आन्दोलनका कारण स्थानीय तहमा भएको क्षतिको विवरण संकलन सुरु

काठमाडौं । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका कारण स्थानीय तहमा भएको क्षतिको विवरण संकलन थालिएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तह र जिल्ला समन्वय समितिलाई गुगल लिंक पठाउँदै क्षतिको विवरण प्रविष्ट गर्न भनेको छ । स्थानीय तह र समितिले कार्यालय तथा सरकारी सम्पत्तिको अवस्थाबारे संघीय सरकारमा जानकारी गराउनु पर्ने छ ।

भवन, मेसिनरी उपकरण, फर्निचर, सरकारी कागजात लगायतको क्षति विवरण उपलब्ध गराउन भनिएको छ । देशभरिका स्थानीय तहमा आन्दोलनकारीले ठूलो क्षति पुर्‍याएका छन् ।

बैंकका ६१ कार्यालय क्षति, राष्ट्रिय वाणिज्य बैंकबाट मात्रै लुटियो साढे ३८ करोड

काठमाडौं । २३ र २४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा सरकारी लगानीको राष्ट्रिय वाणिज्य बैंकलाई मात्रै साढे ३८ करोडको क्षति पुगेको छ । बैंकहरूबाट करिब १८ किलो सुन र ५ करोड रुपैयाँभन्दा धेरै नगद लुटिएको हो ।

आन्दोलनकारीले राष्ट्रिय वाणिज्य बैंकको नयाँ बानेश्वर शाखा तोडफोड तथा आगजनी गरी ३६ करोड रुपैयाँ बराबरको सुन तथा नगद लुटेका हुन् ।

बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत पवन रेग्मीका अनुसार बैंकको बानेश्वर शाखाबाट १७ हजार ९ सय ४५ ग्राम सुन र ५ करोड १५ लाख रुपैयाँ नगद लुटिएको छ ।

‘जेनजी आन्दोलनको नाममा भएको लुटपाट, तोडफोड र आगजनीबाट राष्ट्रिय वाणिज्य बैंकलाई सुन र नगदको क्षति भएको छ,’ रेग्मीले भने, ‘सुन तथा नगद गरेर ३८ करोड ४० लाख रुपैयाँ बराबरको नोक्सानी भएको छ ।’

बुधबार कायम भएको सुनको मूल्यका आधारमा मूल्य निकालिएको हो । बुधबार प्रति १० ग्राम छापावाला सुनको मूल्य एक लाख ८५ हजार २ सय ७० रुपैयाँ कायम भएको छ । बैंकबाट आन्दोलनकारी ३३ करोड २४ लाख रुपैयाँ भन्दा धेरैको सुन नै लुटेको देखिन्छ ।

प्रदर्शनको क्रममा बैंकको बानेश्वर शाखासँगै भैरहवा भन्सार कार्यालयको शाखाबाट समेत नगद लुटिएको रेग्मीले बताए ।

‘बानेश्वर शाखाको लकर सुरक्षि नै छ, त्यसबाहेक कार्यालय पूर्ण रूपमा क्षतिग्रस्त छ,’ रेग्मीले भने,‘ भैरहवाको शाखाबाट करिब १५ देखि २० लाख रुपैयाँ लुटिएको भए पनि कार्यलयमा भने समान्य क्षति पुगेको छ ।’

बैंकबाट लुटिएको सुन धितोमा राखिएका गरगहना भएको उनले जानकारी दिए । सुनका गरगहना धितोमा राखी कर्जा प्रवाह गर्ने क्रममा सुन संकलन भएको उनले बताए ।

प्रदर्शनको क्रममा बैंकको ढुकुटीमै पुगेर नगद र गरगहना चोरी भएको रेग्मीले बताए । रेग्मीका अनुसार प्रदर्शनको क्रममा लुटिएको सुन उक्त शाखामा धितोमा रहेको कुल मध्यको एक चौथाइ हो । बाँकी सुन तथा नगद भने सुरक्षित नै रहेको उनको भनाइ छ ।

‘प्रदर्शनकारीले बानेश्वर शाखामा लुटपाट गरे पनि ढुकुटीमा भएको सबै नगद र सुन लुटिएको छैन,’ रेग्मीले भने ।

भौतिक संरचना कम्प्युटर, फर्निचर, क्यामेरा, प्रिन्टर, कागजपत्रहरू पूर्णरूपमा क्षति पुगेको छ । तर, कर्जाका तमसुकहरू भने सुरक्षित रहेको उनले बताए । बैंकका अन्य शाखाहरूमा पनि भौतिक क्षति पुगेको बताउँदै रेग्मीले भने, ‘बानेश्वर, भैरहवा बाहेक, सरकारी कार्यालयहरू रहेको शाखा तथा काउन्टहरूमा पन क्षति पुगेको छ । अन्य शाखा तथा काउन्टरमा नगद क्षति भएको छैन ।’

नेपाल बैंकर्स संघका अनुसार देशभरि बैंकहरूका ६१ वटा कार्यालयमा आन्दोलनकारीले क्षति पुर्‍याएका छन् । बैंकहरूका केही स्थानका एटीएम मेसिन तोडफोड भएका छन् । बैंकका ती कार्यालयको झ्यालढोका फुटाउने तथा फर्निचर तोडफोड भएको संघले जनाएको छ । पूर्ण रूपमा क्षति भएका केही मात्र रहेको संघले जनाएको छ ।

कतिपय सरकारी कार्यालयका छेउमा भएका बैंकका शाखाहरूमा बढी तोडफोड भएको संघले जनाउको छ ।

त्यसैगरी डेभलपमेन्ट बैंकर्स संघका अनुसार केही विकास बैंकका शाखा कार्यलयमा समान्य भौतिक क्षति भएको देखिन्छ ।

२४ भदौको प्रदर्शनमा सिंहदरबारसहित अधिकांश सरकारी कार्यलयमा तोडफोड र आगजनी भएको छ । त्यसका साथै केही उद्योग तथा व्यवसाय, उद्योगीका निवासमा पनि आगजनी तोडफोड भएको छन् ।

राष्ट्रिय सम्पत्तिको पुनर्निमाणमा निजी क्षेत्रको पूर्ण साथ र सहयोग हुन्छः अध्यक्ष मल्ल

काठमाडौं । निर्जीवन बीमा व्यवसायी संघका अध्यक्ष तथा नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले राष्ट्रिय सम्पत्तिको पुनर्निमाणमा निजी क्षेत्रको पुर्ण साथ र सहयोग गर्ने बताएका छन् ।

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालसँग भेटवार्ता गर्दै मल्लले राष्ट्रिय सम्पत्तिको पुनर्निमाणमा निजी क्षेत्रको पुर्ण साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गरे । आन्दोलनका क्रममा राष्ट्रिय सम्पत्तिमा भएको क्षतिको मूल्याङ्कन गरी पुनर्निमाणका लागि राहत कोष स्थापना गर्नुपर्ने उनको धारणा रहेको छ ।उनले भने,‘सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत लगायतका महत्वपूर्ण सरकारी संरचनाहरू पुनर्निर्माणका लागि निजी क्षेत्र र व्यक्तिगत तवरमा पनि सरकारलाई सहयोग गर्न हामी तयार छौं, मुलुकमा सुशासन कायम गर्दै आर्थिक समृद्धि गर्न सरोकारवाला सवै निकाय जिम्मेवार भएर लाग्न आवश्यक छ ।’

निजी क्षेत्रमा भएको भौतिक क्षतिको बीमा प्रक्रीया लगायात अन्य सहजीकरण गर्नका लागि सरकारले उपयुक्त वातावरण बनाउनुपर्नेमा मल्लले जोड दिए । मल्लले आन्दोलनबाट प्रभावित उद्यमी तथा व्यवसायीहरूका लागि राहतका कार्यक्रमहरू तत्काल ल्याउन आवश्यक रहेको उल्लेख गरे ।

उनले मुलुकमा रोजगारीको वातावरण सिर्जना गरी युवाहरूको अपेक्षा पूरा गर्नुपर्नेमा विशेष जोड दिए । युवालाई पार्टटाइम रोजगारी उपलब्ध गराउन सकेमा तत्कालीन समस्याको केही हदसम्म समाधान हुने उनको भनाइ थियो ।

शहीदको शोकमा राष्ट्रिय झण्डा आधा झुकाइयो

काठ्माण्डौँ- जेन-जी प्रदर्शनमा ज्यान गुमाएका शहीदको सम्झनामा आज देशभर शोक मनाइएको छ । देशभर बिदा छ भने नेपालको राष्ट्रिय झण्डालाई आधा झुकाइएको छ ।

सोमबारको मन्त्रिपरिषदको निर्णय अनुसार आज आन्दोलनमा शहीद भएकाको शोकमा मन्त्रालयसहित सरकारी कार्यालयमा राखिएको राष्ट्रिय झण्डा आधा झुकाइएको छ ।

सुदन गुरुङमाथि आक्रमण प्रयास, रानीबारीदेखि बानेश्वरसम्म लखेटिए

काठमाडौं । हामी नेपालका संयोजक सुदन गुरुङमाथि आक्रमणको प्रयास भएको छ। उनका अनुसार रानीबारीदेखि बानेश्वरसम्म पल्सर बाइकमा रहेको एउटा समूहले लेखेटेको थियो। त्यसपछि बीचमा दुईवटा गाडी थपिएर पच्छ्यायो।

‘सिनामंगलको गल्लीगल्ली पछि पनि खोजिराथे रे। यता बानेश्वरसम्मै लखेटे। ती को थिए भन्ने चाहिँ चिनिनँ। मार्ने उद्देश्यले नै आएका देखिन्थे।,’ उनले भने । आफू कुन स्थानमा छु भन्ने चाहिँ उनले खुलाउन चाहेनन्।

मन्त्री छान्न बालुवाटारमा छलफल

प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद्लाई पूर्णता दिने प्रयास थालेकी छन्। ११ सदस्यीय मन्त्रिपरिषद् बनाउने घोषणा गरेकी उनले ३ मन्त्री र मुख्यसचिवलाई राखेर बालुवाटारमा छलफल गरेकी हुन्।

‘प्रधानमन्त्री र मन्त्रीबीच छलफल जारी छ,’ स्रोतले भन्यो,’मन्त्रीका लागि विभिन्न नाममा छलफल भइरहेको छ। आजै नभए पनि भोलिसम्म मन्त्रिपरिषद् विस्तार हुने सम्भावना छ।’

छलफलमा कार्की, अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जामन्त्री कुलमान घिसिङ र गृहमन्त्री ‌ओमप्रकाश अर्याल छन्।

कोटेश्वरको भाटभटेनीमा पनि भेटियो शव, मृतकको संख्या ७४ पुग्यो

काठमाडौं । कोटेश्वरको भाटभटेनी सुपरमार्केटमा पनि डढेको अवस्थामा एउटा शव भेटिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहराले बुधबार एक शव डढेको अवस्थामा भेटिएको बताए ।

शरीर पूरै जलेको अवस्थामा शव भेटिएकाले त्यसको पहिचान हुन सकेको छैन ।

योसँगै जेनजी प्रदर्शनको क्रममा मृत्यु हुनेहरूको संख्या ७४ पुगेको छ । यसअघि ७३ जनाको मृत्यु भएको थियो ।

यसअघि चुच्चेपाटीको भाटभटेनीबाट डढेको अवस्थामा ७ वटा शव भेटिएको थियो । अस्थिपञ्जरको रूपमा भेटिएका ती शवहरू त्रिवि शिक्षण अस्पताल महाराजञ्जमा राखिएको छ । ती शवको पनि पहिचान भएको छैन ।

सुमना श्रेष्ठलाई लक्षित अभिव्यक्तिमा रास्वपा नेता हरि ढकालले मागे माफी, भने- ‘भावावेशमा बोलेँ’

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हरि ढकालले पूर्व नेतृ सुमना श्रेष्ठलाई लक्षित गर्दै दिएको विवादास्पद अभिव्यक्ति फिर्ता लिएका छन्। बुधबार बसेको पार्टी केन्द्रीय समितिको भर्चुअल बैठकमा उनले आफ्नो गल्ती स्वीकार्दै आत्मालोचना गरेका हुन्। केही दिनअघिको भर्चुअल बैठकमा सभापति रवि लामिछानेको रिहाइको विषयलाई लिएर श्रेष्ठ, ढकाल र गणेश कार्कीबीच चर्काचर्की परेको थियो।

उक्त बैठकमा श्रेष्ठले सभापति लामिछानेको विषयमा प्रश्न उठाएपछि ढकाल उनीमाथि आक्रामक रूपमा प्रस्तुत भएका थिए। बैठकको क्रममा ढकालले श्रेष्ठलाई लक्षित गर्दै ‘बाघको छालामा स्यालको रजाईं’ भन्ने उखान प्रयोग गरेका थिए। साथै, उनले सभापतिको विरुद्ध लाग्नेहरूलाई पार्टी छोडेर जान समेत चुनौती दिएका थिए। ढकालको उक्त अभिव्यक्तिको केही दिनपछि नै श्रेष्ठले पार्टी परित्याग गरेकी थिइन्, जसकारण पार्टीभित्रका केही नेताहरू ढकालप्रति असन्तुष्ट बनेका थिए।

बुधबारको केन्द्रीय समिति बैठकमा ढकाल आफैँले यो विषय उठाएर दुःख व्यक्त गरेको स्रोतले जनाएको छ।‘मैले भावावेशमा आएर त्यस्तो बोल्न पुगेँ’ भन्दै उनले बैठकमा क्षमायाचना गरेको स्रोतको भनाइ छ। उनको आत्मालोचनापछि अन्य नेताहरूले यस विषयमा कुनै थप टिप्पणी गरेनन्।  यसैबीच, रास्वपाको बैठकले असोज २ गतेदेखि पार्टीका नियमित गतिविधिहरू सुचारु गर्ने निर्णय गरेको छ।

साथै, जेन-जी आन्दोलनका क्रममा क्षति पुगेका सार्वजनिक संरचनाहरूको सरसफाइ र पुनर्निर्माणमा सघाउने निर्णय पनि गरेको छ।

देशविदेशका नेपालीकै सहयोगमा सिंहदबार पुनर्निर्माण गरिन्छ: मन्त्री घिसिङ

ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वधार तथा यातायात र सहकारी विकासमन्त्री कुलमान घिसिङले सिंहदरबारसहित सरकारी संरचना नेपालीबाटै सहयोग संकलन गरेर पुनर्निर्माण गरिने बताएका छन्।

घिसिङको सचिवालयले यसका लागि घिसिङले सहरी विकास मन्त्रालयमार्फत संरचनागत क्षतिको यकिन गर्न कार्यदल गठन गरी काम सुरु गरिसकेको जानकारी दिएको छ।

यसका लागि घिसिङले मन्त्री भएकै दिन ‘हाम्रा संरचना हामी आफैँ बनाऔँ’ अभियानमार्फत् घोषणा गरिसकेका छन्। घिसिङले सरकार, स्वदेश तथा विदेशमा रहेका नेपालीबाट सहयोग संकलन गरी पुनर्निर्माण गर्न अर्थमन्त्रालयलाई छुट्टै खाता सञ्चालनमा ल्याउन आग्रह गरिएको र खाता खोल्नेकाम प्रक्रियामा रहेको बताए।

‘हाम्रा संरचना हामी आफैँ बना‍औँ भन्ने नारालाई आत्मसात् गर्दै नेपालीकै सहयोगमा सिंहदरबार र सरकारी संरचना उठाउनुपर्नेछ,’ कुलमानले भनेका छन्, ‘सहयोग जम्मा गर्नका लागि अर्थमन्त्रालयले छुट्टै खाता सञ्चालनमा ल्याउँछ।’

