निष्क्रिय भए ३० वटा विधेयक

काठमाडौं। प्रतिनिधि सभा विघटन भएसँगै ३० वटा विधेयक निष्कृय भएका छन् । प्रतिनिधिसभाको विधेयक शाखाका प्रमुख त्रिविक्रम पराजुलीका अनुसार प्रतिनिधि सभा विघटन भए पश्चात् निष्क्रिय हुन पुगेका विधेयकहरुको संख्या ३० रहेको छ। जसमा प्रतिनिधि सभामा उत्तपति भएका सरकारी २१ वटा विधेयक र गैरसरकारी २ वटा विधेयक रहेका छन् ।

४ मंसिर २०७९ मा सम्पन्न चुनावबाट आएको प्रतिनिधि सभामा उत्पति भएका जम्मा २३ वटा विधेयक निष्क्रिय भएका हुन्। राष्ट्रिय सभामा उत्पति भएका ७ वटा विधेयक पनि निष्कृय भएका छन् । राष्ट्रिय सभामा उत्पति भएर पारित भएर प्रतिनिधि सभामा आएका ७ वटा विधेयक पनि निष्कृय हुन पुगेका हुन् ।

संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार प्रतिनिधि सभा विघटन भएको अवस्थामा प्रतिनिधिसभामा विचाराधीन रहेका वा प्रतिनिधि सभाबाट पारित भई राष्ट्रिय सभामा गएका निष्क्रिय हुने प्रावधान छ ।

यस्तो प्रावधान संविधानको धारा १११ मा छ। ‘कुनै विधेयक प्रतिनिधि सभामा प्रस्तुत भई विचाराधीन रहेको वा प्रतिनिधि सभामा पारित भई राष्ट्रिय सभामा विचाराधीन रहेको अवस्थामा प्रतिनिधि सभा विघटन भएमा वा त्यसको कार्यकाल समाप्त भएमा त्यस्तो विधेयक निष्क्रिय हुनेछ’ संविधानको धारा १११ को उपधारा १० मा भनिएको छ।

जेनजी आन्दोलनका घाइतेहरूलाई भेट्न अस्पताल जाँदैछिन् प्रधानमन्त्री कार्की

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की जेनजी युवाहरूको प्रदर्शनका घाइतेहरूलाई भेट्न अस्पताल जाने भएकी छन् ।

शुक्रबार राति प्रधानमन्त्रीमा नियुक्त भएकी कार्की केहीबेरमा वीर अस्पतालको ट्रमा सेन्टर अनि बानेश्वरको सिभिल अस्पतालमा उपचाररत घाइतेहरूलाई भेट्न जान लागेकी हुन् ।

त्यसपछि उनले जेनजी आन्दोलनका क्रममा आगजनी भएको कोटेश्वरस्थित प्रहरी चौकी र महाराजगञ्जको प्रहरी वृत्तको पनि निरीक्षण गर्ने छिन् । प्रदर्शनकारीहरुको आगजनीमा कोटेश्वरमा केही प्रहरीको मृत्यु भएको थियो ।

जेनजी आन्दोलनमा अहिलेसम्म ५१ जनाको ज्यान गएको छ । सयौं घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ ।

कैलालीमा जारी निषेधाज्ञा र कर्फ्युमा परिमार्जन

धनगढी: देशको समग्र शान्ति–सुरक्षा, कानून–व्यवस्था तथा नागरिकको दैनिक जीवनलाई असर पुर्‍याउने सम्भावित परिस्थितिलाई मध्यनजर गर्दै कैलाली जिल्लामा निषेधाज्ञा केही खुकुलो बनाइएको छ।

जिल्ला प्रशासन कार्यालय कैलालीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद भुसालले शुक्रबार एक आदेश जारी गर्दै शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी अर्को आदेश नआएसम्मका लागि जिल्लाभर लगाइएको निषेधाज्ञा र कर्फ्युमा परिमार्जन गरिएको जनाएका छन्।

आदेशअनुसार सार्वजनिक शान्ति–सुरक्षामा खलल पुर्‍याउने सम्भावित हुलदङ्गा, झडप, भीडभाड तथा आक्रामक गतिविधिलाई नियन्त्रण गर्न सरकारी कार्यालय र क्षेत्रमा निषेधाज्ञा आवश्यक देखिएको उल्लेख छ। स्थानीय प्रशासनले केन्द्र सरकारका कार्यालय, प्रदेश र स्थानीय तहका कार्यालय, सुरक्षा निकायका कार्यालय र परिसरतर्फ भीडभाड गर्न नपाइने जनाएको छ।

यस्तै, अत्यावश्यक वस्तु तथा सेवासम्बन्धी स्थल, मठ–मन्दिर र प्रमुख बजार क्षेत्रमा शान्ति–सुरक्षा कायम गर्नुपर्ने भएकाले हतियार, घरेलु हतियार, लाठी जस्ता सामग्री लिएर हिँड्न प्रतिबन्ध लगाइएको छ।जिल्ला प्रशासनले जुलुस, सभा, प्रदर्शन, राजनीतिक दलका पार्टी कार्यालय घेराउ वा प्रभाव पार्ने गतिविधि गर्न नपाइने जनाएको छ।

आदेशमा आक्रामक नारा, उत्तेजनात्मक भाषण र कालोपट्टी जस्ता सामग्रीको प्रयोग गर्न समेत निषेध गरिएको छ। जिल्ला प्रशासनले नागरिक, व्यापारी, उद्योगी, संघ–संस्था र सबैलाई आदेशको पालना गर्न आग्रह गरेको छ। आदेश उल्लंघन गर्नेहरूमाथि कानुनअनुसार कारबाही गरिने चेतावनी पनि दिइएको छ।

कैलालीमा जारी निषेधाज्ञा र कर्फ्युमा परिमार्जन

धनगढीः जेन्जी पुस्ताको आन्दोलनका कारण सिर्जना भएको सुरक्षा जोखिमलाई मध्यनजर गरी सुदूरपश्चिमका मुख्यमन्त्री, मन्त्रीसहितका नेताहरूलाई नेपाली सेनाले सुरक्षा दिइरहेको छ।

भदौ २४ गतेको आन्दोलन सरकारी कार्यालय, राजनीतिक दलका नेता र उनीहरूका घर लगायतका संरचनालाई लक्षित गर्दै प्रदर्शनकारीले आगजनी, तोडफोड तथा लुटपाट गरेका थिए।

प्रदर्शनकारीले मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा तोडफोड गरेका बेला मुख्यमन्त्री कमलबहादुर शाहसहित प्रदेशका मन्त्रीहरू, प्रदेश प्रहरी प्रमुख, नेपाली सेनाका प्रदेश प्रमुख लगायतको बैठक जारी थियाे। मुख्यमन्त्री कार्यालयमा तोडफोड सुरु भएपछि उनीहरू भागेका हुन्।

बैठक चलिरहकै बेला ढुंगामुण गर्दै कार्यालय नियन्त्रणमा लिन खोजेपनि भीड तितरबितर गर्दै प्रहरीले बल प्रयोग गरेको थियो। तत्काल नेपाली सेनाको गाडीमार्फत उनीहरुलाई सुरक्षित स्थानमा सारिएको हो। उनीहरूलाई सेनाले सुरक्षित स्थानमा लगेपछि भने मुख्यमन्त्री कार्यालयमा आगजनी र तोडफोड गरिएको थियो।

कैलालीमै रहेको नेपाली सेनाको एक ब्यारेकमा सुरक्षित राखिएका मुख्यमन्त्री, मन्त्री, प्रदेश सभा सदस्य तथा केही स्थानीय जनप्रतिनिधिहरू अहिले पनि सेनाकै सुरक्षामा छन।

अवस्था सामान्य बन्दै गएपछि भने उनीहरूलाई विस्तारै छाड्न थालिएको छ। जेनजी आन्दोलनपछि राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रवार राति पूर्व प्रधानन्यायाधिश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरेका छन्। प्रधानमन्त्रीको सिफारिसमा संसद समेत विघटन गरिएपछि विस्तारै अवस्था सामान्यतर्फ उन्मुख भइरहेको छ।

रूसमा ७.१ रेक्टर स्केलको भूकम्प, सुनामीको चेतावनी

काठमाडौँ । रूसको कामचट्का क्षेत्रको पूर्वी तट नजिकै ७.१ रेक्टर स्केलको भूकम्प गएको छ । समाचार एजेन्सी रोयटर्सले जर्मन रिसर्च सेन्टर फर जियोसाइन्सेसलाई उद्धृत गर्दै यो जानकारी दिएको छ ।

भूकम्पको गहिराइ १० किलोमिटर रहेको बताएको छ । साथै, अमेरिकी भूगर्भ सर्वेक्षणले भूकम्प ७.४ रेक्टर स्केल र गहिराइ ३९.५ किलोमिटर रहेको बताएको छ ।

यो भूकम्पपछि, प्रशान्त सुनामी चेतावनी प्रणालीले सम्भावित सुनामीको चेतावनी दिएको छ । गत महिनाको अन्त्यमा, कामचट्का नजिकै ८.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो । त्यसपछि यस क्षेत्रमा धेरै ठाउँमा सुनामी आएको थियो । यो भूकम्पको प्रभाव जापानसम्म पुगेको बताइएको छ ।

‘पत्रकार र सञ्चार संस्थाहरुमाथिको आक्रमण अस्वीकार्य’

काठमाडौं : नेपालमा हालै उत्पन्न अशान्तिको क्रममा पत्रकार तथा मिडिया संस्थाहरूलाई लक्षित गर्दै भएका हिंसात्मक कार्यहरूको दक्षिण एसिया पत्रकार महासंघले निन्दा गरेको छ ।

महासंघले एक विज्ञप्ति जारी गदै धम्की, शारीरिक आक्रमण, मनमानी नजरबन्द, र पेशागत कार्यमा अवरोधलाई प्रेस स्वतन्त्रता र जनताको सूचनाको अधिकारमाथिको प्रत्यक्ष हमला भनेको छ।

संघका अध्यक्ष गीतार्थ पाठकले पत्रकारहरूको सुरक्षा र सम्मान सुनिश्चित गर्नु सरकारको दायित्व भएको उल्लेख गरेका छन् । उनले भनेका छन्– ‘मिडियामाथिको आक्रमणले लोकतन्त्र, सत्य र जवाफदेहिताको आधारलाई कमजोर बनाउँछ।’ उनले नेपाल सरकारलाई पत्रकारहरूको सुरक्षा सुनिश्चित गर्न तत्काल र निर्णायक कदम चाल्न आह्वान समेत गरेका छन् ।

महासचिव शकील अहमदले पत्रकारहरूमाथिको आक्रमण गर्नेहरूलाई तत्काल जवाफदेही बनाइनुपर्ने र दण्डहीनताको अन्त्य हुनुपर्नेमा जोड दिए । उनका अनुसार, पत्रकारहरूले विशेषगरी सङ्कटको समयमा स्वतन्त्र र निर्भय रूपमा काम गर्ने वातावरण पाउनु अत्यावश्यक छ।

महासंघका वरिष्ठ उपाध्यक्ष शिव लम्सालले सरकारसँग पत्रकारमाथि निर्वाध रूपमा समाचार सङ्कलन गर्ने वातावरण सिर्जना गर्न आग्रह गरे । साथै, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको कुनै पनि आक्रमण अस्वीकार्य रहेको उनको भनाइ छ ।

महासंघले मिडियालाई प्रमाणित र तथ्यमा आधारित समाचार मात्र प्रकाशन गर्न र गलत सूचना रोक्न आग्रह गरेको छ । साथै, नागरिक समाज, राजनीतिक दल र सुरक्षाकर्मीहरूलाई पत्रकारको अधिकार र स्वतन्त्रताको सम्मान गर्न अपिल गरिएको छ।

नेपालको समृद्धिप्रति भारत प्रतिबद्ध छः प्रधानमन्त्री मोदी

काठमाडौँ- भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको समृद्धिप्रति भारत प्रतिबद्ध रहेको बताउँदै अन्तरिम सरकारको प्रधानमन्त्री हुनुभएकामा श्रीमती सुशीला कार्कीमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

सामाजिक सञ्जाल एक्समार्फत प्रधानमन्त्री कार्कीले कार्यभार सम्हाल्नुभएकामा शुभकामना व्यक्त गर्दै भारतका प्रधानमन्त्रीले नेपालको समृद्धिप्रति भारत प्रतिबद्ध रहेको बताउनुभएको  हो ।

एक्समा भारतका प्रधानमन्त्रीले लेख्नुभएको छ, “नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीका रूपमा पदभार ग्रहण गर्नुभएकामा सम्माननीय श्रीमती सुशीला कार्कीज्यूलाई हार्दिक शुभकामना । नेपालका दाजुभाइ तथा दिदीबहिनीहरूको शान्ति, प्रगति र समृद्धिप्रति भारत पूर्ण रूपमा प्रतिबद्ध छ ।”

संसद विघटन असंवैधानिक र संविधानमाथिको धोका हो : नेपाली कांग्रेस

काठमाडौं : नेपाली कांग्रेसले प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा भएको संसद विघटनलाई ‘असंवैधानिक, स्वेच्छाचारी र संविधानमाथिको धोका’ ठहर गरेको छ।

जेनजी आन्दोलनपछिको राजनीतिक संकट समाधानका लागि संवैधानिक बाटो हुँदाहुँदै त्यसलाई बेवास्ता गरिएको भन्दै कांग्रेसले यो कदमको विपक्षमा उभिने निर्णय गरेको छ। शुक्रबार साँझ बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि विज्ञप्ति जारी गर्दै कांग्रेसले आन्दोलनको माग सम्बोधन गर्न संसदबाटै संविधान संशोधन गरेर नयाँ सरकार गठन गर्न सकिने ‘जिम्मेवार प्रस्ताव’ आफूहरूले अघि सारेको स्मरण गराएको छ।

‘हामीले गरेको प्रस्तावमा सबैको जित हुन्थ्यो, आन्दोलनकारीको माग अनुसारको प्रधानमन्त्री नियुक्त हुन्थ्यो र मुख्य कुरा यो प्रक्रिया अवलम्बन गर्दा संविधानलाई टेकेर समाधान निस्कन्थ्यो,’ विज्ञप्तिमा भनिएको छ, ‘तर, सहमतिपूर्वक अवलम्बन गर्न सकिने प्रक्रिया प्रयोग नगरी संविधान विपरीत निर्णयमा पुग्नु दुःखद छ।’

कांग्रेसले यो कदमले लोकतान्त्रिक उपलब्धि धरापमा पारेको र ‘जेनजी आन्दोलनको भावना र मर्मले मृत्युवरण गर्ने त होइन’ भन्ने गम्भीर आशंका उत्पन्न भएको बताएको छ। यो निर्णय सम्मानित सर्वोच्च अदालतको व्याख्याविपरीत रहेको पनि उसको ठहर छ।

कांग्रेसले उत्पन्न चुनौतीपूर्ण अवस्थामा स्थितिलाई थप बिग्रिन नदिन र संविधानलाई लिकबाट बाहिर जानबाट रोक्न नेतृत्वदायी भूमिका खेल्ने निर्णय गरेको छ। यसका लागि अन्य राजनीतिक दल, नागरिक समाज लगायतसँग परामर्श र संवाद अघि बढाउने विज्ञप्तिमा उल्लेख छ।

बैठकले आन्दोलनमा जीवन गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको सम्पूर्ण उपचारको प्रबन्ध गर्न र तोडफोड भएका संरचनाको पुनर्निर्माण योजना तत्काल बनाउन सरकारको ध्यानाकर्षण गराएको छ।

अन्त्यमा, कांग्रेसले यो चुनौतीपूर्ण अवस्थामा स्वदेश तथा विदेशमा रहेका आफ्ना सदस्य, शुभचिन्तक र समस्त नेपालीलाई संयम र एकता कायम राख्न हार्दिक अपील गरेको छ।

जेनजी आन्दोलनमा क्रिकेट खेलाडीको पनि मृत्यु

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा एक क्रिकेट खेलाडीको पनि मृत्यु भएको छ  । नेपाल क्रिकेट संघ (क्यान) ले जेनजी आन्दोलनका क्रममा बाँके जिल्ला क्रिकेटका खेलाडी सुलभराज श्रेष्ठको पनि मृत्यु भएको जानकारी दिएको छ ।

क्यानले श्रेष्ठको असामयिक निधन भएको खबरले सबैलाई गहिरो दुःख र स्तब्ध बनाएको उल्लेख गर्दै दिवङ्गत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको छ ।

साथै क्यानले देशमा पछिल्लो दिनहरूमा विकसित भएको घटनाक्रम र  सोहि दौरान आन्दोलनको क्रममा सहादत प्राप्त गर्नु हुने सम्पूर्णमा श्रद्धाञ्जली व्यक्त गरेको छ ।

 

नेपालको पहिलो महिला प्रधानमन्त्रीको इतिहास पनि रचिन् सुशीलाले

काठमाडौं २८ भाद्र । राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिँदै नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की । राष्ट्रपति पौडेलले देशमा उत्पन्न विषम तथा असाधारण परिस्थितिलाई सम्बोधन गर्दै संविधानको धारा ६१ (४) को प्रयोग गरेर कार्कीलाई नेपालको ४६औँ प्रधानमन्त्री नियुक्त गरेका हुन् । धारा ६१ मा ‘संविधानको पालन र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ’ भनिएको छ ।

२३ र ३४ भदौको जेन–जीको आन्दोलनबाट केपी ओली शासन विस्थापित भएको तीन दिनपछि देशले नेतृत्व पाएको छ । आन्दोलनको म्यान्डेटअनुसार नै ६ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन गराउने गरी नागरिक सरकार गठन भएको हो । जेन–जीले नै कार्कीलाई प्रधानमन्त्रीका लागि प्रस्ताव गरेको थियो, जसमा काठमाडौंका मेयर बालेन शाहले पनि समर्थन जनाएका थिए ।

संसद्बाहिरबाट प्रधानमन्त्री नियुक्तको निर्णय लिनुअघि राष्ट्रपति पौडेलले राजनीतिक दलहरूसँग पनि संवाद गरेर सहमति लिएका थिए । उनले बिहीबार निवर्तमान प्रधानमन्त्री केपी ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, कांग्रेस नेताहरू रमेश लेखक र ऐनबहादुर शाहीलगायतसँग छलफल गरेका थिए ।

प्रचण्ड, नेपाल, लेखक, शाही, घिमिरे शीतलनिवास नै गएका थिए । दलहरूले कार्कीको नाममा सहमति जनाए पनि अन्तिमसम्म प्रतिनिधिसभा विघटन गर्ने विषयमा असहमति जनाउँदै आएका थिए । जसका कारण नयाँ सरकार गठनमा ढिलाइ भएको थियो ।

तर, शुक्रबार राष्ट्रपतिसँगको छलफलमा जेन–जीका प्रतिनिधिले कार्कीको नियुक्तिसँगै संसद् विघटन नगर्ने भए पुन: आन्दोलन चर्काउने चेतावनी दिएका थिए । त्यसपछि राष्ट्रपति उनीहरूको मागमा सहमत हुन बाध्य भए ।

यद्यपि, प्रमुख दलहरूले अहिले पनि संसद् विघटनको विरोध गरेका छन् । उनीहरू नवनियुक्त प्रधानमन्त्रीको शपथ समारोहमा पनि सहभागी भएनन् । पूर्वप्रधानमन्त्रीहरूमध्ये डा. बाबुराम भट्टराई मात्रै सहभागी थिए ।

संसद् विघटन, २१ फागुनमा निर्वाचन

काठमाडौं २८ भाद्र ।नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरेका छन् ।

आगामी २१ फागुनमा मध्यावधि निर्वाचनको मिति तोकिएको छ । ‘सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले प्रधानमन्त्री श्री सुशीला कार्कीज्यूको सिफारिसबमोजिम ०८२ साल भदौ २७ गते शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी वर्तमान प्रतिनिधिसभा विघटन गर्नुभएको छ ।

मिति ०८२ साल फागुन २१ गते बिहीबारका दिन नयाँ प्रतिनिधिसभाको निर्वाचन गर्ने गरी मिति तोक्नुभएको छ,’ राष्ट्रपति कार्यालयले शुक्रबार मध्यराति जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

जेन–जी आन्दोलनका अगुवा सुदन गुरुङले भने–कुशासनविरुद्धको पहिलो खुड्किलो

काठमाडौं २८ भाद्र । यो सबै जेन–जीहरूको जित हो । भ्रष्टाचार र कुशासनविरुद्धको पहिलो खुड्किलो हो ।

सुशासनका लागि गर्नुपर्ने धेरै काम बाँकी छ । देश विकास कसरी गर्ने भनेर सबै मिलेर सल्लाह गर्दै अघि बढ्नुपर्छ । यो परिवर्तन कुनै व्यक्ति वा समूहका लागि होइन, देशको भविष्यका लागि हो ।

सबै मिलेर अगाडि बढ्नुपर्छ ।

आन्दोलनमा मृत्यु हुनेको संख्या ५१ पुग्यो, १२ शव आफन्तले बुझे

 

काठमाडौं २८ भाद्र । सत्ता उलेटफेर गर्ने गरी दुई दिन चलेको जेन–जी आन्दोलनमा ज्यान गुमाउनेको संख्या ५१ पुगेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार २१ जना जेन–जी उमेर समूह, नौजना कैदीबन्दी, १८ जना जेन–जीबाहेकका प्रदर्शनकारी, तीनजना प्रहरी गरी ५१ जनाको मृत्यु भएको हो ।

प्रदर्शनका क्रममा गोली लागेर, जलेर, कुटपिटलगायत कारणले ५१ जनाको मृत्यु भएको नेपाल प्रहरीका विनोद घिमिरेले बताए । त्रिवि शिक्षण अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोसायराका अनुसार १३ जनाको पोस्टमार्टम भएकामा १२ जनाको शव आफन्तले बुझेका छन्् । शुक्रबार शव बुझेकामध्ये धेरैजसोले पशुपति आर्यघाटमा दाहसंस्कार गरेका छन् । ज्यान गुमाएकालाई श्रद्धाञ्जली दिन युवाहरूको समूह शुक्रबार पशुपति आर्यघाटमा पुगेको थियो ।

ज्यान गुमाउनेमध्ये कैयौँको नाम र ठेगाना यकिन हुन नसकेकाले शव अस्पतालमा रहेको उनले बताए । ‘अझै केहीको शव पोस्टमार्टम गर्न बाँकी छ । कतिपयको आफन्त सम्पर्कमा आउनुभएको छैन,’ उनले भने ।

