राष्ट्रिय सभामा नागरिकता र राष्ट्रिय निकुञ्जसम्बन्धी दुई प्रतिवेदन पेश

काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकमा दुईवटा संसदीय समितिका प्रतिवेदन पेस गरिएको छ। बैठकमा ‘नेपाल नागरिकता दोस्रो संशोधन विधेयक, २०८१ सम्बन्धी विधायन व्यवस्थाको प्रतिवेदन’ र ‘राष्ट्रिय निकुञ्जहरुसँग सम्बन्धित नीतिगत समस्यासम्बन्धी अध्ययन प्रतिवेदन, २०८२’ पेस गरिएको हो।

विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले ‘नेपाल नागरिकता दोस्रो संशोधन विधेयक, २०८१’ सम्बन्धी प्रतिवेदन सभासमक्ष पेस गर्दै विधेयकका कुल आठ दफामध्ये छ दफामा संशोधन गरिएको जानकारी दिइन्। यस विधेयकमा ३६ सांसदले ३५ वटा संशोधन प्रस्ताव दर्ता गराएका थिए। विधेयकको मुख्य उद्देश्य संविधानअनुसार बाबुको पहिचान नभएका व्यक्तिलाई आमाको नामबाट नागरिकता प्रदान गर्नु रहेको दाहालले बताए। साथै, यसमा आमा र बाबुमध्ये कुनै एकको विवरण उल्लेख गर्न नचाहने व्यक्तिलाई सो विवरण नराखी नागरिकता प्रदान गर्ने प्रावधान पनि छ।

यसैगरी, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले ‘राष्ट्रिय निकुञ्जहरुसँग सम्बन्धित नीतिगत समस्यासम्बन्धी अध्ययन प्रतिवेदन, २०८२’ पेस गरे। उनले यो प्रतिवेदनले विकास र संरक्षणबीचको फरक धारणालाई कम गरी संरक्षणसहितको विकास अघि बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।

विद्यालय तहको स्वास्थ्य विषयको पाठ्यक्रम परिमार्जनका लागि मन्त्रालयद्वारा प्रतिवेदन हस्तान्तरण

काठमाडौं-  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालय तहको स्वास्थ्य शिक्षालाई समयानुकूल, वैज्ञानिक र प्रभावकारी बनाउन पाठ्यक्रम परिमार्जनका लागि तयार पारेको समीक्षा प्रतिवेदन पाठ्यक्रम विकास केन्द्रलाई हस्तान्तरण गरेको छ। आज स्वास्थ्य मन्त्रालयमा आयोजित एक कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको उपस्थितिमा उक्त प्रतिवेदन पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक युवराज पौडेललाई हस्तान्तरण गरिएको हो।

स्वास्थ्य मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले उक्त प्रतिवेदन तयार पारेको थियो। प्रतिवेदनले कक्षा १ देखि १२ सम्मको वर्तमान स्वास्थ्य पाठ्यक्रमको विस्तृत समीक्षा गर्दै बदलिँदो जीवनशैली, स्वास्थ्य चुनौती र राष्ट्रिय स्वास्थ्य नीतिहरूलाई समेट्ने गरी पाठ्यक्रममा सुधारका लागि सुझावहरू सिफारिस गरेको छ।

कार्यक्रममा बोल्दै मन्त्री पौडेलले नागरिकलाई स्वस्थ जीवनशैलीको बानी विकास गर्ने पहिलो आधार र जग विद्यालय शिक्षा भएको बताउँदै स्वास्थ्य र शिक्षा मन्त्रालयबीचको समन्वयले दीर्घकालीन रुपमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे। “स्वास्थ्य केवल अस्पतालमा उपचार गर्ने विषय मात्र होइन, यो हरेक घर र विद्यालयबाट सुरु हुने चेतना हो। हाम्रा बालबालिकालाई सानै उमेरदेखि सही स्वास्थ्य जानकारी दियौं भने उनीहरू आफ्नो र आफ्नो परिवारको मात्र होइन, सिंगो समाजकै स्वास्थ्यका लागि ‘चेन्ज एजेन्ट’ बन्न सक्छन्,” मन्त्री पौडेलले भने, “शिक्षा मन्त्रालयसँगको यो समन्वयले स्वस्थ र जिम्मेवार नागरिक बनाउने हाम्रो राष्ट्रिय लक्ष्यमा महत्वपूर्ण योगदान पुऱ्याउनेछ।”

प्रतिवेदन ग्रहण गर्दै पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक युवराज पौडेलले स्वास्थ्य मन्त्रालयको अग्रसरताको प्रशंसा गरे। “स्वास्थ्य जस्तो प्राविधिक र संवेदनशील विषयमा सम्बन्धित मन्त्रालयबाटै प्राप्त भएका सुझावहरू हाम्रा लागि अत्यन्त मूल्यवान छन्,” उनले भने।

प्रतिवेदन तयारीका क्रममा स्वास्थ्य तथा शिक्षा मन्त्रालयका विभिन्न निकाय, विश्वविद्यालय, अभिभावक महासंघ, युनिसेफ लगायतका संयुक्त राष्ट्रसंघीय एजेन्सीहरू र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूसँग समेत राय-सुझाव संकलन गरिएको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका निर्देशक केशव राज पण्डितले  जानकारी दिए। कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव, शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक र युनिसेफका प्रतिनिधिको समेत उपस्थिति थियो।

उपसभामुखलाई पदबाट हटाउने प्रयास भए विरोधमा उत्रिने माओवादीको निष्कर्ष

त्यस्तै उनले उपसभामुख  रानाले नराम्रो काम गरेको भन्ने केही पनि प्रमाण नभएको भन्दै त्यो कपोलकल्पित मात्र भएको बताए।

त्यस्तै प्रवक्ता अग्नि सापकोटाले बैठकले सरकार अधिनायकवाद बन्दै गइरहेको र उपसभामुखलाई हटाउने प्रयास बदनियत भएको निष्कर्ष निकालेको जानकारी दिए।

सरकार अधिनायकवाद र तानाशाहीवादतिर जाँदै छ। उपसभामुखलाई हटाउने जमर्को भइरहेको पनि सुन्नमा आएको छ। यो बेठीक हुन्छ। सरकारको यो कदममा बदनियत देखिन्छ। त्यसैले अब अध्यक्षले सत्तारुढ र विपक्षी दलसँग पनि कुराकानी गर्नुहुन्छ।’त्यस्तै उनले भोलि बस्ने गरी बैठक स्थगित गरिएको बताए।

एसिया कपका लागि भारतीय टी २० टीमको उपकप्तान बने शुवमन गिल

काठ्माण्डौँ । भारतीय क्रिकेट बोर्डले एसिया कपमा सहभागिता जनाउने टीमको घोषणा गरेको छ । सूर्यकुमार यादवको कप्तानीमा रहने टीममा टेस्ट टीमका कप्तान शुभमन गिल उपकप्तान बनाइएका छन् ।

१५ सदस्यीय भारतीय टीममा फास्ट बलर जसप्रित बुमराहलाई पनि समावेश गरिएको छ । टीमभित्र पावरहिटरहरुको कुनै कमि छैन । सूर्यकुमार आफैंमा विष्फोटक ब्याटर हुन् । यस्तै, अभिषेक शर्मा, हार्दिक पाण्ड्या, रिन्कु सिंह लगायत हिटरहरुको उपस्थितिले भारतीय टिमलाई खतरनाक बनाएको छ । भारतीय टीममा श्रेयस ऐयर र यशस्वी जैसवालले भने स्थान बनाउन सकेनन् ।

आगामी सेप्टेम्बर ९ देखि एसिया कप यूएईमा सुरु हुँदैछ ।

भारतीय टीम यस्तो छः

सुर्यकुमार यादव (कप्तान), शुवमन गिल (उपकप्तान), अभिषेक शर्मा, तिलक बर्मा, हार्दिक पाण्ड्या, शिभम् दुवे, अक्षर पटेल, जितेश शर्मा, जसप्रित बुमराह, वरुन चक्रवर्ति, अर्सदिप सिंह, कुलदीप यादव, सन्जु सामसोन, हर्षित राना र रिंकु सिंह ।

गृह मन्त्रालयद्वारा हालसम्मकै उच्च बेरुजु फर्छ्योट

काठ्माण्डौँ । बेरुजु फर्छ्योट गरी वित्तीय सुशासन कायम गर्न गृह मन्त्रालयको क्रियाशीलता बढेको छ ।

 

गृहमन्त्री रमेश लेखकको नेतृत्वको पहिलो वर्षमा आर्थिक वर्ष २०८१/०८२ मा हालसम्मकै उच्च २ अर्ब ३६ करोड १२ लाख ६३ हजार बेरुजु रकम गृह मन्त्रालयले फर्छ्योट गरेको छ ।

 

अघिल्लो आर्थिक वर्षसम्म गृह मन्त्रालय अन्तर्गत कूल बेरुजु ३ अर्ब ७२ करोड ४५ लाख ८७ हजार फर्छ्योट बाँकी रहेको थियो । गृह मन्त्रालय आर्थिक प्रशासन शाखाका प्रमुख उपसचिव खडानन्द अधिकारीले गृहमन्त्री लेखकको निर्देशन, गृहसचिवको समन्वय तथा निर्देशन र मातहतका निकायको सहयोग र आर्थिक प्रशासनको सक्रियताले सम्परीक्षण र वित्तीय सुशासन कायम गर्न मन्त्रालय अग्रस्थानमा रहेको बताए ।

मन्त्रालयका अनुसार गत आर्थिक वर्षमा सम्परीक्षण तथा फर्छ्योट प्रगति ६३.१७ प्रतिशत रहेको छ । ‘चालु आर्थिक वर्षमा अब १ अर्ब ४७ करोड ४५ लाख मात्रै कूल बेरुजु बाँकी छ’, आर्थिक प्रशासन शाखाका प्रमुख अधिकारीले भने, ‘कार्ययोजना बनाएरै मन्त्रालय बेरुजु फर्छ्योटमा लागेको छ ।’

उनले तीन वर्ष यताको बेरुजुको अवस्था हेर्दा आर्थिक वर्ष २०८१/०८२ मा लेखापरीक्षण अंकको आधारमा बेरुजु ०.०९ प्रतिशतमा झरेको बताए ।

‘आर्थिक वर्ष २०७८/०७९ मा १.४१ प्रतिशत लेखापरीक्षण अंकको आधारमा बेरुजु थियो’, अधिकारीले भने, ‘अहिले शून्य प्रतिशतमा झरेको छ ।’

मन्त्रालयले बेरुजु फर्छ्योट समन्वयका लागि आन्तरिक व्यवस्थापन महाशाखाका प्रमुखको संयोजकत्वमा समिति समेत गठन गरेको छ । समितिले विगत वर्षको बेरुजु लागतलाई अभिलेखीकरण गर्ने, नियमित कार्ययोजना बमोजिम समितिको बैठक बसेर प्रगति समीक्षा गर्ने लगायतका काम निरन्तर गर्दै आएको छ ।

त्यसका साथै मन्त्रालयले असुलउपर र पेस्की बेरुजुका सम्बन्धमा सम्बन्धित निकायका र व्यक्तिलाई ताकेता गर्ने बेरुजु फर्छ्योट, सम्परीक्षण र वित्तीय सुशासन सम्बन्धी काम गर्दै आएको छ ।

जनमत र नाउपाप्रति रास्वपाको कटाक्ष : विद्रोह शक्तिको गर्छ, पूजा सत्ताको गर्छ

उपसभामुख इन्दिरा रानालाई हटाउने कुरामा जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी(नाउपा)ले पनि सत्ता पक्षलाई साथ दिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले कटाक्ष गरेको छ।

प्रवक्ता मनिष झाले यी दुई पार्टीले परिवर्तनको कुरा गरे पनि पदको लालच राख्ने गरेको आरोप लगाएका हुन्।

उनले लेखे, ‘मुद्दा परिवर्तनको बोक्छ, लालसा पदको राख्छ। विद्रोह शक्तिको गर्छ, पूजा सत्ताको गर्छ।

शिक्षा विधेयकमा राहतलगायत शिक्षकका लागि विशेष व्यवस्था

काठमाडौँ- विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धी प्रतिवेदनले राहत शिक्षक कोटा, विशेष शिक्षा तथा प्राविधिक धारका शिक्षक, प्रशिक्षक अनुदान कोटा र शिक्षण सिकाइ अनुदानमा कार्यरत शिक्षकलाई लक्षित गर्दै विशेष व्यवस्था प्रस्ताव गरेको छ।

प्रतिवेदनअनुसार यो ऐन प्रारम्भ भएपछि शिक्षक सेवाबाट पहिलो पटक सञ्चालन हुने परीक्षामा सहभागी हुँदा उनीहरूलाई उमेरको हद लागू हुने छैन।

कक्षा ११ र १२ को स्वीकृत दरबन्दीसहित कुल दरबन्दीको ६० प्रतिशत सिटमा राहत, विशेष शिक्षा, प्राविधिक धारका शिक्षक तथा प्रशिक्षक अनुदान कोटा, शिक्षण सिकाइ अनुदान कोटामा कार्यरत शिक्षक र अस्थायी शिक्षकलाई सीमित प्रतिस्पर्धामार्फत पदपूर्ति गरिने व्यवस्था छ। बाँकी ४० प्रतिशत सिट भने खुला प्रतियोगितामार्फत भर्ने प्रावधान राखिएको छ।

प्राथमिक तहमा खुला तथा सीमित प्रतिस्पर्धाबाट पदपूर्ति हुन नसकेका पदलाई लागत नबढाई दरबन्दी कायम गरी आधारभूत तह विषयगत वा माध्यमिक तहमा रूपान्तरण गरी पदपूर्ति गर्ने व्यवस्था गरिएको छ।

त्यस्तै, राहत तथा विशेष शिक्षा प्राविधिक धारका शिक्षक र प्रशिक्षक अनुदान कोटाका लागि छुट्याइएको ६० प्रतिशत सिटमा सो वर्षकै विज्ञापनबाट सीमित प्रतिस्पर्धामा पदपूर्ति हुन नसकेमा, बाँकी पद खुला विज्ञापनमार्फत पूर्ति गरिने प्रावधान प्रतिवेदनमा समावेश गरिएको छ।

यसबाहेक, सीमित प्रतिस्पर्धामा अनुत्तीर्ण हुने शिक्षकले आफूले गरेको सेवा अवधिको आधारमा नेपाल सरकारले तोकेअनुसारको आर्थिक सुविधा प्राप्त गर्ने व्यवस्था पनि प्रतिवेदनमा उल्लेख गरिएको छ।

उक्त प्रतिवेदन सोमबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा समिति सचिव दशरथ धमलाले समितिका सभापति अम्मरबहादुर थापालाई हस्तान्तरण गरेका थिए।

प्रतिवेदनमा उल्लेख भएका व्यवस्था

राहत शिक्षक कोटा, विशेष शिक्षा तथा प्राविधिक धारका शिक्षक तथा प्रशिक्षक अनुदान कोटा र शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकलाई यो ऐन प्रारम्भ भएपछि शिक्षक सेवाबाट पहिलो पटक सञ्चालन हुने परीक्षामा भाग लिन उमेरको हद लाग्ने छैन । कक्षा एघार र बाह्रको स्वीकृत दरबन्दी सहित कुल दरबन्दीको साठी प्रतिशत सिटमा यो ऐन प्रारम्भ हुँदाका बखत राहत शिक्षक अनुदान कोटा, विशेष शिक्षा तथा प्राविधिक धारका शिक्षक तथा प्रशिक्षक अनुदान कोटा, शिक्षण सिकाई अनुदान कोटामा कार्यरत शिक्षक र कक्षा एघार र कक्षा बाहको स्वीकृत दरबन्दीमा कार्यरत अस्थायी शिक्षकहरु मध्येबाट सीमित प्रतिस्पर्धाको आधारमा र बाँकी चालिस प्रतिशत सिटमा खुला प्रतियोगिताको आधारमा परीक्षा लिई आयोगको सिफारिसमा पदपूर्ति गरिनेछ ।

तर यसरी कायम हुने प्राथमिक तहको खुल्लातर्फको चालिस प्रतिशत पद र सिमित प्रतिस्पर्धाका आधारमा पदपूर्ति हुने साठी प्रतिशत पदबाट पदपूर्ति हुन नसकेको त्यस्तो पदलाई लागत नबढ्ने गरी दरबन्दी कायम गरी आधारभूत तह विषयगत र माध्यमिक तहमा रुपान्तरण गरी पदपूर्ति गरिनेछ ।

राहत शिक्षक अनुदान कोटा र विशेष शिक्षा तथा प्राविधिक धारका शिक्षक तथा प्रशिक्षक अनुदान कोटाका लागि छुट्याइएको साठी प्रतिशत सिटमा सो वर्षको विज्ञापनमा सीमित प्रतिस्पर्धाको आधारमा पदपूर्ति हुन नसकेमा सोही वर्षको खुलातर्फको विज्ञापनबाट पूर्ति गरिनेछ ।

सीमित प्रतिस्पर्धामा अनुत्तीर्ण हुने राहत शिक्षक अनुदान कोटा, विशेष शिक्षा तथा प्राविधिक धारका शिक्षक तथा प्रशिक्षक अनुदान कोटामा कार्यरत शिक्षकले निजले गरेको सेवा अवधिको आधारमा नेपाल सरकारले निर्धारण गरे बमोजिमको आर्थिक सुविधा प्राप्त गर्न सक्नेछ ।

नाडा अटो शो : नेपालमा पहिलोपटक फ्लाइङ ट्याक्सीको अनावरण

काठ्माण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले १७औँ नाडा अटो शोको आज उद्घाटन गरेका छन्  ।

मंगलबार काठ्माण्डौँमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले वैज्ञानिक खोज, अध्ययनसँगै नयाँ–नयाँ विकास, आविष्कार र प्रगति भएको बताउँदै नेपालले पनि त्यस प्रकारको विकासको सहज उपभोग गर्ने स्थिति बनाउनुपर्नेमा जोड दिए  ।

उनले नयाँ ढंगले काम गर्ने युवालाई सरकारले सबै खालको साथ दिने विश्वास दिलाए  ।

‘हामीले अग्रगमन र आधुनिकीकरणका लागि नीतिगत व्यवस्थाहरू र पूर्वाधार विकास गरेका छौँ । लगानी र काम गर्न कुनै बाधा छैन । अहिले असन्तुष्ट हुनुपर्ने कुनै कारण छैन । कोही असन्तुष्ट नै हुन्छु भनेर कसम खाएको छ भने त केही लाग्दैन,’ उनले भने ‘उत्तर र दक्षिणतिर नयाँ र पक्की मार्गहरू बन्दैछन्, अन्तर्राष्ट्रिय विमानस्थल थपेका छौँ । हरित ऊर्जा, मिथेन ग्यास, धौवादी फलामको उत्पादन गरेर प्रयोग गर्दैछौं । प्रविधिको रुपान्तरण भइसकेको छ । यी सबैको ध्येय विकास र समृद्धि हो । यसमा तपाईंहरू ढुक्कले अगाडि बढ्नुस् । देशका लागि  योगदान दिनुहोस् ।’

यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले फ्लाइङ ट्याक्सीको अनावरणसमेत गरे । शोको मुख्य आकर्षणको रूपमा रहेको फ्लाइङ ट्याक्सी अनावरणमा अवालोकनकर्ताको ठूलो भिड लागेको थियो । नेपालमा पहिलोपटक भविष्यको प्रविधि मानिएको डिपल फ्लाइङ ट्याक्सी र अत्याधुनिक युनिट्री रोबर्ट्स भित्रिएको हो ।

नेपालमा फ्लाइङ ट्याक्सी सञ्चालनका लागि आवश्यक मापदण्ड नबनेकाले नाडाले अहिले यसलाई प्रदर्शनीका लागि मात्रै अटो शोमा राखेको जनाएको छ । नाडाका अनुसार भविष्यमा यससम्बन्धी मापदण्ड बनेमा मात्रै नेपालमा यो फ्लाइङ ट्याक्सी आधिकारिक रूपमा सञ्चालन गर्न सकिने बताइएको छ ।

चीनको अग्रणी प्रविधि कम्पनी एक्सपेइएनजी एईरओएचटीले विकास गरेको ‘इभीटोल फ्लाइङ कार’ को अन्तर्राष्ट्रिय बजार मूल्य करिब १० लाख चिनियाँ युआन (करिब १ लाख ३७ हजार अमेरिकी डलर) अर्थात् नेपाली करिब १ करोड ८० लाख नेपाली रुपैयाँ पर्ने बताइएको छ ।

एनएमबि बैंकको नयाँ अटो लोन योजना : ७.१३ प्रतिशत ब्याजदरमा व्यक्तिगत सवारी किन्न सकिने​

एनएमबि बैंकले नाडा अटो शोमा सहभागिता जनाउँदै र आउने चाडपर्वलाई लक्षित गर्दै विशेष अटो लोन योजना सार्वजनिक गरेको छ।

यो योजना अन्तर्गत ग्राहकहरूले केवल ७.१३ प्रतिशतको आकर्षक ब्याजदरमा सवारी साधन कर्जा उपभोग गरी व्यक्तिगत सवारी साधन किन्न सक्नेछन् ।

यो योजना सीमित अवधिका लागि मात्र रहेको र आवेदन प्रक्रिया सहज तथा लचिलो बनाइएको बैंकले जनाएको छ ।

इलेक्ट्रिक सवारी साधन किन्न चाहने ग्राहकहरूका लागि एनएमबि बैंकको यो अफर एक राम्रो अवसर हुनेछ ।

एनएमबि बैंकले यस अफरमार्फत वातावरण मैत्री सवारी साधनको प्रयोगलाई प्रोत्साहन गर्दै नेपालको दिगो तथा हरित भविष्य निर्माणतर्फ सहयोग गर्ने लक्ष्य लिएको छ।

बैंकको यो प्रयास दिगो विकासमा टेवा पुऱ्याउने र ग्राहकलाई केन्द्रमा राखेर सेवाहरू उपलब्ध गराउने प्रतिबद्धताको एउटा उदाहरण हो ।

यस अफरबारे थप जानकारी एनएमबी बैंकको नजिकको शाखा वा नाडा अटो शोमा रहेको एनएमबी बैंकको स्टल नम्बर ई-२४ मार्फत लिन सकिनेछ ।​​

एनएमबि बैंकले हाल देशभरि २०२ शाखा, १८७ एटीएम र ९ एक्स्टेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

नन्दनको उत्कृष्ट बलिङमा होबार्टमाथि नेपालको जित

काठ्माण्डौँ । अस्ट्रेलियाको नर्दन टेरेटोरीमा जारी टप एन्ड टी-२० सिरिजमा नेपालले पहिलो जित निकालेको छ।

यसअघिका तीन खेलमा लगातार पराजय भोगेको नेपालले मंगलबार होबार्ट हरिकेन्स एकेडेमीलाई ६६ रनले पराजित गर्‍यो।

नेपालले दिएको १८१ रनको लक्ष्य पछ्याएको होबार्ट १६.१ ओभरमा ११४ रनमै अलआउट भयो।

होबार्टलाई सस्तैमा अलआउट गर्ने क्रममा नेपालका नन्दन यादवले ५ विकेट लिए। उनले ३ ओभरमा १७ रन दिए। कप्तान रोहित पौडेल, रिजन ढकाल, सन्दीप लामिछाने र कुशल भुर्तेलले १-१ विकेट लिए।

होबार्टका लागि बाड्ली होपले ३१ रन र चार्ली वाकिमले २८ रन जोड्नुबाहेक अरु ब्याटरले उल्लेख्य रन बनाउन सकेनन्।

त्यसअघि डार्बिनमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ७ विकेटको क्षतिमा १८० रन जोड्यो।

नेपालका लागि ओपनरद्वय कुशल भुर्तेलले २७ रन र आसिफ शेखले २९ रन बनाए। पावरप्लेको अन्तिम ‌ओभरमा क्याच हुनुअघि भुर्तेलले २० बलमा ४ चौका प्रहार गरे। आसिफ २८ बल खेलेर २ चौका प्रहार गर्न सके।

भीम सार्कीले १८ रन जोड्दा कप्तान रोहितकुमार पौडेलले ९ रन मात्र बटुल्न सके। कुशल मल्लले ८ बल खेल्दा ६ रन मात्र बनाए।

नेपालका लागि सर्वाधिक रन बनाएका आरिफ शेखले २६ बलमा ३ चौकाको मद्दतमा ३३ रन जोडे। करण केसी १ रनमा आउट हुँदा लोकेश बमले १० बलमा ३ चौका र १ छक्काको मद्दतमा नटआउट २५ रन बनाए।

बलिङमा होबार्टका निभेथन राधाकृष्णनन र राफ म्याकमिलनले २-२ विकेट लिए।

सिरिजमा नेपालले यसअघिका तीनै खेलमा पराजय भोगेको थियो। नेपाल घरेलु टोली नर्दन टेरेटोरी, बंगलादेश ए र मेलवर्न स्टार्स एकेडेमीसँग पराजित भएको थियो।

सिरिजमा अस्ट्रेलियाको बिग ब्यास टोलीका एकेडेमी टोलीसहित पाकिस्तान र बंगलादेशको ए टोलीसँग सहभागी छन्।

अब नेपालले बुधबार मेलवर्न रेनेगेड्स एकेडेमी र शुक्रबार पाकिस्तान शाहिन्सासँग खेल्नेछ।

यही वर्षको अक्टोबरमा ओमानमा हुने आइसिसी पुरूष टी-२० विश्वकपको एसिया तथा पूर्वी एसिया-प्रशान्त क्षेत्रको संयुक्त छनोट प्रतियोगिताको तयारीका लागि नेपाल अस्ट्रेलियामा गएको हो।

यो सिरिजपछि नेपालले एक साता अस्ट्रेलियामा थप अभ्यास गर्नेछ।

नेपालले क्रिकेट एसिटीसँग २६ अगस्टमा दुई वटा र साउथ अस्ट्रेलियासँग २८ अगस्टमा दुई वटा गरी कुल चार वटा टी-२० खेल खेल्नेछ। यस्तै ३० अगस्टमा साउथ अस्ट्रेलियासँग नै एकदिवसीय खेल खेल्नेछ।

नेपालले अस्ट्रेलियामा सिरिज खेलेपछि सेप्टेम्बरमा युएईमा वेस्ट इन्डिजसँग तीन खेलको टी-२० सिरिज खेल्दैछ।

एसिया एन्ड इस्ट एसिया प्यासेफिक छनोटमा नेपालसहित नौ टोलीले भाग लिँदैछन्। शीर्ष तीन टोली अर्को वर्ष भारतमा हुने विश्वकपमा पुग्नेछन्।

नेपाली टोलीः रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरि (उप-कप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ सेख, कुशल मल्ल, गुलशन झा, आरिफ सेख, भीम सार्की, रुपेस कुमार सिंह, सोमपाल कामी, नन्दन कुमार यादव, करण के सी, रिजन ढकाल, लोकेस बम, साहब आलम

उत्तराखण्ड बाढीको १४ दिनसम्म पनि भेटिएनन् २६ नेपाली

काठमाडौं । भारतको उत्तराखण्डका दुई जिल्लामा आएको बाढीमा परी २६ जना नेपाली बेपत्ता भएको आज १४ दिन भएको छ । तर, बेपत्ता भएका नेपाली अझै भेटिएका छैनन् ।

“जहाँ बाढीले बस्ती पुरेको छ, त्यो खोतल्ने काम भएको छैन । पुरिएको ठाउँमा धेरै शव रहेको अनुमान छ,” नयाँ दिल्लीस्थित नेपाली दूतावास स्रोतले भन्यो, “बेपत्ता भनिएकाहरू सम्पर्कमा पनि आएका छैनन् । उनीहरूको शव पनि भेटिएको छैन ।”

गत साउन २० गते ‘क्लाउड ब्रस्ट’ भई उत्तराखण्डको उत्तरकाशी जिल्लाको धरालीमा बाढी आएको थियो । त्यसको भोलिपल्ट उत्तराखण्डको पौडी गढवाल जिल्लामा बाढी आएको थियो ।

नेपाली दूतावासका अनुसार, उत्तरकाशी जिल्लामा २१ जना र पौडी गढवाल जिल्लामा पाँच जना हराइरहेका छन् ।

उत्तरकाशीको धरालीमा हराइरहेका नेपालीमा जनकबहादुर शाही, रवि सिंह, करणबहादुर, रोबिन सिंह, गगनबहादुर, गोरखबहादुर, रामबहादुर शाही, हरिबहादुर खड्का, प्रभाती, केशव, निर्मला खड्का, लक्ष्मण, सुवास बिक, रमेश, प्रिया, दीपक मगर, सुरज राना, मानबहादुर, नीमबहादुर, रवि सिंह र रामबहादुर सिंह छन् ।

यस्तै, पौडी गढवाल जिल्लामा बेपत्ता भएका नेपालीमा नरेन्द्र खड्का, अमृता परियार, रोमन खड्का, सन्ध्या खड्का र विमल बिक छन् ।

“हामी बेपत्ता भएकाहरूको यथार्थ बुझ्न नेपालको सम्बन्धित जिल्ला र स्थानीय तहसँग विवरण मागेका छौँ । यो रुजु गरेपछि थप वास्तविकता खुल्छ,” दूतावास स्रोतले भन्यो ।

बाढीमा परी मृत्यु र बेपत्ता भएकाहरूको परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन पहल पनि भइरहेको दूतावस स्रोतले जनायो । भारत सरकारसमक्ष क्षतिपूर्तिका लागि अनुरोध गरिने स्रोत बताउँछ ।

उपसभामुख रानामाथिको आरोप : अमेरिकी दूतावासलाई अढाई वर्षअघि पठाएको पत्र

काठमाडौं । उपसभामुख इन्दिरा राना मगरलाई हटाउनेबारे मंगलबार सत्तारुढ प्रमुख दल कांग्रेस र एमालेले तयारी गरेका छन् । पदबाट हटाउने तयारीको पछाडि इन्दिरा रानासँग दुई वर्षअघि जोडिएको विवाद मुख्य कारण हो ।

प्रतिनिधिसभाकी उपसभामुख रानामाथि लगाइएको आरोपको सन्दर्भ बुझ्न १४ फागुन २०७९ तिर फर्किनु पर्छ ।

७ माघ २०७९ मा उपसभामुख निर्वाचित भएकी उनी एक महिनापछि संयुक्त राष्ट्रसंघको महिलाको स्थिति सम्बन्धी आयोगको सातौं सम्मेलनमा (सीएसडब्लू ६७) मा सहभागी हुन अमेरिका गएकी थिइन् ।

त्यो कार्यक्रममा जानुअघि उनले आफूसँगै जाने भन्दै अरु ५ जना व्यक्तिलाई अमेरिकाको भिसा अन्तर्वार्ताको मिति मिलाइदिन सिफारिस गर्दै पत्र लेखेकी थिइन् ।

काठमाडौंस्थित अमेरिकी दूतावासका कन्सुलरलाई सम्बोधन गर्दै लेखिएको पत्रमा उनले उपेन्द्र गौतम, सुष्मा लामा, राजेश लामा तामाङ, सुजन घर्ती मगर र धनप्रसाद गुरुङलाई अन्तरर्वार्ताको मिति मिलाइदिन भनेकी छन् ।

सीएसडब्लू ६७ नाम दिइएको यो सम्मेलन अमेरिकाको न्यूयोर्कमा २२ फागुनदेखि ३ चैत २०७९ सम्म आयोजना भएको थियो ।

अमेरिकी दूतावासमा भिसा अन्तरर्वार्ता दिनेको संख्या धेरै हुने भएकाले कम्तिमा ५÷६ महिना अघिबाटै सर्वसाधारणले अनलाइनमार्फत मिति बुक गर्ने गर्छन् ।

विशिष्ट व्यक्तिहरूका लागि भने परराष्ट्र मन्त्रालयले समन्वय गर्ने गर्छ । अझ संसद् पदाधिकारी, सांसद् र कर्मचारीको भिसा प्रक्रिया संसद् सचिवालयको अन्तर्राष्ट्रिय सम्पर्क तथा समन्वय महाशाखामार्फत अघि बढाउने व्यवस्था छ ।

तर, उपसभामुख रानाले स्ट्याम्पसहितको आफ्नै लेटरप्याडमा आफूसँगै जाने भन्दै अरु ५ जनाको अन्तरर्वार्ता मिति सारिदिन आग्रह गरेको भेटिएको थियो ।

पत्रमा उनीहरू उनको सचिवालयमा कार्यरत् हुन् या होइनन् भन्ने केही खुलाइएको थिएन । उनीहरूको पृष्ठभूमिबारे समेत खुलाइएको थिएन ।

जानकार स्रोतका अनुसार, काठमाडौंस्थित अमेरिकी दूतावासले ती व्यक्तिहरूलाई अमेरिका जाने कारण विश्वसनीय नभएको भन्दै भिसा चाहिँ दिएको थिएन ।

पछि विदेश जान नपाएकाहरू रास्वपामा समेत पुगेका थिए । त्यसबेला संगठन विभाग प्रमुख शंकर श्रेष्ठले सभापति रवि लामिछाने, उपसभापति स्वर्णिम वाग्लेलाई यसबारे जानकारी गराएका थिए ।

त्यसपछि उपसभामुख रानाले रास्वपा झापाका नेता उपेन्द्र गौतमलाई मात्र आफूले चिनेको र उनले भनेअनुसार पत्र लेखेको बताएकी थिइन् । त्यही बेला राहदानी नम्बरका आधारमा अध्यागमन विभागमा समेत जाँच गर्दा उनीहरू अमेरिका नगएको खुलेको थियो ।

पछि आन्तरिक छानबिनका क्रममा गौतमले नै अरु व्यक्तिहरूको नाम समेत ल्याएर अमेरिका जान सिफारिस गर्न लगाएको भेटिएको थियो ।

त्यसरी सिफारिस गरिएकामध्ये लामा चाहिँ घरजग्गा कारोबारी भएको खुलेको थियो भने सुष्मा धरानमा कार्यरत् रेडियोलोजिस्ट भएको खुलेको थियो । धनप्रसाद गुरुङ यातायात मजदुर थिए भने सुजन सल्यानका पूर्वशिक्षक भएको खुलेको थियो ।

त्यो पत्र लेखिएको विषय रास्वपा नेताहरूले थाहा पाउँदा सभापति रवि लामिछाने नै गृहमन्त्री थिए । त्यही बेलाउ उनले अध्यागमन विभागसँग ती व्यक्तिहरू अमेरिका गए/नगएको बारे सोधपुछ गरेका थिए । तर, उनीहरूलाई अमेरिकाले भिसा दिएकै पाइएन । यसपछि यो विषय यत्तिकै सामसुम भएको थियो ।

तर, काठमाडौंस्थित अमेरिकी दूतावासलाई लेखेको पत्र लेखेको डेढ वर्षपछि २०८१ असार अन्तिमतिर एकएक त्यो पत्र सार्वजनिक भयो । त्यसपछि सभामुख देवराज घिमिरेले समेत यसबारे चासो राखेका थिए, शीर्ष नेताहरूबीच समेत छलफल भएको थियो ।

उपसभामुखलाई हटाउने प्रस्ताव आजै दर्ता हुँदैन : श्याम घिमिरे

काठमाडौं- नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले उपसभामुखलाई हटाउने प्रस्ताव आजै दर्ता नहुने बताएका छन् ।

सिंहदरबारमा पत्रकारहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

‘आजै प्रस्ताव दर्ता नगर्नुको कारण संख्या नपुग्ने भएर हो’ भन्ने प्रश्नमा घिमिरेले जवाफ दिए, ‘संख्या नपुग्ने भन्ने छैन । दुई तिहाइ हामी जति खेर पनि पुर्‍याउन सक्छौं । तर, आजै कुनै पनि नयाँ प्रस्ताव दर्ता हुँदैन ।’

कांग्रेस र एमालेले हस्ताक्षर संकलन भने गरिएको बताएका छन् घिमिरेले सत्तारुढ दलको यो कदमलाई स्वभाविक भनेका छन् । ‘हस्ताक्षर गराएर राख्ने अभ्यास पुरानै हो । पहिला पनि यो अभ्यास थियो । अहिले पनि हामीले त्यही अभ्यास गरेको हो,’ घिमिरेले भने ।

सरकार अधिनायकवादतर्फ उन्मुख भएको माओवादीको निष्कर्ष

काठमाडौं- नेकपा (माओवादी केन्द्र) ले उपसभामुख इन्दिरा रानालाई हटाउने सत्तापक्षको तयारीबारे गम्भीर छलफल गरेको छ  । आज बसेको पदाधिकारी बैठकमा त्यस विषयमा छलफल गर्दै सरकार अधिनायकवादतर्फ उन्मुख भएको निष्कर्ष निकालिएको सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।

बैठकले प्रमुख प्रतिपक्ष दलको नेता भएकाले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई  विकसित राजनीतिक घटनाक्रमको पहलकदमी लिने जिम्मा दिएको छ । विकसित राजनीतिक घटनाका कारण बैठक भोलिसम्मका लागि स्थगित गरिएको सचिव पौडेलले जानकारी दिए ।

नेपालको उत्कृष्ट बलिङ सुरुवात, रोहितले दोस्रो बलमै लिए विकेट

काठ्माण्डौँ- अस्ट्रेलियामा जारी टप इण्ड टी–२० सिरिजअन्तर्गत होबर्ट हरिकेन्स एकेडेमीविरुद्ध नेपालले उत्कृष्ट बलिङ सुरुवात गरेको छ । नेपाललाई उत्कृष्ट सुरुवात दिलाउनेक्रममा कप्तान रोहितकुमार पौडेलले पहिलो ओभरको दोस्रो बलमै विकेट लिए ।

उनले निवेथन राधाकृष्णनलाई शून्यमै बोल्ड गरेका हुन् । १ सय ८१ रनको लक्ष्य पछ्याइरहेको होबार्टले पहिलो ओभरमा कुनै पनि रन नजोडेर एक विकेट गुमाएको छ ।

त्यसअघि पामस्र्टनस्थित काजालिस एरिनामा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १ सय ८० रनको योगफल तयार पार्‍यो ।

नेपालका लागि आरिफ शेख सर्वाधिक ३५ रन बनाए । यस्तै, आसिफ शेखले २९, कुशल भुर्तेलले २७, लोकश बमले अविजित २५ र भीम सार्कीले १८ रन जोडे ।

बलिङतर्फ होबर्टका निवेथन राधाकृष्णन र राफ म्याकमिलनले समान दुई विकेट लिए । त्यस्तै, मार्कस बेन, गाबे बेल र ब्राडली होपले समान एक/एक विकेट हात पारे ।

नेपाल जारी शृंखलामा पहिलो जितको खोजीमा छ । नेपाल नर्दर्न टेरिटोरी स्ट्राइकरसँग ४२ रन, बंगलादेश ‘ए’ सँग ३२ रन र मेलबर्न स्टार्स एकेडेमीसँग ३१ रनले पराजित भएको थियो ।

बालबालिकाको रोग प्रतिरोधक क्षमता बढाउन स्वर्णप्रासन थोपा खुवाइँदै

३ भदौ, काठमाडौं । बालबालिकाको स्वास्थ्य र रोग प्रतिरोधात्मक क्षमता विकास गर्ने उद्देश्यका साथ सरकारले आयुर्वेदिक पद्धतिअनुसार तयार गरिएको ‘स्वर्णप्रासन’ कार्यक्रम सुरु गरेको छ ।

पहिलो चरणमा ६ महिनादेखि ५ वर्ष उमेर समूहका बालबालिकालाई स्वर्णप्रासन थोपा खुवाइनेछ ।

यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विशेष निर्देशिका स्वीकृत गरिसकेको छ । आयुर्वेद तथा वैकल्पिक सेवा विभागका निमित्त महानिर्देशक डा. श्यामबाबु यादवका अनुसार पहिलो चरणमा २५ वटा स्वास्थ्य संस्थामार्फत कार्यक्रम सुरु हुनेछ ।

यसका लागि विभागले करिब १ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । आगामी वर्षमा आयुर्वेद स्वास्थ्य संस्था भएका सबै स्थानी तहमा विस्तार गरिने मन्त्रालयले जनाएको छ  । ‘स्वास्थ्य संस्थालाई न्यूनतम ३ लाखदेखि अधिकतम ५ लाख रुपैयाँसम्म बजेट उपलब्ध गराउने निर्णय भएको छ,’ उनले भने ।

डा. श्यामबाबु यादवका अनुसार, स्वर्णप्रासन भनेको स्वर्ण भस्म, मह र घिउ मिलाएर शास्त्रीय विधिअनुसार तयार गरिएको विशेष औषधि हो । यो ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई दिइन्छ ।

‘यसले बच्चाको शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ र रोगविरुद्ध लड्ने क्षमता विकास गर्न सहयोग पुर्‍याउँछ,’ उनले भने ।

