इटहरीमा पनि गोली लागेर १ जनाको मृत्यु

इटहरी- इटहरीमा पनि प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका कार्यालय अगाडि दिउँसोदेखिको प्रदर्शन नियन्त्रणमा नआएपछि साढे ३ बजेदेखि कर्फ्यु लगाइएको थियो । त्यसपछि पनि प्रदर्शन नरोकिएपछि प्रहरीले अश्रुग्यास र गोली चलाएको हो ।

प्रहरीको गोली लागेर १ जनाको घटनास्थलमै मृत्यु भएको छ भने दुई जना गम्भीर घाइतेलाई अस्पताल लगिएको छ । प्रदर्शन अहिले पनि जारी छ । त्यस्तै भ्रष्टाचारविरोधी र सामाजिक सञ्जालमाथिको प्रतिबन्ध तत्काल खुला गर्नुपर्ने मागसहित काठमाडौंमा भएको प्रदर्शनमा १४ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् ।

माओवादीले माग्यो प्रधानमन्त्रीको राजीनामा, सरकारले नरसंहार गरेको दावी

​​​​​​​काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेको छ। यस्तै सरकारले नरस‌ंहार गरेको दावी गरेको छ।

‘जनतासँग माओवादी: मध्यपहाडी पुष्पलाल लोकमार्ग– जनजागरण अभियान’ अन्तर्गत गोरखामा रहेका शीर्ष नेताहरूको अनौपचारिक बैठकले प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको हो।

जेनजी आन्दोलनका क्रममा सरकारले प्रदर्शन गरेको व्यवहार अनुचीत रहेको माओवादीको भनाइ छ । परिस्थिति सम्हाल्न पनि प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने निष्कर्षमा पुगिएको नेताहरूले बताएका छन् ।

जेनजीको प्रदर्शनका क्रममा अहिलेसम्म १५ जनाको मृत्यु भइसकेको छ । यो घटनापछि माओवादी नेताहरू अभियान स्थगित गरेर काठमाडौं फर्किँदैछन् ।

अभियान टोलीमा अध्यक्ष प्रचण्डसहित वरिष्ठ उपाध्यक्ष, विभिन्न उपाध्यक्षहरू र महासचिव स्वयं सहभागी थिए । सबै नेतारू अभियान स्थगित गरेर काठमाडौं फर्किँदै गरेको माओवादी नेता माधव सापकोटाले जानकारी दिए ।

‘सरकारले ताकी ताकी गोली हानेको छ । यो हत्या नभएर नरंसहार नै गरेको देखियो । सुरुमा हेलचेक्याइ गर्‍यो र पछि गोली नै चलायो’ शीर्ष नेताहरूको निष्कर्ष सुनाउँदै सांसद सापकोटाले भने ।

उनका अनुसार प्रधानमन्त्री ओलीले राजीनामा दिएर वातावरण सहज बनाउन सहयोग गर्नुपर्ने बुझाइमा नेताहरू छन् ।

काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले युवा पुस्ताद्वारा जेन–जिको नाममा भएको विरोध प्रदर्शनका क्रममा मृत्यु र घाइते भएकाहरुको घट्नाबारे निन्दा गरेको छ । भ्रष्टाचारको विरोध र सरकारले स्वेच्छाचारी तवरले केही सामाजिक सञ्जाल प्लाटफर्महरुलाई बन्द गरेको विरोधमा प्रदर्शनमा उत्रिएका युवा पुस्तामाथि अन्धाधुन्ध गोली हान्ने र मार्ने कार्य निन्दनीय भएको समाजले जनाएको छ ।

‘२०८२ भदौ २३ गते देशव्यापी विरोध प्रदर्शन आह्वानका क्रममा काठमाण्डौको वानेश्वर क्षेत्रमा भएको प्रदर्शनमा प्रहरीको गोली लागि एक दर्जन बढीको मृत्यु भएको (समाचार अनुुसार १४ जना) र पत्रकारहरुसहित दर्जनौ घाइते भएको (२३ गते अपरान्ह्सम्म)घटनाले मानव अधिकार तथा शान्ति समाज स्तब्ध एवं मर्माहत भएको छ ।

मुलतः भ्रष्टाचारको विरोध र सरकारले स्वेच्छाचारी तवरले केही सामाजिक सञ्जाल प्लाटफर्महरुलाई बन्द गरेको विरोधमा प्रदर्शनमा उत्रिएका युवा पुस्तामाथि अन्धाधुन्ध गोली हान्ने र मार्ने कार्य निन्दनीय छ । आफुले गरेका भ्रष्टाचारको ढाकछोप गर्न नागरिक मार्ने कार्य बर्बर एवं जघन्य अपराध हो । नागरिकमाथि क्रुरताको प्रदर्शन गर्ने सरकार लोकतान्त्रिक हुुन सक्दैन तसर्थ यो सरकारले नैतिक वैधानिकता गुमाइसकेको धारणा शान्ति समाजको छ । यस्तो क्रुरताको लागि जिम्मेवारहरुलाई दण्डित गर्नु आवश्यक छ,’ विज्ञप्तिमा भनिएको छ ।

‘स्वाभिमान युवाहरु भ्रष्ट नेताहरुको नेतृत्वबाट मुक्ति चाहन्छन । देशमा सुशासन चाहन्छन  । स्वतन्त्रताको पक्षमा उभिन्छन् र कुुनै पनि निरंकुशताको विरोध गर्छन् । देशव्यापी रुपमै त्यस्तो आवाज उठाउँदा गोली हानेर नागरिकको हत्या गर्ने कार्यको जति निन्दा गरेपनि कम हन्छ । भ्रष्टाचार विरुद्ध र स्वतन्त्रताको पक्षमा गरिने कुनै पनि आन्दोलनमाथि दमन गर्नु हुदैँन भन्ने मान्यता शान्ति समाजको छ । यसैगरी यस्ता आन्दोलनहरु पनि तोडफोड र अराजकताबाट सधै मुक्त हुनुपर्छ । सुशासन र स्वतन्त्रताका लागि गरिने आन्दोलनहरु सदैव संयमित हुनुपर्छ,’ विज्ञप्तिमा भनिएको छ ।

जेनजी प्रदर्शन : १४ को मृत्यु, २ सयभन्दा बढी घाइते

काठमाण्डौं, २३ भदौ ।

जेन -जीको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा मृत्यु हुनेको संख्या १४ जनाको मृत्यु भएको छ । प्रहीले बानेश्वरकेन्द्रित प्रदर्शनमा गोली चलाउदा १४ जनाको मृत्यु भएको हो ।

ट्रमा सेन्टरमा ७, एभरेस्टमा ३, सिभिल अस्पतालमा २, त्रिवि शिक्षणमा १ र केएमसीमा १ जनाको मृत्यु भएको हो । विभिन्न अस्पतालमा २ सयभन्दा बढीको उपचार भइरहेको छ । सिभिलमा १००, ट्रमामा ५०, एभरेस्टमा २०, केएमसीमा ३५, वीरमा ७ र पाटन अस्पतालमा ४ जनाको उपचार भइरहेको छ ।

एभरेस्ट अस्पतालका अधिकारी अनिल अधिकारीका अनुसार त्यहाँ ४ जना गम्भीर अवस्थाका छन् । ट्रमा सेन्टरका डा दीपेन्द्र पाण्डेले ट्रमामा १० जना गम्भीर अवस्थामा छन् । उनीहरुको टाउको र छातीमा गोली लागेको छ ।

प्रदर्शनकारीलाई प्रहरीले पानीका फोहरा, अश्रुग्यास र गोली प्रहार गरेको छ । घाइतेको ट्रमा, सिभिल, एभरेस्ट लगायतका अस्पतालमा उपचार भइरहेको छ ।

सामाजिक सञ्जालमा सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचारको विरोधमा ुजेन–जीुहरु प्रदर्शनमा उत्रिएका हुन् । काठमाडौंसहित देशका मुख्य सहरमा प्रदर्शन भइरहेको छ ।

कांग्रेस केन्द्रीय सदस्यले मागे गृहमन्त्रीको राजीनामा

काठमाडौं। नेपाली कांग्रेसकै नेताले गृहमन्त्रीको राजीनामा माग गरेका छन्।

नेपाली कांग्रेस केन्द्रीय सदस्य प्राडा गोविन्दराज पोखरेलले गृहमन्त्री रमेश लेखकको राजीनामा मागेका हुन्।

सामाजिक सञ्जालमार्फत नेता पोखरेलले गृहमन्त्रीले तत्काल राजीनामा नदिए पार्टीले फिर्ता बोलाउनुपर्ने पनि बताएका छन् ।

‘गृहमन्त्रीले तुरून्तै राजीनामा दिनुपर्यो। यदि नदिए पार्टीले तुरून्तै फिर्ता बोलाउनुपर्यो,’ पोखरेलले लेखेका छन्।

ट्रमा सेन्टरमा थप एक जनाको मृत्यु, मृतकको संख्या १५ पुग्यो

२३ भदौ, काठमाडौं ।
ट्रमा सेन्टरमा थप एकजना प्रदर्शनकारीको मृत्यु भएको छ ।

सामाजिक सञ्जालमा सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचारको विरोधमा जेन जीले गरेको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउदा गम्भीर घाइते भएका थप एक जनाको उपचारको क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको हो ।

योसँगै ट्रमा अस्पतालमा मात्रै मृत्यु हुनेको संख्या ७ पुगेको छ ।

यसैगरी सिभिल अस्पतालमा ३, केएमसी अस्पतालमा १, त्रिवि शिक्षण अस्पतालमा १ र एभरेस्ट अस्पतालमा ३ जना जना प्रदर्शनकारीको मृत्यु भएको छ । अहिलेसम्म कुल १५ जना प्रदर्शनकारीको मृत्यु भइसकेको छ ।

घाइतेहरूको यकिन विवरण भने प्राप्त भइसकेको छैन ।

जेन-जी आन्दोलनबारे केही बोल्दैनौं : सञ्चार मन्त्रालय

काठमाडौँ — सामाजिक सञ्जाल निस्क्रिय बनाउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जेन-जीको प्रदर्शनबारे टिप्पणी गर्न अस्वीकार गरेको छ । भ्रष्टाचार, करको दुरुपयोग र सामाजिक सञ्जालको प्रतिबन्ध हटाउन माग गर्दै युवा पुस्ताले सोमबार प्रदर्शन गरेको छ ।

जेन-जीहरुले आफ्ना विरोधहरू रेडिट, डिस्कर्ड, इस्टाग्रामजस्ता एपमा राख्दै आएका थिए । जेन-जीले चलाएको ‘नेपो बेबी’ वा ‘नेपो किड’ अभियान यसअघि सामाजिक सञ्जालमै सीमित थियो । त्यही बेला सरकारले नेपालमा सूचीकृत नभएका सामाजिक सञ्जाल प्लाटफर्म निस्क्रिय पार्ने निर्णय लियो ।

‘मन्त्रिपरिषद्को प्रस्तावपछि मन्त्रालयले यो निर्णय लिएको थियो,’ मन्त्रालयका एक उच्च अधिकारीले कान्तिपुरसँग भने, ‘यत्रो आन्दोलन भयो, आजै मन्त्रिपरिषद् बैठक बस्दै छ, मन्त्रिपरिषद्ले टिप्पणी गर्ला, हामीले गर्न मिल्दैन ।’

नातावादको विरोध यस अभियानको मुख्य ध्येय भए पनि सामाजिक सञ्जाल प्रतिबन्धले यसलाई थप बल दियो । सरकारले प्लाटफर्महरू निस्क्रिय गरिदिएपछि युवा पुस्ताले आफ्नो आवाज राख्ने माध्यम गुमाए ।

सामाजिक सञ्जाल प्लाटफर्महरू सूचीकृत हुन नआएसम्म प्रतिबन्ध लगाउने अडानमा रहेको सञ्चार मन्त्रालयले ती प्लाटफर्म आएनन् भने के हुन्छ भन्नेबारे कुनै वैकल्पिक उपाय, कूटनीतिक पहल, रणनीति बनाएको छैन ।

कांग्रेसले बोलायो आकस्मिक बैठक

काठमाडौं : नेपाली कांग्रेसले आकस्मिक बैठक बोलाएको छ। शीर्ष नेताहरूको सहभागिता हुनेगरी कांग्रेसले बैठक बोलाएको हो। जेनजीको प्रदर्शन हिंसात्मक बनेपछि कांग्रेसले आकस्मिक बैठक बोलाएको हो।

बैठक सोमबार साँझ ५ बजे सभापति शेरबहादुर देउवा निवास बूढानिलकण्ठमा बस्दैछ। कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माका अनुसार सुरूमा दुई जना महामन्त्री र सभापतिबीच छलफल हुनेछ। बाँकी नेताहरू जुटेपछि अर्को चरणको छलफल हुने उनले अन्नपूर्णलाई बताए।

दुई महामन्त्रीहरूले सामाजिक सञ्जाल तत्काल खुलाउनुपर्ने लगायतका विषयमा सभापतिको ध्यानाकर्षण गराउने बताइएको छ।

सर्वोच्च बारले भन्यो– प्रहरी दमनले सरकारको निरंकुश छवि उजागर भयो

काठमाडौं। सर्वोच्च अदालत बार एसोसिएसनले जेनजीको प्रदर्शनको क्रममा भएको दमनको निन्दा गरेको छ।

सचिव रमणकुमार कर्णले एक विज्ञप्ति जारी गर्दै घटनाले राज्य प्रशासनको निरंकुश छविलाई उजागर गरेको जनाएका छन् ।

‘जेनजीको आन्दोलनमा प्रहरी र प्रशासनबाट भएको शक्तिप्रदर्शन र सुरक्षाकर्मीबाट चलाइएको गोली लाग िसणैं प्रदर्शनकारी घाइते भएको र सार्वभौम नागरिकहरूको मृत्यु समेत हुन गएकोतर्फ यस बारको गम्भीर ध्यानकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ।

सर्वोच्च बारले विरोध गर्नु सार्वभौम नागरिकको सार्वभौम अधिकार भएको उल्लेख गर्दै स्थिति थप प्रतिकूल हु नदिन सरकारलाई संयमित, मर्यादित र जिम्मेवार हुन अनुरोध गरेको छ।

आन्दोलनका घाइतेको उपचार निःशुल्क गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौँ- सरकारले सोमबार भएको आन्दोलनका क्रममा घाइते भएका नागरिकको उपचार निःशुल्क गर्ने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आन्दोलनमा घाइते भएका नागरिकको उपचार निःशुल्क गर्न मातहतका सबै संघीय अस्पतालहरूलाई निर्देशन दिएको हो।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको अग्रसरतामा मन्त्रालयले संघीय अस्पतालमा आउने आन्दोलनका घाइतेलाई कुनै शुल्क नलाग्ने गरी शीघ्र उपचारको व्यवस्था गर्न ‘सर्कुलर’ जारी गरिएको हो।

मन्त्रालयले एम्बुलेन्स सेवालाई थप प्रभावकारी बनाउन र आवश्यक परेका विभिन्न स्थानमा सहजै उपलब्ध गराउन पनि निर्देशन दिएको छ। काठमाडौँ उपत्यकाको एम्बुलेन्स सञ्जाललाई अस्पतालबाट ‘रिफर’ हुने बिरामीलाई अर्को अस्पतालमा लिएर जान सहजीकरणका लागि समेत आह्वान गरेको छ। साथै, सम्पूर्ण चिकित्सक एवम् स्वास्थ्यकर्मीलाई एकजुट भई घाइतेको उपचारमा जुट्न पनि मन्त्रालयले आह्वान गरेको छ।

जेनजी प्रदर्शन : कुन अस्पतालमा कति छन् घाइते ?

काठमाडौं । काठमाडौंमा सोमबार हिंसात्मक बनेको जेनजीहरूको प्रदर्शनमा मृत्यु हुनेको संख्या बढिरहेको छ ।

दिउँसो पौने ४ बजेसम्मको विवरण अनुसार, विभिन्न अस्पतालमा १४ जनाको मृत्यु भइसकेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार, ट्रमा सेन्टरमा ६, सिभिल अस्पतालमा ३, केएमसी अस्पतालमा १ र त्रिवि शिक्षण अस्पतालमा १ र एभरेष्ट अस्पतालमा ३ जना जनाको मृत्यु भएको हो ।

कुन अस्पतालमा कति घाइते ?

प्रदर्शनका क्रममा घाइते भएकाहरूको यकिन विवरण भने आइसकेको छैन । मन्त्रालयले अहिले विभिन्न अस्पतालमा विवरण संकलन गर्ने कार्य गरिरहेको छ ।

दिउँसो ४ बजेसम्म मन्त्रालयले लिएको विवरण अनुसा सबैभन्दा बढी घाइते सिभिल अस्पतालमा छन् ।

त्यस्तै, ट्रमा सेन्टरमा २४, केएमसी अस्पतालमा २०, त्रिवि शिक्षण अस्पतालमा १५ र एभरेष्ट अस्पतालमा ३४ जना घाइते छन् ।

केही घाइतेहरूलाई पाटन अस्पताल पनि पुर्‍याइएको छ । पाटन अस्पतालमा भएका घाइतेहरूको विवरण मन्त्रालयले संकलन गर्दैछ ।

सिभिल अस्पतालमा थप एक जनाको मृत्यु, मृतकको संख्या १४ पुग्यो

काठमाडौं । सिभिल अस्पतालमा थप एकजना प्रदर्शनकारीको मृत्यु भएको छ ।

सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका जेनजीहरूको प्रदर्शनका क्रममा गम्भीर घाइते भएका अर्का एक जनाको सिभिल अस्पतालमा मृत्यु भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार, उपत्यकाका विभिन्न अस्पतालमा १४ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ ।

दिउँसो साढे ३ बजेसम्म १३ जनाको मृत्यु भइसकेको हो ।

ट्रमा सेन्टरमा ६, सिभिल अस्पतालमा ३, केएमसी अस्पतालमा १ र त्रिवि शिक्षण अस्पतालमा १ र एभरेष्ट अस्पतालमा ३ जना जनाको मृत्यु भएको हो ।

घाइतेहरूको यकिन विवरण भने प्राप्त भइसकेको छैन ।

बानेश्वरमा प्रदर्शनकारीले जलाए मानव अधिकार आयोगको गाडी

काठमाडौं : नयाँ बानेश्वरमा जारी जेनजी आन्दोलनमा राष्ट्रिय मानव अधिकार आयोगको गाडीमाथि आक्रमण गरी आगो लगाइएको छ।

दुई जनाको मृत्यु र सयौं घाइते भएपछि मानव अधिकारको अवस्था अनुगमन गर्न घटनास्थल पुगेको आयोगको टोली नै आक्रमणको निशानामा परेको हो।

घटना बानेश्वरस्थित एभरेष्ट होटल अगाडि भएको हो। आयोगको गाडीलाई प्रदर्शनकारीको भीडले रोकेर सरकार र प्रहरी दमनविरुद्ध नाराबाजी गरेको थियो।

लगत्तै आक्रोशित समूहले गाडीमा रहेको आयोगको झण्डा निकालेर फाल्दै गाडीमाथि तोडफोड सुरु गरेको थियो। अन्ततः उनीहरूले गाडीमा आगो लगाइदिए।

यसअघि प्रदर्शनकारीले संसद भवनको गेट र एउटा एम्बुलेन्समा आगजनी गरिसकेका छन्। प्रहरीको गोली लागेर दुई जनाको मृत्यु भइसकेको छ भने सयौं घाइते भएका छन्।

जेनजी प्रदर्शन : मृत्यु हुनेको संख्या ९ पुग्यो

 काठमाडौं । जेनजीहरूको प्रदर्शनका क्रममा अहिलेसम्म ९ जनाको मृत्यु भएको छ ।

अनलाइनखबरलाई विभिन्न अस्ततालहरूबाट प्राप्त जानकारी अनुसार, दिउँसो साढे ३ बजेसम्म ९ जनाको मृत्यु भइसकेको छ ।

ट्रमा सेन्टरमा ६, सिभिल अस्पतालमा १, केएमसी अस्पतालमा १ र त्रिवि शिक्षण अस्पतालमा १ जनाको मृत्यु भएको छ ।

जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ७ पुग्यो

२२ भदौ, काठमाडौं । जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर मृत्यु हुनेको संख्या ७ पुगेको छ । ट्रमा सेन्टरमा मात्रै चार जनाको मृत्यु भएको छ । सिभिल अस्पताल र केएमसी अस्पतालमा एक/एक जना तथा त्रिवि शिक्षण अस्तपतालमा एकजनाको मृत्यु भएको छ ।

सामाजिक सञ्जालमाथि नेपाल सरकारले लगाएको प्रतिबन्धविरुद्ध आन्दोलनमा उत्रिएका युवाहरुमाथि प्रहरीले गोली चलाएको थियो । स्वतःस्फूर्त सडकमा उत्रिएका प्रदर्शनकारीहरु प्रहरीको घेरा तोड्दै संसद भवनभित्रै प्रवेश गरेका थिए । उनीहरुले संसद भवनको सुरक्षामा खटिएको प्रहरी पोष्ट कब्जा गरेका थिए ।

आन्दोलनको तनावबीच ३३ अंकले घट्यो नेप्से

काठमाडौं- सोमबार जने-जीको आन्दोलनका बीच शेयर बजार घटेको छ । देशभर जेन-जी प्रर्दशनमा उत्रिएका बेला नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३३.१५ प्रतिशतले घटेको छ । नेप्से १.२२ प्रतिशतले घटेर परिसूचक २६७५ विन्दुमा आएको छ ।

नेप्सेमा गिरावट आएपनि ५ अर्ब २३ करोड ३७ लाख ६६ हजार रुपैयाँ बराबरको १ करोड १७ लाख १४ हजार ५४३ कित्ता शेयर कारोबार भएको छ । बजार बन्द हुँदा २२ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने २२९ वटा कम्पनीको शेयर मूल्य घटेको छ ।

कुनैपनि कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छैन । यस्तै ३२० वटा कम्पनी कारोबारमा आउँदा ५९ हजार ७०४ पटक शेयर किनबेच भएको छ ।

सोमबार सबै समूह घटेको छ, सबैभन्दा बढी ट्रेडिङ समूह घटेको छ ।

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। साँझ ६ बजेपछि बालुवाटारमा बस्ने गरी बैठक बोलाएका हुन्।

सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयका विरुद्ध आज देशभर जेन जी पुस्ता आन्दोलनमा उत्रिएका छन्। बैठकमा आजको आन्दोलन र समसामयिक विषयमा छलफल हुने जनाइएको छ।

जेन जी पुस्ता सडकमा निस्किएपछि कांग्रेसले पनि यो निर्णय फिर्ता लिन सरकारमाथि दबाब बढाउँदैछ। यसबारेमा कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री ओलीसँग पनि कुरा गर्दै छन्।

केएमसी अस्पतालमा थप एक जनाको मृत्यु

काठमाडौं । काठमाडौं मेडिकल कलेज सिनामंगलमा थप एक जनाको मृत्यु भएको छ ।

यससँगै जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

केएमसी अस्पतालका प्रशासन प्रमुख नारायण प्रसाद दाहालका अनुसार, एक जनाको मृत्यु भएको हो ।

त्यस्तै, २० जना गम्भीर घाइतेको उपचार भइरहेको छ ।

यसअघि सिभिल अस्पतालमा एक र ट्रमा सेन्टरमा चार जनाको मृत्यु भइसकेको छ ।

आन्दोलनमा घुसपैठ भयोः जेनजी

काठ्माण्डौँ- भ्रष्टाचारविरुद्ध सडक संघर्षमा उत्रिएको जेनजी समूहले आफ्नो प्रदर्शनमा घुसपैठ भएको बताएको छ।

कार्यक्रम संयोजक पुरुषोत्तम यादव र सबल गौतमले सोमबार अपरान्ह एक विज्ञप्ति प्रकाशित गरी आन्दोलनमा घुसपैठ भएको जनाएका हुन्।

‘आजको कार्यक्रम हामीले पूर्णतः शान्तिपूर्ण ढंगले सञ्चालन गरेका छौँ’ उनीहरूले भनेका छन्, ‘तर बीचबीचमा केही गलत प्रवृत्ति भएका समूह वा व्यक्तिहरू, वा सम्भावित राजनीतिक/राज्यका षड्यन्त्रकारी प्रयासहरू मार्फत हाम्रो आन्दोलनलाई निस्तेज पार्ने कोसिस गरिएको अनुभव भएको छ।’

उनीहरूले आन्दोलन शान्तिपूर्ण र अहिंसात्मक रहने भन्दै यसलाई असफल बनाउन गरिएका कुनै पनि प्रयास सफल नहुने दाबी गरेका छन्।

‘देशका विभिन्न स्थानहरूमा आज भएको जनसहभागिताले हाम्रो उद्देश्य र मागप्रति अझ ठूलो विश्वास र समर्थन रहेको प्रमाणित गरेको छ। यसले हामीलाई हाम्रो यात्रामा अझ नजिक पुर्याएको छ’ विज्ञप्तिमा भनिएको छ।

यस्तै, उनीहरूले आन्दोलनलाई शान्तिपूर्ण बनाउन अपिल गर्दै आफ्ना ‘थिङ्क ट्याङ्क हरि कार्की लगायतसँग सल्लाह गरी अगाडि बढ्ने बताएका छन्।

ट्रमा सेन्टरमा मात्रै चार जनाको मृत्यु

काठमाडौं । ट्रमा सेन्टरमा मात्रै चार जना प्रदर्शनकारीको मृत्यु भएको छ ।

जेनजी प्रदर्शनका क्रममा घाइते भएकाहरूमध्ये ट्रमा सेन्टरमा चार जनाको मृत्यु भएको अस्पताल स्रोतले बताएको छ ।

जेनजी प्रदर्शनका क्रममा यसअघि सिभिल अस्पतालमा एक जनाको मृत्यु भएको थियो ।

राष्ट्रपति, प्रधानमन्त्री निवासबाहिर सेना तैनाथ

काठमाडौँ – सरकारले काठमाडौंका सरकारी तथा सार्वजनिक संरचना सुरक्षार्थ सेना परिचालन गरेको छ ।

जिल्ला सुरक्षा समिति काठमाडौंको निर्णयका आधारमा नेपाली सेनालाई राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, संसद् भवन, सिंहदरबार लगायत महत्वपूर्ण संरचना तथा प्रतिष्ठानको सुरक्षामा परिचालन गरिएको हो ।

नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले स्थानीय प्रशासन ऐन २०२८ अनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौंले कर्फ्यु जारी गरेपछि जिल्ला सुरक्षा समितिको निर्णयका आधारमा सेनालाई तोकिएका विभिन्न स्थानको सुरक्षार्थ परिचालन गरिएको बताए ।

जेन-जीको प्रदर्शन र प्रहरीबीच झडप हुन थालेपछि काठमाडौं प्रशासनले सोमबार राति १० बजेसम्मका लागि माइतीघर, बानेश्वर, तीनकुने र शंखमूल आसपास र राष्ट्रपति निवास परिसर लगायत अतिसंवेदनशील क्षेत्रमा कर्फ्यु लगाइसकेको छ ।

ट्रमा सेन्टरमा अर्का एक जनाको मृत्यु

काठमाडौं । ट्रमा सेन्टरमा अर्का एकजना प्रदर्शनकारीको मृत्यु भएको छ ।

जेनजी प्रदर्शनका क्रममा घाइते भएका प्रदर्शनकारीको उपचारका क्रममा मृत्यु भएको हो ।

अस्पताल स्रोतले केही बेरअघि एकजनाको मृत्यु भएको पुष्टि गरेको छ ।

यसअघि अर्का एकजनाको मृत्यु भइसकेको छ । केहीलाई गोली लागेको छ ।

अहिलेसम्म कतिलाई गोली लागेको भन्नेबारे यकिन थाहा भइसकेको छैन ।

रवि लामिछानेसँग भेटघाट बन्द

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग आजदेखि भेटघाट बन्द भएको छ । पार्टीका सहप्रवक्ता एवं सांसद मनिष झा लामिछानेसँग भेट्न जाँदै थिए ।

झाले  भने, “मेरो सभापतिसँग भेट्ने समय तय भएको थियो । तर, एकाएक जेल प्रशासनले आजदेखि भेटघाट बन्द भएको जानकारी गरायो ।” लामिछाने सहकारी ठगी प्रकरणमा अदालतको आदेशमा नख्खु कारागार, ललितपुरमा बन्दी छन् ।

जेनजीको माग तत्काल पुरा गर्न सरकारसँग प्रचण्डको आग्रह

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जेनजी युवाहरूले उठाएका माग तत्काल पुरा गर्न सरकारसँग माग गरेका छन् । मध्यपहाडी लोकमार्ग अभियानको क्रममा रहेका प्रचण्डले जेनजीको माग पुरा गर्न उनले आग्रह गरेका हुन् ।

यस्तै सोमबार नयाँ बानेश्वरमा शान्तिपूर्ण प्रदर्शनको क्रममा प्रहरीले बल प्रयोग गरेकोमा पनि आपत्ति जनाएका छन् । घाइतेप्रति शीघ्र स्वास्थ्य लाभको कामना गर्दै मृत्यु भएको विषयमा वास्तविकता बाहिर ल्याउन आग्रह गरेका छन् ।

‘जेनजी युवाहरूले उठाएका माग जायज छ । उनीहरूको माग तत्काल पुरा गर्न म सरकारसँग आग्रह गर्दछु । साथै प्रदर्शनको क्रममा प्रहरीले बल प्रयोग गरी ७०–८० जना घाइते भएको खबर आएको छ । प्रदर्शनमा एक जनाको मृत्यु पनि भएको आएको छ । यसको वास्तविकता सार्वजनिक गर्न माग गर्दछु । साथै उनले घाइतेहरुको निःशुल्क उपचारको व्यवस्था गर्न म आग्रह गर्छु’, रातोपाटीसँग उनले भने ।

सिभिल अस्पतालमा घाइतेको भीड, एम्बुलेन्स पठाउन अन्य अस्पताललाई सिभिलको आग्रह

काठमाडौं– जेनजी पुस्ताले गरेको आन्दोलनमा प्रहरीले गोली चलाएपछि धेरै प्रदर्शनकारी घाइते भएका छन्। सिभिल अस्पतालको इमर्जेन्सीले नधानेपछि ओपीडीमा समेत राखेर उपचार भइरहेको छ।

सबैको उपचार गर्न अस्पताल असमर्थ देखिएको भन्दै अन्यत्र रिफरका लागि एम्बुलेन्स पठाउन आग्रह गरिएको छ।

अस्पतालमा कार्यरत एक चिकित्सक डा सुवास बन्जाडेले डेढ सय भन्दा बढी घाइतेको उपचार भइरहेको बताए।

उनले  अस्पतालमा घाइतेहरुको भिडभाडले थामिनसक्ने अवस्था आएको  बताए।  अन्य अस्पतालमा घाइतेलाई लैजानका लागि एम्बुलेन्सको लागि सार्वजनिक अपिल गर्नुपर्ने अवस्था आएको उनको भनाइ छ।

अस्पतालका मेडिकल डाइरेक्टर डा दिपक पौडेलका अनुसार एकजना घाइतेको मृत्यु भइसकेको छ।

नयाँ पत्रिकाका पत्रकार दीपेन्द्र ढुंगानालाई लाग्याे प्रहरीकाे गाेली

नयाँ पत्रिकाका फोटो पत्रकार दीपेन्द्र ढुंगानालाई गोली लागेको छ । उनी बिहानैदेखि जेन–जीकाे आन्दोलनको तस्वीर खिच्न माइतीघर मण्डलादेखि बानेश्वरसम्म पुगेका थिए । तर, बानेश्वरकाे निषेधित क्षेत्र तोड्दै अघि बढेका प्रदर्शनकारी र प्रहरीबीच पटकपटक झडप भएको थियो । प्रहरीले अश्रुग्यास हान्दै प्रदर्शनकारीलाई नियन्त्रणमा लिने प्रयास गरे पनि सम्भव नभएपछि प्रहरीले रबरका गोली चलाएकाे थियो ।

सोही क्रममा ढुंगानामाथि समेत गोली प्रहार भएको हो । उनीसँगै नेपाल प्रेस अनलाइनका पत्रकार उमेश कार्कीलाई पनि गोलीको छर्रा लागेको छ । उनीहरूको सिभिल अस्पतालमा उपचार भइरहेको छ ।

यसअघि कान्तिपुर टीभीका पत्रकार श्याम श्रेष्ठलाई गोली लागेको थियो । उनकाे पनि सिभिल अस्पतालमा उपचार भइरहेको छ । उनी खतरामुक्त रहेको बताइएकाे छ ।

जेन–जीको आन्दोलनमा गोली लागेर एक प्रदर्शनकारीको मृत्यु

जेन–जीको आन्दोलनका क्रममा प्रहरीको गोली लागेर घाइते भएका एक जनाको मृत्यु भएको छ ।

सवमबार जे–जीको आन्दोलनका क्रममा प्रहरीले चलाएको गोली लागेर घाइते भएका एक जनाको सिभिल अस्पतालमा मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।

काठमाण्डौंमा कर्फ्यू

काठमाण्डौं, २३ भदौ ।

जेन -जीहरुको प्रदर्शन नियन्त्रणभन्दा बाहिर गएपछि काठमाण्डौंमा कर्फ्यू आदेश जारी गरिएको छ ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको हो । प्रशासनका अनुसार अहिले साढे १२ बजेबाट राति १० बजेसम्म कर्फ्यू लगाइएको हो ।

प्रदर्शकारीहरु सुरक्षा घेरा तोडेर संसद भवनभित्र पसेपछि प्रहरीले अश्रुग्याँस र हवाई फायर गरेको थियो ।

​​​​​​​

खोज्नुहोस