संगीतकार तथा कवि प्रेम विनोद नन्दनको निधन

चितवन- कवि तथा संगीतकार प्रेम विनोद नन्दनको निधन भएको छ। लामो समयदेखि अस्वस्थ रहेका नन्दनको ९० वर्षको उमेरमा चितवन मेकिडल कलेज (सिएमसी) शिक्षण अस्पतालमा उपचारका क्रममा आइतबार राति निधन भएको हो।

नारायणी कला मन्दिरका पूर्वअध्यक्ष अमर प्रधानका अनुसार उनी लामो समयदेखि श्वासप्रश्वासलगायतका समस्याबाट ग्रसित थिए। उनको पार्थिव शरीरको आज धार्मिक तीर्थस्थल देवघाटमा अन्त्येष्टि गरिनेछ। नन्दन नारायणी कलामन्दिरको पूर्वअध्यक्ष र सल्लाहकार थिए। उनकी श्रीमती, तीन छोरा र तीन छोरी छन्।

२०११ सालमा ‘झटारो’ गीतिसंग्रह प्रकाशन गरेर नेपाली गीत संगीत र साहित्य क्षेत्रमा प्रवेश गरेका नन्दन गजल, कविता तथा अन्य काव्यमा कलम चलाएका थिए। उनका धेरै गीत फिल्म क्षेत्रमा चर्चित छ। उनका गीति संग्रह अञ्जली २०२३, सपनीबाट ब्यूँझेर २०२३, विपनीका पाइलाहरु २०५२, ऐनाभित्रको आकाश २०६३, सिद्धार्थको ग्रह त्याग लघुकाव्य २०७४ र पत्रम पुष्पम कवितासंग्रह २०७७ प्रकाशित छ।

यस्तै, राष्ट्रिय गान छनोटका क्रममा उनको गीत उत्कृष्ट १० भित्र पर्न सफल भएको थियो। प्रधानकाअनुसार उनले लामो समय बागिश्वरी, दोभान, मारुनी, गोधुुलीलगायतका साहित्यिक पत्रिका पनि सम्पदान गरेका थिए। अनौपचारिक शिक्षा आर्जन गरेर गीतसंगीत र साहित्यमा लागेका नन्दन गायक, संगीतकार तथा कलाकार पनि थिए।

१९९२ साल जेठ १९ गते तनहुँको बन्दीपुरमा जन्मेका नन्दन पछि बसाइँ सरेर चितवनको नारायणगढ आए। उनी छिन्नलता गीत पुरस्कार २०५४, चिसाप प्रतिभा पुरस्कार २०५२, चिसाप कृष्णकुमारी गुरुङ पुरस्कार २०६४, नारायणी प्रज्ञा पुरस्कार २०७८, राष्ट्रिय स्रष्टा सम्मान २०७७ लगायतका सम्मान तथा पुरस्कार पािएका थिए। साथै उनलाई रथारोहण तथा सम्मानसमेत गरिएको थियो।

राजनीतिक दल खोल्ने दुर्गा प्रसाईंको घोषणा

काठ्माण्डौँ – मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राजनीतिक दल खोल्ने घोषणा गरेका छन् ।

सोमबार भक्तपुरस्थित आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै प्रसाईंले यस्तो घोषणा गरेका हुन् ।

केही समयमा नै दलको नाम घोषणा गर्ने उनले बताए ।

पत्रकार सम्मेलनमार्फत प्रसाईंले प्रदेश खारेजी, हिन्दूराष्ट्र, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री लगायतको एजेन्डा अगाडि सारेका छन् ।

उनले राजसंस्थाको एजेन्डाबारे भने स्पष्ट घोषणा गरेनन् । राजा आए पनि, नआए पनि आफ्नो पार्टी अगाडि बढ्ने उनको भनाइ छ ।

उनले आफू राजावादी भने नरहेको बताए ।

‘१५ गतेको आन्दोलन राजावादी, एमाले र माओवादी मिलेर बिगारेको हो नि,’ प्रसाईंले भने, ‘म राजावादी होइन, राष्ट्रवादी हो । राजा पनि राजावादी होइनन्, राष्ट्रवादी हुन् ।’

उनले व्यवस्थाभित्रै रहेर व्यवस्थाविरोधी आन्दोलन गर्ने बताए ।

उनले दलको रूपमा राजावादी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र आफूले खोल्ने दलबीच फरक हुने बताए ।

राजेन्द्र लिङ्देनप्रति दुर्गा प्रसाईंको गम्भीर आरोप

काठमाडौं । अभियन्ता दुर्गा प्रसाईंले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनप्रति गम्भीर आरोप लगाएका छन् । राजेन्द्र लिङ्देनले बैंक ठग भनेर आफूलाई आरोप लगाएको बताउँदै आक्रोशित प्रसाईंले भने– जीवनभरि विश्वास गर्ने छैन ।”

प्रसाईंले लिङ्देनलाई ‘भारतबाट गाडी चोरेर झापा ल्याएर बेचेर खाएको’ गम्भीर आरोप लगाएका छन् । उनले राप्रपाका नेताहरु सरकारसँग मिलेर आफूलाई छुरी हानेको आरोप लगाएका छन् ।

दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई गतिशील बनाइने छ : मुख्यमन्त्री शाह

धनगढी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले संघीय सरकारसँगको संवाद र छलफलबाट सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई गतिशीलता प्रदान गरिने बताएका छन् ।

स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनका लागि सोमबार मुख्यमन्त्री कार्यालयमा ज्ञापन पत्र बुझाउन पुगेको संघर्ष समितिलाई सम्बोधन गर्दै उनले संघीय सरकारसँग निरन्तर संवाद गरेर पदाधिकारी नियुक्ति, बजेट तथा संरचना व्यवस्थापनमा गतिशीलता ल्याउने बताएका हुन् ।

स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाका लागि संघर्ष समितिले ऐनअनुसार विश्वविद्यालय सभा गठन र पदाधिकारी नियुक्त गर्नुपर्ने र विश्वविद्यालयले रोजगारी, व्यवसाय, पर्यटन र आर्थिक रूपान्तरणमा ठूलो योगदान पुर्‍याउने भएकाले यथाशीघ्र सञ्चालनमा ल्याउनुपर्ने माग राखेर ज्ञापन पत्र बुझाएका मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रस्तावित कानुको मस्यौदा निर्णय ‘स्वार्थ प्रेरित’ पुष्टि भए स्वतः बदर, उपहार लिन प्रतिबन्ध

काठमाडौं । सरकारले स्वार्थको द्वन्द्वसम्बन्धी प्रस्तावित कानुनको मस्यौदा सार्वजनिक गरेको छ । सर्वसाधारणसहित सरोकारवालाबाट सुझावका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेबसाइटमा मस्यौदा प्रकाशित गरिएको छ ।

मस्यौदामा सार्वजनिक पदाधिकारी र सार्वजनिक निकायको लामो सूचीसहित परिभाषित गरिएको छ । त्यहाँ बस्ने पदाधिकारीले पदमा बहाल भएलगत्तै आफ्नो स्वार्थ बाझिने विषयहरू घोषणा गर्नुपर्ने व्यवस्था गरिएको छ । त्यसरी घोषणा नगरेको खण्डलाई स्वार्थको द्वन्द्व नरहेको अर्थमा बुझिने व्यवस्था गरिएको छ ।

घोषणा नगरी निर्णय गरेपछि स्वार्थको द्वन्द्व पुष्टि भए पहिलो चरणमा त्यस्तो निर्णय बदर हुने त्यसपछि कारबाहीको प्रक्रिया सुरु हुने उल्लेख छ । त्यस्तो कसुर फौजदारी कसुरसँग सम्बन्धित रहेछ भने कसुरदारमाथि अनुसन्धान थाल्ने बाटो पनि कानुनले अनुसन्धान निकायलाई खोलिदिएको छ ।

मस्यौदामा सार्वजनिक पदमा बसेका पदाधिकारीलाई उपहार लिन प्रतिबन्ध लगाइएको छ । सार्वजनिक पदाधिकारीले कतै उपहार लिनुपरे आफू कार्यरत सार्वजनिक संस्थामा बुझाउनुपर्ने व्यवस्था छ । कुनै पदाधिकारीले उपहार फिर्ता नबुझाएको पाइए उपहार जफत गर्नुका साथै त्यसको मूल्यअनुरूप जरिवाना हुने प्रस्ताव मस्यौदामा गरिएको छ ।

यसैगरी, सार्वजनिक पदमा रहँदा निजी पेसा र व्यवसायमा संलग्न हुन नमिल्ने प्रावधान प्रस्ताव गर्दै ढाँटेर संलग्न भएको पाइए सार्वजनिक पदमा रहन नै अयोग्य हुने व्यवस्था मस्यौदामा छ । सार्वजनिक पदमा नियुक्त हुने व्यक्तिले नियुक्तिको ३० दिनभित्र र हरेक आर्थिक वर्ष समाप्त भएको ६० दिनभित्र पारिवारिकसहित सम्पत्ति विवरण र आफ्नो नियुक्ति हुनुअघिको पेसा, व्यवसायसमेत खुलाउनुपर्ने प्रावधान मस्यौदामा छ ।

यो प्रावधान राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, मुख्यमन्त्री र गाउँपालिका प्रमुखदेखि मुख्यसचिव हुँदै सचिव र विभागीय प्रमुखसम्म समानरूपमा लागु हुने व्यवस्था प्रस्तावित छ । संवैधानिक आयोगका प्रमुख र पदाधिकारीलाई पनि सोही व्यवस्था लागु हुने उल्लेख छ ।

सार्वजनिक पदाधिकारीले लेखेर दिएको उक्त विवरण ‘सार्वजनिक लिखत’ मानिने व्यवस्था गरी गलत विवरण दिए कारबाहीको बाटो समेत खोलिएको छ । त्यस्तो विवरण हरेक निकायले आफ्नो वेबसाइटमा सार्वजनिक गर्नुपर्ने प्रावधान मस्यौदामा छ । अहिले प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरणसमेत प्रकाशित गरिएको छैन ।

प्रस्तावित मस्यौदामा सार्वजनिक पद धारण गरेको व्यक्तिले उक्त पदबाट अवकाश भएको एक वर्षसम्म पनि उक्त पद वा निकायसँग जोडिएर काम गर्न नमिल्ने प्रावधान समेटिएको छ ।

नेपाल टेलिकमको प्रगतिबारे प्रधानमन्त्रीलाई ब्रिफिङ

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले डिजिटल नेपाल फ्रेमवर्क, २०७६ लाई समयसापेक्ष विस्तार र नेपाल टेलिकमको कार्य प्रगतिबारे आज संक्षिप्त जानकारी लिएका छन् ।

सञ्चार तथा सूचना प्रविधिको उपयोग गरेर सुशासन, विकास र समृद्धिको गतिलाई तीव्रता दिनुपर्नेमा जोड दिँदै आएका प्रधानमन्त्री ओलीले सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, सचिव राधिका अर्याल, नेपाल टेलिकमका निमित्त प्रबन्ध निर्देशक सविना मास्के प्रधानसहितसँग ब्रिफिङ लिएका हुन्  ।

नेपाल सरकारबाट हालै राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नीति, २०८२ स्वीकृत भएको सन्दर्भमा डिजिटल नेपाल फ्रेमवर्कलाई थप विस्तार र समयसापेक्ष परिमार्जनका लागि मन्त्रालयले गृहकार्य सुरु गरेकाबारे प्रधानमन्त्री ओलीलाई जानकारी गराइएको छ । प्रस्तावित डिजिटल नेपाल फ्रेमवर्क २.० (फास्ट) ढाँचामा तयार गरिएको छ । उक्त प्रस्तावमा डिजिटल इकोसिस्टमको पूर्वाधार, पहुँच, क्षमता विकास र रूपान्तरणको अवधारणा समावेश गरिएको छ ।

प्रस्तावित नयाँ ढाँचामा यसअघि समाविष्ट कृषि, शिक्षा, स्वास्थ्य, शिक्षा, पर्यटन, वित्त, सुशासनका साथै अहिले सामाजिक सुरक्षा, विपद् र जलवायु परिवर्तनका क्षेत्र थप गरिएको छ । यसको कार्यान्वयनका क्रममा डिजिटल नेपालको प्राथमिकता निर्धारण, अनुगमन र प्रतिवेदनका लागि सञ्चारमन्त्रीको अध्यक्षतामा डिजिटल रूपान्तरण परिषद् प्रस्ताव गरिएको छ । उक्त नयाँ फ्रेमवर्क मन्त्रिपरिषद्बाट स्वीकृतिपछि कार्यान्वयनमा आउनेछ ।

प्रधानमन्त्री ओलीको विगतको कार्यकालमा सुशासन, विकास, समृद्धिका लागि डिजिटल नेपालको दूरदृष्टिसहित डिजिटल नेपाल फ्रेमवर्क, २०७६ स्वीकृत गरिएको थियो ।

टेलिकमले बजाउने रिङ्गब्याक टोन बन्द गर्न माग गर्दै सर्वोच्चमा रिट दर्ता

काठमाडौं । नेपाल टेलिकमले ल्याण्ड लाइन र मोबाइल फोनमा अनावश्यक रूपमा बजाउने रिङ्ग व्याक टोन बन्द गर्न माग गर्दै सर्वोच्च अदालतमा सोमबार रिट दर्ता भएको छ । अधिवक्ता विमल पोखरेलले उक्त रिट दर्ता गरेका हुन् । नेपाल टेलिकम, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणलाई विपक्षी बनाइएको छ ।

साउन १९ गते सर्वोच्च अदालतमा पेश गरिएको रिटलाई रजिष्ट्रार मानबहादुर कार्कीले साउन २१ गते दरपीठ गरिदिएका थिए । दरपीठ बदरको माग गर्दै इजलासमा दिएको निवेदनमाथि आइतबार सुनुवाइ गर्दै न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले निवेदनमा उठाइएको विषय सार्वजनिक सरोकारको रहेको देखिएको, रिङ्ग व्याक टोन बजाउने गरेको र त्यसवापत शुल्क लिने नगरिएको बताएको देखिएको हुनाले अदालतका रजिष्ट्रारबाट मिति २०८२ साउन २१ गते भएको दरपीठ आदेश बदर गरी रिट निवेदन दर्ता गर्न आदेश गरिएको हो ।

रिटमा अधिवक्ता विमल पोखरेलले नेपाल टेलिकमले बारम्बार बजाइरहने अनावश्यक ‘रिङ व्याक टोन’का कारण नेपाल टेलिकमको सीम प्रयोग गर्ने उपभोक्ताहरू अन्य निजी दूरसञ्चारको सेवा लिन, ह्वाट्सएप, म्यासेन्जर, भाइबरजस्ता विदेशी कम्पनीको सेवा लिन बाध्य भएको बताउँदै विदेशी सेवा प्रदायकहरू नेपालमा दर्ता नभएको हुनाले देशको राजस्वमा समेत धेरै ठूलो घाटा लागिरहेको, सस्तो र गुणस्तरीय सेवा प्रवाह गर्नुपर्नेमा उपभोक्तालाई हैरानी दिने, इच्छाविपरीत ‘रिङ्ग व्याक टोन’ सुन्न बाध्य पार्ने, मानसिकरुपमा तनाव सिर्जना हुने काम गरिरहेको छ हुनाले विभिन्न चाडपर्व, मेला, महोत्सव, दिवस आदि अवसरमा बजाइने ‘रिङ व्याक टोन’ बजाउन तत्काल बन्द गर्न परमादेशलगायत जो चाहिने आदेश जारी गर्न माग गरिएको छ ।

रिटमा नेपाल टेलिकमका ल्याण्ड लाइन र मोबाइल फोनमा राष्ट्रिय विपद तथा महामारीको समयबाहेक अन्य कुनै प्रकारका रिङव्याक टोन बजाउने कार्य तत्काकल बन्द गर्न सर्वोच्च अदालत नियमावली २०७४ को नियम ४९ बमोजिम विपक्षीहरुका नाममा अन्तरिम आदेश जारी गर्न माग गरिएको छ । रिटको पेशी भदौ ३ गते मंगलबारको लागि तोएिको छ ।

पर्यटन क्षेत्रमा निजी क्षेत्रको साथ आवश्यक छ : पर्यटनमन्त्री पाण्डे

पाल्पा- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन क्षेत्रको विकासमा निजी क्षेत्रलाई साथमा लिएर अघि बढ्नुपर्ने बताएका छन्। नेपाली कांग्रेस पाल्पाले आज यहाँ आयोजना गरेको भेटघाटमा उनले पर्यटन क्षेत्र निजी क्षेत्रमा निर्भर रहेकाले यसके विकासमा निजी क्षेत्रलाई प्रोत्साहन गर्न जरुरी रहेकामा जोड दिए।

पर्यटन क्षेत्रका चुनौती समाधानका लागि निजी क्षेत्रकै सार्थक हस्तक्षेप र क्रियाशीलताको आवश्यक रहेको उनको भनाइ थियो। उनले भने, ‘पर्यटन क्षेत्रको विकासका लागि सरकारले पूर्वाधार निर्माण गर्न भने होटल, यातायात र पर्यटकीय गतिविधि निजी क्षेत्रले सञ्चालन गर्छ, यसका लागि निजी क्षेत्रमैत्री वातावरण निर्माण गरिदिनुपर्छ।’

उनले यसका लागि पर्यटन क्षेत्रसँग सम्बन्धित नीति तथा ऐन बनाइरहेको बताए।

कुवेतमा १६ ‍नेपालीसहित २३ जनाको ज्यान लिने विषाक्त मदिरा कस्तो हो ?

काठमाडौँ, २ भदौः  कुवेत प्रहरीले स्थानीयरूपमा उत्पादित विषाक्त मदिरा उत्पादन तथा वितरण गरेको आरोपमा ६७ जनालाई पक्राउ गरेको छ । विषाक्त मदिराको सेवनबाट २३ जनाको मृत्यु भएको छ । जसमा १६ जना नेपाली पनि छन् । कुवेतको गृह मन्त्रालयका अनुसार, विषाक्त मदिरा उत्पादन तथा बिक्रीमा एक बंगलादेशी नागरिकले नेतृत्व गरेका थिए ।

आवासीय र औद्योगिक क्षेत्रमा रहेका ६ वटा कारखाना र अन्य चारवटा सञ्चालनमा नआएका कारखाना पनि नियन्त्रणमा लिइएको मन्त्रालयले जनाएको छ ।

कसरी बनाइयो विषाक्त रक्सी ?

कुवेतमा मदिराको आयात वा स्थानीय उत्पादनमा प्रतिबन्ध छ । तर, अवैधरूपमा गोप्य स्थानमा उत्पादन गरिन्छ । यस्ता स्थानमा कुनै निरीक्षण वा सुरक्षा मापदण्ड हुँदैन । आपराधिक समूहमा संलग्न एक नेपालीले प्रहरीलाई मिथानोल कसरी तयार र बिक्री गरिन्छ भनेर जानकारी दिएका थिए ।

स्वास्थ्य मन्त्रालयका अनुसार, मिथानोल विषाक्तताका कारण १६० जना बिरामी भएकामध्ये २३ जनाको मृत्यु भएको छ । यीमध्ये अधिकांश एसियाली नागरिक छन् । कम्तीमा ५१ जनालाई तत्काल मिर्गौला डायलिसिसको आवश्यकता परेको थियो । अन्य ३१ जनालाई मेकानिकल भेन्टिलेसनको आवश्यकता परेको मन्त्रालयले जनाएको छ ।

कुवेतमा सबैभन्दा ठूलो आप्रवासी समुदाय रहेको भारतको दूतावासले पछिल्ला केही दिनमा करिब ४० भारतीय नागरिक अस्पताल भर्ना भएको जनाएको छ । यद्यपि कारण खुलाइएको छैन । दूतावासले एक्समा जारी विज्ञप्तिमा भनेको छ, “केहीको मृत्यु भएको छ, केहीको अवस्था गम्भीर छ भने अन्य बिरामीहरू निको हुँदै छन् ।”

कुवेतमा विषाक्त मदिरा प्रकरण– दुई नेपालीसहित ६७ जना पक्राउ

मिथानोल एक विषालु, रंगहीन र गन्धरहित रक्सी हो । जुन औद्योगिक र घरायसी उत्पादनमा प्रयोग हुन्छ । यसलाई पत्ता लगाउन कठिन हुन्छ । यसको सेवनपछि लक्षणहरू सामान्यतया ढिलो देखिन्छन् । जसमा वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, अत्यधिक सास फेर्ने र श्वासप्रश्वासमा समस्या हुन्छ ।

डक्टर्स विदाउट बोर्डर्स (एमएसएफ)का अनुसार, हरेक वर्ष हजारौँ मानिसहरू, विशेषगरी एसियामा, मिथानोल विषाक्तताबाट प्रभावित हुन्छन् । उपचार नभएमा मृत्युदर सामान्यतया २० देखि ४० प्रतिशत हुने बताइन्छ ।

अल्जजिराबाट ।

म एमालेको कार्यकर्ता नै हुँ, गुट चलाउन आउँदैन : पूर्वराष्ट्रपति भण्डारी

विराटनगर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू नेकपा (एमाले)को संगठित सदस्य र कार्यकर्ता नै रहेको बताएकी छन्। सोमबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले आफू नेकपा एमालेको नीति र कार्यक्रम अनुसार नै अघि बढ्ने बताइन् ।

आफ्नो ४५ वर्ष लामो एमालेसँगको आबद्धता स्मरण गर्दै उनले पार्टीको हितका लागि काम गर्ने बताइन् । उनले भनिन्, ‘म नेकपा एमाले नै हो। म एमाले नै भएर राष्ट्रपतिमा निर्वाचित भएको हो। म नेकपा एमालेको कार्यकर्ता हो।’

पूर्वराष्ट्रपति भण्डारीले राजतन्त्र र गणतन्त्रबीचको भिन्नता केलाउँदै राष्ट्रपतिको पद आवधिक हुने र कार्यकाल सकिएपछि जुनसुकै नागरिक पनि आफ्नो सामाजिक वा राजनीतिक जीवनमा फर्कन सक्ने धारणा राखिन्।
उनले भनिन्, ‘राजतन्त्र र गणतन्त्र फरक हो। राष्ट्रपति एउटा पद हो। यो आवधिक हुन्छ। जोसुकै पनि जनताको स-सहभागिताले निर्वाचित भएर आउन सक्छन्। उनीहरूको कार्यकाल सकिएपछि आफ्नो सामान्य जीवनमा फर्कन सक्छन्।’
पार्टीभित्र उनको भूमिका र केन्द्रीय कमिटीको निर्णयबारे सोधिएको प्रश्नमा भण्डारीले आफूलाई औपचारिक जानकारी नभएको बताइन्। ‘पार्टीको औपचारिक कुरा के छ, मलाई त्यो थाहा छैन,’ उनले भनिन्, ‘सबै सदस्यहरूलाई सबै कुरा थाहा हुँदैन नि। कमिटीमा बस्नेहरूलाई थाहा होला नि।’

उनले थपिन्, ‘म ४५ वर्ष भयो नेकपा एमालेको संगठित सदस्य भएको। विराटनगरमै मैले शपथ खाएको।’ राष्ट्रपतिमा निर्वाचित हुँदा पनि पार्टीले विशेष निर्णय गरेर पठाएको र कार्यकाल सकिएपछि आफूले विधिवत रूपमा सदस्यता नवीकरण गरेको उनले स्पष्ट पारिन्।

आफ्नो आलोचना र व्यक्तिगत आरोपहरूका बारेमा बोल्दै भण्डारीले आफू आलोचनाभन्दा मुक्त नरहेको र कोही पनि आलोचनाभन्दा मुक्त नहुने बताइन्। ‘म पनि आलोचनाभन्दा मुक्त छैन र कोही पनि छैन,’ उनले भनिन्।
‘गुट चलाएको’ आरोप लागेकोबारे सञ्चारकर्मीले प्रश्न गर्दा उनले प्रतिवाद गरिन्। ‘मलाई गुट चलाउन आउँदै आउँदैन,’ उनले भनिन्। मदन भण्डारी फाउन्डेसनबारे उठेका प्रश्नहरूको जवाफमा भने उनले ‘पार्टीका नेताहरूलाई सोध्न’ आग्रह गरिन्।
हालै कांग्रेस नेता डा. शेखर कोइरालासँग भएको भेटलाई सामान्य रूपमा लिनुपर्ने उनले बताइन्। ‘शेखर कोइरालासँग मेरो भेट भएको हो। अब उहाँ पनि मोरङ विराटनगरकै हो। हामी पनि त्यहीँ जन्मिएर हुर्केको हो। त्यो भेटेको कुरालाई यस्तो एकदमै ठूलो हाउगुजीको रूपमा लिनुपर्ने म ठान्दिनँ’, उनले भनिन् ।

निजामती विधेयकमाथि राष्ट्रियसभाको संसदीय समितिमा छलफल सुरू

काठमाडौँ: प्रतिनिधिसभाबाट सर्वसम्मत पारित संघीय निजामती सेवा विधेयकमाथि आजदेखि राष्ट्रिय सभाको संसदीय समितिमा छलफल सुरु भएको छ । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा सोमबारदेखि सैद्धान्तिक छलफल सुरु भएको हो ।

सोमबार बिहान ११ बजेदेखि सुरु भएको छलफलमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपाने, मन्त्रालयका सचिव रविलाल पन्थ लगायत मन्त्रालयको टिम सहभागी छ ।

प्रतिनिधिसभाबाट पारित भएको २ महिनाभित्र राष्ट्रिय सभाबाट समेत विधेयक पारित गरिसक्नुपर्ने कानूनी व्यवस्था अनुसार संघीय निजामती विधेयक यही भदौ १७ गतेभित्र पारित गरिसक्नुपर्ने छ ।

सोमबार सैद्धान्तिक छलफल सकिएपछि अर्को बैठकबाट दफावार छलफल सुरु हुने विधायन व्यवस्थापन समितिले जनाएको छ ।

अलैँचीको भाउ सात वर्ष यताकै उच्च

काठमाण्डौ। ‘खोल्साको सुन’ भनेर चिनिने पूर्वी पहाडको नगदे बाली अलैँचीले उत्पादनको सुरुआती ‘सिजन’मा नै उच्च भाउ पाएको छ ।

अलैँचीको खरिद बिक्री हुने नेपालकै ठूलो बजार विर्तामोडमा आज प्रतिमन (४० केजी) रु ९४ हजारमा कारोबार भएको नेपाल अलैँची व्यवसायी महासङ्घका कार्यकारी निर्देशक अनिल ढुङ्गानाले बताए। ‘यो निकै राम्रो भाउ हो,’ उनले भने, ‘गत वर्ष अहिलेकै सिजनमा अलैँचीको कारोबार प्रतिमन रु ४० हजारसम्ममा भएको थियो ।’ अलैँचीको यो भाउ विगत सात वर्षकै उच्च मानिएको छ ।

विसं २०७५ को अहिलेको सिजनमा अलैँचीको प्रतिमन मूल्य रु एक लाख पाँच हजारसम्म पुगेको थियो । सोही सालको मङ्सिरमा मूल्य अझ बढेर प्रतिमन रु एक लाख सात हजार पुगेको थियो । २०६७ सालमा प्रतिमन अलैँची रु एक लाख २० हजारसम्ममा कारोबार भएको थियो । त्यसभन्दा बढी मूल्यका अलैँचीको कारोबार कहिल्यै भएको छैन ।

भदौ–असोजतिर भाउ धेरै हुनु भनेको मङ्सिर–पुसतिर अझै बढ्न सक्ने सङ्केत भएको उनको भनाइ छ । अहिले बढेको भाउले अलैँची उत्पादन गर्दै आएका किसान प्रत्यक्ष लाभान्वित हुने भएका छन् । किसानले बेच्ने बेलामा अलैँचीको भाउ उच्च हुँदा किसान उत्साही भएका हुन् । किसानबाट यतिबेला किनेको अलैँची भण्डारण गरेर व्यापारीहरूले मङ्सिर–पुसतिर भाउ आकासिएपछि बेचेर धेरै मुनाफा कमाउने गरेका छन् ।

‘एक मन अलैँची उत्पादन गर्न किसानले अधिकतम रु २० हजारसम्म लगानी गरेका हुन्छन्,’ महासङ्घका कार्यकारी निर्देशक ढुङ्गाना भन्छन्, ‘आफूले बेच्ने बेलामा भाउ धेरै पाएर किसान धेरै खुसी भएका छन् । यसपालि अलैँचीको भाउ अझै धेरै बढेर जाने सम्भावना देखिन्छ ।’

नेपालका ४२ जिल्लामा अलैँचीखेती हुने गरे पनि कोशी प्रदेशका पाँचथर, ताप्लेजुङ, इलाम, सङ्खुवासभा, खोटाङ, भोजपुर र तेह्रथुम जिल्लामा धेरै उत्पादन हुने गरेको छ । कोशी प्रदेशमा सात हजार ५०० हेक्टरभन्दा बढी क्षेत्रफलमा अलैँची खेती हुँदै आएको छ । आर्थिक वर्ष २०८१/८२ मा काँकडभिट्टा नाका भएर रु सात अर्ब ६७ करोडको अलैँची भारत निर्यात भएको मेची भन्सार कार्यालयले जनाएको छ ।

नेपालमा उत्पादित अलैँचीको ९० प्रतिशत निर्यात हुने गरेको छ । नेपालबाट भारत पुगेको अलैँची त्यहाँबाट ‘ब्रान्डिङ’ भएर विश्व बजारमा पुग्ने गरेको छ । विश्व बजारमा नेपाली अलैँचीले सोझो पहुँच पुर्याउन सकिरहेको छैन ।

निजामती विधेयकमाथि राष्ट्रियसभाको संसदीय समितिमा छलफल सुरू, भदौ १७ भित्र पारितको सीमा

काठमाडौं । प्रतिनिधिसभाबाट सर्वसम्मत पारित संघीय निजामती सेवा विधेयकमाथि आजदेखि राष्ट्रिय सभाको संसदीय समितिमा छलफल सुरु भएको छ । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा सोमबारदेखि सैद्धान्तिक छलफल सुरु भएको हो ।

सोमबार बिहान ११ बजेदेखि सुरु भएको छलफलमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपाने, मन्त्रालयका सचिव रविलाल पन्थ लगायत मन्त्रालयको टिम सहभागी छ ।

प्रतिनिधिसभाबाट पारित भएको २ महिनाभित्र राष्ट्रिय सभाबाट समेत विधेयक पारित गरिसक्नुपर्ने कानूनी व्यवस्था अनुसार संघीय निजामती विधेयक यही भदौ १७ गतेभित्र पारित गरिसक्नुपर्ने छ ।

सोमबार सैद्धान्तिक छलफल सकिएपछि अर्को बैठकबाट दफावार छलफल सुरु हुने विधायन व्यवस्थापन समितिले जनाएको छ ।

नेपालको जैविक विविधता सङ्कटमा छ : राष्ट्रपति पौडेल

काठमाण्डौ – राष्ट्रपति रामचन्द्र पौडेलले दुई अर्ब भन्दा बढी मानिसका लागि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जीवनयापनमा योगदान पुर्‍याएको नेपालको जैविक विविधता सङ्कटमा रहेको बताएका छन ।

आज काठमाण्डौमा हिन्दुकुश हिमालय संसदीय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले नेपाली क्षेत्रका हिमालबाट बग्ने नदीको पानी, वनबाट प्राप्त हुने अक्सिजन, कृषियोग्य भूमिको उर्वरताले दुई अर्ब भन्दा बढी मानिसका लागि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जीवनयापनमा योगदान पुर्‍याएको बताए ।