स्वास्थ्य मन्त्रालयका अनुसार प्रदर्शनमा देशभर एक हजार ७६० जना घाइते भएका थिए । ३२२ घाइते उपचाररत छन् भने अन्य डिस्चार्ज भइसकेका छन् । मन्त्रालयका अनुसार २३ र २४ भदौमा भएको प्रदर्शनमा गोली लाग्दा सबैभन्दा धेरै ४४२ जना घाइते नजिकैको निजामती अस्पतालमा ल्याइएको थियो ।

त्यस्तै, ट्रमा सेन्टरमा १६९ र एभरेस्ट अस्पतालमा १०९ जना घाइतेलाई उपचारका लागि लगिएको थियो । ट्रमा सेन्टरमा ५८ जना अझै उपचाररत छन् । निजामती अस्पतालमा ४८ जना उपचाररत छन् ।

झापास्थित बी एन्ड सी अस्पतालमा ५३ जना उपचाररत छन् । केएमसीमा ३५ र त्रिवि शिक्षण अस्पतालमा ३५ जनाको उपचार भइरहेको छ । त्यस्तै, नेपाली सेनाको अस्पताल वीरेन्द्र सैनिकमा २६ जनाको उपचार भइरहेको छ ।

स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटाले सबै घाइतेको नि:शुल्क उपचार भइरहेको र उपचारमा मेडिकल टिम सक्रिय रूपमा लागिरहेको जानकारी दिए ।

प्रधानमन्त्री कार्कीले लिइन् शपथ

काठमाडौँ —अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले शपथ लिएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शीतल निवासमा शपथ ग्रहण गराएका हुन् ।

शपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र नेपाल सरकारका उच्च पदस्थ र कूटनीतिज्ञहरु सहभागी थिए ।

लामो रस्साकस्सीपछि राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्याधीश कार्कीलाई केहीबेर अघि मात्रै अन्तरिम मन्त्रिपरिषद्को प्रधानमन्त्रीमा नियुक्त गरेका थिए ।

संविधानको धारा ६१ को उपधारा ३ र ४ मा अन्तर्निहित राष्ट्रध्यक्षको अधिकार प्रयोग गरी कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको हो । जसमा धारा ६१ को उपधारा ३ मा राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवर्द्धन गर्ने कुरा उल्लेख छ भने उपधारा ४ मा संविधानको पालना र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ भनेर लेखिएको छ ।

सुशीला कार्की प्रधानमन्त्री नियुक्त

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्ति गरेका छन् । जेन–जीको माग अनुसार उनलाई अन्तरिम मन्त्रिपरिषद्को प्रधानमन्त्रीको रूपमा नेतृत्व गर्ने गरी नियुक्ति गरेका हुन् ।

कार्कीलाई प्रधानमन्त्री बनाउन राष्ट्रपतिले संविधानको धारा ६१ लाई टेकेका छन् । उक्त धाराको उपधारा ४ मा राष्ट्रपतिले टेकेका छन् । ४ मा राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवर्द्धन गर्नेछ । ‘संविधानको पालन र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ ’ भनिएको छ ।

त्यस्तै उपधारा ३ मा राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवर्धन गर्नेछ भनिएको छ । यी दुवै धारालाई आधार बनाउँदै कार्की मन्त्रिपरिषद्को अध्यक्ष बनाइएको छ ।

तपाईको प्रतिक्रिया

जेनजी अभियन्तासहित सुशीला कार्की पुगिन् शीतल निवास

काठमाडौँ । नयाँ सरकार गठनका लागि छलफल गर्न पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीसहितको टोली शीतल निवास पुगेको छ । कार्कीसहित जेनजी अभियन्ता तथा हामी नेपाल संस्थाका अध्यक्ष सुदन गुरुङ र अधिवक्ता ओम प्रकाश अर्याल पनि छलफलका लागि राष्ट्रपति निवास पुगेको स्रोतको भनाई छ ।

कार्कीलाई अन्तिम सरकारको प्रमुखमा चयन गर्ने विषयमा सहमति जुटे पनि संसद् विघटनका विषयमा सहमति जुट्न सकेको छैन । दुवै पक्ष आ–आफ्नो अडान यथावत् रहेका छन् ।

जलिरहेको धरानको भाटभटेनीमा भेटियो चार जनाको शव

विराटनगर। जेनजीको आन्दोलनका क्रममा अराजक समूहले आगजनी गरेको भाटभटेनी सुपरमार्केटको धरान शाखामा चारजनाको शव फेला परेको छ ।

मंगलबार अराजक समूहले लगाएको आगो अझै निभेको छैन। शुक्रबार दिउँसो दोस्रो तल्लामा एउटा र तेस्रो तल्लामा तीन जनाको शव भेटिएको हो । इलाका प्रहरी कार्यालय धरानका डिएसपी प्रकाश जवेगुका अनुसार जलेको अवस्थामा भेटिएको शवको पहिचान खुलेको छैन ।

उनका अनुसार भेटिएको शव आगलागी भएको भाटभटेनीमा लुटपाट गर्न गएकाहरुको रहेको आशंका छ। शव पूर्णरूपमा जलेका कारण लिंग छुट्टिएको छैन । मंगलबार राति तोडफोड र लुटपाटको क्रममा भाटभटेनीभित्र केही व्यक्ती फसेको हल्ला चलेको थियो। मृतकको पहिचान गर्ने प्रयास भइरहेको जबेगुले जानकारी दिए।

बाढीले बगाएको मितेरी पुल निर्माण गर्दै चीन, आजबाट नेपालतर्फ जग खन्ने काम सुरू

रसुवा : चीन सरकारले रसुवागढी नाकास्थित ल्हेन्दे खोलामाथि बनाउन लागेको मितेरी पुल निर्माणका क्रममा आजदेखि नेपालतर्फ पनि काम सुरू भएको छ।

गत असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीले सो पुल बगाएपछि पुनः निर्माण गर्ने क्रममा यसअघि नै काम सुरु भएकामा आजदेखि नेपालतर्फ पनि पिलरको जग खन्ने काम सुरु भएको हो।

रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीका अनुसार ‘जुम स्काभेटर’को सहायताले ठूलाठूला हिमपाइपमार्फत खोलाको पानी एकीकृत गरी नेपालतर्फ प्रवेश गरी चिनियाँ टोलीले आज बिहानदेखि बेलीब्रिज अड्याउने पिलारको जग खन्ने काम सुरु गरेको हो।

यही भदौ ३० गतेभित्र पुल निर्माणसम्पन्न गर्नेगरी दुई स्काभेटरले काम गरिरहे पनि निरन्तरको वर्षाका कारण तोकिएको समयमा निर्माणसम्पन्न नहुने प्राविधिक पक्षले जनाएको छ।

सङ्घीय राजधानी काठमाडौँबाट नजिक पर्ने उत्तरतर्फ रसुवागढीस्थित प्रमुख नाका जोड्ने मितेरी पुल बगेसँगै सो नाकाबाट हुने व्यापार करिब ठप्प अवस्थामा रहेको स्थानीय भन्सार कार्यालयले जनाएको छ।

यसैबीच चिनियाँ प्राविधिकले ल्हेन्दे खोलामा हिमपाइप राखी आवतजावत गर्न सहज बनाएसँगै कामको सिलसिलामा केरुङ पुगी त्यहाँ फसेका १६३ रसुवालीलाई नेपाल आउन सफल भएको प्रमुख जिल्ला अधिकारी पन्थीले जानकारी दिए।

नेप्से असोज ४ गतेसम्म बन्द रहने

नेपाल स्टक एक्सचेन्ज (नेप्से) आगामी असोज ४ गतेसम्म बन्द रहने भएको छ। संस्थाले बिहीबार जारी गरेको सूचनामा असोज २ गतेसम्मका लागि पूर्वघोषित बन्दलाई असोज ४ सम्म लम्ब्याइएको उल्लेख छ।

यस अवधिमा असोज ३ गते शुक्रबार र असोज ४ गते शनिबार सार्वजनिक बिदा पर्न गएपछि शेयर कारोबार पूर्ण रूपमा रोकिएको हो।

धितोपत्र ऐन, २०६३ को दफा ९० (१) घ बमोजिम गरिएको यस निर्णयबारे नेप्सेले स्पष्ट पार्दै लगानीकर्तालाई जानकारी गराएको छ। पछिल्ला दिनमा विभिन्न लगानीकर्ता संघ–संस्थाले राजनीतिक स्थिरता नहुँदासम्म बजार खोल्नु नहुने माग गर्दै दबाब दिइरहेका थिए।

68c3f7cd0eb09.jpg

प्रहरीले माग्यो जेनजी आन्दोलनको तस्विर र भिडियो

काठमाडौं । नेपाल प्रहरीले जेनजी पुस्ताले गरेको आन्दोलनको तस्विर, भिडियो तथा विभिन्न सामाजिक सञ्जालका लिङ्कहरू उपलब्ध गराउन माग गरेको छ ।

शुक्रबार एक सूचना जारी गर्दै भदौ २३ र २४ गते काठमाडौं उपत्यका लगायत देशका विभिन्न स्थानहरूमा भएको विरोध प्रदर्शन तथा आन्दोलनका क्रममा घटेका विभिन्न अप्रिय घटना, आगजनी, लुटपाट, आम सर्वसाधारणमा त्रास श्रृजना हुने किसिमका अन्य विविध घटनाहरूसँग सम्बन्धित तस्विर, भिडियो तथा विभिन्न सामाजिक सञ्जालका लिङ्कहरू उपलब्ध गराउन माग गरेको हो ।

गोपनियता कायम राखिने उल्लेख गर्दै घटनाको अनुसन्धानका लागि सहयोग पुर्याउने उद्देश्यले भिडियो तथा फोटोहरु उपलब्ध गराउन आग्रह गरेको हो ।

भोलि अवकाशमा जाँदै गुप्तचर प्रमुख

काठमाडौं । देशको एकमात्रै गुप्तचरी निकाय राष्ट्रिय अनुसन्धान विभाग (राअवि) का प्रमुख तथा मुख्य अनुसन्धान निर्देशक हुतराज थापाले भोलि २८ भदौको राति १२ बजेबाट अनिवार्य अवकाश पाउँनेछैन् ।

आफ्नो तीन वर्षे कार्यकाल पूरा गरेर थापा भोलि अवकाशमा जाने भएसँगै मुख्य अनुसन्धान निर्देशक पद रिक्त हुने भएको छ । जेनजीको आन्दोलनले उग्ररुप लिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए । यतिबेला देश शून्य अवस्थामा छ ।

अहिले सेनाले नै कर्फ्यू लगाउनेदेखि नेताहरूलाई सुरक्षा दिएर खान्ने मात्रै होइन प्रधानमन्त्री कसलाई बनाउने भन्नेमा पनि सैनिक मुख्यालय जंगी अड्डामा छलफल चलिरहेको छ ।

गुप्तचर प्रमुख मन्त्रिपरिषद्ले नियुक्त गर्नुपर्ने हुन्छ । भोलिसम्म प्रधानमन्त्री नियुक्त नभएको अवस्थामा के हुने भन्ने अन्योल कायम छ ।

यही समयमा गुप्तचर प्रमुख खाली हुँदा सूचना संयन्त्रमा थप अन्योल हुनसक्ने सुरक्षा मामलका जानकारहरू बताउँछन् ।

गुप्तचर प्रमुखका लागि मुख्यगरी दुई अतिरिक्त मुख्य निर्देशकबीच प्रतिस्पर्धा छ । जसमा पहिलो नम्बरमा ओम जोशी र टेकेन्द्र कार्की छन् । जोशी पहिलो वरियतामा रहेकाले अर्को व्यक्ति नियुक्ति नहुँदासम्म जोशीले नै कायम मुकायम भएर काम गर्ने सम्भावना छ ।

जोशी र कार्की दुवै २०५२ सालमा तत्कालीन नेपाल गुप्तचर विभागको इन्स्पेक्टरमा भर्ना भएका हुन् ।

सिंहदरबारका मन्त्रालयमा भएको क्षति रुजु भएपछि मात्रै सरसफाइ र पुनःनिर्माण हुने

काठमाडौँ । देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारभित्र रहेका मन्त्रालयहरूमा भएका आगजनीको क्षति रुजु गरेपछि मात्रै सरसफाइ र पुनः निर्माणको काम हुने भएको छ ।

शुक्रवार मुख्यसचिव एकनारायण अर्यालसहित नेपाल सरकारका सचिवहरूले गरेको निरीक्षणपछि सबै मन्त्रालयमा भएको क्षतिको मुचुल्का उठाएर यकिन गरेपछि मात्रै सरसफाइ गरिने मन्त्रालयहरूले जनाएका छन् ।

अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायका अनुसार मन्त्रालयको प्रायः सबैमा क्षति पुगेको बताए । उनले मन्त्रालयमा भित्र र बाहिर रहेका सवारी साधनमा भएको क्षतिको मुचुल्का उठाएर विवरण लिएसँगै सरसफाइ गरिने योजना तयारी रहेको बताए ।

उनले भने, ‘सबै क्षतिको मुचुल्का उठाउने काम अहिले भइरहेको छ । मुचुल्का उठाएर सरसफाइ गरी बस्न मिल्ने ठाउँमा बस्छौँ । पुनर्निर्माण गर्नुपर्नेको हकमा सरकार बनेसँगै काम सुरु हुन्छ ।’

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा करिब शतप्रतिशत क्षति पुगेको छ । भदौ २३ र २४ गते जेनजी पुस्ताले गरेको आन्दोलनबाट सरकारी सम्पत्तिहरू ध्वंस बन्न पुगेका थिए । उक्त दिन आन्दोलनकारीले सिंहदरबारमा आगजनी सहित तोडफोड गरेको थिए ।

नयाँ सरकार गठनका लागि राष्ट्रपति पौडेल परामर्शमा

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल नयाँ सरकार गठनका लागि निरन्तर परामर्शमा जुटेका छन्।

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठनका लागि राष्ट्रपति पौडेल शुक्रबार परामर्शमा जुटेका हुन्।

सरकार गठनका लागि उनले प्रधानसेनापति अशोकराज सिग्देलसँग छलफल गरेका छन्।

पूर्वप्रधानन्यायाधीश कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन गर्ने सहमति भएपनि अन्तरिम सरकार र संसद् विघटनका विषयमा भने सहमति जुट्न बाँकी रहेको छ।

राष्ट्रपति पौडेल शीतल निवासमा फर्किएसँगै सेनाले राष्ट्रपति भवनमा सुरक्षा व्यवस्था कडा बनाएको छ।

१४ वटा आन्तरिक राजस्व र पाँच भन्सार कार्यालय पूर्णरूपमा ध्वस्त

काठमाडौं । अर्थ मन्त्रालय मातहत १४ वटा आन्तरिक राजस्व कार्यालय र पाँच भन्सार कार्यालय जेनजी आन्दोलनका क्रममा जलेर नष्ट भएका छन् ।

अर्थ मन्त्रालय स्रोतका अनुसार चार आन्तरिक राजस्व कार्यालय र चार भन्सार कार्यालयमा आंशिक क्षति भएको छ ।

क्षति हुँदाहुँदै भन्सार कार्यालयहरूबाट अत्यावश्यक सामान आयातका लागि भन्सार जाँचपासको काम सुरु गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।

आन्तरिक राजस्व कार्यालयबाट भौतिक रूपमा राजस्व संकलनको काम सुरु गर्न नसकिए पनि अनलाइन मार्फत भने राजस्व संकलन भइरहेको पनि मन्त्रालयले जनाएको छ ।

पूर्णरूपमा क्षति भएका आन्तरिक राजस्व कार्यालयमा दमक, इटहरी, विराटनगर, लहान, जनकपुर, सिमरा, हेटौंडा, वीरगञ्ज, बुटवल, भैरहवा, नेपालगञ्ज, दाङ, धनगढी, डडेलधुरा र पोखरा रहेको अर्थ स्रोतले जनाएको छ ।

त्यस्तै कृष्णनगर, धुलिखेल, इलाम र सिन्धुलीका आन्तरिक राजस्व कार्यालयमा आंशिक क्षति भएको छ ।

भन्सारतर्फ मेची, भद्रपुर, भैरहवा, कैलाली र जनकपुरका कार्यालय पूर्णरूपमा क्षति भएको अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेले जानकारी दिए ।

विराटनगर, नेपालगञ्ज, भैरहवा र ठाँडी कार्यालयमा आंशिक क्षति भएको छ ।

आन्तरिक राजस्व विभाग, भन्सार विभाग तथा काठमाडौंको आन्तरिक राजस्व कार्यालयहरू भने सुरक्षित रहेको उनले बताए ।

भन्सारको अनलाइन प्रणाली आशिकुडा र आन्तरिक राजस्वको प्रणाली आईएसपी सुरक्षित रहेकाले कर संकलन सुचारु गर्न सकिने उनले बताए ।

अर्थ मन्त्रालय अन्तर्गत मुख्य भवन बाहिर रहेको बजेट महाशाखाको एउटा सानो भवन पूर्णरूपमा जलेको उनले बताए ।

मन्त्रालयको मूलभवन आगलागीबाट जोगिए पनि १५ वटा जति गाडी र ठूलो संख्यामा मोटरसाइकल जलेर नष्ट भएको उनले बताए ।

नयाँ सरकार आएसँगै अर्थ मन्त्रालयका सम्पूर्ण काम सुचारु गर्ने गरी तयारी थालिएको प्रवक्ता पाण्डेले बताए ।

मृतक जेन-जीप्रति क्यानडामा श्रद्धाञ्जली

क्यानडाको भ्यानकुभरमा जेन–जी पुस्ता र हिन्दुबुद्धिष्ट फाउन्डेसनले मिलेर नेपालमा भ्रष्टाचारविरुद्धको आन्दोलनमा शहीद जेनजीप्रति श्रद्धाञ्जली दिएका छन्।

भदौ २५ र २७ गते भएको कार्यक्रममा मृतक जेनजीका तस्बिर, नाम र जुत्तामा कविता लेखेर फूल चढाई र दीप प्रज्वलन गरी श्रद्धाञ्जली दिइएको हो।

नेपाली–क्यानेडियन जेन–जी विनिशा थापाले भनिन्, ‘जेन–जीले भ्रष्टाचारविरुद्ध र सुशासनका लागि लड्दा ज्यान गुमाए, तर यो त्यागले नेपाललाई सही दिशामा लैजाने विश्वास छ।’

वर्ल्डलिङ्कको इन्टरनेट सेवा देशभर सामान्य अवस्थामा फर्कियो

काठमाडौँ । देशभर फैलिएको आन्दोलनका कारण केही स्थानमा अवरुद्ध बनेको ​वर्ल्डलिङ्कको इन्टरनेट सेवा पूर्ववत अवस्थामा फर्किएको छ । कम्पनीका अनुसार सामान्य मर्मतपछि इन्टरनेट सेवा देशभर सामान्य रूपमा सञ्चालनमा आएको हो ।

हालैका प्रदर्शनका क्रममा केही ठाउँमा सामान्य क्षति पुगे पनि ठुलो क्षति भने नभएको कम्पनीले जनाएको छ । मर्मत कार्य सम्पन्न भएपछि सेवा सुचारु गरिएको हो ।

जेनजीहरुबीच विवाद चर्कियो, कार्यक्रमस्थलमै झडप

काठमाडौं । सामाजिक सञ्जालमा जेनजीका अलग–अलग समूहहरु खडा भएपछि आपसी विवाद र लफडा सतहमा आइरहेको छ ।

काठमाडौंको रिपोर्ट्स क्लबमा कार्यक्रमका लागि जम्मा भएका युवाहरूबीच नै एकआपसमा झडप भएको छ । अन्तरिम मन्त्रिपरिषद्को नेतृत्व लिने विषयमा समूह नै पिच्छे छुट्टाछुट्टै नाम अघि सारेपछि उनीहरूबीच नै विवाद भएको हो ।

जेनजीको कार्यक्रममा पार्टीका मान्छेहरुले जेनजी बनेर उपस्थिति जनाएको भन्दै मनमुटाव सुरु भएको हो । लफडा भएपछि कार्यक्रम नै स्थगित गरिएको छ ।

विधिको शासन र संविधानवादबाट बाहिर जानु हुँदैनः सभामुख/अध्यक्ष

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देजराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सरकार निर्माणका क्रममा विधिको शासन र संविधानवादबाट बाहिर जान नहुने बताएका छन् ।

उनीहरुले आज संयुक्त वक्तव्य जारी गरी आन्दोलनरत पक्षका माग सम्बोधन गर्दै अझ उन्नत, समृद्ध र बलियो लोकतन्त्रका लागि प्रतिबद्ध हुन सबैलाई अपिल गरेका हुन् ।

सभामुख घिमिरे र अध्यक्ष दाहालले वक्तव्यमार्फत देशमा विद्यमान विषम परिस्थितिमा जनतामा निहित सार्वभौमसत्ता, नागरिक स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र स्वाधीनतालाई शिरोपर गर्दै संवैधानिक प्रक्रियाबाटै निकास दिन राष्ट्रपति रामचन्द्र पौडेलले पहल गरिरहेको जानकारी गराएका छन् । वक्तव्यमा भनिएको छ, ‘यही भदौ २३ र २४ गते भएको जेन–जीको आन्दोलनका क्रममा भएको जनधनको क्षतिले हामीलाई स्तब्ध बनाएको छ, आन्दोलनको क्रममा ज्यान गुमाउनु हुने सबैप्रति हार्दिक श्रद्धाञ्जलि तथा शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौँ ।’

आन्दोलनका क्रममा घाइते हुनुभएका सबैको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उनीहरुले उपचारमा कुनै कमी हुन नदिन राज्यका सम्बन्धित संयन्त्रहरूलाई आग्रह गरेका छन‍् । यही भदौ २४ गते बानेश्वरस्थित सङ्घीय संसद्भवन, सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयलगायत विभिन्न सरकारी कार्यालय, सरकारी तथा निजी आवास, सञ्चार गृह, व्यापारिक प्रतिष्ठान एवम् सार्वजनिक सम्पत्ति तथा ऐतिहासिक दस्तावेज नष्ट हुनेगरी भएको आगजनी र तोडफोडले मर्माहत बनाएको सभामुख र अध्यक्षको भनाइ छ ।

खोज्नुहोस