दल दर्ताका लागि १३ नयाँ पार्टीले दिए निर्वाचन आयोगमा निवेदन

द एभरेष्ट पोष्ट
१३ असोज २०८२ ७:५०
दल दर्ताका लागि १३ नयाँ पार्टीले दिए निर्वाचन आयोगमा निवेदन

काठमाडौं १३ असोज । २१ फागुनका लागि प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा भएपछि नयाँ–नयाँ पार्टी खोल्ने क्रम सुरु भएको छ । जेन–जी आन्दोलनअघि उपनिर्वाचनको मिति घोषणा भएयता १३ नयाँ पार्टीले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । त्यसमध्ये धरानका मेयर हर्कराज राई साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी (श्रसंपा) एउटा हो ।

आफ्नै नेतृत्वमा श्रसंपा खोलेका साम्पाङले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । उनले १६ भदौमै पार्टी गठन गरेका थिए । ३१ भदौमा पार्टीको केन्द्रीय समितिबाट निर्णय गराएर दल दर्ताका लागि ७ असोजमा निर्वाचन आयोगमा निवेदन दिएका हुन् । उनले पार्टीको केन्द्रीय समिति २३ सदस्यीय बनाएका छन् । केन्द्रीय कार्यालय काठमाडौंको सुकेधारामा तोकिएकामा सात प्रदेश कार्यालय विराटनगर, जनकपुर, हेटौँडा, कास्की, देउखुरी, वीरेन्द्रनगर र धनगढीमा तोकिएको छ ।

केन्द्रीय समितिले दल दर्ताका लागि गरेको निर्णयको प्रतिलिपि, दलको विधान, घोषणापत्र, झन्डा, चिह्न (लोगो)को नमुना, कम्तीमा पाँच सय नेपाली मतदाताले दलको सदस्यता प्राप्त गरेको प्रतिबद्धतासहित निजहरूले अर्काे दलको सदस्य नभएको भनी गरेको उद्घोषणपत्र, दलको सदस्यता प्राप्त गर्न प्रतिबद्धता व्यक्त गर्ने नेपाली मतदाताको नागरिकता वा मतदाता परिचयपत्रको प्रमाणित प्रतिलिपि बुझाएका छन् ।

निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले श्रम संस्कृति पार्टी दर्ताका लागि निवेदन आएको पुष्टि गरे । ‘हर्कराज राई साम्पाङ अध्यक्ष रहने गरी दल दर्ताका लागि निवेदन आएको छ । हामी अध्ययन गर्दै छौँ । कानुनअनुसार दल दर्ताका लागि सबै रित पु¥याएको अवस्थामा दल दर्ता हुन्छ,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस