कानुनी शासनको जगमा निकास निकाल्न मानव अधिकार आयोगको आग्रह

काठमाडौ ।  राष्ट्रिय मानव अधिकार आयोगले नयाँ सरकार गठन प्रक्रियामा चासो र चिन्ता प्रकट गरेको छ ।

मानव अधिकार आयोगले एक विज्ञप्ति जारी गरी ‘लोकतान्त्रिक मूल्यमान्यता र कानुनी शासनको जगमा निकास निकाल्न उचित हुने’ दृष्टिकोण अघि सारेको छ । आयोगले आफ्ना पदाधिकारीहरु राष्ट्रपति रामचन्द्र पौडेलको सम्पर्कमा रहेको उल्लेख गरेको छ । गत सोमबार र मंगलबार भएको घटनामा सुरक्षाकर्मीहरुको व्यापक बल प्रयोगका कारण हालसम्म ५१ जनाको मृत्यु भइसकेको छ ।  प्रदर्शनकारीहरुले व्यापक आगजनी गरेर सिंहदरबार, सर्वोच्च अदालत संघीय संसद जलाएका थिए ।

यस्ता घटनाको सुक्ष्म अध्ययन गर्न भने चुकेको  भन्दै  मानव अधिकार आयोग आलोचना भइरहेको छ ।

‘मुलुकमा विद्यमान सङ्कटपूर्ण परिस्थितिमा राष्ट्रिय मानव अधिकार आयोग राष्ट्रपति रामचन्द्र पौडेलसँग सम्पर्कमा रहेको छ’ आयोगले विज्ञप्तिमा भनेको छ, ‘मानव अधिकार, लोकतान्त्रिक मूल्यमान्यता र कानूनी शासनको अवधारणाको जगमा निकास निकाल्न उचित हुने धारणा राष्ट्रपतिसमक्ष आयोगले राखेको छ ।’

उसले मानव अधिकार, लोकतन्त्र, शान्ति स्थापना र कानूनी शासनको रक्षाका लागि आवश्यक काम गर्ने भन्दै अहिलेको परिस्थितिका वारेमा अन्य सरोकारवालाहरुसँग पनि निरन्तर सम्पर्क भइरहेको जनाएको छ ।

कारागारबाट भागेका थिए १३ हजार, पक्राउ परे २ हजार

काठमाडौं ।  गत २४ गतेको प्रदर्शनपछि भड्किएको हिंसाको नाजायज लाभ उठाएर भागेका करिब २ हजार कैदीबन्दी विभिन्न स्थानबाट पक्राउ परेका छन् । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यसमध्ये केहीलाई स्थानीयले समाएर प्रहरी जिम्मा लगाएका हुन् । केही भने आफै सम्पर्क गरेर आएका छन् ।

कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार केन्द्रीय कारागार सुन्धारा र नख्खु कारागारसिहत २६ कारागार/बन्दीगृहबाट १३ हजार ६१ कैदीबन्दी भागेका थिए । त्यसमध्ये २ हजार जना विभन्न स्थानबाट पक्राउ/नियन्त्रणमा लिइएको विभागले जनाएको छ । नेपाल प्रहरी प्रधान कार्यालयले भागेका कैदीबन्दीलाई सम्बन्धित कारागारमा फिर्ता हुन आग्रह गरेको छ ।

जेनजी प्रदर्शन : मृतकको पोस्टमार्टम सुरु

काठमाडौं । सोमबारको जेनजी प्रदर्शनबाट मृत्यु भएका शवको पोस्टमार्टम सुरु भएको छ ।

त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विभागका प्रमुख डाक्टर गोपाल चौधरी ९ वटा शवको पोस्टमार्टम प्रक्रिया सुरु भएको जानकारी दिए ।

हालसम्म विभागमा ३६ वटा शव पुगेका छन् । जसमध्ये एक जनाको परिचय खुल्न सकेको छैन । ‘पोस्टमार्टमको प्रक्रिया सुरु भएको छ,’ डा. चौधरीले अनलाइनखबरसँग भने, ‘ आफन्तले जिल्ला प्रहरी परिसर काठमाडौंबाट पत्र ल्याएको अवस्थामा पोस्टमार्टम गर्ने छौं ।’

उनका अनुसार जिल्ला प्रहरी परिसर काठमाडौबाट पोस्टमार्टम गर्ने र शव बुझन्ने पत्र ल्याउनुपर्ने छ । अहिले यस्तो पत्र ९ जना आफन्तले ल्याएका छन् ।

‘अहिलेसम्म ९ जना अभिभावकले पत्र ल्याउनुभएको छ । ती शवको पोस्टमार्टम गरेर आज बुझाउने छौं,’ डा. चौधिरीले भने ।

मृत्युको कारण पत्ता लगाउन शवको पोस्टमार्टम गरिन्छ । मृत शरीरको भित्री र बाहिरी अंगहरूको जाँच गरिन्छ । बाहिरी जाँच गर्दा पहिले उसले लगाएको लुगाको बारेमा वर्णन गरिन्छ ।

त्यसपछि लुगा खोलेर जनरल जाँच जस्तै शवको उचाइ, तौल, चोट, मृत्युपछि हुने परिवर्तन हातखुट्टाको अवस्था, नाक–मुखबाट केही तरल पदार्थ आएको छ कि भनेर नोट गरिन्छ ।

त्यसपछि क्रमशः छाती, पेट, टाउको खोलिन्छ र सबै अंगको जाँच गर्ने गरिन्छ । केही चोट वा रोग छ कि भनेर जाँच गरेपछि मृत्यु हुनुको कारण पत्ता लगाइन्छ ।

मृत्युको कारण निर्धारण गर्न बाहिरी चोट, भित्री चोट र प्रयोगशालाको रिपोर्ट हेरेर थाहा पाउन सकिन्छ ।

डा. चौधरीका अनुसार गोली लागेको केसमा पनि नियमित जसरी नै पोर्टमार्टम गरिनेछ । गोली कुन एंगलबाट लागेको छ, इन्ट्री पोइन्ट कुन हो, एक्जिट पोइन्ट कुन हो, शारीरिक इन्फर्मेसन पनि संकलन गरिने डा. चौधरीले बताए ।

उनका अनुसार यो विषय अन्तर्राष्ट्रिय इस्यू बनिसकेका कारणले अन्तर्राष्ट्रिय मापदण्ड अनुसार नै पोस्टमार्टम गर्नुपर्ने हुन्छ, जस कारण अन्तर्राप्ट्रिय रूपमा मान्य होस् ।

यी सबै जाँच सकिसकेपछि सम्पूर्ण अंग पुनः सही ढंगले शवमा मिलाएर बाहिरबाट सिलाएर प्याक गरेर परिवारलाई विधिपूर्वक बुझाइन्छ ।

डा. चौधरी भन्छन्, ‘के आधारमा यो व्यक्ति भनियो भन्ने वैज्ञानिक आधार स्पष्ट भए पछि मात्र आफन्तलाई शव जिम्मा लगाउँछौं ।’

जेनजी प्रदर्शनका ३६ जनाको हालसम्म मृत्यु भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये ५ जनाको बाँकेको बाल सुधार केन्द्रमा भएको झडपमा मृत्यु भएको थियो । यो संख्या अस्पतालमा गएर मृत्यु भएको मात्रै संख्या हो । तर फोरेसिन्क विभागमा काठमाडौं उपत्याकाको मात्रै ३६ जना शव पोस्टमार्टमका लागि पुगेको मृत्यु हुनेको संख्या बढ्ने सक्ने अनुमान छ ।

प्रर्दशनबाट १ हजार ७७१ जना घाइते भएको मन्त्रालयले जनाएको छ । जसमध्ये २८४ जना भर्ना भएर उपचार भइरहेको छ ।

जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१ पुग्यो

काठमाडौं। जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१ पुगेको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले मृतकको संख्या ५१ पुगेको बताए । जसमा काठमाडौं उपत्यकामा मृतक भएकादेखि अन्य जिल्लाहरुको पनि जोडिएको छ । तीन प्रहरी, एक भारतीय महिलासहित ५१ जनाको मृत्यु भएको प्रहरीले बताएको छ।

समाजको मनोबल बढाउन जेन-जीसहितले थाले बस्तीमा गस्ती

पोखरा । देशमा व्याप्त भ्रष्टाचार र सामाजिक सञ्जाल बन्द गर्ने निर्णयका विरुद्ध आन्दोलनमा उत्रिएका पोखरा हेमजाका युवाले सरकारी संरचना जलाउने प्रयासलाई रोकेका छन् भने बस्ती जोगाउन गस्ती गर्ने गरेका छन् ।

भदौ २३ गते जेनेरेसन जेडको (जेन–जी) पुस्ताको आन्दोलनमा भएको सरकारी दमनपछि भोलिपल्ट सबै सरकारी सरकारी संरचना, नेताको घर, ठूला व्यवसायी निसानामा परेका थिए । पोखरामा पनि शृंखलाबद्ध रूपमा तोडफोड, लुटपाट र आगजनीमात्रै चलेन, जेन–जी आन्दोलनको नाममा शहरभरि आतंक नै मच्चाइयो ।

पहिलो पटक आन्दोलनमा उत्रिएको पुस्तालाई सरकारको नेतृत्वले गरेको अपमान, दमन र नरसंहारले हेमजाका युवाहरूको पनि मन रोएको थियो । तर, जनताको करबाटै निर्माण भएका सरकारी संरचनामा क्षति पुर्‍याउन उक्साउने, लुटपाट, तोडफोड र आगजनी गर्ने समूह सहरैभरि उस्तै देखिन्थे । राज्यका सम्पत्तिमाथि विध्वंस मच्चाएकोप्रति हेमजाका जेनजी युवाहरूलाई चित्त बुझेको थिएन ।

देशभर सरकारी तथा व्यापारीका संरचनामा आगलागी भएपछि सग्लो रहेको पोखरा–२५ को वडा कार्यालयमा भोलिपल्ट बुलेट, क्रस फायरजस्ता मोटरसाइकल पड्काउँदै केही युवा पुगे ।

जेन–जी आन्दोलनमा सहभागी भएका स्थानीय सन्तोष तिमिल्सिनाले संरचना ध्वस्त बनाउनु आफूहरूको कुनै उद्देश्य नभएको र भीडमा घुसपैठ हुँदा त्यो अवस्था आएको बताउँछन् ।

उनले बस्तीमा शान्ति सुरक्षाका लागि समूह नै बनाएर गस्ती गरिरहेको जानकारी दिए । जेन–जीको आन्दोलन एक हिसाबले सफल भएको तर उनीहरूलाई देखाएर केही अराजक स्वार्थ समूह, केही लुटेरा र आवाराको समूहले समेत फाइदा उठाएको उनको बुझाइ छ ।

‘जेन–जीको आन्दोलन र माग जायज थियो । हामी सचेत छौं, के गर्न हुन्छ, के हुँदैन बुझेका छौं । तर, भीड उत्तेजित भएपछि दुर्घटनातिर गयो, त्यसमा अराजकता र घुसपैठसमेत भएपछि संरचना सखाप भए’ उनले थपे, ‘तर, अब भएका संरचनालाई जोगाउनु, समाजको आत्मबल बढाउनु र कुनै घटना घट्न नदिनु पनि हाम्रो नै दायित्व हो ।’

देशमा भ्रष्टाचार, लामो समय नेतृव गरेका प्रमुख राजनीतिक दलका नेताले गरेको अनियमितता र गरिब जनतालाई दु:ख गरेर पनि खान नपुग्ने, काम गर्छुभन्दा पनि युवाले रोजगारी नपाउने तर नेताका छोराछोरी भएकै कारण विलासी जीवन बाँच्ने गरेकोमा युवाहरूले सामाजिक सञ्जालमा चर्को असन्तुष्टि पोख्दै आन्दोलनका योजना बुनेका थिए ।

सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेपछि त्यो विरोधसहित मुख्य यिनै दुई एजेण्डाका साथ सडकमा उत्रिएका कलिला विद्यार्थीमाथि समेत सरकारले दमन गरेर नरसंहार गरेपछि युवाहरू ओक्रोश ह्वात्तै बढेको थियो ।

युवाहरूले कुनै उच्छृंखल गतिविधि हुन नदिनका लागि समूह बनाएर निगरानी राख्ने, बाहिर मानिसहरू आएर व्यापारिक भवन तोडफोड तथा लुटपाट गर्न खोजे नियन्त्रण गर्ने, समन्वय गर्ने गरेका छन् ।

गृहमन्त्रीले राजीनामा दिएपछि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार नै नढाल्दासम्म आन्दोलन नरोक्ने योजनासहित युवाहरू मंगलबार सडकमा निस्किएका थिए । यही समूहमा थिए हेमजाबाट जेन–जी पुस्ताका सन्तोष तिमिल्सिना, विपिन पौडेल, रोशन थापा, विशाल पौडेल लगायतका युवाहरू सडकमा निस्किएका थिए ।

शान्तिपूर्ण आन्दोलन गर्ने र सरकार नढल्दासम्म प्रदर्शन तथा दबाब बढाइराख्ने योजनासहित सडकमा उत्रिएका थिए, उनीहरू । तर, परिस्थिति जटिल बन्न पुग्यो । प्रदर्शनमा जसै भीड बढ्दै जान थाल्यो, आन्दोलन पनि उग्र र उत्तेजित बन्दै जान थाल्यो ।

काठमाडौंमा एकपछि अर्को सरकारी संरचनाहरूमा आगो लाग्न थाले । तोडफोड, आगजनी र लुटपाट मच्चिन थाल्यो ।

जेन–जी समूहको आन्दोलनका लागि विपिन पौडेल, रोशन थापा, विशाल पौडेल, सन्तोष लगायतले म्यासेन्जरमा एउटा ग्रुप बनाएका थिए । पारस त्रिपाठीलगायत समेत सहभागी भएर अहिले युवाहरूले सामाजिक सञ्जालको ग्रुपमार्फत नै बस्तीमा गस्तीको सहजीकरण गरिरहेका छन् । उनीहरूको ग्रुपमा ४० जना जति जोडिएका छन् ।

‘देशमा अहिले लगभग शून्यताको अवस्थामा छ । प्रहरीदेखि सबैजसो राष्ट्रसेवक त्रासमा छन् भने समाजलाई लयमा ल्याउने, थप भड्किन नदिने आन्दोलनमा होमिएका हामी जेन–जीको पनि दायित्व हो,’ सन्तोषले भने, ‘देशमा ठूलो क्षति त भई नै हाल्यो तर, जेन–जी आन्दोलनले उपलब्धि पनि हासिल गरेको छ । केन्द्रमा अब अन्तरिम सरकार बन्ला र थप योजना अगाडि बढाउला ।’

तर, अहिले समाजको मनोबल जोगाइराख्नु र विस्तारै स्थितिलाई सामान्यीकरण गर्नुपर्ने प्रमुख दायित्व सम्पूर्ण जेन–जी र स्थानीयको समेत भएको उनीहरूको बुझाइ छ ।

उनीहरूले कुनै उच्छृंखल गतिविधि हुन नदिनका लागि समूह बनाएर निगरानी राख्ने, बाहिर मानिसहरू आएर व्यापारिक भवन तोडफोड तथा लुटपाट गर्न खोजे नियन्त्रण गर्ने, समन्वय गर्ने गरेका छन् ।

जेन–जीको आन्दोलनका कारण हेमजामा रहेका प्रहरीसमेत विस्थापित भएका थिए । अहिले प्रहरी आइसकेका छन् । तर, वडा प्रहरी कार्यालय बगरबाट हतियारसमेत लुटेर भागेका छन् । कैदीबन्दीहरूसमेत छुटेका छन् जसका कारण समाजमा डर पनि छ ।

‘एकातिर वर्षौंदेखि जरो गाडेर बसेका ठूला दल र नेताहरूको जरै हल्लिएकोमा खुसी छन् भने अर्कोतिर समाजमा अपराध बढ्न सक्ने त्रास पनि देखिएको छ’ युवाहरू भन्छन्, ‘यस्तो बेलामा हामीले थप डरभन्दा पनि समाजमा विश्वास बढाउनुपर्छ भनेर लागिरहेका छौं ।’

गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय सञ्चालन गरिँदै

काठमाडौं । गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सञ्चालन गर्ने तयारी सुरु भएको छ ।

मुख्यसचिव एकनारायण अर्यालले शुक्रवार बिहानै सिंहदरबारमा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सहित विभिन्न मन्त्रालयको स्थलगत अनुगमन गरे लगत्तै प्रधानमन्त्री कार्यालय गृह मन्त्रालयको नयाँ भवनमा सञ्चालन गर्न लागिएको प्रधानमन्त्री कार्यालय उच्च स्रोतले जनाएको छ ।

उच्च स्रोतले नेपाल प्रेसलाई भन्यो, ‘प्रधानमन्त्री कार्यालय बस्नै नसकिने अवस्थामा ध्वस्त भएको रहेछ । पुरानो गृह रहेको ठाउँमा बनिरहेको नयाँ गृह मन्त्रालयको भवनमा अहिले प्रधानमन्त्री कार्यालय सञ्चालन गर्ने तयारी भएको छ ।’

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय बग्गीखानाबाट छिर्ने गेटबाट नजिकै नयाँ गृह मन्त्रालयको भवन बनेको छ । अहिले गृह मन्त्रालय रहेको भवन पनि ध्वस्त भइसकेकाले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा गृह मन्त्रालय सारेर केशरमहलमा शिक्षा मन्त्रालयलाई सार्ने तयारी भइरहेको छ ।

