प्रधानमन्त्री कार्की र बालेनबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच भेटवार्ता भएको छ ।
उनीहरूबीच करिब १ घन्टा छलफल भएको स्रोतको भनाइ छ । मेयर शाह बिहान ८:२५ बजे बालुवाटार पुगेका थिए।
जेन–जी आन्दोलन र हालको सरकार गठनमा निर्णायक भूमिका खेलेका मेयर शाह र प्रधानमन्त्री कार्कीबीच भएको यो भेटलाई महत्त्वका साथ हेरिएको छ ।
प्रधानमन्त्री कार्की र बालेनबीच जेनजी आन्दोलनले उठाएका मागका विषयमा छलफल भएको स्रोतको भनाइ छ ।
‘जेनजी आन्दोलनका क्रममा उठेका मागहरूका विषयमा छलफल भएको हो,’ स्रोतले भन्यो, ‘यो अनौपचारिक भेटघाट हो । आन्दोलनका माग र मुद्दा छलफल भएको हो ।’
प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनमा उठेमा मागका विषयमा आफू प्रतिबद्ध रहेको बताएकी थिइन् । उनले निर्वाचन र सुशासनलाई केन्द्रमा राखेर सरकार अघि बढेको बताएकी थिइन् ।
मेयर शाहसँगको भेटवार्तापछि प्रधानमन्त्री कार्कीले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोज केसीसँग पनि छलफल गरेकी छन् ।