिला प्रतिनिधित्व यिनीहरूमा विद्यमान कार्यक्षमता, भूगोल, योग्यता, वर्गभन्दा पनि शीर्ष नेताहरूको चाकडीको घेराभन्दा बाहिर आउन सकेन, यो जगजाहेरै छ ।

विडम्बना, कसैको दया–मायामा नभई जनताको बलिदानीबाट प्राप्त अधिकार समेत यस्तै यस्तै अनेकौं कारणले ओझेल पार्दै लग्यो । यही परिवेशले महिलालाई कार्यकारी नेतृत्वमा पुग्न मात्र हैन पुरुष सरहको सामान्य जीवन जिउन समेत सधैं बाधा पुर्‍याइरह्यो । यही छट्पटीको अवस्था हाम्रा कलिला भावी सन्ततिमा समेत वर्षौं कायम रहिरह्यो । फलस्वरूप, धनजनको अथाह क्षतिका साथ महासङ्कट आइलाग्यो ।

नेपाल आमाका सपुतहरूको त्याग र बलिदानले आज देशलाई एकपटक फेरि सोच्न र सकारात्मक निकास निकाल्न बाध्य बनायो । दुई दिनमै यस ज्वालामुखीले प्रत्येक दलहरूमा हालीमुहाली गरेर आसन जमाएकाहरूको गद्दी नराम्रोसँग हल्लाइदियो । जो आफ्नो ज्यानको बाजी लगाएर मैदानमा उत्रे अनि यी ‘बादशाहहरू’ लाई घोडाबाट झारेरै छाडे ।

वर्षौंदेखि जरा गाडेर बसेका प्रत्येक पार्टीका नवसामन्तहरू मुख देखाउन नसकेर सैनिक सुरक्षा घेराभित्र लुक्न बाध्य भए । मुलुकका खलपात्रहरूले अब या त परिवर्तनलाई आत्मसात् गर्नुपर्छ या चुप लाग्नुपर्छ । अँध्यारा कोठामा लुकेर षडयन्त्रका तानाबाना बुनेर पटक–पटक देशमा आगो लगाउने र लगाउन लगाउने काम बन्द गर्नुपर्छ ।

सबैलाई ज्ञात नै छ, यसपटकको रक्तपात घमण्ड र पालोपालो देशलाई कंगाल बनाउन पल्केकाहरूको सहमतिमा सरकारी बन्दुक बहुलाएर सिर्जना भएको हो । कैयौं कलिला युवायुवतीको निधार र छाती ताकी–ताकी गोली हानिएको छ ।

जनताका करबाट बनेका अर्बाैं खर्बाैंका सम्पत्ति एक दिनमै जलेर खरानी भयो । कलिला स्कूले बालकहरू विद्यालयको पोशाक र झोला बोकेरै सडकमा उत्रिएर गोली खाएपछि आजको यस भयावह परिवेशमा भत्केका भौतिक संरचना र बिग्रेको हाम्रो मानसिकतालाई ठिक ठाउँमा ल्याउने गहन जिम्मेवारी एक जना महिलाको काँधमा आएको छ । अक्षम पुरुषहरूका कारण आगोमा परिणत भएको देशमा शान्ति ल्याउने र चहर्‍याइरहेका घाउमा मल्हम लगाउने गम्भीर जिम्मेवारी महिलाले बहन गर्नुपर्ने भएको छ ।

प्रधानमन्त्रीज्यू, ऐतिहासिक यो जिम्मेवारी जनताको रगत–पसिनाले आर्जेको सम्पत्तिले नेताहरूको भण्डार भरिएपछि, नेपो बेबीहरू राजकुमार र राजकुमारी बन्न थालेपछि, दलका नेता र कार्यकर्ताहरू भ्रष्टाचारको आहालमा डुबुल्की मार्न थालेपछि, वर्षौंदेखि गुम्सिएर बसेको असन्तुष्टि भयानक ज्वालामुखी भएर विस्फोट भएको हो । जनताको यो नासोको हेक्का सधैं भइरहोस् ।

राज्यका प्रत्येक तहमा धमिराले खाएर जर्जर पारेकोे हाम्रो राज्यप्रणाली पक्कै जानकारी होला । जेन–जीको स्वत:स्फूर्त आन्दोलन दुई दिन पनि पुग्न पाएन सरकार डङ्रङ्गै ढल्यो । कसैले टेकोसम्म दिएन, दिन पाएन । यो पक्कै यसै ढलेको होइन ।

जनता आजको कर्मचारीतन्त्रसँग वाक्क छन्, हिजोका दिनसम्म देशकै जिम्मा लिएर बसेका राजनीतिक पार्टीहरूसँग दिक्क छन्, आफ्नो तीनपुस्ते सपार्न गजधम्म बसेका सबैखाले खलपात्रहरूसँग दिक्क छन् । यो नै आजको कटु यथार्थ हो । यिनले त आफन्त र आफ्ना दामदातालाई नियुक्ति दिलाउने काम मात्र गरे यतिका वर्ष । यस देशका प्रत्येक उमेर समूहका जनता चाहन्छन्, अब फेरि यस कुप्रवृत्तिले टाउको नउठाओस्, कुनै नेपालीले पनि संसारका कुनै कुनामा पनि नेपालमा जन्मेको कारणले हीनताबोध गर्न नपरोस् ।

यतिका वर्षसम्म देश र जनताको तत्कालीन आवश्यकता, जनजीविका, राष्ट्रियता आदि जस्ता अत्यन्त गम्भीर सवालमा कहिल्यै पनि कोही पनि गम्भीर भएनन् । इतिहास साक्षी छ, यिनीहरूले आफ्नो कुर्सी डगमगाएको अवस्थामा बाहेक अन्य राष्ट्रिय सवालहरूमा कहिल्यै पनि छलफल गरेनन् ।

१२ कक्षा उत्तीर्ण भएपछि हाम्रा विद्यालयका कक्षाकोठाहरू खाली हुन्छन् । एक दिनमा करीब दुई हजार नेपाली युवाहरू त्रिभुवन विमानस्थलबाट मात्र श्रम गर्न बाहिरिन्छन् । अरू मार्गको बाटो गरेर बाहिरिनेहरूको त लेखाजोखा नै छैन । यहाँका श्रममन्त्री देशका युवा कुन देशमा पठाउँदा देशमा धेरैभन्दा धेरै रेमिट्यान्स भित्रिन्छ भन्ने धुनमा हुन्छन् । विमानस्थलबाट नेपालीका लासहरू नभित्रिएको दिन हुँदैन । यस समस्याको समाधान निकाल्न कुनै नेता जिम्मेवार देखिंदैनन् ।

देशभरि विकास निर्माणका कामहरूको बिजोग छ । सरकारी योजनाहरू सबै भागबन्डामा हुने गर्छन् । कामको गुणस्तरको के कुरा गर्नु ! चुनावको समयमा मौखिक विकास र रकम बाँड्न गाउँमा देखा पर्ने नेता र कार्यकर्ता अर्को चुनावसम्म गाउँमा देखा पर्दैनन् । राज्यका तीन अङ्गको कार्यक्षमता र यहाँ हुने गरेको भ्रष्टाचारको के कुरा गरौं ।

गाउँ–गाउँमा सिंहदरबार हैन, भ्रष्टाचारले जरा गाडेको छ । सरकारी कार्यालयहरूमा अड्केका फाइलहरू विना पैसा एक पाइला सर्दैनन् । अरू बेला बर्खाको च्याउ झैं देखिने र आफू–आफू काटाकाट गर्न समेत पछि नपर्ने गाउँघरका पार्टीका कार्यकर्ताहरू बाँडफाँटका सवालमा एकठाउँ उभिन्छन् । आश्चर्यजनक रूपमा यिनीहरूका बीच एकता हुन्छ ।

ठूलाठूला डिग्री बोकेका बुद्धिजीवीहरू भनिनेहरू आफ्नाले गरेका गलत काम कहिल्यै देख्दैनन् । सधैं भक्ति गीत गाउँछन् । आफ्नो नेताले राजनीतिक नियुक्तिमा पद लिलाम गरेको, नेता र उनका परिवारले विश्वविख्यात ब्रान्ड कार्टिएरको चस्मा, रोलेक्सको घडी, लुइस भुइटनको जुत्ता, अर्मानीको लुगा लगाएको, गणतन्त्र प्राप्तिको संघर्षमा सिन्को नभाँचेका उनका आफन्त पद प्रतिष्ठा र धनधान्यले भरिपूर्ण भएको, दुबईमा घर किनेको, विदेशमा लगानी गरेको देख्दैनन् ।

शहीद परिवारप्रति राज्यबाट गरिएको व्यवहारको के कुरा गर्नु ! युद्ध र आन्दोलनका घाइते परिवार मृत्यु पुकार्दै बसेका छन् । शरीरमा गोलीका छर्रा लिएर हिंड्ने व्यक्ति, अपाङ्ग शरीर र दु:खका बेला आफ्नो जीवन धरापमा राखेर गाँसबास दिनेलाई आजका नेता र यिनले बनाएका नीतिले चिन्दैनन् ।

यी सबैखाले असन्तुष्टि र असमानताले विगतमा झैं यसपटक पनि हाम्रो देशमा ठूलै भुइँचालो निम्त्यायो । विगतका सपनाहरू तुहिए झैं यसपटक नतुहियोस् । जनताका कलिला नानीहरूले बगाएको रगत खेर नजाओस् । हाम्रा पुराना मान्यता, मानसिकता, कार्यशैलीमा आमूल परिवर्तन आओस् । हाम्रा पुर्खाले मिहिनेत गरेर आर्जेको देशले पटक-पटक जल्न नपरोस् । यही हामी सबै नेपालीको साझा सपना हो ।

हो, चुनौतीका चाङमाथिको यो सरकारका सीमा धेरै छन् । समय सीमित छ । तर यसका बाबजुद जनताका अपेक्षा धेरै छन् । इतिहासमा सुनौला अक्षरले नाम लेख्ने अवसर सबैलाई हुन्छ तर इतिहास रच्ने अवसर धेरै कम मात्र हुन्छ ।

त्यसैले, यस्तो अवस्थामा नेपालकी पहिलो महिला प्रधानमन्त्रीज्यू, तपाईंलाई इतिहासमा सुनौलो अक्षरले लेख्ने अवसर मिलेको छ । विगतका आन्दोलनहरू झैं शहीदका सपना खेर नजाउन्, अब पनि नेपालले पटक–पटक जल्न नपरोस् । जुम्लाकी एउटी महिलाको तर्फबाट धेरै-धेरै शुभकामना ।

पुँजी बजारको समस्या समाधान गर्ने : अर्थमन्त्री

काठमाडौं ४ असोज । नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले पुँजी बजारको समस्या समाधान गर्न सक्रियता देखाएका छन् । जेन–जी आन्दोलनपछि पहिलोपटक बिहीबार खुलेको सेयर बजार नेप्से परिसूचक तीनपटक उच्च दरमा घटेपछि अर्थमन्त्री खनालले पुँजी बजारमा देखिएका समस्या पहिचान र समाधानको उपाय खोज्न कार्यदल नै गठन गरेका हुन् । बजारमा देखिएका समस्या र विसंगति अध्ययन गरी समाधानका लागि अर्थ मन्त्रालयले कार्यदल गठन गरेको मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयले जानकारी दिए । कार्यदलले लगानीकर्ताको मनोबल बढाउने प्रणालीगत तथा प्रक्रियागत सुधारका लागि सुझावसहित ठोस कार्ययोजना पाँच कार्यदिनभित्र पेस गर्ने उनले बताए ।

अर्थमन्त्रीस्तरको शुक्रबारको निर्णयअनुसार बनेको कार्यदलमा नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक (कामु) रूपेश केसी संयोजक छन् । त्यस्तै, नेपाल राष्ट्र बैंकका निर्देशक शरण अधिकारी, नेपाल स्टक एक्सचेन्ज लिमिटेडका कार्यकारी निर्देशक (कामु) निरञ्जन फुयाँल सदस्य छन् । अर्थ मन्त्रालयका उपसचिव शरद निरौला सदस्य सचिवका रूपमा छन् । मन्त्रालयका अनुसार कार्यदलले तत्कालीन समस्या समाधान र पुँजी बजारलाई दीर्घकालीन रूपमा सुदृढ बनाउनुपर्ने कदमबारे ठोस कार्ययोजना ल्याउने अपेक्षा गरिएको छ ।

१६ भदौमा २७६१.८६ विन्दुमा पुगेको बजार परिसूचक त्यसपछि निरन्तर ओरालो लागिरहेको छ । यसबिच ६ कार्यदिन मात्रै खुलेको बजारमा २४९.९५ अंकले परिसूचक घटेको छ । बजार पुँजीकरण ४१ खर्ब ९९ अर्ब रुपैयाँ कायम भएको छ । बिहीबार नेप्से परिसूचक १६०.३३ अंकले घटेर २५११.९१ विन्दुमा रोकियो । बजार खुलेको करिब एक घण्टामै तीनपटक सर्किट ब्रेक लागेर नेप्से बन्द भयो । जेन–जी आन्दोलनका कारण स्थगित भएको सेयर बजारमा खुलेको पहिलो दिन नै ठुलो पहिरो गएपछि अर्थमन्त्रीले समस्या पहिचान र सुधारको अध्ययनका लागि कार्यदल गठन गरेका हुन् ।

सरकारले पुँजी बजारका समस्या पहिचान र सुधारका लागि भन्दै पटक–पटक अध्ययन तथा सुझाव कार्यदल गठन गर्दै आइरहेको छ । तर, त्यस्ता कार्यदलले दिएका सुझाव कार्यान्वयनको अवस्था भने कमजोर रहेको छ ।

‘संविधानको सही कार्यान्वयन गर्न प्रदेश सरकार प्रतिवद्ध छ’ : मुख्यमन्त्री शाह

धनगढी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले संविधानको सही कार्यान्वयन गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको बताएका छन।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले संविधान तथा राष्ट्रिय दिवसको अवसरमा आज आयोजना गरेको समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। मुख्यमन्त्री शाहले भ्रष्टाचारमुक्त समाज निर्माण, सुशासन कायम साथै शान्ति, स्थिरता र विकासलाई प्राथमिकतामा राखेर अघि बढ्ने बताए ।

उनले संविधानको ऐतिहासिक पृष्ठभूमि र यसले बोकेका मूल मर्मलाई पुनःस्मरण गर्नु जरुरी रहेको उल्लेख गरे। असङ्ख्य संघर्ष, जनआन्दोलन, बलिदान र दीर्घकालीन संघर्षको परिणाम स्वरुप निर्वाचित संविधान सभाबाट संविधान जारी भएको मुख्यमन्त्रीले स्पष्ट पारे।

उनले भने,“यो संविधानले केन्द्रीकृत र एकात्मक शासन व्यवस्थाको स्थानमा विकेन्द्रीकृत र संघात्मक शासन प्रणालीको जग स्थापना गरी नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, स्वतन्त्र न्यायपालिका, कानुनी राज्य जस्ता लोकतन्त्रको अवयव निर्माण गरेको छ।”

संविधानले बहुल समाजलाई एक साझा सूत्रमा बाँध्ने आधार प्रदान गर्नुका साथै राज्यका सबै निकायमा समानुपातिक र समावेशी प्रतिनिधित्वको सुनिश्चितता गरेको मुख्यमन्त्रीको भनाइ छ। उहाँले दिगो शान्ति, सुशासन, विकास र समृद्धि प्राप्तिका लागि संविधानले आधार निर्माण गरेको उल्लेख गरे।

मुख्यमन्त्री शाहले यो संविधानलाई संसारको एउटा अग्रगामी संविधानको रुपमा चित्रण गरिए पनि यसको उचित कार्यान्वयन हुन नसकेको जिकिर गरे। “यसमा अझै धेरै काम गर्न बाँकी छ”, उनले थपे।

शाहले युवाले उठाएका भ्रष्टाचारमुक्त शासन, समान अवसर, पारदर्शीता र जवाफदेहितको माग संविधानको मूल मर्मसंग जोडिएका बताए।  भदौ २३ र २४ गते भएको युवा पुस्ताको प्रदर्शनले उनीहरुमा रहेको जोश, जाागर र परिवर्तनप्रतिको चाहनालाई उजागर गरेको मुख्यमन्त्रीको भनाइ छ।

हालैकोे घटनाहरुबाट भएको जनधनको क्षतिले सबैलाई गहिरो चोट पुर्‍याएको भन्दै मुख्यमन्त्री शाहले यस घटनाले कमीकमजोरीहरुको समीक्षा गर्दै सुशासन, समृद्धिका लक्ष्य हासिल गर्न थप प्रभावकारिताका साथ लाग्न सन्देश दिएको बताए। घटनाले लोककतान्त्रिक अभ्यासलाई अझ संवेदनशील, जिम्मेवार र उत्तरदायी ढङ्गले अघि बढाउनु पर्ने आवश्यकता सबैलाई स्मरण गराएको उनले उल्लेख गरे।

समारोहमा प्रदेश प्रमुख नजिर मियाँ, सभामुख भीमबहादुर भण्डारी, सरकारका मन्त्री, प्रदेश सभा सदस्य, राष्ट्रसेवक कर्मचारीको उपस्थिति रहेको थियो।

संसदबाट मन्त्रिमण्डल गठन गर्ने कुनै उपाय भएनः राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जेन-जी आन्दोलनपछि उत्पन्न परिस्थितिमा प्रतिनिधिसभाबाट मन्त्रिपरिषद् गठन गर्ने कुनै उपाय बाँकी नरहेको बताएका छन् ।

संविधान दिवसको अवसरमा शुक्रबार राष्ट्रपति कार्यालयले आयोजना गरेको चियापान समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले अहिलेको अन्तरिम सरकार आम सहमतिको आधारमा बनाएको बताएका हुन् ।

‘प्रतिनिधिसभाबाट मन्त्रिमण्डल गठन गर्ने कुनै उपाय नभएकोले आम सहमतिबाट यो कदम चालिएको कुरा सबैले बुझौं’ उनले भने, ‘६ महिनाभित्र प्रतिनिधिसभा ल्याउने चुनाव सम्पन्न गर्न सबै जागौं ।’

राष्ट्रपति पौडेलले नयाँ जनादेशले लोकतन्त्रलाई थप संस्थागत गर्ने विश्वास व्यक्त गरे । ‘नयाँ जनादेशले लोकतन्त्रलाई थप संस्थागत गर्दै मुलुकको आगामी बाटो तय गर्नेछ भन्ने मेरो दृढ विश्वास छ’ उनले भने, ‘अहिले बनेको अन्तरिम सरकारले राष्ट्रिय क्षतिको पुनर्निर्माण गर्दै ६ महिनामा निर्वाचन सम्पन्न गरी जनप्रतिनिधिमूलक संस्थालाई सत्ता हस्तान्तरण गर्नेछ ।’

समयमा निर्वाचन सम्पन्न गर्नु सबै नेपालीको अहिलेको मुख्य कार्यभार रहेकोमा उनले जोड दिए ।

‘यो घडीमा म सबै राजनीतिक दल, मुलुकको शासन तथा व्यवस्थापनमा आबद्ध निकाय, बौद्धिक समुदाय र नागरिक समाजलाई असमझदारी र द्वन्द्वरहित भएर सहमति र सहकार्यका साथ निर्वाचनको सफलताको लागि क्रियाशील हुन आह्वान गर्दछु,’ उनले भने ।

उनले राष्ट्रको अभिभावकको रूपमा भूमिका निर्वाह गरिरहेको भन्दै अहिलेको अप्ठ्यारो स्थितिबाट पार लगाउन सबै मिलेर काम गर्नुपर्ने बताए ।

‘नवपुस्ताको र जनचाहना अनुसार तत्कालीन समयमा जे जति गर्न सकिन्थ्यो हामी सबैले मिलेर गरेका छौं’ उनले भने, ‘मुलुक फेरि एकपटक परिवर्तनको नवमार्गमा प्रवेश गरेको छ ।’

अप्ठ्यारो परिस्थिति सम्हाल्न भूमिका खेलिरहेको राष्ट्रपति पौडेलले उल्लेख गरे ।

‘परिस्थितिले मलाई भदौ २४ पछि उत्पन्न राजनीतिक अप्ठ्यारो र रिक्तता सम्हाल्ने ठाउँमा ल्याएर राखेको छ’ उनले भने, ‘सबैको सुझबुझ समन्वय र सहयोगका कारण हामीले यो असहज परिस्थितिलाई सम्हालेका छौं ।’

उनले लोकतन्त्रको र संविधानको भावना अनुरुप काम गर्न सबैलाई आग्रह गरे ।

सम्बोधनको क्रममा राष्ट्रपति पौडेलले पछिल्लो भदौ २३ र २४ गते भएको अकल्पनीय मानवीय र भौतिक क्षतिप्रति दुःख व्यक्त गरे ।

चियापान समारोहमा विभिन्न दलका शीर्ष नेतासहित जेन-जी प्रतिनिधिहरू पनि सहभागी छन् ।

जेनजीलाई सम्झँदै राष्ट्रपतिले भने- म पनि १७ वर्षमा राजनीतिमा होमिएको थिएँ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जेन-जी आन्दोलनकारीहरूलाई सम्झँदै आफू पनि १७ वर्षमा राजनीतिमा होमिएको स्मरण गरेका छन् ।

संविधान दिवसको अवसरमा शुक्रबार राष्ट्रपति कार्यालयले आयोजना गरेको चियापान समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले हरेक पुस्ताको सहभागिताले लोकतन्त्र बलियो हुँदै जाने बताए ।

‘हरेक पुस्ताको सहभागिताले लोकतन्त्र बलियो हुँदै जान्छ भन्ने दृढ विश्वास छ,’ उनले भने, ‘म पनि १७ वर्षको उमेरमा २०१७ सालमा प्रजातन्त्रको लागि राजनीतिमा होमिएको थिएँ ।’

उनले राष्ट्रको अभिभावकको रूपमा भूमिका निर्वाह गरिरहेको भन्दै अहिलेको अप्ठ्यारो स्थितिबाट पार लगाउन सबै मिलेर काम गर्नुपर्ने बताए ।

‘परिस्थितिले मलाई भदौ २४ पछि उत्पन्न राजनीतिक अप्ठ्यारो र रिक्तता सम्हाल्ने ठाउँमा ल्याएर राखेको छ’ उनले भने, ‘सबैको सुझबुझ समन्वय र सहयोगका कारण हामीले यो असहज परिस्थितिलाई सम्हालेका छौं ।’

उनले लोकतन्त्रको र संविधानको भावना अनुरूप काम गर्न सबैलाई आग्रह गरे ।

चियापान समारोहमा विभिन्न दलका शीर्ष नेतासहित जेनजी प्रतिनिधिहरू पनि सहभागी छन् ।

नेपाल र वेस्ट इन्डिजबीचको खेलको टिकट बुकिङ खुल्यो

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीले विश्व क्रिकेटको पावरहाउस मानिने वेस्ट इन्डिजसँग खेल्ने तीन खेलको टिकट मूल्य सार्वजनिक भएको छ।

संयुक्त अरब इमिरेट्स (यूएई)को शारजाह क्रिकेट स्टेडियममा हुने प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ (क्यान)ले टिकट मूल्य निर्धारण गरेको हो।

नेपाली समयअनुसार राति सवा ८ बजे हुने खेलका लागि सवा ६ बजे गेट खुला हुनेछ।

खेलका लागि आधिकारिक टिकट बिक्री खुला भइसकेको छ। खेलको आधिकारिक टिकटिङ पार्टनर ‘क्यू-टिकट्स’ रहेको छ, जहाँबाट समर्थकहरूले अनलाइन टिकट खरिद गर्न सक्नेछन्।

टिकटको मूल्य दर्शकदिर्घाअनुसार फरक-फरक तोकिएको छ। नर्थ वेस्ट र इस्ट स्ट्यान्ड ५० दिराम अर्थान १९ सय रुपैयाँ, इस्ट स्ट्यान्ड र वेस्ट स्ट्यान्ड (पारिवारिक)का लागि ६० दिराम अर्थात २३ सय रुपैयाँ राखिएको छ।

यसका अलावा गोल्ड र प्लाटिनम प्याभिलियनका लागि १०० दिराम अर्थात ३८ सय रुपैयाँ छ भने वेस्ट भीआईपी सुइटका लागि ४०० दिराम अर्थात १५ हजार रुपैयाँ मूल्य तोकिएको छ।

दुई पटकको टी-२० विश्वविजेता वेस्ट इन्डिजसँगको यो सिरिजले नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा आफ्नो क्षमता प्रदर्शन गर्ने सुनौलो अवसर प्रदान गर्नेछ।

यूएईमा ठूलो संख्यामा रहेका नेपाली क्रिकेट समर्थकहरूका लागि यो सिरिज निकै उत्साहजनक हुने अपेक्षा गरिएको छ।

देउवाको टाउकोमा १२ टाँका लगाइयो

काठमाडौं । नेपाली कांग्रेसले पार्टी सभापति शेरबहादुर देउवाको गर्धनभन्दा माथि टाउकोमा १२ टाँका लगाएको जनाएको छ।

कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचार विभाग प्रमुख मीन विश्वकर्माले अहिले सभापति देउवा दम्पतीको स्वास्थ्यमा सुधार भइरहेको बताए।

उनले भने, ‘हामी सुरुमा अतालिएका थियौँ। तर उहाँहरूको स्वास्थ्य उपचार राम्रो हुँदै गयो। अहिले सामान्य अवस्थामा फर्किँदै हुनुहुन्छ। उहाँहरूको स्वास्थ्यमा सुधार आइरहेको छ। उहाँ (देउवा) को गर्धनभन्दा माथि टाउकोमा गम्भीर चोट लागेको छ। त्यहाँ १२ वटा टाँका लगाइएको छ। गर्धनमा सामान्य चोट छ। टाँका लगाएको ठाउँ र त्यो चोट निको हुँदै गएको छ।’

उनले अहिले सभापति देउवा सामान्य बोलचाल, हिँडडुल र पार्टीका नेताहरूसँग संवाद गर्नसक्ने भएको बताए।

उनले भने, ‘अहिले अस्पतालमै राखेर उपचार गर्ने कुरा छ। बाहिर गएपछि भिडभाड हुन्छ, त्यसले छिटो स्वास्थ्य लाभ गर्न असहयोग गर्छ। त्यसो भएकाले केही दिन हेरौँ भन्नुभएको छ।’

टिकटक बनाउँदा ड्याममा चिप्लेका युवक दुई दिनपछि मृत भेटिए

रूपन्देही । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–९ गोनहिया ड्याम्ममा टिकटक बनाउने क्रममा चिप्लिएर डुबेका ओमसतिया गाउँपालिका–५ सिसनियाका १७ वर्षीय स्यामु गुप्ता आज मृत अवस्थामा भेटिएका छन्।

असोज २ गते दिउँसो करिब ३ बजे ड्याम्ममा टिकटक बनाउँदै गर्दा स्यामु चिप्लिएर डुबेका हुन् । सोबारे ढिलो खबर पाएपछि उनका साथीले इलाका प्रहरी कार्यालय धकधईमा जानकारी गराएका थिए ।

स्थानीयले हिजैदेखि खोजी थाले पनि भेटाउन सकेका छैनन् । आज असोज ३ गते बिहान ८ बजेदेखि स्थानीय र प्रहरीले निरन्तर खोजतलास गरेपछि दिउसो २ बजे मृत अवस्थामा भेटिएका हुन् ।

बिहानैदेखि पानी परेकाले खोजी कार्यमा समस्या भएको वडा अध्यक्ष मदनप्रसाद पौडेलले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी सुरज कार्कीले हिजो हराएका ती युवकको शव आज दिउँसो भेटिएको पुष्टि गरे ।

एसिया कपमा छोराको खेल हेर्दाहेर्दै पिताको निधन, श्रीलंकन क्रिकेटर वेल्लालागे प्रतियोगिता छाडेर स्वदेश फर्किए

काठमाडौं : श्रीलंकाका युवा अलराउन्डर दुनिथ वेल्लालागे एसिया कप टी-२० प्रतियोगिता बीचमै छाडेर स्वदेश फर्किएका छन्।

बिहीबार राति अफगानिस्तानविरुद्धको खेलका क्रममा उनका पिता सुरन्गा वेल्लालागेको हृदयाघातबाट निधन भएपछि उनी आकस्मिक रूपमा कोलम्बो फर्किएका हुन्।

श्रीलंकाली सञ्चारमाध्यमका अनुसार, उनका पिता सुरन्गा टेलिभिजनमा खेल हेरिरहेका थिए।

खेलको पहिलो इनिङ्समा दुनिथले बलिङ गरेको ओभरमा अफगानिस्तानका मोहम्मद नाबीले लगातार पाँच छक्का प्रहार गरेपछि सुरन्गा गहिरो तनावमा परेका थिए। त्यसलगत्तै छातीमा गम्भीर दुखाइ भएपछि उनलाई अस्पताल लगिएको थियो, तर चिकित्सकले बचाउन सकेनन्।

यो दुःखद खबरबारे दुनिथलाई खेल सकिएपछि मात्रै टिम व्यवस्थापनले जानकारी दिएको थियो। खबर पाउनासाथ उनी स्वदेश फर्किएका थिए।

उक्त खेलमा श्रीलंकाले अफगानिस्तानलाई ६ विकेटले पराजित गरेको थियो। वेल्लालागेले सो खेलमा चार ओभर बलिङ गर्दै ४९ रन खर्चेर एक विकेट लिएका थिए। यो उनको करियरको पाँचौं टी-२० अन्तर्राष्ट्रिय खेल थियो।

२२ वर्षीय वेल्लालागे प्रतियोगिताका बाँकी खेलका लागि फर्किने वा नफर्किनेबारे अझै टुङ्गो लागेको छैन। सुपर-फोर चरणमा श्रीलंकाले शनिबार बंगलादेश, २३ सेप्टेम्बरमा पाकिस्तान र २६ सेप्टेम्बरमा भारतसँग खेल्ने तालिका छ।

यस घटनाप्रति श्रीलंकाका पूर्वकप्तान लसिथ मालिङ्गा र अफगानिस्तानका खेलाडी मोहम्मद नाबीले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत दुःख व्यक्त गर्दै परिवारप्रति समवेदना प्रकट गरेका छन्।

खोज्नुहोस