उहाँले अहिले नेपालसहित हिन्दुकुश हिमालय देशहरु सङ्गटासन्न अवस्थामा रहेको भन्दै सबै मिलेर यसलाई पार लगाउनुपर्ने बताउनुभयो । उहाँले जलवायु परिवर्तन, जैविक विविधताको ह्रास र वायु प्रदुषण अब केबल वैज्ञानिक प्रतिवेदनमा सिमित नभइ दैनिक जीवनको कठोर यथार्थ बनेको जिकिर गरे ।

हिन्दुकश हिमालय क्षेत्रको भुगोल, हिमालय क्षेत्र, वन, नदी र वायुमण्डलको भविष्यबारे दृढ सङ्कल्प जनाउने अवसरका रूपमा आफूले सम्मेलनलाई लिएको विश्वास व्यक्त गरे । विश्वव्यापी तापमान वृद्धिलाई १.५ डिग्रि सेल्सियससम्म सिमित गर्न पेरिस सम्झौतामा गरिएको प्रतिवद्धता पूरा गर्न सम्बन्धित पक्षहरुले आफ्नो आफ्नो ठाउँबाट योगदान पुर्‍याउनु आजको आवश्यकता भएको बताए ।

राष्ट्रपति पौडेलले हिमालय क्षेत्रमा तापक्रम औषत भन्दा धेरै वृद्धि भएको बताए । उनले नेपाल जैविक विविधताका दृष्टिले धनी रहेको उल्लेख गर्दै विश्वका दुर्लव वनस्पति र जनावरको बासस्थान नेपालमा रहेको बताए ।

पहिरोले अवरुद्ध महाकाली राजमार्ग खुल्यो

खलङ्गा। आइतबार राति पहिरोका कारण अवरुद्ध भएको महाकाली राजमार्ग आज बिहानदेखि पुनः सञ्चालनमा आएको छ। राजमार्गअन्तर्गत गोकुलेश्वर-दार्चुला सडकखण्डको तेर्छालेक र रनेबासमा खसेको पहिरो पन्छाएपछि बिहान ११ बजेबाट सडक खुलेको हो।

प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले दिएको जानकारीअनुसार, सडक खुलेपछि रोकिएका सवारी साधनहरू गन्तव्यतर्फ लागेका छन्। सडक अवरुद्ध हुँदा अलपत्र परेका यात्रुहरूले पनि राहत पाएका छन्।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नेपालमै पहिलो पटक ‘डिजिटल पीसीआर’ मेसिन जडान

काठमाडौं– टेकु स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले नेपालमै पहिलो पटक ‘डिजिटल पीसीआर’ मेसिन जडान गरेको छ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सोमबार एक कार्यक्रमकाबीच उक्त अत्याधुनिक मेसिन र सेवाग्राहीको सुविधाका लागि थप गरिएका दुई वटा ‘रिपोर्ट भेन्डिङ मेसिन’ को उद्घाटन गर्दै सेवा शुभारम्भ गरेका छन् ।

मन्त्री पौडेलले स्वास्थ्य मन्त्रालयको कार्यकाल सम्हाल्दै गर्दा स्वास्थ्य क्षेत्रको विकास र विस्तरका लागि आफ्नो प्राथमिकता तथा कार्य योजना सार्वजनिक गरेका थिए ।

उक्त कार्य योजनामा मन्त्री पौडेलले सरकारी स्वास्थ्य संस्थाहरूको क्षमता अभिवृद्धि गर्ने तथा सुविधा सम्पन्न बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

सोही प्रतिबद्धता अनुरूप अन्य स्वास्थ्य संस्थाहरूमा जस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको क्रमशः क्षमता अभिवृद्धि गर्ने कार्य गरिरहेको उनको सचिवालयले जनाएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले सरकार जनतासँग गरेका वाचा पूरा गर्न निरन्तर लागिपरेको बताए । ‘हामीले सार्वजनिक गरेको कार्य योजना अनुरूप नै सरकारी स्वास्थ्य संस्था तथा प्रयोगशालालाई आत्मनिर्भर र विश्वस्तरीय बनाउने निरन्तर अभियानमा छौँ ।,’ मन्त्री पौडेलले भने, ‘नागरिकले जटिल रोग उपचार परीक्षणका लागि विदेशमा नमुना पठाउनुपर्ने झन्झट हटाउन र खर्चबाट जोगाउन निरन्तर कार्य गर्ने छौँ ।’

के हो डिजिटल पीसीआर प्रविधि ? 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आज जडान गरिएको डिजिटल पीसीआर मेसिन हाल प्रयोगमा रहेको सामान्य पीसीआरभन्दा निकै परिष्कृत र संवेदनशील मानिन्छ ।

यसले रगत वा नमुनामा अत्यन्तै न्यून मात्रामा रहेको डीएनएलाई समेत सटीक रूपमा पहिचान गर्ने हुँदा रोगको निदान थप विश्वसनीय र प्रभावकारी हुने प्रयोगशालाका निर्देशक डा। रञ्जन राज भट्टले जानकारी दिए । “यस प्रविधिको सुरुवातसँगै क्यान्सरको उपचारमा महत्वपूर्ण मानिने ईजिएफआर , बीसीआर एबीएल, बीआरएएफ जस्ता म्युटेसनको परीक्षण र रगतमा घुमिरहेको ट्युमरको डीएनए  को जाँच अब नेपालमै सस्तो र सुलभ रूपमा गर्न सम्भव हुने” डा. भट्टले बताए ।

सेवाग्राहीलाई थप सुविधा

यसका साथै, प्रयोगशालामा जडान गरिएको ‘रिपोर्ट भेन्डिङ मेसिन’ ले सेवाग्राहीलाई ठूलो राहत दिनेछ । अब सेवाग्राहीले आफ्नो रिपोर्ट लिनका लागि घण्टौं लाइन बस्नुपर्ने बाध्यताको अन्त्य भएको छ। सेवाग्राहीले उपलब्ध गराइएको युनिक कोड प्रयोग गरी आफैँले मेसिनबाट रिपोर्ट प्रिन्ट गर्न सक्ने प्रयोगशालाले जनाएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको यस प्रविधि विस्तारले नेपालको रोग निदान क्षमतालाई नयाँ उचाइमा प्याउने र आम नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच सहज बनाउने मन्त्रालयले विश्वास लिएको छ ।

टप एण्ड टी २० सिरिजमा नेपालको लगातार तेस्रो हार

काठ्माण्डौँ- अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी–२० सिरिजको आफ्तो तेस्रो खेलमा नेपालले लगातार तेस्रो हार व्यहोरेको छ ।

सोमबार भएको खेलमा मेलबर्न स्टार्स एकेडेमीले नेपाललाई ३१ रनले पराजित गरेको हो ।

मेलबर्न स्टार्स एकेडेमीको दिएको १७६ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४४ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि ओपनर आसिफ शेखले अर्धशतक बनाएपनि जितका लागि पर्याप्त भएन । उनले ४९ बल खेल्दै ३ चौका र १ छक्का मदतमा सर्वाधिक ५३ रन बनाए । कप्तान रोहित पौडेलले ३३ र कुशल भुर्तेलले २५ रन जोडे ।

नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले ३० रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए ।

आक्रमक ब्याटिङ गरेका कुशल भुर्तेल १३ बलमा ४ चौका मदतमा २५ रन बनाएर चौथो ओभरमा आउट भए । लगत्तै भिम शार्की व्यक्तिगत १ रनमा आउट हुँदा  नेपाल ४ ओभरमा ३२–२ को स्थितीमा थियो । त्यसपछि ओपनर आसिफ र कप्तान रोहित पौडेलले तेस्रो विकेटका लागि ८७ रनको साझेदारी गर्दै नेपालको इनिङ्स अघि बढाएका थिए ।

नेपाल पहिलो खेलमा एनटी स्ट्राइक र दोस्रो खेलमा बंगलादेश ए सँग पराजित भएको थियो । नेपालले अब होबार्ट हरिकेन्स, मेलबर्न रेनेगेड्स र पाकिस्तान शाहीन्ससँग खेल्नेछ ।

सुदूरपश्चिम प्रज्ञा-प्रतिष्ठानद्वारा अनुसन्धानमूलक थप तीन कृति प्रकाशन

कैलाली । सुदूरपश्चिम प्रज्ञा-प्रतिष्ठानले थप तीन अनुसन्धानमूलक कृति प्रकाशन गरेको छ।

सुदूरपश्चिममा लोपोन्मुख राउटे र राजी जातिको सामाजिक र सांस्कृतिक अध्ययन गराएर प्रतिष्ठानले खोजमूलक कृति प्रकाशन गरेको सुदूरपश्चिम प्रज्ञा-प्रतिष्ठानका उपकुलपति तथा संस्कृतिविद डा.टीएन जोशीले बताए।

यसैगरी प्रतिष्ठानले सुदूरपश्चिमका रही छन्दमा कलम चलाउने कविहरूका उत्कृष्ट कविता छनौट गरी छन्द सागर कृति पनि प्रकाशन गरेको छ। छन्द सागरमा चालिस भन्दा बढी कविका छन्द कविता समेटिएका छन्।

सुदूरपश्चिम प्रज्ञा-प्रतिष्ठानले चाँडै सुदूरपश्चिमका स्रष्टाहरूको परिचय कोष र डोटी राज्यको इतिहास पनि प्रकाशन गर्न लागेको उपकुलपति जोशीले बताए। न्युन बजेट र जनशक्तिको अभाबका बिच सुदूरपश्चिम प्रज्ञा-प्रतिष्ठानले प्राज्ञिक र सांस्कृतिक कर्ममा आफूलाई निरन्तर अगाडि बढाएको छ।

यस अघि प्रतिष्ठानले थारू लोकसंस्कृति र लोककथा, अनुसन्धानमूलक ग्रन्थ सगुन र सुदूरपश्चिमको संस्कृति सङ्ग्रह प्रकाशन गरिसकेको छ।

विपिनको रिहाइका लागि हर सम्भव प्रयास भइरहेको छ : प्रधानमन्त्री ओली

कञ्चनपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले प्यालेस्टिनी लडाकु समूह हमासले इजरायलमा आक्रमण गरी नियन्त्रणमा लिएर बेपत्ता बनाएका कञ्चनपुरका विपिन जोशीको रिहाइका लागि सरकारले हर सम्भव प्रयास गरिरहेको बताएका छन् । ‘सिक्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत इजरायल गएका जोशी २०८० सालको असोज २० गतेदेखि सम्पर्कविहीन छन् ।

इजरायलमा बेपत्ता रहेका विपिनको सुरक्षालाई प्राथमिकता दिँदै सरकार हर सम्भव पहलमा जुटिरहेको प्रधानमन्त्री ओलीले बताए । सोमबार बिहान फेसबुकमा स्ट्याटस राख्दै प्रधानमन्त्री ओलीले जोशीको शीघ्र रिहाइको पहल गर्नु सरकारको जिम्मेवारी भएको बताए । विपिनको रिहाइका लागि आफुले गत फागुन २८ गते इजिप्टका राष्ट्रपति अब्देल फत्ताह सइद हुसैन खालिल र चैत ७ गते टर्कीका राष्ट्रपती रेसेप तैयप सँग यस विषयमा ध्यानाकर्षण गर्दै फोन संवाद गरेको उनले बताए ।

विपिनको सुरक्षित र शीघ्र रिहाइ सुनिश्चित गर्न परराष्ट्र मन्त्रालयले खाडी छेत्रका दूतावासमार्फत निरन्तर संवाद गरिएको प्रधानमन्त्री ओलीले बताए ।

आइतबार मात्रै विपिनका आमा पद्मा जोशी र बहिनी पुष्पाले इजरायली राष्ट्रपति आइज्याक हर्जोगसँग भेटेर हमासद्वारा बेपत्ता बनाइएका विपिनको रिहाइका लागि पहल गरिदिन माग गएका छन् । बहिनी पुष्पाले पनि राष्ट्रपति हर्जोग समक्ष आफ्नो दाइलाई हमासको बन्धकबाट मुक्त गराउन अपिल गरिन् ।

जोशीको रिहाइका लागि नेपाली समुदायले शनिबार साँझ तेलअभिभमा प्रदर्शन समेत गरेका थिए । प्रदर्शनमा आमा पद्मा र बहिनी पुष्पा पनि रिहाइका लागि दबाब दिन प्लेकार्डसहित सहभागी भएका थिए । प्लालेस्टाइनी विद्रोही समूह हमासको कब्जामा रहेको भनिएका विपिन जोशीको खोजि गर्न गत सोमबार मात्रै विपिनका आमा र बहिनी इजरायल गएका थिए ।

एभरेष्ट फेडरेल क्रेडिट युनियनको चौथो साधारण सभा सम्पन्न

न्यूयोर्क, १७ अगष्ट ।
अमेरिकामा बैंकिङ कारोवार गर्ने पहिलो संस्था एभरेष्ट फेडरेल क्रेडिट युनियनको चौथो साधारण सभा शनिवार न्यूयोर्कमा सम्पन्न भएको छ ।

२०१५ मा १० जनाबाट शुरु भएको एभरेष्ट फेडरेल क्रेडिट युनियनको चौथौ साधारण सभा अमेरिकाका बिभिन्न राज्यबाट आएका शेयर धनी तथा निक्षेपकर्ताहरुको विशाल उपस्थितिमा न्यूयोर्कमा सम्पन्न भएको हो ।

शनिवार एकैदिन क्रेडिट युनियनमा झण्डै तीन मिलियन निक्षेप जम्मा भयो । एभरेष्ट फेडरेल क्रेडिट युनियनमाथि विश्वास गर्दै साधारण सभामा सहभागीहरुले यति ठूलो रकम जम्मा गरेका हुन् । योसंगै क्रेडिट युनियनमा १० मिलियन रकम जम्मा भएको छ ।

एभरेष्ट फेडरेल क्रेडिट युनियनमा झण्डै एक मिलियन डलर पहिल्यै जम्मा गरिसकेका युनियनका अध्यक्ष डा.मदन उप्रेतीले शनिवार थप एक मिलियन रकम जम्मा गरे ।

डा. उप्रेतीले युनियनप्रति आम नेपाली समुदायलाई विश्वास दिलाउन आफूले सबैभन्दा बढि रकम निक्षेप जम्मा गरेको बताए ।

यो नेपालको सहकारी जस्तो होईन । जहाँको रकम अपचलन होस वा डुबोस, क्रेडिट युनियनमा ढुक्क भएर आर्थिक कारोवार गर्न आग्रह गर्दै उप्रेतीले भने, तपाईहरुको रकम डुब्दैन । हामीमाथि विश्वास गर्नुहोस । त्यसको जिम्मा हामी लिन्छौ ।

एभरेष्ट फेडरेल क्रेडिट युनियनका अध्यक्ष डा. उप्रेतीले ढुक्क भएर निक्षेप जम्मा गर्न सबैलाई आग्रह गरे ।

यो मुनाफाका लागि खोलिएको होईन । ‘समुदायको सेवा’ लागि खोलिएको हो, उनले भने, घर, व्यवसायका लागि त हामी कर्जा प्रवाह गर्छौ नै । सामान्य ऋणका लागि भौतारिन पर्ने नेपालीहरुको बाध्यताको अन्त्य गर्ने हाम्रो मूल ध्येय हो ।

सामान्य समस्यामा नेपालीहरुले कर्जा नपाउने अवस्थालाई मध्यनजर गर्दै नेपाली समुदायको गर्जो टार्ने उद्देश्य सहित आर्थिक समृद्धिका लागि क्रेडिट युनियन सञ्चालनमा ल्याइएको उप्रेतीले बताए ।

युनियनका प्रमुख कार्यकारी अधिकृत(सिइओ) सुमन तिम्सिनाले क्रेडिट युनियनप्रति नेपाली समुदायको बढ्दो विश्वास, बोर्ड र कर्मचारीहरुको सक्रियताले छोटो अबधिमै निक्षेप र सक्रिय सदस्यको संख्या दोब्बर भएको जानकारी दिए ।

सिईओ तिम्सिनाले नेपाली समुदायको आर्थिक समृद्धि र हीतका लागि खोलिएको युनियनको सेवा, सुबिधा र शाखा थप्ने क्रम तिब्र पारिएको बताए ।

उनले नेपाली विद्यार्थीहरुलाई समेत युनियनसंग जोड्ने प्रयास थालिएको र केही समयभित्र ठूलो संख्यामा विद्यार्थीहरुको खाता खोल्न अभियान सञ्चालन गरिने जानकारी दिए ।

सिईओ तिम्सिनाले समुदायको सेवा गर्ने उद्देश्यले खोलिएको क्रेडिट युनियनलाई उद्देश्य पूर्तिका युनियनको बोर्ड र कर्मचारीको टीमले २४ सै घण्टा काम गरिरहेको बताए । उनले युनियनलाई यो अवस्थामा ल्याई पु¥याउन विश्वास तथा सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।

उनले छितोछरितो र विश्वसनीय सेवाका लागि आफूहरुले काम गरिरहेको बताउदै बिभिन्न राज्यमा शाखा विस्तार जर्ने क्रम तिब्र रहेको जानकारी    दिए ।

हामीले डेबिट कार्डको सेवा शुरु गरेका छौ । क्रेडिट कार्डको सेवा थप्दैछौ । खाता खोल्ने प्रकृयालाई पनि अत्यन्त सहज बनाएका छौ । भिजिट भीसामा आएका नेपाली र अमेरिकामा अध्ययनरत विद्यार्थीहरुले सहजै युनियनमा खाता खोल्ने व्यवस्था मिलाएका छौ, सिईओ तिम्सिनाले भने, अमेरिकामा स्थायी बसोबास गर्ने नेपालीहरुले त युनियनको सम्पूर्ण आर्थिक कारोवारमा सहभागी हुन पाउछन नै । भिजिट भिसामा अमेरिकामा रहेका नेपाली राहदानी भएका व्यक्तिले त्यही आधारमा खाता खोल्न सक्ने र बैकिङ कारोवार गर्न सक्ने व्यवस्था मिलाएका छौ ।

कोषाध्यक्ष तथा पूर्व सिईओ बिराज रिजालले हाल युनियनको कूल सम्पत्ती ८ मिलियन रहेकोमा २०३० मा १०० मिलियन पु¥याउने लक्ष्य राखिएको बताए ।

उनले युनियनमा हाल कुल निक्षेप ७.५ मिलियन रहेकोमा २०३० सम्म ८० मिलियन पु¥याउने लक्ष्य लिएर काम गरिरहेको सुनाए ।
रिजालका अनुसार युनियनको हाल कुल कर्जा प्रवाह ४.५ मिलियन रहेकोमा २०३० सम्म ७० मिलियन पु¥याउने लक्ष्य छ ।

युनियनमा हाल २००० रहेको सक्रिय सदस्यको संख्यालाई २०३० सम्म १० हजार पु¥याउने लक्ष्य राखिएको रिजालले जानकारी दिए ।

कर्जा समितिका अध्यक्ष मिलन पौडेलले कर्जा प्रवाहको अवस्था सन्तोषजनक रहेको बताए ।

साधारण सभाका कन्भेनर जीवन बमले एभरेष्ट फेडरेल क्रेडिट युनियनको स्थापनाले संभावनाको ढोका खोलेको बताए ।

कन्भेनर बमले मुनाफाका लागि नभई नेपाली समुदायको सेवा गर्ने उद्देश्यले स्थापना भएको एभरेष्ट फेडरल क्रेडिट युनियनमा जोडिन नेपाली समुदायसंग आग्रह गरे ।

अमेरिकाको न्यूयोर्कस्थित नेपाली महावाणिज्यदूतावासका महावाणिज्यदूत दधिराम भण्डारी र साधारण सभामा ब्रुकलिन कोपकी सिईओ समिरा राजनले क्रेडिट युनियनले नेपाली समुदायको आर्थिक समृद्धिका लागि निर्वाह गरिरहेको योगदानको खुलेर प्रशंसा गरे ।

त्यसअघि बिभिन्न राज्यबाट आएका सहभागीहरुले साधारण सभामा आफ्ना जिज्ञासाहरु राखेका थिए । युनियनमा जम्मा गरेको रकमको सुरक्षा, गोपनीयता, रकम जम्मा गर्नेहरुले पाउने सुविधाका बारेमा सहभागीहरुले राखेका जिज्ञासाको युनियनका अध्यक्ष उप्रेती, सिईओ तिम्सिना लगायतले जवाफ दिएका थिए ।

 

 

पाकिस्तानमा बाढी : मृतकको संख्या ३४४ पुग्यो, १५० भन्दा बढी बेपत्ता

एजेन्सी । उत्तर पश्चिम पाकिस्तानमा आएको विनाशकारी बाढीमा मृतकको संख्या ३ सय ४४ पुगेको छ । यस्तै, १ सय ५० जनाभन्दा बढी बेपत्ता भएको प्रान्तीय विपद् व्यवस्थापन एजेन्सीका प्रमुख असफान्डियार खट्टकले आइतबार बताएका छन् ।

हजारौँ उद्धारकर्मी वर्षा र माटोको भारी चपेटाबीच बाँचेका मानिसलाई खोज्दै भग्नावशेषमुनि दबिएका घर उत्खनन गरिरहेका छन् । ‘बुनेर जिल्लामा मात्रै करिब १५० जना अझै बेपत्ता छन् । उनीहरू भग्नावशेषमुनि फसेका वा बाढीले बगाएको हुन सक्छ’, खट्टकले भने । उनका अनुसार साङ्ला जिल्लामा पनि दर्जनौं मानिस बेपत्ता छन् ।

बैभन्दा बढी क्षति बुनेरमै भएको छ । त्यहाँ कम्तीमा २ सय आठ जनाको मृत्यु भएको र करिब १०–१२ गाउँ आंशिक रूपमा पुरिएको प्रान्तीय उद्धार प्रवक्ताले बताए । ‘भग्नावशेषमुनि फसेकाहरूको उद्धार कार्य जारी छ’, उद्धार एजेन्सीका प्रवक्ता बिलाल अहमद फैजीले भने । उनका अनुसार करिब २ हजार उद्धारकर्मी ९ जिल्लामा राहत   कार्यमा खटिएका छन् ।

खैबर पख्तुनख्वा प्रान्तको पहाडी जिल्ला बुनेरमा शुक्रबार आरी घोप्टे मनसुनी वर्षा भएपछि आकस्मिक बाढी र पहिरो आएको थियो । आपत्कालीन सेवाका प्रवक्ता मोहम्मद सोहेलका अनुसार क्षतिग्रस्त सडकमध्ये आधाभन्दा बढी खोलिएपछि दुर्गम गाउँसम्म सवारीसाधन र भारी मेसिनरी पुग्न थालेका छन् । प्रहरी र उद्धारकर्मी ढुङ्गा–माटो पन्छाउँदै ध्वस्त घरका भग्नावशेषमा बेपत्ता व्यक्तिको खोजी गरिरहेका छन् ।

सबैभन्दा ठूलो दुर्घटना कादर नगर गाउँमा भएको छ । त्यहाँ विवाहको पूर्वसन्ध्यामा बाढीको पानी घरमा पस्दा एउटै परिवारका २४ जनाको ज्यान गएको छ । परिवारका प्रमुख उमर खान भने घरबाहिर भएकाले बाँच्न सफल भए । उनका चार आफन्त अझै बेपत्ता छन् ।

प्रान्तीय मुख्यमन्त्री अली अमिन गन्धापुरले शनिबार बुनेर पुगेर मृतकका परिवारलाई २० लाख रुपैयाँ (करिब ७ हजार २ सय डलर) सहयोग दिने घोषणा गरे । उनले पाल, खाना र सफा पिउने पानीको व्यवस्था गरी पानीजन्य रोग फैलिन नदिन पहल भइरहेको पनि बताए ।

प्रधानमन्त्री शाहबाज सरिफले राहत कार्य प्रत्यक्ष निगरानी गरिरहेको र तत्काल सहायताको वितरण, फसेकाहरूको उद्धार तथा बेपत्ता व्यक्तिहरूको खोजीलाई तीव्र बनाउन निर्देशन दिएको सरकारी विज्ञप्तिमा उल्लेख छ ।

विपद् व्यवस्थापन प्राधिकरणले अगस्ट १७ देखि १९ सम्म थप बाढी र पहिरोको चेतावनी दिँदै स्थानीय प्रशासनलाई सतर्क रहन आग्रह गरेको छ । यस वर्ष जुन २६ देखि शुरु भएको मनसुनमा हालसम्म ६ सयभन्दा बढीको ज्यान गइसकेको छ ।

सन् २०२२ मा पाकिस्तानमा आएको कीर्तिमानी मनसुनी वर्षाले करिब १ हजार ७ सय जनाको ज्यान लिएको थियो र लाखौँ घर ध्वस्त पारेको थियो । हरेक वर्ष जुनदेखि सेप्टेम्बरसम्मको मनसुनमा विशेष गरी उत्तर पश्चिमी पहाडी क्षेत्रका गाउँ आकस्मिक बाढी र पहिरोको जोखिममा पर्छन् ।

गैरआवासीय नेपाली संघ विवाद – केन्द्रदेखि डेनमार्कसम्म

कृष्ण धानुक ।

गैरआवासीय नेपाली संघ  भित्रको नेतृत्व विवाद पछिल्ला वर्षहरूमा संस्थागत अस्थिरताको मुख्य कारण भएको छ। यो विवाद २०२३ को विश्व सम्मेलनबाट सुरु भई सर्वोच्च अदालत, कूटनीति र विभिन्न देशमा रहेका प्रवासी नेपाली समुदायहरूलाई भ्रमित बनाइरहेको छ। यो लेखमा विवादको मूल, कानुनी मोड, एकता सम्मेलन पछि बनेको व्यवस्थापन, र डेनमार्कमा परेको प्रभावलाई समेटिएको छ।

अक्टोबर २०२३ मा काठमाडौँमा सम्पन्न  को ११औँ विश्व सम्मेलनमा डा. बद्री केसी अध्यक्ष निर्वाचित भएका थिए। उनले १,३७८ मत पाएका थिए भने महेश श्रेष्ठले १,२२५ र आरके शर्माले १,२८१ मतसहित प्रतिस्पर्धामा थिए। तर महेश श्रेष्ठ र आर.के. शर्माले परिणाम अस्वीकार गर्दै चुनावमा धाँधली भएको आरोप लगाएका थिए।  त्यसयता गैरआवासीय नेपाली संघ  दुई समानान्तर कार्यसमितिमा विभाजित हुँदै आएको छ। डा. बद्री केसीलाइ नेकपा (एमाले) को समर्थन छ भने महेश श्रेष्ठलाई नेपाली कांग्रेसको र आर.के.शर्मालाई माओवादी केन्द्रको समर्थन रहेको छ।

विवाद चर्किएपछि सर्वोच्च अदालतले २०२४ मा शेष घले नेतृत्वको उच्च-स्तरीय समिति पुनर्स्थापित गर्दै “एकता सम्मेलन” गर्नुपर्ने परमआदेश दिएको थियो। त्यसपछि विदेश मन्त्रालयले महेश श्रेष्ठको नेतृत्वलाई आधिकारिक मान्यता दिएको थियो। र विश्वभर रहेका नेपाली दूतावासहरूलाई त्यसअनुसार समन्वय गर्न परिपत्र पठाएको थियो। त्यसपछि डा. बद्री केसी पक्षले पनि अदालतमा रिट दायर गरेको थियो। अदालतको फैसलाअनुसार, बद्री केसी नेतृत्वलाई पनि २०२५ अक्टोबरसम्म काम गर्ने आदेश जारी गरेको थियो।  बद्री केसी पक्षले भने आफ्नो म्याद अक्टोबर २०२५ सम्म रहने दाबी गर्दै एकता प्रक्रियाको वैधतामा प्रश्न उठाउँदै आइरहेको छ। राजनीतिक तहमा पनि फरक-फरक समर्थनले विवादलाई दीर्घकालिन रोगजस्तो बनाएको छ।

डेनमार्कमा शिक्षा क्षेत्रमा अवसर खोज्दै नेपाली विद्यार्थीहरूको आगमन २००६/०७ देखि शुरू भएको र बढेको तथ्य भेटिन्छ। डेनमार्कमा रहेका नेपाली प्रवासीहरूको कल्याण, सामाजिक सुरक्षा, र नेपालसँगको सम्बन्ध मजबुत गर्दै लैजाने उद्देश्यसहित २००९ मा सोम सापकोटाको नेतृत्वमा पहिलो गैरआवासीय नेपाली संघ डेनमार्क गठन भएको थियो। त्यसपछि मोहन मिश्रा, दीपक सापकोटा, दिपेन्द्र चुडाल हुँदै यमलाल सुवेदी, रबिन्द्र खड्का, शैलेन्द्र अधिकारी र हालको नेतृत्वकर्ता कमलराज शर्मा सम्म नेतृत्वक्रम अगाडि बढेको छ।

धेरै नेपालीहरूले २००९ देखि २०१६ सम्म ग्रीनकार्ड पाएर डेनमार्क आए का थिए। त्यसैगरी, पोर्चुगलमा  लामो बसाइपछि रातो पासपोर्ट प्राप्त गरी डेनमार्कमा स्थायी बसाइँका लागि आउनेहरूको संख्या पनि ठूलो छ र यो क्रम जारी छ। समयसँगै, गैरआवासीय नेपाली संघ डेनमार्कले प्रवासी नेपालीहरूको लगाव र संस्था सँगको सम्बन्ध थप मजबुत बनाउँदै आएको छ।  विशेषतः शिक्षा, सांस्कृतिक, र सामाजिक कार्यक्रमहरू मार्फत पुराना र नयाँ पुस्तालाई समुदायसँग जोड्ने काम निरन्तर गरीरहेको छ।

सामाजिक उत्तरदायित्वमा पनि संस्था सक्रिय छ। यदि कसैको मृत्यु भयो वा कुनै नेपाली गाह्रो अवस्थामा परेको छ भने गैरआवासीय नेपाली संघ डेनमार्कले सार्वजनिक आह्वान गरेर सहयोग जुटाउने  प्रयास गर्दै आएको छ। यसले समुदायभित्र आपसी सहयोग र एकताको भावना बलियो बनाएको पनि छ।

गैरआवासीय नेपाली संघ डेनमार्कले केवल सामाजिक एकता मात्र नभई, नेपाल देशको विकासमा योगदान पुर्‍याउने प्लेटफर्मको रूपमा पनि काम गरिरहेको छ। आर्थिक र विकासात्मक पहलहरूमा पनि संस्था सक्रिय छ। गैरआवासीय नेपाली संघ डेनमार्कसँगको समन्वयमा डेनमार्कमा रहेका धेरै नेपालीहरूले नेपालमा  हाइड्रोपावर परियोजना, लघुबित्त, र अन्य औद्योगिक क्षेत्रमा लगानी गरेका छन्। यसले प्रवासी नेपालीहरूको आर्थिक लगानी र नेपालको विकासमा योगदान थप सशक्त बनाएको छ।

डेनमार्कमा हाल अनुमानित ८–९ हजार प्रवासी नेपालीहरू बस्दै आएका छन्। यद्यपि, २०२३ मा मात्र करिब १,२०० जनाले मात्र गैरआवासीय नेपाली संघ डेनमार्कको सदस्यता लिएका थिए। यसले देखाउँछ कि समुदायको ठूलो हिस्सा अझै संस्थासँग पूर्ण रूपमा आबद्ध हुन बाँकी छ। नेपालको राजनीतिक अवस्था प्रति निराशा वा असन्तोष भएकोले धेरैले गतिविधिमा संलग्न हुन भन्दा बाहिर रहन चाहेका छन्।

अहिले केंद्रमा देखिएको विवाद डेनमार्कसम्म पनि फैलिएको छ। यस विवादको मुख्य कारण समयमै अधिवेशन र निर्वाचन गर्न नसक्नु रहेको बताइएको छ। यसले डेनमार्कमा रहेका प्रवासी नेपाली समुदायभित्र असमञ्जस्यता र भ्रम सिर्जना गरेको छ। यही कारण देखाएर, बद्री के.सी. समर्थित समूहले गोप्य रूपमा समिति गठन गरी आफूलाई आधिकारिक भनी प्रस्तुत गरीरहेका छन्। गैरआवासीय नेपाली संघ डेनमार्क कोपेनहेगन कम्यूनमा एक गैर-सरकारी संस्थाको रूपमा दर्ता भएको संस्था हो। यस संस्थाको आफ्नै व्यवसाय दर्ता नम्बर र बैंक खाता रहेको छ। जसले यसलाई आधिकारिक कानुनी अस्तित्व प्रदान गरेको छ। आफूलाई नव निर्वाचित र  आधिकारिक भनी प्रस्तुत गरीरहेका साथिहरूले आधिकारिक अधिकार पाउने अवस्था छैन। उनीहरूले आफ्नै व्यवसाय दर्ता नम्बर र बैंक खाता खोल्नु पर्ने हुन्छ। साथै, अर्को महत्वपूर्ण कुरा यो हो कि तपाईहरूलाई डेनमार्कमा रहेका नेपालीहरूको जनसमर्थन प्राप्त छ कि छैन भन्ने कुरा पनि विचार गर्नुपर्ने हुन्छ। एक्लै कति टाढा र कहिलेसम्म हिँड्ने?

अहिलेको अवस्थालाई राजा द्रव्य शाहले सबैभन्दा छिटो लिगलिगकोटको दौड जितेर गोर्खा राज्य प्राप्त गरे जस्तो बनाउनु भएन। लिगलिगकोटको दौड व्यक्तिगत साहस र शारीरिक क्षमताको आधारमा जितिएको थियो। तर आज गैरआवासीय नेपाली संघमा देखिएको समस्या संस्थागत नीतिगत त्रुटि र नेतृत्व व्यवस्थापनसँग सम्बन्धित छ। नीतिगत त्रुटि देखाएर समानान्तर गैरआवासीय नेपाली संघ गठन गर्ने कार्य न त व्यवहारिक हो न त दीगो समाधान। संस्था र समुदायलाई अझ टुक्र्याउने यस्तो अभ्यासले प्रवासी नेपालीहरूको एकता र संस्थागत विश्वसनीयतामा नकारात्मक असर मात्र पार्छ।

यस संस्थाप्रति डेनमार्कमा रहेका नेपालीहरू भावनात्मक रूपमा जोडिएका छन्। यदि केन्द्रलाई अभिभावकको रूपमा मान्ने हो र अभिभावकले गलत निर्णय र बाटो लिए भने पनि हामी डेनमार्कमा बस्ने सचेत नेपालीहरूलाई अनावश्यक रूपमा प्रभावित वा विभाजित हुनु आवश्यक छैन। अभिभावकबाट गल्ती भएमा सन्तानको कर्तव्य हुन्छ सत्य मार्गमा फर्काउने, किनभने सच्याउने प्रयास नै वास्तविक माया हो। जानिजानी गलत प्रवृत्तिलाई मलजल गर्नु भनेको न त अभिभावकप्रति सच्चा सम्मान र माया हो, न त समाजप्रति इमान।

गैर आवासीय नेपाली संघ, डेनमार्कले मिति २५.०५.२०२५ का दिन सम्पन्न विशेष साधारण सभा सम्पन्न गरेको थियो , जसले केन्द्रमा देखिएको विवाद अन्त्य नहुन्जेल वा सहज समय लाई मध्य नजर गरि ३ महिनाको समय सिमा निर्धारण गरि अधिवेशन सम्पन्न गर्ने निर्णय गर्दै तत्कालका लागि यहि कार्यसमितिले कार्य सम्पादन गर्ने गराउने निर्देशन दिएको थियो । जुन निर्णय गर्दा अहिले गुपचुप कोठा बाट अस्तित्वमा आएको दाबि गरिएको कमिटिका अधिकांस सदस्यले निर्णय लाइ सही ठहर्याउदै उपस्थिति सहि गर्नु भएको थियो । सोहि म्यान्डेट अनुरुप गैर आवासीय नेपाली संघ, डेनमार्कले कोपनहेगन कम्यूनमा दर्ता भएको एनआरएन डेनमार्क सामाजिक संस्था लाई नविकरण गर्दै आगमि कार्यकाल २०२५-२०२७ को अधिवेशन सम्पम्न गर्न तयारी गर्ने कदम चाली सेप्टेम्बेर २० मा चुनाबको घोसणा गरेको छ ।

बिशेस साधारण सभाको निर्देशन लाई आधार मान्दै गैर आवासीय नेपाली संघ, डेनमार्कले खोलेको आफ्नै सदस्यता पोर्टल लाई पुन प्रयोगमा ल्याउने निर्णय गर्दै कार्यकाल २०२५-२०२७ का लागि अधिवेशन प्रक्रिया सम्पन्न गर्न र चुनाब गर्न सबजनिक सुचना समेत निकालेको छ । यसरी आफैले विशेष साधारण सभामा गरेको हस्ताक्षर बिरुद्ध जान र नया कमिटि गठन गर्न साथीहरुलाई कुन नैतिकताले दियो ?

एनआरएनएको अहिलेको यो अवस्थाका लागि एनआरएन अगुवाहरु जिम्मेवार छन् । कि बिभाजित हुनुहुदैनथ्यो । कि अदालत जानु हुदैनथ्यो । अदालत गईसकेपछि कम्तिमा एनआरएनए अगुवाहरुले एनआरएनलाई एक ढिक्का बनाउन अदालतको फैसला कुर्ने धैर्यता राख्नुपथ्र्यो । निर्वाचनको हतारो गर्नुहुदैनथ्यो । अगुवाहरुले तटस्थता, धैर्यता र संयमता गुमाउनु दुर्भाग्य हो । अगुवाहरु नै बिभाजित भएपछि यस्तो हुने नै भयो ।

डेनमार्कमा रहेका नेपालीहरूले आन्तरिक रूपमा मजबूत र एकजुट रहेको सन्देश दिनु पर्ने समय हो अहिले। पछि गएर केन्द्रको विवाद मिल्यो भने राम्रो। नभए पनि हाम्रो उद्देश्य डेनमार्कमा रहेका नेपालीहरूको हकहित र सुख-दुःखमा सधैं साथ दिन स्थापना भएको संस्था हो भन्ने कुरा बिर्सनु भएन। डेनमार्क बाहिर भएका कोही व्यक्तिविशेष वा समूहले प्रमाणपत्र दिँदैमा कुनै अमुक समिति डेनमार्कमा आधिकारिक हुने भन्ने हुँदैन। यसले सामाजिक र सामूहिक अपनत्व पनि पाउँदैन। यदि कसैलाई आधिकारिक गैरआवासीय नेपाली संघ डेनमार्कको २०२५/२७ को नेतृत्व गर्न चाहना छ भने निर्वाचन प्रक्रियामा भाग लिएर आउने आधिकारिक र सर्वोत्तम उपाय हो।

 

हिमालय टिभीको युट्युब च्यानलबाट गायब शार्क ट्याङ्क नेपालका एपिसोड भारतीय च्यानलबाट सार्वजनिक

काठमाडौँ । शार्क ट्याङ्क नेपालका एपिसोडहरू ‘शार्क ट्याङ्क इन्डिया’को युट्युब च्यानलमा सार्वजनिक हुन थालेका छन् ।  शार्क ट्याङ्कका पछिल्ला दुई एपिसोड (१३ र १४) सोनी टेलिभिजनको युट्युब च्यानल ‘शार्क ट्याङ्क इन्डिया’ मा आइतबार अपलोड भएका हुन् ।

बुधबार रातिदेखि हिमालय टेलिभिजनले शार्क ट्याङ्क नेपालका पूराना सबै एपिसोड पनि प्राइभेट गरेको थियो । टेलिभिजनले भने प्राविधिक कारणले समस्या भएको भन्दै टिकटकमार्फत १३ औँ र १४ औँ एपिसोड लाइभ गरेको थियो ।

तर युट्युबमा भिडिओ राख्न समस्या हुँदा दर्शकहरूलाई असुविधा भएको भन्दै शार्क ट्याङ्क इन्डियामार्फत एपिसोडहरू दर्शक सामु ल्याइएको टेलिभिजनले जनाएको छ । अब उक्त युट्युब च्यालनमा हालसम्म प्रसारण भइसकेका र आगामी एपिसोड पनि अपलोड हुने बुझिएको छ ।

उक्त च्यानलमा नेपाली संस्करणको शार्क ट्याङ्कका एपिसोड राख्दा नेपाली व्यवसायलाई थप व्यक्तिसम्म चिनाउने र यसले लगानीदेखि समग्र व्यवसायमा समेत सकारात्मक प्रभाव पुर्‍याउने टेलिभिजनले जनाएको छ । यस्तै आगामी एपिसोडहरू भने टेलिभिजनका साथै हिमालय टेलिभिजनको युट्युब च्यानलमा पनि सार्वजनिक हुने बताइएको छ ।

सिंहदरबारमा परराष्ट्र मन्त्री राणा र भारतीय विदेश सचिव मिस्रीबीच भेटवार्ता

काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्री र परराष्ट्र मन्त्री आरजु राणा देउवाबीच भेटवार्ता भएको छ। सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा विदेश सचिव मिस्री र परराष्ट्र मन्त्री राणाबीच आइतबार अपराह्न भेटवार्ता भएको हो।

दुई दिने नेपाल भ्रमणका लागि विदेश सचिव मिस्री आइतबार बिहान काठमाडौं आएका थिए। परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रतामा विदेश सचिव मिस्री नेपाल भ्रमणमा आएका हुन्।

यसअघि विदेश सचिव मिस्रीले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेता नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग शिष्टाचार भेटवार्ता गरेका थिए।

‘भिजिट भिसा’मा विदेश जानेले नागरिक एपमा यात्राको पूर्वस्वःघोषणा गर्नुपर्ने

काठमाडौं । अध्यागमन विभागले पर्यटक भिसा (भिजिट भिसा)मा विदेश जानेको यात्रालाई सहज बनाउन ‘पूर्वस्वःघोषणा’ गर्नुपर्ने व्यवस्था लागु गर्न लागेको छ ।

गृह मन्त्रालयअन्तर्गतको विभागले आइबार एक सूचना जारी गर्दै ‘नागरिक एप’मार्फत गरिने यस्तो व्यवस्थाले अध्यागमन प्रक्रियालाई थप सहज बनाउने जनाएको छ ।

“विशेष गरी पर्यटक भिसामा विदेश जाने नेपाली नागरिकहरूको यात्रा सहजीकरण गर्ने प्रयोजनार्थ नागरिक एपमार्फत यात्रापूर्व नै स्वःघोषणा र अन्य कागजात समेत मोबाइलमार्फत नै अपलोड गर्ने व्यवस्थाको अन्तिम तयारी भइरहेको र यसले अध्यागमन प्रक्रिया थप सहज हुने विश्वास लिइएको छ,” विभागले सूचनामा भनेको छ ।

विभागले कुनै पनि उद्देश्यका लागि विदेश प्रस्थान अनुमति लिन आएका यात्रु नागरिकहरूको अध्यागमन प्रक्रियामा दलाल वा बिचौलियाको संलग्नता देखिएमा त्यस्ता व्यक्तिहरूमाथि प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी पनि दिएको छ ।

अनधिकृत व्यक्ति तथा संस्थाको प्रलोभनमा परी अवैधानिक तरिका र मार्गबाट विदेश नजान पनि विभागले अनुरोध गरेको छ ।

“यसरी यात्रा गर्दा यहाँको भ्रमण उद्देश्य, गन्तव्य मुलुक जस्ता विवरणहरू राज्यको अभिलेख सूचना प्रणालीभन्दा बाहिर रहने हुँदा भविष्यमा कुनै समस्या आइपरेमा वा उद्धार गर्नुपरेमा राज्यलाई असहज हुन सक्छ । त्यसैले आफ्नो यात्राको उद्देश्य र गन्तव्यबारे सही जानकारीसहित वैधानिक माध्यमबाट मात्र यात्रा गर्नुहुन सम्बन्धित सबै नागरिकहरूलाई अनुरोध गरिन्छ,” विभागले भनेको छ ।

इजरायलमा युद्धविराम र बन्धक मुक्तिको माग गर्दै हड्ताल

एजेन्सी- गाजामा हमास लडाकूहरूले बन्धक बनाएर राखेका व्यक्तिहरूको रिहाइको मागसहित इजरायलमा आइतबार प्रदर्शनकारीहरूले हड्ताल गरेका छन् । हड्तालका कारण यातायात अवरुद्ध भए भने र धेरै व्यवसाय तथा कार्यालयहरू पनि बन्द भए ।

यस हड्तालले केही हप्ताअघि लडाकूहरूले बन्धकहरूको भिडियो सार्वजनिक गरेको र इजरायलले नयाँ आक्रमणको सङ्केत दिएको परिस्थितिलाई झन् तताएको छ ।

प्रदर्शनकारीहरूले गाजामा रहेका ५० जना बन्धक थप युद्धका कारण जोखिममा पर्नसक्ने बताएका छन् । अनुमानअनुसार तिनीहरूमध्ये करिब २० जना मात्र जीवित छन् ।

‘हामी बन्धकहरूको शवमाथि युद्ध जित्न सक्दैनौँ,’ भन्ने नारा लगाउँदै उनीहरूले सम्झौताको माग गरेका छन् । बन्धक तथा बेपत्ता परिवार फोरमद्वारा आयोजित कार्यक्रममा सहभागी आमा अनात एङ्ग्रेस्टले भने, ‘आज हामी सबै कुरा रोक्छौँ—दायाँ, बायाँ वा केन्द्र जहाँसुकै भए पनि—जीवनको मूल्य सम्झन र बन्धकहरूलाई फर्काउन ।’

हालैको कदमले सरकारलाई दबाबमा पारे पनि प्रधानमन्त्री बेन्जामिन नेतान्याहु अति–दक्षिणपन्थी सहकर्मीहरूको विरोधसँगै संवेदनशील सन्तुलनमा छन् । उनका कट्टर सहयोगीहरूले हमासलाई सत्तामा रहन दिने कुनै पनि सम्झौताको समर्थन नगर्ने चेतावनी दिएका छन् ।

यसबीच, अर्थमन्त्री बेजलेल स्मोट्रिचले हड्ताललाई ‘हानिकारक अभियान’ भन्दै आलोचना गरेका छन् । उनका अनुसार, यसले हमासलाई फाइदा पुर्याउनेछ र इजरायललाई आफ्ना शत्रुहरूसमक्ष कमजोर बनाउनेछ ।

कैलाली कारागारका जेलर फेरिए

धनगढी । कैलाली कारागारका जेलर फेरिएका छन्। कारागारको जेलरका रूपमा प्रकाश ढुंगानालाई पठाइएको छ। कारागार व्यवस्था विभागले नेपालगन्जका जेलर रहेका ढुंगानालाई कैलाली कारागार पठाएको हो।

गत शुक्रबार राति कारागारमा कैदीबन्दीबीच भएको हिंसात्मक घटनापछि काजमा पठाइएका जालन्धर भुसालको हप्ता दिनको काज सकिएर उनी विदा भएपछि ढुंगानालाई पठाइएको हो।

कैलाली कारागारका नायब सुब्बा ज्ञानेन्द्र ओझाले ढुंगाना शनिबार यहाँ आइपुगेको बताए। ब्लक ए’मा रहेका कैदीबन्दीले भित्ता फुटाएर गत शुक्रबार मध्यरातमा ब्लक बी का कैदीबन्दीमाथि अन्धाधुन्ध आक्रमण गरेका थिए।

सो क्रममा लागुऔषध मुद्दामा कैद सजाय बिताइरहेका धनगढी उपमहानगरपालिका(४ का भरत चौधरीको मृत्यु भएको थियो। भने अन्य ४८ जना घाइते भए।घाइतेमध्ये गम्भीर अवस्थाका तीन जनाको काठमाडौंमा उपचार भइरहेको छ।

सेती प्रादेशिक अस्पताल मातहतको कोरोना अस्पतालमा उपचाररत ४५ मध्ये ३४ जना डिस्चार्ज भएको कारागारका नायब सुब्बा ओझाले बताए।उनीहरू डिस्चार्ज भएपनि तत्काल कारागार फर्काउदा घटना दोहोरिनसक्ने भन्दै अस्पतालमै राखिएको छ।डिस्चार्ज भएका मध्ये चार जना कञ्चनपुर र एक जनाको नवलपरासी कारागारमा स्थानान्तरण गरिएको छ ।

कैलाली कारागारमा हिंसात्मक घटना हुनुका पछाडि जिल्लास्थित सुरक्षा निकायको नेतृत्व गर्ने प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले गम्भीर लापरवाही रहेको भन्दै गृह प्रशासनले मन्त्रालय तानेको छ।उनको ठाउँमा दाङका प्रमुख जिल्ला अधिकार कृष्णप्रसाद लम्साल कैलाली आएका छन् ।

भिजिट भिषामा जानेलाई अब नरोकिने, एक घण्टा अगाडि अध्यागमन पुग्नु पर्ने

काठमाडौं । अध्यागमन विभागले सुरक्षित, मर्यादित र व्यवस्थित वैदेशिक यात्राका लागि विभिन्न सात पक्षलाई अनुरोध गरेको छ।

विभागले आइतवार पत्रकार सम्मेलनको आयोजना गर्दै अध्यागमन प्रक्रियामा अनियमितता तथा भ्रष्टाचारप्रति शून्य सहनशीलता नीति रहेको भन्दै अध्यागमन प्रणालीलाई व्यवस्थित गर्न सात पक्षलाई आग्रह गरेको हो ।

पत्रकार सम्मेलनमा बोल्दै विभागका महानिर्देशक रामचन्द्र तिवारीले अध्यागमन प्रक्रियाको सुधारका लागि यात्रु, वायुसेवा कम्पनी, स्थानीय तह र सञ्चार माध्यम, विदेशस्थित कुटनैतिक नियोग, ट्राभल्स तथा मुद्रा सटही कारोबार गर्ने संस्थाहरुलाई आ–आफ्नो जिम्मेवारी निर्वाह गर्न आग्रह गरे ।

अबदेखि कुनै पनि नेपाली नागरिकलाई केवल अनुमान, शंका वा हैसियतको आधारमा विदेश जान रोकिने नरोकिने प्रतिवद्धता समेत उनले व्यक्त गरे । यद्यपि, फर्जी वा नक्कली कागजात प्रयोग गरी प्रस्थान गर्न खोज्ने यात्रुलाई प्रस्थान अनुमति नदिइने मात्र नभई नेपाल प्रहरीमार्फत कानूनी कारबाही गरिने चेतावनी समेत दिए ।

उनले यात्रामा जानुअघि वैध राहदानी, भिसा, दुईतर्फी हवाई टिकट, होटल बुकिङ वा आफन्तसँग बस्ने प्रमाण, डलर सटही र आवश्यक कागजात अनिवार्य रुपमा लिन यात्रुहरुलाई अनुरोध समेत गरे । उनले दलाल वा विचौलियाको प्रलोभनमा परी अवैधानिक बाटोबाट विदेश नजान र अध्यागमन प्रक्रियामा रकम मागिएमा तुरुन्तै विभाग, प्रहरी वा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई जानकारी दिन समेत आग्रह गरे ।

उनले वायुसेवा कम्पनीलाई समेत यात्रुहरुलाई प्रस्थान समयभन्दा कम्तिमा एक घण्टा अगाडि अध्यागमनको ‘स्टेरेलाइज्ड एरियामा पठाउन, अत्यधिक ओभरबुकिङ नगर्न र बोर्डिङ पास दिन नसक्ने अवस्थामा यात्रुलाई लिखित जवाफ दिन अनुरोध गरे । उनले स्थानीय तह र जिल्ला प्रशासन कार्यालयलाई दलाल–बिचौलियाबाट नागरिकलाई सचेत गराउन र ठगी गर्ने समूहविरुद्ध निगरानी तथा कारबाही अभियान सञ्चालन गर्न आग्रह गरे । उनले सञ्चार माध्यमलाई वैदेशिक यात्रा सम्बन्धी झुट्टा विवरण, फर्जी कागजात र दलालका गतिविधिबारे जिम्मेवारपूर्वक जानकारी प्रसार गरी जनतालाई सचेत बनाउन विभागले अपील अपिल गरे ।

 

खोज्नुहोस