रामेछापमा ४ म्याग्निच्यूडको भूकम्प

काठ्माण्डौँ- रामेछापमा ४ म्याग्निच्यूडको भूकम्प गएको छ ।

आइतबार दिउँसो ३ बजेर ४३ मिनेटमा उक्त भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार रामेछापको हेलाम्चो क्षेत्र आसपास केन्द्रविन्दु भएर ४.० म्याग्निच्यूडको भूकम्प गएको हो ।

यो भूकम्पले मानवीय र भौतिक क्षति गरे/नगरेको बारे थप जानकारी भने आइसकेको छैन ।

जम्मु कश्मीरमा फेरि आरीघोप्टे वर्षा, ७ जनाको मृत्यु

एजेन्सी । भारतको जम्मु कश्मीरमा रहेको काठुवा जिल्लामा बादल फाटेर आएको आरीघोप्टे वर्षाका कारण सातजनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

वर्षापछि आएको बाढी र पहिरोले सातजनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमहरूले खबर प्रकाशन गरेका छन् । जोध घाटी भन्ने ठाउँमा बाढीमा परेर पाँचजनाको मृत्यु भएको छ भने जाङलोटेमा पहिरोमा पुरिएर दुईजना मरेका छन् । शनिवार राति र आइतवार बिहान यो घटना भएको हो ।

वर्षाका कारण एउटा रेलमार्ग, नेशनल हाईवे–४४ र प्रहरी चौकी पनि क्षतिग्रस्त भएको केन्द्र सरकारका मन्त्री तथा जम्मु कश्मीरका सांसद जितेन्द्र सिंहले बताए । राहत तथा उद्धार कार्यहरू चलिरहेको उनले बताए । काठुवामा मुसलभारे वर्षा हुने भनी स्थानीय प्रशासनले चेतावनी जारी गरेको छ ।

यसअघि गत साता जम्मु कश्मीरमै किश्तवाडमा आरीघोप्टे वर्षा हुँदा ५० भन्दा बढी मानिसको मृत्यु भएको थियो भने १०० भन्दा बढी घाइते भएका थिए । अझै पनि ८२ जना हराइरहेका छन् ।

 

भुटानमा हुने साफ यू–१७ महिला च्याम्पियनसिप खेल्ने राष्ट्रिय महिला टिमको बिदाइ

काठमाडौं : भुटानमा हुने साफ यू–१७ महिला च्याम्पियनसिप खेल्न जाने यू–१७ राष्ट्रिय महिला टिमको बिदाइ गरिएको छ।

आइतबार एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फाका पदाधिकारीहरूले यू–१७ राष्ट्रिय महिला टिमलाई बिदाइ गरेका हुन्। बिदाइ कार्यक्रममा यू–१७ राष्ट्रिय महिला टिमका मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले गत वर्ष नेपालमै भएको साफ यू–१६ महिला च्याम्पियनसिपको टिम भन्दा अहिलेको यू–१७ टिम राम्रो बनेको बताए।

यू–१७ राष्ट्रिय महिलालाई बलियो बनाउन निकै मेहनत गरेकाले अब उपाधिका साथ फर्कने लक्ष्य लिइएको उनले बताए। त्यस्तै यू–१७ राष्ट्रिय महिला टिमकी कप्तान भूमिका बुढाथोकीले आफूहरूको प्रशिक्षण निकै राम्रो भएको र अव राम्रो खेल प्रदर्शन गरेर नतिजा आफ्नो पक्षमा ल्याउने बताए।

साफ यु–१७ महिला च्याम्पियनसिप यही अगस्ट २० देखि ३१ सम्म भुटानमा हुनेछ। च्याम्पियनसिपमा नेपाल र भुटानसँगै भारत र बंगलादेशले प्रतिस्पर्धा गर्नेछन्। खेलहरू डबल राउण्ड रोविन लिगको आधारमा हुनेछ। लिग चरणपछि अंक तालिकाको शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ।

अमेरिकामा एलिनाको लुकः टाउकोमा खादाको फेटा, फेटाभित्र डलर

काठमाडौं– गायिका एलिना चौहान आफ्नो सांगीतिक प्रस्तुति दिनका लागि यतिबेला अमेरिका पुगेकी छिन् । उनको यो पहिलो अमेरिका भ्रमण पनि हो ।

एलिनाले ‘आज गाउँछ अमेरिका’ शीर्षकको सांगीतिक कार्यक्रममा सहभागिता जनाउँदै अमेरिकाको न्युयोर्क शहरमा आफ्नो प्रस्तुति दिएकी छिन् ।

प्रस्तुतिको क्रममा एलिनाको आजसम्म नदेखिएको अवतार देखिएको छ । एलिनाले स्टेजमा आफ्ना लोकप्रिय गीतहरु प्रस्तुत गरिरहँदा उनको टाउकोमा खादाको फेटा र फेटा भित्र डलर राखिएको देखिएको छ ।

उनी उक्त अवतारमा दंगदास देखिएकी छिन् । उनीमाथि स्टेजमा नै डलरको वर्षा गरिएको छ । खबर अनुसार एलिनालाई त्यहाँ आएका दर्शकहरुले करिव एक हजार ७० डलर (एक लाख पचास हजार नेपाली रुपैयाँं) नगद उपहार दिएका छन् । अहिले उनको उक्त तस्विरले सामाजिक सञ्जाल ततााएको छ ।

प्रचण्डमा छटपटी छ, रास्वपा निराशा र पपुलिज्मको उपज हो : महासचिव पोखरेल

कैलाली । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले माओवादी अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डमा छटपटी देखिएको दाबी गरेका छन् ।

आइतबार कञ्चनपुरमा आयोजित नेकपा एमाले जिल्ला कमिटीको प्रतिनिधि परिषद् बैठकलाई सम्बोधन गर्दै उनले कांग्रेस-एमालेबीच नजिकता बढेपछि प्रचण्ड छटपटी रहेको बताए ।समृद्धि र विकास यहीँ सरकारबाट आउने उनको दाबी थियो । एमाले माथी घेराबन्दी बढिरहेको भन्दै उनले भने, ‘एमाले विरुद्ध चौतर्फी घेराबन्दी गर्ने काम भइरहेको छ। तर, हामी मिसन–८४ लाई सफल बनाउन दृढ छौँ र एमालेलाई बलियो राष्ट्रिय शक्ति बनाउने अभियानमा जुटेका छौँ।’

महासचिव पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जनताको निराशा, कुष्ठा र पपुलिज्मबाट जन्मिएको पार्टी भएको बताएका थिए ।

‘अहिले उनीहरू एमालेविरुद्ध खनिएका छन्। तर अराजकता र पपुलिज्मको आयु लामो हुँदैन। आफूले गरेको बदमासीलाई सरकारले प्रतिशोध गरेको भन्दै प्रचार गर्नु भ्रामक हो’, उनले भने ।

उनले पूर्वराष्ट्रपतिलाई पुनः राजनीतिमा ल्याउन खोज्नु लोकतान्त्रिक अभ्यासविपरीत भएको दाबी गर्दै माओवादी केन्द्रले गम्भीर गल्ती गरेको टिप्पणी गरे ।

‘राष्ट्रको अभिभावक, सेनाको परमाधिपति बनेको व्यक्ति सबैको साझा व्यक्तित्व हुनुपर्छ। त्यसैले यस्तो पदमा पुगेकाले राजनीतिमा फर्किनु उपयुक्त हुँदैन भन्ने निष्कर्ष एमालेले निकालेको हो। यो निर्णय विद्यादेवी भण्डारीका लागि मात्र नभई भविष्यका लागि पनि हो’, पोखरेलले स्पष्ट पारे।

महासचिव पोखरेलले अध्यक्षको दुई वर्षे कार्यकाल हटाउने विषयलाई दशौँ राष्ट्रिय महाधिवेशनकै पहिलो एजेन्डा बनाएर निर्णय गरिएको जानकारी दिए । भीम रावलले पार्टी हित विपरीत गतिविधि गरेको भन्दै उनले पार्टी छाड्नुपर्ने अवस्था आएको बताए ।

‘विद्रोही प्रवृत्ति र अराजकता पार्टी निर्माणका लागि बाधक हुन् । मुलधारका दलमा ‘पार्टीलाई म देखाउँछु’ भन्ने प्रवृत्ति कार्यकर्ताले स्वीकार गर्दैनन् । पार्टीको विधि र अनुशासन पालना गर्नैपर्छ’, उनले भने ।

उनले समाजवादविरुद्ध विभिन्न चुनौती आइरहेको भन्दै त्यसको सशक्त प्रतिवाद गर्न एमाले सक्षम रहेको दाबी गरे ।

‘जनताको युगलाई चुनौती दिइरहेकाले त्यसविरुद्ध एमालेले दृढताका साथ प्रतिवाद गर्नेछ’, उनले कार्यकर्तालाई निर्देशन दिए ।

आम नागरिकलाई थप सुविधा हुने गरी काम गर्न मातहतका कर्मचारीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं :  गृहमन्त्री रमेश लेखकले राष्ट्रको हित र आम नागरिकलाई थप सुविधा हुने गरी काम गर्न मातहतका कर्मचारीलाई निर्देशन दिएका छन्। आइतबार गृहमन्त्रालयमा आर्थिक वर्ष २०८२/०८३ को लागि मन्त्रालयका गृह सचिव एवं संगठन प्रमुख,महाशाखा र विभागीय प्रमुखहरूसित कार्यसम्पादन सम्झौता गर्दै गृहमन्त्री लेखकले लागुऔषध,सडक दुर्घटना,आत्महत्या र साइबरक्राइम नियन्त्रणमा पहिलो वर्ष काम भएपनि परिणाम आउन समय लाग्ने बताएका छन्।

‘लागुऔषध,सडक दुर्घटना,साइबरक्राइम,आत्महत्या गरी चारवटै विषय अहिलेका नयाँ चुनौती हुन् । विशेष रुपमा काम भएको छ परिणाम आउन थोरै समय लाग्ला,’उनले भने,’यो वर्ष परिणाम दिनेगरी काम गर्नुपर्छ ।’

त्यसैगरी पश्चिम नेपाल भूकम्पको विस्तृत क्षति आँकलन भइरहेको भन्दै चालु आर्थिक वर्षभित्र पुर्ननिर्माण सक्ने गरी काम गर्न निर्देशन समेत दिए। उनले गत आर्थिक वर्षमा तोकिएको माइलस्टोनमा गृह मन्त्रालयले ८८ प्रतिशत प्रगति गरेकोप्रति बधाई एवं धन्यवाद ज्ञापन गरे। ‘अहिलेको आवश्यकता अनुसार थप नयाँ कुरा के गर्न सकिन्छ,नीति, योजना तयार गरेर अघि बढ्नुस,’गृहमन्त्री लेखकले भने,’सिमित स्रोत साधन, जनशक्ति र बजेटको सिमाभित्र बसेर काम गर्नुपर्छ ।’

कार्य सम्पादन सामूहिक काम भएको बताउँदै उनले जस/अपजस सामूहिक रुपले लिनुपर्नेमा जोड दिए। त्यसैगरी मन्त्रालयको नेतृत्वमा आउँदै गर्दा नेपाल प्रहरी र सशस्त्र प्रहरी सम्बन्धी विधयेक अघि बढाएको बताउँदै प्रतिनिधि सभामा केही जटिलताका कारण रोकिएको बताए । ‘पाइपलाइनमा रहेका कानुन विधयेक यो महिनाभित्र प्रतिनिधि सभामा दर्ता गर्ने गरी काम अगाडि बढाउनुस,’उनले भने,’मन्त्रालयको नीतिगत र कानुनी सुधार हाम्रो प्राथमिकताको विषय हो,सोही अनुसार काम अघि बढेको छ ।’

कैलालीमा १० महिने छोरीसहित झुन्डिएको अवस्थामा मृत भेटिइन् एक महिला

कैलाली । कैलालीमा एक महिला र उनकी १० महिनाकी छोरीको शव रुखमा झुन्डिएको अवस्थामा फेला परेको छ ।

इलाका प्रहरी कार्यालय सुखडका अनुसार घोडाघोडी नगरपालिका-७ निवासी २१ वर्षीया आरती डंगौरा र उनकी छोरी अनुजा टगौरा मृत अवस्थामा भेटिएका हुन् ।

साउन २९ गतेदेखि बेपत्ता भएकी आमा-छोरी आज नजिकैको गौरीशंकर सामुदायिक वनमा मृत भेटिएका हुन् ।

इलाका प्रहरी कार्यालय सुखडका डीएसपी रमेशदत्त अवस्थीका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ ।

उनले भने, ‘शवलाई पोष्टमार्टमका लागि टिकापुर अस्पताल पठाइएको छ । अहिलेसम्म कसैले जाहेरी दिएको छैन तर हामी छानबिन गरिरहेका छौँ ।’

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार सुरूमा छोरीलाई झुण्ड्याएर र त्यसपछि आमाले आत्महत्या गरेको देखिन्छ । तर, विस्तृत घटना अनुसन्धानपछि मात्र भन्न सकिने प्रहरीको प्रष्टोक्ति छ ।

आरती डंगौराको दुई वर्षअघि बिहे भएको थियो ।

राष्ट्रपति पौडेल र भारतीय विदेश सचिव बीच शिष्टाचार भेट

काठमाडौँ– भारतका विदेश सचिव विक्रम मिस्रीले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गरेका छन्। आइतबार राष्ट्रपति भवन शीतल निवास पुगेर मिस्रीले राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन्। विदेश सचिव मिस्री औपचारिक भ्रमणका सिलसिलामा आइतबार काठमाडौँ आएका हुन्। भेटका अवसरमा राष्ट्रपति पौडेलले एक मित्र एवम् निकट छिमेकीका नाताले भारतले गरेको प्रगतिहरूबाट नेपालले लाभ हासिल गरेको र अझ बढी लाभान्वीत हुन चाहेको बताए। ‘एउटा उदाउँदो अन्तर्राष्ट्रिय शक्तिको रुपमा भारतको सामाजिक,आर्थिक र प्राविधिक क्षेत्रमा देखिएको प्रगतिबाट हामी प्रसन्न र उत्साहित छौँ, एक मित्र एवम् निकट छिमेकीका नाताले भारतका प्रगतिहरूबाट नेपालले लाभ हासिल गरेको छ र अझ बढी लाभान्वीत हुन चाहन्छ,’ राष्ट्रपति पौडेलको भनाई उद्धृत गर्दै उनका प्रेस सल्लाहकार किरण पोखरेलले भने। नेपाल र भारतबीच शताब्दिऔँदेखि सामाजिक, सांस्कृतिक, धार्मिक, आध्यात्मिक, आर्थिक तथा जनस्तरको निकट सम्बन्ध रही आएको बताउँदै उनले दुई मुलुकबीचको सम्बन्ध सार्वभौमिक समानता, मैत्रीपूर्ण सहयोग, आपसी सम्मान एवं विश्वासमा आधारित रहेको उल्लेख गरे। ‘नेपालले भारतसँगको सम्बन्धलाई सधैँ उच्च प्रथामिकतामा राख्दै आएको छ, छिमेकीहरूसँगको सम्बन्धलाई विशेष महत्व दिने भारत सरकारको ‘छिमेक पहिलो नीति’ को नेपाल सराहना गर्दछ,’ पौडेलले भने। सो अवसरमा भारतीय विदेश सचिव मिस्रीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको छिमेकी देशसँगको सम्बन्धलाई प्राथमिकता दिने नीतिअनुसार नेपाल उच्च स्थानमा रहेको बताएका थिए। साथै, विदेश सचिव मिस्रीले आफ्नो भ्रमणका अवसरमा आधुनिक युगमा दुवै देशबीचको प्रगति एवम् विकासका लागि कनेक्टीभीटी कसरी बढाउने भन्ने विषयमा छलफलको अवसर मिल्ने तथा यस भ्रमणबाट दुवै देशको सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास पनि व्यक्त गरे।

युएईले दियो जेलमा रहेका १२० नेपालीलाई आममाफी

एजेन्सी- संयुक्त अरब इमिरेट्स (युएई)ले जेलमा विभिन्न सजाय भोगिरहेका १२० जना नेपालीलाई आममाफी दिएको छ।

इस्लाम धर्मावलम्बीहरूको पर्व ईद अल अदाहका अवसरमा विभिन्न कसुरमा जेलमा रहेका नेपालीले आममाफी पाएका हुन्।

युएई सरकारले उनीहरूको बाँकी अवधिको सजाय मिनाहा गरी आममाफी दिएको युएई स्थित नेपाली दूतावासले जनाएको हो।

रोजगारी तथा विभिन्न सिलसिलमा युएई पुगेका नेपालीहरू विभिन्न कसुरमा जेल जीवन बिताइरहेका छन्। अब जेलमा कति नेपाली छन् भन्नेबारे दूतावासले खुलाएको छैन।

एसिया कपका लागि पाकिस्तानको टिम घोषणा, बाबर र रिजवानले पाएनन् मौका

काठ्माण्डौँ । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले आउँदो सेप्टेम्बरमा हुने एसिया कप टी–२० का लागि १७ सदस्यीय टोली घोषणा गरेको छ । पाकिस्तानले टोलीमा दुई अनुभवी खेलाडी बाबर आजम र मोहम्मद रिजवानलाई समावेश गरेको छैन ।

वेस्ट इन्डिजविरुद्धको सिरिजमा चोटग्रस्त भएका फखर जमान पूर्णरूपमा फिट भई टोलीमा फर्किएका छन् । टोलीको नेतृत्व सलमान आघाले गर्ने छन् । एसिया कप अघि पाकिस्तानले यूएई र अफगानिस्तानसँग त्रिकोणात्मक सिरिज खेलेर तयारी गर्ने कार्यक्रम छ ।

बाबरले अन्तिमपटक सन् २०२४ डिसेम्बरमा टी–२० अन्तर्राष्ट्रिय खेलेका थिए । वेस्ट इन्डिजविरुद्धको हालैको एकदिवसीय सिरिजमा उनको प्रदर्शन ४७, ० र ९ रनमा सीमित रह्यो ।

रिजवान पनि पछिल्ला टी–२० सिरिजमा चयनमा परेका थिएनन् ।

निःसन्तान उपचारमा पारदर्शिता र सुरक्षाका लागि स्वास्थ्य मन्त्रालयद्धारा मापदण्ड जारी

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निःसन्तान उपचार (आइभीएफ) सेवालाई व्यवस्थित बनाउन र नियमन गर्न ‘निःसन्तान व्यवस्थापन सेवा सञ्चालनसम्बन्धी मापदण्ड, २०८२’ स्वीकृत गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले मन्त्रिस्तरीय निर्णय गर्दै उक्त मापदण्ड स्वीकृत गरेका हुन् ।

यो मापदण्डले नेपालमा निःसन्तान उपचार  सेवा र यसका लागि आवश्यक प्रयोगशाला, जनशक्ति व्यवस्थापन तथा संवेदनशील मानिएको शुक्रकीट तथा अण्डा दान(डोनर) प्रक्रिया थप व्यवस्थित हुने भएको छ ।

मन्त्रालयका गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा सरोज शर्माले यो मापदण्डले निःसन्तान उपचार केन्द्रहरूको कानुनी आधारमा प्रभावकारी नियमन र निःसन्तान उपचार सेवामा एकरूपता ल्याउने बताए ।

उनका अनुसार न्यूनतम भौतिक पूर्वाधार, जनशक्ति र प्रयोगशालाको स्तर तोक्ने, सेवा शुल्कलाई पारदर्शी बनाउने तथा सेवाग्राही र दाताको अधिकार सुनिश्चित गर्ने उद्देश्यले यो मापदण्ड जारी गरिएको हो ।

उनले भने, ‘निःसन्तानपन एक संवेदनशील स्वास्थ्य समस्या मात्र नभएर गहिरो सामाजिक र मनोवैज्ञानिक विषय पनि हो । यस मापदण्डले निःसन्तान उपचार सेवालाई थप सुरक्षित, पारदर्शी र अन्तरराष्ट्रियस्तरको बनाउन लागि एक कोशेढुङ्गाका रूपमा काम गर्ने छ ।’

डा शर्माले मापदण्डबमोजिम सेवा प्रदायकलाई पूर्ण जिम्मेवार बनाइने छ । तोकिएको मापदण्ड पालना नगर्ने जोसुकैलाई कडा कानुनी दायरामा ल्याउने बताए ।

मन्त्रालयका प्रवक्ता डा प्रकाश बूढाथोकीले प्रजनन स्वास्थ्यको क्षेत्रलाई व्यवस्थित र प्रभावकारी बनाउन यस मापदण्डले महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।

‘पछिल्लो समय निःसन्तानपनको समस्या बढ्दो छ । तर यसको उपचार दिने संस्थाहरूको गुणस्तर र प्रक्रियामा थुप्रै प्रश्न उठेका थिए । धेरै दम्पतीहरू ठगिन सक्ने र गुणस्तरीय सेवा नपाउँदा उनीहरूको जीवन समेत जोखिममा पर्न सक्ने खतरा थियो’, प्रवक्ता डा बुढाथोकीले भने, ‘यो मापदण्डले सेवालाई सुरक्षित र विश्वसनीय बनाउन महत्त्वपूर्ण भूमिका खेल्नेछ ।’

मापदण्डमा ‘आइयुआई’ र ‘आइभीएफ’ जस्ता विशिष्ट सेवा सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयबाट अनिवार्य रूपमा अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ । प्रत्येक अनुमति प्राप्त केन्द्रमा निःसन्तान रोग विशेषज्ञ, तालिम प्राप्त ‘इम्ब्रायोलोजिष्ट’ र ‘एनेस्थेसियोलोजिष्ट’ लगायतका दक्ष जनशक्ति अनिवार्य हुनुपर्नेछ ।

भ्रूणको विकासमा प्रत्यक्ष असर पार्ने प्रयोगशाला र शल्यक्रिया कक्षको वातावरणीय गुणस्तरका लागि प्राविधिक मापदण्ड तोकिएको छ ।

सेवा शुल्क मन्त्रालयले निर्धारण गरेबमोजिम मात्र लिन पाइनेछ भने प्रत्येक संस्थाले १० प्रतिशत सेवा गरिब तथा विपन्न वर्गलाई निःशुल्क उपलब्ध गराउनुपर्नेछ ।

सेवाको गुणस्तर, जनशक्ति र उपकरणको अवस्थाबारे मन्त्रालयको समितिले नियमित अनुगमन गर्ने र मापदण्ड पालना नगर्ने संस्थाको अनुमति खारेज गर्न सक्ने व्यवस्था गरिएको छ ।

शुक्रकीट वा अण्डा दान गर्ने दाताका लागि समेत स्पष्ट मापदण्ड तोकिएको छ । दाताको उमेर २० देखि ३५ वर्षको बीचमा हुनुपर्ने, कुनै पनि सरुवा रोग नभएको स्वास्थ्य परीक्षणबाट प्रमाणित हुनुपर्ने र विवाहितको हकमा दम्पतीको लिखित मञ्जुरीजस्ता विषयलाई अनिवार्य गरिएको छ ।

एक व्यक्तिले दान गर्न पाउने पटकको सङ्ख्या सीमित गरिएको छ र दाताको पहिचान पूर्ण रूपमा गोप्य राख्नुपर्नेछ । साथै, कुनै पनि व्यक्तिलाई प्रलोभनमा पारी वा दबाबमा राखी दान गराउन पूर्ण रूपमा निषेध गरिएको छ ।

ब्लड बैँक र अक्सिजन पलान्टको अभाव

बाजुरा । बाजुराको पूर्वी उत्तर क्षेत्रमा रहेको कोल्टी आधारभूत अस्पताललाई ब्लल्ड बैँक तथा अक्सिजन पलान्टको अभाव हुने गरेको छ । यस अस्पतालमा यहाँका बुढीनन्दा, हिमाली, स्वामिकार्तिक खापर, जगनाथ गाउँपालिका र छिमेकी जिल्ला मुगु र हुम्लालगायतका बिरामीहरू आउने गर्छन् ।

बिरामी हुँदा उपचारका लागि कोल्टीमा आउने गरेका यहाँका दुर्गम गाउँ बस्तीका स्थानीयलाई ब्लड बैँक तथा अक्सिजन पलान्ट नहुँदा उपचारमा समस्या हुने गरेको छ । यहाँको बुढीनन्दा नगरपालिकाले यो अस्पतालमा पछिल्लो समय औषधी कर्मचारीहरू व्यवस्थापन गर्दैै आएको भएपनि ब्लड बैँक तथा अक्सिजन पलान्टको भने अझै निकै अभाव हुने गरेको कोल्टी अस्पतालले जनाएको छ ।

मुगुको सदरमुकाम टाढा पर्छ । त्यहाँभन्दा यता नजिक पर्छ । त्यसैले उपचारमा लागि कोल्टीमा आउने गरेको मुगुको खत्याडकी स्थानीय सुम्मी रोकायाले बताए । उनले भने, “पहिलेका भन्दा अहिले यहाँ उपचार पनि राम्रो हुन्छ । पहिला भिडियो एक्सरे गर्न बाहिर जानुपर्थ्यो । अहिले त्यो सबै सेवा यतै पाइन्छ । त्यसका लागि बाहिर जानुपरेको छैन ।”

कहिलेकाहीँ रगतको कमी भएको बेला रगतको आवश्यक पर्छ । बल्ड बैँक तथा अक्सिजन पलान्टको व्यवस्था यतै भइदिएको भए निकै सहज हुने रोकायाले बताए। स्वास्थ्य चौकीको रूपमा मात्र सञ्चालन भएको यो अस्पताल २०६३ सालदेखि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र हुँदै अहिले २०८० वैशाखबाट कोल्टी आधारभूत अस्पतालको रूपमा सञ्चालन भएको हो ।

आधारभूत अस्पताल सञ्चालन गरेसँगै अहिले यहाँका दुर्गमका स्थानीयलाई यता उपचारमा निकै सहज भएको अस्पताल प्रशासन सहायक इन्द्र सुनारले बताए । उनले भने, “पहिलाभन्दा अहिले नगरपालिकाले व्यवस्था गरेपछि यहाँ आउने गरेका बिरामीहरूले औषधी ल्याब भिडियो एक्सरे लगायतका राम्रो सेवा पाउन थालेका हुन् ।’’

यहाँका मुख्य समस्या भनेको ब्लड बैँक तथा अक्सिजन पलान्टको हो । यसका लागि प्रदेश तथा सङ्घीय सरकारले केही सहयोग गरिदिने हो भने यहाँ आउने गरेका बिरामीहरूले उपचारका लागि बाहिर जानुपर्दैन । अहिले कोल्टी अस्पतालमा एक दिनमा झण्डै दुई सयभन्दा बढी बिरामीहरू उपचारका लागि आउने गर्छन् । त्यसमा दर्जनौँभन्दा बढी सुत्केरी महिला आउँने गरेका छन् । यहाँ ब्लड बैँक तथा अक्सिजन पलान्ट नहुँदा उनीहरूलाई उपचार गर्न निकै समस्या हुने गरेको सुनारले बताए ।

यहाँ आउने गरेका बिरामीहरूलाई आफूले सक्दो प्रयास गरेर सेवा दिने गरेका छौं । यहाँ विशेष खालको उपकरण नभएकोले त्यति बेला ती आवश्यक उपकरण चाहिने बिरामीहरूलाई भने सेवा दिन समस्या भएको कोल्टी आधारभूत अस्पतालका प्रमुख डा। रञ्जित शाहले बताए । उनले भने, “उपचारका लागि यहाँ आउने गरेका बिरामीहरूलाई कहिले रगतको अति आवश्यक पर्छ । यहाँ ब्लड बैँक तथा अक्सिजन पलान्टको व्यवस्था गरेको छैन् । त्यो नहुँदा त्यस्ता खाले बिरामीहरूलाई अन्य ठाउँमा रिफर गर्न बाध्य हुन्छौ ।’’

यहाँ अस्पतालमा ब्लड बैँक तथा अक्सिजन पलान्टकोे राम्रो व्यवस्था हुने र अन्य दुइ चार जना डाक्टर हुने हो भने यहाँ आउने गरेका बिरामीहरूले उपचारका लागि बाहिर जानु नपर्ने शाहले बताए ।

नेपालमा कुल विद्युत क्षमता ३५९१ मेगावाट पुग्यो

काठमाडौं। नेपालमा कुल विद्युत क्षमता ३५ सय ९१ मेगावाट पुगेको छ ।

नेपाल विद्युत प्राधिकरणले आइतबार सार्वजनिक गरेको विवरण अनुसार राष्ट्रिय विद्युत प्रणालीमा कुल जडित क्षमता ३५ सय मेगावाट नाघेको हो।

प्राधिकरणका अनुसार राष्ट्रिय प्रणालीमा विद्युत उपलब्धता १५ हजार ६४१ गिगावाट घण्टा पुगेको छ ।

राष्ट्रिय विद्युत प्रणालीमा नेपाल विद्युत प्राधिकरण र यसका सहायक कम्पनीको योगदान ३४ प्रतिशत रहेको छ।

स्वतन्त्र विद्युत उत्पादकहरुको योगदान भने ५५ प्रतिशत रहेको देखिएको छ । ११ प्रतिशत विद्युत भारतबाट आयात गरिएको समेत प्राधिकरणले जनाएको छ ।

आव २०८१÷८२ मा नेपालको आन्तरिक विद्युत खपत १०.७ प्रतिशतले वृद्धि भई ११ हजार ३१९ गिगावाट घण्टा पुगेको छ ।

अघिल्लो वर्षको तुलनामा ग्राहक संख्या ४.६ प्रतिशतले बढेर ५७.१ लाख पुगेको समेत प्राधिकरणको तथ्यांकमा देखिन्छ ।

राष्ट्रिय ग्रिड पहुँच ९८ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको तुलनामा विद्युत चुहावट ०.४७ प्रतिशतले घटेर १२.२६ प्रतिशत कायम भएको समेत प्राधिकरणको तथ्याङ्क छ ।

अस्थिरताको खोजी गर्नेहरु टिक्दैनन्, सरकार ढल्दैनः उपप्रधानमन्त्री पौडेल

पाल्पा । उपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेलले अस्थिरताको खोजी गर्नेहरु नटिक्ने र सरकार कुनै हालतमा नढल्ने बताएका छन् । अर्थमन्त्री पौडेलले प्रतिगामी तत्वहरु चलमाउने कोशिस गरेको भन्दै अहिले उनीहरु किनारामा लागेको बताए । ‘अब उनीहरु कहिल्यै उठ्न सक्दैनन् । उनीहरुले जन्मसिद्ध श्रेष्ठताको थोत्रो नारा बोकेर हिडेका छन्’ उनले भने ।

नेपाल पत्रकार महासंघ पाल्पा शाखाले तानसेनमाा गरेको पत्रकार भेटघाट कार्यक्रममा उपप्रधानमन्त्री पौडेलले मध्य वर्षामा खहरेहरु उर्लिने भन्दै राजनीतिमा पनि त्यस्तो देखिने बताए ।

उनले प्रतिगामी तत्वहरुमा राजनीतिक एजेन्डा नभएको भन्दै विरोधमा रमाएर, उद्देश्यविहिन ढंगले हिड्नेहरुको कुनै भविष्य नरहेको बताए । उनले भने, ‘खहरेको कुनै भविष्य छैन । वर्षा सकिएपछि खोलामा कमिला हिँड्छ । यो सरकार नै स्थिर सरकार हो । यो समिकरण नै स्थिर समिकरण हो ।’

नेपाल पत्रकार महासंघ पाल्पा शाखाले तानसेनमाा गरेको पत्रकार भेटघाट कार्यक्रममा उपप्रधानमन्त्री पौडेलले मध्य वर्षामा खहरेहरु उर्लिने भन्दै राजनीतिमा पनि त्यस्तो देखिने बताए ।

उनले प्रतिगामी तत्वहरुमा राजनीतिक एजेन्डा नभएको भन्दै विरोधमा रमाएर, उद्देश्यविहिन ढंगले हिड्नेहरुको कुनै भविष्य नरहेको बताए । उनले भने, ‘खहरेको कुनै भविष्य छैन । वर्षा सकिएपछि खोलामा कमिला हिँड्छ । यो सरकार नै स्थिर सरकार हो । यो समिकरण नै स्थिर समिकरण हो ।’