भदौ २३ र २४ गतेको जेनजीको आन्दोलनका कारण मुलुककै प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारसहित सरकारी संरचना आगोलागी र तोडफोडले ध्वस्त भएका छन्।

यसअघि मंगलबार साँझमात्रै मन्त्री घिसिङले सिंहदरबारको मुख्य भवन र गृहमन्त्रालयको स्थलगत निरीक्षण गरी क्षतिको जानकारी लिएका थिए।

उनले कार्यालयहरूमा रङरोगन गरेर काम त्यहीँबाट सञ्चालनमा ल्याउन पनि सम्बन्धित विभाग, महाशाखालाई निर्देशकन पनि दिइसकेका छन्।

त्यस्तै उनले सिंहदरबार परिसरमा आगजनीपछि असरल्ल रहेका गाडीलाई तत्कालै पन्छाउन पनि भनेका छन्।

पत्रकारले सम्पत्तिबारे प्रश्न सोधेपछि भड्किए ट्रम्प

वासिङटन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई एक अस्ट्रेलियाली पत्रकारसँग भड्किएका छन् । पत्रकारले ट्रम्पलाई व्यापार सम्झौताको बारेमा प्रश्न गरेका थिए । यसको उत्तरमा ट्रम्पले पत्रकारलाई उनले अस्ट्रेलियालाई चोट पुर्‍याइरहेको भनेका थिए ।

अस्ट्रेलियाली प्रसारण निगम (एबीसी)का जोन लियोन्सले ट्रम्पलाई जनवरीमा दोस्रो कार्यकाल सुरु भएयता कति सम्पत्ति कमाउनुभयो भनेर सोधेका थिए ।

ट्रम्पले जवाफ दिए, ‘मलाई थाहा छैन ।’ आफ्ना छोराछोरीले पारिवारिक व्यवसाय व्यवस्थापन गरिरहेको पनि ट्रम्पले बताए । ‘मेरो विचारमा, तपाईँ अहिले अस्ट्रेलियालाई धेरै चोट पुर्‍याइरहनुभएको छ, र तिनीहरू मसँग राम्रो सम्बन्ध चाहन्छन् ।’ उनले भने ।

आफूले चाँडै अस्ट्रेलियाली प्रधानमन्त्री एन्थोनी अल्बानीजसँग भेट्ने पनि ट्रम्पले बताए । ‘म उनलाई तपाईंको बारेमा भन्नेछु । तपाईँले धेरै खराब वातावरण सिर्जना गरिदिनु भएको छ’ ट्रम्पले भने ।

लियोन्सले अर्को प्रश्न सोध्न खोज्दा ट्रम्पले आफ्नो औँला आफ्नो ओठमा राख्दै ‘चुप लाग्नुहोस्’ भनेर अर्को पत्रकारतिर लागे । विनम्रतापूर्वक सही प्रश्न सोध्दा दुई देशबिचको सम्बन्ध बिग्रन सक्छ भनेर सोच्नु बेतुक भएको ट्रम्पको कडा प्रतिक्रियापछि लियोन्सले भनेका थिए ।

आफ्ना प्रश्नहरू वैध र अनुसन्धानमा आधारित भएको अनि अपमानजनक तरिकाले सोधिएका थिएन भन्ने उनको तर्क थियो ।

यूएईले बन्द गर्‍यो नेपालीका लागि भिजिट र कामदार भिसा

काठमाडौँ, १ असोजः  संयुक्त अरब इमिरेट्स (यूएई) ले नेपाली नागरिकका लागि भिजिट तथा कामदार भिसा बन्द गरेको छ। सोमबारदेखि भिजिट भिसा बन्द गरेको यूएईले मंगलबारदेखि कामदार भिसा पनि रोक लगाएपछि धेरै नेपाली अन्यौलमा परेका छन्।

सुरुमा भिजिट भिसा रोक लगाइएको भए पनि त्यसको भोलिपल्टै कामदार भिसा पनि बन्द हुँदा वैदेशिक रोजगार व्यवसायी र विदेश जान तयारी गरिरहेका युवाहरू समस्यामा परेका छन्। कतिपय म्यानपावर व्यवसायीका अनुसार भिसा प्रक्रियाका लागि कम्पनीहरूले निवेदन पेश गरे पनि आवेदन अस्वीकृत भएको छ।

नेपालमा हालसालै जेन–जी आन्दोलनका क्रममा तोडफोड, आगजनी तथा कैदीबन्दी फरार भएको घटनालाई यससँग जोडेर हेरिएको भए पनि यसबारे आधिकारिक पुष्टि भने भएको छैन।

यसअघि अबुधाबी र दुबई राज्यले नेपालीका लागि भिजिट भिसा रोकिसकेका थिए। त्यसपछि सेवा प्रदायक कम्पनीहरूले सारजाहमार्फत भिजिट भिसा निकाल्दै आएका थिए, तर हाल त्यो सुविधा पनि बन्द भएको छ।

कामदार भिसा टाइपिङ भए पनि अन्तिम आवेदन दिन नपाएको र भिसाका लागि दिइसकेका आवेदन अस्वीकृत भएको कम्पनीहरूले बताएका छन्। तर यसको कारणबारे कुनै प्रष्ट जानकारी दिइएको छैन।

अबुधाबीस्थित नेपाली दूतावासले यसबारे अहिलेसम्म कुनै आधिकारिक जानकारी प्राप्त नभएको जनाएको छ। अनौपचारिक रूपमा वैदेशिक रोजगार व्यवसायी तथा केही कम्पनीहरूले जानकारी गराए पनि सरकारी स्तरबाट आधिकारिक सूचना नआएको यूएईका लागि श्रम सहचारी पंकज लाभ कर्णले बताए ।

भिसा रोकका कारण रोजगारीका लागि तयारी गरेका नेपाली मात्र नभई व्यवसायी तथा म्यानपावर कम्पनीहरू पनि अन्यौलमा परेका छन्।

यसअघि यूएईले इजिप्ट, पाकिस्तान, बंगलादेश, इथियोपिया र युगाण्डाका नागरिकलाई भिसा रोक लगाएको थियो। अहिले भने सोही सूचीमा नेपाल थपिएको छ।

यसैबीच, यसै महिनाको अन्त्यतिर सारजाहमा आयोजना हुने नेपाल र वेस्ट इन्डिजबीचको तीन दिवसीय क्रिकेट खेल पनि प्रभावित हुने देखिएको छ। नेपाल क्रिकेट एसोसिएसनको पहलमा हुन लागेको क्रिकेटका लागि समेत यसले समस्या पार्ने देखिएको छ ।

दूतावास स्रोतका अनुसार खेलाडीहरूलाई नेपालमै रहेको यूएई दूतावासमार्फत भिसा उपलब्ध गराउन सकिने भए पनि उनीहरूका स्पोन्सर, व्यवसायी तथा दर्शकहरूलाई समस्या पर्न सक्ने आंकलन गरिएको छ।

यूएईको अध्यागमनले हाल नेपाली नागरिकतर्फका सबै भिसा आवेदन रोकेको छ। यो रोक अस्थायी हो वा स्थायी भन्नेबारे भने अहिलेसम्म स्पष्ट भएको छैन। पछिल्ला वर्षहरूमा यूएईमा नेपालीहरू आपराधिक गतिविधिमा संलग्न भएको भन्दै यहाँका निकायले बारम्बार सचेत रहन आग्रह गर्दै आएका थिए।

सरकारले संविधान दिवस सामान्य रुपमा मनाउने

काठमाडौं । सरकारले संविधान दिवस सामान्य रुपमा मनाउने भएको छ । गृह मन्त्रालयका उपसचिव रवीन्द्र आचार्यले संविधान दिवस सामान्य रुपमा बनाउने तयारी रहेको जानकारी दिए ।

‘संविधान दिवस सामान्य रुपमा मनाउने तयारी छ’, उनले भने । संविधान दिवस यही असोज ३ गते हो ।

२०७२ साल असोज ३ गते संविधान जारी भएको थियो । संविधान सभाबाट बनेको संविधान जारी भएको दिनलाई सरकारले उत्सवको रुपमा मनाउँदै आएको छ ।

विगतका वर्षहरूमा गृहमन्त्रालयले संविधान दिवससम्बन्धी सूचना नै निकाल्ने गर्दथ्यो । संविधान दिवस मूल समारोह समिति गठन भएर दिवासको तयारी हुन्थ्यो ।

संविधान दिवस मूल समारोह समितिले  सैनिक मञ्चमा कार्यक्रम नै राखेर अध्यक्ष संवैधानिक निकायका पदाधिकारीहरू, राजनीतिक दलका नेता तथा कार्यकर्ताहरू, नेपाल सरकारका निजामती, प्रहरी लगायतलाई निम्ता गर्दथ्यो ।

त्यस्तो कार्यक्रममा जंगी तथा संस्थानका कर्मचारी, प्राध्यापक, शिक्षक, विद्यार्थी, खेलाडी, युवक, मजदुर, किसान, महिला, सामाजिक संघ संस्थासँग आबद्ध पदाधिकारीहरू एवं नागरिक समाज र उद्योग व्यवसायीका साथै समाजमा क्रियाशील सबै सामाजिक सघ संस्थाका सदस्यहरुलाई समेत आमन्त्रित गरिन्थ्यो ।

यसपटक कस्तो कार्यक्रम गरेर संविधान दिवस मनाउने हो सरकारले प्रस्ट भनेको छैन । गृहमन्त्रालयका उपसचिव आचार्यले संविधान दिवस सामान्य रुपमा मनाउने तयारी रहेको जानकारी दिएका हुन् ।

नेपाली सेनाले पनि सामान्यरुपमा संविधान दिवस मनाउने तयारी रहेको बताएको छ ।

अष्ट्रेलियाका पत्रकारलाई ट्रम्पको जवाफ – तिमीहरू नै आफ्नो देशलाई ठूलो चोट पुर्‍याइरहेका छौं

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सम्पत्तिबारे अष्ट्रेलियाका पत्रकारले सोधेको प्रश्नको कडा जफा दिएका छन्। एक अष्ट्रेलियाका पत्रकारले राष्ट्रपति ट्रम्पलाई राष्ट्रपतिको कार्यकाल सुरू भएदेखि तपाईं कति धनी भन्दै प्रश्न गरेका थिए। त्यसको जवाफमा ट्रम्पले प्रश्नले नै अष्ट्रेलियालाई ठूलो चोट पु्र्‍याएको प्रतिक्रिया दिएका छन्। उनले भने,’मेरो विचारमा तपाईं अहिले अष्ट्रेलियालाई धेरै क्षति पुर्‍याइरहनु भएको छ।’

\अष्ट्रेलियाका ब्रोडकास्टिङ कर्पोरेसन (एबीसी) का जोन लियोन्सले ट्रम्पलाई राष्ट्रपति बनिसकेपछि तपाईं कति धनी भन्दै प्रश्न गरेका थिए। अमेरिकी राष्ट्रपति ट्रम्पले चाँडै नै अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीसँग भेट्ने बताए। उनले भने,’म उनलाई तपाईंको बारेमा भन्नेछु। तपाईंले धेरै नराम्रो वातावरण सिर्जना गर्नु भएको छ।’

ट्रम्प बोल्दै गर्दै लियोन्सले अर्को प्रश्न सोध्न खोजे ।  त्यसपछि ट्रम्पले आफ्नो औंला आफ्नो ओठमा राखेर शान्त रहन भने। ट्रम्पले कडा प्रतिक्रिया दिएपछि लियोन्सले भने,’ यो सोच्नु मूर्खतापूर्ण हो। ‘ उनले ट्र्म्पलाई आफूले सोधेका प्रश्नहरू निष्पक्ष ,अनुसन्धानमा आधारित भएको दावी गरेका छन्।

बागमतीका सभामुखले दिए राजीनामा

काठ्माण्डौँ- बागमती प्रदेश सभामुख भुवनकुमार पाठकले सभामुख पदबाट राजीनामा दिएका छन्।

उनले बुधबार उपसभामुखलाई सम्बोधन गर्दै संविधान र प्रदेश सभा नियमावली, २०७४ बमोजिम राजीनामा पत्र बुझाएका हुन्। यसअघि भदौ २४ गते सामाजिक सञ्जालमार्फत राजीनामा दिएको घोषणा गरेका भए पनि आधिकारीक पत्र भने पेस गरेका थिएनन्।

उनको राजीनामा पत्र प्रदेश प्रमुख, मुख्यमन्त्री तथा प्रदेश सभा सचिवालयलाई समेत पठाइएको छ। यससँगै बागमती प्रदेश सभाको सभामुख पद खाली भएको छ र नयाँ सभामुख चयन प्रक्रिया अघि बढ्नेछ।
जेनजी आन्दोलनका क्रममा भ्रष्टाचारविरुद्ध भएको प्रदर्शनमा अस्वाभाविक बल प्रयोग हुँदा राष्ट्रवादी युवाले ज्यान गुमाउनु परेको घटनापछि आफू गहिरो भावनात्मक आघातमा परेको पाठकले राजीनामा पत्रमा उल्लेख गरेका छन्।

जनताको चाहना र युवा पुस्ताको भावना विपरित पदमा बसिरहन उचित नहुने भन्दै राजीनामा दिने निर्णयमा पुगेको उनले बताएका छन्।

२८ पुस २०७९ मा भएको सभामुखको निर्वाचनमा पाठकले ६२ मत प्राप्त गर्दै सभामुख पदमा निर्वाचित भएका थिए। राप्रपाका उनलाई नेकपा एमाले र नेकपा माओवादी केन्द्रले सघाएका थिए।

सिंहदरबारमा जलाइएका सवारीसाधनको व्यवस्थापन गर्न मन्त्री घिसिङको निर्देशन

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक योजना तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले जेनजी प्रदर्शनका क्रममा सिंहदरबार परिसरमा जलाइएका सवारीसाधनलाई अन्यत्र लगी व्यवस्थापन गर्नुपर्ने बताएका छन् ।

जलेका सवारीसाधनका कारण सिंहदरबार परिसर कुरूप देखिएकाले तिनलाई त्यहाँबाट हटाएर अन्यत्र लगी व्यवस्थापन गर्न उनले आज निर्देशन दिएका मन्त्री घिसिङको सचिवालयले जनाएको छ ।

‘कार्यालयलाई थोत्रो देखाएर राख्नुभएन, भित्री भागमा काम गर्दै गरौंला तर बाहिरी भागलाई कुरूप हुन दिनु भएन, यथाशक्य छिटो राम्रो बनाऔं । क्षति पुगेका सवारीसाधन यत्रतत्र छरिएर सिंहदरबार परिसर कुरूप देखिएको छ, अब सकारात्मक सन्देश दिन पनि तिनीहरूलाई तत्काल हटाएर व्यवस्थापन गरौं,’ मन्त्री घिसिङले भने ।

उनले विनाशबाट हामी उठ्यौं भन्ने सन्देश दिन सामान्य आगलागी मात्र भएका भवनका बाहिर भागमा रङरोगन गर्ने, मन्त्रालय तथा कार्यालय परिसरमा आगलागीबाट क्षति भएका सवारीसाधन तुरुन्त हटाउने र क्षतिको मूल्याङ्कन तत्काल गर्ने काममा जुट्न निर्देशन दिए ।

मन्त्री घिसिङले ‘हाम्रा संरचना हामी आफैं बनाऔं’ अभियानमार्फत सरकार, स्वदेश तथा विदेशमा रहेका नेपालीबाट सहयोग सङ्कलन गरी पुनर्निर्माण शुरू गरिने स्पष्ट पारे ।

शहरी विकास मन्त्रालयले मातहतका संरचनामा पुगेको क्षति यकिन गर्न कार्यदल गठन गरी काम शुरू गरिसकेको जनाएको छ ।

अर्थमन्त्री खनालसँग नाडाका पदाधिकारीकाे भेट, देशको वर्तमान आर्थिक अवस्थाबारे छलफल

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालसँग नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीको नेतृत्वकाे टाेलीले नेपालको वर्तमान जटिल आर्थिक अवस्था र अटोमोबाइल व्यवसायमा देखिएका समस्याहरूबारे छलफल गरेकाे छ ।

भेटघाटको क्रममा अध्यक्ष चौधरीले व्यवसायीहरूको सुरक्षा र देशको शान्तिलाई सबैभन्दा महत्त्वपूर्ण विषय भएको बताए । उनले देशको अर्थतन्त्र खस्कँदै गएको र लगानीकर्ताहरूमा विश्वासको कमी आएको उल्लेख गर्दै व्यवसायीहरूको मनोबल बढाउन सरकारले ठोस कदम चाल्नुपर्ने धारणा राखे ।

छलफलका क्रममा अध्यक्ष चौधरीले लगानीकर्ताहरु नेपालमा लगानी गर्न विश्वस्त हुन सक्ने अवस्था नरहेको, तोडफोडबाट भएको हानी नोक्सानीको इन्स्यारेन्स डिस्बर्समेण्ट हुनु पर्ने, नेपाल सवारी प्रदुषर्ण मापदण्ड २०८२ को कार्यान्वयनबाट सवारी साधनहरुको मूल्य बढने भन्दै नेपालको अटोमोवाइल क्षेत्रले भन्सार राजश्वमा २७ प्रतिशत योगदान दिएको, नाडाको क्षमता र कमजोरीका सम्बन्धमा सरकारलाई यथार्थ जानकारी भएको बताए ।

सो छलफलमा अध्यक्ष चौधरीले नाडा सरकारसँग सहकार्य गरेर अघि बढन चाहेको बताए ।

साथै अध्यक्ष चौधरीले सुस्ताएको नेपालको अटोमोवाइल व्यवसायलाई गतिशील बनाउन आवश्यक पर्ने नीतिहरुमा सुधारका लागि आग्रह गर्दै नाडाकोतर्फबाट २२ बुँदे सुझावहरु समेत पेश गरे । उक्त छलफलमा खाशगरी पेट्रोल र डिजेलबाट चल्ने सवारी साधनहरुलाई बैंकहरुबाट हायर पर्चेज लाेन प्रवाह गर्ने प्रकियामा लाेन टु भ्यालु रेसियाेमा हाल ६० प्रतिशतको सिमा लाई बढाएर ८० प्रतिशत पुर्‍याउनु पर्ने सुझाव समेत दिए ।

सो छलफलमा अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले सडक विगे्रको कारण तातोपानी भन्सारबाट सवारी साधनहरु नेपालमा आउन नसकेको सम्बन्धमा छिटै सवारी साधन सञ्चालन गरिने आश्वासन दिँदै व्यवसायीहरुका लागि प्रोत्साहन प्याकेज समेत ल्याइने बताए । त्यसैगरी नेपाल सवारी प्रदूषण मापदण्ड २०८२ को कार्यान्वयनबाट परेको असरहरुका सम्बन्धमा बन तथा वातावरण मन्त्रालयसँग छलफल गरिने बताए ।

भेटमा अर्थमन्त्री खनालले व्यवसायीहरुले राखेका सुझावहरुलाई मनन गर्दै आन्दोलनबाट भएका लस र डयामेजको तथ्याङ्क संकलनगरी समुचित कदम चालिने बताए । उनले बैंक र फाइनान्सबाट प्रदान गर्न सकिने सुविधाहरु प्रदान गरिने भन्दै टेक्स मा के-के सुविधा दिन सकिन्छ त्यसका लागि सरकारले आवश्यक कदम चाल्ने आश्वासन समेत दिए ।

सोही छलफलको क्रममा मन्त्री खनालले आन्दोलनले अटोमोवाइल क्षेत्रमा ठूलो नोक्सानी पुर्‍याएको बताउँदै आफू व्यवसायीहरुको सिधा सम्पर्क रहने उल्लेख गरे ।

छलफलमा नाडाका उपाध्यक्ष निराकार श्रेष्ठ, सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पंकज अग्रवाल केन्द्रीय कार्य समिति सदस्यद्धय आकाश गोल्छा, प्रकाश कपुरी, मेघराज पौडेल, यमुना श्रेष्ठ र अभिक ज्योति समेतकोे उपस्थिति रहेको थियो ।

 

मन्त्री घिसिङले भेटे जेनजी आन्दोलनका मृतकका परिवार

काठमाडौँ- ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले जेनजी आन्दोलनका क्रममा मृत्यु भएका परिवारलाई भेटेका छन्।

मन्त्री घिसिङले मृतक विनोद महर्जनको घरमै पुगेर परिवारलाई भेटेका हुन्। भेटका क्रममा उनले मृतक महर्जनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनामा समवेदना व्यक्त गरेका थिए।

जेनजी आन्दोलनका क्रममा आन्दोलनकारी, सर्वसाधारण र सुरक्षाकर्मीसहित ७० बढीको मृत्यु भएको छ। उनीहरूलाई सहिद घोषणा गर्ने सरकारले निर्णय गरेको छ।

नेपाली केराले नै दसैँ, तिहार र छठ धान्ने, आयात नगर्न अनुरोध

काठमाडौं । केरा व्यवसायीहरूले अहिले नेपालमा उत्पादित केराले दसैँ, तिहार र छठ धान्ने भएकाले आयात नगर्न सार्वजनिक अपिल गरेका छन् ।

नेपाल केरा उत्पादक महासङ्घ काठमाडौँका केन्द्रीय अध्यक्ष विष्णुहरि पन्तले अहिले नेपालमा केरा उत्पादन उत्साहजक रहेको र चाडपर्वलाई नेपाली उत्पादनले पर्याप्त धान्ने भएकाले आयात नगर्न देशभरका सबै फलफूल तथा तरकारी थोक व्यवसायी सङ्घलाई अनुरोध गरिएको बताए ।

महासङ्घले नेपालभरिकै फलफूल तथा तरकारी थोक व्यावसायी सङ्घलाई सम्बोधन गर्दै केरा आयात नगर्न पत्राचार नै गरेको उनले बताए । महासङ्घले गरेको अनुरोधपत्रमा हाल नेपालमा उत्साहजनक रूपमा केरा उत्पादन भइरहेको र विद्यमान अवस्थामा नेपालको उत्पादनले नै नेपाली केरा बजारको मागले दसैँ, तिहार र छठसम्मै थेग्न सक्ने अवस्था रहँदारहँदै पनि नेपाली बजारमा विदेशी केरा निर्वाध रूपमा आयात भइरहेको उल्लेख गरेको छ ।

यसरी केरा आयात हुँदा नेपाली अर्थतन्त्र, वैदेशिक व्यापार घाटा, रोजगारमा प्रत्यक्ष रूपमा असर पार्नुका साथै नेपाली व्यावसायिक केरा उत्पादक किसान विस्थापित हुनसक्नेसम्म खतरा बढ्नुका साथै सबै जिल्लाका किसान आक्रोशित भई आन्दोलनमा जानसक्ने खतरा बढेको अध्यक्ष पन्तले जारी गर्नुभएकोे अनुरोधपत्रमा उल्लेख छ ।

अनुरोध पत्रमा भनिएको छ, “समयमै हामी सबै सङ्घसंस्था र व्यापारीले देशको विषम परिस्थितिलाई समेत मध्यनजर गर्दै यहाँले सम्बन्धित व्यापारीसँग समन्वय तथा छलफल गरी यही असोज ६ गतेभन्दा पछाडि कुनै पनि व्यापारीलाई भारतबाट केरा आयात नगर्न वा नगराउन अनुरोध गर्दछौँ । यदि व्यापारीले बलजफ्ती आयात गरेमा नेपाली किसान वा समर्थकले पुर्याउन सक्ने क्षतिको जवाफदेही पनि यो महासङ्घ नहुने जानकारी तथा अनुरोध गर्दछौँ ।”

उक्त विषयमा केरा उत्पादक किसानका आठवटा समिति तथा प्रतिनिधिले संयुक्त रूपमा सूचना जारी गरेका छन् ।

चितवनस्थित केरा उत्पादक सङ्घका अध्यक्ष घननाथ महतो, कैलालीका अध्यक्ष दीपेन्द्र थारू, कञ्चनपुरका अध्यक्ष सुरेन्द्र चौधरी, बर्दियाका अध्यक्ष टोपलाल थारू, नवलपरासीका अध्यक्ष लक्खु विक, चितवनका पूर्वअध्यक्ष यज्ञप्रसाद सुवेदी, कैलालीका उपाध्यक्ष टेकेन्द्र धामी र केरा जोन समन्वय समिति नवलपरासीका संयोजक युवराज मौर्यसहित हस्ताक्षरित विज्ञप्तिमा केरा आयातमा रोक लगाउनसमेत माग गरिएको छ ।

एक महिनामा २३ अर्बको निर्यात

चालु आवको पहिलो महिनामा निर्यात व्यापार ह्वात्तै बढेको छ। कुल वस्तु निर्यात ९५.७ प्रतिशतले वृद्धि भई २३ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ९.६ प्रतिशतले कमी आएको थियो। गन्तव्यका आधारमा भारततर्फको निर्यात १५६.७ प्रतिशतले वृद्धि भएको छ भने चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः ६५.२ प्रतिशत र १.४ प्रतिशतले कमी आएको छ।

वस्तुगत आधारमा भटमासको तेल, पाम तेल, पोलिस्टरको धागो, अलैंची, जुटका सामान लगायत वस्तुको निर्यात बढेको छ भने जिंक सिट, पार्टिकलबोर्ड, ऊनी गलैंचा, पिना, चिया लगायत वस्तुको निर्यात घटेको छ।

चालु आर्थिक वर्षको पहिलो महिनामा मुलुकको व्यापार घाटा एक खर्ब १९ अर्ब ११ करोड रुपैयाँ बराबर पुगेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार कुल वस्तु व्यापार घाटा २.५ प्रतिशतले वृद्धि भएको छ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटामा ०.४ प्रतिशतले वृद्धि भएको थियो। चालु आवको पहिलो महिना अर्थात् गत साउनमा कुल वस्तु आयात ११.४ प्रतिशतले वृद्धि भई एक खर्ब ४३ अर्ब चार करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा०.६ प्रतिशतले कमी आएको थियो।

वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन र अन्य मुलुकबाट भएको आयात क्रमशः ७.५ प्रतिशत, १४.१ प्रतिशत र २०.५ प्रतिशतले वृद्धि भएको छ।

वस्तुगत आधारमा भटमासको कच्चा तेल, यातायातका उपकरण, सवारीसाधन तथा स्पेयर पार्टस्, चामल/धान, कोइला, रासायनिक मल लगायत वस्तुको आयात बढेको छ भने हट रोल्ड सिट इनक्वाइल, खाने तेल, पेट्रोलियम पदार्थ, अन्य मेसिनरी तथा पार्टस्, तेलहन लगायत वस्तुको आयात घटेको छ।

समीक्षा अवधिमा निर्यात आयात अनुपात १६.७ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ९.५ प्रतिशत थियो। समीक्षा अवधिमा भारतबाट परिवर्त्य विदेशी मुद्रा भुक्तानी गरी १३ अर्ब ४३ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १३ अर्ब ९८ करोड रुपैयाँ बराबर भएको थियो।

Continue reading “एक महिनामा २३ अर्बको निर्यात”

एसिया कप : बंगलादेशले अफगानिस्तानलाई हरायो

एसिसी एसिया कपमा बंगलादेशसँग अफगानिस्तान पराजित भएको छ।

मंगलबार युएईस्थित जायद क्रिकेट रगंशालामा भएको खेलमा अफगानिस्तानलाई ८ रनले पराजित गर्दै बंगलादेशलले लगातार दोस्रो जित हात पार्‍यो। बंगलादेशले दिएको १५५ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले २० ओभरमा १४६ रन बनाउँदै अलआउट भयो।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको बंगलादेशले २० ओभरमा ५ विकेट गुमाउँदै १५४ रन बनाएको थियो। दोस्रो खेल जितेको बंगलादेश समूह ‘बि’ को दोस्रो स्थानमा छ।

हालसम्म एसिया कपको सुपर फोरमा प्रवेश गर्ने दुवै टोलीको सम्भावना कायमै छ।

नारायणगढ-मुग्लिन सडक सञ्चालनमा आयो

काठमाडौं १ असोज । नारायणगढ-मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ ।

मङ्गलबार राति इच्छाकामना गाउँपालिका-४ घोप्टेभिर, वडा नं ५ तुइनखोला र वडा नं ६ नाम्सीखोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक गायत्री शर्माका अनुसार बिहान ९ः१० बजेबाट सडक सञ्चालनमा आएको हो ।

बिहान ६ः०० बजेदेखि पहिरो पन्छाउने काम सुरु गरिएको थियो । तीनवटा एक्साभेटरले पहिरो पन्छाइएको हो । पहिरो पन्छाइएसँगै रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका छन् ।

संसदीय समितिका सभापतिहरूले गाडी फिर्ता गरे

काठमाडौं १ असोज । संसदीय विषयगत समितिका सभापतिहरूले गाडी फिर्ता गर्न थालेका छन् । प्रतिनिधि सभा विघटन भएपछि उनीहरूले संसद सचिवालयबाट लिएको गाडी फिर्ता गर्न थालेका हुन् ।

प्रतिनिधि सभा अन्तर्गत १० वटा विषयगत समिति छ । दुई वटा संयुक्त समिति छ । संयुक्त समितिमा समेत प्रतिनिधि सभा अन्तर्गतका सांसद नै सभापति थिए । १२ वटा विषयगत समितिका सभापतिमध्ये ६ वटा विष्यागत समितिका सभापतिले गाडी फिर्ता गरेका छन् ।

सबैभन्दा पहिले पूर्वाधार विकास समितिका सभापति दिपक बहादुर सिंहले गाडी फिर्ता गरेका थिए । त्यसपछि महिला तथा सामाजिक मामिला समितिका सभापति किरण कुमार साहले गाडी फिर्ता गरे ।

नेकपा एमालेकी सचेतक सुनिता बरालले पनि गाडी फिर्ता गरिसकेकी छन् । अर्थ समितिका सभापति सन्तोष चालिसे, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति कुशुमदेवी थापाले गाडी फिर्ता गरेका छन् ।

बैंकहरूमा थुप्रिएको छ ९ खर्ब, के यो पैसाले क्षति भएको सरकारी सम्पत्ति बनाउन मिल्छ?

काठमाडौं ।  भदौ २३ र २४ को प्रदर्शनमा विभिन्न बैंकका शाखा र एटिएममा मात्र तोडफोड भएन, बैंकहरूले कर्जा लगानी गरेका कतिपय क्षेत्रमा पनि क्षति पुगेका छन्।प्रदर्शनकारीहरूले आगजनी गरेर ध्वस्त पारेको हिल्टन होटल त्यसैको एउटा उदाहरण हो। आठ अर्ब रूपैयाँमा निर्माण भएको हिल्टन होटलमा बैंकहरूको ६ अर्ब रूपैयाँ बराबर कर्जा लगानी छ। अन्य होटलमा पनि प्रदर्शनकारीहरूले क्षति पुर्‍याएका छन्। होटल व्यवसायीहरूले २५ अर्ब रूपैयाँभन्दा धेरैको क्षति भएको प्रारम्भिक अनुमान गरेको छ।

अहिले बैंकहरूले आ–आफ्नो कर्जा लगानी रहेका व्यावसायिक प्रतिष्ठानहरूमा पुगेको क्षतिको विवरण संकलन गरिरहेका छन्।

यो साताभित्र क्षतिको पूर्ण विवरण राष्ट्र बैंकलाई दिने बैंकरहरूले तयारी गरेका छन्।

‘राष्ट्र बैंकले बैंकहरूको लगानीमा पुगेको क्षतिको माग गरेको छ। सम्भवतः यही साताभित्र हामी विवरण दिइसक्छौं,’ नेपाल बैंकर्स संघका अध्यक्ष तथा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले भने। राष्ट्र बैंकले पनि उक्त विवरण आएपछि मात्र निजी क्षेत्रलाई के कसरी राहत दिन सकिन्छ भनी छलफल गर्ने भएको छ।

राष्ट्र बैंकका प्रवक्ता किरण पण्डित भन्छन्, ‘क्षति आकलन भएपछि हामी प्रभावित व्यवसायीहरूसँग कुरा गर्नेछौं। व्यवसाय पुनरूत्थानमा उहाँहरूको अपेक्षा के छ र कसरी गर्ने भन्ने विषयमा त्यसपछि जान सकिन्छ।’

प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो पहिलो सम्बोधनमा उद्योगी, व्यवसायीलाई सहुलियतपूर्ण ऋण दिएर राहत दिन सकिने सम्भावना औंल्याएकी छन्।

सहुलियतपूर्ण कर्जा भनेको कम ब्याजदरको कर्जा हो। नेपालमा बैंकहरूबाट यस्तो कर्जा जारी हुने गरेको छैन। तर सरकारबाट ब्याज अनुदानका कर्जा दिइने गरेको छ। ग्राहकहरूले पाउने यस्तो कर्जाको धेरै भार सरकारले नै बेहोर्छ।

यस्तो कर्जा व्यवस्था लागू हुन्छ कि हुँदैन भन्ने कुरा सरकारी स्रोतमा निर्भर हुन्छ। अहिले बजारमा ब्याजदर निकै कम छ। यसबाट व्यवसायीहरूले लाभ लिन सक्ने अवस्था रहेको बैंकरहरू बताउँछन्।

राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांकअनुसार साउनमा कर्जाको औसत ब्याजदर ७.७६ प्रतिशत छ। बैंकहरूले योभन्दा कममा पनि कर्जा दिइरहेका छन्।

बैंकहरूले आधार दरभन्दा कम ब्याजमा कर्जा दिन पाउँदैनन्। साउनमा यस्तो औसत आधारदर ५.७८ प्रतिशतसम्म आइपुगेको छ। बैंकहरूले असोजका लागि निक्षेपको ब्याजदर थप केही घटाएका छन्। यसले कर्जाको ब्याजदर अझै केही कम हुन सक्ने देखिन्छ।

यसरी घटिरहेको ब्याजदरमा कर्जा लिन व्यवसायीहरू कतिको इच्छुक हुन्छन्, त्यो हेर्न बाँकी छ। राष्ट्र बैंकले व्यवसायीहरूसँगको छलफलपछि नै उनीहरूलाई सघाउन कस्तो प्याकेज ल्याउने भन्ने निर्क्यौल गर्ने भनेको छ।

व्यवसायीहरूलाई आवश्यक पर्दा कर्जा पुनर्संरचना गर्न सकिने, कर्जा तिर्ने भाका सार्न सकिने लगायतका सहुलियत कार्यक्रम पनि लागू हुन सक्ने देखिन्छ।

त्यस्तै, सरकारले चाहे सरकारी सम्पत्ति पुनर्निर्माणका लागि ऋणपत्र जारी गर्न सक्ने देखिन्छ। कर्जा लगानी बढ्न नसकिरहेको समयमा बैंकहरूसँग रहेको ९ खर्ब ११ अर्ब रूपैयाँ बराबर लगानीयोग्य रकम यसमा प्रयोग हुन सक्छ। बैंकहरूबाटै पनि यस्ता ऋणपत्रमा लगानी हुन सक्छ।

सरकारले चाहे ‘पुनर्निर्माण बन्ड’ जारी गरेर पनि क्षति भएको सरकारी सम्पत्ति पुनर्निर्माण गर्न सक्ने बैंकर तथा राष्ट्र बैंकका अधिकारीहरू बताउँछन्।

जेनजी प्रदर्शनको क्रममा मृत्यु हुनेको संख्या ७३

काठमाडौं । जेनजी प्रदर्शनको क्रममा मृत्यु हुनेको संख्या ७३ जना पुगेको छ । भदौ २३ र २४ मा भएको प्रदर्शनमा मृत्यु हुनेका संख्या ७३ पुगेको प्रहरी प्रवक्ता (डीआईजी) विनोद घिमिरेले बताए ।

प्रहरीतर्फ ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा असई मिलन राय, सहायक हवल्दार अमृत गुरुङ र जवान उत्तम थापा छन् । नयाँ बानेश्वरमा प्रहरीको गोली लागेर घटनास्थलमा र अस्पतालमा उपचारको क्रममा २१ जनाले ज्यान गुमाएका छन् । मृतकहरुमा प्रदर्शनकारीतर्फ बुद्धिबहादुर तामाङ, सन्तोष बिक, सुलभराज श्रेष्ठ, श्रीयम चौलागाईं, ईस्वत अधिकारी, आयुष थापा मगर, सौरभ जोशी, योग बहादुर श्रेष्ठ, माधव सारुमगर, बिमल बावु भट्ट, असहाव आलम ठकुराई, शौरन किशोर श्रेष्ठ, सुवास कुमार बोहरा, रसिक खतिवडा, विनोद महर्जन, दिल नारायण तामाङ, योगेन्द्र न्यौपाने, छत्रमान कुथुमी, ओझन बुढा, अविषेक श्रेष्ठ र मोहन सरदार ‘चंखे’ छन् ।

यसैगरी भदौ २४ मा भएको लुटपाट र आगजनीको क्रममा ३८ जनाको मृत्यु भएको छ । भाटभटेनी सुपरमार्केट तथा व्यक्तिहरूको घरमा जलेको अवस्थामा १५ जनाको शव भेटिएको छ ।कैदीबन्दी तथा बाल बन्दीतर्फ १० जनाको मृत्यु भएको छ ।

 

क्रोएसियाका फ्रिडाइभर भिटोमिर मारिचिचले २९ मिनेटसम्म सास रोकेर नयाँ विश्व कीर्तिमान बनाए

काठमाडौँ । क्रोएसियाका फ्रिडाइभर भिटोमिर मारिचिचले ३ मिटर गहिरो पोखरीमा २९ मिनेट ३ सेकेन्डसम्म सास रोकेर नयाँ विश्व कीर्तिमान कायम गरेका छन्। उनले अघिल्लो रेकर्डलाई करिब ५ मिनेटले पछि पारेका हुन् ।

साधारण मानिसले केही सेकेन्ड वा मिनेट मात्र सास रोक्न सक्छन्, तर विशेष तालिम प्राप्त फ्रिडाइभरहरूले धेरै लामो समयसम्म पानीमुनि सास रोकेर राख्न सक्छन्। यस्ता व्यक्तिहरूले डायफ्रामिक श्वासप्रश्वास, कार्डियोभास्कुलर व्यायाम र ध्यानजस्ता कडा शारीरिक र मानसिक तालिम लिन्छन् ।

आफ्नो यो उपलब्धिपछि मारिचिचले भने, ‘शारीरिक रूपमा यो झन्–झन् गाह्रो हुँदै गयो, विशेष गरी मेरो डायफ्रामको सङ्कुचनका कारण। तर मानसिक रूपमा मैले हार मान्ने छैन भन्ने थाहा थियो। २० मिनेटपछि सबै कुरा सजिलो भयो, कम्तीमा मानसिक रूपमा ।’

जब हामी सास रोक्छौँ, हाम्रो रगतमा अक्सिजनको स्तर घट्छ र कार्बन डाइअक्साइडको मात्रा बढ्छ। जब कार्बन डाइअक्साइडको मात्रा निश्चित स्तरमा पुग्छ, हाम्रो शरीरले सास फेर्नका लागि अनैच्छिक रूपमा डायफ्राम (श्वासप्रश्वासको मुख्य मांसपेशी) लाई सङ्कुचित गर्न थाल्छ। यो अवस्थालाई ‘फिजिओलोजिकल ब्रेक–पोइन्ट’ भनिन्छ, जहाँ सास फेर्ने तीव्र इच्छा जाग्छ, जुन पानीमुनि घातक हुन सक्छ। तर, फ्रिडाइभरहरू यो अनैच्छिक प्रतिक्रियालाई अन्तिम क्षणसम्म रोक्न प्रशिक्षित हुन्छन् ।

मारिचिचको सफलतामा डायफ्रामिक श्वासप्रश्वास र कार्डियोभास्कुलर व्यायामका साथै मानसिक अनुशासनका लागि ध्यान पनि महत्त्वपूर्ण छ ।

उनीहरूले डर र चिन्तालाई नियन्त्रणमा राख्नुपर्छ र अक्सिजन खपतको दर घटाउन मानसिक तथा शारीरिक गतिविधि कम गर्नुपर्छ ।

भ्रष्टाचारसम्बन्धी आयोग बन्छ : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचार छानबिनका लागि छुट्टै आयोग बनाउने जानकारी दिएकी छन् । आन्दोलनको म्याण्डेट नै भएकाले यो आयोग आवश्यक पर्ने उनले उल्लेख गरेकी छन् ।

उक्त आयोगले अनसुन्धान गरेर गरेर अर्को सरकारका लागि सहज हुने आधार तयार गरिदिने उनले बताइन् ।

‘कति भ्रष्टाचार भएको छ । अनियमितिता भएको छ त्यसको अनुसन्धान गरेर भए पनि हामीले कारबाही गर्ने सम्म मात्र पुर्‍यायौं भने सरकारले काम गर्न सक्छ । तर हामी बाटो चाहिँ बनाउँछौं’ बीबीसी नेपालीलाई दिएको अन्तर्वार्तामा प्रधानमन्त्री कार्कीले भनिन् ।

जेनजी आन्दोलनको दमन जाँचबुझका लागि तीन ससस्यीय आयोग बन्ने जानकारी दिएकी छन् । उनले सुरुमा एक महिनाको समय दिने र नसकिएको अवस्थामा थप १५ दिन समय उपलब्ध गराउने जानकारी दिइन् । मन्त्रिपरिषद्को बैठकले हिजो नै आयोग बनाउने सैद्धान्तिक निर्णय गरेको थियो ।

सरकारको कार्यकाल नै ६ महिनाको भएकाले यो अवधिमा अधिकतम काम गर्ने उद्देश्य रहेको उनले बीबीसीको विशेष अन्तर्वार्तामा बताएकी छन् ।

निर्वाचनका लागि प्रारम्भिक तयारी सुरु

काठमाडौँ : प्रतिनिधिसभा विघटन भई आगामी फागुन २१ गते निर्वाचनको मिति घोषणा भएपछि निर्वाचन आयोगले प्रारम्भिक तयारीका काम सुरु गरेको छ ।

यसअघि आगामी कात्तिक १७ गतेका लागि निर्धारित रुपन्देही निर्वाचन क्षेत्र नं ३ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनसम्बन्धी सम्पूर्ण कार्यक्रम रद्द गरी मध्यावधि निर्वाचनका लागि आयोगले प्रारम्भिक तयारी सुरु गरेको हो ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचन घोषणासँगै सरकारसँगको औपचारिक परामर्श र अन्य व्यवस्थापकीय तयारी तथा योजना तर्जुमा सुरु भएको बताए । नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निर्वाचनका लागि आवश्यक पर्ने रकमको प्रबन्ध हुनेगरी बजेट परिमार्जित गर्ने घोषणा गरिसकेका छन् ।

यही भदौ २३ २४ गते भएको ‘जेनजी पुस्ता’को आन्दोलन र यसबाट उत्पन्न परिस्थितिका कारण तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई यही भदौ २७ गते प्रधानमन्त्रीमा नियुक्त गरेका थिए । त्यही दिन प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरी आगामी फागुन २१ गतेका लागि निर्वाचन घोषणा गरेका थिए ।

१६ बुँदे प्रस्ताव राख्दै जनार्दनले मागे प्रचण्डको राजीनामा

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले पदबाट राजीनामा दिनुपर्ने बताएका छन्।

उनले जेनजी आन्दोलनको संश्लेषण र आगामी बाटोबारे राखेको प्रस्तावमा अध्यक्षबाट प्रचण्डको राजीनामा माग भएको हो।

‘पार्टीको मूल नेतृत्वले तत्काल राजीनामा दिनुपर्छ,’ उपमहासचिव शर्माले भनेका छन्।

यस्तो छ शर्माको भनाइ;

१. जेन जी आन्दोलनले थिग्रिएको भ्रष्टाचारयुक्त राजनीति, संस्कृतिमाथि प्रहार गरेकाले त्यसको सकारात्मक संश्लेषण गर्नुपर्छ।

२. यसले दलतन्त्र, नेतातन्त्र, कमिसनतन्त्र र दलालीका सबै पाटापक्ष उजागर गरेकाले अब देशलाई नयाँ ढंगले अगाडि बढाउने बाटो खोलेको छ।

३. वर्तमान सरकारलाई सहयोग गर्दै निर्वाचनमा जाने वातावरण बनाउनुपर्छ।

४. पार्टीभित्र सम्पत्ति छानबिनबारे विगतदेखि राखेको माग कार्यान्वयन गर्न स्वतन्त्र व्यक्तिको नेतृत्वमा आयोग गठन गर्नुपर्छ।

५. २०४६ पछि पदमा बसेका सबै क्षेत्रका निवृत्तहरूको सम्पत्ति छानबिन र जेन जी आन्दोलनमा जनधनको क्षतिबारे उच्चस्तरीय आयोग बनाउन अहिलेको सरकारसँग माग गर्नुपर्छ।

६. पार्टीको मूल नेतृत्वले तत्काल राजीनामा दिनुपर्छ।

७. नेतृत्व निर्वाचन प्रणाली प्रत्यक्ष निर्वाचितको मोडेलमा लैजानुपर्छ।

८. कुन पदमा कुन व्यक्ति कति पटक बस्ने भन्ने ठोस र स्पष्ट नीति बनाउनुपर्छ।

९. वर्तमान निर्वाचन प्रणाली अन्त्य गरी पूर्ण समानुपातिक निर्वाचन प्रणालीमार्फत संसद् निर्माण लागि राजनीतिक बहस प्रारम्भ गर्नुपर्छ।

१०. प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको कुरालाई जोडदार रूपमा उठाउनुपर्छ।

११. पार्टी भित्रका दलित महिलाका समस्याहरू समाधानका लागि स्पष्ट दृष्टिकोण निर्माण गर्नुपर्छ।

१२. सांस्कृतिक विचलन, यौन अराजकता जस्ता घटनाक्रमको छानबिन गर्नुपर्छ।

१३. शहीद, बेपत्ता परिवार र घाइते योद्धा तथा अशक्त र वृद्ध वृद्धाहरुको संरक्षणसम्बन्धी नीति तय गर्नुपर्छ।

१४. श्रम र आर्थिक उत्पादनसम्बन्धी पार्टीको नीति, योजना र कार्यक्रममार्फत् सबैलाई स्वरोजगार बनाउन अभियान सुरू गर्नुपर्छ।

१५. राष्ट्रियता गम्भीर संकटमा रहेकाले राष्ट्रियताको रक्षाका लागि सतर्कतापूर्वक पार्टीपंक्तिलाई सचेत राख्नुपर्छ।

१६. उपर्युक्त लक्ष्य पुरा गर्न सो अनुसारको संगठन बनाउनुपर्छ।

खोज्नुहोस