लाइसेन्स छपाइ र वितरण अनिश्चितकालका लागि बन्द

काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ र वितरणको काम अनिश्चितकालका लागि रोकिएको छ ।

यातायात व्यवस्था विभागले आइतबार एक सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि सवारी चालक अनुमतिपत्र छपाए तथा वितरण लगायतको सूचना प्रविधिसम्बन्धी सबै प्रणाली बन्द हुने जानकारी गराएको छ ।

यातायात व्यवस्था विभागको संरचनामा तोडफोड, आगजानी तथा चोरी/लुटपाटबाट इलेक्ट्रोनिकउपकरण, छपाइ मेशिन तथा सर्भरमा क्षति पुग्न गएकाले सेवा अवरुद्ध हुन पुगेको विभागले बताएको छ ।

‘सवारी चालक अनुमतिपत्र तथा विद्युतीय सवारी साधन दर्ता (भ्म्ीख्च्क्) सम्बन्धी सेवा अवरुद्ध हुन पुगेको विषम परिस्थितिमा अर्को सूचना नभएसम्मको लागि सवारी चालक अनुमतिपत्र छपाइ तथा वितरण लगायतका सुचना प्रविधिसम्बन्धी सम्पूर्ण प्रणाली बन्द रहने बेहोरा जानकारीका लागि अनुरोध छ,’ विभागको सूचनामा भनिएको छ ।

जेनजी प्रदर्शनका कारण रोकिएका सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय

काठमाडौं : यही भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका कारण रोकिएका सार्वजनिक सवारीसाधन देशभर सञ्चालन गरिने भएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माको अध्यक्षतामा आज सिंहदरबारमा बसेको बैठकले प्रदर्शनका कारण रोकिएका सार्वजनिक सवारीसाधनलाई  देशव्यापी रूपमा सञ्चालन गर्ने निर्णय गरेको हो।

बैठकमा प्रदर्शनका कारण एक सातादेखि काठमाडौंसहित विभिन्न स्थानमा रोकिएका सार्वजनिक सवारीसाधनलाई देशव्यापी रूपमा सञ्चालन गर्ने निर्णय भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिए।

उनका अनुसार बैठकले ढुवानीका मालवाहक सवारीसाधनलाई सहजीकरण गर्ने निर्णय गरेको छ। दसैँ, तिहार छठ पर्व नजिकिएसँगै घर जाने यात्रुका लागि अग्रिम टिकट बुकिङ खुला गर्न यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको संयोजकत्वमा यातायात व्यवसायी, मजदुर तथा ट्राफिक प्रहरी रहनेगरी समिति गठन गरिएको महासङ्घका वरिष्ठ उपाध्यक्ष सिटौलाले बताए।

उक्त समितिले सरोकार भएका निकायसँगको सहकार्य र समन्वयमा शीघ्र बैठक बसेर अग्रिम टिकट बुकिङ खुला गर्नेछ। यसवर्ष असोज ६ गते घटस्थापना र १६ गते बडादसैँ परेको छ।

बेलायतको राजधानी लण्डनमा आयोजित प्रदर्शनमा एक लाख ५० हजार सहभागी

काठमाडौं– बेलायतको राजधानी लण्डनमा आयोजित प्रदर्शनमा १ लाख ५० हजारभन्दा धेरै सहभागी भएका छन् ।

दक्षिणपन्थी समूहले आयोजना गरेको प्रदर्शनमा सहभागीहरुले बेलायतको युनियन ज्याक र इङ्ग्ल्याण्डको सेन्ट जर्ज क्रस झण्डा बोकेका थिए । कतिपयले इजरायल र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘मेक अमेरिका ग्रेट अगेन’ को पनि झण्डा बोकेको रोयटर्सले जनाएको छ ।

‘युनाइट द किङ्गडम’ नाम दिइएको प्रदर्शनमा आप्रवासनविरोधी नारा लगाइएको थियो । बेलायतमा बढ्दो आप्रवासनको विरोधमा प्रदर्शन आयोजना गरिएको बीबीसीले जनाएको छ ।

यसलाई आधुनिक बेलायतकै सबैभन्दा विशालमध्ये प्रदर्शन मानिएको छ । प्रदर्शनमा सहभागीहरुको सङ्ख्याबाट प्रहरी नै चकित भएको समाचार संस्था रोयटर्सले जनाएको छ । प्रदर्शनमा छिटफुट हिंसा हुँदा २६ जना प्रहरी घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ ।

प्रहरीका अनुसार २५ जनालाई नियन्त्रणमा लिइएको छ । प्रदर्शनमा उत्तेजक व्यवहार गर्नेको पहिचान गरी आगामी दिनहरुमा पक्राउ गरिने प्रहरीले उल्लेख गरेको छ ।

उपत्यकामा रोकिएका यात्रु पठाएपछि मात्रै दशैंको अग्रिम टिकट बुकिङ

काठमाडौं । यातायात क्षेत्रसँग सम्बन्धित सरोकारवाला समेटेर उच्चस्तरीय यातायात व्यवस्थापन समिति गठन भएको छ ।

आइतबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव सहित सरोकारवाला र याताायात व्यवसायी बीचको बैठकले यस्तो निर्णय गरेको हो ।

नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाका अनुसार आजको बैठकले दशैंका लागि अग्रिम टिकट बुकिङ खोल्ने निर्णय भने गरेन । यसबारे सोमबार पुनः यातायात व्यवस्था विभागसहितका सरोकारवालासँग छलफल हुनेछ ।

पहिलो प्राथमिकता यो एक साता काठमाडौंमा रोकिएका यात्रुलाई काठमाडौं बाहिर सुरक्षित रूपमा पठाउने कामलाई दिने भन्ने कुरा भयो,’ उनले भने, ‘त्यसपछि अग्रिम टिकट बुकिङ खुलाउने कुरा भएको छ ।’

वर्तमान परिस्थिति एवं चाडपर्वको समयमा यात्रुको यात्रा सुरक्षित र सहज बनाउन एवं प्राप्त गुनासो तत्काल सम्बोधन गरी यातायात व्यवस्थापन गर्न यातायात व्यवस्था विभागका महानिर्देशकको संयोजकत्वमा समिति गठन गरिएको छ ।

समितिमा प्रहरी र व्यवसायीसमेत रहने गरी तोकिएको छ । आजको बैठकले ट्राफिक प्रहरीलाई आवश्यक पर्ने सामग्री भौतिक मनत्रालय र सडक सुरक्षा परिषद्बाट उपलब्ध गराउने निर्णय भएको छ ।

प्रधानमन्त्री कार्कीलाई पाकिस्तानद्वारा बधाई

काठमाण्डौ – पाकिस्तानले नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त भएकोमा बधाई ज्ञापन गरेको छ ।

प्रधानमन्त्री शहबाज सरिफले कार्कीलाई बधाई दिँदै दुई देशबीचको सम्बन्धलाई अझ सुदृढ बनाउनका लागि सहकार्य गर्न तत्पर रहेको बताएको काठमाण्डौमा रहेको पाकिस्तानी राजदूतावासले जनाएको छ ।

पाकिस्तानी प्रधानमन्त्रीले कार्कीलाई पठाएको  शुभकामना सन्देशमा नेपाली नागरिकको शान्ति र प्रगतिको कामना पनि गरेका छन ।

यसअघि भारत, चीन, अमेरिका बेलायत, जापान, संयुक्त राष्ट्रसङ्घलगायतले कार्कीलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । पूर्वप्रधानन्यायाधीश कार्की अस्ति शुक्रवार अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त भएकी हुन् ।

कर्मचारीको ल्यापटप र स्कुलको कम्प्युटरबाट कैलाली प्रशासनमा सेवा सुरु

यशोदा शर्मा, धनगढी । जिल्ला प्रशासन कार्यालय कैलालीले सेवा सुरु गरेको छ । कर्मचारीको ल्यापटप र धनगढीको एरिष्टो स्कुलले कम्प्युटर सहयोग गरेपछि आजबाट प्रशासनले सेवा सुरु गरेको हो । कार्यालयका प्रमुख प्रशासकीय अधिकृत तथा सूचना अधिकारी शिवराज जोशी अनुसार अहिले सम्म नयाँ नागरिकता सिफारिसका लागि दुई जना सेवाग्राही प्रशासन पुगेका छन् ।

भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा प्रशासनमा आगजनी भएको थियो । आगजनीबाट ३ वटा भवनमा क्षति पुगेको छ । प्रशासनको पुरानो भवन जलेर ध्वस्त भई भग्नावशेष मात्रै बाकि छ । आगजनीबाट विद्धुत प्रवाहमा पनि क्षति पुगेको सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिइन । उनका अनुसार कम्प्युटर सञ्चालन गर्न अर्को भवनबाट विद्धुत तार ल्याइएको हो ।

बिस्तारै प्रशासनमा चहलपहल बढी रहेको छ । सरसफाइ पनि तीव्र रूपमा भइरहेको छ । सूचना अधिकारी जोशी अनुसार कर्मचारी, प्रहरी र जेनजी समूहको सहयोगमा सरसफाइ भइरहेको छ । उनले तत्काल सेवा सुचारु गर्न आफूहरू प्रयास गरिरहेको बताए ।
प्रशासनले स्थानीयहरूलाई सरसफाइमा जुट्न र तत्काल आवश्यक सामाग्री सहयोग गर्न समेत अपिल गरेको छ ।

जेनजी आन्दोलनमा भएको आगजनी र तोडफोड षडयन्त्रजस्तो लागेको छ : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनको क्रममा भएको आगजनी र तोडफोडका घटना सुनियोजित हुन सक्ने बताएकी छन् ।

पदभार ग्रहण समारोहमा सम्बोधन गर्दै उनले सो कुरा बताएकी हुन् । ‘यो प्लान वे, षडयन्त्रै भएको हो कि भन्ने लागेको छ,’ कार्कीले भनिन् ।

उनले यसबारे छानबिनपछि सत्यतथ्य बाहिर ल्याउने बताइन् ।

उनले सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, व्यापारिक कम्प्लेक्स लगायतका सरकारी कार्यालयहरुमा भएको आगजनी लज्जास्पद भएको बताइन् ।

सुमनाले छोडिन् रास्वपा

२९ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेता पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले पार्टी छोडेकी छन् ।

रास्वपा छोडेको जानकारी दिँदै उनले भनिन् ,’ अब खुल्लारुपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु । मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नुहोला । मैले पार्टी छाँडे ।’

जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ७२ पुग्यो

२९ भदौ, काठमाडौं । जेनजी आन्दोलनको क्रममा मृत्यु हुनेको संख्या ७२ पुगेको छ । प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण कार्यक्रममा मुख्य सचिव एकनारायण अर्यालले सो जानकारी दिएका हुन् ।

आन्दोलनमा प्रदर्शनकारी ५९ जना, कैदीबन्दी १० जना र सुरक्षाकर्मी ३ जना गरी ७२ जनाको ज्यान गएको मुख्य सचिव अर्यालले बताए ।

उनका अनुसार १३४ जना प्रदर्शनकारी र ५७ जना प्रहरी घाइते भएका छन् ।

भ्रष्टाचार र सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धविरुद्ध भदौ २३ गते युवाहरु आन्दोलनमा उत्रिएका बेला प्रहरीसँग झडप भएको थियो । त्यसक्रममा विभिन्न ठाउँमा आगजनी हुँदा पनि विभिन्न व्यक्तिहरुको मृत्यु भएको छ ।

जेनजी आन्दोलनमा मृत्यु भएकालाई शहीद घोषणा, प्रत्येकका परिवारलाई १० लाख राहत

काठमाडौं । जेनजी युवाको आन्दोलनमा मृत्यु भएकाहरुलाई सरकारले शहीद घोषणा गरी प्रत्येकका परिवारलाई १० लाख रुपैयाँको दरले राहत दिने भएको छ । आज पदभार ग्रहण गरेकी प्रधानमन्त्री सुशीला कार्कीले यही निर्णयमा हस्ताक्षर गरेकी छन् ।

यो जानकारी मुख्य सचिव एकनारायण अर्यालले दिएका हुन् ।

उनका अनुसार आन्दोलनमा प्रदर्शनकारी ५९ जना, कैदीबन्दी १० जना र सुरक्षाकर्मी ३ जना गरी ७२ जनाको ज्यान गएको छ । १३४ जना प्रदर्शनकारी र ५७ जना प्रहरी घाइते भएका छन् ।

प्रधानमन्त्री सुशीला कार्कीले गरिन् पदभार ग्रहण

२९ भदौ, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेकी छन् । शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त कार्कीले आज बिहान सिंहदरबारमा पदभार ग्रहण गरेकी हुन् ।

त्यसअघि उनले आज बिहान लैनचौरस्थित शहीद स्मारक पुगेर माल्यार्पण गरेकी थिइन् ।

वीर अस्पतालमा उपचाररत जेनजी आन्दोलनबाट घाइते थप दुई जनाको मृत्यु

काठमाडौं । जेनजी आन्दोलनबाट गम्भीर घाइते भएका थप दुई जनाको उपचारको क्रममा मृत्यु भएको छ ।

वीर अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेका दुई जनाको शुक्रबार राति र शनिबार मृत्यु भएको उपचारमा संलग्न चिकित्सक न्युरो सर्जन डा. राजीव झाले जानकारी दिए ।

‘दुवै जनालाई टाउकोमा गोली लागेको थियो । भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो,’ डा. झाले भने, ‘तर हामीले उहाँहरुलाई बचाउन सकेनौं ।’ मृतकको परिचय खुलिसकेको छैन ।

प्रहरी प्रशासनको तथ्यांक अनुसार गत सोमबार र मंगलबारको आन्दोलनबाट ५१ जनाको मृत्यु भएको थियो ।

आगलागीका कारण मृत्यु भएका थप शव भेटिँदै गएका छन् । चाबहिल चुच्चेपाटीमा रहेको भाटभटेनीमा आज बिहान मात्रै ६ शव फेला परेका छन् । शव पूरै डढेकाले उनीहरुको पनि सनाखत हुन सकेको छैन ।

यससँगै मृतकको संख्या ५० भन्दा बढी पुगेको छ । मृतकको संख्या अझै बढ्नसक्ने अनुमान छ ।

प्रधानमन्त्री कार्कीले गरिन् शहीद स्मारकमा माल्यार्पण

काठमाडौं । अन्तरिम सरकारी नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शहीद स्मारकमा माल्यार्पण गरेकी छन् ।

शुक्रबार राति प्रधानमन्त्रीको शपथ खाएकी कार्की आइतबार बिहान लैनचौरस्थित शहीद स्मारक पुगेर माल्यार्पण गरेकी हुन् ।

जेनजी आन्दोलनले केपी ओली नेतृत्वको सरकार ढलेपछि कार्की प्रधानमन्त्री नियुक्त भएकी हुन् । उनले संसद विघटन गरेकी छन् ।

कार्कीले आजै पदबहादली भएर मन्त्रिपरिषद् विस्तारको तयारी गरेकी छन् ।

जेनजी आन्दोलनले केपी ओली नेतृत्वको सरकार ढलेपछि कार्की प्रधानमन्त्री नियुक्त भएकी हुन् । उनले संसद विघटन गरेकी छन् ।

कार्कीले आजै पदबहादली भएर मन्त्रिपरिषद् विस्तारको तयारी गरेकी छन् ।

जेनजी आन्दोलनमा जलाइएको चुच्चेपाटीको भाटभटेनीमा ६ वटा शव भेटिए

काठमाडौं । चुच्चेपाटीको भाटभटेनीमा ६ वटा शव भेटिएको छ ।

जलेको अवस्थामा ६ वटा मानव कंकाल भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले पुष्टि गरे । ककांल भेटिएका शव  चिन्न सकिने अवस्थामा छैनन् ।

मात्रै शवको पहिचान हुने बताइएको छ। जेनजीको प्रदर्शनको क्रममा भाटभटेनीमा आगजनी भएको थियो ।

२३ भदौमा जेनजीको आन्दोलन भएको थियो । सो क्रममा प्रहरीको गोली लागेर काठमाडौं र बाहिर जिल्लामा गरी २१ जनाको मृत्यु भएको थियो । त्यसपछि जेनजी आन्दोदन उग्र बनेको थियो । भोलिपल्ट २४ गते देशभर तोडफोड र आगजनी भएको थियो ।

अहिलेसम्म ५८ जनाको मृत्यु भएको बताइएको छ ।

प्रधानमन्त्री कार्कीलाई बधाई दिँदै चीन: नेपालीले रोजेको विकासको मार्गलाई सम्मान गर्छौं

काठमाडौं : चीनले नेपालको अन्तरिम प्रधानमन्त्रीमा नियुक्ति भएकोमा सुशीला कार्कीलाई बधाई दिएको छ। चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लिन चेनले नेपालका पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले अन्तरिम प्रधानमन्त्रीको रूपमा शपथ लिएको बधाई दिएका हुन्।

पत्रकारहरूले सोधेको प्रश्नमा प्रवक्ताले टिप्पणी गर्दै भने, हामी नेपालसँग मिलेर पाँच सिद्धान्तको शान्तिपूर्ण सहअस्तित्वलाई प्रवर्द्धन गर्ने, विभिन्न क्षेत्रमा आदानप्रदान र सहकार्य बढाउने र द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउने तत्परता व्यक्त गर्दछौँ।

प्रवक्ताले चीन–नेपालको मित्रता पुरानो र दृढ रहेको बताए। चीनले सधैँ नेपाली जनताले स्वतन्त्र रूपमा रोजेको विकासको मार्गलाई सम्मान गर्ने उनले बताए।

आज ६१ औं राष्ट्रिय बाल दिवस मनाइँदै

काठमाडौं- आज भदौ २९ गते ६१ औं राष्ट्रिय बाल दिवस रहेको छ । यस वर्षको बाल दिवसको नारा ‘बालबालिकामा लगानी: सुनिश्चित भविष्यको थालनी’ तय गरिएको छ ।

वि.सं २०२१ भदौ ४ गतेदेखि मनाउन सुरु गरिएको राष्ट्रिय बाल दिवस २०६३ सालमा भदौ २९ गतेका दिन मनाउन थालिएको हो । नेपालमा बाल दिवस रत्नराज्यलक्ष्मी देवी शाहले आफ्नो जन्मदिन पारी २०२१ भदौ ४ गते नेपाल बाल सङ्गठन (बाल मन्दिर) स्थापना गरी अनाथ, टुहुरा बालबालिका संरक्षणको थालनी गरेको दिनलाई राष्ट्रिय बाल दिवस घोषणा गरी नियमित रूपमा मनाउन थालेको पाइन्छ ।

सन् १९८९ नोभेम्बर २० मा संयुक्त राष्ट्रसङ्घ महासभाबाट बाल अधिकारसम्बन्धी महासन्धि पारित भयो । पछि यसलाई नेपालले सन् १९९० सेप्टेम्बर १४ मा अनुमोदन गरेको दिनको सन्दर्भ पारेर बाल दिवस मनाउन थालियो । सोहीअनुरूप नेपालले राष्ट्रिय बाल दिवस २०६३ सालदेखि भदौ २९ गते मनाउन थालेको हो ।

संविधानले बालबालिकाको हकलाई मौलिक हकका रूपमा व्यवस्था गरी बाल बचाउ, बाल संरक्षण, बाल विकास र बाल सहभागिताजस्ता विषय समेटी सर्वाङ्गीण विकासको प्रत्याभूत गरेको छ ।

संयुक्त राष्ट्रसंघीय बाल अधिकारसम्बन्धी महासन्धि, १९८९ तथा अन्य बाल अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय सन्धिमा गरेको प्रतिबद्धताअनुरूप सरकारले बाल अधिकारसम्बन्धी नीति तथा कानुन तर्जुमा गरी कार्यान्वयन गर्दै आएको छ ।

दशैँका लागि आजदेखि सुकिला नोट सटही शुरु

काठमाण्डौ – दशैँका लागि आजदेखि सुकिला नोट साट्न थालिएको छ । नेपाल राष्ट्र बैङ्कले आजदेखि आउँदो असोज १० गतेसम्म सुकिला नोट वितरण गर्ने जनाएको छ । जेन–जीको प्रदर्शन र उत्पन्न विषम अवस्थाले केही समस्या भए पनि राष्ट्र बैङ्क अनि अन्य बैङ्क तथा वित्तिय संस्थामा भौतिक धेरै क्षति नभएकाले यसअघिको निर्णय अनुसार नै नोट सटही गर्न सक्ने अवस्था रहेको नेपाल राष्ट्र बैङ्कले जनाएको छ ।

नोट सटहीका लागि राष्ट्र बैङ्कको थापाथलीमा रहेको मुद्रा व्यवस्थापन विभाग, प्रदेश कार्यालयहरू विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढीबाट सुकिला नोटको सटही गर्न सकिनेछ । साथै बैङ्क तथा वित्तीय संस्थाका शाखा कार्यालयबाट समेत सुकिला नोट साट्न सक्ने गरी व्यवस्थापन गरिएको राष्ट्र बैङ्कका प्रवक्ता किरण पण्डितले जानकारी दिनुभयो ।

यसपाली पाँच रुपैयाँ दरको नोट भने नयाँ पनि वितरण हुनेछ । ग्राहकले आफ्नो खाता रहेको बैङ्क वा पायक पर्ने नजिकको बैङ्क तथा वित्तीय संस्था वा नेपाल राष्ट्र बैङ्कमा गई नोट सटही गर्न सक्ने राष्ट्र बैङ्कको मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।

नेपाल राष्ट्र बैङ्कले अघिल्लो वर्षदेखि दशैँका लागि नयाँ नभइ सुकिला नोट वितरण गर्न थालेको हो । यसवर्षको बडादशैँ अर्थात् टिकाको मुख्य दिन आउँदो असोज १६ गते बिहीवार परेको छ ।

राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने

काठमाडौं : नेपाल राष्ट्र बैंकले एक अर्ब २० करोड रुपैयाँ बराबरको रकम बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ ।

बैंकको उपदान तथा पेन्सन कोषमा रहेको रकम लगानी गर्नु परेकाले इच्छुक बैंक तथा वित्तीय संस्थालाई सहभागिताका लागि आग्रह गरेको छ । केन्द्रीय बैंकले यही भदौ ३० गतेभित्र निवेदन दिन आग्रह गरेको छ ।

राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा रु एक अर्ब चार करोड, ‘ख’ वर्गका विकास बैंकमा रु १९ करोड ५० लाख र ‘ग’ वर्गका वित्त कम्पनीमा छ करोड ५० लाख रुपैयाँ बराबरको रकम लगानी गर्नेछ ।

बैंकबाट तोकिएको न्यूनतम कुल पुँजीकोष कायम रहेको र निष्क्रिय कर्जा सापटीको आठ प्रतिशत र खुद निष्क्रिय कर्जा अनुपात तीन प्रतिशत ननाघेको हुनुपर्ने सूचनामा उल्लेख छ । आफूले लिन चाहेको रकम र ब्याजदरसमेत प्रस्ताव गरी आवेदन दिन केन्द्रीय बैंकले सूचनामार्फत आग्रह गरेको छ ।

शान्तिपूर्ण निकासमा अहम् भूमिका निभाएको भन्दै अमेरिकाले गर्‍यो प्रधानसेनापतिको प्रशंसा

काठमाडौं । संयुक्त राज्य अमेरिकाले नेपालमा गत साताको दुखद घटनाक्रमपछि शान्ति-सुरक्षा पुनर्बहाली भएकोप्रति खुसी व्यक्त गरेको छ ।

अमेरिकी दूतावासले एक विज्ञप्ति जारी गर्दै अन्तरिम सरकारका नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीसँग सहकार्य गर्न चाहेको समेत बताएको छ ।

दूतावासको विज्ञप्तिमा राष्ट्रपति रामचन्द्र पौडेल र युवा नेताहरूले प्रजातान्त्रिक समाधानका निम्ति प्रतिबद्धता प्रस्तुत गरेको भन्दै सराहना गरिएको छ । यस्तै नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको उच्च प्रशंसा गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘शान्ति बहाली गर्ने र नागरिक सरकार गठनमार्फत शान्तिपूर्ण निकास निकाल्न सहजीकरण गर्ने कार्यमा नेपाली सेना र प्रधानसेनापति अशोक राज सिग्देलको महत्त्वपूर्ण भूमिकाको हामी उच्च कदर गर्छौँ ।’

गौरव वृद्ध आमाबुबाका एक मात्र भरोसा थिए

कैलाली : गौरव जोशी, धनगढी : सोमबार बिहान सुरु भएको जेन–जीको आन्दोलनले दिउँसोदेखि उग्ररूप लिन पुग्यो । दिनभर प्रहरीले चलाएको गोलीबाट १९ विद्यार्थीको मृत्युका खबर छ्याप्छ्याप्ती भइसकेका थिए । धनगढी उपमहागर–५ तारानगरकी सोनिया जोशीले राति ९ बजेतिर टिकटकमा काठमाडौंमा भएको आन्दोलनका भिडियो हेरिरहेकी थिइन् । यत्तिकैमा उनले एक युवालाई गोली लागेको भिडियो हेर्न पुगिन् ।

सोनिया त्यसै पनि त्रसित भइरहेकी थिइन्, तर जब एक जनाले कमेन्टमा गोली लाग्नेको फोटो पोस्ट गरे, तब उनी विछिप्त बन्न पुगिन् । उनको मुटुले ठाउँ छोड्यो । सोनियालाई विश्वास नै गर्न गाह्रो भयो, त्यो फोटो उनकै काका गौरव जोशीको थियो । अत्ताल्लिएर उनले काठमाडौंमा रहेका भाइ प्रवीनलाई फोन गरेर फोटो पठाइन् । रगतले लतपतिएको अनुहार प्रस्ट चिनिएको थिएन । प्रवीनले गौरवलाई कपडा र झोलाबाट चिने । गौरवले त्यो दिन प्रवीनसँगै किनेको कपडा लगाएका थिए । यत्तिकैमा अस्पतालमा मृत्यु भएका एक जनाको एटीएम कार्ड भेटिएको समाचार आयो । जसमा उही नाम थियो गौरव जोशी । सोनिया र प्रवीनले गौरवको मृत्यु भएको खबर तत्काल कसैलाई सुनाउन सकेनन् ।

गौरव वृद्ध आमाबुवाको एक मात्र भरोसा थिए । रातभरि निदाउन नसकेकी सोनियाले बिहान ४ बजे यो कुरा आफ्ना आमाबुवालाई सुनाइन् । घरमा रुवाबासी चल्यो । उनको घर नजिकै गौरवको घर छ । बिहान ६ बजे आमाबुवा सँगै उनी गौरवको घर पुगिन् । एकाबिहानै सबै घरमा आएको देख्दा ७८ वर्षीय बुवा बासुदेव र वृद्ध आमा आश्चर्यमा परे । धेरैपटक दुःखद खबर सुनाउन प्रयास गरे पनि बूढो अनुहारका आमाबुवा देखेर सुनाउन कसैले साहस गरेनन् । २४ गते साँझ ६ बजे मात्रै उनका आमाबुवालाई गौरव गोली लागेर घाइते भई टिचिङ अस्पतालको आईसीयूमा उपचाररत रहेको कुरा सुनाइयो ।

सोनियाका अनुसार गौरवका दुई आमामध्ये जेठी आमा र बुवा धनगढीमा नै बस्छन् । उनी भने तीन वर्षदेखि आमा माया र दिदी आयुशासँग काठमाडौं बस्दै आएका थिए ।

काठमाडौंमै भए पनि गौरवको गोली लागेर मृत्यु भएको खबर आमा र दिदीलाई भदौ २४ गते साँझ ५ बजे मात्रै सुनाइयो । बिहान कन्सल्टेन्सी गएर आएपछि खाना खान्छु भन्दै गएका गौरव त्यसपछि कहिल्यै नफर्किने गरी अस्ताए । दिदी आयुशाले आन्दोलन भएकाले नजान सुझाएकी थिइन् । तर उनी आन्दोलनमा नजाने भन्दै कोटेश्वरस्थित डेराबाट निस्केका थिए ।

छोराको शव हेर्न भए पनि अस्पताल जान्छु भनेका आमा र दिदीलाई आफन्तकहाँ पुर्‍याइएको छ । गौरवको मृत्युको खबरले जोशी परिवार मात्र होइन, तारानगर नै शोकमा डुबेको छ । धनगढी रहेका बुवाआमा भावविह्वल छन् । ‘आमाबुवाले केही खान सकिरहनुभएको छैन । हामीले के भनेर सम्झाउने ? कुनै शब्द नै छैन,’ सोनियाले भनिन् । उनका अनुसार २१ वर्षीय गौरव ३ वर्षअघि धनगढीको ऐश्वर्य विद्या निकेतनबाट विज्ञानमा प्लसटु सकेर काठमाडौं गएका थिए । ‘सोझो, मिलनसार हुनुहुन्थ्यो अंकल । कहीँकतै नजाने, डराउने,’ उनी भन्छिन् ।

गौरवले १२ कक्षा पास गरेपछि अस्ट्रेलिया जान खोजेका थिए, सम्भव नभएपछि यूके जाने तयारीमा थिए । जेन—जी आन्दोलनमा गौरव अस्ताउँदा वृद्ध आमाबुवाको सहाराको टेको नै ढलेको छ ।

यतिबेला गौरवको शव टिचिङ अस्पतालमा छ । मृतकका आफन्तले हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै गौरवलाई सहिद घोषणा गरेर राष्ट्रिय सम्मान साथ अन्त्येष्टि गर्नुपर्ने र वृद्ध आमाबुवालाई राहतको व्यवस्था गर्नुपर्ने माग गरेका छन् ।

फागुनमा हुने चुनाव सफल बनाउन सबै पक्षलाई राष्ट्रपतिको आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले देशको हालको असहज र विषम परिस्थितिबाट शान्तिपूर्ण निकास निस्किएको भन्दै आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई सफल बनाउन सबै पक्षलाई सहयोग गर्न अपिल गरेका छन्।

शनिबार वक्तव्य जारी गर्दै उनले संविधान, संसदीय प्रणाली र संघीय लोकतान्त्रिक गणतन्त्र सुरक्षित भएको उल्लेख गर्दै आगामी निर्वाचनमार्फत जनताले अझ उन्नत लोकतन्त्रको बाटोमा अघि बढ्ने अवसर पाएको बताएका छन्।

‘बडो जुक्तिपूर्ण ढंगले प्राप्त अवसरको सदुपयोग गर्दै जनता रिझाउने र आफै संयमित रहँदै चुनाव सम्पन्न गराउन सहयोग गर्न सबैलाई हार्दिक अपिल गर्दछु,’ वक्तव्यमा भनिएको छ।

राष्ट्रपतिले ६ महिनाभित्र हुने प्रतिनिधि सभा निर्वाचनलाई लोकतन्त्रलाई थप सबल बनाउने अवसरका रूपमा लिनुपर्नेमा जोड दिएका छन्।

अब अन्याय हुँदैन भन्ने आशा बोकेर जेल फर्कंदैछु : रवि लामिछाने

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले देशले न्यायको प्रतिमूर्तिलाई प्रधानमन्त्री पाएकोले आफूलाई अब अन्याय नहुने आशासहित जेल फर्कन लागेको जानकारी गराएका छन् । आज आफ्नो जन्मदिन परेको समेत बताउँदै लामिछानेले जन्मदिनको उपहारस्वरूप आफूलाई पुन: कारागार पठाउन लागेको जिकिर गरेका छन् । सामाजिक सञ्जालमा लामो स्टाटससहित एक भिडियो सन्देश जारी गर्दै लामिछानेले यस्तो बताएका हुन् ।

‘पछिल्लो सरकारले म माथि चरम राजनीतिक प्रतिशोध साधेर मेरो जिना हराम गरेको थियो । आज यस देशको नेतृत्वमा न्यायकी प्रतिमूर्ति स्वयं प्रधानमन्त्री बन्नुभएको छ । अब चाहिँ अन्याय हुन्न भन्ने आशा सहित म कारागार जाँदैछु,’ लामिछानेले भनेका छन् । नख्खु कारागारमा रहेको सभापति लामिछाने पछिल्लो पटक जेनजीहरूको प्रदर्शनका क्रममा २४ भदौमा निस्किएका थिए ।

उनले आफू कारागार प्रशासनकै निर्णय अनुसार बाहिर निस्किएको दाबी सुरुमा गरेका थिए । यद्यपि औपचारिक रुपमा कारागार प्रशासनले उनलाई थमाएको पत्रबारे केही बोलेको छैन । उक्त पत्रबारे आलोचना बढेपछि लामिछाने आफैं कारागार फर्कन लागेका हुन् । उनले यसबारे मिडियाबाजी भएको भन्दै आपत्ति पनि जनाएका छन् ।

भोलिबाट स्थानीय तहका सेवा सुचारु, विद्यालय पनि खोल्ने तयारी

काठमाडौं । आन्दोलनपछि कर्फ्यू र निषेधाज्ञा लागेका कारण रोकिएका सरकारी सेवा भोलि आइतबारबाट सुचारु गरिने भएको छ । विद्यालहरू पनि खोल्ने तयारी छ । शनिबारबाट स्थिति सामान्यतर्फ गएकाले अब सेवा अघि बढाउन लागिएको हो ।

संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले शुक्रबारै अब सेवा अघि बढाउनेबारे ७५३ वटै पालिकाहरूलाई सर्कुलर जारी गरेको छ । मन्त्रालयका प्रवक्ता कालीप्रसाद पराजुलीका अनुसार सेवा सञ्चालन गर्न सबैलाई निर्देशन दिइसकिएको छ । ‘क्षति भएका कार्यालयहरूलाई वैकल्पिक स्थान खोजेर अत्यावश्यक सेवा अघि बढाउन भनिएको छ’ प्रवक्ता पराजुलीले अनलाइनखबरसँग भने, ‘क्षति नभएका कार्यालयहरूले त सहज रूपमा सञ्जालन गर्न सकिने अवस्था छ ।’

उनका अनुसार सिंहदरबारभित्रका कार्यालयहरू पनि वैकल्पिक व्यस्थापन गरेर काम गरिने छ । स्थानीय तह र जिल्ला प्रशासनबाट सबैभन्दा धेरै स्थानीयका सेवाहरू सञ्चालन हुने गरेका छन् । सर्वसाधारणका अत्यावश्यक कामहरू रोकिएका थिए । प्रवक्ता पराजुलीका अनुसार क्षतिग्रस्त कार्यालयहरुको विवरण पनि संकलन गरेर पठाउन भनिएको छ ।

आन्दोलनका कारण केही दिन रोकिएका विद्यालयहरू पनि अब खोल्न तयारी छ । शिक्षा मन्त्रालयका सूचना अधिकारी एवं उपसचिव मधुप्रसाद घिमिरेका अनुसार, स्थिति सामान्य भएकाले आइतबारदेखि नै विद्यालयहरू खोल्ने तयारी छ । विद्यालय स्थानीय तहमा अन्तर्गत पर्ने भएकाले सम्बन्धित पालिकाहरूले स्थिति अनुसार विद्यालयलाई जानकारी गराउने छन् ।

उनी भन्छन्, ‘सम्बन्धित स्थानीय तहले अवस्था हेरेर विद्यालयहरू सञ्चालन गर्ने कुरा छ, धेरैजसो ठाँउमा आइतबारदेखि स्कूल खुल्ने तयारी भएको सूचना पाएका छौं ।’

प्रधानमन्त्री कार्कीले लिइन् ट्रमा सेन्टर पुगेर घाइतेको स्वास्थ्यबारे जानकारी

काठमाडौं  : प्रधानमन्त्री सुशीला कार्कीले ‘जेनजी’ आन्दोलनमा घाइते भएका युवालाई भेटेर उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छन् ।

प्रधानमन्त्री कार्कीले शनिबार अपराह्न वीर अस्पतालको ट्रमा सेन्टरमा उपचाररत घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी हुन् ।

सेन्टरका प्रमुख डा बद्री रिजालका अनुसार सेन्टरमा भर्ना भएका ३६ जना घाइतेमध्ये छ जनाको सघन उपचार कक्षमा उपचार जारी छ । उनले दुई जनाको अवस्था गम्भीर रहेको जानकारी प्रधानमन्त्रीलाई गराए ।

प्रमुख डा रिजालले प्रधानमन्त्रीलाई केही बिरामीको शल्यक्रिया गर्नुपर्ने तर गम्भीर चोटका कारण तत्काल शल्यक्रिया गर्न नसकिने जानकारी गराएको बताए ।

पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या छैन, मौज्दात पर्याप्त छ : आयल निगम

काठमाडौं — नेपाल आयल निगमले पेट्रोलियम पदार्थको आपूर्ति प्रणालीमा कुनै समस्या नरहेको जनाएको छ । जेन–जीले अगुवाई गरेको आन्दोलनपछिको प्रदर्शन र त्यसपछि उत्पन्न परिस्थितिले केही पम्पहरु बन्द रहेपनि निगमले पम्पको माग अनुसार इन्धन वितरण गरिरहेको स्पष्ट पारेको छ ।

‘पेट्रोलियम व्यवसायीको माग अनुसार शुक्रबार मुलुकभर ३९८९ किलोमिटर पेट्रोल, २९१६ किलोलिटर डिजेल र २३ किलोलिटर मट्टितेल वितरण गरेका छौ,’ कार्यकारी निर्देशक भट्टले भने,‘ थानकोट डिपोबाट पेट्रोल ८७० किलोलिटर पेट्रोल र ४३० किलोलिटर डिजेल वितरण भएको छ । आपूर्तिको अवस्था सामान्य नै छ ।’ नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले पनि इन्धन वितरणको अवस्था सामान्य रहेको जनाए । ‘व्यवसायीहरुले माग गरेअनुसार निगमले उपलब्ध गराएको छ । आपूर्तिमा समस्या देखिएको छैन,’ अध्यक्ष प्रधानले भने, ‘आन्दोलनको क्रममा केही पम्पहरु बन्द थिए, त्यही कारण केही स्थानको पम्पमा भीड देखियो । अहिले अवस्था सामान्य भइसकेको छ ।’

निगमका अनुसार इन्धन मौज्दातको अवस्था पनि पर्याप्त नै छ । थानकोट डिपोमा ३४०० किलोलिटर पेट्रोल र ५९०० किलोलिटर डिजेल मौज्दात रहेको कार्यकारी निर्देशक भट्टले बताए । मुलुकभर १५ हजार ५०० किलोलिटर पेट्रोल र ३७ हजार १०० किलोलिटर डिजेल मौज्दात रहेको उनले जनाए ।

‘बाँचे फर्किन्छु’ भनेर आन्दोलनमा हिँडेका कमल फर्किएनन्

बिर्तामोड : भदौ २३ गते सोमबार जेन–जीको आन्दोलनका क्रममा १९ जनाभन्दा बढीको मृत्यु भएको खबर आएपछि देशभर आक्रोश चुलिएको थियो । सोही घटनाले पाँचथर हिलिहाङ–१ घर भई हाल बिर्तामोड–१० मा बसोबास गर्दै आएका ३१ वर्षीय कमल भण्डारीलाई पनि छोयो ।

भोलिपल्ट बिहान घरबाट निस्किनुअघि उनले श्रीमती सीतालाई भनेका थिए, ‘म आन्दोलनमा निस्किएँ, बाँचें फर्किन्छु, मरे भने सहिद बनौंला ।’ त्यसदिनदेखि उनी घर फर्किएनन् । मंगलबार रातिसम्म सीताले श्रीमान्को बाटो पर्खिरहिन् । फोन गर्दा घण्टी बज्थ्यो, तर कसैले उठाउ“दैनथ्यो । त्यो रात कमल घर फर्किएनन् । बाटो हेर्दाहेर्दै उनी निदाइन् ।

बुधबार बिहान उनले फेरि सहास जुटाएर फोन गरिन् । यसपटक भने फोन बीएन्डसी अस्पतालका सुरक्षा गार्डले उठाएर भने, ‘तपाईंका श्रीमान् अस्पतालमा हुनुहुन्छ, भेट्न आउनुहोस् ।’

आत्तिदै सीता अस्पताल पुगिन् । तर त्यहाँ कमलको शव देखेपछि उनी बेहोस भइन् । लामो समय कतारमा पसिना बगाएर ६ महिनाअघि मात्रै स्वदेश फर्किएका कमल बिर्तामोडमा घर निर्माणमा जुटिरहेका थिए। लामो समय खाडीमा दुःख गरेर केही रकम जोहो गरेका थिए । केही समयअघि घडेरी जोडेका थिए । अहिले त्यही घडेरीमा घर बनाउँदै थिए । सानो परिवारसँग चिटिक्कको घरमा बस्दै सुखमय जीवन बिताउने उनका सपना अधुरै रहे ।

भण्डारीको शव अहिले पनि बिर्तामोडस्थित बीएन्डसी अस्पतालमै छ । परिवारले शव बुझ्न अस्वीकार गर्दै आएको छ । आफन्त सन्तोष भण्डारीका अनुसार उचित क्षतिपूर्ति नपाएसम्म शव नबुझ्ने परिवारको अडान छ । ‘न्याय चाहिन्छ। अन्यायको पीडामा यसरी शव उठाएर चुप लाग्न सकिदैन,’ सन्तोष भन्छन् ।

६ वर्षीय छोरा रियान्सबुबा फर्किन्छन् भन्ने आशामा छन् । सीताले नाबालक छोरालाई वास्तविकता बताउने आँट जुटाउन सकेकी छैनन् । जेन–जी आन्दोलनका क्रममा झापामा भण्डारीसँगै अर्जुनधारा नगरपालिकाका ३० वर्षीय गोपाल सेढाईंको समेत मृत्यु भएको छ ।

नवनियुक्त प्रधानमन्त्री कार्की बानेश्वर र महाराजगञ्ज क्षेत्रको अनुगमनमा जाँदै

काठमाडौं — नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की दउँसो ३ बजेआसपास बानेश्वर र महाराजगञ्ज क्षेत्रको अवलोकनमा जाने भएकी छन् । स्रोतका अनुसार कार्की  तोडफोड र आगजनी भएका यी क्षेत्रको अवलोकनमा निस्कन लागेकी हुन् ।

जेन-जी प्रदर्शनका क्रममा तोडफोड, आगजनी र लुटपाट मच्चिँदा काठमाडौंसहित देशभर अकल्पनीय जनधनको क्षति भएको छ । यस क्रममा राष्ट्रपति भवन शीतल निवाससहित प्रधानमन्त्री निवास बालुवाटार, संसद् भवन, सिंहदरबार, सर्वोच्च न्यायालयसहितका संरचना जलेर खरानी भएका छन् ।

तोकिएको मितिमा निर्वाचन गराउन आयोग तयार

काठमाडौँ, २८ भदौः  निर्वाचन आयोगले तोकिएकै मितिमा निर्वाचन गराउन तयार रहेको जनाएको छ। प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शनिबार बिहान नेपालखबरसँगको कुराकानीमा निर्वाचन आयोग निर्वाचन गराउन तयार रहेको बताएका हुन्।

‘हामी निर्वाचन गराउन जहिले पनि तयारै छौँ,’ उनले नेपालखबरलाई भने, ‘मन्त्रिपरिषद्ले आकार लिएपछि यस विषयमा ठोस छलफल होला। हाम्रो तर्फबाट आजैदेखि तयारीमा लाग्छौँ।’

अन्तरिम सरकारको प्रधानमन्त्रीमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नियुक्त भएलगत्तै उनको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरी आउँदो फागुन २१ गते चुनाव तोकिसकेका छन्। कार्की ६ महिनामा चुनाव गराउने गरी शुक्रबार प्रधानमन्त्री नियुक्त भएकी हुन्। आज मन्त्रिपरिषद विस्तारबारे गृहकार्य चलिरहेको छ।

खोज्नुहोस