अध्यक्ष पदमा बसिरहनुपर्छ भन्ने ठानेको छैन : प्रचण्ड

द एभरेष्ट पोष्ट
९ असोज २०८२ १७:२४
अध्यक्ष पदमा बसिरहनुपर्छ भन्ने ठानेको छैन : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको सातौँ पूर्ण बैठक बिहीबारबाट काठमाडौंमा सुरु भएको छ । प्रज्ञा भवन कमलादीमा बसेको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक एवम् सङ्गठनात्मक प्रस्ताव राखेका छन् ।

प्रचण्डले अहिलेको केन्द्रीय समिति विघटन गर्दै विशेष महाधिवेशनमा जानका लागि आफ्नो नेतृत्वमा आयोजक कमिटी बनाउने प्रस्ताव राखेका हुन् । उनले तोकिएको समयमा नै निर्वाचन हुनुपर्ने र पार्टीको ध्यान निर्वाचनमा केन्द्रित गर्नुपर्ने विषयमा जोड दिएका छन् ।  उनले अहिलेको अवस्था देश सङ्कटमा रहेको बताउँदै आफूले नेतृत्वबाट टाढिन नपर्ने बताएका छन् ।

जेनजी आन्दोलन र उत्पन्न भएको अवस्थाबारे पार्टीको धारणा बनाउन सुरु भएको बैठकलाई सम्बोधन गर्दै उनले जिम्मेवारीबाट नभाग्ने भने पनि अध्यक्ष पदमा टाँस्सिरहन नचाहेको बताएका छन् ।

‘जिम्मेवारीबाट पन्छिने, पलायन हुने र अब पुग्यो भन्ने पक्षमा छैन, तर मलाई पदमा बसिरहनुपर्छ भन्ने लाग्दैन’, उनले भने, ’एउटा निश्चित विधि र प्रक्रियाबाट नयाँ नेतृत्वमा जानु पर्छ । कसैलाई टीको लगाएर हुँदैन । अहिले जसरी कुरा उठेको छ, यो विषय संवेदनशील हो, यसबारे सोच्नै पर्छ । मैले अध्यक्ष पदमा बसिरहनुपर्छ भन्ने ठानेको छैन । अहिले देश जुन बिन्दुमा आइपुगेको छ, पहिले कहिल्यै थिएन । नेतृत्वबारे प्रश्न उठेको छ। हामी यसबारे कुरा गर्छौँ  ।‘

प्रचण्डले राखेको राजनीतिक एवम् सङ्गठनात्मकमाथि प्रदेशअनुसार प्रतिनिधि विभाजन गरी छलफल हुने र समूहका नेताले बैठकमा रिपोर्टिङ गर्ने माओवादीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस