मन्त्रिपरिषद् बढीमा ११ सदस्यीय हुने, गैरराजनीतिक व्यक्ति मात्र रहने

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रीहरूको संख्या ११ जनाभन्दा नबढाउने गरी मन्त्रिपरिषद् विस्तार गर्ने भएकी छन् ।

उनले अब बन्ने मन्त्रीहरु पनि कुनै राजनीतिक पार्टी र त्यससम्बद्धलाई नराख्ने उल्लेख गरेकी छन् ।

बीबीसी नेपाली सेवालाई दिएको विशेष अन्तर्वार्तामा प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद्को संरचनाबारे उल्लेख गरेकी छन् ।

‘मन्त्रिपरिषद् करिब १० देखि ११ भन्दा नराख्ने र कसको के क्षमता छ त्यो अनुसार हेरेर दिने हो ‘ उनले भनिन् ।

उनले तीन जना मन्त्री बनिसकेकोले अब थपिने मन्त्रीहरुमा समावेशिता झल्किने गरी व्यक्ति खोजिने जानकारी दिइन् ।

‘पोलिटिक्समा नरहनु भएका नन् पोलिटिकल र कुनै संस्थामा काम गरेकाहरुलाई ल्याउँछौं त्यस्ता मान्छे खोजिभइरहेको छ’ उनले भनेकी छन् ।

राजनीतिक आबद्धता भएका व्यक्ति मन्त्रिपरिषद्मा राख्दा चुनावको काममा फोकस नहुने भएकाले चुनाव नलड्ने व्यक्तिलाई मन्त्री बनाउने उनले बताइन् ।

साफ यु–१७ च्याम्पियनसिप : नेपालको विजयी सुरुवात

काठमाडौँ । नेपालले श्रीलङ्काको कोलम्बोमा जारी साफ यु–१७ च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ ।

सोमबारदेखि सुरु भएको च्याम्पियनसिपको पहिलो खेलमा नेपालले घरेलु टोली श्रीलङ्कालाई २–० गोलले हरायो । नेपालको जितमा दुवै गोल समीर कुमारले गरे ।

उहाँले ५२औँ र इन्जुरी समयमा गोल गर्दै नेपालको जित पक्का बनाउनुभएको थियो । श्रीलङ्का पहिलो हाफमै १० खेलाडीमा समेटिएपछि नेपाललाई फाइदा भएको थियो ।

२७औँ मिनेटमा मोहम्मद इफाम दोहोरो पहेँलो (रातो) कार्ड पाउँदै बाहिरिएका थिए । जितसँगै नेपालले सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।

समूह ‘ए’ मा रहेको नेपालले दोस्रो खेल सेप्टेम्बर १८ तारिखमा बङ्गलादेशसँग खेल्नेछ । समूह ‘बी’ मा भारत, माल्दिभ्स, पाकिस्तान र भुटान छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

अन्तरिम सरकारमा बढीमा ११ जना मन्त्री हुने, एक मन्त्रीलाई दुई मन्त्रालयको जिम्मा दिइँदै

काठमाडौं ।  अन्तरिम सरकारमा बढीमा ११ जना मन्त्री हुने भएका छन् । हरेक मन्त्रीलाई दुईवटा मन्त्रालय भागमा पर्नेगरी मन्त्री बनाउन लागिएको हो । प्रधानमन्त्री सुशीला कोइरालाले १० देखि ११ जनाको मन्त्रिपरिषद् बनाउन लागेकी हुन् ।

प्रधानमन्त्री कार्कीले विषयविज्ञ र पूर्वकर्मचारीहरूमध्येबाट मन्त्री बनाउन खोजेको पनि बताइएकी छिन् । साथै, मन्त्रिपरिषद्‌लाई समावेशी बनाउन पनि खोजेको बताइएकी छिन् । साथै, चुनावमा नजाने व्यक्तिलाई मन्त्री बनाएको पनि बताएकी छिन् ।

बीबीसी नेपाली सेवासँग कुरा गर्दै कार्कीले राष्ट्रपतिले दलका प्रतिनिधि राखेर मन्त्रिपरिषद् बनाउन सुझाव दिएको पनि खुलासा गरेकी छिन् ।

उनले भनेकी छिन्, ‘राष्ट्रपतिले दलका एक–एक जना प्रतिनिधिलाई समेत राखेर मन्त्रिपरिषद् बनाउन सुझाव दिनुभएको थियो, त्यसलाई मैले मानिनँ ।’

उर्जा मन्त्री घिसिङको उद्घोष- ‘सरकारले जेन–जी सहिदहरुको सपना साकार पार्नेछ’

काठमाडौं– हालैको जेन–जी प्रदर्शनमा ज्यान गुमाएका सहिदहरुको सम्झना तथा सम्मानमा सरकारले विशेष ध्यान दिन थालेको छ । उर्जा, जलस्रोत तथा सिंचाई, यातायात तथा भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री कुलमान घिसिङले मंगलवार पशुपतिमा श्रद्धाञ्जली अर्पण गर्दै सहिदहरुको योगदान र बलिदानको महत्त्वबारे जोड दिएका छन् ।घिसिङले भनेका छन्– ‘जेन–जी आन्दोलनले हाम्रो युवा पुस्तामा एउटा नयाँ चेतना र परिवर्तनको सुरुवात गरेको छ । सहिदहरुको बलिदानले देशलाई निकास दिने हाम्रो विश्वासलाई बलियो बनाएको छ र त्यसलाई वास्तविकतामा परिणत गर्न सरकार सक्रिय छ ।’मन्त्री घिसिङले सहिदहरुले उठाएका मुद्दा—देशमा भ्रष्टाचारमुक्त शासन, सुशासनको स्थापन, र आत्मनिर्भर राष्ट्र निर्माण—आजको सरकारले अघि बढाउनु पर्ने प्राथमिकतामा रहेको बताए ।

‘अब हामीले सहिदहरुको सपना र आशालाई कार्यान्वयनमा रूपान्तरण गर्नु पर्नेछ । आगामी सरकारहरुले पनि यसलाई निरन्तरता दिनु आवश्यक छ,’ मन्त्री घिसिङको भनाइ छ ।

अर्कोतर्फ, उनले आगामी दिनहरु चुनौतीपूर्ण हुने उल्लेख गर्दै, शोकलाई शक्तिमा बदल्दै मिलेर काम गर्नु पर्नेमा जोड दिएका छन् । घिसिङले देशलाई सही दिशा तर्फ लैजान साझा प्रयास र सहकार्य अपरिहार्य भएको पनि बताएका छन् ।

प्रधानमन्त्री कार्की र भारतीय समकक्षी मोदीबीच फोनवार्ता हुँदै

काठमाडौँ — नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की र भारतीय समकक्षी नरेन्द्र मोदीबीच फोनवार्ता हुने भएको छ । केहीबेरमै वार्ताको तयारी भइरहेको एक मन्त्रीले जानकारी दिए ।काठमाडौँ — नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की र भारतीय समकक्षी नरेन्द्र मोदीबीच फोनवार्ता हुने भएको छ । केहीबेरमै वार्ताको तयारी भइरहेको एक मन्त्रीले जानकारी दिए ।कार्की शुक्रबार प्रधानमन्त्री नियुक्त भएकी थिइन् ।

यस्तो छ अर्थमन्त्रीको पहिलो निर्णयले बनेको कार्यदल, एक सय अर्बका योजना घटाउने लक्ष्य

काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले सोमबार पदभार ग्रहण गर्दै बजेटमा समावेश भएका खुद्रे आयोजना हटाउने सम्बन्धमा अध्ययन गर्न तीन सदस्यीय कार्यदल गठन गरे ।  मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाका प्रमुख सुमन दाहालको संयोजकत्व रहने गरी उक्त कार्यदल गठन गरिएको थियो ।

कार्यदलमा रहने थप दुई जनाको समेत टुङ्गो लागेको छ । सहसचिवद्वय उत्तर कुमार खत्री र धनीराम शर्मा रहने गरी कार्यदल बनाइएको अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयले जानकारी दिए ।

खत्री राजश्व व्यवस्थापन महाशाखाका प्रमुख हुन् भने शर्मा वैदेशिक सहायता तथा समन्वय महाशाखाका प्रमुख हुन् । कार्यभार सम्हाल्दै गर्दा अर्थमन्त्री खनालले खुद्रे आयोजनाको कटौतीबाट मात्रै बजेटबाट एक सय अर्ब रुपैयाँ बचत हुने अनुमान गरेका थिए । कार्यदलले सोही बराबर बचत गर्ने गरी सुझाव दिने जनाइएको छ ।

चालु आर्थिक वर्षको बजेटमा सरकारले १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट ल्याएको छ । यसमध्ये ४ खर्ब ७ अर्ब ८९ करोड रुपैयाँ बराबरको पुँजीगत खर्च रहेको छ ।

पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ जेनजी सहिदहरूको अन्त्येष्टि

काठमाडौं : जेनजी समूहको प्रदर्शनका क्रममा निधन भएकाहरूको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ। मंगलबार पशुपति आर्यघाटमा ऊर्जा मन्त्री कुलमान घिसिङ र गृहमन्त्री ओमप्रकाश अर्यालले मृतकको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएका थिए।

अन्त्येष्टिअघि महाराजगञ्जस्थित टिचिङ अस्पतालबाट शवयात्रा गरिएको थियो। आर्यघाटमा मृतकका शवलाई सुरक्षा निकायले सलामी अर्पण गरेका थिए।

आन्दोलनमा ज्यान गुमाएका सहिदमध्ये केहिको पशुपति आर्यघाटमा र केहिको आफ्नो जिल्लामा अन्त्येष्टिका लागि लैजाने तयारी छ । सरकारले भदौ २३ र २४ को जेनजी समूहको आन्दोलनमा मृत्यु भएकालाई राष्ट्रिय झन्डा ओढाइ राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको थियो। सोही निर्णय अनुसार आज मृतकहरूको अन्त्येष्टि गरिएको हो।

सरकारले जेनजी आन्दोलनका क्रममा मृत्यु भएकाहरूलाई सहिद घोषणा गर्ने,उनीहरूको नाममा जेनजी स्मारक पार्क बनाउने,मृतकका परिवारलाई जनही १५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ। जेनजी आन्दोलनका क्रममा हालसम्म ७२ जनाको मृत्यु भएको छ। सयौं घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

उच्च मनोबलका साथ काममा खटिन गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले उच्च मनोबलका साथ काममा खटिन ट्राफिक प्रहरीलाई निर्देशन दिएका छन्। उनले आज काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको निरीक्षण गर्दै उक्त निर्देशन दिएका हुन्।

सोही क्रममा गृहमन्त्री अर्याललाई काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्की, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीलगायतले ट्राफिक प्रहरी कार्यालयको पछिल्लो अवस्थाका बारेमा जानकारी गराएका थिए।

सो अवसरमा गृहमन्त्री अर्यालले ट्राफिक प्रहरीका भवन निर्माणलगायतमा सरकारले पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। यही भदौ २३ र २४ गते भएको ‘जेनजी पुस्ता’को आन्दोलनका क्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, ट्राफिक पोसाक र साधनसमेत जलेर नष्ट भएका थिए।

प्रधानमन्त्री कार्की र राष्ट्रियसभा अध्यक्ष दाहालबीच भेटवार्ता

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालले प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरेका छन्।

अध्यक्ष दाहालले प्रधानमन्त्री निवास बालुवाटार पुगेर भेटवार्ता गरेको उनको सचिवालयले जनाएको छ ।

भेटमा विकसित राजनीतिक घटनाक्रमसहित राष्ट्रियसभाले अब खेल्नसक्ने भूमिकाको विषयमा छलफल भएको जनाइएको छ ।

भेटमा अध्यक्ष दाहालले प्रधानमन्त्री कार्कीलाई बधाई तथा शुभकामना पनि दिए। प्रधानमन्त्रीले देशलाई शान्ति र स्थिरतातिर लैजान राष्ट्रियसभाको महत्त्वपूर्ण भूमिका हुने बताइन् ।

हर्कले लगातार प्रहार गरेपछि बालेनको जवाफ- म तिमीलाई एकतर्फी माया गर्न छाड्दिनँ

काठमाडौं । धरान महानगरपालिकाका मेयर हर्क साम्पाङले केही दिनयता काठमाडौंका मेयर बालेन्द्र साहलाई लगातार तारो बनाइरहेका छन् । एकपछि अर्को स्टाटस लेख्दै प्रहार गरेपछि बालेनले पनि जवाफ फर्काए, तर पत्थरको जवाफ फूलले दिएको शैलीमा ।

‘डियर हर्क साम्पाङ’ सम्वोधन गर्दै बालेनले लेखेका छन्, ‘तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिन । एक तर्फी नै सही, तर मेरो माया साँचो हो ।’

कैलाली प्रशासनमा जले दुई लाख थान राष्ट्रिय परिचय पत्र

धनगढी । जिल्ला प्रशासन कार्यालय कैलालीमा रहेका करिब दुई लाख थान राष्ट्रिय परिचय पत्र जलेर नष्ट भएका छन् । गत बुधबार जेनजी आन्दोलनका क्रममा जिल्ला प्रशासन कार्यालयमा आगजनी गरिँदा करिब दुई लाख थान राष्ट्रिय परिचय पत्र जलेर नष्ट भएका हुन् ।

जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत शिवराज जोशीले केन्द्रबाट छापिएर आएका करिब दुई लाख थान राष्ट्रिय परिचय पत्र र करिब पाँच हजार थान राहदानी जलेर नष्ट भएको बताए । जोशीका अनुसार स्थानीय तह तथा वडा कार्यालयहरूबाट वितरण गर्नुपर्ने एक लाख ६० हजार थान तथा जिल्ला प्रशासनबाट वितरण गर्नुपर्ने करिब ४० हजार थान राष्ट्रिय परिचय पत्र जलेका हुन् । राष्ट्रिय परिचय पत्रका लागि यसअघि वडा कार्यालयहरूबाट पनि नागरिकको विवरण संकलन गरिएको थियो ।

आगजनीबाट जिल्ला प्रशासन कार्यालयको पुरानो र नयाँ दुवै भवन जलेका छन् । राष्ट्रिय परिचय पत्र सेवा सञ्चालनमा रहेको पुरानो भवन आगजनीबाट पूर्ण रूपमा ध्वस्त भएको छ । नयाँ भवनमा पनि ठुलो क्षति पुगेको छ । प्रशासनमा रहेका महत्वपूर्ण अभिलेख र कागजातहरू सदाका लागि नष्ट भएको प्रशासकीय अधिकृत जोशीले बताए । त्यस्तै कम्प्युटर, प्रिन्टरलगायतका सामान पनि जलेर नष्ट भएका छन् ।

प्रशासनले विभिन्न निकायले सहयोगस्वरूप दिएको कम्प्युटर र प्रिन्टरको सहायताले नागरिकता सेवा आइतबारबाट सुरु गरेको छ । तर राष्ट्रिय परिचय पत्र, राहदानीलगायत सेवा भने तत्काल सुरु गर्न सकिने अवस्था नरहेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।

कैलालीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले जिल्लाका अधिकांश सरकारी कार्यालयमा आगजनी भएको बताए । जिल्लाभरि सरकारी कार्यालय, पार्टी कार्यालय र व्यक्तिका घरसमेत गरी एक सय ३७ वटा भवनमा आगजनी भएको प्रारम्भिक विवरण आएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

गृहमन्त्री अर्यालले प्रहरीलाई भने- उच्च मनोबलसहित काममा खट्नुहोस्

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले उच्च मनोबलका साथ काममा खटिन ट्राफिक प्रहरीलाई आग्रह गरेका छन् ।

मंगलबार युवाहरूको आन्दोलनका क्रममा तोडफोड र आगजनी भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको निरीक्षण गर्दै गृहमन्त्री अर्यालले उच्च मनोबलका साथ आफ्नो काममा खटिन आग्रह गरेका हुन् ।

उनले अव छिटै सबै कुरा लयमा फर्कने विश्वास व्यक्त गरे । अहिलेको सरकारले कसैमाथि पनि पक्षपात नगर्ने र निष्पक्ष रूपमा निर्वाचन गर्ने उनले बताए ।

जेन-जी आन्दोलनका क्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय जलेर ध्वस्त भएको छ भने कार्यालय परिसरमा रहेका सवारीसाधन पनि जलेका छन् ।

जेनजी आन्दोलनमा ज्यान गुमाएकाको शवयात्रा

काठमाडौं । जेनजीहरू आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको आज अन्त्येष्टि गरिंदैछ ।

मृतकका परिवारका सदस्य र आफन्तहरूले शवयात्रासहित अन्त्येष्टि गर्न लागेका हुन् । अहिले मृतकका शवहरू अन्त्येष्टिका लागि शवयात्रा निकालिएको छ ।

त्रिवि शिक्षण अस्पतालबाट शवहरू चक्रपथ हुँदै पशुपति आर्यघाट लगिने तयारी छ । शवयात्राका लागि पुगेकाहरूले मृतकका फोटो र राष्ट्रिय झण्डा बोकेका छन् ।

कतिपयले ‘नि:सन्तानलाई के थाहा जेनजीको सपना ?’ लेखिएको कपडाले शरीर छोपेका छन् ।

सरकारले जेनजी आन्दोलनमा मृत्यु भएकाहरुलाई शहीद घोषणा गर्ने, राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने र राष्ट्रिय शोक स्वरुप असोज १ गते सार्वजनिक बिदा दिने लगायतका निर्णय गरेको थियो ।

त्यसपछि मृतकका परिवार अन्त्येष्टि गर्न तयार भएका हुन् ।

भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध युवाहरूले गरेको प्रदर्शन हिंसात्मक बन्दा ७२ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धेरैजसो गोली लागेकाहरू छन् । कतिपयका शव आगोमा जलेको अवस्थामा भेटिएका छन् ।

पुनर्निर्माण र निर्वाचनका लागि बजेट स्रोत खोज्न कार्यदल गठन

काठमाडौं । जेन-जी आन्दोलनका क्रममा क्षतिग्रस्त भएका भौतिक संरचनाहरूको पुनर्निर्माण र आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको निर्वाचनका लागि बजेटको स्रोत खोज्न अर्थ मन्त्रालयले तीन सदस्यीय कार्यदल गठन गरेको छ।

अर्थ मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेयले बताएअनुसार, कार्यदलमा बजेट तथा कार्यक्रम महाशाखा प्रमुख सुमन दाहाल, वैदेशिक सहायता समन्वय महाशाखा प्रमुख धनीराम शर्मा, र राजस्व व्यवस्थापन महाशाखा प्रमुख उत्तरकुमार खत्री छन्।

कार्यदललाई हालको बजेटमा परेका केही योजना तथा कार्यक्रमहरू कटौती गरेर कसरी स्रोत जुटाउन सकिन्छ भन्ने विषयमा आन्तरिक अध्ययन गर्ने जिम्मेवारी दिइएको छ। प्रवक्ता पाण्डेयले भने, “चुनाव र पुनर्निर्माणका लागि केही बजेट चाहिन्छ। त्यसका लागि स्रोत जुटाउन अहिलेकै बजेटभित्र रहेर कसरी व्यवस्थापन गर्न सकिन्छ भनेर अध्ययन गर्नका लागि कार्यदल बनाइएको हो।” उनले कार्यदलले बजेटका केही आयोजना तथा कार्यक्रम कटौती गर्नुपर्ने हुनसक्ने र त्यसको प्राथमिकता निर्धारण गर्ने अधिकार पनि पाएको जानकारी दिए।

सोमबार पदभार ग्रहण गर्दै नवनियुक्त अर्थमन्त्री रामेश्वरप्रसाद खनालले चालू आर्थिक वर्ष २०८२/८३ को बजेटमा राजनीतिक दबाबमा परेका, पूर्वतयारी नभएका र टुक्रे योजना तथा कार्यक्रमहरू कटौती गरिने बताएका थिए। सरकारले पूरक बजेट नल्याउने र अहिलेको बजेटबाटै करिब एक खर्ब रुपैयाँ बराबरको स्रोत जुटाउन सकिने अर्थमन्त्री खनालको भनाइ थियो।

भारतसँग सिमाना जाेडिएका सुदूरपश्चिमका नाकाहरू सञ्चालनमा आए

धनगढी । जेनजी आन्दोलनका कारण केही दिन बन्द रहेका सुदूरपश्चिमका सीमा नाकाहरू पुनः सञ्चालनमा आएका छन् ।

कञ्चनपुरको गड्डाचौकी, कैलालीको त्रिनगर गौरीफन्टा, बैतडीको झुलाघाटसहितका भारतसँगको  प्रमुख सीमा नाकामा आजदेखि आवागमन सुरु भएको हो । भारतीय पक्षले गत हप्ता देखिएको
तनावपछि नेपाली नागरिकको प्रवेशमा रोक लगाएको थियो ।

अहिले नाकामा सुरक्षा व्यवस्था भने कडा पारिएको छ । नाकामा आवतजावत सहज बनाउन दुवै देशका सुरक्षा निकायबीच समन्वय भइरहेको जनाइएको छ ।

टुक्रे आयोजना कटौतीका लागि सिफारिस समितिले तीन दिनभित्र प्रतिवेदन बुझाउने, एक खर्ब निकाल्ने योजना

काठमाडौँ — अर्थमन्त्री रामेश्वर खनालले चालु आर्थिक वर्षको बजेटमा समावेश भएका टुक्रे र तयारी नभएका आयोजना कटौती गर्ने भएका छन् ।

यसका लागि खनालले बजेट तथा कार्यक्रम महाशाखा प्रमुख सुमन दाहालको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेका छन् । अर्थमन्त्रीको कार्यभार सम्हालेपछिको पहिलो निर्णयमा खनालले टुक्रे आयोजना कटौतीका लागि सिफारिस समिति गठन गरेका हुन् ।

तीन सदस्यीय उक्त समितिमा राजस्व महाशाखा प्रमुख उत्तरकुमार खत्री र वैदेशिक सहायता समन्वय महाशाखा प्रमुख धनीराम शर्मा सदस्य रहेका छन् ।

टुक्रे आयोजना कटौतीको सिफारिसका लागि समितिलाई तीन दिनको म्याद दिइएको छ । जसअनुसार बुधबारसम्म समितिले प्रतिवेदन बुझाउनु पर्नेछ ।

सोमबार अर्थमन्त्री खनालले कार्यभार सम्हाल्दै गर्दा अर्थसचिव घनश्याम उपाध्यायले चालु आर्थिक वर्षको बजेटबाट टुक्रे र तयारी विनाका आयोजना हटाउँदा करिब १ खर्ब रुपैयाँ निकाल्न सकिने बताएका थिए ।

बङ्गलादेशमा युनुसको नेतृत्वमा चुनाव गर्न चुनौती

ढाका- विद्यार्थी नेतृत्वको विद्रोहपछि पूर्वप्रधानमन्त्री शेख हसिनाको १५ वर्षे निरङ्कुश शासन अन्त्य हुँदै निर्वासनमा भाग्न बाध्य भएपछि बङ्गलादेश राजनीतिक उथलपुथलमा छ ।

नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा रहेको अन्तरिम सरकारले आगामी फेब्रुअरीमा निर्वाचन गर्ने वाचा गरेको छ । तर १७ करोड जनसङ्ख्या भएको मुस्लिम बहुल मुलुकमा राजनीतिक विभाजन र हिंसा बढ्दै जाँदा शङ्का गहिरिँदै गएको छ ।

चुनाव अझ पाँच महिना टाढा भए पनि हसिनाको पतनपछिका गठबन्धनहरू विखण्डन हुँदै गएका छन् ।

मुख्य दलहरू को हुन् ?

हसिनाको अवामी लिग प्रतिबन्धित भएपछि प्रमुख राजनीतिक खेलाडी बङ्गलादेश नेसनालिस्ट पार्टी (बीएनपी) र इस्लामवादी जमात–ए–इस्लामी रहेका छन् ।

यससँगै विद्रोहको नेतृत्व गर्ने विद्यार्थी नेताहरूले बनाएको राष्ट्रिय नागरिक पार्टी (एनसीपी) पनि प्रमुख शक्ति बनेको छ । प्रतिद्वन्द्वी दलहरूले सडक हिंसाको आशङ्का व्यक्त गरिरहेका छन् भने युनुसले प्रक्रियामा विश्वसनीयता पुनःस्थापित गर्न सङ्घर्ष गरिरहेका छन् ।

युनुस कहाँ उभिएका छन् ?

पचासी वर्षीय युनुसले चुनावपछि पदत्याग गर्ने घोषणा गर्दै ‘चुनावको विकल्प छैन’ भन्नेमा जोड दिएका छन् । तर उनको दैनिक राजनीतिबाट दूरी, साथै सेनाको संलग्नता वा समर्थनबारे उठेका प्रश्नहरूले अनिश्चितता बढाएका छन् ।

सेना प्रमुख जनरल वाकर–उज–जमान र शीर्ष अधिकारीबीच हालै भएका बैठकहरूले अनुमानलाई थप उकासेको छ । विद्रोहको लामो इतिहास बोकेको मुलुकमा सेनाले सदैव निर्णायक भूमिका खेलेको छ ।

समूहहरू किन विभाजित छन् ?

मुख्य विवाद ‘जुलाई नेसनल चार्टर’ लाई लिएर छ । यस सुधार दस्तावेजले प्रधानमन्त्रीका लागि दुई कार्यकालको सीमा र राष्ट्रपतिलाई थप अधिकार दिने प्रस्ताव गर्छ । चौरासी वटा सुधार बुँदामा सहमति भए पनि त्यसलाई कानूनी रूपमा कसरी लागू गर्ने भन्ने विषयमा दलहरू विभाजित छन् ।

बीएनपीले सुधार चार्टरलाई निर्वाचनपछिको संसद्मार्फत मात्र अनुमोदन गर्न सकिने दाबी गर्छ भने अन्य दलहरूले चुनावअघि नै यसलाई कानूनी रूप दिनुपर्ने तर्क गर्छन् ।

जमातका नेता सैयद अब्दुल्लाह मोहम्मद ताहेरले सुधारहरूमा जनताको राय आवश्यक भएकाले जनमतसङ्ग्रह गर्नुपर्ने बताए ।

एनसीपीका नेता सालेह उद्दीन सिफतले भने ‘विद्रोहमा ज्यान गुमाउनेहरूप्रति विश्वासघात हुने’ भन्दै माग पूरा नभएसम्म चुनावमा सहभागी नहुने चेतावनी दिएका छन् ।

दलबीचको अन्य बहस

अवामी लिगलाई कार्यकारी आदेशमार्फत प्रतिबन्ध लगाइएको थियो । जमातले हसिनासँग सम्बन्ध भएका थप १३ समूहलाई समेत प्रतिबन्धित गर्नुपर्ने माग गरेको छ । तर बिएनपीले अदालतको प्रक्रिया विना कुनै दल प्रतिबन्धित हुन नसक्ने भन्दै आपत्ति जनाएको छ ।

यसबीच, युनुसले लन्डनमा बीएनपी नेता तारिक रहमानसँग भेट गरेपछि पक्षपातको आरोप खेपिरहेका छन् । यसले जमात र एनसीपीलाई असन्तुष्ट बनाएको छ ।

अगाडि के–के चुनौती छन् ?

अन्तरिम सरकार बढ्दो कानून–व्यवस्था समस्यामा फसिरहेको छ । विश्व बैंकका पूर्व वरिष्ठ अर्थशास्त्री जाहिद हुसेनले सरकारलाई ‘सौहार्दपूर्ण र साहसी तर असहाय र हतप्रभ’ भनेका छन् ।

अधिकार समूह ऐन ओ सालिस केन्द्रका अनुसार यस वर्ष मात्रै एक सय २४ वटा भिडन्तका घटना दर्ता भएका छन् । प्रहरी तथ्याङ्कले हत्या, बलात्कार र डकैती बढेको देखाएको छ ।

विश्लेषकहरूका अनुसार युनुसले विश्वसनीय निर्वाचन गराउन पूर्ण सैन्य समर्थन आवश्यक छ । ढाका विश्वविद्यालयका राजनीति विज्ञान प्राध्यापक मामुन अल मुस्तफाले समयमै चुनाव सम्पन्न गर्न ‘सेनाको बिना शर्त र निरन्तर समर्थन’ अपरिहार्य हुने टिप्पणी गरेका छन् ।

बिरामी छाडेर मन्त्री बन्न जान्नँ डा. सन्दुक रुइत

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ नेत्र चिकित्सक सन्दुक रुइतसँग छलफल गरेकी छन्। मंगलबार तिलगंगा आँखा प्रतिष्ठान पुगेर प्रधानमन्त्री कार्कीले रुइतसँग आफ्नो नेतृत्वको सरकारमा सहभागी हुने बारे छलफल गरेकी हुन्।

प्रधानमन्त्री कार्कीले विशेष परिस्थितिमा आफूले सरकारको नेतृत्व गर्नुपरेकाले सहयोग गर्न डा.रुइतसँग आग्रह गरेकी थिइन्।  जवाफमा डा. रुइतले आफूले सरकारलाई सहयोग गर्ने तर,सरकारमा सहभागी हुन नसक्ने जवाफ दिएको स्रोतले बताएको छ। छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै डा. रुइतले आफूले अस्पतालको काम र विरामीलाई छाड्न नसक्ने बताएका थिए।

जेन–जी आन्दोलनपछि बनेको अन्तरिम सरकारको मन्त्री बन्ने चर्चा चलेपछि रुइतले भने आफू चिकित्सकीय पेशामार्फत् नागरिकको सेवामा तल्लिन हुने बताउँदै आएका छन्।

पेरिसडाँडा अवलोकनपछि प्रचण्डले भने– नयाँ र भव्य पार्टी कार्यालय बनाइने छ

काठमाडौं । नेकपा माओवादी केन्द्रले नयाँ पार्टी केन्द्रीय कार्यालय बनाउने भएको छ ।

जेनजी आन्दोलनको क्रममा कोटेश्वर पेरिसडाँडामा आगजनी भएपछि माओवादी केन्द्रले नयाँ र भव्य केन्द्रीय कार्यालय बनाउने भएको हो ।

आज पार्टी केन्द्रीय कार्यालय अनुगमन गरेपछि प्रचण्डले भने, ‘देशभरका कार्यकर्ताहरुको सहयोगमा नयाँ र भव्य पार्टी कार्यालय बनाइने छ ।’ पार्टी कार्यालय कहाँ बन्छ भनेर उनले खुलाएनन् ।

अवलोकनपछि उनले बैठकका माइन्युट, पुस्तकालय र केही कम्प्युटरहरु जोगिएको बताए । ती जोगाउन भूमिका खेलेको भन्दै उनले कर्मचारी र कार्यकर्ताहरुलाई धन्यवाद दिए ।

न्युयोर्क टाइम्सविरुद्ध १५ अर्ब डलर क्षतिपूर्ति मागसहित मुद्दा दायर गर्दै ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले द न्युयोर्क टाइम्सले मानहानी गरेको भन्दै १५ अर्ब डलर क्षतिपूर्ति माग गर्दै मुद्दा हाल्ने तयारी गरेका छन् ।  अमेरिकी अखबारले केहीदिन अघि एपस्टाइन स्क्यान्डलबारे रिपोर्ट सार्वजनिक गरेपछि राष्ट्रपति ट्रम्पले मुद्दा हाल्न लागेको रोयटर्सले जनाएको छ ।

गत हप्ता मात्रै ट्रम्पले एपस्टाइनसँग सम्बन्धित रिपोर्टमा न्युयोर्क टाइम्सलाई मुद्दा हाल्ने धम्की दिएका थिए । ‘आज म न्युयोर्क टाइम्सविरुद्ध १५ अर्ब डलरको मानहानि मुद्दा दायर गर्दैछु,’ ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत भनेका छन्, ‘न्युयोर्क टाइम्सलाई धेरै लामो समयदेखि स्वतन्त्र रूपमा झूट बोल्ने, कलंक लगाउने र मलाई बदनाम गर्न दिइएको अनुमति अब रोकिन्छ ।’

ट्रम्पले उक्त पत्रिकामाथि आफू, आफ्नो परिवार र व्यवसायबारे झूटो लेखेको, साथै अमेरिका फर्स्ट मूभमेन्ट र मेक अमेरिका ग्रेट अगेनजस्ता रिपब्लिकन नेतृत्वका आन्दोलन र विचारधारालाई समेत बदनाम गरेको आरोप लगाएका छन् । मुद्दा फ्लोरिडामा दायर गरिने ट्रम्पले जानकारी दिए ।

यसअघि ट्रम्पले वाल स्ट्रिट जर्नल, उक्त कम्पनीका मालिक रुपर्ट मर्डोक र दुई पत्रकार खादिजा सफदर र जोसेफ पलाजोलोविरुद्ध मुद्दा दायर गरेका थिए । साथै, उनले १० अर्ब डलर क्षतिपूर्ति माग गरेका छन् । ट्रम्पले पत्रकारहरूलाई “राष्ट्रपति ट्रम्पले २००३ मा जेफ्री एपस्टाइनलाई उनको ५०औं जन्मदिनमा पत्र लेखेको र हस्ताक्षर गरेको तथ्यलाई बनावटी बनाएको” आरोप लगाएका छन् । यद्यपि, ट्रम्पले त्यस्तो कुनै पनि कुरालाई अस्वीकार गरेका छन् ।

एसिया कप: अफगानिस्तान र बंगालदेश भिड्दै

काठ्माण्डौँ- एसीसी एसिया कप अन्तर्गत आज अफगानिस्तान र बंगालदेश आमने-सामने हुँदै छन्।

मगंलबार खेल यूइईस्थिति सेख जायद क्रिकेट रगंशालमा नेपाली समय अनुसार राति ८:१५ मा सुरु हुनेछ। जारी प्रतियोगितामा अफगानिस्तानले दोस्रो खेल तथा बंगालदेशले तेस्रो खेल खेल्दै छ।

अफगानिस्तानले एसिया कपको उद्घाटन खेलमा हङकङमाथि विजयी हासिल गर्दै  प्रतियोगिताको सुरुआत गरेको थियो। बंगालदेश भने श्रींलकासँग पराजित हुँदा हङकङमाथि विजयी हासिल गरेको थियो। दुवै टोली आज जितको लक्ष्यसहित मैदान उत्रिँदै छन्।

यसअघि अपराजित रहँदै खेलिरहेको भारत एसिया कपको सुपर फोरमा प्रवेश गरिसकेको छ।

आज देशका केही ठाउँमा भारी वर्षा हुने ,सर्तक रहन मौसम विदको आग्रह

काठमाडौं । आज देशमा केही स्थानहरुमा भारी बर्षाको सम्भावना रहेकोले सर्तक रहन मौसमविदले आग्रह गरेका छन् । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा जारी ‘बुलेटिन’का अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनुका साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागका केही स्थान र बाँकी भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यसैगरी, आज राति देशभर साधारणतया बदली रहनुका साथै कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थान र बाँकी भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ । कोशी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

महाशाखाले वर्षाका कारण पहिरो तथा गेग्रान बहाव (डेब्रिज फ्लो) को जोखिम रहेको, ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुनसक्ने प्रक्षेपण गर्दै सबैलाई सतर्क रहन तथा पूर्वतयारी गर्न अनुरोध गरेको छ ।

हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास अवस्थित रहनुका साथै अरब सागर तथा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ ।

सुदूरपश्चिमका थारू बस्तीमा सखिया नाचको रौनक सुरु

धनगढी । सुदूरपश्चिम प्रदेशको थारू बस्तीमा मौलिक सखिया नाचको रौनक सुरु भएको छ । दसैँ नजिकिएसँगै थारू गाउँमा सखिया नाचको रौनक सुरु भएको हो । दसैँ, तिहारको बेला सखिया नाच नाच्ने चलन रहेको छ । चाडपर्वमा नाच देखाउनका लागि तयारीस्वरूप महिलाले सखिया नाच नाच्न थालेका हुन् । साँझपख भइरहेको सखिया नाचले थारू बस्ती रौनकमय बनेको छ । दसैँ नजिकिएपछि महिलाले सखिया नाच सुरु गरेको गोदावरी नगरपालिका–८, फकलपुरका माधव चौधरीले बताए ।

मादल र मिजुराको तालमा युवती वा महिलाले सामूहिक रूपमा सखिया नाच नाच्ने गर्छन् । यो दसैँतिहारको अवसरमा थारू समुदायका महिलाले सामूहिक रूपमा नाच्ने परम्परागत नृत्य हो । यो नाचमा महिला सबैले एकनासको मौलिक वेशभूषा लगाएर नाच्ने गरेको जनाइएको छ । मादल बजाउने ‘मदरिया’ को निर्देशन र मादलको ताल (खोट) अनुसार उनीहरूले विभिन्न तरिकाको नाच देखाउने गरेको बताइन्छ ।

साथीसङ्गी मिलेर सामूहिक रूपमा नाच्ने नृत्य भएकाले यो नाचलाई सखिया नाच भन्ने गरिएको बताइन्छ । थारू समुदायमा महिलाले महिला साथीलाई ‘सखी’ भन्ने गर्छन् । सखी सखी अर्थात् साथीहरू मिलेर नाच्ने नाच भएकाले यसलाई सखिया नाच भनिएको बताइन्छ । सखिया नाच थारूसमुदायको मौलिक लोकनृत्य हो । खास गरी चाडपर्वमा सखिया नाच्ने गरे पनि हालका दिनमा विभिन्न कार्यक्रम, मेला, महोत्सवमा पनि यो नाच देखाउने गरिएको छ ।

भारतमा गाडी दुर्घटना हुँदा एकै परिवारका तीनसहित चार नेपालीको मृत्यु

एजेन्सी : भारतको हिमाचल प्रदेशमा भएको गाडी दुर्घटनामा परी एकै परिवारका तीन जनासहित चार नेपालीको मृत्यु भएको छ। दुर्घटनामा अन्य दुई जना घाइते भएका छन्।

सिमला जिल्लाको कोटखाईनजिक पिकअप जिप दुर्घटना हुँदा सल्यानको कुमाख गाउँपालिका-४ का ५० वर्षीय डिल्लीबहादुर शाही, ३६ वर्षीय एकेन्द्र शाही, २६ वर्षीया लक्ष्मी मल्ल शाही र ३३ वर्षीय राजेश विष्टको मृत्यु भएको हो।

दुर्घटनामा सोही ठाउँका नवराज शाही र हिमबहादुर शाही घाइते भएका छन्। मृतक डिल्लीबहादुर, एकेन्द्र र लक्ष्मी एकै परिवारका सदस्य हुन्। यस्तै दुर्घटनामा चालक भारतीय जोगिन्दर सिंहको पनि मृत्यु भएको छ।

भारतीय प्रहरीका अनुसार, चालकले नियन्त्रण गुमाउँदा जिप भीरबाट तल खसेको थियो।

दुर्घटनामा तीन जनाको घटनास्थलमै र अन्य दुई जना (लक्ष्मी र डिल्लीबहादुर) को उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो। घाइते दुवै जनालाई भने उपचारपछि स्वास्थ्य केन्द्रबाट डिस्चार्ज गरिएको छ।

मृतकहरूको शव पोस्टमार्टमका लागि पठाइएको र परिवारलाई खबर गरिएको प्रहरीले जनाएको छ।

घटनाप्रति हिमाचल प्रदेशका मुख्यमन्त्री सुखविन्दर सिंह सुखु र स्थानीय सांसद तथा शिक्षामन्त्री रोहित ठाकुरले दुःख व्यक्त गरेका छन्।

उनीहरूले शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दै सरकारले आवश्यक सबै सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्।

