चार लाख ६० हजारले छाडे उपत्यका

काठमाडौं ११ असोज। दसैँ नजिकिएसँगै काठमाडौं उपत्यका छाड्ने बढेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार १ असोजदेखि १० असोज साँझसम्म चार लाख ६० हजार पाँच सयले सडकमार्ग भएर उपत्यका छाडेका छन् । ६ असोजदेखि उपत्यका छाड्ने यात्रुको संख्या बढ्न थालेको हो ।
बिहीबार ५६ हजार ९०६ यात्रुले उपत्यका छाडेकामा शुक्रबार झन्डै ६० हजार यात्रु बाहिरिएका छन् । अहिले काठमाडौं उपत्यकासँग जोडिएका सबै सडकमा सवारीसाधनको चाप बढेको छ । शनिबारबाट संख्या अझ बढ्ने आकलन गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी नरेशराज सुवेदीले बताए । उनका अनुसार सडक अस्तव्यस्त हुँदा केही दिन यात्रुहरूले निकै सास्ती खेप्नुपरे पनि बिहीबार साँझदेखि भने राजमार्ग सहज भएका कारण बाहिरिनेको संख्या थप बढ्दो छ ।
हाल उपत्यकाका चारैतिरका नाकाका झोला बोकेर घर फर्कन बस कुर्ने यात्रुको भिडभाड देखिन्छ । अन्य समयमा विभिन्न कामकाजले उपत्यका आउनेहरूको संख्या बढे पनि चाडबाडको वेला भने उपत्यकाबाट बाहिरिनेको संख्या ह्वात्तै बढ्ने गर्छ । उपत्यकाको कलंकी, बल्खु, जडीबुटी, जगाती, चाबहिल, नयाँ बसपार्क, बालाजु, माछापोखरीलगायत स्थानमा घर फर्कने यात्रुहरूको बाक्लो उपस्थिति हुने गरेको छ । दसैँको वेला १५ लाखभन्दा बढी मानिसले उपत्यका छाड्ने गर्छन् । ट्राफिक प्रहरीले बसपार्कसहितका क्षेत्रमा सहायता कक्ष पनि राखेको छ ।