प्रधानमन्त्रीसँग भारतीय विदेशसचिवको शिष्टाचार भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय विदेशसचिव विक्रम मिस्रीले शिष्टाचार भेट गरेका छन् ।

परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आज काठमाडौँ आइपुगेका सचिव मिस्रीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन् ।

 

टेलिकमको नाफा तीन अर्ब ५६ करोडले घट्यो

काठमाडौं । नेपाल टेलिकमले गत आर्थिक वर्ष २०८१/८२ मा दुई अर्व ६६ करोड ८१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । यो रकम गत आवको सोही अवधिको तुलनामा तीन अर्ब ५६ करोड ७३ लाख ९ हजार (अर्थात् ५७.२१ प्रतिशत) ले कमी हो । गत आवको सोही अवधिमा कम्पनीले ६ अर्व २३ करोड ५५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

कम्पनीको कर अघिको मुनाफा भने ११ अर्व २१ करोड ६३ लाख रुपैयाँ रहेको छ । यो रकम गत आवको सोही अवधिको तुलनामा तीन करोड ४३ लाख (अर्थात् ०.३० प्रतिशत) ले कमी हो । अघिल्लो आवको सोहि अवधिको कर अघिको मुनाफा ११ अर्व २५ करोड ६ लाख रुपैयाँ थियो ।

यस्तै, ब्याज र कर अघिको कम्पनीको मुनाफा १९ अर्व २५ करोड ९१ हजार रुपैयाँ छ । यो रकम गत आवको सोही अवधिको तुलनामा एक अर्ब २२ करोड ९१ लाख ४६ हजार (अर्थात् ६.८२  प्रतिशत) ले बढी हो ।

कम्पनीको प्रति शेयर आम्दानी  १४.८२ रुपैयाँ छ ।

गत आवको चौथो त्रैमासिकसम्ममा कम्पनीको सञ्चालन आम्दानी ३४ अर्व ५३ करोड २४ रहेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको दुई करोड ७८ लाख २३ हजार (अर्थात् ०.०८ प्रतिशत) ले कमी हो । अघिल्लो आवको सोही अवधिमा कम्पनीले ३४ अर्व ५६ करोड २ लाख रुपैयाँ सञ्चालन आय गरेको थियो ।

गत आवको चौथो त्रैमासिकसम्ममा कम्पनीको कुल आय ३८ अर्व ७३ करोड ३३ लाख रुपैयाँ छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा तीन अर्ब ३८ करोड ३५ लाख ६९ हजार (अर्थात् ८.०३ प्रतिशत) ले कमी हो । गत आवको सोही अवधिमा कम्पनीले ४२ अर्व ११ करोड ६९ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

ओटिटि सेवाहरुको व्यापक प्रयोगका कारण विदेशबाट हुने आगमन कलको परिमाणमा असर परेका कारण अन्तरआवद्धता आयमा गत आवको चौथो त्रैमासिकसम्मको तुलनामा करिब ४१ करोड ९० लाख ७० हजार (अर्थात् १४ प्रतिशत) ले घटेको कम्पनीले जनाएको छ । साथै ओटिटि सेवाले कम्पनीको समग्र भ्वाईस एसएमएस सेवाको आयमा नकारात्मक प्रभाव पारेको छ ।

कम्पनीले गत वर्ष जिएसएम अनुमति पत्र नवीकरणको लागि २० अर्ब एकमुष्ठ भुक्तानी गर्नु गरेको थियो भने सञ्चालक समितिको निर्णय बमोजिम कर्मचारीहरुको निवृत्तिभरणको व्यवस्थाको लागि अघिल्लो वर्ष चार अर्ब ९७ करोड रुपैयाँ खर्च भएको कम्पनीले जनाएको छ । गत आवको तेस्रो त्रैमासिकसम्म करिब १३ अर्ब १५ करोड छुट्टयाए पश्चात लगानीमा भएको कमी तथा ब्याज दर क्रमिक रूपमा घट्नुले व्याज आय अघिल्लो आवको तुलनामा तीन अर्ब सात करोड ११ लाख ४२ हजार (अर्थात् ४५.२९ प्रतिशत) ले घटेको कम्पनीले दाबी गरेको छ ।

प्रतिस्पर्धी आएसपिहरुले मोविलिटी गरी वाईफाई सेवा दिइरहेकोले मोवाइलको डेटा प्रयोगमा उल्लेखनीय कमी भएको कम्पनीले जनाएको छ ।

राष्ट्रको सञ्चार भएकोले बढी लागत तथा कम प्रतिफल प्राप्त हुने विकट तथा दुर्गम स्थानमा समेत सेवा विस्तार र गुणस्तर सुधारको कार्यमा निरन्तर लागिरहेको र लागत समेत बढिरहेको छ । सेवाको दररेट निर्धारण सम्बन्धी नीति तथा नियमहरु परिवर्तन भएको कारणले सेवाको दररेटमा कटौती भई राजश्वमा प्रतिकूल असर परेको कम्पनीले जनाएको छ ।

कम्पनीले नेपाल लेखामान १९ अनुसारको योगदानमा आधारित पेन्सन योजनाको खर्च लेखांकन तथा गत आवमा १३ अर्ब १५ करोड निश्चित लाभ कोष सम्पतीमा थप रकम छुट्टाइएको लगायतका कारणबाट सिर्जना भएको स्थगन करको प्रभाव पर्न गएको छ ।

कम्पनीले गत वर्षसम्म शसर्त दायित्वमा देखाएको कर लगायतका केही मुद्दाहरुको यस आवमा छिनोफानो भई कम्पनीलाई परेको थप आर्थिक भारलाई चालु आवमा व्यवस्था गरिएको छ ।

कम्पनीले यस त्रैमासिकमा ऋण लगानीमा थप नोक्सानी व्यवस्था गरेको छ । त्यसैगरी अन्य सम्पत्तिमा पनि यस त्रैमासिकमा थप नोक्सानी व्यवस्था गरेको छ ।

कम्पनीले नेपाल लेखामान १९ अनुसारको कर्मचारीको निवृत्तिभरणको व्यवस्था हिसाबको लागि अनुमानित छुटदर हालको वित्तीय बजार स्थित तथा अपेक्षित प्रतिफलमा देखिएको गिरावटका कारण ७.५ प्रतिशतबाट ७ प्रतिशतमा घटेकोले कर्मचारीको निवृत्तिभरणको व्यवस्था बढेको कम्पनीले जनाएको छ ।

प्रिमियर लिगको नयाँ सिजन शुरू, म्यानसिटी र लिभरपुलको शानदार शुरूआत

काठमाडौँ । इङ्गलिश प्रिमियर लिगको नयाँ सिजन शुरू भएको छ । लिगमा म्यानचेस्टर सिटी, लिभरपुल, टोटनह्याम हट्सपर र सन्डरल्याण्डले उत्कृष्ट शुरूआत गरेका छन् ।

म्यानसिटीले वुल्भस्लाई ४–० ले हरायो । एर्लिङ हलान्डले दुई तथा डेब्यु खेलाडीद्वय तिज्जानी रिजेन्डर्स र रायन चेर्कीले एक एक गोल गरे ।

सिटी गत सिजन तेस्रो भएको थियो । साविक विजेता लिभरपुलले एएफसी बर्नमाउथलाई ४–२ ले हरायो ।

लिभरपुलका लागि ह्युगो एकिटिके, कोडि गाग्पो, फेडेरिको चेसा र मोहम्मद सलाहले १–१ गोल गरे ,। बर्नमाउथका एन्टोनि सेमेन्योले दुवै गोल गरे ।

टोटनह्याम हट्सपरले बर्नलीलाई ३–० हरायो । रिचर्डसनले २ तथा ब्रेननान जोन्सनले एक गोल गरे ।

त्यस्तै सन्डरल्याण्डले वेष्ट ह्याम युनाइटेडलाई पनि ३–० हरायो ।

एस्टन भिल्लाले न्यूकासल युनाइटेडसँग गोलरहित तथा ब्राइटन र फुल्हमले १–१ गोलको बराबरी खेले ।

ज्ञानेन्द्र शाहीले मागे परराष्ट्र मन्त्री डा. देउवाको राजीनामा

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता तथा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले परराष्ट्र मन्त्री आरजु राणा देउवाको राजीनामा माग गरेका छन्। इजरायलमा हमासको बन्धकमा परेका नेपाली नागरिक विपिन जोशीको उद्धारका लागि प्रभावकारी पहल गर्न नसकेको र उनको परिवारको बिचल्ली भएको भन्दै शाहीले परराष्ट्र मन्त्रालयको भूमिकामाथि गम्भीर प्रश्न उठाएका हुन्।

​शाहीले आफ्नो सामाजिक सञ्जालमार्फत परराष्ट्र मन्त्री र मन्त्रालयका कर्मचारीको कडा आलोचना गर्दै उनीसँग कूटनीतिक ज्ञानको अभाव रहेको र नागरिकको जीवन रक्षा तथा दुःखमा परेका नागरिकलाई सहयोग गर्न नसकेको आरोप लगाएका छन्।

‘नागरिकको जीवन रक्षा गर्न नसक्ने, दुःखमा परेका नागरिकको घाउमा मल्हम लगाउन नसक्ने परराष्ट्र मन्त्री, आज देउवा राणा र परराष्ट्र मन्त्रालयका कर्मचारीलाई पदमा बसेको कुनै औचित्य छैन’, शाहीले आफ्नो पोस्टमा उल्लेख गरेका छन्।

​शाहीले विशेषगरी विपिन जोशीका आमा र बहिनीको बिचल्ली भएको अवस्थाप्रति सरकारको उदासीनता र निष्क्रियताप्रति आक्रोश व्यक्त गरेका छन्। उनले परराष्ट्र मन्त्रीले तत्काल राजीनामा दिनुपर्ने र कामै नगर्ने तथा कूटनीतिक ज्ञान नभएका परराष्ट्र मन्त्रालयका कर्मचारीहरूलाई पदमा बसिरहने कुनै औचित्य नरहेको जिकिर गरेका छन्।

​यो मागले सरकारमाथि विपिन जोशीको उद्धारका लागि दबाब बढाएको छ भने परराष्ट्र मन्त्रालयको कार्यसम्पादनमाथि थप प्रश्नहरू उब्जाएको छ।

‘​नेपाली नागरिक विदेशमा समस्यामा पर्दा उनीहरूको सुरक्षा र न्याय सुनिश्चित गर्नु राज्यको, विशेषगरी परराष्ट्र मन्त्रालयको प्राथमिक दायित्व हो। यदि मन्त्रालयले यस्ता कूटनीतिक कार्य प्रभावकारी रूपमा सम्पादन गर्न सक्दैन भने परराष्ट्र मन्त्री तथा कर्मचारीहरूले आफ्नो पदमा बसिरहनुको कुनै औचित्य देखिँदैन’, उनले लेखेका छन्, ‘​परराष्ट्र मन्त्रालयलाई यस विषयको गम्भीरता बुझी तत्काल निम्न कार्यका लागि गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।’

सुदूरपश्चिममा आज ओल्के पर्व मनाइँदै

बैतडी। आज भदौ १ गते । बैतडीसहित सुदूरपश्चिम प्रदेशमा आज हर्षोल्लासका ओल्के पर्व मनाइँदै छ । ओल्के भन्नाले उपहार वा कोसेली भन्ने बुझिन्छ । आफूभन्दा ठुलाबडा, मान्यजन वा ज्येष्ठ नागरिकलाई सम्मान स्वरुप कर्कलाको भित्री पात, फलफूल आदि दिनु, मीठो–मसिनो खानु, हातमा मेहेन्दी लगाउनु यस पर्वको विशेषता रहिआएको छ ।

यसका साथै बिहानै धुहाइधुवाई गरी विभिन्न परिकार बनाएर कृषिसँग सम्बन्धित औजार तथा फलफूल आजका दिन आफन्तलाई ओल्को अर्थात् उपहार दिने पनि गरिन्छ । वर्षापछि सङ्कटबाट बचेको र नवजीवन प्राप्त भएको खुसीयालीमा यस क्षेत्रमा ओल्के मनाउने प्रचलन रहेको संस्कृतिका जानकार जयानन्द भट्टले बताए । यो दिन ओल्कोको रूपमा फलफूल, सागपात, अन्न, दूध, दही, घिउ, गूड र पकवान आदि मान्यजन र आफन्तकहाँ लिएर भेटघाट गर्न जाने चलन छ ।

धेरैजसो ठाउँमा मन्दिरमा अन्न चढाई ओल्को हाल्दछन् । यो पर्व कुनै धार्मिक वा पौराणिक उत्प्रेरणाबाट प्रभावित नभई यस भेगका बासिन्दाको मौलिक तथा जेठो पर्वका रूपमा पनि रहिआएको छ भने सिंह सङ्क्रान्ति पनि भन्ने गरिएको छ । ओल्को भन्नाले सम्मानित व्यक्तिलाई दिइने केही वस्तु वा उपहारलाई जनाउने पण्डित दयाकृष्ण पन्तले बताए ।

उनले भने, “ठुलालाई सम्मान र सानालाई माया गर्नु हाम्रा पर्वहरूका मुख्य विशेषता हो, ओल्कोलाई शाब्दिक अर्थले उपहार लिनु दिनुमा मात्र नभई संस्कृति, परम्परा र आस्थाका रूपमा पनि चिनिन्छ ।” यसैबिच, ओल्के पर्वका अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदासमेत दिएको छ ।

ऐन बनेसँगै भलमन्सालाई प्रमाणपत्र वितरण

कञ्चनपुर : कञ्चनपुरको बेलौरी नगरपालिकाले भलमन्सा ऐन (२०७८) जारी गरेसँगै नयाँ चयन भएका भलमन्सालाई प्रमाणपत्र प्रदान गरेको छ। पालिकाले भलमन्साहरूलाई प्रमाणपत्र र शुभकामना आदान–प्रदान कार्यक्रमको आयोजना गरेको हो।

कञ्चनपुरको बेलौरी नगरपालिका–९, ढिक्का कुण्डाका वीरबहादुर चौधरी गत माघ महिनामा भलमन्सा पदमा चयन भए। २६ चौधरी परिवार रहेका डाँडा कुण्डामा यस पटक चौधरी समुदायबाट वीरबहादुर भलमन्सा पदमा सर्वसम्मत छनोट भएका हुन्।

चौधरी समुदायले सर्वसम्मत अथवा निर्वाचनबाट भलमन्सा छनोट गर्दैआएका छन्। यसअघि डाँडा कुण्डामा लोकेन्द्र चौधरी भलमन्सा थिए। उनले झन्डै पाँच वर्ष भलमन्सा भएर सेवा गरेको अनुभव सुनाए। चौधरी परिवारलाई आवश्यक परेका बखत साथ सहयोग र गाउँ ठाउँको विकासमा काम गर्ने उनले प्रतिबद्धता जनाए। शुक्रवार बेलौरी नगरपालिकाले भलमन्सा पदमा छनोट भएको प्रमाणपत्र प्रदान गरेर थप हौसला प्रदान गरेको भन्दै उनले हर्ष व्यक्त गरेका छन्।

वीरबहादुरझैँ शुक्रबार नयाँ चयन हुनुभएका २६ जना भलमन्साहरूलाई प्रमाणपत्र प्रदान गरिएको बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीले बताए। नगरपालिकाले छुट्टै भलमन्सा ऐन (२०७८) पनि जारी गरेर राना थारू समुदायको पक्षमा काम गर्दैआएको नगर प्रमुख चौधरीले बताए। भलमन्साहरुले विवाह व्रतबन्ध, सामान्य झैँ–झगडा आपसी समझदारीमा मेलमिलाप गर्दैैआएको बेलौरी नगर भलमन्सा समितिका संयोजक अमरसिंह चौधरीले बताए। पछिल्लो समय लागूऔषध नियन्त्रणका लागि पनि भलमन्साहरुले गाउँठाउँमा सचेतनामूलक कार्यक्रम गर्दैआएको उनले बताए।

भलमन्साको अगुवाइमा बेलौरी नगरपालिका वडा २ र ५ मा सडक सरसफाइ कार्य सम्पन्न गरिएको उनले बताए। थारू समुदायले सँदियोदेखि नै भलमन्सा (बरघर) चयन गर्दैआएका छन्। थारु समुदायको सेवा गरेबापत भलमन्साहरूले समुदायबाट लाभ पनि लिने गरेका थारु अगुवाहरू बताउँछन्। समुदायको अवस्था हेरि भलमन्साले वार्षिक रूपमा प्रतिपरिवारबाट १०–१५ किलो धान लिने प्रचलन रहेको बेलौरी भलमन्सा समितिका सम्पर्क व्यक्ती कृष्ण चौधरी बताउछन्।

भलमन्साहरूले समुदायमा झैँ–झगडा, विवाद मिलाउने, सामूहिक निर्माणका कार्यहरू गर्दैआएका उनले बताए। राना समुदायले असार महिनामा नयाँ भलमन्सा चयन गर्दैआएका छन् भने चौधरी समुदायले माघ महिनामा भलमन्सा छनोट गर्दैआएका छन्। नयाँ छनोट भएर आएका २६ जना भलमन्साहरूलाई शुक्रवार दोस्रो पटक प्रमाणपत्र र शुभकामना प्रदान कार्यक्रमको आयोजना गरेको हो।

यसअघि गत फागुन महिनामा बेलौरी नगरपालिकाले पहिलो पटक भलमन्साहरूलाई प्रमाणपत्र प्रदान गरेको थियो। बेलौरी नगर भलमन्सा समितिमा एक सय सात भलमन्सा दर्ता छन्।

चालु आवको पहिलो महिनाः सरकारको आम्दानी ८५ अर्ब, खर्च ४६ अर्ब

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना सरकारले ८५ अर्ब १९ करोड आम्दानी गर्दा ४६ अर्ब ३० करोड खर्च गरेको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार चालु आवको पहिलो महिना वार्षिक लक्ष्यको पाँच दशमलव ५६ प्रतिशत आम्दानी र दुई दशमलव ३६ प्रतिशत खर्च भएको हो ।

सरकारले चालु आवमा १५ खर्ब ३३ अर्ब ४४ करोड ६९ लाख राजस्व उठाउने लक्ष्य राखेको छ । साउन मसान्तसम्ममा कर राजस्वबाट रू ८० अर्ब ६७ करोडभन्दा बढी अर्थात् वार्षिक लक्ष्यको छ दशमलव ०९ प्रतिशत र गैरकर राजस्वबाट तीन अर्ब ७९ करोड ५० लाख अर्थात् वार्षिक लक्ष्यको दुई दशमलव ४६ प्रतिशत सङ्कलन भएको विवरणमा उल्लेख छ ।

यस्तै, वैदेशिक अनुदानबाट रू ४२ करोड १९ लाख र अन्य प्राप्तिबाट ३० करोड ८९ लाख राजस्व सरकारी खातामा जम्मा भएको छ । यस वर्ष रू १३ खर्ब २५ अर्ब ५८ करोड ३९ लाख कर राजस्व, रू एक खर्ब ५४ अर्ब ४१ करोड ६१ लाख गैरकर राजस्व र रू ५३ अर्ब ४४ करोड ६९ लाख वैदेशिक अनुदान उठाउने सरकारको लक्ष्य छ ।

चालु आवका लागि रू १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट ल्याइएकामा साउन मसान्तसम्ममा रू ४६ अर्ब ३० करोड ६१ लाख बराबर खर्च भएको छ । चालुतर्फ रू ११ खर्ब ८० अर्ब ९८ करोड बजेट विनियोजन भएकामा हालसम्म एक दशमलव ५६ प्रतिशत अर्थात् रू १८ अर्ब ४७ करोड ९८ लाख बराबर खर्च भएको महालेखाले जनाएको छ ।

यस्तै, पुँजीगत शीर्षकमा रू चार खर्ब सात अर्ब ८८ करोड ८० लाख विनियोजन भएकामा शून्य दशमलव १८ प्रतिशत अर्थात् रू ७२ करोड ६३ लाख मात्रै खर्च भएको छ । पहिलो महिनामा सबैभन्दा धेरै खर्च वित्तीय व्यवस्था शीर्षकमा भएको छ । चालु आवका लागि वित्तीय व्यवस्था शीर्षकमा रू तीन खर्ब ७५ अर्ब २४ करोड २० लाख बराबर विनियोजन भएकामा साउन मसान्तसम्म सात दशमलव २२ प्रतिशत अर्थात् रू २७ अर्ब १० करोड खर्च भएको छ ।

बंगलादेश ए ले नेपाललाई दियो १८४ रनको लक्ष्य

काठमाडौँ । बंगलादेश ए ले अस्ट्रेलियमा जारी टप इन्ड टी-२० सिरिज अन्तर्गत नेपाललाई १८४ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिंग गरेको बंगलादेश ए ले २० ओभरमा ६ विकेट गुमाउदै १८३ रन बनाएको हो ।  बंगलादेश ए का लागि जिशान आलमले सर्बाधिक ७१ रन बनाए भने अफिफ होसैनले अविजित ४८, नैम शेखले २५ रन बनाएका थिए ।

त्यसैगरी नेपाली बलर रिजन ढकालले २ विकेट लिए भने करण केसी, नन्दन यादव र सन्दीप लामिछानेले एक एक विकेट लिएका थिए । यस अघि नेपालले खेलेको पहिलो खेल एनटी स्ट्राइकसँग हार बेहोरेको थियो । त्यस्तै बंगलादेश ए टिमले पनि आफ्नो पहिलो खेल पाकिस्तान ए सँग हार बेहोरेको थियो ।

यस खेलमा नेपालले तीन परिवर्तन गरेको छ । शहाब आलम, सोमपाल कामी र रुपेश सिंहको ठाउँमा करण केसी, नन्दन यादव र रिजन ढकाललाई प्लेइङ ११ मा राखेको छ । नेपाली टिममा रोहित पौडेल (कप्तान), दिपेन्द्र सिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ सेख, कुशल मल्ल, गुलशन झा, नन्दन कुमार यादव, करण केसी, रिजन ढकाल र लोकेस बम रहेका छन् ।

रवि लामिछानेलाई नख्खु कारागार लगियो

भैरहवा : सहकारी ठगीको अभियोगमा पुर्पक्षका लागि थुना (भैरहवा कारागार)मा रहेका रवि लामिछानेलाई ललितपुरस्थित नख्खु कारागार लगिएको छ।

कारागारमा सरुवाका लागि लामिछानेले निवेदन दिएका थिए। अदालतको अनुमति पश्चात् पनि उनलाई भैरहवा कारागारमै राखिएको थियो।

कारागारमा रहेका लामिछानेलाई ललितपुरको नख्खु कारागारमा सरुवा गर्ने कारागार व्यवस्थापन विभागको पत्राचार अनुसार उनलाई शनिबार विमानमार्फत काठमाडौं लगिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेले बताए । ४ः४० बजे बुद्ध एयर उडान मार्फत उनलाई काठमाडौं लगिएको हो।

सुरक्षाकर्मीको साथमा उनलाई काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नख्खु कारागारमा पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं सुरज कार्कीले बताए।

जेलको भित्तामा रविको सन्देश: ‘अब कृष्ण जन्मिने छैन, जन्मेकाहरूले नै कृष्ण बन्नुपर्नेछ’

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रुपन्देही कारागारबाट काठमाडौं सरुवा हुनुअघि आफू बसेको कोठाको भित्तामा एक दार्शनिक सन्देश छोडेका छन्।

कृष्ण जन्माष्टमीकै दिन १२६ दिनको बसाइपछि कारागार सारिएका उनले भित्तामा ‘अब कृष्ण जन्मिने छैन। जन्मेकाहरूले नै कृष्ण बन्नुपर्नेछ,’ भन्ने सन्देश लेखेको रवि आफैले बताएका हुन्।

शनिबार भैरहवामा पार्टीको प्रशिक्षण कार्यक्रममा रहेका प्रवक्ता मनिष झा र उपसभापति डा. स्वर्णिम वाग्लेले लामिछानेलाई विमानस्थलमा छोटो भेट गरेका थिए।

भेटमा लामिछानेले आफू राजनीतिक प्रतिशोधबाट नडराएको र नेपालको कुनै पनि कुनामा बस्न तयार रहेको बताएका थिए।

‘राजनीतिक प्रतिशोधले यिनीहरूले मंगलग्रह लगे पनि डराउँदिन, यो त मेरो देश हो, मेरो भूमि हो,’ झाले लामिछानेको भनाइ उद्धृत गर्दै भने, ‘म बसेको कारागारको कोठाको भित्तामा मैले यो सन्देश लेखेर आएको छु।’

विमानस्थलमा छोटो भेटका क्रममा लामिछाने उज्यालो अनुहारमा देखिएको र कुनै त्रास नदेखिएको झाले बताए। लामिछानेले आफूलाई १२६ दिनसम्म सहयोग गर्ने भैरहवाका जनता, सुरक्षाकर्मी र कारागार प्रशासनप्रति आभार व्यक्त गरेका थिए।

आफ्ना विरोधीप्रति लक्षित गर्दै उनले भनेका थिए, ‘४६३ दिन पहिले एकजनाले प्रमाण छ भनेर भने। मैले प्रमाण मागेँ, उसले बल प्रयोग देखायो। मैले न्याय मागेँ, उसको संयन्त्रले प्रतिशोध साध्यो। तर पनि म भयभित छैन।’

लामिछानेलाई शनिबार साँझ काठमाडौं ल्याई ललितपुरस्थित नख्खु कारागारमा राखिएको छ।

पुटिनलाई ट्रम्प पत्नी मेलानियाको पत्र

वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नी श्रीमती मेलानियाको पत्र रुसी समकक्षी भ्लादिमिर पुटिनलाई अलास्कामा हस्तान्तरण गरेका छन्। ह्वाइट हाउसका अधिकारीहरूले समाचार एजेन्सी रोयटर्सलाई दिएको जानकारी अनुसार पत्रमा युक्रेन र रुसमा बालबालिकाले सामना गर्ने कठिनाइहरूको मुद्दा उठाइएको छ।

स्लोभेनियामा जन्मिएकी मेलानिया राष्ट्रपति ट्रम्पको अलास्का भ्रमणमा साथमा थिइनन्। तर अधिकारीहरूले उनले पत्रमा युद्धको समयमा बालबालिकाको अवस्थाको बारेमा उल्लेख गरेको बताएका छन्।

फेब्रुअरी २०२२ मा रुसले युक्रेनमा आक्रमण गरेपछि कम्तीमा १९ हजार ५०० युक्रेनी बालबालिका डिपोर्ट गरिएको युक्रेनी सरकारको अनुमान छ । युक्रेनका अनुसार यी बालबालिकालाई रुस वा रुसले कब्जा गरेको क्षेत्रमा लगिएको छ।

अन्तर्राष्ट्रिय फौजदारी अदालतले सन् २०२३ मा बालबालिकाको कथित गैर कानुनी निर्वासनको आरोपमा पुटिन र उनका बाल अधिकार आयुक्त मारिया ल्वोभाबेलोभाविरुद्ध पक्राउ वारेन्ट जारी गरेको थियो।

नेपाल आयो उड्ने ट्याक्सी, भदौ ३ गतेबाट भृकुटीमण्डपमा देख्न पाइने

काठमाडौं । नेपालमा उड्ने ट्याक्सीदेख्न पाइने भएको छ। नाडा अटो शो २०२५ मा प्रदर्शन गर्न दिपाल इभिटोल फ्लाइङ ट्याक्सी नेपाल भित्र्याइएको हो। यो गाडी शनिबार नेपाल ल्याइएको नाडा अटोमोबाइल्स एसोशिएसन अफ नेपालले जानकारी गराएको छ।

यसका साथै  युनिट्री रोबोट्स काठमाडौं आइपुगेको घोषणा नाडाले गरेको छ।शुरुमा तातोपानी क्षेत्रमा देखिएको प्राकृतिक विपद् र अन्य कारणले यी उच्च प्रविधिहरू नेपाल ल्याउन ढिलाइ भएको थियो । यो नेपालका लागि एउटा ऐतिहासिक क्षण भएको नाडाले जनाएको छ। यी प्रविधिहरू पहिलोपटक नाडा अटो शो २०२५ मा सार्वजनिक रूपमा प्रदर्शन गरिन थालेको हो।

१७औं संस्करणको यो प्रदर्शनीमा नेपालमा प्रविधिको नयाँ सम्भावनाहरूलाई उजागर गर्ने बताइएको छ। यो भव्य प्रदर्शनी २०८२ भदौ ३ गतेदेखि ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुँदैछ। यस प्रदर्शनीमा सहभागी भएर उड्ने कारको प्रत्यक्ष अनुभव लिन र यो ऐतिहासिक क्षणको साक्षी बन्न नाडाले  आग्रह गरेको छ।

नेपालले टस हारेर बलिङ गर्ने

काठमाडौं : टप एण्ड टी२० सिरिज अन्तर्गतको दोस्रो खेलमा नेपालले बंगलादेश ए सँग टस हारेर बलिङ गर्ने भएको छ।  बंगलादेशका कप्तानले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएका हुन्।

आज नेपालको टिममा ३ परिवर्तन गरिएको छ। आज सोमपाल कामी, साहब आलम र रुपेश सिंह बेन्चमा बस्दा रिजन ढकाल, नन्दन यादव र करण केसी पहिलो रोजाइमा रहेका छन्।

नेपालको टिमः 
रोहित पौडेल(कप्तान), दिपेन्द्र सिंह ऐरी(उपकप्तान), कुशल भुर्तेल, आशिफ शेख, कुशल मल्ल, गुल्सन झा, नन्दन यादव, सन्दीप लामिछाने, लोकेश बम, करण केसी र रिजन ढकाल

 

भारतीय विदेश सचिव मिस्री भोलि नेपाल आउँदै

काठमाण्डु : प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणको तयारीका लागि भारतका विदेश सचिव विक्रम मिस्री दुई दिने नेपाल भ्रमणका लागि आइतबार काठमाण्डु आउँदैछन् ।

परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा भारतीय विदेश सचिव मिस्री नेपाल आउन लागेका हुन् । उनको भ्रमणले प्रधानमन्त्री ओलीको आसन्न भारत भ्रमणका लागि आधार र वातावरण तयार पार्नेछ ।विदेश सचिव मिस्रीको नेपाल भ्रमणको पूर्व सन्ध्यामा भारतीय विदेश मन्त्रलयले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘भारतले आफ्नो छिमेकी पहिलो नीति अन्तर्गत नेपालसँगको सम्बन्धलाई उच्च प्राथमिकता दिएको छ’ ।

मन्त्रालयले विदेश सचिवको आगामी भ्रमणले दुई देशबीचको नियमित उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिने र द्विपक्षीय सम्बन्धलाई अझ अघि बढाउने अवसर प्राप्त हुने पनि बताएको छ । यो मिस्रीको एक वर्षभित्र नेपालको दोस्रो नेपाल हुनेछ । यसअघि उनी अगस्ट २०२३मा नेपालको परिचयात्मक भ्रमण गरेका थिए ।

प्रधामन्त्री ओलीले भदौ ३१ गते गते भारतको दुई दिने औपचारिक भ्रमण गर्ने कार्यक्रम रहेको छ । तर प्रधानमन्त्रीको भारत भ्रमणको औपचारिक घोषणा भने भएको छैन ।

प्रधामनन्त्री ओलीसँगको भेटमा मिस्रीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट ओलीलाई औपचारिक निमन्त्रणा पत्र हस्तान्तरण गर्नेछन् । प्रधानमन्त्री मोदी र ओलीबीचको भेट सेप्टेम्बर १६ मा वोधगयामा हुने छ ।

मिस्रीको भ्रमणका क्रममा दुई देशबीच प्रधानमन्त्रीको भारत भ्रमणका सम्भावित कार्यसूची, समझदारी, सम्झौता र हस्ताक्षर गर्न सकिने दस्तावेजहरूबारे छलफल हुनेछ ।

यस्तौ प्रधानमन्त्री ओली भारतको औपचारिक भ्रमण गर्नुअघि अगस्ट ३१ मा शाङ्घाई सहयोग संगठन (एससीओ)को शिखर सम्मेलनमा सहभागी हुन बेइजिङ जाने छन्। प्रधानमन्त्री बनेपछि ओलीको यो दोस्रो चीन भ्रमण हुनेछ।

बेइजिङमा वपन प्रधानमन्त्री मोदीसँग भेटवार्ता हुनेछन् ।

 

खोज्नुहोस