भाटभटेनीले भन्यो– ‘बौद्ध शाखामा मृत भेटिएका ६ जना हाम्रा कर्मचारी होइनन्’

काठमाडौँ । काठमाडौँ महानगरपालिका–७ बौद्धस्थित भाटभटेनी सुपर स्टोरमा मृत भेटिएका ६ जना त्यहाँका कर्मचारी नभएको पुष्टि भएको छ । भाटभटेनी सुपर मार्केट एन्ड डिपोर्टमेन्टस स्टोरकी शाखा प्रबन्धक कमला दाहालले विज्ञप्ति प्रकाशन गरेर मृत व्यक्तिहरू आफ्ना कर्मचारी तथा कामदार नभएको बताएकी छन् ।

भदौ २९ मा भाटभटेनीको बौद्ध शाखामा ६ जनाको शव पूर्णरुपमा जलेको अवस्थामा भेटिएको थियो । भाटभटेनीमा भेटिएका मानव कङ्काल पहिचान र पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले रातोपाटीलाई बताए ।

५३ ठाउँमा सुपथ मूल्य पसल सञ्चालन, उद्योग मन्त्रालय भन्छ- दैनिक उपभोग्य सामग्रीको अभाव छैन

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दैनिक उपभोग्य सामग्रीको अभाव नरहेको स्पष्ट पारेको छ।

मन्त्रालयले आज निजी क्षेत्रका छाता संघ संगठन उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल च्याम्बर अफ कमर्श, महिला उद्यमी महासंघ नेपाल र नेपाल घरेलु तथा साना उद्योग महासंघका पदाधिकारीसँग छलफल गरी पेट्रोल लगायत दैनिक उपभोग्य सामग्रीको अभाव नरहेको मन्त्रालयका अधिकारीहरूले स्पष्ट पारेका हुन्।

कार्यक्रममा हालै मुलुकमा उत्पन्न विशेष परिस्थितिबाट समग्र उद्योग, वाणिज्य, व्यापार तथा आपूर्ति क्षेत्रमा परेको प्रभावका साथै नजिकिँदै गएको चाडपर्वमा गर्नुपर्ने आपूर्ति तथा बजार व्यवस्थापनका सम्बन्धमा छलफल अन्तरक्रिया भएको मन्त्रालयले जनाएको छ।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा सरकारी संरचना र निजी व्यावसायिक संस्थाहरूमा भएको आगजनी, तोडफोड र क्षतिको एकीकृत विवरण तयार गर्ने, औद्योगिक तथा व्यावसायिक वातावरण सुधार गरी लगानी संरक्षण र प्रवर्धन गर्ने, निजी क्षेत्रको मनोबल उकास्ने र क्षतिग्रस्त संरचनाको पुनर्स्थापनाबारे समीक्षा गरिएको छ।

यस क्रममा सिर्जित असहज परिस्थिति विस्तारै सहज बन्दै गएको, अन्तर्राष्ट्रिय व्यापारका सीमा नाकाहरूमा भन्सार कार्यालयहरू सञ्चालन भई देशभर ढुवानी प्रणाली सहज भएको र व्यापार व्यवसायहरू पुनः सञ्चालन भई आपूर्ति श्रृङ्खला सुचारू भएको विषयमा मन्त्रालयका तर्फबाट जानकारी गराइयो।

छलफलबारे जानकारी दिँदै मन्त्रालयले भनेको छ, ‘आसन्न चाडपर्वलाई लक्षित गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन मार्फत् देशभर आजैदेखि जम्मा सय ५३ ठाउँबाट चाडपर्व लक्षित सहुलियत मूल्य पसल सञ्चालन गरिएको र बजारमा दैनिक अत्यावश्यक उपभोग्य सामग्री तथा पेट्रोलियम पदार्थको अभाव नरहेकाले माग, आपूर्ति र मूल्यमा प्रतिकूल प्रभाव पर्न नदिन र अत्याधिक वस्तु सञ्चित नगर्न/नगराउन सम्पूर्ण उत्पादक, पैठारीकर्ता, ढुवानीकर्ता, संचयकर्ता, विक्रेता लगायत व्यवसायीहरू र आम उपभोक्तालाई अनुरोध गर्ने तथा नियमित बजार अनुगमनका क्रममा उपभोक्ता अधिकारको हनन् तथा आपूर्ति श्रृङ्खलामा कुनै किसिमको अवरोध हुने गरी कार्य भएको पाइएमा कानून बमोजिम कारबाही गर्ने प्रतिबद्धता भयो।’

हुम्लामा नेपाल टेलिकमले गर्यो फोरजी सेवा विस्तार

काठ्माण्डौँ – नेपाल टेलिकमले हुम्लामा फोरजी सेवा विस्तार गरेकाे छ।

गत भदौ २५ गते टेलिकमले हुम्लाकाे सर्केगाड गाउँपालिका–१ मा टूजी र फोरजी सेवा सञ्चालनमा ल्याएको  हो।

सेवा सञ्चालनमा आएपछि सर्केगाड गाउँपालिका वडा–१, २, ४, ५ र ६ अन्तर्गत पर्ने क्षेत्रहरू जीलागाउँ, माझगाउँ, घितागाउँ, नाउली र लुम अन्तर्गत पर्ने भूभागहरूमा सेवाग्राहीहरू गुणस्तरीय फोजी सेवाबा६ लाभान्वित भएका छन्।

हुम्ला जिल्लाकै चंखेली गाउँपालिका–६ मा पनि नेपाल टेलिकमले भदौ २७ गतेबाट टूजी र फोरजी सेवा सञ्चालनमा ल्याएको छ।

उक्त सेवा सञ्चालनमा आएसँगै चंखेली गाउँपालिका वडा–४, ५ र ६ अन्तर्गत पर्ने क्षेत्रका सेवाग्राही लाभान्वित भएको टेलिकमले जनाएको छ।

खोज्नुहोस