अनिल सिन्हा बन्ने भए कानुन तथा उद्योगमन्त्री

काठमाडौं । कानुन तथा उद्योगमन्त्रीमा अनिल सिन्हा नियुक्त हुने भएका छन् । प्रधानमन्त्री सुशीला कार्कीले पूर्वन्यायाधीश सिन्हालाई  कानुन तथा उद्योगमन्त्री बनाउने अन्तिम तयारी गरेको स्रोतले जनाएको छ ।

अहिले कानुन मन्त्रालयको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्यालले लिएका छन् । उनी अब गृहमन्त्री मात्रै रहने भएका हुन् ।

संगीता मिश्र स्वास्थ्य मन्त्री बन्ने

काठ्माण्डौ- सचिवमा बढुवा नगरिएपछि बिदामा बसिरहेकी स्वास्थ्य मन्त्रालयकी अतिरिक्त सचिव डा संगीता कौशल मिश्र सोही मन्त्रालयमा मन्त्री भएर आउने भएकी छन्।

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा उनलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिएर मन्त्री बनाउन लागिएको हो।

मिश्र यौन तथा प्रजनन स्वास्थ्य विशेषज्ञ र प्रसूति तथा स्त्री रोग विशेषज्ञका रूपमा चिनिन्छिन्। उनले स्वास्थ्य सेवा विभाग र थापाथलीस्थित परोपकार प्रसूति अस्पतालको नेतृत्व पनि गरिसकेकी छन्।

उनी ३ वर्षदेखि अतिरिक्त सचिव छिन्। मन्त्री बन्ने भएपछि उनले पदबाट राजीनामा दिइसकेको मन्त्रिपरिषद् स्रोतले बताएको छ।

गत वर्षको फागुनमा डा विकास देवकोटा सचिवमा बढुवा भएपछि उनी बिदामा बसेकी हुन्।

तत्कालीन सरकारका अधिकारीहरूले भने मिश्रको नागरिकता अंगीकृत भएकाले सचिव नबनाएको बताएका थिए।

एकतर्फी खुल्यो नारायणगढ-मुग्लिन सडकखण्ड

५ असोज, काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत तुइन खोलानेर खसेको पहिरो हटाइसकिएको छ । पहिरो हटाइसकेकाले सवारी आवागमन सुरु भएको छ ।

पहिरो खसेपछि गत शुक्रबारदेखि सडक पूर्णरुपमा अवरुद्ध भएको थियो । नारायणगढ र मुग्लिनतर्फबाट मेसिन प्रयोग गरी आज बिहान चार बजेदेखि पहिरो पन्छाउन सुरु गरिएको थियो ।

आइतबार अपरान्ह सवा ४ बजेबाट राजमार्ग एकतर्फी सुचारु भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रतीक सिंहले जानकारी दिए ।

जेनजीको नेता हुँ भन्दै नहिँड्न सुदन गुरुङलाई घाइतेहरूको चेतावनी

काठ्माण्डौ- हामी नेपाल नामक गैरसरकारी संस्थाका संयोजक सुदन गुरुङलाई जेनजी आन्दोलनका घाइतेहरूले जेनजीको नेता हुँ भन्दै नहिँड्न चेतावनी दिएका छन्।

आइतबार गृहमन्त्री ओमप्रकाश अर्याललाई भेट्न पुगेका जेनजी आन्दोलनका घाइतेहरूले नेता (लिडर)हुँ भन्दै नहिँड्न भनेका हुन्।

जेनजीका घाइतेहरू आज गृहमन्त्रीलाई भेट्न सिंहदरबार जानेक्रममा सिंहदरबार दक्षिण गेटमा रोकिएका थिए। सिंहदरबार प्रवेश नदिएपछि उनीहरू गेटमै धर्ना बसेका थिए।

नाराबाजी गर्दै धर्ना बसेपछि प्रहरीले गाडीमा राखेर गृहमन्त्रालय पुर्‍याएको थियो। त्यहाँ सञ्चारकर्मीसँग कुरा गर्दै घाइतेहरूले गुरुङ, एमालेका अध्यक्ष केपी शर्मा ओली र महेश बस्नेतमाथि आक्रोश पोखेका छन्।

उनीहरूले गुरुङको गतिविधिमाथि प्रश्न उठाए। जेनजीको नेता भनेर मन्त्री छनोटका विषयमा जेनजीको भावना स्थापित गराउन नसकेको, संविधान दिवसको अवसरमा राष्ट्रपति कार्यालयमा सहभागी भएको विषयमा पनि जेनजीहरूले प्रश्न उठाएका छन्।

भदौ २३ र २४ गते भएको जेनजीको आन्दोलनपछि जेनको प्रतिनिधि बनेर गुरुङ छलफल र कार्यक्रममा सहभागी हुँदै आइरहेका छन्। यसलाई लिएर जेनजीहरूले भने उनको विरोध गरिरहेका छन्।

राष्ट्रपति समक्ष अख्तियारले बुझायो वार्षिक प्रतिवेदन

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज (आइतबार) आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेश गरेको छ।

राष्ट्रपति भवन, शीतल निवासमा आयोजित कार्यक्रममा आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले नेपालको संविधानको धारा २९४ बमोजिम उक्त प्रतिवेदन पेश गरेका हुन्।

निजी क्षेत्रमा करिब ८० अर्बको क्षति, पुनःउत्थानका लागि सहयोग गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका क्रममा निजी क्षेत्रमा भएको तोडफोड तथा आगजनीका घटनाप्रति दुःख व्यक्त गर्दै निजी क्षेत्रलाई सहयोग गर्ने प्रतिवद्धता गरेकी छन्।

आइतबार सिंहदरबारमा उद्योगी व्यवसायी संघ संस्थाका साथै औद्योगिक घरनाका प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री कार्कीले आफू सदैव निजी क्षेत्रको साथमा रहेको भन्दै पुनःउत्थानका लागि सहयोग गर्ने प्रतिवद्धता जनाएकी हुन्।

छलफलका क्रममा निजी क्षेत्रका प्रतिनिधिहरूले आन्दोलनका क्रममा भएको क्षतिका बारेमा जानकारी गराएका थिए। उनीहरूले सम्मानितरूपमा काम गर्नसक्ने वातावरणका लागि आवश्यक सहयोग र सुरक्षाको अपेक्षा सरकारसँग रहेको धारणा राखेका थिए।

उनीहरूले करिब ८० अर्ब रुपैयाँ बराबरको निजी क्षेत्रमा क्षति भएको प्रारम्भिक आकलन रहेको समेत जनाएका थिए। छलफलका क्रममा आन्दोलनमा प्रभावित व्यवसायीलाई कर्जाको पुनर्संरचना र पुनर्तालिकीकरण सुविधा प्रदान गर्न, लगानी आकर्षित गर्न आयकर लगायतमा छुट प्रदान गर्न पनि आग्रह गरिएको थियो। निजी क्षेत्रले राखेका सुझाव र मागमा प्रधानमन्त्रीबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले जानकारी दिए।

सरकारको प्रतिवद्धताबाट निजी क्षेत्र निकै आशावादी रहेको उनको भनाइ छ। छलफलमा निजी क्षेत्रका प्रतिनिधिहरूले युवा पुस्ताको आन्दोलनका क्रममा भएको घुसपैठका कारण निजी क्षेत्रले ठूलो जनधनको क्षति व्यहोरेको हुँदा दोषीमाथि कारबाही हुनुपर्ने माग गरेका छन्।

मन्त्रिपरिषद् विस्तार आजै, ७ जनाको नाम राष्ट्रपति कार्यालय पठाइँदै

काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीले आजै मन्त्रिपरिषद् विस्तार गर्ने भएकी छिन् । जेन-जी समूहलाई समेत समेटेर उनले मन्त्रिपरिषद् विस्तार गर्न लागेकी हुन् ।

‘मन्त्री बन्नेहरूको कागजात संकलन भइरहेको छ । त्यसपछि ७ जनाको नाम राष्ट्रपति कार्यालय पठाइने छ,’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक अधिकारीले भने,’ उनीहरूको नाम आजै साँझ बस्ने मन्त्रिपरिषद् बैठकमा उल्लेख गरिनेछ ।’

राष्ट्रपति कार्यालयले पनि मन्त्रीहरूको नामावली आउने जानकारी प्राप्त भइसकेको पुष्टि गरेको छ । यद्यपि कस-कसको नाम आउँछ भन्नेबारे भने केही जानकारी प्राप्त नभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

सेयर बजार १११.७० अंकले बढ्यो

काठमाडौँ । आइतबार सेयर बजार १११.७० अंकले बढेको छ । साताको पहिलो दिन खुलेको बजारमा उतारचढावबिच सो बराबरको वृद्धि देखिएको हो । योसँगै बजार परिसूचक २६२३.६२ अंकमा पुगेको छ ।

अघिल्लो दिन अर्थात् बिहीबार बजार परिसूचक नकारात्मक सर्किट लाग्दै १६० अंकले घटेर बन्द भएको थियो । आइतबार सुरुमा उतारचढाव देखिएको बजार मध्यान्हपछि निरन्तर बढ्दै जाँदा उच्च वृद्धिसहित बन्द भएको हो ।

बिहीबारको गिरावटपछि सरकारले पुँजी बजारबारे अध्ययन गर्न दुई वटा काम गरेको थियो । पहिलो पुँजी बजारमा देखिएको विकृति अन्त्य गर्न सुझाव दिन भन्दै कार्यदल बनाएको थियो भने अर्कोतिर नेपाल स्टक एक्सचेन्जको अन्तिम मूल्य निर्धारण प्रणालीमा संशोधन गर्ने निर्णय गरेको थियो । दिनभरको कारोबारले उक्त निर्णयको सकारात्मक प्रभाव रहेको देखाएको छ ।

आज बजारमा ९ अर्ब १८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज निर्जीवन बिमा र म्युचुअल फन्डबाहेक सबै सूचक बढेका छन् । निर्जीवन बिमा समूहमा सबैभन्दा धेरै ३.५३ प्रतिशत मूल्य घटेको छ भने ट्रेडिङ समूहमा सबैभन्दा धेरै ८.३३ प्रतिशतले बढेको छ ।

त्यस्तै, इन्भेस्टमेन्ट समूहमा ७.७७ प्रतिशत, विकास बैंकमा ६.३४ प्रतिशत, फाइनान्स समूहमा ६ प्रतिशत, हाइड्रो समूहमा ५.९८ प्रतिशत तथा जीवन बिमा समूहमा ५.९३ प्रतिशत वृद्धि भएको छ ।

त्यस्तै, उत्पादनमूलक क्षेत्रमा ४.८६ प्रतिशत, बैंकिङमा ४.७६ प्रतिशत तथा माइक्रो फाइनान्समा ४.०३ प्रतिशत मूल्य बढेको छ । बजारमा आज १६ वटा कम्पनीको मूल्यमा सकारात्मक सर्किट ब्रेकर लागेको छ ।

सिन्धु विकास बैंक, भूगोल इनर्जी, गुडबिल फाइनान्स, शिवम् सिमेन्ट, जोशी हाइड्रोपावर, अपि पावर, आँखुखोला जलविद्युत्, बलेफी हाइड्रोपावर र हिमाल दोलखा हाइड्रोपावरको मूल्य १० प्रतिशतले बढेको छ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको मूल्य सबैभन्दा धेरै ७.६४ प्रतिशतले घटेको छ ।

आज बजारमा सबैभन्दा धेरै कारोबार नेपाल पुनर्बीमा कम्पनीको भयो । उक्त कम्पनीको ८३ करोडको कारोबार हुँदा दोस्रोमा रहेको हिमालयन रिइन्स्योरेन्सको ४८ करोड बराबरको कारोबार भयो ।

नक्खु कारागारबाट भागेका कैदीले गरे श्रीमतीको हत्या

काभ्रेपलाञ्चोक । नक्खु कारागारबाट भागेका कैदीले श्रीमतीको हत्या गरेका छन्।

काभ्रेको पनौती नगरपालिका वडा नम्बर १२ गागलका वर्ष ३५-३६ का सन्तबहादुर तामाङले आफ्नै श्रीमती ३० वर्षीय मनिषा घ्यावा तामाङको हत्या गरेको वडा अध्यक्ष जयराम केसीले जानकारी दिए ।

सन्तबहादुर जेन्जी आन्दोलनका क्रममा नक्खु कारागारबाट भागेका थिए । उनी जवरजस्ती करणीमा जेल परेका थिए ।

इलाका प्रहरी कार्यालय बनेपाको टोली घटनास्थलमा पुग्दै गरेको र थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिए।

प्रहरी घटनास्थल पुगेपछी थप जानकारी हुने प्रहरीले जनाएको छ ।

कैलाली जिल्ला प्रशासनमा दुई लाख नागरिकका राष्ट्रिय परिचयपत्र जलेर नष्ट

धनगढीः कैलालीमा दुई लाख नागरिकका राष्ट्रिय परिचयपत्र जलेर नष्ट भएका छन्। जेनजी आन्दोलनको क्रममा सरकारी कार्यालयमा आगजनी गरिएपछि राष्ट्रिय परिचयपत्र जलेर नष्ट भएको हो।  जिल्ला प्रशासन कार्यालयका अनुसार फिल्डको एक लाख ६० हजार र जिल्ला प्रशासन कार्यालयमा रहेको ४० हजार राष्ट्रिय परिचयपत्रलाई आन्दोलनकारीले जलाएका छन्।

छापिएका राष्ट्रिय परिचयपत्रहरू विभिन्न पालिकाको वडाबाट पनि वितरणको कार्य चलिरहेको थियो। जलेर नष्ट भएका परिचयपत्रहरू सरकारले पुनः छापेर पठाउने जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बताए।
“परिचयपत्र जले पनि विवरणहरू सुरक्षित छ” उनले भने, “जलेका परिचयपत्र सरकारले पुनः छापेर पठाउँछ।” जिल्ला प्रशासन कार्यालयमा रहेको पुरानो भवनबाट राष्ट्रिय परिचयपत्रको काम हुँदैआएको थियो।

राणाकालमा बनेको सो भवन आगजनीबाट नष्ट भएको छ । भवन नष्ट भएपछि राष्ट्रिय परिचयपत्रसहित त्यससँग सम्बन्धित कागजात, उपकरण जलेर नष्ट भएको जोशीले जानकारी दिए।

माओवादी अध्यक्ष दाहालको प्रस्ताव : सबै कमिटी भंग, नयाँ नेतृत्व छान्न मंसिरमा विशेष महाधिवेशन

काठमाडौँ – माओवादी अध्यक्ष पुष्पकमल दाहालले मंसिरमै विशेष महाधिवेशन गरेर नयाँ नेतृत्वमा चयन गर्ने प्रस्ताव गरेका छन् । दाहालले केन्द्रीय पदाधिकारीको बैठकमा केन्द्रदेखि जिल्लासम्मका सबै पार्टीका संगठनिक संरचनाहरू भत्काएर भत्काएर नयाँ संरचना बनाउनुपर्ने बताएका छन् ।

‘केन्द्रीय कमिटी पनि भंग गरेर महाधिवेशन आयोजक समिति बनाऔं । त्यसैगरी प्रदेश जिल्ला र स्थानीय कमिटीहरू पनि सबै भंग गरेर सांगठनिक नयाँ संरचनामा अघि बढाऔं,’ उनले बैठकमा भनेका छन् ।

महाधिवेशनले नै खुला लोकतान्त्रिक ढंगले पार्टीको नेतृत्व चयन गर्ने उनको प्रस्ताव छ । उनले केन्द्रीय पदाधिकारी बैठकमा घोषित निर्वाचनमा होमिनुको विकल्प नभएको भन्दै निर्वाचनको तयारीमा लाग्नुपर्ने प्रस्ताव पेस गरेका छन्। अब निर्वाचनमै जान उपयुक्त हुने पनि दाहालको भनाइ छ ।

सुदूरपश्चिम यातायात मजदुर भलाइ कोषद्वारा सरकारी वकिल कार्यालयलाई सामाग्री सहयोग

धनगढी ५ असोज । सुदूरपश्चिम यातायात मजदुर भलाइ कोष समितिले सामाजिक उत्तरदायित्व अन्तर्गत जिल्ला सरकारी वकिल कार्यालय कैलालीलाई आईतबार एक थान दराज र कम्प्युटर सेट सहयोग गरेको छ।

सो सहयोग कार्यक्रम कोषका उद्धार उपाध्यक्ष डिबी मल्ल, कार्यसमिति सदस्य दिल बबहादुर धामी लगायत समितिका पदाधिकारीहरू, कोषका कार्यालय प्रमुख गणेश प्रसाद उपाध्यायले जिल्ला सरकारी वकिल कार्यालयका कार्यालय प्रुखलाई सामाग्री हस्तान्तरण गरे।

भदौ २४ गतेको जेन–जेड आन्दोलनका क्रममा कार्यालयमा भएको आगजनीले सम्पत्ति नष्ट भएपछि कामकाजमा समस्या आइरहेको थियो । सामाग्री ग्रहण गर्दै प्रमुखले कोषप्रति आभार व्यक्त गर्दै उक्त सहयोगले सेवा प्रवाह सहज हुने बताए। उनले नागरिकलाई प्रभावकारी सेवा दिन कार्यालय प्रतिबद्ध रहेको समेत उल्लेख गरे।

यातायात मजदुर भलाइ कोषले यसअघि पनि विभिन्न सहयोगी गतिविधिहरूमार्फत सामाजिक क्षेत्रमा योगदान दिँदै आएको छ।

मन्त्री घिसिङ र भारतीय राजदूतबीच भेट

काठ्माण्डौ- ऊर्जा, सहरी विकास तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङसँग भारतीय राजदूत नविन श्रीवास्तवले भेटवार्ता गरेका छन्।

आइतबार बिहान सिंहदरबारस्थित मन्त्रालयमा राजदूत श्रीवास्तवले शिष्टाचार भेटवार्ता गरेका हुन्। जेन जी पुस्ताको आन्दोलनपछि अन्तरिम सरकारको शक्तिशाली मन्त्री बनेका घिसिङलाई राजदूत श्रीवास्तवले बधाई ज्ञापन गर्दै कार्यकालको सफलताको शुभकामना व्यक्त गरे।

भेटका क्रममा नेपालको ऊर्जा, यातायात, भौतिक पूर्वाधार, सहरी विकासका क्षेत्रमा भारतले सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गरे।

नेपालको विकासका लागि भारतले सहयोग गर्दै आएको स्मरण गर्दै मन्त्री घिसिङले नेपालाई अहिले नेपालको शान्ति व्यवस्था, विकास र समृद्धिमा भारतको साथ र सहयोग आवश्यक रहेको बताए।

राष्ट्रपतिबाट नागरिकता सम्बन्धी विधेयक प्रमाणीकरण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् ।

उनले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस हुन आएको उक्त विधेयक नेपालको संविधानबमोजिम आज प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

रुपेश श्रेष्ठको बयान- कान्तिपुर टेलिभजनमा जब हमला भयो…

काठमाडौं । गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा आन्दोलनकारीले केही मिडिया हाउसलाई समेत निशाना बनाए । सबैभन्दा ठूलो आक्रमण कान्तिपुरमा भयो । कान्तिपुर टेलिभिजन र कान्तिपुर दैनिक दुवैका कार्यलयमा आगजनी र तोडफोड गरिएको थियो ।

आक्रमणपछि बन्द हुन पुगेको कान्तिपुर टेलिभिजन २७ घन्टापछि भग्नावशेषबाटै पुन सुचारु गरिएको छ । त्यस दिनको त्रासदीलाई कान्तिपुर टेलिभिजनका डेपुटी न्यूज चिफ रुपेश श्रेष्ठले यसरी वर्णन गरेका छन् :

नोबल पुरस्कार विजेता लेखक अर्नेस्ट हेमिङ्वेले हाम्रा लागि उहिल्यै लेखिदिएको पंक्ति हो यो- मान्छे विनष्ट हुन सक्छ, तर पराजित हुन सक्दैन ।

२४ भाद्रको दिन ती आतंकवादीहरूले हामी कार्यरत कान्तिपुर टेलिभिजनमाथि आक्रमण गरे, आगो लगाए, बुताले भ्याएको तोडफोड गरे । जेनजी आन्दोलनको मौका छोपेर ती आतंककारीहरूले आक्रमण गर्दा हामी आन्दोलनको घटनाक्रम, सरकारको अकर्मण्यता, देशभरको जनजीवनबारे प्रत्यक्ष प्रसारण गर्दै थियौं ।

लेख्दालेख्दैको समाचार, बोल्दाबोल्दैको अपडेट, देखाउँदा-देखाउँदैको दृश्य सबै छोडेर हामी कार्यस्थलबाट निस्कियौं । निस्किने बेला ज्यान जोगाउने कि काम जोगाउने कि कार्यालय प्राङ्गणमा रहेका अनेक सरसामान जोगाउने ? मैले देखेका ती आतंकीहरू केहीको कम्मरमा खुकुरी थियो, धेरैका हातमा लाठी, केहीका हातमा पेट्रोल अनि केहीका हातमा पेस्तोलसमेत ।

दुवै हात आकाशतिर फर्काएर हाम्रा साथीहरू त्यो भिडलाई अनुरोध गर्दै निस्किएँ । पुछारमा रहेको म गेटबाट निस्किनेवित्तिकै आतंकवादीहरूले ममाथि सांघातिक हमला गरे । अनुहारमा मुक्का बर्साए । पछाडीबाट कसैले बजारेको लात्तीले म पछारिएँ । चस्मा उछिट्टियो ।

मलाई प्रहार गर्नेहरूको अनुहार चिन्न सकिएन । केही केटाहरूले उठाएर मलाई छोपे । तर, ममाथि प्रहार रोकिएन । लगाइरहेको कोट र टाइ तानेर खोल्दै तिनै केही केटाहरूले मलाई तान्दै र दौडाउँदै भिडभन्दा पर पुर्‍याए । त्यतिञ्जेल मलाई कतिले कताकता प्रहार गरे, गन्न सकिनँ, कहाँ दुख्यो- चाल पाइनँ । तर म जोगिएँ । ती केटाहरू आतंककारीका सहयोगी थिए कि मेरो लागि सहयोगी थिए, सोध्न भ्याइनँ ।

मानिसहरूको चहलपहल कम भएको एउटा गल्लीमा पुगेर आफूलाई टकटक्याएँ, हातखुट्टा ठिक छन् भन्ने पक्का गरेँ । अनि अनुहार छामेँ, अलि दह्रो नाक कुच्चुक्क परेको थाहा पाएँ । समथर निधारमा केही डाँडा बनेको चाल पाएँ । आँखा वरिपरि डिल परेछन्, ढाडको एकापट्टी ऊँटको ढाडजस्तो उम्रिएको महसुस भयो । कसरत गरेर बलियो बनाएको कम्मरको जाली अलि कमजोर भएछ । तर, म ठिकठाक रहेछु ।

म एक्लै नजिकको एउटा घरमा पसेँ र आश्रय लिएर बसेँ । तितरबितर भएका साथीहरूलाई भएसम्म फोन गरेँ र को कहाँ पुगे भन्ने अपडेट बुझेँ । सबै ठिक छन् भन्ने पक्का भएपछि मोबाइलमा तिनै आतंकीहरूले देशैभरी मच्चाएको तवाही हेरेपछि आफ्नो अवस्थासँग तुलना गरेर मैले आफूलाई सान्त्वना दिएँ । पछि थाहा पाएँ, ती आतंकीहरू कार्यालयमा ४ पटक फर्किएर आए । हरेक पटक आगो थपेर गए । त्यसमा कम्पाउण्डमा रहेका हाम्रा साथीहरूका मोटरसाइकल र चारपांग्रे गाडीहरू खरानी भए । त्यसमा मेरो पनि गाडी पर्‍यो । सुन्निएको अनुहार, डाँडी भाँच्चिएको नाक र जिउमा निलडाम बोकेर अर्को दिन कार्यालय हेर्न पुग्दा तंग्रन नसक्ने कार्यालय देखियो ।

तर, ७२ घण्टापछि हामीले २७ गते अपरान्ह प्रसारण फेरि सुरु गर्‍यौं । निस्किँदा ढोकाको सिसा फुटाउँदा हातमा लागेको चोटसहित विजय पौडेल दाइले समाचार सुरू गर्नुभयो । अरू साथीहरू क्यामरा ट्राइपड लिएर फिल्डमा खटिए । इन्जिनियर र प्राविधिक साथीहरूले बाँकी भएर सरसामान जोडेर प्रसारणको व्यवस्था मिलाए । यस्तो अवस्थामा पनि काममा फर्किने मेरा साथीहरूको हौसला देखेर म आजित भएँ । मैले बुझेँ कि ती आतंकीहरूले जति भौतिक सम्पत्ति नष्ट गरे पनि हाम्रो मनोबललाई भत्काउन सकेनन् । अनि सुन्निएको अनुहार र आँखावरिपरि निलडाम बोकेरै प्रसारण सुरु भएको ५ घण्टापछि म पनि प्रसारणमा मिसिएँ ।

हामीले फेरि मुसुक्क हाँसेरै भन्यौं, ‘कान्तिपुर समाचारमा स्वागत छ !’ अनि खोज्यौं एउटा नयाँ गतिको विश्वास ।

(श्रेष्ठको सामाजिक सञ्जालबाट साभार)

कस्तो छ ‘हरिबहादुरको जुत्ता’ को ट्रेलर ?

हरिवंश आचार्यको मुख्य भूमिका रहेको फिल्म ‘हरिबहादुरको जुत्ता’ को ट्रेलर सार्वजनिक भएको छ। कमेडी जनरामा बनेको फिल्मको ट्रेलरले फिल्मको कथाबारे स्पष्ट पार्छ।

ट्रेलर मुख्य पात्र हरिवंश आचार्य वरिपरि घुमेको छ। जहाँ उनी चर्चित हरिबहादुर पात्रको भूमिकामा देखिएका छन्।  टेलिभिजनमा सर्वाधिक सफल मानिएको यो पात्रको जीवनमा आउने उतारचढावको कथा ट्रेलरमा समेटिएको छ।

राजनीतिक तथा समसामयिक विषयवस्तु प्रधान ट्रेलर हास्यरसले भरिपूर्ण छ। ट्रेलरमा हरिवंशसहित प्रकाश सपुत र स्वस्तिमा खड्का समेत फिचर्ड छन्। ट्रेलर हेर्दा स्वस्तिमालाई फिल्ममा नेताको रुपमा देखाइएको थाहा हुन्छ।

दीपेन्द्र के खनाल निर्देशित यस फिल्ममा हरिवंश, प्रकाश र स्वस्तिमासहित प्रियंका कार्की, दिव्य देव, हरिहर शर्मा, राजाराम पौडेल, दीनेश काफ्ले, कमलमणि नेपाल लगायतको अभिनय छ।

एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता सरोज ओली र मोहितवंश आचार्य हुन्। यो फिल्म दसैँको अवसरमा फूलपातीको दिनबाट रिलिज हुनेछ।

जेनजी आन्दोलनका घाइते प्रधानमन्त्रीलाई भेट्न पुगे सिंहदरबार

काठ्माण्डौँ- जेनजी आन्दोलनका घाइेतहरू प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न सिंहदरबार पुगेका छन्।

यसअघि दक्षिण गेटबाट सिंहदरबार छिर्न खोजेका उनीहरुलाई प्रहरीले रोकेपछि केहीबेर विवाद भएको थियो।

त्यसपछि प्रहरीले नै उनीहरुलाई गाडीमा हालेर प्रधानमन्त्री तथा मन्त्रपरिषद्को कार्यालयमा पु¥याएको हो।

केपी ओलीले प्रधानमन्त्री मातहत लगेका तीन विभाग मन्त्रालयमै फर्काइँदै

काठमाडौं । सरकारले प्रधानमन्त्री कार्यालय मातहत रहेका राष्ट्रिय अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण विभाग तथा राजस्व अनुसन्धान विभागलाई विगतमा जस्तै सम्बन्धित मन्त्रालयमातहत नै ल्याउने भएको छ ।

आइतवार बस्ने मन्त्री परिषद्को बैठकले एउटा प्रमुख सुरक्षा अंगका रुपमा रहेको राष्ट्रिय अनुसन्धान विभागलाई पुन: गृह मन्त्रालयमातहत नै ल्याउने निर्णय गर्ने तयारी रहेको अर्थ मन्त्रालयको स्रोतले अनलाइनखबरलाई बतायो ।

त्यस्तै, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र राजस्व अनुसन्धान विभागलाई पुन: अर्थ मन्त्रालय मातहत नै ल्याउने गरी मन्त्रिपरिषद्‍मा प्रस्ताव गएको मन्त्रालय स्रोतले जानकारी दियो ।

विस २०७४ को निर्वाचनमा एमाले र माओवादीले करिब दुई तिहाइ बहुमत ल्याएपछि प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले यी तीन महत्वपूर्ण विभागलाई प्रधानमन्त्री कार्यालय मातहत ल्याएका थिए ।

तत्कालीन प्रधानमन्त्री ओलीले प्रधानमन्त्री कार्यालयमा शक्ति एकत्रित गर्ने प्रयासस्वरुप १६ फागुन २०७५ मा यी विभागहरूलाई आफूमातहत ल्याएका थिए ।

गृह मन्त्रालय अन्तर्गत नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभाग गरी तीनवटा सुरक्षा अंग रहेकोमा विभाग चाहिँ प्रधानमन्त्री कार्यालय मातहत गएपछि सुरक्षा समन्वयमा ठूलो कमजोरी रहँदै आएको थियो । २३ र ३४ भदौको आन्दोलनका क्रममा पनि त्यो स्पष्ट रुपमा देएिको थियो ।

त्यस्तै, कर र आर्थिक विषयमा सम्बन्धित अनुसन्धान गर्ने निकायहरू राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण विभाग प्रधानमन्त्री कार्यालय मातहत लगेपछि यी निकाय गम्भीर अनुसन्धान भन्दा पनि अशुली धन्दा चलाउने अड्डामा रुपान्तरण भएको आरोप लाग्दै आएको थियो ।

अर्थ मन्त्रालयसँग सिधा सम्पर्कमा रहेर काम गर्नुपर्ने यी निकायहरूले प्रधानमन्त्री कार्यालयमातहत स्वतन्त्र निकायजस्तो गरी काम गर्दा ठूलो समस्या सिर्जना भएको अर्थ स्रोत बताउँछ ।

‘यी विभागहरू सम्बन्धित मन्त्रालयहरुमा फर्काउनका लागि कार्यविभाजन नियमावलीमा संशोधन गर्नुपर्ने हुन्छ, त्यसअनुसारको प्रस्ताव गइसकेको छ,’ मन्त्रालय स्रोत बताउँछ ।

‘विगतमा सरकारहरूले सुशासनलाई भन्दा पनि आर्थिक लाभ र शक्ति केन्द्रीकरणलाई केन्द्रबिन्दुमा राखेर विभागलाई अनावश्यक रुपमा चलाएका थिए, त्यसमा सुधार गर्न खोजिएको हो,’ मन्त्रालय स्रोतले भन्यो ।

जेन–जी विद्रोहको पहिलो कारण कांग्रेस-एमाले गठजोड, दोश्रो भू-राजनीति : वर्षमान पुन

काठमाडौं– नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन (अनन्त)ले गत वर्षको असारमा विघटित प्रतिनिधिसभाका पहिलो र दोश्रो ठूलो दल काँग्रेस–एमाले मिलेर सरकार बनाएपछि जेन–जी आन्दोलनको पृष्ठभूमि तयार भएको बताएका छन् ।

दुई ठूला दल सम्मिलित केपी ओली नेतृत्वको सरकारले सुशासन, सार्वजनिक सेवा प्रवाह र विकास निर्माणका कामलाई कम तथा बिचौलिया र स्वार्थ समूहको सेवालाई बढी प्राथमिकतामा राखेका कारण जन्मिएको असन्तोष जेन–जी विद्रोहमार्फत विस्फोट भएको बताए ।

प्रमुख प्रतिपक्षी हैसियतमा आफूहरूले पटक पटक बिचौलिया वर्गको सेवा छाडेर जनताको सेवामा लाग्न दबाब तथा ध्यानाकर्षण गराउँदासमेत बेवास्ता गरिँदाको खराब परिणाम काँग्रेस–एमालेले मात्र नभई सिंगो मुलुकको भोग्नुपरेको उनको भनाइ थियो ।

उनले मुलुकको धरोहरका रूपमा रहेका राष्ट्रपति भवन, सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालतसहित देशभरका सरकारी कार्यालय आन्दोलनका क्रममा खरानी पारिएको भन्दै त्यसको नैतिक जिम्मेवारी कुशासनका मतियारहरूले लिनुपर्ने तर्क गरे ।

जेन–जी आन्दोलनको पहिलो र निर्णायक कारण मुलुकको आन्तरिक राजनीतिक, सामाजिक र आर्थिक कारण भएको चर्चा गर्दै उनले सहायक कारणका रूपमा भू–राजनीति पनि रहेको उल्लेख गरे ।

‘भ्रष्टाचार, अनियमितता, कुशासन र बिचौलिया वर्गको स्वार्थमा नलागेर मुलुक र जनताको स्वार्थमा केन्द्रित हुन प्रमुख प्रतिपक्षका हैसियतमा  हामीले संसदभित्र र बाहिरबाट एक वर्षसम्म पटक पटक सरकारको ध्यानाकर्षण गरायौँ, दबाब दियौँ’, पार्टी सम्बद्ध जन प्रगतिशील मञ्च जापानका पदाधिकारीसँगको भर्चुअल अन्तरक्रियाका क्रममा पुनले भने, ‘तर, सत्तामा बसेका काँग्रेस र एमालेले सुनेनन् । दुई तिहाइको शक्ति पुरै स्वार्थ समूहको सेवामा समर्पित भयो । हामीले निकट विगतका बंगलादेश, ऋंलकाजस्ता मुलुकमा जस्तो खराब अवस्था आउन सक्नेबारे भनेकै हौँ । हाम्रो जिम्मेवारीपूर्ण खबरदारीलाई अन्देखा गरियो र अर्कै अर्थमा प्रचार गर्ने काम पनि भयो । त्यही पृष्ठभूमिमा बढेको असन्तोष जेन–जी आन्दोलनको रूपमा प्रकट भयो ।’

जेन–जी आन्दोलनको मौका छोपेर प्रतिगामी र प्रतिक्रियावादी शक्तिले आफ्ना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित नेताहरूका निवास तथा पार्टी कार्यालयमा आगजनी र लुटपाट गरेको र उनीहरूले नै माओवादी र अरु दल उस्तै भन्ने स्थापित गराउने कोसिस गरिरहेको भन्दै आपत्ति जनाए ।

पुनले अमेरिका, रुस, चीन र भारतजस्ता शक्ति राष्ट्रबीच विद्यमान शक्ति संघर्षको बाछिटा पनि नेपालका परेको उल्लेख गरे ।

अत्यन्तै तरल अवस्थामा रहेको देशको विद्यमान अवस्थामा हुन सक्ने भू–राजनीतिक चलखेललाई निरुत्साहित गर्न तथा राष्ट्रिय स्वाधीनता तलमाथि हुन नदिन मुलुकका सबै पक्षबीच सहकार्य र एकतामा पुनले जोड दिए ।

फरक प्रसङ्गमा पुनले जेन–जी आन्दोलनले पार्टीहरूका विद्यमान नेतृत्व, संरचना तथा राज्यका निकायहरूमा आमूल रूपान्तरण जरुरी रहेको रहेको जबरजस्त सन्देश दिएको औँल्याए ।

लोकसेवा आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस

काठमाडौँ । लोकसेवा आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरिएको छ ।

राष्ट्रपतिको कार्यालयमा आयोजित कार्यक्रममा नेपालको संविधानको धारा २९४ बमोजिम लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीले आयोगको आर्थिक वर्ष २०८१–०८२ को वार्षिक प्रतिवेदन पेस गरेका हुन् ।

बालाजुमा बस दुर्घटना हुँदा ३१ जना घाइते

काठमाडौँ : काठमाडौँको बालाजुस्थित बाइपास चोकमा बस दुर्घटनामा हुँदा ३१ जना घाइते भएका छन् ।  घाइतेको ग्रिनसिटी र सिल्भर लाइन अस्पतालमा उपचार भइरहेको छ । ७ जनाको ग्रिनसिटी र २४ जनाको सिल्भर लाइन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

आज बिहान लोलाङ हुँदै रत्नपार्क चल्ने बा.५ ख ५० नम्बरको बस आफैँ अनियन्त्रित भएर दुर्घटना भएको हो । चालक गोरखा आरुघाट घर भएका २७ वर्षीय अनिल कार्कीलाई नियन्त्रणमा लिएको छ ।

ग्रिनसिटी अस्पतालमा उपचार भइरहेका घाइतेहरु:

१.सपना परियार, २२ वर्ष (धादिङ गंगाजमुना गाउँपालिका–५)
२. टेक बहादुर गुरुङ, ५८ वर्ष (गोरखा अरुघाट गाउँपालिका–८)
३.सन्दिप राई, १९ वर्ष (नुवाकोट, विदुर नगरपालिका–३)

४.सृजना गुरुङ, २९ वर्ष (धादिङ, नीलकण्ठ–१४)
५. शर्मिला तामाङ, २२ वर्ष (नुवाकोट ककनी गापा–६)
६.संगिता तामाङ, २४ वर्ष (नुवाकोट ककनी–६)
७. गिता ढकाल, ३५ वर्ष (नुवाकोट शिवपुरी गाउँपालिका–५)

एसियन पर्यटन मेलामा बोर्डले भन्यो- नेपाल पर्यटकको स्वागतका लागि तयार छ

काठमाडौं । बङ्गलादेशको ढाकामा सम्पन्न १२औँ एसियन पर्यटन मेलामा नेपाल पर्यटक स्वागतका लागि तयार भएकोले नेपाल भ्रमणका लागि आग्रह गरिएको छ । असोज २ (सेप्टेम्बर १८) देखि असोज ४ (सेप्टेम्बर २०) सम्म अन्तर्राष्ट्रिय ढाकास्थित कन्भेन्सन सिटी बासुन्धरामा आयोजित मेलामा नेपाल पर्यटन बोर्डले ‘नेपाल पर्यटक स्वागतका लागि पूर्णमा तयार रहेको’ सन्देश प्रवाह गरेको हो ।

हालैको जेन-जी आन्दोलनका क्रममा नेपालमा उत्पन्न चुनौतीपछि अन्तर्राष्ट्रिय मेलामा नेपालका पर्यटन व्यावसायिक कम्पनीहरूको यो पहिलो ठूलो सहभागिता हो । यसले नेपाल सामान्य अवस्थामा फर्किएको र पर्यटकहरूको सुरक्षित स्वागतका लागि तयार रहेको सन्देश बंगलादेशका पर्यटन व्यवसायी र पर्यटकहरूलाई दिएको छ ।

नेपालका लागि बङ्गलादेशस्थित राजदूत घनश्याम भण्डारीले मेलाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेपालको पर्यटन उद्योगले विभिन्न चुनौतीबिच पनि छिटो पुनरुत्थान गर्न सक्ने क्षमता रहेको उल्लेख गरेका छन् । उनले नेपाल–बङ्गलादेशबिचको पर्यटन सहकार्य र जनस्तरीय सम्बन्ध अझ मजबुत बनाउनु पहल भइरहेको बताएका छन् । सोही मेलामा राखिएको नेपाल स्टलमा ठूलो सङ्ख्यामा आगन्तुकहरूको उपस्थिति रहेको थियो ।

स्टलमार्फत सहभागी नेपाली कम्पनीहरूले नयाँ अवसर पहिचान गर्न, पुराना सम्बन्धलाई नवीकरण गर्न र आफ्ना प्याकेज तथा सेवाहरू प्रस्तुत गरेका थिए ।

कयौँ बङ्गलादेशी आगन्तुकहरूले हालैको जेन–जी आन्दोलनपछिको नेपालको अवस्थाबारे जिज्ञासा राखे पनि उनीहरूले नेपाल छिटो सामान्य अवस्थामा फर्किएको देखेर सन्तुष्टि व्यक्त गरेका छन् । उनीहरूले बङ्गलादेशमै विगत
वर्षमा भएका राजनीतिक घटनाक्रमसँग तुलना गर्दै नेपाल भ्रमण गर्ने योजनामा कुनै असर नपरेको प्रतिक्रिया दिएका छन् ।

बङ्गलादेश नेपालका लागि तीव्र रूपमा बढ्दो पर्यटक बजार बन्दै गएको छ । सन् २०२४ मा नेपालले करिब ४९ हजार बङ्गलादेशी पर्यटक स्वागत गरेको थियो भने सन् २०२५ को पहिलो आठ महिनामै बङ्गलादेशी पर्यटक आगमनमा झन्डै ३२ प्रतिशत वृद्धि भएको पर्यटन बोर्डको तथ्याङ्कले देखाएको छ । भौगोलिक निकटता, समान जीवनशैली र बङ्गलादेशको बढ्दो आर्थिक क्षमता नेपालका लागि ‘अवसर’ साबित भएको छ ।

यस वर्षको मेलामा आठ विभिन्न देशका १५० संस्था सहभागी भएका थिए । १८० स्टलमार्फत पर्यटनसम्बन्धी सेवा र प्याकेजहरू प्रस्तुत गरिएको थियो ।

आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं ।आज मन्त्रिपरिषद् बैठक बस्दै छ । प्रधानमन्त्री सुशीला कार्कीले साँझ मन्त्रिपरिषद् बैठक बोलाएकी हुन् ।

मन्त्रिपरिषद्लाई पूर्णता दिनेलगायतका विषयमा छलफल हुनेछ । हाल प्रधानमन्त्री कार्कीसहित चार सदस्यीय मन्त्रिपरिषद् छ ।

महावीर पुन पनि मन्त्री बन्दै

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद्मा महावीर पुन पनि रहने भएका छन्। प्रधानमन्त्री कार्कीले छलफल गरेपछि पुन मन्त्री बन्न तयार भएका हुन्। पुनलाई विज्ञान तथा प्रविधि मन्त्री बनाउन लागिएको हो। तर अहिले शिक्षा पनि विज्ञान तथा प्रविधि मन्त्रालयसँगै छ। शिक्षा मन्त्रालयको समेत समेत जिम्मेवारी दिने कि विज्ञान तथा प्रविधिको मात्र जिम्मा दिने भन्ने प्रस्ट भइसकेको छैन।

पुन राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक हुन्। नेपालका ग्रामीण भेगमा ताररहित इन्टरनेट सेवा पुर्‍याउने पहलका लागि उनले प्रतिष्ठित रोमन म्यागासेसे पुरस्कार प्राप्त गरेका थिए।  यस्तै मन्त्रिपरिषद्मा एक जना दलित समुदायको प्रतिनिधित्व गर्ने गरी मन्त्री बनाउन लागिएको छ।  हाल प्रधानमन्त्री कार्कीसहित चार सदस्यीय मन्त्रिपरिषद्ले मात्र काम गरिरहेको छ।

मन्त्रिपरिषद् विस्तारका लागि प्रधानमन्त्री कार्कीका साथै अन्य मन्त्रीहरूले पनि गृहकार्य गरिरहेका छन्। खासगरी गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्याल यसमा बढी खटिएका छन्।  कार्की भदौ २७ गते जेनजी आन्दोलनको बलमा प्रधानमन्त्री नियुक्त भएकी थिइन्। गएको आइतबार तीन मन्त्री नियुक्त गरी पहिलो मन्त्रिपरिषद् बैठक बसेको थियो।

टिकटकको अमेरिकी बोर्डमा अमेरिकीकै प्रभुत्व रहने

वासिङ्टन । चिनियाँ मूल कम्पनी बाइटडान्सले टिकटकको अमेरिकी सञ्चालन बेच्ने सम्झौताले अमेरिकीकै नियन्त्रणमा रहेको नयाँ बोर्ड गठन गर्ने ह्वाइट हाउसले जनाएको छ ।

ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटका अनुसार संयुक्त राज्य अमेरिकामा एप सञ्चालन गर्ने सात सदस्यीय बोर्डमा छ जना अमेरिकी हुनेछन् । उनले ‘आगामी दिनमा’ सम्झौतामा हस्ताक्षर हुनसक्ने बताइन् ।

संयुक्त राज्य अमेरिकाले राष्ट्रिय सुरक्षाका कारण टिकटकको अमेरिकी सञ्चालन बाइटडान्सबाट अलग गर्न दबाब दिँदै आएको थियो । पूर्वराष्ट्रपति जो बाइडेनको नेतृत्वमा कङ्ग्रेसले बाइटडान्सलाई आफ्नो अमेरिकी कारोबार बेच्न वा प्रतिबन्ध भोग्नुपर्ने कानून पास गरेको थियो ।

अमेरिकी नीतिनिर्माताहरूले चीनले टिकटकमार्फत अमेरिकी प्रयोगकर्ताको डाटा सङ्कलन गर्न सक्ने वा तिनको सामाजिक सञ्जालमा देख्ने सामग्रीलाई प्रभाव पार्न सक्ने चेतावनी दिएका थिए । तर ट्रम्पले आफ्नो सन् २०२४ को चुनावी अभियानमा युवाबीच लोकप्रिय टिकटकलाई सक्रिय रूपमा प्रयोग गरेका थिए ।

ट्रम्पले प्रतिबन्ध कार्यान्वयनमा ढिलाइ गर्दै सम्झौता खोजिरहेका बेला ओरेकललगायतका लगानीकर्ताले टिकटक खरिद गर्न रुचि देखाएका छन् । ओरेकल ट्रम्पका प्रमुख समर्थक तथा विश्वकै धनी मध्ये एक ल्यारी एलिसनको स्वामित्वमा रहेको टेक कम्पनी हो ।

लेभिटका अनुसार टिकटकको डाटा र गोपनीयता व्यवस्थापन ओरेकलले गर्नेछ, एल्गोरिदम पनि अमेरिकाको नियन्त्रणमै रहनेछ । उनले भने, “यी सबै विवरणमा सहमति भइसकेको छ, अब सम्झौतामा हस्ताक्षर मात्र गर्न बाँकी छ ।”

ह्वाइट हाउसमा पत्रकारहरूले सोध्दा ट्रम्पले भने, “हामीसँग महान् अमेरिकी देशभक्तहरू छन् जसले टिकटक किनिरहेका छन् । धेरै महत्त्वपूर्ण व्यक्तिहरू संलग्न छन् ।” सातौँ बोर्ड सदस्य भने पछि घोषणा हुने उनले बताए ।

शुक्रबार ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीचको फोन वार्तामा टिकटक सम्झौताबारे छलफल भएको थियो । ट्रम्पले सीले सम्झौतामा समर्थन गरेको दाबी गर्नुभए पनि चीनले औपचारिक पुष्टि गरेको छैन । “हामीसँग कडा नियन्त्रण हुनेछ”, ट्रम्पले भने, “टिकटकको ठूलो मूल्य छ, र म अलिकति पूर्वाग्रही छु किनभने मैले यसमा राम्रो गरेको छु ।”

वाल स्ट्रिट जर्नलका अनुसार सम्झौतामा अमेरिकी सरकारले लगानीकर्ताबाट अर्बौं डलर शुल्क पनि प्राप्त गर्न सक्ने सम्भावना छ ।

 

तालिमले फेरिदियो जुगरानीको जीवन, केराको रेसाबाट कपडा उत्पादन

कैलाली- कैलालीको टीकापुर नगरपालिका–५ की जुगरानी चौधरीको दुई महिना अगाडिको समय निकै सकसपूर्ण थियो। दिनभर घरायसी काममा व्यस्त देखिने उनको कामबाट परिवार पनि सन्तुष्ट थिएन। उनी घरमा जति काम गरे पनि त्यसबाट आम्दानी नहुने भएपछि मानसिक तनाव हुने गरेको बताउँछिन्। जुगरानीलाई सहकारी संस्थाले तालिमका लागि सिफारिस गरेर सिकेको २५ दिने तालिमले उनको जीवन फेरिएको छ। एक संस्थाले २५ दिनसम्म दिएको तालिमले उनी उद्यममा जोडिन सफल भएकी हुन्।

पच्चीस दिनको निःशुल्क तालिमसहित ५० प्रतिशत अनुदानमा कपडा बुन्ने उपकरण सहयोग गरेपछि जुगरानीसहितका महिला उद्यममा जोडिन सफल भएका छन्। जुगरानीले अहिले केराको रेसाबाट काँचो कपडा बुन्ने काम थालेकी छिन्। आजभोलिको दैनिकी कपडा बनाउने काममै बित्ने गरेको छ। ‘खेर जाने केराको बोट (थाम) बाट कपडा हुन्छ भन्ने विश्वास गर्न नसकेकी म आफैँ कपडा बनाउन थालेकी छु,’ उनी भन्छिन्, ‘आजभोलि परिवारले पनि विश्वास गर्न थालेको छ। आफूलाई पनि आत्मनिर्भर भएको महसुस हुन्छ।’

टीकापुर नगरपालिका–८ स्थित धनसिंहपुर एकता समाज बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सहकारीमा आठ जना सदस्यलाई तालिममा सहभागी गराएर कपडा उत्पादन गर्ने सुरु गरेपछि महिला आत्मनिर्भर बन्दै गएका छन्। तालिमबाट आत्मनिर्भर बनेका महिला काम पाएपछि निकै उत्साहित भएर काम गरिरहेकी छिन्। ‘सीप भएपछि पैसा कमाउन समस्या नहुँदोरहेछ। समाजले हेर्ने दृष्टिकोणमा फेरिँदोरहेछ,’ सोही ठाउँकी कमला साउदले भनिन्, ‘हिजो घरमा बसेर दिन बिताउन मुस्किल हुन्थ्यो भने आजभोलि समय नै पुग्दैन।’

महिलाहरूले उत्पादन गरेको कपडा काठमाडौं लगिन्छ। प्रतिमिटर तीन सयमा काठमाडौंको अल्लो बजारले कपडा खरिद गर्दै आएको छ। मागअनुसार पुर्याउन नसकिएको वडा नं ७ की सकुन्तला चौधरी बताउँछिन्। ‘बजारमा माग निकै छ। एउटै कम्पनीलाई पनि हामीले पुर्याउन सकेका छैनौँ,’ उनी भन्छिन्, ‘बुन्न झन्झटिलो हुँदा समय बढी लाग्ने गरेको छ।’ उनले आधुनिक मेसिन भएको भए धेरै उत्पादन गर्न सकिने विश्वास व्यक्त गरिन्।

उत्पादन भएको कपडा निर्यातका लागि सहकारीले सहजीकरण गर्दै आएको छ। दुई वर्ष अगाडिबाट केराको खेर गइरहेको थामबाट रेसा उत्पादन गर्दै आएको सहकारीले यसभन्दा पहिले रेसा तयार गरेर बिक्री गर्दै आएको थियो। बजारमा रेसाको माग निकै हुँदा पुर्याउन नसकिएको सहकारीका व्यवस्थापक रामकृष्ण चौधरीले बताए। ‘रेसाका लागि चाहिने कच्चा पदार्थ अर्थात् केराको थाममा हामीले अहिलेसम्म पैसा तिर्नुपरेको छैन। उत्पादन भएको रेसाले बजारको माग धान्न सकेका छैनौँ,’ उनी भन्छन्, ‘अहिले त आफ्नै लागि रेसा पुर्याउन सकिएको छैन।’

महिलाहरूले सरकारबाट सहयोगको अपेक्षा गरेका छन्। उत्पादन भएको कपडाबाट अन्य सामग्री उत्पादनका लागि आवश्यक सीप र आधुनिक मेसिनमा सहयोगको अपेक्षा महिलाहरूले गरेका छन्। ‘कपडा उत्पादनसँगै त्यसबाट आवश्यक सामग्री बनाउन सके अझै राम्रो आम्दानी गर्न सकिन्थ्यो,’ स्थानीय कमलाकुमारी चौधरी भन्छिन्, ‘हामीलाई थप सीप र आधुनिक मेसिनमा सहयोग चाहिएको छ। केही रकम हामी आफैँ पनि लगानी गर्न सक्छौँ।’

उनले केराको कपडाबाट टोपी, झोला, चप्पल, जुत्ता, गुन्द्रीलगायत सामग्री उत्पादन गर्न सकिने बताउँछिन्। स्थानीय महिलालाई सिलाइकटाइलगायत तालिममा लाखौँ खर्च स्थानीय सरकारले बर्सेनि गर्दै आए पनि आफ्नो क्षेत्रमा खेर गइरहेको कच्चा पदार्थको उपयोग गर्दै आत्मनिर्भर बनाउने काममा लगानी आवश्यक रहेको चौधरी बताउँछिन्। ‘टीकापुर केराको नामबाट परिचित छ। त्यहीँ केराबाट हरेक नागरिक आत्मनिर्भर बन्न सक्ने आधार छन्,’ उनी भन्छिन्, ‘लगानी आवश्यक छ। स्थानीय सरकारले अन्य महिलालाई पनि यस्तै तालिम दिनसक्यो भने रोजगारी आफैँ सृजना गर्न सकिन्छ।’

टीकापुरमा हाल एक हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा केरा खेती हुँदै आएको छ। केरा उत्पादन भएपछि खेर गइरहेको केराको बोट (थाम)बाट रेसा उत्पादन गरेर कपडा उत्पादन भइरहेको छ। रासस

गुमनाम छन् पूर्वगृहमन्त्री लेखक

काठमाडौं– जेनजी आन्दोलनका क्रममा भदौ २३ गते १९ जनाको प्रहरीको गोली लागि मृत्यु भएपछि राजीनामा दिएका पूर्वगृहमन्त्री रमेश लेखक गुमनाम बनेका छन्।

तिव्र बिरोध र आलोचना भए पनि पदीय दायित्वलाई कायम राख्दै विवाद छिचोलेर चलेका उनी यसअघि भिजिट भिसा प्रकरणमा पनि राजीनामा माग गरिएका नेता थिए। तर राजीनामा दिएनन्।

जेनजी आन्दोलन मत्थर भएपछि बिस्तारै विभिन्न दलका नेता र तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली सार्वजनिक भएर अपिल समेत जारी गरिरहेका बेला भने लेखक कहाँ छन् भन्ने भनक समेत दिएका छैनन्।

‘प्रायः नेताहरु सार्वजनिक भैसके। आक्रमणमा घाइते कांग्रेस सभापति शेरबहादुर देउवा उपचारका क्रममा सैनिक अस्पतालमा छन्। तर लेखकको बारेमा अहिलेसम्म केही जानकारी छैन’, कांग्रेसका नेताहरू भन्छन्,‘उहाँ सुरक्षित हुनुहुन्छ भन्ने विश्वास छ।’

न्यायिक जाँचबुझ आयोग बनाउने सरकारको तयारी

काठ्माडौँ- सरकारले जेनजी आन्दोलनको दमन र त्यसैका नाममा भएको विध्वंशको जाँचबुझ गर्न न्यायिक आयोग बनाउने तयारी गरेको छ।

मन्त्रिपरिषद्को बैठकले यस विषयमा गत आइतबार नै सैद्धान्तिक निर्णय गरिसकेको छ।

मन्त्रिपरिषद् स्रोतका अनुसार, विशेष अदालतका पूर्वअध्यक्ष (उच्च अदालतका पूर्वन्यायाधीश) गौरीबहादुर कार्कीको नाम अग्रपंक्तिमा छ। त्यस्तै सर्वोच्चकै पूर्वन्यायाधीश बलराम केसीको नाम पनि बालुवाटारको छलफलमा छ।

तर, स्वयं पूर्वन्यायाधीश कार्कीले भने आफूलाई भन्दा सर्वोच्च अदालतका पूर्वन्यायाधीशहरू बलराम केसी, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईमध्ये एक जनाको नेतृत्वमा यस्तो आयोग बनाउन उचित हुने सुझाव दिएका छन्।

कार्की विशेष अदालतमा बसेका एक निर्भीक र निष्ठावान् न्यायाधीशमा गनिन्छन्। उनले धेरै भ्रष्टाचार मुद्दाको फैसला पनि गरेका छन्। त्यसैले उनले आन्दोलन दमनका विषयमा भन्दा भ्रष्टाचारसम्बन्धी जाँचबुझ आयोगको जिम्मेवारी पाए उचित हुने सन्देश बालुवाटारमा पठाएका छन्।

मन्त्रिपरिषद्को बैठक आज बस्दै छ।

जेनजीले भ्रष्टाचार र नातावादको अन्त्यका विरुद्ध आन्दोलन गरेका थिए। त्यही आन्दोलनका बलमा केपी शर्मा ओली नेतृत्वको सरकार विस्थापित भई पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार गठन भएको छ।

जेनजीहरूले भ्रष्टाचार छानबिन आयोगका लागि सरकारलाई दबाब दिइरहेका छन्। यदि सरकारले यस्तो आयोग गठन नगरे पुनः सडकमा जाने तयारीका लागि सामाजिक सञ्जालमा जेनजीका विभिन्न समूह छलफल चलाइरहेका छन्।

खोज्नुहोस