जेनजी आन्दोलनमा भएका क्षतिप्रति माफी माग्दै योगेशले भने: एमाले पुनर्गठन गर्नुपर्छ

द एभरेष्ट पोष्ट
९ असोज २०८२ १४:१४
जेनजी आन्दोलनमा भएका क्षतिप्रति माफी माग्दै योगेशले भने: एमाले पुनर्गठन गर्नुपर्छ

काठ्माण्डौ- नेकपा एमालेका सचिव योगेश भट्टराईले जेनजी आन्दोलन हुनुमा आफ्नो पार्टीको गल्ती स्वीकार गर्दै माफी मागेका छन्। साथै उनले पार्टी पुनर्गठनको माग पनि गरेका छन्।

जेनजी आन्दोलनका क्रममा त्यत्रो विनाश हुँदा पनि तत्कालीन सरकार नेतृत्वकर्ता दल एमालेले अहिलेसम्म गल्ती स्वीकार नगरेको भनेर व्यापक आलोचना भइरहेका बेला सचिव भट्टराईले बिहीबार वक्तव्य जारी गरी क्षमायाचना गरेका हुन्।

‘मैले सामाजिक सञ्जाल हेरिरहेको छु, सञ्चारमाध्यमहरू पढिरहेको छु। तपाईंहरूले हामीलाई सोधिरहनुभएको छ, ‘तिमीहरूसँग आत्मालोचना र स्वीकारोक्ति छैन?’ आफ्ना कमजोरीहरूप्रति माफी माग्दैनौँ? यसअघि पनि मैले भदौ २४, २५ र २८ गते सामाजिक सञ्जालमार्फत केही कुरा राखेको थिएँ। हो, असल प्रयास र प्रयत्नहरू जारी थिए। अनेक सीमा, अवरोध र अप्ठ्याराहरूको बीचमा पनि प्रयासहरू प्रयत्नहरू जारी थिए भन्ने लाग्छ। तर सब ठिकठाक थिएनन् भन्ने पुष्टि २३ भदौले गरिसकेको छ। यो सत्यलाई हामीले स्वीकार गर्नुपर्छ। र, हामीले भन्नुपर्ने हुन्छ, ‘बदलिएका आवश्यकता र अपेक्षाहरू पूरा गर्न सफल नभएकोमा हामी माफी चाहन्छौँ,’ भट्टराईले भनेका छन्।

यस क्रममा उनले अब नेकपा एमालेलाई पनि पुनर्गठन गर्न अपरिहार्य भएको उल्लेख गरेका छन्।

‘ग्राम्सीले भनेजस्तै अब नेकपा एमालेलाई, कम्युनिस्ट आन्दोलनलाई नयाँ चेतनाले पुनर्गठन गर्नुपर्नेछ’, उनले भनेका छन्, ‘फेरि पार्टी र आन्दोलनको पुनर्गठन गरिरहँदा हामीले इतिहासको बेवास्ता र अपमान कदापि गर्नु हुन्न। पार्टीका नेताहरू जो आज नेतृत्वमा हुनुहुन्छ, लामो समय तपाईं हामी पनि उहाँहरूसँगै थियौँ। यो जसअपजसको भागीदार हामी पनि हौँ। त्यसैले म यो बेला भन्छु, ‘उहाँहरूको सम्मानसहित पुनर्गठन।’

पार्टी पुनर्गठनको कुरा गर्दा अग्रज नेताहरूको अपमानको रूपमा अर्थ लगाउनु गलत हुने तर्क एमाले सचिव भट्टराईले गरेका छन्।

‘सम्झिनुहोस् त, दुनियाँको इतिहास। लेनिनका, मार्क्सका सालिकहरू ढालिएका इतिहास तपाईं हामीले पढेका छौँ। हाम्रो नेताहरूको इतिहासको रक्षा र सम्मान त्यति बेला मात्रै हुन्छ, जतिबेला हाम्रो आन्दोलन रहन्छ। इतिहासको सम्मान वर्तमानप्रतिको सचेत निर्णय र भविष्य निर्माणको आधार पनि हो’, उनले भनेका छन्, ‘पुनर्गठन र रूपान्तरणको आवाजलाई हाम्रो आदरणीय नेताहरूमाथिको प्रश्न अथवा अपमानको रूपमा अर्थ लगाउनु सर्वथा गलत हो। वस्तुतः यो व्याख्या गर्नेहरू नै हाम्रो नेतृत्वको सम्मानका बाधक हुन्।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस