चार मन्त्री थपिए, अझै अपूर्ण मन्त्रिपरिषद्

काठमाडौं ७ असोज । अन्तरिम मन्त्रिपरिषद्मा सोमबार चार मन्त्री थपिएका छन् । सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, म्यागासेसे पुरस्कार विजेता महावीर पुन, जलवायु तथा कृषि विज्ञ मदनप्रसाद परियार र पत्रकार जगदीश खरेल मन्त्री नियुक्त भएका हुन् ।

पूर्वन्यायाधीश सिन्हालाई उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री, कानुन, न्याय तथा संसदीय मामिला र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिइएको छ । पुन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री, परियार कृषि तथा पशुपन्छी विकासमन्त्री र खरेल सञ्चार तथा सूचना प्रविधिमन्त्री बनेका छन् । स्वास्थ्यमन्त्रीमा आइतबार सिफारिस गरिएकी डा. संगीता कौशल मिश्राको नियुक्ति भने स्थगन भएको छ ।

जेन–जी आन्दोलनको दबाबमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि २७ भदौमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री बनेकी थिइन् । कार्कीले ३० भदौमा रामेश्वर खनाललाई अर्थमन्त्री, ओमप्रकाश अर्याललाई गृहमन्त्री र कुलमान घिसिङलाई भौतिक पूर्वाधारसहित ऊर्जामन्त्री बनाएकी थिइन् ।

संविधानतः मन्त्रिपरिषद् २५ सदस्यीय बनाउन मिल्छ तर प्रधानमन्त्री कार्कीले ११ सदस्यीय मन्त्रिपरिषद् बनाउने भन्दै आएकी छन् । त्यति संख्या पुर्‍याउन पनि कार्कीले अझै तीन मन्त्री नियुक्ति गर्नुपर्नेछ । प्रधानमन्त्री कार्कीको जिम्मेवारीमा परराष्ट्र, रक्षा, खानेपानी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, युवा तथा खेलकुद, वन तथा वातावरण, श्रम रोजगार तथा सामाजिक सुरक्षा, संस्कृति पर्यटन तथा नागरिक उड्डयन र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय छन् ।

नवनियुक्त चारै मन्त्रीले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएर पदभार ग्रहण गरेका छन् । तीन मन्त्रालयको जिम्मेवारी पाएका सिन्हाले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय पुगेर पदभार ग्रहण गरेका थिए । त्यस क्रममा उनले सहिद परिवारका सदस्य र आन्दोलनका क्रममा घाइते भएका व्यक्तिका लागि रोजगारी व्यवस्था गर्ने पहिलो निर्णयमा हस्ताक्षर गरे । सरकारी निकायमा फर्निचर तथा अन्य निर्माण सामग्री स्वदेशी उत्पादन प्रयोग गर्ने निर्णयमा पनि उनले हस्ताक्षर गरेका छन् ।

मुग्लिन–नारायणगढ सडक दुईतर्फी सञ्चालनमा आयो

काठमाडौं ७ असोज । मुग्लिन–नारायणगढ सडक सोमबार साँझबाट दुईतर्फी सञ्चालनमा आएको छ। गत शुक्रबारको पहिरोका कारण अवरुद्ध सडक ४५ घण्टापछि आइतबार अपराह्नबाट सुचारु भए पनि एकतर्फी मात्र थियो।

तर, मुग्लिन–नारायणगढ सडक खण्डको तुइन खोला पुलनजिकै एकतर्फी सञ्चालनमा रहेको सडक पहिरो पूर्ण रूपमा हटाएर सोमबार साँझ ६ बजेबाट सवारी आवागमन दुईतर्फी नै सञ्चालनमा आएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ।

सडक दुईतर्फी खुलाउन दिउँसो १ बजेबाट सवारी आवागमन बन्द गरिएको थियो। तर, साँझ ६ बजेबाट दुईतर्फी खुलेसँगै सवारी आवागमन सुचारु गरिएको हो।

सडक डिभिजन भरतपुरका प्रमुख नारायणप्रसाद लामिछानेले त्यस क्षेत्रको भौगोलिक बनावट कमजोर रहेकाले पहिरोको जोखिम बताए। त्यसमाथि त्यहाँ टुक्रे चट्यान छ। त्यसले गर्दा यस क्षेत्रमा पहिरो खस्ने गरेको छ।

शिक्षामन्त्री पुनको पहिलो निर्णय- चार वटा सल्लाहकार समिति गठन

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले पदभार ग्रहण गरेका छन्।

सोमबार राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहण लगत्तै केशरमहलस्थित कार्यालय पुगी उनले पदभार ग्रहण गरेका हुन्।

पदभार ग्रहण गर्दै नवनियुक्त मन्त्री पुनले विज्ञान तथा प्रविधि क्षेत्रसँग सम्बन्धित चार वटा सल्लाहकार समिति गठन गर्ने निर्णयमा हस्ताक्षर गरे।

अन्तरिक्ष प्रविधि, न्यूक्लियर टेक्नोलोजी, बायोटेक्नोलोजी र सूचना प्रविधि तथा एआईसम्बन्धी सल्लाह दिन सल्लाहकार समिति गठन गरेको मन्त्रालयले जनाएको छ।

समितिको कार्यक्षेत्र प्रस्ताव गरिएको छ भने समितिमा रहने सदस्यहरुको नाम पछि टुंगो लगाइने जनाइएको छ।रासस

सञ्चारमन्त्री खरेलद्वारा पदभार ग्रहण

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले पदभार ग्रहण गरेका छन्।

आज राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहण लगत्तै सिंहदरबारस्थित कार्यालय पुगी उनले पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहण गर्दै मन्त्री खरेलले काठमाडौँसहित देशका प्रमुख १० सहरका सार्वजनिक स्थानमा पाँच महिनाभित्र निःशुल्क वाइफाइ उपलब्ध गराउने पहिलो निर्णय गरेको मन्त्रालयले जनाएको छ ।

सञ्चारमन्त्रीको पहिलो निर्णय : १० वटा प्रमुख शहरका सार्वजनिक स्थलमा नि:शुल्क इन्टरनेट

६ असोज, काठमाडौं । सूचना, सञ्चार तथा प्रविधिमन्त्री जगदिश खरेलले ५ महिनाभित्र देशका प्रमुख १० वटा शहरका सार्वजनिक स्थलमा नि:शुल्क इन्टरनेट सेवा उपलब्ध गराउने निर्णय गरेका छन् ।

आजै मन्त्रालयको पदभार ग्रहण गरेका मन्त्री खरेलले पहिलो निर्णयमा यो व्यवस्था गर्न भनेका हुन् ।

पदभार ग्रहणका लागि पुगेका मन्त्री खरेलले सुरुमा कर्मचारीले ल्याएको प्रस्तावमा केही थप गर्न लगाएर ल्याउन भनेका थिए ।

निर्णय अनुसार काठमाडौं बाहिरका प्रमुख १० वटा शहरका प्रमुख सार्वजनिक स्थलमा इन्टरनेट सेवा उपलब्ध गराइनेछ ।

मन्त्री सिन्हाले गरे पदभार ग्रहण

काठमाडौं । तीन वटा मन्त्रालयको जिम्मेवारी पाएका नवनियुक्त मन्त्री अनील कुमार सिन्हाले पदभार ग्रहण गरेका छन् ।

सोमबार शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका मन्त्री सिन्हाले सिंहदरबारस्थित उद्योग मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् ।

मन्त्री सिन्हालाई उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र कानुन मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

कानुन मन्त्रालयको जिम्मेवारी यसअघि गृहमन्त्री ओमप्रकाश अर्यालले नै लिएकोमा प्रधानमन्त्री सुशीला कार्कीले सिन्हालाई सुम्पिएकी हुन् ।

मन्त्री सिन्हा सर्वोच्चका पूर्वन्यायाधीश समेत हुन् ।

आफू मन्त्रालयमै सुत्ने भन्दै एउटा खाट र किचेनको व्यवस्था गर्न शिक्षामन्त्रीको निर्देशन

काठमाडौं । शिक्षामन्त्री महावीर पुनले आफूलाई बस्नका लागि क्वाटर नचाहिने बताएका छन् । उनले आफू मन्त्रालयमै सुत्ने भन्दै खाटको व्यवस्था गर्न निर्देशन दिए ।

पदभार ग्रहण गरेपछि पत्रकारसँग बोल्दै पुनले आफूले आविस्कार केन्द्रबाट राजीनामा दिइसकेको बताए ।

उनले भने, ‘यो पद ग्रहण गरेपछि म अविस्कार केन्द्रमा रहनु हुँदैन, मैले राजीनामा दिइसकेँ ।’

अहिले सरकारी क्वाटर पनि छैन, कहाँ बस्नु हुन्छ ? भन्ने पत्रकारको प्रश्नमा उनले मन्त्रालयमै बस्ने जवाफ दिए ।

‘मेरो त जहाँ काम गर्‍यो त्यहीँ बस्ने बानी छ । एउटा कोठा बनाउनुस् । मन्त्रालयमै बस्छु । एउटा कुर्सी चाहिन्छ । किचन चाहियो । आफैं पकाएर खान्छु ।’

उनले आफूलाई सुरक्षा पनि नचाहिने बताए ।

पुनले भने,‘सेवा सुविधा के छ भने त्यहाँबाट आउँदा एउटा पुलिसको र एउटा आर्मीको रहेछ । मैले भाइहरुलाई भनेको छु । रिपोर्ट गर्नु कमाण्डरहरुलाई । म यो मन्त्रालयमा छँदा यहीँ बसौं । यहाँबाट बाहिर निस्किएपछि पछिपछि आउनु पर्दैन ।’

उनले मन्त्रालयको गाडी भने औपचारिक काममा प्रयोग गर्ने बताए ।

विज्ञहरूसँग सुझाव लिएर अघि बढ्छु : शिक्षामन्त्री पुन

काठमाडौं । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विज्ञहरूसँग सुझाव लिएर अघि बढ्ने बताएका छन् ।

शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट मन्त्री पदको शपथ लिएपछि सञ्चारमन्त्रीसँग कुरा गर्दै पुनले अपर्झट मन्त्री भएकाले अहिले नै धेरै नबोल्ने बताए ।

‘म शिवजी अथवा भगवान भएदिएको भए त्रिनेत्र लगाएर यसो यसो गर्छु भन्ने थिएँ, अब अपर्झट यहाँ आएर मन्त्री भइएको छ, सेवा सुविधा मलाई केही पनि चाहिन्न, म मन्त्रालयमा ओछ्यान लगाएर बस्ने हो,’ उनले भने ।

ठ्टयौली पारामा उनले भने, ‘मन्त्रालयभित्र किचेन होला, त्यहीँ पकाइ खाने, त्यहीँ सुत्ने ।’

मन्त्रीको जिम्मेवारीमा रहँदा प्राप्त हुने राम्रा सुझाव ग्रहण गरेर सकेसम्म छिटो कार्यान्वयनमा लैजाने उनको भनाइ छ ।

मन्त्रालयको जिम्मेवारी अनुसार विज्ञान, प्रविधि, नवप्रवर्तन नै आफ्नो प्राथमिकता पर्ने उनले बताए ।

आफूले जिम्मेवारी पाएको मन्त्रालय शिक्षा क्षेत्रसँग पनि जोडिएको तर, शिक्षामा सुधार र परिवर्तनबारे अहिले नै नबोल्ने बताए ।

आफू मन्त्री बन्न नचाहेको तर, परिस्थितिले बनाएको उनले बताए ।

यस कारण काटियो स्वास्थ्यमन्त्रीबाट डा. संगीताको नाम

काठमाडौं । स्वास्थ्यमन्त्री बन्न अतिरिक्त स्वास्थ्य सचिवबाट राजीनामा दिएकी डा. संगीता कौशल मिश्राको नाम विवादमा आएपछि एकाएक काटिएको छ ।

आइतबार प्रधानमन्त्री सुशीला कार्कीले डा. मिश्रालाई स्वास्थ्य मन्त्रालयको नेतृत्वका लागि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेकी थिइन् ।

उनीसँगै मन्त्रीका लागि सिफारिस भएका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा महावीर पुन, उद्योग वाणिज्य तथा आपूर्ति र भूमिसुधार मन्त्रीमा पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, कृषिमन्त्रीमा डा. मदन परियार र सञ्चार, सूचना तथा प्रविधि मन्त्रीमा जगदीश खरेललाई राष्ट्रपति पौडलले सोमबार दिउँसो शपथ खुवाए । तर अन्तिम समयमा आएर डा. मिश्राको नाम भने काटियो ।

नवनियुक्त मन्त्रीहरूको शपथ आइतबार राति नै गर्ने तयारी थियो । तर, अकस्मात शपथ रोकियो । प्रधानमन्त्री कार्यालय स्रोत अनुसार नवनियुक्त मन्त्रीमा डा. मिश्राको नाम विवादमा परेपछि शपथको समय एकदिन पर सारिएको हो । प्रधानमन्त्री कार्कीबाट शपथ आजका लागि ‘होल्ड’ गर्न राष्ट्रपति कार्यालयलाई खबर गरिएको थियो ।

‘डा. मिश्राको नाम विवादमा आएपछि प्रधानमन्त्री कार्यालयबाट ‘होल्ड’ गर्नुभन्ने जानकारी प्राप्त भयो,’ स्रोतले  भन्यो, ‘ उहाँमाथि मेडिकल उपकरण खरिद लगायत अन्य फाइल पनि अख्तियारमा छानबिनकै क्रममा रहेकाले आज नाम काटिएको हो ।’

डा. मिश्रा स्वास्थ्य सेवा विभागको महानिर्देशक हुँदा कतिपय निर्णयमाथि परेको उजुरी विचाराधीन छ । खासगरी स्वास्थ्य उपकरण खरिदका निर्णयमाथिको फाइलमा अनुसन्धान चलिरहेको छ र टुंगिएको छैन ।

नवनियुक्त चार मन्त्रीहरूले लिए पद तथा गोपनियताको शपथ

काठमाडौं । नवनियुक्त चार मन्त्रीहरूले पद तथा गोपनियताको शपथग्रहण गरेका छन् । आज शीतल निवासमा आयोजित एक विशेष समारोहमा मन्त्रीहरु महावीर पुन, जगदीश खरेल, अनिलकुमार सिन्हा र डा. मदन परियारले राष्ट्रपति समक्ष शपथ लिएका हुन् ।

पूर्वन्यायाधीश रहेका सिन्हालाई तीन वटा मन्त्रालयको जिम्मेवारी दिइएको छ । उनले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय र कानुन मन्त्रालय समहाल्नेछन् । कानुन मन्त्रालयको जिम्मेवारी यसअघि गृहमन्त्री ओमप्रकाश अर्यालले नै लिएका थिए ।

यसैगरी इमेज टिभीका समाचार प्रमुख रहेका जगदीश खरेलले सञ्चार तथा सूचना प्रविधिमन्त्रीको जिम्मेवारी पाएका छन् भने राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले शिक्षा विज्ञान तथा प्रविधिमन्त्रीको जिम्मेवारी सम्हाल्नेछन् ।

मन्त्री बन्ने सूचीमा डा. मदन परियार पनि रहेका छन् । उनलाई कृषि विकास तथा पशुपंंछि मन्त्रालयको जिम्मेवारी दिन मन्त्री दिइएको छ । उनी कृषि विज्ञ हुन् ।

यसअघि पूर्वअतिरिक्त स्वास्थ्य सचिव डा. संगीता मिश्रालाई स्वास्थ्यमन्त्रीका लागि सिफारिस गरिएको थियो । तर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मिश्राविरुद्ध भ्रष्टाचार आरोपमा छानबिन गरिरहेको जानकारी पाएपछि प्रधानमन्त्री सुशीला कार्कीले उनको नाम फिर्ता लिएकी थिइन् ।

कैलाली कारागारलाई तत्काल तीन थान कम्प्युटर, प्रिन्टर र दराज आवश्यक

कैलाली । कैलाली कारागारलाई तत्काल तीन थान कम्प्युटर, प्रिन्टर र तीन थान दराज आवश्यक परेको छ । भदौ २४ गते जेनजी आन्दोलनका क्रममा कारागारमा तोडफोड र आगजनी भएपछि सरसामान जलेर नष्ट भएका थिए ।

अहिले दैनिक कामकारबाहीका लागि आवश्यक सामाग्री नै नभएपछि सेवा प्रवाहमा समस्या आएको कारागार प्रशासनले जनाएको छ । यस सँगै विभिन्न फाटका लागि १२ वटा कुर्सी, एक थान टेबल र एक सोफा पनि तत्काल आवश्यक रहेको कारागारका जेलर चिरञ्जीवी सापकोटाले बताए ।

‘आन्दोलनका क्रममा आगजनी भयो, तोडफोड भयो । सामान लुटपाट भए । हामी सँग अहिले अत्यावश्यक सामाग्री पनि छैनन्,’ उनले भने, ‘चैतन्य स्कुलले केही सामाग्री सहयोग गरेको छ । अरूले पनि  आवश्यक सामाग्री सहयोग गरिदिए सहज हुन्थ्यो ।’

 

अनमोल स्टारर ‘जेरी अन टप’ गीत सार्वजनिक

काठमाडौं । चलचित्र ‘जेरी अन टप’को गीत सार्वजनिक गरिएको छ । घटस्थापनाको अवसरमा ‘कस्तूरी’ बोलको गीत सार्वजनिक गरिएको हो ।

आशिष गुवाजु र सदीक्षा कट्टेलको स्वर रहेको गीत संगीतकार जयन जे वाइबाले तयार गरेका हुन् । गीतमा वाइबाकै शब्द छ ।

गीतको भिडियोमा अनमोल केसी र अभिनेत्री आँचल शर्मा फिचर्ड छन् । भिडियोमा मुस्ताङदेखि भारतको राजस्थानका विभिन्न रमणीय दृश्य छन् ।

सुयोग गुरुङको निर्देशनमा तयार भएको ‘जेरी अन टप’मा अनमोल र आँचलसँगै अभिनेत्री जसीता गुरुङ, केदार घिमिरे, भुवन केसी र उषा खड्गी प्रमुख भूमिकामा छन् । सुरक्षा पन्त विशेष भूमिकामा छिन् ।

चलचित्र ‘जेरी अन टप’ असोज ३१ गतेबाट प्रदर्शनमा आउनेछ ।

यूएईपछि नेपालीलाई भिसामा कडाइ गर्दै मलेसिया, कतार र साउदी

काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई) ले नेपालीलाई भिसामा कडाइ गरेसँगै मलेसिया सहितका देशले पनि  कडाइ गर्न थालेका छन् ।

२३ र २४ भदौमा नेपालमा भएको जेनजी आन्दोलनपछि उत्पन्न परिस्थिति मध्यनजर गर्दै यूएईले १५ सेप्टेम्बरदेखि भिजिट र वर्किङ भिसामा कडाइ गर्दै आएको छ । अहिले यूएईसँगै मलेसिया, साउदी अरब, कतार लगायत देशले समेत भिसा दिन कडाइ गर्न थालेका हुन् ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका सचिव कुन्छादोर्जे डिम्दोङले मलेसिया सहित अन्य खाडी देशले समेत भिसा दिन कडाइ गर्न थालेको बताए ।

यूएईपछि मलेसिया, कतार, साउदी लगायत देशले समेत सहज  भिसा दिन छाडेको उनको भनाइ छ । ‘दुई/तीन दिनयता अनेकन कागजात मागिरहेका छन् । प्रहरी रिपोर्ट पनि तत्कालको मागिरहेका छन् । कतिपयको रिजेक्ट पनि भइरहेको छ,’ डिम्दोङले भने ।

यूएईले भिजिट भिसामा पूर्णरूपमा रोक लगाएको छ भने वर्किङ भिसामा समेत कडाइ गर्दै आएको छ । जेनजी आन्दोलनपछि जेलबाट भागेका कैदीहरू आफ्नो देशमा पस्न सक्नेतर्फ सचेत हुँदै यूएईले भिसामा कडाइ गरेको जनाइएको छ । तर, यूएईले यसबारे कुनै आधिकारिक जानकारी भने गराएको छैन ।

यूएईले आन्तरिक व्यवस्थापन कारण देखाउँदै भिसामा रोक तथा कडाइ गरेको समेत भन्ने गरिएको छ । त्यससँगै सुरक्षा चुनौतीका कारण समेत रोक लगाएको यूएईका व्यवसायीहरूले नेपाली व्यवसायीहरूलाई जानकारी गराएका छन् ।

यूएईपछि मलेसिया, साउदी र कतारले समेत भिसामा कडाइ गरेको मेननपावर व्यवसायीहरूको भनाइ छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार मलेसिया, साउदी र कतारले समेत भिसामा कडाइ गरेका छन् ।

नेपालीलाई भिसामा कडाइ गरेपछि परराष्ट्र मन्त्रालयले राजदूतावासहरूसँग बैठक आह्वान गरेको छ । भोलि मंगलबार राजदूतावासहरूसँग मन्त्रालयले छलफल गर्न लागेको हो । पछिल्लो समय उत्पन्न परिस्थितिका विषयमा छलफल हुनेछ ।

मेननपावर व्यवसायीहरूका अनुसार मलेसिया, कतार र साउदीले समेत वर्किङ भिसामा जाने श्रमिकका हकमा विभिन्न कागजात माग गरिरहेका छन् । विगतको तुलनामा पछिल्ला दिनमा सहज भिसा उपलब्ध नभएको डिम्दोङले बताए ।

यूएईलाई देखेर अन्य देशले समेत भिसामा कडाइ गरेको हुन सक्ने उनको अनुमान छ ।

यूएईमा भिजिट भिसा बन्द गरेपछि नेपाली राष्ट्रिय क्रिकेट खेलाडीलाई समेत भिसा दिन अस्वीकार गरेको थियो । वेस्ट इन्डिजसँगको टी–२० आई शृङ्खला खेल्न यूएई जान लागेका खेलाडीलाई भिसा दिन अस्वीकार गरेको थियो । पछि भिसा पाएका थिए ।

यूएईले भिसामा कडाइ गर्दा भिजिट भिसामार्फत गएकाहरू समस्यामा परेका छन् । नेपालबाट वैदेशिक रोजगारीका यूएई जाने दैनिक ५ सयभन्दा बढी नेपाली अन्योलमा परेका छन् ।

यूएईले वर्किङ भिसाका हकमा भने तत्कालको प्रहरी रिपोर्टका आधारमा जान दिइरहेको र नयाँका हकमा भने अस्वीकृत भइरहेको मेननपावर व्यवसायीहरूको भनाइ छ ।

मलेसिया, कतार र साउदीका हकमा समेत हिजोआज अस्वीकृत हुने दर बढेको डिम्दोङको भनाइ छ । उनका अनुसार भिसाका लागि आवेदन दिँदा समेत थप कागजात माग्ने गरिएको छ ।

नेपालीको प्रमुख श्रम गन्तव्य मुलुक रहेका यूएई, मलेसिया, साउदी र कतारले नेपालको सुरक्षा चुनौती मध्यनजर गर्दै भिसामा कडाइ गरेको हुन सक्ने व्यवसायीहरूको भनाइ छ ।

यूएईका व्यवसायीहरूले नेपाली मेननपावर व्यवसायीलाई दिएको जानकारी अनुसार पहिचान, नागरिकता, भन्सार र बन्दरगाह सुरक्षा कारण देखाउँदै संघीय प्राधिकरणले लेनदेन अस्वीकार गरेको जनाएका छन् ।

जसका कारण भिसाका लागि दिइएको आवेदन अस्वीकृत गरिएको जानकारी आइरहेको छ । भिसाका हकमा ‘यो व्यक्तिका लागि भिसा जारी गर्न सकिँदैन’ भनेर अस्वीकृत गर्दै आएको छ । पछिल्लो समय भिसा आवेदन दिएका सबैको अस्वीकृत भइरहेको डिम्दोङले बताए ।

यूएईका हकमा नयाँ भिसा जारी नभए पनि यसअघि नै भिसा जारी भइसकेका हकमा भने जान पाइरहेका छन् । यूएईले सुरक्षा कारण देखाउँदै भिसा दिन बन्द गरेसँगै दैनिक ५ सयभन्दा बढी नेपाली यूएई जानबाट रोकिएका छन् ।

गत वर्ष सबैभन्दा बढी नेपाली यूएई नै गएका थिए । यो आर्थिक वर्ष दुई महिनामा मात्रै ५० हजार नेपाली रोजगारीका लागि यूएई गएका छन् । यूएईले ३० भदौदेखि भिसा दिन रोकेसँगै नेपाली अन्य मुलुकको विकल्प खोज्न थालेका हुन् ।

गत वर्ष ४९ हजार १ सय ८७ जनाले मलेसियाका लागि श्रम स्वीकृति (पुन: श्रम स्वीकृति सहित) लिएका थिए । त्यस्तै १ लाख ५२ हजार ५ सय ५७ जनाले साउदी र ४२ हजार ९ सय ८६ जनाले कतारका लागि श्रम स्वीकृति (पुन: श्रम स्वीकृति सहित) लिएका थिए ।

श्रीमतीको हत्यापछि सिधै नख्खु कारागार फर्किएका थिए सन्तबहादुर

काभ्रेपलाञ्चोक। काभ्रेको पनौती नगरपालिका–१२, गागलमा श्रीमतीको हत्या गरेर सन्तबहादुर तामाङ नख्खु कारागार फर्किएको खुलेको छ।

श्रीमती मनिषा घ्यावा तामाङ (जमुना)को हत्या गरेर शव खाल्डोमा पुरेर उनी कारागार फर्किएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख कोमल शाहले जानकारी दिए । हत्याको आरोपबाट जोगिन उनी कारागार फर्किएको प्रहरीको आशंका छ।

गएको भदौ २४ गते ‘जेनजी’को प्रदर्शनका क्रममा कारागार तोडफोड र आगजनी गरिँदा तामाङ जेलबाट भागेका थिए । प्रारम्भिक अनुसन्धानका क्रममा असोज २ गते राति श्रीमती पर-पुरुष सँग लागेको शंकाको आधारमा श्रीमान-श्रीमतीबीच झगडा भई श्रीमानले कुटपिट गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी मिन बहादुर घलेले जानकारी दिए।

उनका अनुसार श्रीमतीको हत्या पश्चात घर नजिकै करेसा बारीमा खाल्डो खनी पुरेर असोज ३ गते नख्खु कारागारमा उपस्थित हुन गएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको र थप अनुसन्धान कार्य भइरहेको बताए ।

उनी कारागार फर्किएको खुलेपछि काभ्रे प्रहरीको टोली समेत नख्खु पुगेको छ। उनीमाथि अब कर्तव्य ज्यान मुद्दामा पनि अनुसन्धान गरिनेछ।

इलाका प्रहरी कार्यालय बनेपाबाट खटी गएको प्रहरी अधिकृतको टोली सहित फोरेन्सिक मेडिसिन बिभागको विशेषज्ञ डाक्टरको टोलीले उक्त लाशको उत्खनन गरी प्रारम्भिक अनुसन्धान कार्य पश्चात पोष्टमार्टमको लागी मृतक लाशलाई फोरेन्सिक मेडिसिन बिभाग धुलिखेल काभ्रेपलाञ्चोकमा ल्याई राखेको प्रहरीले जनाएको छ ।

तामाङका १२ वर्षीय एक छोरा र तीन वर्षीया छोरी छन् । जबरजस्ती करणी कसुरमा उनको कैद सजाय पूरा हुन एक महिना मात्र बाँकी रहेको कारागार स्रोतले जनाएको छ ।

अर्थमन्त्री खनाल र अमेरिकी राजदुत थम्पसनबीच भेटवार्ता

काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालसँग नेपालका लागि अमेरिकी राजदुत डिन थम्पसनले भेटवार्ता गरेका छन् ।

उक्त अवसरमा अर्थमन्त्री खनाल र अमेरिकी राजदुत थमसनबीच नेपालको हालको परिवर्तित अवस्था र संयुक्त राज्य अमेरिकाले यस परिस्थितिमा नेपाललाई गर्न सक्ने सहयोगका विषयमा छलफल भयो ।

छलफलमा अर्थमन्त्री खनालले विशिष्ट परिस्थतिमा गठन भएको वर्तमान सरकारको मुख्य कार्य तोकिएको समयमा निर्वाचन सम्पन्न गर्ने, पुनर्निर्माण योजना र सहुलियत प्याकेजको माध्यमवाट निजी क्षेत्रको मनोवल माथि उठाउनु रहेको बताए । अमेरिकी राजदुतले हालैको घटनामा ज्यान गुमाउने परिवार प्रति समवेदना तथा सहानुभुति व्यक्त गर्दै यस परिस्थितिमा अमेरिकी सरकार नेपालको साथमा रहेको उल्लेख गरे ।

साथै, अमेरिकी राजदुत थमसनले एमसीसीको सहयोगमा संचालित एमसीए नेपालबाट कार्यान्वयन भइरहेका परियोजनाहरु समयमै सम्पन्न गर्ने कार्यमा सरकारको थप प्रतिवद्धता आवश्यक रहेको बताए । अर्थमन्त्री खनालले उक्त परियोजनाहरुको सफल कार्यान्वयनका लागि सरकारको तर्फवाट गर्नुपर्ने कार्यहरूमा ढिलाई नहुने विश्वास दिलाए । सो अवसरमा अर्थमन्त्री खनालले नेपालको सामाजिक आर्थिक विकासमा अमेरिकी सरकारको तर्फवाट हुँदै आइरहेको निरन्तर सहयोगको उच्च सराहना गरे र भविष्यमा समेत यस प्रकारको सहयोग प्राप्त भइरहने आशा समेत व्यक्त गरे ।

उक्त वैठकमा अर्थ सचिव घनश्याम उपाध्याय, अर्थ मन्त्रालय, वैदेशिक सहायता समन्वय महाशाखाका सह सचिव श्री धनीराम शर्मा, परराष्ट्र मन्त्रालयका पदाधिकारी र अमेरिकी राजदुतावासका पदाधिकारीहरुको समेत उपस्थति रहेको थियो।

देशभर ६ राजमार्ग पूर्णरुपमा अवरुद्ध, १६९ सडक एकतर्फी सञ्चालनमा

काठमाडौँ : हाल देशभरका ६ वटा राजमार्ग पूर्णरुपमा अवरुद्ध र १६९ सडकखण्डमा एकतर्फी रुपमा यातायात सञ्चालनमा रहेका छन्। सडक विभागका अनुसार विभिन्न स्थानमा बाढीले सडक कटान गर्नुका साथै पहिरो खस्दा आवागमन अवरुद्ध भएको हो।

विभागका प्रवक्ता प्रभातकुमार झाले काठमाडौं–धुलिखेल–दोलालघाट–खाडीचौर–कोदारी (अरनिको राजमार्ग)मा आज साँझसम्म यातायात सञ्चालन गर्न मिल्ने गरी काम भइरहेको जानकारी दिए। ʻदसैँमा उपत्यका बाहिरिने तथा उपत्यका भित्रिने सर्वसाधारणलाई सहज र सुरक्षित यात्राका लागि सडक सुधारका कार्य धमाधम भइरहेको छʼ, उनले भने।

पहिरोका कारण अवरुद्ध रहेको पृथ्वी राजमार्ग आइतबार साँझ खुले पनि सडक सफा गर्नुपर्ने भएकाले आज दिउँसो दुई घण्टा बन्द रहने उनले बताए।

सडक विभागका अनुसार अवरुद्ध भएका राजमार्गमध्ये ठोरी–भण्डारा–मलेखु, गल्छी–त्रिशूली–बेत्रावती–मैलुङ–स्यफ्रुबेँसी–रसुवागढी रहेका छन्। चिनियाँ भूभागबाट गत साउन १४ गतेको बाढी आएपछि नदीले सडक कटान गरेकाले राजमार्ग अवरुद्ध भएको हो। हाल स्काभेटर तथा लोडर प्रयोग गरी अवरुद्ध सडक खोल्ने प्रयास भइरहेको विभागले जनाएको छ।

रानी–विराटनगर–इटहरी–धरान–धनकुटा–हिले, लेघुवाघाट–तुम्लिङटार–खाँदबारी–नुम–किमाथाङ्का (कोशी राजमार्ग) पनि पूर्ण रुपमा अवरुद्ध भएको विभागको भनाइ छ। वरुण नदीमा डाइभर्सन बगाएको र पुल निर्माणमा ढलानको कार्य बाँकी रहेको तथा पानीको बहाव बढेका कारण डाइभर्सन पुनःस्थापना गर्न नसकिएको भन्दै विभागले पानी सतह घटेपछि डाइभर्सन निर्माण गरिने र सँगै ढलानको कामलाई पनि जोड दिइने जनाएको छ।

चतरा–मूलघाट–माझीटार–अमरापुरडाँडा–गणेशचोक (तमोर करिडोर) पनि पूर्ण रुपमा अवरुद्ध छ। विभागले तमोर नदीमा निर्मित रानीपुल बेली गत साउन ६ गतेको अविरल वर्षापछि आएको बाढीले बगाएको र रेमिट हाइड्रोबाट पुनः  लिब्रिज निर्माणका लागि पहल भइरहेको जनाएको छ।

चीनबाट आएको ठूलो बाढीका कारण ठोरी–भण्डारा–मलेखु, गल्छी–त्रिशूली–बेत्रावती–मैलुङ–स्यफ्रुबेँसी–रसुवागढी सडकखण्ड पनि अवरुद्ध भएको छ। विभागले अवरुद्ध सडक खुलाउन उपकरण परिचालन गरिएको जनाएको छ।

विभागका अनुसार रानी–विराटनगर–इटहरी–धरान–धनकुटा–हिले, लेघुवाघाट–तुम्लिङटार–खाँदबारी–नुम–किमाथाङ्का (कोशी राजमार्ग) र काठमाडौं–धुलिखेल–दोलालघाट–खाडीचौर–कोदारी (अरनिको राजमार्ग) पनि पूर्ण रुपमा अवरुद्ध भएका छन्। राजमार्ग सुधार भइरहेको विभागले जनाएको छ ।

मन्त्रीहरूको शपथ एक घण्टा पछि सर्‍यो

काठमाडौं । अन्तरिम सरकारी नवनियुक्र मन्त्रीहरूको शपथको समय एक घण्टा सरेको छ ।

अन्तरिम सरकार प्रधानमन्त्री सुशीला कार्कीले सिफारिस गरेका मन्त्रीहरूको शपथ दिउँसो २ बजेका लागि तय भएको थियो । उक्त कार्यक्रम ३ बजेसम्मका लागि सरेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।

कार्कीले आइतबार पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन, अतिरिक्त स्वास्थ्य सचिव डा. संगीता मिश्रा, पत्रकार जगदिश खरेललाई मन्त्रीका लागि सिफारिस गरेकी थिइन् ।

तर, स्वास्थ्यमन्त्रीमा सिफारिस भएकी मिश्राको भने अन्तिम समयमा आएर ‘होल्ड’ हुने भएको छ ।

पूर्वप्रधानन्यायाधीश सुशीला कार्की गत भदौ २७ गते प्रधानमन्त्री नियुक्त भएकी थिइन् । हाल सरकारमा तीन जना मात्र मन्त्रीहरू छन् ।

दसैँमा सर्वोच्च अदालतमा बन्दीको रिट सुनुवाइ हुने

काठमाडौं– सर्वोच्च अदालतमा दसैँ बिदामा बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ गर्न बिहान ११ः०० बजेदेखि अपराह्न ३ः०० बजेसम्म अदालत खुला रहने भएको छ ।

दसैँ अवधिमा घटस्थापना, विजयादशमी, कोजाग्रत पूर्णिमा र शनिबारको दिनबाहेक अन्य दिनहरूमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ हुने सर्वोच्च अदालत प्रशासनले जनाएको छ ।

अदालतको सूचनामा भनिएको छ, ‘न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम उक्त अवधिमा पर्ने घटस्थापना, विजयादशमी, कोजाग्रत पूर्णिमा र शनिबारको दिनबाहेक अन्य दिनहरूमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन लिई सुनुवाइ गर्न बिहान ११ः०० बजेदेखि अपराह्न ३ः०० बजेसम्म अदालत खुला रहने हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’

सामाजिक सुरक्षा परिचयपत्रको नवीकरण समय बढ्यो

सरकारले सामाजिक सुरक्षा परिचयपत्र नवीकरणका लागि समयावधिसम्म बढाएको छ। यसअघि सामाजिक सुरक्षा परिचयपत्र भदौ मसान्तभित्र नवीकरण गरिसक्नुपर्ने व्यवस्था रहेकामा त्यसलाई संशोधन गरी समयावधि बढाएर असोज मसान्त कायम गरिएको हो।

सामाजिक सुरक्षा (तेस्रो संशोधन) नियमावली, २०८२ मार्फत सरकारले यस्तो व्यवस्था ल्याएको हो । संशोधित नियमावली राजपत्रमा प्रकाशित भइसकेको छ।

‘सामाजिक सुरक्षा नियमावली, २०७६ को नियम ९ को उपनियम (१) मा रहेका भदौ मसान्तभित्र भन्ने शब्दहरूको सट्टा असोज मसान्तभित्र भन्ने शब्दहरू राखिएका छन्’, राजपत्रमा प्रकाशित सूचनामा भनिएको छ।

नारायणगढ-मुग्लिन सडक आज दिउँसो २ घण्टा बन्द गरिने

काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्ड आज दिउँसो दुई घण्टा बन्द गरिने भएको छ । तुइन खोला पुल नजिक खसेको पहिरो सबै पन्छाउनका लागि सडक बन्द गर्न लागिएको हो ।

आज दिउँसो १ बजेदेखि ३ बजेसम्म सडक बन्द गरेर बाँकी पहिरो हटाइने सडक डिभिजन कार्यालय भरतपुर स्रोतले जनाएको छ ।

तुइन खोला पुलनेर खसेको पहिरोका कारण गत शुक्रबारदेखि करिब ४० घण्टासम्म सडक अवरुद्ध हुँदा यात्रुहरु अलपत्र परेका थिए । आइतबार अपराह्न करिब साढे चार बजेतिर सडक एकतर्फी खुलाइएको थियो । राति यात्रा गर्दा जोखिम हुने भएकाले आइतबार राति ९ बजेदेखि सोमबार बिहान ५ बजेसम्म पुन: सडक बन्द गरिएको थियो ।

आज बिहानसम्म पनि तुइन खोला पुल नजिकै मात्र सडक एकतर्फी सञ्चालनमा छ भने अन्य स्थानमा दुईतर्फी गाडी चलिरहेका छन् । दशैं मनाउन घर फर्किने क्रम अब बढ्ने भएकाले बाँकी पहिरो पनि हटाएर दुईतर्फी नै सडक सञ्चालन गर्ने तयारी गरिएको हो ।

लामो समयसम्म सडक बन्द हुँदा सवारीसाधनको चाप छ । लेन अनुशासन समेत पालना नहुँदा ठाउँठाउँमा जाम हुने गरेको छ ।

ट्राफिक प्रहरीले र सडक डिभिजन कार्यालय भरतपुरले लेन अनुशासनमा रहेर सवारी चलाउनु सबैलाई अनुरोध गरेका छन् ।

आज घटस्थापना, दशैं सुरु

काठमाडौं । नेपालीहरुको महान पर्व बडादशैं आजबाट सुरु भएको छ । आज पहिलो दिन घटस्थापना हो ।

प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म हर्षोल्लास र धूमधामका साथ बडादशैं मनाइन्छ ।

बडादशैंको पहिलो दिन आज घर–घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ ।

गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैं घरमा पवित्र नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई जौ छरेर विधिपूर्वक जमरा राखिन्छ । जौको अंकुर दुर्गा देवीको प्रिय वस्तु भएकाले दुर्गालाई चढाएर विजया दशमीको दिन टीका प्रसादसहित समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिन्छ ।

मलेसियन सुपर वुमन सिरिज : इन्दुले साविक विजेता टिमको कप्तानी गर्ने

काठमाडौं । मलेसियन क्रिकेट एशोसिएसनको आयोजनामा यही सेप्टेम्बर २४ देखि ३० तारिखसम्म हुने मलेसियन सुपर वुमन सिरिजमा नेपाली राष्ट्रिय टोलीकी कप्तान इन्दु बर्माले एक टोलीको कप्तानी नै गर्ने भएकी छन् ।

मलेसियन क्रिकेट एसोसियसनलने सार्वजनिक गरेअनुसार साविक विजेता टोली वेस्टर्न वन्डर वुमनको कप्तानी इन्दु बर्माले गर्ने भएकी हुन् । यस टोलीमा इन्दुसहित ३ नेपाली खेलाडी छन् । इन्दुसँगै सावित्री धामी र रचना कुमारी चौधरीले पनि यही टोलीबाट खेल्ने छन् ।

तेस्रो संस्करणका रूपमा आयोजना हुन लागेको यो प्रतियोगितामा यस पटक पाँच टोलीहरू- सेन्ट्रल सुपर गर्ल्स, इस्टर्न लायनेस, नर्थन क्वीन्स, साउथर्न जागुअर्स र वेस्टर्न वन्डर वुमन  प्रतिस्पर्धामा हुनेछन्।

२०२० मा भएको पहिलो संस्करणमा ६ मुलुकका खेलाडीहरूले सहभागिता जनाएका थिए भने २०२४ को संस्करणमा ९ मुलुकका खेलाडीहरू खेलेका थिए।

उद्घाटन संस्करणमा नर्थन क्वीन्स विजेता बनेको थियो भने दोस्रो संस्करण वेस्टर्न वन्डर वुमनले जितेको थियो। यसपटक उनीहरू उपाधि रक्षा गर्ने अभियानमा हुनेछन् ।

यस सिरिज नेपाली खेलाडीहरूका लागि अन्तर्राष्ट्रिय अनुभव बटुल्ने अवसर मात्र नभएर मलेसियाविरुद्धको टी-२०आई शृंखला र टी-२० विश्वकपको ग्लोबल छनोट तयारीका लागि पनि महत्वपूर्ण हुनेछ ।

 

प्रदेश लगानी सम्मेलन अन्योलमा

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी मङ्सिरमा आयोजना गर्ने भनिएको सुदूरपश्चिम प्रदेश लगानी तथा विकास सम्मेलन अन्योल बनेको छ ।  जेनजी आन्दोलनका क्रममा प्रदेशअन्तर्गतका भौतिक संरचना ध्वस्त पारिएपछि प्रदेश लगानी तथा विकास सम्मेलन अन्योल बनेको हो । प्रदेश सरकारले आउने मङ्सिर १ र २ गते सुदूरपश्चिम प्रदेश विकास तथा लगानी सम्मेलन धनगढीमा आयोजना गर्ने निर्णय गरेको थियो । लगानी सम्मेलनका लागि विगत तीन वर्षदेखि तयारी हुँदै आएको थियो ।

मुलुकमा उत्पन्न विषम परिस्थितिका कारण अब लगानी तथा विकास सम्मेलन नै नहुने वातावरण सिर्जना भएको छ । आर्थिक मामिला राज्यमन्त्री प्रकाशबहादुर बमले अब लगानी तथा विकास सम्मेलन हुने सम्भावना नरहेको उल्लेख गरे। “पछिल्लो परिस्थितिका कारण सम्मेलन आयोजना गर्ने अवस्था छैन,” उनले भने, “यस्तो विध्वंस देखिसकेपछि विदेशीहरू लगानी गर्न आउँदैनन् ।”

सुदूरपश्चिम प्रदेशको समृद्धिका लागि स्वदेशी तथा विदेशी लगानी भिœयाउने उद्देश्यका साथ प्रदेश सरकारले प्रदेश लगानी तथा विकास सम्मेलन आयोजना गर्ने जमर्को गरेको थियो तर दुई÷तीन वर्षको तयारी अब औचित्यहीन बन्ने लगभग निश्चित छ । परिस्थिति अनुसार चल्नुपर्ने कारणले अब लगानी सम्मेलन आयोजनाको सम्भावना नरहेको राज्यमन्त्री बमको जिकिर छ । “धेरै कुराले अप्ठ्यारो हुने भएकाले अब लगानी सम्मेलन हुँदैन,” उनले भने ।

सुदूरपश्चिम प्रदेश लगानी तथा विकास सम्मेलनको तयारीस्वरूप प्रदेश सरकारले गएको जेठ २१ गते प्रिसम्मेलन पनि आयोजना गरेको थियो । प्रदेश सरकारले लगानी तथा विकास सम्मेलनका लागि विभिन्न नौ वटा क्षेत्र पनि पहिचान गरेको थियो । त्यस्तै लगानी तथा विकास सम्मेलनका लागि मौजुदा केही कानुन संशोधन र केही नयाँ कानुन निर्माणका लागि गृहकार्य अगाडि बढाइएको थियो ।

लगानीमैत्री वातावरण बनाउन नयाँ कानुन निर्माण र पुराना कानुन संशोधनभन्दा पनि अब सम्मेलन नै आयोजना गर्ने वातावरण नरहेको लगानी तथा विकास सम्मेलन आयोजक समिति अन्तर्गतको नीति तथा कानुन परिमार्जन सिफारिस उपसमितिका संयोजक डा। ताराप्रसाद जोशीले बताउनुभयो । “मुलुकको यो अवस्था देखिसकेपछि विदेशी लगानी गर्न आउलान् जस्तो मलाई लाग्दैन,” उनले भने, “त्यसकारण सम्मेलन सम्भवतः हुँदैन ।”

आन्दोलनकारीको आगजनीबाट सुदूरपश्चिम प्रदेश सभासहित, मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, विभिन्न मन्त्रालय नष्ट भएका छन् । पुनर्निर्माणपछि मात्रै प्रदेश सभा सञ्चालन हुन सक्ने अवस्थाका कारण तत्काल कुनै पनि नयाँ कानुन बनाउने वा पुराना कानुन संशोधन गर्न सकिने सम्भावना पनि छैन । सभामुख भीमबहादुर भण्डारीले प्रदेश सभा ९० प्रतिशत ध्वस्त भएका कारण पुनर्निर्माणबिना प्रदेश सभा बैठक सञ्चालन हुन नसक्ने बताएका छन ।

अख्तियारले संगीता मिश्राविरूद्ध छानबिन गरिरहेकाले स्वास्थ्य मन्त्रीमा उनको नियुक्ति रोकिने

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार अभियोगमा डा. संगीता कौशल मिश्राविरूद्ध छानबिन गरिरहेको थाहा पाएपछि प्रधानमन्त्री सुशीला कार्की स्वास्थ्य मन्त्रीमा उनको नियुक्ती अघि नबढाउने मनस्थितिमा पुगेकी छन्।

प्रधानमन्त्री कार्कीले आइतबार उनलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री सिफारिस गरेकी थिइन्। उनको नाम राष्ट्रपति कार्यालयसमक्ष पठाइएको पनि थियो।

मिश्रा मन्त्री बन्ने भनेर पत्रपत्रिकामा समाचार आउन थालेपछि अख्तियारले उनीविरूद्धको अनुसन्धान सकिन लागेको र केही समयमा मुद्दा दर्ता गर्ने तयारी रहेको जानकारी प्रधानमन्त्री कार्यालयलाई गराएको स्रोतले बताएको छ। त्यसपछि उनको नियुक्ति प्रक्रिया अघि नबढ्ने अवस्था आएको हो।

‘प्रधानमन्त्री उहाँको नाम पुनर्विचार गर्नेपक्षमा हुनुहुन्छ,’ स्रोतले भन्यो, ‘मन्त्री नियुक्तिकालागि राष्ट्रपति कार्यालयमा गइसकेको उहाँको नाम आज कार्यालय खुलेपछि फिर्ता हुन्छ होला।’

प्रधानमन्त्री कार्कीले डा. मिश्रासहित पाँच जना नयाँ मन्त्रीको नाम राष्ट्रपति कार्यालयमा आइतबार साँझ नै पठाएकी थिइन्।

सिफारिस गरिएका बाँकी चार जनामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा महावीर पुन, उद्योग तथा भूमिसुधार मन्त्रीमा अनिलकुमार सिन्हा, सञ्चार, सूचना तथा प्रविधि मन्त्रीमा जगदीश खरेल र कृषिमन्त्रीमा डा. मदन परियार छन्।

डा. मिश्राले अतिरिक्त सचिवको पदबाट राजीनामा समेत दिएकी थिइन्।

यसअघि उनी सचिव बन्ने दौडमा थिइन्। गत फागुन २२ को मन्त्रिपरिषद बैठकले उनलाई छाडेर डा. विकास देवकोटालाई सचिव नियुक्त गरेको थियो। वरिष्ठता मिचेर सचिव नियुक्त गरेपछि विवादित भएको थियो।

यसका लागि अतिरिक्त सचिवहरू डा. संगीता कौशल मिश्रा, डा. विकास देवकोटा र डा. टंक बाराकोटीको नाम सिफारिस भएको थियो।

आफूभन्दा कनिष्ठलाई मन्त्रिपरिषदले स्वास्थ्य सचिव नियुक्त गरेकोमा डा. मिश्रले विभिन्न माध्यमबाट असन्तुष्टि जनाएकी थिइन्।

डा. मिश्रा २०५७ सालमा स्वास्थ्य सेवामा प्रवेश गरेर करिब एक वर्ष त्यहाँ काम गरेकी थिइन्। त्यसपछि उनी फुलब्राइट छात्रवृत्ति पाएर अमेरिका पढ्न गइन्।

फेरि २०७० असोज १० गते खुलातर्फको प्रतिस्पर्धामा ११औं तहमा नाम निकालेर उनी स्वास्थ्य सेवामा प्रवेश गरेकी हुन्।

उनले स्वास्थ्य सेवा विभाग महानिर्देशक, कोशी अस्पताल र परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल प्रमुख भएर काम गरेकी छन्।

मलाई कवाडी वैज्ञानिक मन्त्री भन्नू : महावीर पुन

काठमाडौं– शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीमा सिफारिस  राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले आफूलाई मन्त्री नभन्न आग्रह गरेका छन् ।

आइतबार प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रीमा सिफारिस गरेपछि पुनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई मन्त्री भन्न साह्रै रहर भए कवाडी वैज्ञानिक मन्त्री भन्न आग्रह गरेका छन् ।

उनले आफ्नो पहिलो घोषणा भन्दै आफूलाई कसैले बधाई भनेर फोन नगर्न र खादा माला लिएर नआउन समेत भनेका छन् । उनले शिक्षा, विज्ञान र प्रविधिको क्षेत्रमा गर्न सकिने र गर्नपर्ने ठोस काम र ‘आइडिया’ भए ५ महिनाभित्र पठाउन आग्रह समेत गरेका छन् ।

उनले लेखेका छन्, ‘मेरो पहिलो घोषणा– कसैले पनि लौ बधाई छ भनेर फोन नगर्नू होला र बधाई दिन खादा माला लिएर नआउनु होला । बरु शिक्षा, विज्ञान र प्रविधिको क्षेत्रमा ५ महिनाभित्र गर्न सकिने र गर्नपर्ने ठोस काम र आइडिया छ भने मेरो ह्वाट्सएपमा पठाउनु होला । मलाई कसैले पनि मन्त्री नभन्नु होला। कसैलाई मन्त्री नै भन्न साह्रै रहर छ भने कवाडी वैज्ञानिक मन्त्री भन्नु होला ।’

मन्त्रीका लागि सिफारिस भएका पुनले आज राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिने तयारी छ ।

मन्त्रीहरुको सपथ आज, विवादित डा संगीता मिश्राको सपथ ‘होल्ड’!

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले आइतबार आफ्नो मन्त्रिपरिषद् विस्तार गर्दै ५ जना नयाँ मन्त्रीहरूको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेकी छिन्। तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा सिफारिस गरिएकी डा. संगीता कौशल मिश्राको नियुक्ति भने तत्कालका लागि होल्ड भएको छ।

अन्तरिम सरकारका एक मन्त्रीका अनुसार  डा मिश्राको नियुक्ति होल्डमा राखेर अन्य सिफारिस भएका मन्त्रीहरूलाई आजै (सोमबार) दिउसो २ बजे शपथ ग्रहण गराउने तयारी भइरहेको छ।

प्रधानमन्त्री सुशीला कार्कीले कसलाई के मन्त्रालयमा सिफारिस गरेकी छिन्?
•    अनिलकुमार सिन्हा : उद्योग वाणिज्य तथा आपूर्ति, कानुन तथा न्याय, भूमिसुधार, सहकारी तथा गरिबी निवारण
•    महावीर पुन : शिक्षा तथा विज्ञान प्रविधि
•    मदनप्रसाद परियार : कृषि तथा पशुपन्छी विकास
•    जगदीश खरेल : सूचना तथा सञ्चार
•    डा संगीता मिश्रा : स्वास्थ्य तथा जनसंख्या

स्वास्थ्य मन्त्रीको नियुक्ति किन होल्ड भयो?
स्वास्थ्य मन्त्रालयको पूर्व अतिरिक्त सचिव डा. संगीता कौशल मिश्रालाई यसअघि नै प्रधानमन्त्रीले स्वास्थ्य मन्त्रीमा सिफारिस गरेकी थिइन् । जेन-जी आन्दोलनपछि मात्रै सरकारी सेवामा फर्किएकी उनले आइतबार आफ्नो पदबाट राजीनामा दिएकी थिइन्। उनको नियुक्ति किन होल्डमा राखिएको भन्नेबारे भने कुनै आधिकारिक जानकारी दिइएको छैन।

तर ६ महिनाभन्दा लमो समयसम्म स्वास्थ्य मन्त्रालयमा हाजिर नभएकी, स्वास्थ्य सेवा विभागको महानिर्देशक हुँदा म्यामोग्राम मेसिन नै नआउँदै बक्सा मात्र हस्तान्तरण गरेको देखाउँदै रकम भुक्तानी गरेको विषय अख्तियारले हेरिरहेको साथै खरिदका अन्य फाइल पनि अख्तियारमा परेको, ११ औं तहमा नियुक्तिको समयमा कागजपत्र ‘किर्ते’ गरेको विवाद लगायतका विषय बाहिर आएपछि नियुक्ति र सपथको विषय होल्डमा राखिएको बताइएको छ।

‘उहाँले स्वास्थ्य मन्त्रालयलाई धोका दिएको र खरिद लगायतका विवादको विषय बाहिर आएपछि थप छलफल गर्ने भन्दै होल्डमा राखिएको हो,’ प्रधानमन्त्री कार्की निकट स्रोतले भन्यो।

विपिन जोशीका आमा र बहिनीले भेटे प्रधानमन्त्री

काठमाडौँ- प्यालेस्टिनी समूह हमासले बन्धक बनाएका महेन्द्रनगरका विपिन जोशीका आमा र बहिनीले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरेका छन्। आइतबार सिंहदरबार पुगेर विपिनका आमा र बहिनीले रिहाइका लागि निरन्तर पहल गर्न प्रधानमन्त्रीसँग आग्रह गरेका छन्।

प्रधानमन्त्रीसँगको भेटपछि विपिनका आमा पद्मा जोशीले यसअघिको सरकारले पहल गर्ने आश्वासन दिँदा पनि केही नतिजा नआएकाले अबको सरकारप्रति आशा राखेको बताइन्।

त्यस्तै विपिनका बहिनी पुष्पा जोशीले अहिले प्रधानमन्त्री पदमा आमा नै रहेकाले आमाको पीडा बुझ्ने बताए। भेटमा प्रधानमन्त्रीले विपिन जोशीको रिहाइका लागि पहल गर्ने बताएको पुष्पाले जानकारी दिइन्।

विपिन जोशी नेपालको नागरिक भएकाले नेपालमा सकुशल फिर्ता ल्याउन कुनै एकले मात्रै नभई सबै मिलेर पहल गर्नुपर्ने उनले बताए। यसअघि शनिबार हमासको सशस्त्र समूह कासम ब्रिगेडले विपिन जोशीसहित ४८ इजरायली बन्धकहरुको तस्बिर सार्वजनिक गरेको थियो।

‘नेपालबाट सिकौँ’ भन्दै इन्डोनेसियामा प्रदर्शन

काठमाडौँ- इन्डोनेसियामा ‘नेपालबाट सिकौँ’ भन्ने ब्यानरसहित प्रदर्शन गरिएको छ। भ्रष्टाचार अन्त्य हुनुपर्ने र सुशासन कामय गर्नुपर्ने माग गर्दै उनीहरू सडकमा उत्रिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

जेनजी युवा समूहले आयोजना गरेको दुईदिने आन्दोलनका कारण नेपालमा केपी ओली नेतृत्वको सरकार ढलेर सुशीला कार्कीको नेतृत्वमा अन्तरिम मन्त्रिपरिषद् गठन भएको छ। युवाहरूले भ्रष्टाचार अन्त्य गरी सुशासन कायम गर्नुपर्ने मागसहित भदौ २३ र २४ गते आन्दोलन गरेका थिए। नेताहरूका सन्तानले अवसर र विलासीपूर्ण जीवन बिताउने तर नागरिकलाई सरकारी सेवासुविधा पाउन कठिन रहेको अवस्थाप्रति जेनजी युवा आक्रोशित रहँदै आएका छन्।

केही समयअघि इन्डोनेसियामा पनि यस्तै खालको आन्दोलन भएको थियो। व्यापक आर्थिक मन्दीका बेला सांसदहरूले आफूलाई महिनामा तीन हजार डलरको विलासी आवास भत्ता दिने निर्णय गरेपछि त्यहाँका युवा सडकमा उत्रिएका थिए। जनआक्रोश बढ्दै जाँदा सर्वसाधारणले सरकारी भवनमा आगजनी गरे। सार्वजनिक संरचनामा क्षति पुर्‍याए र निजी सम्पत्तिसमेत लुटपाट गरे। अन्ततः राष्ट्रपति प्रबोवो सुबियान्तोले सांसदहरूको आवास भत्ता घटाउने र केही मन्त्रीलाई निलम्बन गर्ने निर्णय गरेका थिए। त्यहीँको सिको गरेर नेपालका जेनजीहरू सडकमा उत्रिएका थिए।

अहिले नेपालको सिको गरेर इन्डोनेसियामा प्रदर्शन भइरहेका छन्। एसियाभरि यी विरोध प्रदर्शनहरूले सामाजिक सञ्जालमार्फत प्रदर्शनलाई तीव्र बनाउने प्रवृत्तिको उदाहरण देखाएका छन्, जुन इजिप्टमा २०१०, हङकङमा २०१९ र इरानमा २०२२ मा पनि देखिएको थियो।

खोज्नुहोस