“आमा म आउँदै छु” कविता संग्रह : प्रेम, विद्रोह र देश भक्तिको त्रिवेणी

द एभरेष्ट पोष्ट
१८ भदौ २०८२ ११:१७
“आमा म आउँदै छु” कविता संग्रह : प्रेम, विद्रोह र देश भक्तिको त्रिवेणी

सुनिता खत्री थापा ।

कविता जीवनको समालोचना हो, प्रसिद्ध लेखक मैथ्यु अर्मल्डको यो भनाइ कविता जगतमा निकै चर्चित छ । जीवन र जीवनकै समालोचनाको जगतमा कविताले जीवनकै कुरा गर्ने हो । कवि दीर्घराज उपाध्यायको कविता संग्रह “आमा म आउँदै छु” मा पनि उनले जीवन बाँच्न कठिन भएर पनि जिजीबिषा साँचेर बाँच्नका लागि संघर्षरत नागरिकका बारेमा कुरा गरेका छन् । मृत्यु नजिक पुगेका नागरिकको चुडान्त संवेदना टपक्क टिपेर उनको केबल जीवनसँग मात्र नभई मृत्युसँग समेत संवाद गरेका छन् ।

र……

मृत्युले भन्य, म छु नि त,

तिमीहरुको सरकार पो छैन ।

कवि दीर्घराज उपाध्याय नेपाली पत्रकारितामा परिचित नाम हो । उनको जन्म सुदूरपश्चिमको धनगढीमा भएको हो । उनको श्रीमती भुवन जोशी उपाध्याय, एक छोरी उपेक्षा उपाध्याय, एक छोरा अभि उपाध्याय छन् । उनी पश्चिम टुडे मिडिया हाउसका प्रधान सम्पादक तथा प्रमुख कार्यकारी अधिकृत हुन् । जसको मातहमा ब्रोडसीट पश्चिम टुडे दैनिक पत्रिका, रेडियो पश्चिम टुडे एफएम र पश्चिम टुडे अनलाईन न्यूज पोर्टल सञ्चालनमा छ । साहित्यमा उनी अनुरागका नामले चिनिन्छन् । उनको गजल संग्रह २०५९, नोट अफ डिसेन्ट (कविता संग्रह), २०६३ समेत गरी दुइवटा साहित्यिक कृति प्रकाशित छन् । तेश्रो कृति द्वन्द पत्रकारिताको एक दशक, २०८१ साउनमा प्रकाशित कविता संग्रह “आमा म आउँदै छु” उनको चौथो कृति हो यस कविता संग्रहमा तीस वटा कविता समावेश भएका छन् ।

उनका कवितामा माटोको सुवास छ । देश छ । देश र जनता प्रतिको प्रेम छ । आफ्नै देशमा नागरिक हुदा हुदै अनागरिक हुनुको पीडा छ । बालापनको मिठो अनुभूति छ र फेरी फर्किन चाहन्छन् त्यो बालापनमा । उपचार नपाएर मृत्युवरण गरिरहेका नागरिकको मनोदशा देख्दा उनी कवितामा विद्रोही जस्ता देखिन्छन् र राज्य/सरकार प्रति आक्रोस पोख्छन् । कहि उनले प्रेमको बर्षा गरेका छन त कतै बा, आमा, छोरी बालापनका साथी र प्रियजनहरु प्रति अघात माया छल्किएको देखिन्छ ।

कतै राज्यको बेथिती राजनितिक अस्थिरता र बेरोजगारका कारणले बाध्याताबश युवा पिढी विदेशिनु पर्दा उजाडिएको पहाड, रितिएको सुनसान गाउँ, मृत्युको पर्खाइमा रहेका बुढा बा आमा, सिउँदो पुछिएका श्रीमती, टुहुरा छोरा छोरी प्रति साहनुभूती देखाउँदै सरकारप्रति गुनासो पोखेका छन् ।

त्यस्तै यस कविता संग्रहका कविका “आमा” मा मनमा असंख्य पिडा, आँखामा अनगिन्ती सपना राखेर आँसुलाई आँखाको डिलमा लुकाएर अनेकौ दुःख, कष्ट, अभाव सहेर पनि आफ्ना सन्तानको सामु मुस्कुराएर अथाह प्रेम गर्ने आमाको शक्तिको बारेमा कुरा गरिएको छ भने “बा” कवितामा अनेक दुःख, कष्ट, संघर्षका बाबजुद आफ्ना सन्तानलाई सधै सितल छाहारी/ओत र उर्जा प्रदान गर्ने सन्तानको दुःखको सामु आफु पहाड बनी उभि दिने बा को योगदानलाइ प्रस्तुत गरिएको छ ।

अर्को कविता आफ्नो संगिनीलाई सधै मुस्कुराई रहने, झरीमा पनि फुल्न सक्ने, दुःख पिडामा पनि नओइलाउने, काँडाको बिचमा फुल्ने सुन्दर गुलाबको फुलजस्ती, जस्को सुवासले आफ्नो जीवनमा उमंग भरिदिएको भन्दै उनीप्रति आफ्नो अथाह प्रेम भावना दर्शाएका छन् । नदीलाई किनाराले हरबखत साथ दिए झै आफुले पनि निरन्तर नदीको दुइ किनाराले जस्तै गरी हरेक सुख दुख मा उनलाइ साथ दिइरहने, सँगै बाच्ने बाचा गरेका छन् । जसलाइ कवितामा यसरी व्यक्त गरेका छन् …………

तिमीलाइ किनार बनेर साथ दिइरहन पाए

यसै गरी तिमिलाइ स्पर्श गरिरहन पाए

मलाइ कुनै छुट्टै अस्तित्व चाहिएन

यही मिठो भ्रममा बाँची रहन पाए ।

“आमा म आउँदै छु” कवितामा कोरोना कालमा भारतमा रहेको छोरा आमाको मृत्यु पश्चात आफ्नो घर नेपालमा आउन खोज्दा सरकारले महाकाली पुलको ढोका नखोली दिएर आमाको अन्त्येष्टीमा समावेश भई मुखाग्नी दिन नपाउँदाको पिडा पोखेका छन् भने अर्को तिर कोरानाकै समयमा नेपालमा लकडाउन हुँदा खल्तीमा सुको पैसा नभएर, भोकै, प्यासै सोलुखुम्बुबाट काठमाण्डौ, काठमाण्डौबाट कैलाली पैदल पुगेका र भारतको दिल्लीबाट १४ दिन लगाएर पैताला रगताम्मे बनाउँदै पैदल हिडेर सुदूरपश्चिम आइपुगेका नागरिकहरुको विवशता दर्शाएका छन् । जसलाइ यसरी पोखेका छन् ।

रगताम्मे भएका पैतलाहरु

देखिने र नदेखिने पिडाहरु

सबै बिर्सिएको थियो उसले

काली पारीबाट देख्दा

अर्को कविता “तिमीले दिएको नागरिकता फिर्ता लैजाउ” मा कविले कोरोना कालमै लकडाउन भई नागरिक चुपचाप भोक प्यास सहेर कोठामा निसासिएर थुनिएर बसेको बेला जनताकै भोटमा पुगेका सत्ताधारी चिल्ला गाडीमा कुद्दै जनताको नाममा काम नलाग्ने औषधि, उपकरण, किट खरिद गरी आफुले त्यस्तो बिपत्तिको समयमा पनि कमिशन खादै जनताको जीवन माथि खेलवाड गरेको कुरा दर्शाएका छन् र आक्रोशित बन्न पुगेका छन् ।

बिरामी हुँदा ओखती दिन सक्दैनौ

बिपत्तीमा तिमी भरोसा दिन सक्दैनौ

आमाको मृत्युमा तिमी दागबत्ती दिन दिदैनौ

यही एक थान नागरिकता छ, तिमीले दिएको

जसलाइ जतनले जहानले सम्हालेर राखेको थिए

मलाइ अनागरिक झै सीमा पारी थुन्ने

ए, शासकहरु कालीपारीबाट भन्दै छु म

यो नागरिकता फिर्ता लैजाउ ।

त्यस्तै “छोरी”, “समय र उनी”, “कफि र उनी”, “गुराँस र मान्छे” नामका कविताहरुमा क्रमशः छोरी प्रति समर्पित भई उनले बा आमाको जिन्दगीलाई सुन्दर, खुशी र व्यवस्थित बनाएको प्रशंग समेटिएको छ । आफ्नो जीवन संगिनीलाई उनको जीवनमा कहिले कफी को मिठो स्वाद जसले दिनभरीको थकान मेटी दिन्छ र कहिले घडीको सूई जुन हर बखत दुःख पिडाको बाबजुद पनि अघि बढीरहन्छ ।

कहिले गुलाबको फुल जस्ले जीन्दगीमा सुवास छरि दिन्छ भन्दै उनको प्रेम र सुन्दरताको बर्णन गरि दिएका छन् ।

अर्को कवितामा सरकारसँग करोडौ खर्चेर घण्टाघर, भ्यु टावर बनाउने, ईश्वरको नाममा लाखौ पैसा चढाउने बजेट हुने, मृगौला फेल भएर उपचार गर्न नसकी मृत्युलाई कुरेर त्यही घण्टाघर मुनी बसेका जनताको उपचारका लागि बजेट नहुने, यस्तै अभावका कारण खाडी मुलुक गई कफिनमा फर्केको नागरिकको लाश र रूदारुदै सुकेका उनका बा-आमा र पत्नीका आँसु देख्न नसक्ने शाशक प्रति आक्रोशित भएका छन् ।

“एउटा झुलेङ्गे पुल बनाइ देउ” नामको कवितामा पानी जहाज बनाउने सपना जनतालाइ नदेखाएर काली नदी तर्ने झोलुङ्गे पुल मात्र भए पनि बनाइ देउन सरकार भनि बिन्ती गरेका छन् । त्यस्तै तुइन समातेर महाकाली नदी तरेर पारी जान खोज्दा भारतीय सिपाहीले तुइन चुडाइ दिएर जयसिंह धामीको जीवनसँगै उनका सपना समेत चुडाइ दिएको दुःख ब्यक्त गरेका छन् ।

प्रियजनका आँखमा आँसु होइन

कालीको भेल बगेको छ

कालीमा बैकान सँग बगेका छन्

जहाँ सिन्दुर र सपनाहरु

सक्छौ भने हे सरकार

कालीमा एक झोलुङ्गे पुल बनाइ देउ न

जयसिंहको नियती फेरी अरुले नभोगोस

कालीमा बिलिन नहोस अव

कसैको जिन्दगी र सपनाहरु

त्यस्तै जनताको भोटलाई दारुमा, भारुमा, डलरमा र मासुभातमा किनेर चुनाव जिती सकेपछि आफुले ती जनतालाइ नचिन्ने, ती जनता बाँचुन वा मरुन, खाडीमा जाउन वा भारत पसुन, कफिनमा फर्किउन वा उतै अस्पतालमा सडुन आफुलाइ कुनै मतलब नभएको र अव आफूलाइ ती जनताको गुनासो सुन्न फुर्सद नभएकाले अबको पाँच बर्ष मलाइ केही डिस्टर्व नगर्नु भनी स्वार्थपूर्ण व्यवहारलाइ छर्पस्टरुपमा प्रस्तुत गरेका छन् ।

दुर दराजमा जनता नूनको खोजीमा हुँदा सरकार सुनको खोजीमा भन्दै विकट क्षेत्र बाजुरा, कालीकोट, मुगु र हुम्लाका जनताले भोग्नु परेको पिडालाई आफ्नो कवितामा पस्केका छन् । बाजुराको कोल्टीमा विरामी बिर्खलालले जहाजको पर्खाईमा मृत्युवरण लाचारितालाई पनि प्रस्तुत गरेका छन् । युग फेरिदा पनि फेरिएन बाजुरा, मुगु हुम्ला कालीकोटको अभाव र पिडा, तिमी यतै छौ कि हरायौ सरकार भनि सरकारलाइ व्यंग्य हानेका छन् । यसैगरी सिन्दुर हालेर भित्र्याएकी जहानलाई उज्यालो सपना देखाई काला पहाड बसेका बैकान बर्षौ हुँदा पनि नफर्किएकोले जहानले न सिन्दुर पुछ्न सकेकी छन् न त्यो सिन्दुरको सुरक्षा गर्न जहान फर्कि आएको छ भनि दुख ब्यक्त गरेका छन् ।

यहाँ जनतालाई श्वास फेर्न गाह्रो भईसक्यो, तिमी मन्त्री, मुख्यमन्त्री, सरकार फेर्दै बस, त्यसैले त तिमीलाई भोट हाल्ने हात ढुङ्गाले थिच्न पाए हुन्थ्यो भन्दै आक्रोश पोखेका छन्  । घरको आगनमा कफिन छ कफिन भित्र खाडीबाट फर्किएको छोराको लाश छ । आमा लाश सामु बसेर डाको छोडेर रोईरहेकी छिन मेरो संसारै लुटियो भनि । परको चौतारामा नेताले ठुला ठुला श्वरमा हामी देश बनाउछौ, रोजगारी दिलाउछौ भन्दै भाषण दिईरहेका हुन्छन् भन्दै नेताप्रति खिल्ली उडाएका छन् । त्यस्तै “सुन्दर सूदूरपश्चिम” कवितामा सुदूरपश्चिमलाई यसरी प्रस्तुत गरी बयान गरेका छन् …..

पूर्वमा छ कर्णाली, पश्चिममा महाकाली

सुसेलीदै मध्यबाट बग्छ सेती छालहानी

शैलेश्वरी, उग्रतारा, मालिकाको भूमी राम्रो

शुक्लाफाँटा, खप्तड यही हिमाल अपि हाम्रो

सैपाल हो उचो शिर, सभ्यता नै उठाउने

पुण्यभूमी वीर शहिद दशरथ चन्द जन्माउने

यसरी कविताको प्रत्येक हरफमा आफ्नो मातृभूमी प्रति मोह झल्काएका छन् ।

शासकलाई जनता चुपचाप अत्याचार सहेर विरोध नगरी उनकै नामको माला जपेर बस्ने जनता मन पर्छ त्यसैले तिमी यदि बाच्नु छ, यो देशमा भने सरकारको बिरोध गर्न छाडी देउ, आफूले तिर्ने कर चुपचाप तिर्दै जाउ, आफ्ना पिडा चोट र अभाव हामीलाइ नसुनाउ सक्छौ भने हाम्रो गुणगान गाउँदै बस भनेको कुरालाई ब्यंग प्रस्तुत गरेका छन् अर्को कविता “शासकको जय होश” मा ।

देशमा उद्योग नहुँदा, रोजगारीको अवसर नहुँदा अलि पैसा नहुनेहरु खाडीमा, पैसा र अनुभव पहुँच हुनेगरी अमेरिका युरोप अष्ट्रेलिया जस्ता ठूला देशमा र केही नहुनेहरु सीमा पहाड र भारतका गल्लीहरुमा जानु पर्ने नेपाली नागरिकको बाध्यतालाई देखाईएको छ । आफ्नो देशको नागरिकता त्यागेर ठूला देशहरुमा शरणार्थीको रुपमा बसेका, त्यहाँको अत्याचार सहन नसकी श्रीमती नेपाल फर्केको र श्रीमान पिआर पाउने प्रलोभनमा त्यही भाडा माझ्दै बसेको कुरा दर्शाईएको छ भने अर्कोतिर देशमै वातावरण हामी बनाउछौ भन्दै शासक भाषण ठोक्दै हिड्ने तर आफ्ना आफन्तहरुलाई ठूलो मुलुकको भिषा दिई अष्ट्रेलिया अमेरिका पठाई उतै सन्तान जन्माएर उतैको नागरिक बनाई आफूलाई नै आफ्नो सरकारप्रति विश्वास नभएको कुरा दर्शाईएको छ । जसले गर्दा जनता माझ भ्रम पैदा भएको भनि “भ्रम” कवितामा देखाईएको छ ।

त्यसै गरी आफ्नो बालापन, बालापनका साथी, बालापनको सेरोफेरो र रमाइला पलहरुलाई सम्झदै आफू फेरी त्यही बालापनमा फर्किने इच्छा समेत प्रकट गरेका छन् । हुलाक, पोष्टकार्डको सम्झना गर्दै त्यसै बेलाको माया प्रेम साँचो थियो । अहिलेको म्यासेन्जर, भाइबर, ह्वाट्सएपमा बसेको माया जसलाई डिलिट र ब्लक गरी मेटाउन सकिन्छ त्यो भन्दा लाखौ गुणा राम्रो त्यो पोष्टकार्ड र हुलाकको चिठ्ठीबाट बसेको माया प्रेम युग युगसम्म रहन्छ भनि पहिलाको युगलाई स्मरण गरेका छन ।

समग्रमा हेर्दा कविले यो कविता संग्रहमा आफ्नो मातृभूमी र त्यहाँ जनताप्रतिको माया, नागरिकताको हक र अधिकारप्रतिको सजगता, अधिकार प्राप्त नहुँदाको पिडी, त्यसप्रतिको असुन्तुष्टी, कोरानाको समयमा जनताले भोग्नु परेको सास्ती, सरकारको ब्यथिती, शासकको स्वार्थीपन, बेरोजगारको चपेटामा परी बिदेशीनु पर्ने बाध्यता र त्यसले गर्दा घरपरिवार गाउँमा परेको असरलाई मार्मिक तरीकाले प्रस्तुत गरेका छन् साथै सरकारप्रति बेखुशी आक्रोश पनि ब्यक्त गरेका छन् ।यद्यपि एउटै कुरा दोहरिन पुगेको छ र कवि अलि बढी बिद्रोही जस्ता पनि देखिन्छन् । समग्रमा भन्नु पर्दा मलाई यो कविता समय सान्दर्भिक लागेको छ र एकदमै हृदयस्पर्शी छ ।

(सेती प्रादेशिक अस्पताल धनगढीमा वरिष्ठ अ.न.नि. (सातौ) पदमा कार्यरत खत्रीद्धारा सेवाकालीन तालिममा कवि दीर्घराज उपाध्यायद्धारा लिखित कविता संग्रह माथि गरिएको समीक्षा ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस