लम्सालको चौथो महाकाव्य कल्प सार्वजनिक

द एभरेष्ट पोष्ट
२० भदौ २०८२ २३:४०
लम्सालको चौथो महाकाव्य कल्प सार्वजनिक

काठमाण्डौं, २० भदौ ।

महाकाव्यकार डा. नवराज लम्सालको नयाँ महाकाव्य कल्प सार्वजनिक भएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानमा शुक्रवार आयोजित एक समारोहमा लम्सालको चौथो महाकाव्य कल्प सार्वजनिक गरिएको हो ।

पूर्वमन्त्री तथा सांसदहरू गगन थापा, विद्या भट्टराई, सुदन किराँती, सांसद मनिष झा, समीक्षक राजकुमार बानियाँ र लेखक स्वयं भएर संयुक्त रूपमा कल्प सार्वजनिक गरे ।

विमोचन समारोहमा कांग्रेसका महामन्त्री समेत रहेका पूर्वमन्त्री तथा सांसद गगन थापाले नवराज लम्सालको प्रतिष्पर्धा नवराज लम्सालसँग मात्र भएको बताए । उनले कुनै दलको झ्रन्डा नबोके पनि कुनै पनि राजनैतिका दलका नेताभन्दा कम राजनीतिक चेतना लम्सालसँग छैन भन्दै उनले भने
त्यही चेतनाका कारण लम्सालको काव्य उच्चस्तरका, वैचारिक र राजनीतिक नेतृत्वले पनि पढ्नै पर्ने भएको हो ।

एमाले नेतृ पूर्वमन्त्री तथा सांसद विद्या भट्टराईले कल्पको अध्ययनबाट लम्सालको वैचारिक धरातल निकै गहिरो पाएको बताईन्।

कार्यक्रमका अर्का अतिथि नेकपा माओवादीका नेता पूर्वमन्त्री तथा सांसद सुदन किरातीले भने, लम्साल सिमान्तकृत जाति आदिवासी महिला र मधेशीको साँस्कृतिक विम्व र पहिचानका गहिरो लेखक हुन् ।

नवराज लम्साल देशको सांस्कृतिक चेतना र बहुलतालाई सम्मान गर्ने कवि हुन् । उनको लेखनमा सांस्कृतिक झल्को र देशको अनुहार भेटिन्छ । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता समेत रहेका सांसद मनिष झाले लम्सालले मधेशलाई जुरुक्क उठाएर आफ्नो बोली राख्न नसक्ने जनताको बोलीलाई कविताको भाषा दिएर देशलाई जोडेको बताए ।

समीक्षक राजकुमार बानियाँले विश्वका चर्चित महाकाव्यहरूको उदाहरण दिँदै नेपाली भाषामा यस प्रकारको काव्य लेखिनु नेपाली भाषाकै गौरव भएको बताए । महाकाव्य हुनका लागि जति चिन्तन बौद्धिकता र गहिराई चाहिन्छ, नवराज लम्सालले त्यसको सीमा पार गरेको उल्लेख गरे ।

कल्प महाकाव्य शिखा बुक्सले प्रकाशन गरेको हो । कर्णको चौथो संस्करण प्रकाशन गरेका प्रकाशक पुष्पराज पौडेलले महाकाव्यकार लम्सालको कृति प्रकाशन गर्न पाउनु गौरवको कुरा भएको बताए ।

लम्सालका चार महाकाव्य, तीन कविता संग्रह र दुई गीत संग्रहसहित नौ पुस्तक प्रकाशित छन् । नेपाली महाकाव्य लेखनको मानक यात्रा तय गरेका लम्साल अग्नि महाकाव्यका लागि २०७८ सालको मदन पुरस्कार विजेता कवि हुन् ।

कवि लम्साल प्रसिद्ध रेडियोकर्मी पनि हुन् । लम्सालसंग ३० वर्ष रेडियो नेपालमा र १० वर्ष बिबिसीमा काम गरेको अनुभव छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस