कुनै पनि सेवा सुविधा नलिने ऊर्जामन्त्री घिसिङको घोषणा

नवनियुक्त ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्री कुलमान घिसिङले कुनै पनि सरकारी सेवा सुविधा नलिने घोषणा गरेका छन्।

सोमबार दिउँसो सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले आफ्नो सेवा सुविधा सहिद परिवारलाई प्रदान गर्ने निर्णय गरेका हुन्। उनले आफूलाई माननीय नभन्न पनि भनेका छन्।

उनले आजैमात्र पद तथा गोपनीयताको शपथ लिएका हुन्। त्यस्तै उनी विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक पनि हुन्।

पहिलो महिला महान्यायाधिवक्ता भण्डारीले लिइन् पद तथा गोपनियताको सपथ

काठमाडौं । नवनियुक्त महान्यायाधिवक्ता सविता भण्डारी बरालले आज प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसमक्ष पद तथा गोपनीयताको शपथ लिएकी छन् । शपथ ग्रहण समारोह सर्वोच्च अदालतमा  भएको हो ।

प्रधानन्यायाधीश राउतले आयोजित विशेष कार्यक्रमबीच भण्डारी बराललाई शपथ गराएका थिए । कार्यक्रममा सर्वोच्चका न्यायाधीश सपना प्रधान मल्ललगायत उच्च न्यायिक अधिकारीहरूको उपस्थिति थियो । शपथ ग्रहणपछि भण्डारी बरालले महान्यायाधिवक्ता कार्यालयमा पदभार ग्रहण गर्ने कार्यक्रम छ ।

वरिष्ठ अधिवक्ता भण्डारी बराललाई  प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले महान्यायाधिवक्तामा नियुक्त गरेका थिए । पूर्वमहान्यायाधिवक्ता रमेश बडालको राजीनामा स्वीकृत भएपछि यो नियुक्ति भएको हो । भण्डारी बराल नेपालको इतिहासकी पहिलो महिला महान्यायाधिवक्ता बन्न सफल भएकी छन् । उनी ९२ वर्षीय वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीकी छोरी हुन् र लामो समयदेखि कानुनी क्षेत्रमा सक्रिय छन् ।

जेनजी आन्दोलनको दबाबमा गठित अन्तरिम सरकारकी प्रधानमन्त्री कार्कीले यो नियुक्तिमार्फत न्यायिक क्षेत्रमा महिलाको प्रतिनिधित्व बढाउने प्रयास गरेको बताइएको छ । भण्डारी बरालले शपथपछि आँफु ‘संविधानअनुसार कानुनी राज्य कायम राख्न र न्यायको पहुँच सुनिश्चित गर्न प्रतिबद्ध रहेको बताएकी छन् । यो नियुक्तिले अन्तरिम सरकारको न्यायिक सुधारको एजेन्डालाई बल पुर्याउने अपेक्षा गरिएको छ ।

सरकारले ६ महिनाभित्र निर्वाचन गराउने संवैधानिक जिम्मेवारी बोकेको सन्दर्भमा महान्यायाधिवक्ताको भूमिका महत्वपूर्ण हुने जनाइएको छ ।

भौतिक संरचना पुनर्निर्माणका लागि कोष खडा गर्ने मन्त्री घिसिङको घोषणा

काठमाडौं । नवनियुक्त भौतिक योजनामन्त्री कुलमान घिसिङले क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि विशेष कोष खडा गर्ने घोषणा गरेका छन् ।

उनले यस्तो कोषमा रकम जम्मा गर्नका लागि नेपाल बाहिर रहेका नेपालीलाई पनि अनुरोध गरेका छन् ।

मन्त्रालयको जिम्मेवारी सम्हाल्दै उनले कोषकोबारेमा मन्त्रिपरिषद्ले औपचारिक निर्णय गर्नेछ ।

‘हामीले तत्कालै क्षतिग्रस्त सार्वजनिक संरचनाहरु बनाउनुपर्नेछ,’ उनले भनेका छन्,’ आक्रोशको कारणले क्षति भयो । तर अब हामीले नै यो बनाउने हो  ।’

जेनजी प्रदर्शनको क्रममा मृत्यु भएका २७ जनाको शव आफन्तले बुझे

काठ्माण्डौँ – जेनजी प्रदर्शनको क्रममा मृत्यु भएका २७ जनाको शव आफन्तले बुझेका छन् । त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमपछि २७ शव आफन्तले बुझेर लगेको उपत्यका प्रहरी कार्यालयका एसएसपी शेखर खनालले रातोपाटीलाई बताए ।

भदौ २४ मा आन्दोलनकारीको आक्रमणमा परेर मृत्यु भएका ३ जना प्रहरीको शव पनि आफन्तले बुझेका छन् ।

शिक्षण अस्पतालमा अब १९ वटा शवको पोस्टमार्टम गर्न बाँकी छ । ५ शवको पोस्टमार्टम भए पनि आफन्तले बुझेका छैनन् । आगजनीमा परेर तथा नयाँ बानेश्वरमा प्रहरीसँग झडप हुँदा मृत्यु भएका ८ वटा शवको पहिचान खुलेको छैन ।

मृतकहरूको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने गृह मन्त्रालयले निर्णय गरेको छ । कस्तो प्रकारको सम्मान दिने भन्नेबारे मन्त्रिपरिषद्‍बाट निर्णय गरिने गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।

मन्त्री अर्यालका अनुसार प्रदर्शनमा प्रहरीको गोली लागेर मृत्यु भएका १२ जनाको पहिचान खुलेको छ ।

सिसिटिभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीविरूद्ध एनसेलले दियो प्रहरीमा उजुरी

काठमाडौं । काठमाडौको लैनचौर स्थित एनसेलको मुख्य कार्यलय ‘एनसेल आइकन’मा २०८२ भदौ २४ गतेका दिन जेनजी प्रदर्शन र आन्दोलनका नाममा विभिन्न अपराधी समुहहरुले मौका छोपी कार्यालयमा तोडफोड, आगजनी र डकैतीको घटना भएको र कम्पनीको सम्पत्तिमा ठूलो क्षति पुगेको भन्दै सोमबार एनसेलले जिल्ला प्रहरी कार्यलय, काठमाडौंमा उजुरी दर्ता गराएको छ ।

उजुरीमा यी घटनाहरुसँग संलग्न अपराधीहरुलाई पक्राउ गरी आवश्यक अनुसन्धान गरी कानूनको दायरामा ल्याई हदैसम्मको सजायको भागिदार बनाई निजहरुबाट डकैती गरी लगिएको सामान फिर्ता दिलाउन, साथै आगजनीबाट क्षति भएको सम्पत्तिको क्षतिपुर्ति समेत दिलाई भराई पाऊँ भनी उल्लेख गरिएको छ ।

आन्दोलनको नाममा अपराधीहरुले समुह बनाई कम्पनीको सुरक्षाको लागि खटिएका सुरक्षाकर्मीहरुलाई एकैठाउँमा राखेर जलाउने डरधाक धम्की दिई उनीहरुलार्ई कोठामा थुनी भवनमा तोडफोड तथा आगजनी गर्ने कार्य गरेको, भवनको अगाडि भागको सिसाहरु फुटाई कार्यालय भित्र प्रवेश गरि ग्राउन्ड फ्लोरमा रहेको कम्पनीको ग्राहक सेवा केन्द्र र रिसेप्सनमा रहेका कार्यालय प्रयोजनमा प्रयोग भएको उपकरणहरु तोडफोड तथा आगजनी गरेको, भवनको प्रत्येक तलामा प्रवेश गरी कार्यालयमा प्रयोग भएका प्रत्येक समानहरु तोडफोड गरेका, कम्पनीका सक्कल प्रमाणपत्र, अनुमतिपत्र, जग्गाधनी प्रमाणपुर्जा एवं कार्यालयका महत्वपुर्ण अन्य कागजात आगजनी वा डकैतीका साथै नगद र कम्पनीका सेफहरु समेत लुटेर लगेको उजुरीमा उल्लेख गरिएको छ ।

एनसेलले आफ्नो कार्यालयको दश वटै तलामा रहेका बहुमुल्य विद्युतीय समानहरु, कम्प्युटर, टेलिभिजन, प्रिन्टर, फ्रिज, ओभन, कफी भेन्डर मेसिन लगायतका सम्पूर्ण कार्यलयको काममा प्रयोग हुने सामानहरु डकैती गरी लगेको, कर्मचारीहरुलाई वितरण गरेको प्रत्येक लकर फोडी ल्यापटप तथा अन्य व्यक्तिगत सामान तथा गहनाहरु डकैती गरेको, मिटिङ हलमा रहेको टिभी, मोनिटरहरु तथा भवनको दोश्रो तलामा रहेको फिटनेशका सामानहरु बाहिर फालि केही उपकरण आगजनी गरी र अधिकांश उपकरणहरु डकैती गरी झिकेर लगेको, कम्पनीका आफ्नै र तेश्रोपक्षबाट भाडामा लिएका महंगा मोटरगाडीहरु भेहिकल रुपबाट गाडीका साँचो नियन्त्रणमा लिई पालै पालो गरि भवनको आँगनमा ल्याई जलाएको र केही सवारी साधन भवनको कम्पान्ड बाहिर बाटोमा ल्याई आगो लगाई पूर्ण रुपमा ध्वस्त गरेको र कम्पनीका कर्मचारीका गाडीहरु समेत तोडफोडका साथै आगजनी गरी ठुलो आर्थिक तथा भौतिक नोक्सानी गरेको उजुरीमा खुलाएको छ ।

प्रहरीमा दिइएको उजुरी अनुसार कम्पनीले घटनामा पुगेको क्षतिको विवरण तथा लुटिएका सम्पत्तिको सूची प्रहरीलाई उपलब्ध गराएको छ । साथै, घटनाको क्रममा कैद भएका सम्पूर्ण सिसिटिभि फुटेज पनि अनुसन्धानलाई सहयोग पु¥याउने उद्देश्यले प्रहरीलाई हस्तान्तरण गरिएको जनाएको छ ।

तोडफोड, आगजनी, डकैतिबाट कम्पनीको सम्पतिमा भएको वास्तविक क्षति यकिन गर्न मुल्याङ्कनको कार्य भैरहेको हुँदा अनुसन्धानको सिलसिलामा सोको थप विवरण उपलब्ध गराउने पनि जानकारी सो उजुरीमा खुलाएको छ ।

विद्युत् प्राधिकरणको वक्यौता रकम उठाउने ऊर्जामन्त्रीको पहिलो निर्णय

काठमाडौं । नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेका छन् ।

सोमबार पदभार ग्रहण गर्दै ऊर्जामन्त्री घिसिङले पहिलो निर्णय समेत गरेका छन् ।

मन्त्री घिसिङले विद्युत् प्राधिकरणको वक्यौता बापतको रकम उठाउने पहिलो निर्णय गरेका छन् ।

साथै ऊर्जामन्त्री घिसिङले खादा-माला तथा अबिर केही पनि नलिने घोषणा समेत गरेका छन् ।

प्रधानमन्त्री कार्कीले तत्काल १५ मन्त्रालय आफैं हेर्ने

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की मन्त्रीमण्डल विस्तारमा लागिपरेकी छन् । कार्कीले आज तीन मन्त्री नियुक्त समेत गरेकी हुन् । कार्कीले तत्काल प्रधानमन्त्री बाहेक १५ मन्त्रालय आफैंले सम्हाल्नेछिन् ।

जसमा उद्योग, वाणिज्य तथा आपूर्ति कृषि तथा पशुपन्छी विकास,खानेपानी, परराष्ट्र, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, युवा तथा खेलकुद, रक्षा, वन तथा वातावरण, शिक्षा, विज्ञान तथा प्रविधि, मन्त्रालय यस्तै  श्रम, रोजगार तथा सामाजिक सुरक्षा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन,  सङ्घीय मामिला तथा सामान्य प्रशासनस सञ्चार तथा सूचना प्रविधि र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय रहेका छन् ।

त्यस्तै, प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी प्रमुख कुलमान घिसिङलाई उर्जा जलस्रोत तथा सिँचाई मन्त्रालयसहित ३ मन्त्रालयको जिम्मेवारीमा आजै नियुक्त गरेका छन् । कुलमानलाई शहरी विकास र भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको जिम्मेवारी दिइएको छ ।

यस्तै अधिवक्ता समेत रहेका ओम प्रकाश अर्याललाई गृह र कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ भने रामेश्वर खनालले अर्थमन्त्रीकाे जिम्मेवारी पाएका छन् । नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनियताको शपथग्रहण गरेका छन् । साथै आजै पदभार समेत ग्रहण गरिसकेका छन् ।

ऊर्जामन्त्री घिसिङले गरे पदभार ग्रहण, विद्युत् प्राधिकरणको वक्यौता रकम उठाउने पहिलो निर्णय

काठमाडौं । नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेका छन् ।

सोमबार पदभार ग्रहण गर्दै ऊर्जामन्त्री घिसिङले पहिलो निर्णय समेत गरेका छन् ।

मन्त्री घिसिङले विद्युत् प्राधिकरणको वक्यौता बापतको रकम उठाउने पहिलो निर्णय गरेका छन् ।

साथै ऊर्जामन्त्री घिसिङले खादा-माला तथा अबिर केही पनि नलिने घोषणा समेत गरेका छन् ।

राष्ट्रिय मानव अधिकार आयोगद्वारा ९ बुँदे आह्वान

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनको जगमा नयाँ सरकार गठन भइसकेको वर्तमान सन्दर्भमा सम्बन्धित सबैलाई ९ बुँदे आह्वान गरेको छ ।

आयोगले जेनजी प्रदर्शनका क्रममा मृत्यु भएकाहरूको पोस्टमार्टम, दाहसंस्कार तथा पीडित परिवारलाई राहतलगायतका कार्यमा विशेष ध्यान दिन तथा  देश, जनता, लोकतन्त्र, मानव अधिकार र विधिको शासनलाई केन्द्रमा राखी सबै सरोकारवालाहरूको सहभागितामा आगामी कार्यहरू अगाडि बढाउन आह्वान गरेको छ ।

यस्तै आयोगले आफ्ना मागहरू लोकतान्त्रिक विधि र प्रक्रिया अनुरूप शिष्टतापूर्वक राख्न पनि सोमबार आह्वान गरेको छ । आयोगले मुलुकमा विकसित घटनाक्रम र त्यसको निकास प्रयासलाई नजिकबाट नियालिरहेको  समेत विज्ञप्तिमार्फत जनाएको छ ।

– जेनजी प्रदर्शनका क्रममा मृत्यु भएकाहरूको पोस्टमार्टम, दाहसंस्कार तथा पीडित परिवारलाई राहतलगायतका कार्यमा विशेष ध्यान दिन,

– देश, जनता, लोकतन्त्र, मानव अधिकार र विधिको शासनलाई केन्द्रमा राखी सबै सरोकारवालाहरूको सहभागितामा आगामी कार्यहरू अगाडि बढाउन,

– अन्योलपूर्ण अवस्थालाई तात्विक निष्कर्षमा पुर्‍याउन सबैले धैर्य र संयमतापूर्वक अगाडि बढ्न,

– आफ्ना अभिव्यक्तिहरू सार्वजनिक गर्दा अरूको अधिकारको सम्मान गर्दै शिष्टता र नम्रतापूर्वक सम्प्रेषण गर्न तथा द्वन्द्व हिंसालाई प्रश्रय दिने अभिव्यक्ति नदिन,

– आफ्ना मागहरू लोकतान्त्रिक विधि र प्रक्रिया अनुरूप शिष्टतापूर्वक राख्न,

– विकसित परिस्थितिमा आम सर्वसाधारणको मानव अधिकारको उपभोगमा आइपर्ने अवरोधहरूको पहिचान गरी त्यस्ता अवरोधहरू हटाउन प्रभावकारी कार्य गर्न,

– सङ्कटको अवस्थामा हुन सक्ने कालोबजारी र कृत्रिम अभावलाई नियन्त्रण गरी दैनिक उपभोग्य सामग्री र सेवालाई सुचारु रूपले सञ्चालन गर्न तथा आम नागरिकहरूको आवतजावतलाई सहज बनाउन,

– प्रदर्शनको क्रममा भएका आगजनी र तोडफोडबाट भएको क्षतिको विवरण सङ्कलन गरी भौतिक पुनर्निर्माण र सेवा प्रवाहमा जोड दिन,

– सङ्कटपूर्ण अवस्थालाई सामान्यीकरण गर्न सबै संघसंस्था र नागरिक समाजले जिम्मेवार नागरिकको आफ्नो दायित्व पूरा गर्न ।

तीन दिन राष्ट्रिय शोक मनाउने गृहमन्त्रीको पहिलो निर्णय

काठमाडौँ- सरकारले जेनजी आन्दोलनमा सहिद भएकाहरूको सम्झनामा तीन दिन राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ।

शीतल निवासमा आज राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएर सिंहदरबारस्थित गृह मन्त्रालयमा पदभार सम्हाल्दै गृहमन्त्री ओमप्रकाश अर्यालले उक्त निर्णय गरेका हुन्।

सहिदहरूको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाइने छ। आन्दोलनमा घाइते भएकाहरूका परिवारलाई एक एक लाख रुपैयाँका दरले राहत दिने निर्णय पनि भएको छ।

शवहरू व्यवस्थापनका लागि सरकारले नि:शुल्क सवारीसाधन उपलब्ध गराउने र विकट ठाउँमा हेलिकप्टरबाट पुर्‍याउने निर्णय पनि गरिएको छ।

अर्थमन्त्री खनालको पहिलो निर्णय, पूर्वतयारी नभएका आयोजना कार्यान्वयन नगर्ने

अन्तरिम सरकारका नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले पूर्वतयारी नभएका र प्राथमिकतामा नपरेका टुक्रे आयोजना कार्यान्वयन नगर्ने पहिलो निर्णय गरेका छन्।

उनले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले दिएको प्रतिवेदन कार्यान्वयन हुने समेत बताएका छन्। खनालकै अध्यक्षतामा केही समयअघि उच्चस्तरीय आर्थिक सुधार सुझाव सिफारिस आयोग बनेको थियो।

उनले अध्यक्षका रूपमा केपी ओली सरकारलाई ४४७ पृष्ठ लामो प्रतिवेदन बुझाएका थिए। अर्थतन्त्रको कमजोरी कहाँ छ, समस्या किन आयो, तत्काल के गर्नुपर्छ र दीर्घकालीन उपाय के हुन् भन्ने विषयमा उनले ठोस सुझाव दिएका थिए।

सोमबार गोपिनयताको सपथ तथा पदभार  ग्रहणसँगै अर्थमन्त्रालय पुगेका अर्थमन्त्री खनालले शुवेच्छकहरूबाट खादा लगाउन मानेनन्।अर्थमन्त्रीको रूपमा जिम्मेवारी सम्हालेपनि उनले यो अवधिमा तलब, गाडी तथा मन्त्री क्वार्टर सुविधा नलिने बताएका छन्। सरकारले गठन गरेको मन्त्रीहरूमा अर्थमन्त्री खनाललाई पहिलो वरीयतामा राखिएको छ।

अर्थमन्त्री खनाल पूर्वअर्थसचिव हुन्।

गृहमन्त्री अर्यालले गरे पदभार ग्रहण

काठमाडौं । नवनियुक्त गृहमन्त्री ओमप्रकाशगृहमन्त्रीले पदभार ग्रहण गरेका छन् ।

शीतलनिवासमा शपथ ग्रहण गरेलगत्तै मन्त्री अर्यालले पदभार ग्रहण गरेका हुन् ।

प्रधानमन्त्री सुशीला कार्कीले उनीसहित तीन जनालाई आज मन्त्री नियुक्त गरेकी थिइन् । आजै राष्ट्रपति निवास शीतलनिवासमा आयोजित विशेष समारोहमा उनले शपथ लिएका थिए ।

शपथ लगत्तै सिंहदरबार पुगेर उनले पदभार ग्रहण गरेका हुन् ।

अर्याललाई अर्थको अलवा कानुन मन्त्रालयको पनि जिम्मेवारी दिइएको छ । उनी पछिल्लो पटक काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहका सल्लाहकारको भूमिकामा रहेका थिए ।

अर्थमन्त्री खनालले गरे पदभार ग्रहण

काठमाडौं । नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले पदभार ग्रहण गरेका छन् । शीतलनिवासमा शपथ ग्रहण गरेलगत्तै मन्त्री खनालले पदभार ग्रहण गरेका हुन् ।

प्रधानमन्त्री सुशीला कार्कीले उनीसहित तीन जनालाई आज मन्त्री नियुक्त गरेकी थिइन् । आजै राष्ट्रपति निवास शीतलनिवासमा आयोजित विशेष समारोहमा उनले शपथ लिएका थिए ।

शपथ लगत्तै सिंहदरबार पुगेर उनले पदभार ग्रहण गरेका हुन् ।

खनाललाई अर्थको अलवा भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको पजि जिम्मेवारी दिइएको छ ।

आजदेखि खुले सिनेमा हल

काठ्माण्डौँ – जेनजी आन्दोलनका कारण ठप्प भएका देशभरका सिनेमा हलहरू सोमबारदेखि खुलेका छन्। हल खुलेसँगै यसअघिका फिल्महरू नै प्रदर्शनमा आएका छन्।

‘रिमै’ र ‘कोशेढुंगा’, ‘गुन्योचोलो’, ‘मोहर’ लगायतका फिल्महरू प्रदर्शनमा आएका हुन्। केही विदेशी फिल्महरू समेत हलमा लागेका छन्।

नेपाल चलचित्र संघको आइतबार बसेको बैठकले सोमबारदेखि सिनेमा हलहरू खुलाउने निर्णय गरेको थियो। सिनेमा हलहरू गत मंगलबारदेखि बन्द थिए।

अन्तरिम सरकारका तीन मन्त्रीले लिए सपथ

काठमाडौं । जेन–जी आन्दोलनको बलमा गठन भएको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले आफ्नो मन्त्रिपरिषद् विस्तार गरेको छ ।

ऊर्जा जलश्रोत तथा सिँचाईमन्त्री कुलमान घिसिङ, गृहसहित कानुन मन्त्री ओमप्रकाश अर्याल र अर्थमन्त्री सम्हालेका रामेश्वर खनालले आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनियताको सपथ लिएका छन् ।

नवनियुक्त मन्त्रीहरूमध्ये खनाललाई अर्थ, घिसिङलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास, अर्याललाई गृह र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी तोकिएको छ । बाँकी मन्त्रालयको कार्यभार प्रधानमन्त्री कार्कीले नै सम्हाल्नेछिन् ।

मन्त्रिपरिषद्मा आएका यी तिनै पात्र विषय विज्ञ हुन् । गृहसहित कानुन मन्त्री सम्हालेका अर्याल कानुनविद् हुन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोग प्रमुख लोकमानसिंह कार्कीको नियुक्तिविरूद्ध सर्वोच्च अदालतमा रिट दायर गरेपछि उनी चर्चामा आएका थिए । उनी हाल काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका कानुनी सल्लाहकार पनि हुन्।

सुशीला कार्कीको अन्तरिम सरकार प्रमुख नियुक्ति क्रममा राष्ट्रपति रामचन्द्र पौडेलसँग वार्ता गर्नमा पनि उनी संलग्न थिए । शपथ ग्रहण समारोहमा पनि उनी सहभागी भएका थिए ।

त्यस्तै, पूर्वअर्थसचिव खनाल देशको अर्थतन्त्रका ज्ञाता हुन् । अर्थतन्त्रको कमजोरी कहाँ छ, समस्या किन आयो, तत्काल के गर्नुपर्छ र दीर्घकालीन उपाय के हुन् भन्ने विषयमा जानकार उनी यो परिस्थितीमा उपयुक्त पात्र मानिन्छन् ।

ऊर्जामन्त्रीमा अर्को नाम कुलमान घिसिङलाई नचिन्ने प्रायः कोही होलान् । उनी उज्यालो नेपालका नायक मानिन्छन् । आफ्नो व्यवस्थापकीय क्षमताका कारण नेपाललाई लोडसेडिङबाट मुक्त गराएको भनी आमजनतामा लोकप्रिय घिसिङलाई केही महिनाअघि मात्रै केपी शर्मा ओली सरकारले नै प्राधिकरणबाट बर्खास्त गरेको थियो।

वेस्ट इन्डिजविरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं । वेस्ट इन्डिजविरुद्धको ट्वान्टी–२० शृंखलाका निम्ति नेपाली राष्ट्रिय क्रिकेट टिमको घोषणा गरिएको छ । मुख्य प्रशिक्षक स्टुवर्ड लले सोमबार (भदौ ३०) रोहितकुमार पौडेलको कप्तानीमा १६ सदस्यीय राष्ट्रिय टिमको घोषणा गरेका हुन् ।

नेपाली टिममा अलराउन्डर मोहम्मद आदील आलमले पुनरागमन गरेका छन् । ०७९ सालमा आयोजित नेपाल टी–२० प्रतियोगितामा ‘स्पट फिक्सिङ’ मुद्दामा मुछिएपछि आदील राष्ट्रिय टिमबाट बाहिर थिए ।

नेपालले युनाइटेड अरब इमिरेट्स (यूएई)मा तीन खेलको शृंखला खेल्ने तालिका छ । नेपाली क्रिकेटको इतिहासमा विश्वकप विजेतासँग हुन लागेको यो पहिलो टी–२० शृंखला समेत हो ।

नेपालले सेप्टेम्बर २७ मा शृंखलाको पहिलो खेल खेल्ने छ । सेप्टेम्बर २९ मा दोस्रो खेल खेल्नेछ । सेप्टेम्बर ३० मा तेस्रो तथा अन्तिम खेल खेल्नेछ । यी सबै खेल शारजाह क्रिकेट रंगशालामा हुनेछ ।

नेपाल क्रिकेट संघ (क्यान)ले यी दुई टिमबीचको शृंखलालाई ‘युनिटी कप’ नाम दिएको छ । क्यानले यो शृंखला ‘जेनजी’ प्रदर्शनका क्रममा ज्यान गुमाएकाप्रति समर्पित रहेको जनाएको छ ।

जेन–जी आन्दोलनका क्रममा लगिएका मालसामान फिर्ता गर्न संसद सचिवालयको आग्रह

काठमाडौं– संघीय संसद् सचिवालयले जेन–जी आन्दोलनका क्रममा भदौ २४ गतेको प्रदर्शनका क्रममा लगिएका मालसामान फिर्ता गर्न आग्रह गरेको छ ।

सचिवालयले सोमबार सूचना जारी गरेर प्रदर्शनका क्रममा नयाँ बानेश्वरस्थित संघीय संसद् भवन आगजनीका क्रममा लगिएका मालसामान फिर्ता गर्न आग्रह गरेको हो ।

‘मालसामानहरू कुनै पनि अवस्थामा आफूसँग रहेको भएमा फिर्ता गरिदिनुहुन एवम् ती मालसामन रहेको स्थान तथा व्यक्तिको वतन जानकारी भएमा संघीय संसद सचिवालयमा सूचना दिनुहुन अनुरोध गरिन्छ,’ सूचनामा भनिएको छ ।

संसद् सचिवालयले मालसामानहरू लगेको भिडिओ भएमा उपलब्ध गराई सहयोग गरिदिन पनि आह्वान गरेको छ । भिडिओ–सूचना दिने व्यक्तिको परिचय गोप्य राखिने सूचनामा उल्लेख छ ।भवन परिसरमा भएको आगजनी, तोडफोड एवम् लुटपाटका घटनापश्चात् गरिएको स्थलगत अनुगमन, निरीक्षण तथा विभिन्न माध्यमबाट प्राप्त जानकारीअनुसार संघीय संसद सचिवालयको स्वामित्वमा रहेका टेबल, कुर्सी, कम्प्युटर, प्रिन्टर, स्क्यानर, क्यामेरा, टेलिभिजन, मोनिटर, माइक, मिक्स्चर, स्पिकर, फोटोकपी मेसिन, विद्युतीय उपकरणलगायतका मालसामानहरू अनधिकृत व्यक्तिले लगेको सूचनामा उल्लेख छ ।

साफ यू-१७ पुरुष च्याम्पियनसिप नेपाल र श्रीलंका खेल्दै

साफ यू- १७ पुरुष च्याम्पियनसिपको उद्घाटन खेलमा आज नेपाल र श्रीलंका खेल्दै छन्।

श्रीलंकाको रेसकोर्स अन्तर्राष्ट्रिय रंगशालामा हुने खेल नेपाली समय अनुसार ७: १५ देखि सुरु हुनेछ। समूह ए मा रहेको नेपालसँग आयोजक राष्ट्र श्रीलंका र बङ्गलादेश छन्।

समूह बी मा भने भारत, पाकिस्तान, मालदिभ्स र भुटान रहेका छन्।यो  प्रतियोगितामा कूल ७ टोलीले सहभागिता जनाउँदै छन्।

आजदेखि देशका विभिन्न ठाउँमा सहुलियत मूल्य पसल सञ्चालन

काठमाडौँ – नजिकिँदो चाडपर्व लक्षित गरी आजदेखि सहुलियत मूल्य पसल सञ्चालन गरिने भएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको भदौ ८ गतेको निर्णयानुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत सुपथ मूल्य पसल सञ्चालन गरिने भएका हुन् । आम उपभोक्ताको हितलाई ध्यानमा राखी अत्यावश्यक खाद्य तथा उपभोग्य वस्तु सहुलियत मूल्यमा उपलब्ध गराउन चाडबाड अवधिभर यस्ता पसल सञ्चालनमा ल्याउन लागिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण महाशाखा प्रमुख शिवराम पोखरेलका अनुसार सहुलियत मूल्य पसल सञ्चालनका लागि खाद्य व्यवस्था कम्पनी र साल्ट ट्रेडिङलाई परिपत्र भइसकेको छ ।

खाद्य व्यवस्था कम्पनीले सञ्चालन गर्ने सहुलियत मूल्य पसलमा सबै किसिमको चामल तथा दाल, गहुँ, चिनी र गेडागुडीमा प्रतिकिलो पाँच रुपैयाँ छुट हुनेछ । त्यसैगरी चिउरा, आटा, पिठो, मैदामा प्रतिकिलो सात रुपैयाँ छुट पाइनेछ ।

साल्ट ट्रेडिङ कर्पोरेसनले काठमाडौँ उपत्यकामा तीनवटा घुम्ती पसलसहित १५ स्थानमा सहुलियत मूल्य पसल सञ्चालन गर्नेछ ।।

अर्थमन्त्री हुनुअघि रामेश्वर खनालको शर्त– पीएसओ र गाडी सुविधा नलिने

काठमाडौं । सुशीला कार्की नेतृत्वको सरकारमा अर्थमन्त्री बन्ने तयारीमा रहेका अर्थशास्त्री डा. रामेश्वर खनालले मन्त्री भएबापत अतिरिक्त सुविधा नलिने घोषणा गरेका छन् ।

बालुवाटार निकट स्रोतका अनुसार, उनले निजी सुरक्षागार्ड (पीएसओ), सवारीसाधन लगायत सुविधा नलिने शर्त राखेरै मन्त्री पद स्विकार गरेका हुन् ।

बालुवाटार स्रोतले भन्यो, ‘तलब बाहेक अरु केही पनि सुविधा लिँदिनँ, नामका अगाडि माननिय लेख्न पाइँदैन भन्ने शर्त राख्नुभएको थियो । त्यसमा हाम्रो के नै विमति हुन्छ र ?’  खनालले तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको आर्थिक सल्लाहकार रहँदा पनि सरकारी सेवा सुविधा लिएका थिएनन् ।

६० हजारभन्दा बढी मुद्दाका फाइल जलेपछि सर्वोच्चले निकाल्यो ३ उपाय

सर्वोच्च अदालतमा हजारौं मुद्दाको फाइल जलेर खरानी भएपछि अहिले दुइटा प्रश्न उब्जिएको छ — एउटा, टुंगो लागिसकेका पुराना मुद्दाको फाइल फेरि कसरी प्राप्त गर्ने? दोस्रो, सुनुवाइ क्रममा रहेका मुद्दा कसरी अघि बढाउने? जेन–जी आन्दोलनपछि भदौ २४ गते सर्वोच्च अदालतमा आगजनी भएपछि अन्दाजी ६० हजारभन्दा बढी मुद्दाका मिसिल जलेको कर्मचारीहरू अनुमान गर्छन्। तीमध्ये कति पूर्ण रूपमा जलेको वा कति सुरक्षित रहेको यकिन तथ्यांक आइसकेको छैन।

यस्तो अवस्थामा जलेका फाइल कसरी प्राप्त गर्ने र सुनुवाइमा रहेका मुद्दा कसरी बढाउने भन्नेमा सर्वोच्चका कर्मचारीहरूले तीन उपाय निकालेका छन् —

पहिलो उपाय

सर्वोच्चले सुनुवाइ जारी रहेका मुद्दाका फाइल सेवाग्राही र तिनका वकिलहरूबाट फिर्ता लिने तयारी गरेको छ।

हरेक मुद्दाको फाइल अदालत र सम्बन्धित सेवाग्राहीका वकिल दुवै पक्षले राखेको हुन्छ। अदालतमा रहेको फाइल जलेर नष्ट  भए पनि सेवाग्राहीका वकिलबाट मगाएर अदालती प्रयोजनमा ल्याउन सकिने सर्वोच्चका कर्मचारी बताउँछन्। यसको निम्ति आइतबार तारेख धाउन आएका सेवाग्राहीसँग कर्मचारीहरूले सबै कागजात फिर्ता ल्याउन भनिरहेका थिए।

‘तपाईंहरूसँग भएका फाइल जे जति छन्, ती फाइल लिएर आउनुस्,’ ती कर्मचारीले तारिख लिन आएकाहरूलाई भनेका छन्।

यसबाट कम्तिमा सुनुवाइ भइरहेका २४ हजार मुद्दाका मिसिल प्राप्त गर्न सकिने सर्वोच्चको अनुमान छ। सेवाग्राहीहरू आफैले ल्याएका फाइल फोटोकपी गरी सर्वोच्चमा राख्न सकिन्छ। यसलाई नै ‘डिजिटलाइज’ पनि गर्न सकिन्छ।

दोस्रो उपाय

सर्वोच्च अदालतले जलेका मुद्दा पुन: प्राप्त गर्न आन्तरिक इमेल प्रयोग गर्दैछ।

सर्वोच्चका सूचना अधिकारी निराजन पाण्डेका अनुसार सर्वोच्चको आन्तरिक इमेलमा पनि थुप्रै मुद्दाका विवरण सेभ छन्।

‘म आफैले कतिपय मुद्दाका मिसिल इमेलमार्फत पठाउने गरेको छु,’ उनले भने, ‘कागजातमा राख्नुभन्दा इमेलमा राखेकाले कतिपय मिसिल सुरक्षित हुनसक्छन्। हेर्न भ्याइएको छैन।’

यसरी नै अन्य कर्मचारीले पनि इमेलमा फाइलहरू राख्न सक्ने भएकाले कतिपय सुरक्षित हुन सक्छन्।

तेस्रो उपाय

तेस्रो उपायका रूपमा सर्वोच्च अदालतले वकिलहरूसँग सहयोग मागेको छ।

यसका लागि सर्वोच्च अदालतले शुक्रबार नेपाल बार एसोसिएसनका प्रतिनिधि तथा अन्य वकिलहरूसँग पनि छलफल गरेको थियो। वकिलहरूसँग पनि मुद्दाका मिसिल वा त्यसको फोटोकपी हुनसक्ने भएकाले पुन: प्राप्तिका लागि सहयोग माग गरिएको थियो।

यी तीनैवटा उपायबाट मुद्दाका मिसिल प्राप्त गर्न सर्वोच्च अदालतका कर्मचारी गत बिहीबारदेखि नै व्यवस्थापनको काममा जुटेका छन्।

अहिले कतिपय फैसला भइसकेका मुद्दाका मिसिल सर्वोच्च परिसरभित्र रहेको एनेक्स भवनमा छन्। त्यहाँको भवन र फाइलहरू जोगिएका छन्। तर चालू अवस्थामा रहेका फाइल अधिकांश नष्ट भएका छन्। सर्वोच्चले केही समयपछि यसको यकिन तथ्यांक निकाल्ने सूचना अधिकारी पाण्डेले बताए।

उनका अनुसार भदौ २२ गतेसम्म २४ हजार २३४ वटा मुद्दा बाँकी छन्।

ती मुद्दामध्ये दुई वर्ष नाघेका मात्र ७८ हजार ७६२ वटा मुद्दा छन् भने पाँच वर्ष नाघेका १२०२ वटा मुद्दा छन्। थुनुवासँग सम्बन्धित १ हजार ९०९ वटा र फुटकर निवेदन ५०९ वटा छन्।

महान्यायाधिवक्ता बडालले दिए राजीनामा

काठमाडौं । महान्यायाधिवक्ता रमेश बडालले राजीनामा दिएका छन् ।

बडालले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राजीनामा पेश गरेका हुन् ।

हरेक सरकार गठनपछि प्रधानमन्त्रीको सिफारिसमा नियुक्त हुने महान्यायाधिवक्ताले नयाँ प्रधानमन्त्री नियुक्त हुनासाथ राजीनामा दिने अभ्यास छ ।

नवनियुक्त प्रधानमन्त्री कार्कीले महान्यायाधीवक्ताको सिफारिस गरिसकेकी छैनन् ।

कैलाली कारागार फर्किए १ सय १८ कैदी

यशोदा शर्मा, कैलाली । धनगढीमा भदौ २४ गते जने जी आन्दोलनका क्रममा भागेका १ सय १८ कैदी कैलाली कारागारमा फर्किएका छन् । कारागार प्रशासनले सबै कैदीलाई फर्कन सूचना जारी गरेपछि उनीहरू कारागारको सम्पर्कमा आउन थालेका हुन । कतिपयलाई भाग्ने क्रममा पनि प्रहरीले पक्राउ गरेको छ । कैलाली कारागारका जेलर चिरञ्जीवी सापकोटाले आज मात्रै १५ जना महिला कैदी कारागारको सम्पर्कमा आएको बताए ।

उनका अनुसार दुई जना दाङ, दुई दार्चुलाबाट पक्राउ परेका छन् । बझाङबाट पक्राउ परेका दुई जना उपचार भइरहेको छ । उनीहरू भाग्ने क्रममा घाइते भएका थिए । यस्तै एक जना भारतीय कैदी पनि सम्पर्कमा आएका छन् । अन्यको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ । कैलाली कारागारमा ६ सय १८ कैदी थिए । आन्दोलनका क्रममा प्रदर्शनकारी कारागार प्रवेश गरेपछि सबै कैदी फरार भएका हुन ।

सामान्य अवस्थामा फर्किदै कैलालीका बजारहरु (फोटो फिचर)

खेमराज उपाध्याय, कैलाली । भदौ २४ गते भएको जेनजी आन्दोलनले धनगढीका विभिन्न सरकारी कार्यालय जलेर ध्वस्त भए । जिल्ला प्रशासन कार्यालय कैलालीको विवरण अनुसार १०८ सरकारी भवन, एक सयभन्दा बढी  चार पाङ्ग्रे गाडी र पाँच सयभन्दा बढी मोटरसाइकल आगजनीले नष्ट भएका छन् । यो प्रारम्भिक विवरण मात्रै हो । निजी घर र सम्पत्तिमा पनि तोडफोड र आगजनी भएको छ ।

आन्दोलन पछि करिब पाँच दिन पूर्ण रूपमा बन्द भएको धनगढी बजारमा हिजो देखि चहलपहल बढेको छ । स्थानीय प्रशासनले लगाएको कर्फ्यु र निषेधाज्ञा हटेसँगै ठप्प भएका सवारी साधान पहिलेकै तुलनामा गुड्न थालेका छन् । सबै पसलहरू खुल्न थालेका छन् ।

व्यापारीहरूका अनुसार हिजो भन्दा आज ग्राहक पनि बढेका छन् । होटेल, नास्ता पसल, बैङ्क तथा वित्तीय संस्था र अस्पताल लगायतका ठाउँमा मानिसहरूको भिडभाड बढ्न थालेको छ । धनगढी सहित कैलालीको अत्तरिया, टिकापुर, सुखड, चौमाला, हसुलिया लगायतका बजारहरु पनि सामान्य अवस्थामा फर्कन थालेका छन् ।

आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका ठाउँमा सरसफाइ भइरहेको छ । घर भित्रै रोकिएका मानिसहरू ज्याला मजदुरी र दैनिक कामकाजमा फर्कन थालेका छन् । यसले केही दिन ठप्प रहेको बजारलाइ पुनः चलाएमान बनाएको छ ।

सरकारको भुक्तानी प्रणाली सुचारु, दशैं अगाडि नै कर्मचारीको तलब-भत्ता

काठमाडौं । नेपाल सरकारको भुक्तानी प्रणाली सुचारु भएको छ । अर्थ मन्त्रालयका प्रवक्ता तथा सहसचिव टंकप्रसाद पाण्डेयका अनुसार सरकारले आजैदेखि भुक्तानी दिने काम थालिसकेको छ ।

उता, राजस्व संकलनको काम समेत सुचारु भएको छ । धेरैजसो भन्सार विन्दु सञ्चालनमा आएका छन् । पूर्णक्षति भएका केही आन्तरिक राजस्व कार्यालयबाहेक अन्य कार्यालय समेत सञ्चालनमा आइसकेको प्रवक्ता पाण्डेयले जानकारी दिए ।

अर्थ मन्त्रालय मातहत १४ वटा आन्तरिक राजस्व कार्यालय र ५ भन्सार कार्यालयमा जेनजी आन्दोलनकारीले तोडफोड गरेका थिए । चार आन्तरिक राजस्व कार्यालय र चार भन्सार कार्यालयमा भने आंशिक क्षति भएको छ ।

सरकारको भुक्तानी सुचारु भएसँगै सरकारको ढुकुटीबाट तलब-भत्ता पाउने सबै कर्मचारीले दशैं अगाडि नै तलब-भत्ता पाउने भएका छन् ।

‘सरकारले नियमित प्रक्रियाबाट दिनुपर्ने आवश्यक भुक्तानीहरू अब क्रमश: गर्छ,’ उनले भने । अहिले चालु आर्थिक वर्षको दोस्रो महिना चलिरहेको छ । यसबेला पूँजीगत तर्फको खर्च धेरै नहुँदा चालु खर्च मात्र धेरै हुन्छ ।

सरकारको ढुकुटीमा अनिवार्य दायित्व भुक्तानी गर्न आवश्यक पर्याप्त रकम रहेको समेत उनले जानकारी दिए । सरकारको अनिवार्य दायित्व अन्तर्गत तलव भत्ता र सामाजिक सुरक्षाको भुक्तानी समेत हुनेछ । अन्य दायित्वको हकमा भने सरकारले प्राथमिकताका आधारमा भुक्तानी गर्ने उनी बताउँछन् ।

काठमाडौंमा अर्थ मन्त्रालय करिब सुरक्षित अवस्थामा छ । मुख्य भवन अगाडि रहेको सानो भवन जलाइएको छ । उपत्यका भित्रका आन्तरिक राजस्व विभाग, भन्सार विभाग र अन्य आन्तरिक कार्यालय समेत सुरक्षित रहँदा अर्थले आफ्नो कामलाई छिट्टै सुचारु गर्न सकेको हो ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार शनिबारसम्म सरकारले १ खर्ब ४४ अर्ब ५८ करोड राजस्व उठाइसकेको छ । अन्य आम्दानीसहित शनिबारसम्म सरकारको ढुकुटीमा १ खर्ब ४६ अर्ब ९२ करोड संकलन भएको छ । यसै अवधिसम्म सरकारको खर्च १ खर्ब २० अर्ब ७८ करोड रुपैयाँ रहेको छ । आर्थिक वर्षको पहिलो दुई महिना सकिँदासम्म सरकारको ढुकुटी बचतमै देखिन्छ । तर, दशैं भत्तासहित अनिवार्य दायित्वको सबैभन्दा ठूलो हिस्सा भने भदौ मसान्तसम्म खर्च हुनेछ ।

अघिल्लो सरकारले १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट ल्याएको थियो । यसमध्ये राजस्व संकलनबाट मात्र १४ खर्ब ८० अर्ब राजस्व संकलनको लक्ष्य राखेको थियो । २३ र २४ भदौमा निजी क्षेत्रमाथि भएको आक्रमण र उद्योग/व्यवसायको क्षतिले सो लक्ष्य भेट्न कठिन हुने नेपाल उद्योग वाणिज्य महासंघले बताइसकेको छ । महासंघका अनुसार यसबाट राजस्व संकलन र आर्थिक वृद्धि दुवैमा नकारात्मक असर पर्नेछ ।

सरकारको प्राथमिकता अब राहत, पुनरुत्थान/पुनर्निर्माण र निर्वाचनमा जाने हुँदा नियमित विकास खर्च र आयोजना कार्यान्वयन प्रभावित हुने सम्भावना देखिएको छ । अहिले संघीय, प्रदेश र स्थानीय सरकार मातहतका निकायहरूको काम कसरी सुचारु गर्ने भन्नेमा केन्द्रित छन् । यसपछि भौतिक क्षतिको आंकलनको काम सुरु गर्ने तयारी ती निकायको छ ।

स्वास्थ्य मन्त्रालय स्वास्थ्य अनुसन्धान परिषद्को भवनबाट सञ्चालन हुने

काठमाडौं : रामशाहपथस्थित स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय जेनजी प्रदर्शनका क्रममा भएको आगलागीले क्षतिग्रस्त भएपछि नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)को नयाँ भवनबाट अस्थायी रूपमा काम थालिने भएको छ।

मन्त्रालय परिसरमा रहेको एनएचआरसीको पूरानो भवनमा आंशिक क्षति हुन पुगे पनि नयाँ भवन भने जोगिएको छ। स्वास्थ्य मन्त्रालयको चार तल्ले भवनसँगै फर्निचर, महत्त्वपूर्ण कागज तथा फाइल, कम्प्युटरलगायत परिसरमा रहेका सवारीसाधन पूर्ण रूपमा जलेर नष्ट भएका छन्।

मन्त्रालयका सचिव डा विकास देवकोटाले हाललाई एनएचआरसीको नयाँ भवनबाट अस्थायी रूपमा काम गर्ने योजना रहेको बताए। उनले भने, “सोही भवनबाट नियमित काम थाल्छौँ । हाललाई मन्त्रीका लागि भनेर कोठा तयार पारिँदैछ । पछि सिंहदरबारभित्रै सर्ने योजना हो ।”

भवन जलेर नष्ट हुँदा दैनिक कामकाजमा समस्या भएको सचिव देवकोटाले बताए। हाल मन्त्रालयले क्षतिको विवरण लिने र मुचुल्का उठाउने काम गरिरहेको छ भने कमर्चारीहरूले रजिष्टरमा हाजिरी गरिरहेका छन्। उनका अनुसार मन्त्रालय परिसरमा रहेको स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाइ अहिले वीर अस्पतालको एउटा भवनबाट सञ्चालन भइरहेको छ।

दुई महिनाको सुत्केरीमाथि बलात्कार

काठमाण्डौ- मकवानपुरको राक्सिराङ गाउँपालिकामा  दुई महिनाको सुत्केरीमाथि बलात्कार भएको खुलेको छ।

रक्सिराङ वडा- २ इन्द्रोङमा बस्ने चेपाङको परिवारमा श्रीमानलाई डोरीले बाँधेर श्रीमतीमाथि बलात्कार गरेको खुलेको छ।

शुक्रबार (भदौ २७) राति केही अन्जान व्यक्तिहरूले सुत्केरी महिलामाथि बलात्कार भएको पालिका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए।

‘श्रीमानलाई डोरीले बाँधेर श्रीमतीमाथि बलात्कार भएको छ,’ अध्यक्ष मल्लले भने, ‘तत्काल प्रहरीलाई खबर गर्दा कोही जानु भएन। हिजो उनीहरूलाई ल्याएर आज जिल्ला प्रहरी कार्यालयमा उपस्थित गराइएको छ।’

सुत्केरीमाथि बलात्कार गर्ने एक जनाको परिचयसमेत खुलेको छ। आज प्रहरीमा जाहेरी दिएसँगै कानुनी कारबाही अगाडि बढ्ने अपेक्षा गरिएको उनले जानकारी दिए।

चेपाङ दम्पतीको घर जंगलको एकान्त ठाउँमा छ। उनीहरू राम्रोसँग नेपाली भाषासमेत नबुझ्ने भएकाले घटनाबाहिर आउन समय लागेको उनको भनाइ छ।

२२ वर्षीया महिला आफूमाथि बलात्कार भएको भन्दै जाहेरी लिएर आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिए।

‘आज त्यही ठाउँको एक जना विरूद्ध जाहेरी परेको छ। हामी अनुसन्धान गरिरहेका छौं,’ उनले भने।

देशभरका विभिन्न कारागारबाट भागेकामध्ये तीन हजार ७२३ कैदीबन्दी पक्राउ

काठमाडौं। यही भदौ २३ र २४ गते जेनजी प्रदर्शनपछि सिर्जित परिस्थितिका कारण देशभरका विभिन्न कारागारबाट भागेकामध्ये तीन हजार ७२३ कैदीबन्दी पक्राउ परेका छन् ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले आज मध्याह्नसम्ममा तीन हजार ७२३ कैदीबन्दी पक्राउ गरी कारागामा ल्याइएको जनाउँदै अझै १० हजार ३२० कैदीबन्दी फरार रहेकाले आवश्यक सर्तकता अपनाउन सर्वसाधारणमा आग्रह गरे ।

उनका अनुसार कतिपयलाई भारत भाग्न खोजिरहेको अवस्थामा भारतीय प्रहरीले समातेर फिर्ता गरेका छन् भने कतिपय सेना, प्रहरी र सशस्त्र प्रहरीले पक्राउ गरेका हुन् ।

कतिपय आफैँ फिर्ता भएर कारागार आएका बताउँदै प्रवक्ता घिमिरेले कैदीबन्दीको खोजी अभियान जारी रहेको उल्लेख गरे । कैदीबन्दीका बारेमा केही सूचना प्राप्त भएमा नजिकको प्रहरी कार्यालय तथा सुरक्षा निकायमा जानकारी दिन पनि उनले सबैमा अनुरोध गरे ।

१३९ थुनुवा फर्किए, दुई हजार १०० फरार

सोही प्रदर्शनका कारण मुलुकभरका प्रहरी कार्यालयका हिरासतबाट फरार भएकामध्ये १३९ जना थुनुवालाई पक्राउ गरिएको प्रवक्ता घिमिरेले जानकारी दिए । उनका अनुसार अझै दुई हजार १०० थुनुवा फरार छन् ।

फरार भएकाहरूको खोजी जारी रहेको प्रहरीले जनाएको छ । तोडफोड, आगजनी र प्रदर्शनका कारण कैदीबन्दीहरू यही भदौ २४ गते भागेका थिए ।

खोज्नुहोस