साफ यु–१७ च्याम्पियनसिप : नेपालको विजयी सुरुवात

काठमाडौँ । नेपालले श्रीलङ्काको कोलम्बोमा जारी साफ यु–१७ च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ ।
सोमबारदेखि सुरु भएको च्याम्पियनसिपको पहिलो खेलमा नेपालले घरेलु टोली श्रीलङ्कालाई २–० गोलले हरायो । नेपालको जितमा दुवै गोल समीर कुमारले गरे ।
उहाँले ५२औँ र इन्जुरी समयमा गोल गर्दै नेपालको जित पक्का बनाउनुभएको थियो । श्रीलङ्का पहिलो हाफमै १० खेलाडीमा समेटिएपछि नेपाललाई फाइदा भएको थियो ।
२७औँ मिनेटमा मोहम्मद इफाम दोहोरो पहेँलो (रातो) कार्ड पाउँदै बाहिरिएका थिए । जितसँगै नेपालले सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।
समूह ‘ए’ मा रहेको नेपालले दोस्रो खेल सेप्टेम्बर १८ तारिखमा बङ्गलादेशसँग खेल्नेछ । समूह ‘बी’ मा भारत, माल्दिभ्स, पाकिस्तान र भुटान छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।