निर्वाध पेसा, व्यवसाय गर्ने वातावरण बनाऊ : उद्योग वाणिज्य महासंघ

काठमाडौं । देशभर भएको आन्दोलन एवम् प्रदर्शनका क्रममा भएको जनधनको क्षतिप्रति नेपाल उद्योग वाणिज्य महासंघले गहिरो दुःख व्यक्त गरेको छ ।

साथै महासंघले देशैभर निर्वाध पेसा, व्यवसाय गर्न सक्ने वातावरण बनाउन समेत आह्वान गरेको छ । आन्दोलनका क्रममा ज्यान गुमाएका प्रति श्रद्धान्जली अर्पण गर्दै महासंघले परिवारमा समवेदना व्यक्त गरेको छ । घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।

सुशासन, भ्रष्टाचार नियन्त्रण, वाक स्वतन्त्रता, मर्यादित रोजगारी, स्वरोजगारी, राजश्वको सदुपयोग लगायत विषयमा युवा पुस्ताले चासो देखाएको महासंघले बताएको छ । यसका लागि विकसित घटनाक्रमको विवेकपूर्ण अवतरण भई युवा पुस्ताको चाहना बमोजिम समुन्नतिको यात्रामा देश अगाडि बढ्ने अपेक्षा महासंघले गरेको छ ।

देशको समुन्नतिका लागि अन्यौल अन्त्य भएर शुसासन कायम गर्ने कार्यमा महासंघ समन्वय एवम् सहकार्य गर्न तयार रहेको बताएको छ । नवनिर्माण एवम् पुनर्निर्माणका लागि आगामी दिनमा आवश्यक पर्ने बजेटको मुख्य स्रोत निजी क्षेत्र रहेको भन्दै महासंघले उद्यम व्यवसाय निर्वाध सञ्चाचालन गर्न आवश्यक शान्ति सुरक्षा व्यवस्थाका लागि आग्रह गरेको छ ।

सबै जिल्ला र एक सय भन्दा बढी पालिकाहरूमा सदस्य उद्योग वाणिज्य संघको उपस्थिति रहेको स्मरण गराउँदै महासंघले जिल्ला, नगर, वस्तुगत, एसोसिएट लगायतका सदस्यमार्फत करिब ६ लाख साना मझौला एवम् ठूला उद्योगी व्यवसायीको प्रतिनिधित्व गर्ने उल्लेख गरेको छ ।

पछिल्लो घटनाक्रममा कतिपय उद्यमी व्यवसायीको उद्योग, प्रतिष्ठान, कार्यालय एवम् निवासमा समेत तोडफोड र आगजनीका घटना भएका छन् । यसरी व्यक्तिगत एवम् व्यवसायिक सम्पत्तिमाथि भएका तोडफोडका घटनाको महासंघ भत्सर्ना गरेको छ ।

महासंघले व्यवसायिक एवम् व्यक्तिगत सम्पत्तिमाथि आगामी दिनमा आक्रमण नहुने सुनिश्चितताको लागि सम्पूर्ण सबैको ध्यानाकर्षण गराएको छ । उद्योग व्यवसाय प्रतिष्ठानमा मुलुकभर अर्बौ रुपैयाँ बराबरको क्षति भएको महासंघको भनाइ छ । यसबारे महासंघले थप विवरण संकलन गरिरहेको छ । क्षतिका कारण राजश्व र कुल गार्हस्थ्य उत्पादनमै गम्भीर असर पर्ने प्रारम्भिक आंकलन गरिएको छ ।

निजी क्षेत्रका गतिविधि निर्वाध रुपमा सञ्चालन हुन नसके अर्थतन्त्रमा थप समस्या हुने र आगामी दिनमा राजश्वमा समेत नकारात्मक प्रभाव पर्ने बताइएको छ । सर्वप्रथम आम सर्वसाधारण तथा उद्यमी व्यवसायीले निर्वाध रुपमा पेशा व्यवसाय गर्न पाउने सुनिश्चितताका लागि सुरक्षा प्रदान गर्न आग्रह गरिएको छ ।

निषेधाज्ञा एवम् कर्फ्युको समयमा पनि अत्यावश्कीय सेवा तथा पेशाकर्मीहरुको आवतजावतमा सहजीकरण गर्न भनिएको छ । आवश्यक वस्तु, औषधि, खाद्यान्न, दुध, पानी फलफूल तरकारी, पेट्रोलियम पदार्थको ओसारपसार सहजीकरणमा समेत महासंघले आग्रह गरेको छ । केन्द्र, प्रदेश र जिल्लास्तरमा रहने सुरक्षा समितिमा महासंघ र महासंघका सदस्य उद्योग वाणिज्य संघका प्रतिनिधिको सहभागिता गराउन आग्रह गरिएको छ।

यसैगरी गुणस्तरीय सामानको नियमित आपूर्ति गरी बजारमा अभाव सिर्जना हुन नदिने तर्फ देशैभरका सबै उद्यमी व्यवसायीहरुमा आग्रह गरिएको छ । आपूर्ति सुनिश्चितताका लागि सम्बन्धित प्रदेश, जिल्ला, नगर एवम् वस्तुगत संघहरुले अनुगमन गर्न पनि आग्रह गरिएको छ ।

अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएपनि धेरै भन्सार नाका अहिले बन्द छन् । अत्यावश्यकीय लगायतका सामान आयात निर्यातका लागि भन्सार नाकामा सुरक्षा दिइ सुचारु गर्ने वातावरण निर्माणका लागि पनि महासंघले आग्रह गरेको छ ।

नेपाली अर्थतन्त्रमा ८१ प्रतिशत, राजश्वमा ८० प्रतिशत र रोजगारीमा ८६ प्रतिशत योगदान रहेको निजी क्षेत्रका विषय समावेश हुँदा अर्थतन्त्र चलायमान भइ समुन्नति र स्थायित्व कायम हुने विश्वास लिइएको छ ।

सामाजिक न्याय सहितको उच्च आर्थिक वृद्धिको वातावरण निर्माण गरेर मात्र उच्च ज्याला सहितको मर्यादित रोजगारी सम्भव रहेको महासंघको ठहर छ । स्थायित्वका लागि युवाहरुको चाहना अनुरुप शुसासन, वाक स्वतन्त्रता, स्वतन्त्र भएर पेशा व्यवसाय गर्न पाउने अधिकारको सुनिश्चितता सँगै लगानी एवम् रोजगारी प्रवर्द्धनका लागि उपयुक्त वातावरण सिर्जना गरी समुन्नत समाज निर्माणमा योगदान पुर्‍याउन महासंघले आग्रह गरेको छ ।

झुटा समाचारमा विश्वास नगर्नुस् : नेपाली सेना

काठमाडौं । नेपाली सेनाले पछिल्लो समय विभिन्न प्रकारका टिका टिप्पणी, धारणा र विश्लेषणहरु सम्प्रेषण भइरहेको बताउँदै गलत, भ्रामक र झुटा समाचारमा विश्वास नगर्न आम सर्वसाधारणलाई अनुरोध गरेको छ ।

नेपाली सेनाले एक सूचना जारी गर्दै जनसम्पर्क तथा सूचना निर्देशनालयलगायतका स्थानीय स्तरमा पृतना हेडक्वार्टरसँग समन्वय गर्न पनि अनुरोध गरेको छ ।

नेपाली सेनाले गर्‍यो १३५ नाल हतियार बरामद

काठमाडौं : नेपाली सेनालगायत अन्य सुरक्षा निकाय परिचालन भएपश्‍चात हालसम्म विभिन्न स्थानबाट १३५ नाल हतियार बरामद गरिएको छ।

सेनाले सूचना जारी गर्दै काठमाडौंको महाराजगञ्ज इलाकामा मोबाइल तथा विदेशी मुद्रासहित दुई जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको जनाएको छ।

यस्तै गजुरीमा रहेको धादिङ कारागारबाट भागेका कैदीमध्ये ४३ जनालाई नियन्त्रणमा लिएको सेनाले जनाएको छ।

झापाको भद्रपुर नगरपालिका–८ स्थित हस्पिटल चोकमा फेला परेको शंकास्पद बस्तुलाई सुरक्षित साथ डिस्पोज गरेको नेपाली सेनाले जनाएको छ।

कञ्चनपुरमा २७ कार्यालय, १२ घर र १६ सवारीसाधनमा आगजनी

कञ्चनपुर । ‘जेनजी’ आन्दोलनका क्रममा २७ वटा सरकारी कार्यालय, पाँचवटा राजनीतिक दलका कार्यालय, १२ जना नेता तथा जनप्रतिनिधिका निजी निवास, चारवटा व्यापारिक केन्द्र र १६ वटा सवारीसाधनमा तोडफोड तथा आगजनी भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार सरकारी कार्यालयमध्ये जिल्ला प्रशासन कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गेट, कञ्चनपुर कारागार, इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती र गुलरियाको गेट, सरकारी वकिल कार्यालय, शुक्लाफाँटा नगरपालिका र वडा नं १ देखि १२ सम्मका कार्यालयमा नोक्सानी पुगेको छ ।

पुनर्वास र कृष्णपुर नगरपालिकाका कार्यालय, भीमदत्त नगरपालिका कार्यालयको गेट तथा बेलडाँडी गाउँपालिका कार्यालयमा तोडफोड र आगजनी गरी भौतिक संरचना, कागजपत्र, फर्निचर र अन्य सामग्रीमा करोडौँको नोक्सानी पुर्याइएको छ ।

भीमदत्त र दोधाराचाँदनी नगरपालिकामा रहेका नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाली कांग्रेसका गरी पाँचवटा पार्टी कार्यालयमा समेत आगजनी र तोडफोड गरिएको छ ।

निवर्तमानगृहमन्त्री रमेश लेखक, पूर्वमुख्यमन्त्री राजेन्द्र रावल, पूर्वमन्त्री प्रकाश रावल, भीमदत्त नगरपालिकाका प्रमुख पदम बोगटी, उपप्रमुख निलम लेखक, पूर्वसांसद निरुदेवी पाल, प्रदेशसभा सदस्य मधु भारती, वेदकोट नगरपालिकाका प्रमुख भोजराज बोहरा, भीमदत्तका पूर्वनगरप्रमुख सुरेन्द्र विष्ट, जिसस प्रमुख दुर्गादत्त बोहरा, कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशी र कृष्णपुर नगरपालिकाका प्रमुख हेमराज ओझालगायतका घरमा समेत आगजनी र तोडफोड भएको छ ।

व्यापारिक क्षेत्रमा होटेल ओपेरा, सीएमजी क्यासिनो, विपीन पुस्तक पसल, रोयल सिलाइ सेन्टर र डायमन्ड क्यासिनोमा तोडफोड, आगजनी र लुटपाट भएको प्रहरीले जनाएको छ ।

आन्दोलनका क्रममा पुनर्वास नगरपालिकाका प्रमुख र प्रशासकीय प्रमुख चढ्ने गाडीसहित १६ वटा सवारीसाधनमा पनि तोडफोड र आगजनी भएको छ ।

तीमध्ये शववाहन, दमकल, मोटरसाइकल, स्कुटर, ट्याक्टर र रोलर छन् । प्रहरीका अनुसार जिल्लाभर भएका तोडफोड र आगजनीका घटनामा ठूलो मात्रामा सरकारी तथा निजी सम्पत्ति नोक्सानी भएको छ ।

एएफसी यू-२३ एसियन कप खेल्न गएको नेपाली टोली आज स्वदेश फर्किँदै

एएफसी यू-२३ एसियन कप खेल्न ताजिकिस्तान गएको नेपाली टोली आज स्वदेश फर्कने भएको छ ।

टोली बुधबार नेपाल फर्किने तयारीमा रहेपनि मगंलबारदेखि नेपालको विमानस्थल बन्द भएपछि दुई दिन उतै अलपत्र परेको हो । नेपाली टोली बुधबार ताजस्कितानको विमानस्थलमै रात बिताउन बाध्य भयो। त्यहाँ रहेका सबै होटेल बुक भएपछि नेपाली टोली अलपत्रमा परेको हो ।

बिहीबार बिहान पुन: होटल फर्किएको टोली शुक्रबार नेपाल आउन लागेको हो । बुधबार बेलुकादेखि नेपालको विमानस्थल खुल्ला भएको छ ।

टोली अहिले ताजिकिस्तानबाट दुबई पुगेको र दिउँसो साढे १२ बजे नेपालका लागि उड्नेछ ।

नेपाल यू-२३ एसियन कपमा भने जितविहीन बनेको थियो ।

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड

शुक्रबार नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ । अघिल्लो दिन घटेको सुनको मूल्य आज तोलामा १ हजार ६०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ लाख १५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन तोलाको २ लाख १४ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य पनि आज हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आज चाँदी तोलाको २ हजार २६५ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ६० रुपैयाँले महंगो हो । अघिल्लो दिन चाँदीको मूल्य तोलामा २ हजार ५०५ रुपैयाँमा कारोबार भएको थियो ।

शितलनिवासको छलफल केही घण्टाका लागि सारियो

काठमाडौं । अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्ति प्रक्रियाबारे राष्ट्रपति निवासमा आज बिहान ९ बजेका लागि तय भएको छलफल कार्यक्रम केही घण्टाका लागि सरेको छ ।

स्रोतका अनुसार वार्तामा रहेकाहरुले आ–आफ्नो पक्षमा आन्तरिक छलफल गर्नुपर्ने भएकाले केही घण्टाका लागि समय सारिएको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलले गएराति अबेरसम्म पनि विभिन्न पक्षसँग छलफल गरेका थिए ।

दलहरुले संसद विघटन नगरी नयाँ प्रधानमन्त्री तय गर्नुपर्ने विचार राखेका छन् । आन्दोलनरत पक्ष जेनजीले संसद विघटनको पक्षमा छ । संविधान अनुसार संसदको सदस्य नभएको व्यक्ति प्रधानमन्त्री हुन नसक्ने व्यवस्था छ ।

आन्दोलनरत पक्ष र दलहरु पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउन सहमत भएका छन् । तर, संसदले अनुमोदन गर्ने विधिमा सहमति जुट्न सकेको छैन ।

नयाँ प्रधानमन्त्रीलाई स्वागतको तयारी गर्न गृह मन्त्रालयलाई निर्देशन

काठमाडौँ । नयाँ प्रधानमन्त्रीलाई स्वागतको तयारी गर्न कर्मचारीलाई शीतल निवासले निर्देशन दिएको छ । आज बिहान गृह मन्त्रालयका कर्मचारीलाई स्वागतको तयारी गर्न निर्देशन दिइएको हो ।

जेनजीको माग अनुसार अन्तरिम सरकारको नेतृत्व पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई दिने विषयमा ठुला दल र राष्ट्रपतिबिच सहमति भएसँगै गृह मन्त्रालयलाई स्वागतको तयारी थाल्न भनिएको हो । यद्यपि संविधानले तोकेको प्रक्रिया कसरी पूरा गर्ने भन्ने विषयमा निकास निस्किसकेको छैन ।

बिहीबार राति शीतलनिवास आएसँगै कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउने विषयमा राष्ट्रपति पौडेलले कांग्रेस र माओवादी केन्द्रका नेतालाई जानकारी गराएका थिए । नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता वर्षमान पुन तथा कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापासँग पौडेलले यस विषय परामर्श गरेका हुन् ।

कार्कीको विषयमा सहमति जुटेसँगै बिहीबार राति १२ बजे नै गृह मन्त्रालयका कर्मचारीलाई शीतलनिवास बोलाइएको थियो । अन्तिम सहमति नजुटेको भन्दै उनीहरूलाई राति फर्काइए पनि आज बिहान फोनमार्फत नयाँ प्रधानमन्त्रीको स्वागतको तयारी थाल्न निर्देशन आएको गृह मन्त्रालय स्रोतले जानकारी दियो ।

 

प्रतिनिधिसभा सदस्य नरहेको व्यक्तिलाई कसरी प्रधानमन्त्री नियुक्त गर्ने भन्ने विषयमा भने राष्ट्रपति पौडेल अझै कानुनविदसँग परामर्श

 

मै छन् ।

सिंहदरबार सञ्चालनमा अन्योल

काठमाडौं । सिंहदरबार परिसरमा रहेका प्रधानमन्त्री कार्यालय, मन्त्रालयहरू प्रदर्शनकारीले ध्वस्त बनाएपछि तिनबाट सार्वजनिक सेवा प्रवाह कहिले, कसरी सञ्चालन गर्ने भन्ने अन्योल कायमै रहेको छ । मुख्यसचिव एकनारायण अर्यालले बिहीबार सचिवहरूसँग ‘भर्चुअल’ बैठक गरे पनि अत्यावश्यक सेवा सञ्चालनमा निष्कर्ष निस्किएन ।

‘भर्चुअल’ बैठकमा देशैभरि शान्ति सुरक्षाको स्थिति मजबुत नभएसम्म काम गर्ने वातावरण नरहेको सचिवहरूले बताएका थिए । ‘भोलि (शुक्रबार) सबै सचिवहरूले सिंहदरबारमा रहेका मन्त्रालयको स्थिति अवलोकन गर्न जाने कुरा भएको छ,’ बैठकमा सहभागी एक सचिवले भने, ‘कुनै मन्त्रालय पूरै ध्वस्त भएको छ, कुनै आधा, कुनैमा आंशिक क्षति भएको छ ।’

कागजपत्र, कम्प्युटर, डेटा व्यवस्थापनलाई प्राथमिकतामा राखेर शुक्रबारबाट काम गरिने जानकारी पनि ती सचिवले दिए । उनका अनुसार मन्त्रालयको स्थिति हेरेर बस्न सकिने भएर सरसफाइ गराउन मुख्य सचिवले निर्देशन दिएका छन् ।

सिंहदरबारमा जथाभावी भइरहेको प्रवेश रोक्न बिहीबार नेपाली सेनालाई आग्रह गरिएको छ । ‘सचिवहरूले नियमित भेटेर छलफल गर्दै सिंहदरबारबाट हुने कामलाई सहज बनाउँदै जाने प्रयास हुनेछ,’ बैठकमा सहभागी सचिवले सुनाए, ‘क्षति अपूरणीय छ । आजकै भोलि सिंहदरबार सञ्चालनमा आइहाल्दैन । तर प्रयास थालिहाल्ने कुरा भएको छ ।’

अत्यावश्यक सेवालाई प्राथमिकता दिएर सञ्चालन गराउने पनि छलफल भएको छ । जिल्ला प्रशासन, मालपोतलगायतका कार्यालयबाट सक्दो छिटो सेवा प्रवाह थाल्ने गरी गृहकार्य गर्ने जिम्मेवारी सम्बन्धित सचिवहरूलाई दिइएको छ । प्रदर्शनकारीले काठमाडौं उपत्यकाभित्र मात्र नभएर जिल्लाहरूमा पनि सरकारी कार्यालयहरूमा तोडफोड र आगजनी गरेका थिए ।

प्रदर्शनकारीको हूल मंगलबार सिंहदरबारमा छिर्न थालेपछि सचिव तथा कर्मचारीहरू आफ्नो सवारीसाधन मन्त्रालय परिसरमा छाडेर निस्किएका थिए । ‘सार्वजनिक सवारीसाधन नचलेको र सरकारी गाडी जलाइएको हुनाले सबै कर्मचारीलाई बोलाउने स्थिति छैन । तर सिंहदरबारबाट नजिक हुने साथीहरूलाई आउन भनिएको छ,’ बैठकमा सहभागी अर्का एक सचिवले कान्तिपुरसँग भने, ‘सुरक्षित रहेका भवनमा ‘एडजस्ट’ को प्रयास गर्ने वा पाल टाँगेर काम थाल्ने विभिन्न विकल्पमा स्थिति विश्लेषणपछि मात्रै तयारी हुनेछ ।’

जलेर खरानी भएको सर्वोच्चको भवनमा फुलकोर्टको बैठक

काठमाडौं। भदौ २४ गते प्रदर्शनकारीले लगाएको आगोले सर्वोच्च अदालतमा हजारौं मुद्दाका मिसिल जले। भवन लगभग खरानी भयो। नेपालको न्यायालयको इतिहास धुँवाधुँवा भयो।

सर्वोच्च अदालत मुद्दाका लागि पेसी समेत तोक्न नसक्ने अवस्थामा पुग्यो। तर त्यसको दुई दिनपछि सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले जलेको सोही भवनमा फुलकोर्टको बैठक राखेका छन्।

राउतले जल्न बाँकी रहेको भवनको कोठामा बैठक राखेर मुलुक विधि, विधान र न्यायको बाटोमा अघि बढ्ने सन्देश दिएका छन्। जबकि राज्यका अन्य दुई निकाय: कार्यपालिका र व्यवस्थापिका ‘कोमा’ मा छन्।

यस्तोमा राउतले फुलकोर्टको बैठक मात्र गरेका छैनन्, न्यायालयको गिरेको नूर उठाउने प्रयास गरेका छन्। सर्वोच्चसँगै उनले जलेको नेपाल बार एसोसिएसन र महान्यायाधिवक्ता कार्यालयको पनि निरीक्षण गरेका छन् ।

फुलकोर्टको बैठकले आइतबारदेखि बन्दी प्रत्यक्षीकरणको मुद्दा हेर्ने निर्णय लिएको छ। यसले मुलुकमा संविधान र कानुन भएको भरोसा जनतालाई दिएको छ।

जबकि अदालतका न्यायाधीशहरूको गाडी जलेको छ। साइकलमा अदालत आउनुपर्ने अवस्था छ। तर बिहीबार दर्जन बढी न्यायाधीशहरूले अदालत पुगेर न्याय नमरेको सन्देश दिएका छन्।

प्रधानन्यायाधीश राउतले बुधबार दिनभर देशभरका अदालत जलेका कारण न्यायाधीशहरूको जीउ ज्यान जोगाउन सेनासँग संवाद गरेका थिए।

एक न्यायाधीशका अनुसार फुलकोर्टको बैठकमा राउतले हजारौं अपराधी छुटेका कारण न्यायाधीशहरू समेत जोखिममा रहेको बताएका थिए।

प्रधानन्यायाधीश राउतले देशभरका मुख्यन्यायाधीश र न्यायाधीशहरूलाई पनि अदालती कामकारबाही सुरू गर्ने विषयमा पत्राचार पनि गरेका छन्।

प्रधानन्यायाधीश राउतले सरकार भए/नभए पनि अदालतले काम गरोस् भन्ने चाहनालाई पूरा गर्नुपर्ने धारणा फुलकोर्टको बैठकमा राखेका थिए।

तर अदालतमा बस्ने ठाउँ समेत नभएकाले राउतलाई सर्वोच्चमा इजलास बसाउनु सजिलो भने छैन।

राउतले अलिअलि जल्न बाँकी रहेको कोठाबाटै भए पनि न्याय सम्पादन सुरू गर्नुपर्ने फुलकोर्ट बैठकमा बताएका थिए। उनले नेपाल बार एसोसिएसन पुग्दा जलेको भवन हेर्नु हृदय बिदारक भएको टिप्पणी गरेका थिए।

सर्वोच्चको फुलकोर्ट जलेको भवनको छेवैमा भएको एनेक्स भवनमा बसेको थियो। न्यायाधीशहरूले भने बैठकमा सुरक्षाको प्रश्न उठाएका छन्। उनीहरूले सुरक्षाका लागि सेनासँग कुरा गर्न प्रधानन्यायाधीशलाई सुझाव दिएका छन्।

तर त्रासका बीचमा भए पनि न्याय सम्पादनको कार्य अघि बढाउनेमा न्यायाधीशहरू एकमत छन्।फुलकोर्टको बैठकपछि सर्वोच्चमा बिहीबार दुई महत्वपूर्ण निर्णय लिइएको छ।

बैठकले आइतबारदेखि बन्दी प्रत्यक्षीकरणको रिट दर्ता र त्यसको सुनुवाइ सुरू गर्ने निर्णय गरेको हो। बन्दी प्रत्यक्षीकरणको रिट माथिको सुनुवाइ दसैं तथा तिहारमा समेत रोकिँदैन।

‘यस्तो विषम परिस्थितिमा पनि नेपालको संविधानले न्यायपालिकालाई सुम्पेको दायित्व निर्वहन गर्दै जनतामा निहित सार्वभौमसत्ता, संविधानवाद, विधिको शासन र मौलिक हकको प्रत्याभूति तथा न्याय प्राप्त गर्ने नागरिकको अक्षुण्ण हक प्रति सम्मान गर्दै जे जस्तो अवस्था र परिस्थिति भए पनि न्यायको मार्गमा अविचलित र दृढ रहदै आम नागरिकहरुका न्यायप्रतिको अपेक्षालाई सम्बोधन गर्न यथाशीघ्र अदालतहरू सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गर्दछौं,’ प्रधानन्यायाधीश राउतले विज्ञप्ति जारी गर्दै भनेका छन्।

यसरी आफ्नो भवन नै जलेको बेलामा समेत यो निर्णय गरी सर्वोच्चले सकारात्मक सन्देश दिएको छ। दोस्रो, सर्वोच्चले म्याद थामिने सम्बन्धी पनि निर्णय गरेको छ।

पछिल्लो समयमा म्याद/तारिख गुज्रिएको अवस्थामा कर्फ्यू/निषेधाज्ञा हटेर आवतजावत सहज र अदालतको कामकारबाही सुरू भएपछि ३० दिनभित्र अदालतमा उपस्थित हुनसक्ने मुख्य रजिस्ट्रार बिमल पौडेलले बताएका छन्। त्यसका लागि म्याद/तारिख थामी पाऊँ भनेर निवेदन अदालतमा दिनुपर्नेछ।

यसो त सर्वोच्चको प्रशासनले पनि बुधबारदेखि नै न्याय सम्पादन गर्नका सहयोग पुर्‍याएको छ। सर्वोच्चका १५ वटा फाँट र सात वटा इजलास ध्वस्तै छन्। यकिन क्षति विवरण पछि आउला।

बुधबार कर्मचारीहरू, कानुन व्यवसायी, कानुनका विद्यार्थी लगायत सर्वोच्च पुगे। उनीहरूले भवन भित्र पसेर जल्न बाँकी मिसिल तथा कागजातलाई सुरक्षित स्थानमा राखेका छन्।

अहिले त्यस्ता कागजातलाई पनि सर्वोच्च परिसर भित्रै रहेको अर्को भवन, एनेक्समा सारिएको छ। एनेक्स भवनमा पनि आगजनी भए पनि मूल भवनको तुलनामा कम क्षति पुगेको छ।

जसको आन्दोलन उही नेता हुनु, उत्खनन किन?– गोकुल बाँस्कोटा

काठमाडौं । नेकपा (एमाले) का नेता गोकुल बाँस्कोटाले जसको आन्दोलन उसैलाई नेता बनाउन जेन–जीलाई सुझाव दिएका छन्। उनले देश प्रयोगशाला बनेको पनि टिप्पणी गरेका छन्।

‘प्रयोगशाला भन्दा फरक नभएपछि पुरानाले, नयाँले, झन नयाँले र महानयाँले अन्तिममा आफ्नै गालामा थप्पड हान्ने र हरेक टाल्टुले समाधान बढीमा एक दशकको लागि खोज्ने हो। किनकि यहाँ सर्पको मुखमा परेको भ्यागुत्तोले फट्यांग्राको शिकार गर्न मुख बाउँछ, जस्को आन्दोलन उही नेता हुनु नि! फेरि उत्खनन किन?,’ उनले भनेका छन्।

जेन–जी आन्दोलन निष्कर्षतिर जान थालेको छ। देशमा अहिले अन्तरिम सरकार गठनको प्रयास भइरहेको छ।

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउने तयारी भइरहेका बेला पूर्व सञ्चारमन्त्रीसमेत रहेका बाँस्कोटाको यस्तो धारणा आएको हो।

राष्ट्रपतिले सुशीला कार्कीलाई शुक्रबार बिहान प्रधानमन्त्री नियुक्त गर्ने र शपथ गराउने तयारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वन्यायाधीश सुशीला कार्कीलाई शुक्रबार बिहान प्रधानमन्त्री नियुक्त गर्ने तयारी गरेका छन्। कार्कीको शपथ ग्रहण पनि शुक्रबार बिहानै गराउने तयारी रहेको शीतल निवास स्रोतले बताएको छ।

कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपति पौडेलले बिहीबार दिनभर र मध्यरातसम्मै छलफल र परामर्श जारी राखेका छन्।

उनले बिहीबार राजनीतिक दलका प्रमुख नेताहरू र संविधानविदहरूसँग अलग अलग छलफल गरे।

उच्च राजनीतिक स्रोतका अनुसार बिहीबार दिउँसो राष्ट्रपति पौडेल र प्रधानसेनापति अशोकराज सिग्देलले संयुक्त रूपमा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि छलफल गरेका थिए।

उनीहरूले सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउन लागेको भनेर ओलीलाई जानकारी गराए।

ओलीले ‘यो संवैधानिक बाटोबाटै गर्न लागिएको हो नि, अरूसँग परामर्श गर्नुभयो’ भनेर सोधेका थिए। राष्ट्रपति पौडेलले ‘संविधानकै बाटो खोज्ने हो र सबैसँग कुरा पनि भइसक्यो’ भने।

त्यसपछि ‌ओलीले ‘त्यसो भए ठीकै छ’ भनेको स्रोतले जनाएको छ।

त्यस्तै राष्ट्रपति पौडेलले अस्पतालमा उपचाररत कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि टेलिफोनमा परामर्श गरे। देउवाले ‘संविधान अनुसार गर्नुस्, मेरो सहमति छ’ भने।

राष्ट्रपतिले पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भने शितल निवासमै बोलाएर भेटे र कार्कीको नियुक्तिबारे परामर्श गरे।

कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनसँग पनि शितल निवासमै उनले छलफल गरेका थिए।

राष्ट्रपति पौडेलले नेताहरूलाई ‘आज जसरी पनि प्रधानमन्त्री नियुक्त गर्नुपर्ने प्रेसर छ, यो प्रेसर धान्न सकिँदैन, आजै नियुक्त गर्नुपर्छ’ भनेर खबर गरेका थिए।

त्यसपछि उनीहरूसँग फोनवार्ता, भेटघाट गरेर छलफल सुरू गरेका हुन्। उनले संविधानविदहरूसँग पनि शितल निवासमै बिहीबार अपराह्न ४ बजेदेखि परामर्श गरे।

संविधानविद पूर्णमान शाक्य, भिमार्जुन आचार्य, विपिन अधिकारी, चन्द्रकान्त ज्ञवाली, ललित बस्नेतलाई उनले शितल निवासमा डाकेका थिए।

संविधानविदहरूले संसद र संविधान भित्रैबाट नियुक्तिको बाटो खोज्नुपर्ने सुझाए। तरराष्ट्रपतिले अहिले राजनीतिक परिस्थितिका कारण त्यो सम्भव नभएको बताएका थिए।

अहिले संविधान संशोधन गर्न निवर्तमान प्रधानमन्त्री ओलीले संसदमा प्रस्ताव पेस गर्नुपर्ने र त्यो बाटो अहिले सुरक्षाका कारणले सम्भव नभएको राष्ट्रपतिले बताए। संसद बसेर, पूर्वप्रधानन्यायाधीश कार्कीलाई संसदभित्र अहिले छिराएर, संविधानको बाटोबाट प्रधानमन्त्री बनाउन पनि राजनीतिक र सुरक्षाका कारणले सम्भव नभएको उनले संविधानविदहरूलाई भने।

अर्कातिर चाँडै प्रधानमन्त्री नियुक्त गर्नुपर्ने भनेर जेन–जी समूहको एकदमै ठूलो दबाब रहेको पनि राष्ट्रपतिले बताएका थिए।

राष्ट्रपतिले संसद बोलाउन वा निवर्तमान प्रधानमन्त्रीले प्रस्ताव पेस गर्न सुरक्षा हिसाबले सम्भव नभएको र समय पनि नभएको भनेपछि संविधानविदहरूले यस्तो संकटको अवस्थामा एउटा बाटो हामीले पहिले पनि निकाल्दै आएको हो र संविधान अनुसार राष्ट्रपति संविधानको संरक्षक र पालनकर्ता भएकाले त्यसैका आधारमा प्रधानमन्त्री नियुक्त गर्न सकिने भनेर सुझाए।

छलफलमा सहभागी संविधानविदका अनुसार यस्तो अवस्थामा कुन धारा अन्तर्गत प्रधानमन्त्री नियुक्त गरिएको हो भन्ने चाहिँ उल्लेख हुने छैन। संविधानको पालनकर्ता र संरक्षकका हिसाबले राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नेछन्।

‘संविधानको धारा ६१ (४) मा संविधानको पालना र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ भनेर लेखिएको छ। संविधानको पालनकर्ता र संरक्षकका हिसाबले प्रधानमन्त्री नियुक्त गर्नुभएको छ भन्ने खालको भाषा लेखेर नियुक्त गर्न हामीले सुझाएका छौं,’ ती संविधानविदले भने।

सुशीला कार्कीलाई यसअघि खिलराज रेग्मीलाई जस्तै, अन्तरिम मन्त्रिपरिषदका अध्यक्षका रूपमा नियुक्त गर्ने कि भन्नेबारे पनि छलफल चलेको थियो। निर्वाचन गराउन गठित अन्तरिम मन्त्रिपरिषदका अध्यक्ष भन्ने कि प्रधानमन्त्री नै भन्ने भन्नेबारे पनि छलफल भएको थियो।

‘तर प्रधानमन्त्री नै भनौं, संवैधानिक पद त्यही हो भनेर धेरैले सुझाएपछि राष्ट्रपति पनि त्यसमा सहमत हुनुभयो। त्यसैले प्रधानमन्त्री नै भनेर नियुक्ति आउँछ होला,’ छलफलमा सहभागी अर्का संविधानविदले भने।

यसरी नियुक्त भएका प्रधानमन्त्रीको काम, कर्तव्य र अधिकार के हुने भन्नेबारे पनि सामान्य छलफल भएको उनले बताए।

‘यसरी नियुक्त प्रधानमन्त्रीको मुख्य जिम्मेवारी निर्वाचन गराउने र अहिलेको आन्दोलनमा भएको दमन, त्यस क्रममा युवाहरूको मृत्यु भएको र त्यसपछिको विध्वंसको छानबिन गर्ने; यी दुई मुख्य काम हुने भनिएको छ। कसरी उल्लेख हुन्छ भन्ने चाहिँ थाहा छैन,’ ती संविधानविदले भने।

नियुक्त प्रधानमन्त्रीले संसद विघटन र चुनावको मिति सिफारिस गर्ने उनले बताए।

जेन–जी समूहद्वारा प्रस्तावित प्रधानमन्त्री कार्कीले पनि बिहीबारै राष्ट्रपति पौडेल र प्रधानसेनापति सिग्देलसँग भेट र छलफल गरिन्। मध्यरातसम्म पनि तीन जनाबीच शितल निवासमा छलफल जारी छ।

कार्कीले राष्ट्रपति बाहेक कुनै पनि राजनीतिक दलका नेता

हरूसँग म भेट्दिनँ भनेर उनीहरूसँग भेट्न वा छलफल गर्न नमानेको स्रोतले बताएको छ।

संवैधानिक प्रबन्ध अनुसार निकासको पहल गर्न पूर्वराष्ट्रपति भण्डारीको अपील

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले अहिलेको राजनीतिक परिस्थितिको सही निकासका लागि संविधानको भावना र मर्मलाई आत्मसात गर्दै पलहकदम अघि बढाउन राष्ट्रपति रामचन्द्र पौडेलसँग आग्रह गरेकी छन् ।
उनले बुधबार वक्तव्य जारी गर्दै अहिलेको अवस्थामा राष्ट्रपति, प्रतिनिधिसभाका सभामुखको समन्वयका आधारमा वैधानिक प्रक्रियामार्फत अर्को मन्त्रिपरिषद् गठन प्रक्रिया अगाडि बढ्नु पर्ने उल्लेख गरेकी छन् ।

‘जस्तोसुकै विषम राजनीतिक परिस्थितिमा पनि यसको सही निकास निकाल्न संविधानको मर्म र भावनालाई आत्मसात गर्दै संवैधानिक प्रावधान अनुसार अगाडि बढ्नु पर्दछ’ उनले भनेकी छन्,’प्रधानमन्त्रीले राजीनामा दिएर राष्ट्रपतिले स्वीकृत गरेपछिको अवस्थामा सरकार काम चलाउ छ, तर हामीसँग मुलुकको संविधान बमोजिम गठित राष्ट्रपति र जननिर्वाचित संसद जस्ता संस्थाहरू कायम नै छन् ।’

अहिलेको अवस्थामा राष्ट्रपति, प्रतिनिधिसभाका सभामुखको समन्वयका आधारमा वैधानिक प्रक्रियामार्फत अर्को मन्त्रिपरिषद् गठन प्रक्रिया अगाडि बढ्न सक्ने भएकाले राष्ट्रपतिले यो पहलकदमी लिनु आवश्यक रहेको भण्डारीको धारणा छ ।

‘संविधानभित्रबाट नै वर्तमान राजनीतिक समस्याको समाधान निकाल्नु पर्दछ। यसो गरिरहँदा आन्दोलनकारी जेन जी पुस्ताको माग र चाहनालाई अभिव्यक्त गर्ने कुरामा गम्भीरतापूर्वक ध्यान पुऱ्याउनु पर्दछ’ उनले भनेकी छन् ।

नेपालगन्ज कारागारमा कैदीले गरे आगजनी, सेनाले चलायो गोली

नेपालगन्ज कारागारमा कैदीहरुले आगजनी गरेका छन् ।

कारागारबाट भाग्ने उद्देश्यले उनीहरुले जेलको भित्री गेटमा आगजनी गरेको एक सुरक्षा अधिकृतले बताएका छन् । अहिले कारागारमा ठूलो संख्यामा नेपाली सेनासहित सुरक्षाकर्मी परिचालन भएका छन् । कारागार नेपाली सेनाको घेराबन्दीमा छ ।

आगजनी पश्चात कैदीहरु भित्रबाट निस्कन खोजेपछि नेपाली सेनाले रोक्न खोज्दा केही राउण्ड गोली समेत चलेको छ ।

सर्वोच्च अदालत आगामी साताबाट आंशिक रुपले चल्ने

काठमाडौं । अर्को आइतबारदेखि सांकेतिक रुपमा सर्वोच्च अदालतले आफ्नो सेवा सुरु गर्ने भएको छ ।

सर्वोच्च अदालतका सबै न्यायाधीश सम्मिलित पूर्ण बैठक (फूल कोर्ट)ले आगामी आइतबारदेखि बन्दीप्रत्यक्षीकरणको निवेदनहरु हेर्न थाल्ने जनाएको हो ।

५ दलका युवा संगठनले भने- संविधानभित्रबाटै निकास खोजियोस्

हालै जेन जी समूहको आह्वानमा देशभर भएको आन्दोलनका क्रममा ठूलो मानवीय क्षति पुगेको भन्दै नेपालका विभिन्न युवा संगठनहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन्।

नेपाली कांग्रेसनिकट तरुण दलका अध्यक्ष विद्वान गुरुङ, नेकपा एमालेनिकट युवा संघका अध्यक्ष क्षितिज थेबे, नेकपा माओवादी केन्द्रनिकट वाईसीएलका अध्यक्ष पुष्प ओली, नेकपा एकीकृत समाजवादीनिकट युवा संघका अध्यक्ष रोशन थापा र राष्ट्रिय जनमोर्चानिकट अखिल नेपाल युवक संघका अध्यक्ष गणेश अधिकारीले संयुक्त विज्ञप्ति जारी गर्दै जेन जीले प्रस्तुत गरेका प्रमुख मागहरू भ्रष्टाचारमुक्त राष्ट्र, पारदर्शितामा आधारित शासन व्यवस्था, न्याय र जवाफदेहिताको पक्षमा आफूहरूको स्पष्ट समर्थन रहेको जनाएका छन्।

‘भ्रष्टाचारका मामिलामा प्रभावकारी अनुसन्धान र दोषीलाई कानुनी सजाय दिनुपर्छ भन्ने हाम्रो दृढ समर्थन छ’ विज्ञप्तिमा भनिएको छ।

प्रधानमन्त्रीले राजीनामा दिएपछि पनि मुलुकका विभिन्न ठाउँमा तोडफोड, आगजनी, हिंसा र लुटपाटजस्ता गतिविधि भइरहेको उल्लेख गर्दै संगठनहरूले यसलाई आन्दोलनको शुद्धतामाथिको प्रहार भनेका छन्।

उनीहरूले सुरक्षा निकायहरूको भूमिका सवालमा रहेको भन्दै यसबारे गम्भीर समीक्षा गर्नुपर्ने माग गरेका छन्। साथै टोलटोलमा सुरक्षा समितिको गठन गरी विध्वंसकारी गतिविधि रोक्न स्थानीय समुदायलाई सक्रिय हुन पनि अपिल गरिएको छ।

आगामी राजनीतिक यात्राबारे संगठनहरूले स्पष्ट गर्दै भनेका छन्,’विगतका आन्दोलन र प्रगतिशील परिवर्तनहरूको संरक्षण गर्दै मात्र निकास खोजिनुपर्छ। लोकतान्त्रिक गणतन्त्रका आधारभूत मूल्य कमजोर नबनाइने र संविधानभित्रैबाट समाधान निकालिनुपर्छ।’

संगठनहरूले मुलुकको विषम परिस्थितिमा सम्पूर्ण युवालाई संयमित, सजग रहँदै लोकतान्त्रिक गणतन्त्र, राष्ट्रियता, स्वाधीनता र सार्वभौमसत्ताको रक्षामा दृढ रहन आह्वान गरेका छन्।

कैलालीमा अनिश्चितकालीन कर्फ्यू जारी

कैलाली ।  वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै कैलाली जिल्ला प्रशासन कार्यालयले जिल्लाभर नै कर्फ्यू आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ९क० बमोजिम बिहीबार साँझ ५ बजेदेखि अर्को सूचना नआएसम्म कर्फ्यू लागू हुने जानकारी दिएका हुन्। जारी आदेशअनुसार तीन जनाभन्दा बढी भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराबन्दी गर्न पूर्णतः निषेध गरिएको छ।

कर्फ्यूको समय तालिका

बिहान १०ः ०० बजेदेखि बेलुकी ५ः०० बजेसम्म निषेधाज्ञा

साँझ ७ः०० बजेदेखि बिहान ६ः०० बजेसम्म कर्फ्यू

आवश्यक सेवा तथा कार्यका लागि आवतजावत गर्ने समय
बिहान ६ः०० बजे देखि १०ः०० बजेसम्म र साँझ ५ः०० देखि ७ः०० बजेसम्म तोकिएको छ।

प्रशासनले सर्वसाधारणलाई आदेशको पालना गर्न अनुरोध गरेको छ।

संवैधानिक दायरामा देशलाई निकास दिन प्रयास गर्दैछु : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक दायरामा रहेर निकास दिनका लागि आफूले प्रयास गरिरहेको बताएका छन् ।

उनले एक वक्तव्य जारी गरेर उनले यस्तो बताएका छन् ।

‘देशको अहिलेको विषम परिस्थितिमा मुलुकलाई संवैधानिक दायरामा रहेर कसरी निकास दिन सकिन्छ र मुलुकमा लोकतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था कसरी कायम गर्न सकिन्छ भनेर म विचार विमर्श एवं हर प्रयास गर्दैछु,’ उनले वक्तव्यमा भनेका छन् ।

यातायात बन्द हुँदा अन्तर्राष्ट्रिय व्यापार ठप्प

काठमाडौं । परिवर्तित राजनीतिक अवस्थासँगै यातायात र सीमा नाका बन्द छन् । यसले अन्तर्राष्ट्रिय व्यापार (आयात–निर्यात) ठप्प भएको छ ।

भन्सार विभागका निर्देशक तथा सूचना अधिकारी किशोर बर्तौलाका अनुसार अहिले भारत र चीन दुवैतर्फ जाँचपास ठप्प छ । मुलुकभित्र अहिले सार्वजनिक तथा मालवाहक सवारीसाधन आवागमन बन्द छ ।

अर्कातर्फ, भारतीय सीमा सुरक्षा बलले नेपालबाट भारत जाने यात्रुलाई अधिकांश स्थानमा रोक लगाएको छ । जसले गर्दा अत्यावश्यक वस्तु आपूर्ति समेत प्रभावित बन्न पुगेको छ ।

नजिकिएको चाडबाडका लागि समेत आवश्यक सामग्री अभाव हुने देखिएको छ । चीनतर्फका नाकामध्ये रसुवागढी नाकामा मितेरी पुल नै निर्माण भएको छैन । उक्त नाका जोड्ने सडक समेत अझै सुचारु भइसकेको छैन । तातोपानी नाकामा समेत सडक सहज छैन । भारततर्फको व्यापारका लागि यातायात खुलेको छैन ।

उता, राष्ट्रिय यातायात व्यवसायी महासंघले सुरक्षा प्रत्याभूति नभएसम्म सबै प्रकारका मालवाहक र सार्वजनिक यातायात चलाउन असमर्थ रहेको यसअघि नै बताइसकेको छ ।

भदौ अन्तर्राष्ट्रिय व्यापार बढी हुने महिना हो । दशैं र तिहारका लागि लक्षित गरी बढी सामान यसै महिना आउने गर्छन् ।

कांग्रेस, एमाले, माओवादी र रास्वपाका युवा नेताहरू संयुक्त छलफलमा

काठमाडौं । मुख्य चार राजनीतिक दलका युवा नेताहरू संयुक्त छलफलमा जुटेका छन् ।

जेन-जीको आन्दोलनपछिको परिस्थितिमा चारवटै दल आन्तरिक छलफलमा छन् । आन्तरिक छलफलको निष्कर्षका आधारमा युवा नेताहरू संयुक्त छलफलमा जुटेका हुन् ।

स्रोतका अनुसार नेपाली कांग्रेसबाट गगन थापा, विश्वप्रकाश शर्मा र चन्द्र भण्डारी, नेकपा एमालेबाट योगेश भट्टराई, ठाकुर गैरे र विद्या भट्टराई, नेकपा माओवादी केन्द्रबाट माधव सापकोटा, राजन दाहाल र अमनलाल मोदी र रास्वपाको तर्फबाट सोबिता गौतम र शिशिर खनाल भर्चुअल संवादमा छन् ।

चारवटै पार्टीको आन्तरिक छलफलपछि संयुक्त भर्चुअल संवादमा जुटेका उनीहरूले तीनबुँदे निष्कर्षसमेत निकालेका छन् ।

पहिलो : दलहरूले आत्मसमीक्षा गर्नुपर्छ ।

दोस्रो : जेनजीका माग सम्बोधन हुनुपर्छ ।

तेस्रो : पश्चगमनमा फर्किन खोजे प्रतिवाद गर्नुपर्छ ।

छलफलमा सहभागी एक नेताका अनुसार यही सन्देश जनतामा प्रवाह गर्ने गरी राजनीतिक रूपमा गतिविधि अगाडि बढाउने समझदारी समेत भएको छ ।

राजनीतिक दलहरूको व्यवहार सही नभएको, नेतृत्वले जनतालाई सेवा प्रवाहमा परेको अप्ठ्यारो महसुस गर्न नसकेको जेनजीको बुझाइमा समर्थन जनाउँदै यी विषयमा आत्मसमीक्षा गर्नुपर्नेमा उनीहरू एकमत रहेका छन् ।

यसका साथै जेनजीले सुशासन र भ्रष्टाचार नियन्त्रण चाहेका छन् । यी माग सम्बोधन गर्नुपर्ने र यसका लागि आवश्यक नीति र निर्णय हुनुपर्नेमा पनि उनीहरू सहमत रहेका छन् ।

कुनै शक्तिले नेपाललाई पश्चगमनमा फर्काउन खोजे प्रतिवाद गर्नुपर्ने पनि उनीहरूको साझा निष्कर्ष छ ।

‘राजा र सैन्य शासनका कुरा पनि यदाकदा गर्न थालिएका छन् । कुरा हुनु र प्रक्रियामा अगाडि बढ्न खोज्नु फरक छ । यदि प्रक्रियामा कतै पश्चगमनको गन्ध आयो भने प्रतिवादमा उत्रनुको विकल्प छैन । यसमा हामी एकमत छौं,’ छलफलमा सहभागी एक नेताले भने ।

नयाँ परिस्थितिमा नयाँ सरकार गठनको विषयमा भने मुख्य दलहरू एकै धारणामा पुगेका छैनन् । ‘संसद् भित्रकै सदस्यबाट प्रधानमन्त्री बनाएर जान सकिने अवस्था छ वा छैन भन्नेमा आ-आफ्ना बुझाइ छन् । संसद्‌भन्दा बाहिरका व्यक्तिलाई प्रधानमन्त्री बनाउन सकिने विगतको अभ्यास र अहिलेको अवस्थाबारे मूल्यांकन भएको छ । तर एउटै निष्कर्षमा पुगिएको छैन,’ एक नेताले सुनाए ।

जेनजीबाटै प्रधानमन्त्री बनाउन रेशम चौधरीको सुझाव

कैलाली । नागरिक उन्मुक्तिका संरक्षक रेशम चौधरीले जेनजीबाटै प्रधानमन्त्री बन्नुपर्ने धारणा व्यक्त गरेका छन् । आफ्नो सामाजिक सञ्जाल फेसबुकबाट जेनजीहरु पनि राष्ट्र हाक्न सक्षम रहेको भन्दै प्रधानमन्त्री बन्नुपर्ने बताएका हुन् ।

‘ तपाईँहरू देश हाँक्न सक्षम हुनुहुन्छ । आफै नेतृत्व लिनुहोस् र प्राप्त उपलब्धिको रक्षा गर्नुहोस् ’ उनले लेखेका छन् ‘ जेनजीहरु मध्ये एकजना प्रधानमन्त्री भइहाल्नुस् । त्यसलाई संवैधानिक कसरी बनाउने काम राष्ट्रपतिको हो । ’

आन्दोलनले गरेको परिवर्तन प्रशंसनीय रहेको उनले उल्लेख गरेका छन् । विगतका कर्मचारीलाई ल्याएर, पालिका प्रमुखहरूसँग हार गुहार गरेर लक्ष्य प्राप्तिबारे चौधरीले संशय व्यक्त गरेका छन् ।

‘ तपाईँले तोकेका निहित विषयलाई आधार बनाएर मुलुकको शून्यताको अन्त्य गर्नुहोस् । धेरै नेताले बुँदात्मक सुझाव दिइराखेका छन्,ती बुँदा आफूले हिजो किन लागू नगरेका ’ उनले प्रश्न गरेका छन् ।

अहिले सुझाव दिन पुराना नेताहरूलाई नैतिक अधिकार नरहेको समेत उनले बताएका छन् ।

रेशम चौधरीको घरमा पनि मङ्गलवार आगजनी गरिएको थियो । उनले त्यो भन्दा ठुलो विषय राष्ट्रवाद रहेको बताएका छन् ।

‘घर मेरो पनि जल्यो,घर जलेको बात पछि होला,पहिला राष्ट्रघातक नहोस् ’ उनले भनेका छन् ।

काठमाडौँ मल अगाडि हर्क साम्पाङ समर्थक र जेनजीबीच झडप

काठमाडौँ- काठमाडौँको सुनधारामा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङका समर्थक र जेनजीबीच झडप भएको छ।

प्रधानमन्त्री को बनाउने भन्ने विषयलाई लिएर प्रदर्शनमा उत्रिएका दुई फरक-फरक समूहबीच विवाद बढेपछि झडपमा परिणत भएको हो।

काठमाडौँमा दिउँसो निषेधाज्ञा लागू गरिएको छ। निषेधाज्ञाकै बीच विभिन्न समूहहरू प्रदर्शन गरिरहेका छन्।

अहिले नेपाली सेनाले एम्बुलेन्सबाहेक कुनै पनि सवारीलाई सुनधारा सडकमा आउजाउ गर्न दिएको छैन।

काठमाडौँको बबरमहलमा राष्ट्रपतिको अवस्था सार्वजनिक गर्नुपर्ने मागसहित अर्कै समूहले प्रदर्शन गरेको थियो।

खोज्नुहोस