हाल स्वदेशी उद्योगले उत्पादन नगरेका कारण सुरुमा भारतबाट आयातित स्वर्ण भष्म प्रयोग गरिने भएको छ । ५ भदौदेखि कार्यक्रम सञ्चालन हुने तयारी भइरहेको छ ।

नेपालमा प्रारम्भिक परीक्षण कार्यक्रम दाङ, भरतपुर (चितवन) र वीरगञ्जमा सम्पन्न भइसकेको छ । डा. यादवका अनुसार परीक्षणमा स्वर्णप्रासन खुवाएको बच्चाहरू शारीरिक र मानसिक रूपमा राम्रो विकास भएका देखिएका छन् । यसका साथै छिमेकी राष्ट्रहरूमा पनि यसको प्रयोग भइरहेको छ ।

डा. यादव भन्छन्, ‘स्वर्णप्रासनको प्रयोगले हजारौँ वर्ष पुरानो आयुर्वेदिक परम्परालाई निरन्तरता दिँदै बच्चाहरूको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने देखिएको छ ।’

यो परम्परागत औषधिलाई अब व्यवस्थित र आधिकारिक रूपमा सञ्चालन गर्न निर्देशिका जारी गरिएको उनले बताए ।

के हो स्वर्णविन्दु प्रासन ?

आयुर्वेदको मुल ग्रन्थ काश्यप संहिताअनुसार, स्वर्ण भष्मलाई घ्यु र महमा मिसाएर बनेको लेहलाई थोपा स्वरूप सेवन गराइने विधिलाई स्वर्णविन्दु प्रासन भनिन्छ ।

यसले बालबालिकाको शारीरिक, मानसिक विकास र रोग प्रतिरोधात्मक क्षमता बढाउने मान्यता छ । गत १ भदौमा मन्त्रालयले मन्त्रिस्तरीय निर्णयबाट निर्देशिका स्वीकृत गरेको हो ।

निर्देशिकाले कार्यक्रमलाई सुरक्षित, सरसफाइयुक्त र गुणस्तरीय ढंगले सञ्चालन गर्ने उद्देश्य लिएको छ । यससँगै मातृ शिशु स्वास्थ्य प्रवर्द्धनलाई पनि जोडिएको छ ।

पहिलो चरणमा लागु हुने स्थानहरू :

हाल पहिलो चरणमा

१.  प्रादेशिक आयुर्वेद चिकित्सालय, बिजौरी दाङ

२. त्रिवि आयुर्वेद शिक्षण अस्पताल, कीर्तिपुर

३. आयुर्वेद चिकित्सालय, नरदेवी

४. राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग सेवा केन्द्र, बुढानीलकण्ठ

५. प्रादेशिक आयुर्वेद चिकित्सालय, धनगढी, सुदुरपश्चिम प्रदेश

६. प्रादेशिक आयुर्वेद चिकित्सालय, लखनपुर, झापा, कोशी प्रदेश

७. प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय,पर्सा, मधेश प्रदेश

८. प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय,धनुषा, मधेश प्रदेश

९. प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, सर्लाही, मधेश प्रदेश

१०. आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, काठमाडौं, बागमती प्रदेश

११. आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, ललितपुर, बागमती प्रदेश

१२. आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, भक्तपुर, बागमती प्रदेश

१३. आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, चितवन बागमती प्रदेश

१४. आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, नुवाकोट, बागमती प्रदेश

१५. आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, मकवानपुर,  बागमती प्रदेश

१६.  जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, मोरङ, कोशी प्रदेश

१७. गण्डकी आयुर्वेद अस्पताल, पोखरा, गण्डकी प्रदेश

१८. धौलागिरि आयुर्वेद अस्पताल, बागलुङ, गण्डकी प्रदेश

१९. प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, तनहुँ, गण्डकी प्रदेश

२०. लुम्बिनी आयुर्वेद चिकित्सालय, बुटवल, लुम्बिनी प्रदेश

२२. राप्ती आयुर्वेद चिकित्सालय, दाङ, लुम्बिनी प्रदेश

२३. बर्दिया आयुर्वेद स्वास्थ्य केन्द्र, गुलरिया, लुम्बिनी प्रदेश

२४. प्रादेशिक आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्र, सुर्खेत, कर्णाली प्रदेश

२५. आयुर्वेद स्वास्थ्य केन्द्र, दैलेख, कर्णाली प्रदेश

नेपालले होबर्ट हरिकन्सलाई दियो १८१ रनको लक्ष्य

काठ्माण्डौँ- अस्ट्रेलियामा जारी टप इन्ड सिरिज क्रिकेट प्रतियोगिताको आफ्नो चौथो खेलमा नेपाली टोलीले मंगलबार होबर्ट हरिकन्स एकेडेमीलाई जितका लागि एक सय ८१ रनको लक्ष्य दिएको छ ।

 

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ८० रन बनाएको हो । जारी शृंखलामा नेपाली टोलीले बनाएको यो नै सर्वाधिक रन पनि हो ।

 

नेपाली टोलीले पालीको गतिलो शुरूआत गरेको थियो । ओपनर ब्याट्सम्यानद्वय कुशल भुर्तेल र आसिफ शेखले ४९ रनको साझेदारी गरे । कुशल भुर्तेलले २७ रन बनाए । उनले २० बलको सामना गरी चार चौका पनि हिर्काए ।

विकेटकिपर ब्याट्सम्यान आसिफ शेखले पनि टोलीको खातामा २९ रन थपे । उनले २८ बलको सामना गरी दुई चौका हिर्काए । तेस्रो नम्बरमा क्रिज समाल्न आएका भीम सार्कीले पनि १८ बलमा दुई चौकाको मद्दतले १८ रन बटुले ।

कप्तान रोहित पौडेल भने नौ रन बनाउँदै पेभेलियन फर्किए । पाँचौँ नम्बरमा क्रिज समाल्न आएका आरिफ शेखले टोलीको खातामा ३३ रन थपे । प्रारम्भदेखि नै आक्रामक रूपमा प्रस्तुत भएका उनले २६ बलमा तीन चौका पनि हिर्काए ।

कुशल मल्ल भने ६ रनभन्दा अगाडि बढ्न सकेनन् । उनी आउट भएपछि क्रिज समाल्न आएका लोकेश बमले टोलीका लागि आक्रमक पाली खेले । उनले केवल ११ बलमा एक छक्का र तीन चौकाको मद्दतले अविजित २५ रनको योगदान गरे । करण केसी एक रन बनाउँदै आउट भए । नन्दन यादव एक रनमा अविजित रहे । नेपाली टोलीले अतिरिक्त रूपमा पनि ३१ रन पायो ।

होबर्ट हरिकन्स एकेडेमीका बलर निवेथन राधाकृष्णनले दुई विकेट लिए । रफ म्याकमिलनले पनि दुई विकेट हात पारे । मार्कस बिन, ब्राड्ली होप र गेब बेलले पनि एक–एक विकेट हात पारे । मार्कस बिन महंगो सावित भए । उनले चार ओभरमा ४३ रन खर्चिएका थिए ।

जारी प्रतियोगितामा नेपालले हालसम्म एक खेल पनि जित्न सकेको छैन । नेपाली टोलीले लगातार तीन हार भोगिसकेको छ । तीनवटै खेलमा नेपाली टोलीको ब्याटिङमा समस्या देखिएको छ । त्यसैले मंगलबारको खेलमा नेपाली टोली पहिलो जितको खोजिमा छ ।

नेपाली टोली आफ्नो पहिलो खेलमा एनटी स्ट्राइकसँग ४२ रनले पराजित भएको थियो । आफ्नो दोस्रो खेलमा पनि नेपाली टोली बंगलादेशको ‘ए’ टोलीसँग ३२ रनले पराजित भएको थियो । तेस्रो खेलमा नेपाली टोली मेलबर्न स्टार्स एकेडेमीसँग ३१ रनले पराजित भएको थियो ।

रवि लामिछानेलाई भिटामिन डी को कमी

काठमाडौं ।  थुनामा रहेका रास्वपा सभापति रवि लामिछानेलाई भिटामिन डी को कमी देखिएको छ । कार्यवाहक प्रवक्ता मनिष झाले दिएको जानकारीअनुसार स्वास्थ्य परीक्षणपछि लामिछानेलाई भिटामिन डी को कमी देखिएको बताए ।

“सभापतिज्यूको रगत परीक्षणको रिपोर्टबारे डा. जितेन्द्र प्रसाद यादवले दिनुभएको जानकारीअनुसार उहाँको शरीरमा भिटामिन डी को कमी देखिएको छ,” झाले भने,“रुपन्देही कारागारमा १२६ दिनसम्म भित्र थुनेर राखेको, बाहिरी हावा नपाएको र धेरै दिनसम्म शरीरले घाम नपाएको कारण यस्तो भएको भन्ने राय डाक्टर यादवको छ ।”

बल्छी धुर्बेले सुरु गरे चलचित्र ‘गोबर गणेश’ को छायांकन

काठ्माण्डौँ- चलचित्र ‘गोबर गणेश’को शुभमुहूर्त गरिएको छ । काठमाडौंको म्हेपी मन्दिर परिसरमा आज चलचित्रको शुभमुहूर्त गरिएको हो ।

शुभमुहूर्तमा निर्देशक मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) सहित चलचित्रका अधिकांश कलाकारको उपस्थिति रहेको थियो । क्यामेरा पूजा गर्दै चलचित्रको सट लिएर शुभमुहूर्तमा केदार घिमिरे ‘माग्ने बुढा’ ले नरिवल फोडर र कलाकार रवि गिरीले क्लयाप हानेर गरिएको हो ।

चलचित्रको छायांकन पनि आजैबाट सुरु भएको छ । काठमाडौंबाट सुरु भएको चलचित्रको छयांकन पोखरालगायतका स्थानमा हुनेछ ।

करिब ३५ दिनको छायांकन सेड्युल रहेको निर्देशक श्रेष्ठले जानकारी दिए ।

“आजबाट हामीले चलचित्रको छायांकन सुरु गरेका छौँ । हाम्रो कला र शिपले भ्याए र जानेसम्म राम्रो काम गर्ने प्रयास गर्नेछौँ,” निर्देशक श्रेष्ठले भने, “हामीलाई सानो पर्दामा जसरी दर्शकले साथ र माया दिनुभयो, त्यस्तै माया र साथ ठूलो पर्दाका दर्शकले पनि गरिदिनु हुनेछ भन्ने हाम्रो विश्वास छ ।”

मरिचमान श्रेष्ठले निर्देशन गर्ने ‘गोबर गणेश’ माघ १ गते रिलिज हुनेछ । उनको यो पहिलो फिचर फिल्म निर्देशन हो । ‘मेरी बास्सै’बाट दर्शकमाझ लोकप्रिय बनेका उनी त्यसपछि आफैँ टेलिचलचित्र निर्देशनमा आएका थिए । उनका टेलिचलचित्र ‘हल्का रमाइलो’ र ‘जुठे’ दर्शकमाझ लोकप्रिय छन् ।

बल्छी धुर्बे फिल्मस्को प्रस्तुतिमा निर्माण हुन लागेको यो चलचित्रको अभिनेत्रीमा वर्षा सिवाकोटी छिन् । यस्तै अन्य कलाकारमा मरिचमान श्रेष्ठ, विनोद न्यौपाने, पदम तामाङ, विल्सन विक्रम राई, निर्मल शर्मा, लक्ष्मीनाथ तिमलसेना, राजु याक्छा, रामप्रसाद खनाल, सन्तोष बानिया, सन्दीप लामा, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना र पुजन घिमिरे (पुकु) लगायत छन् ।

तारानाथ न्यौपाने चिफ एडी रहेको चलचित्रमा योगेश काजी शाहको बीजीएम, शंकर पाण्डेको प्रोडक्सन, शिवराम श्रेष्ठको डीओपी र विपीन मल्लको सम्पादन रहनेछ ।

युद्धविराम र बन्धक रिहाइको नयाँ प्रस्ताव हमासले स्वीकार्‍यो

काठमाडौं– प्यालेस्टाइनी सशस्त्र समूह हमासले गाजामा युद्धविराम र इजरायलका साथ बन्धक रिहाइका लागि मध्यस्थताका लागि नयाँ प्रस्तावमा सहमति जनाएको छ ।

हमासले मिस्र र कतारले युद्धविराम र इजरायलका साथ बन्धक रिहाइका लागि राखेको प्रस्तावमा हमासले सहमति जनाएको बीबीसीले प्यालेस्टाइनी समूह स्रोतलाई उद्धृत गर्दै समाचार प्रकाशित गरेको छ ।

मिस्र र कतारको उक्त प्रस्ताव अमेरिकी दूत स्टीभ विटकफले गत जुन महिनामा दिएको प्रस्तावको रूपरेखामा आधारित रहेको बताइएको छ ।

प्रस्तावअनुसार पहिले ६० दिनको युद्धविराम लागू हुने छ । त्यसपछि हमासले बाँकी रहेका ५० इजरायली बन्धकहरूलाई दुई समूहमा रिहा गर्ने छ । जसमध्ये २० जना मात्रै जीवित रहेका बताइएको छ । यसपछि मात्रै स्थायी युद्धविरामका लागि वार्ता अघि बढ्ने छ ।

यद्यपि, इजरायलका तर्फबाट युद्धविरामबारे केही प्रतिक्रिया आएको छैन । गत साता इजरायली प्रधानमन्त्री बेन्ज्यामिन नेतन्याहुले सबै बन्धकहरूलाई एकैपल्ट रिहा गरेपछि मात्रै सम्झौता स्वीकार गरिने बताएका थिए ।

हमासले युद्धविरामका लागि सहमति जनाएको पछिल्लो समाचारका बीच जारी एक भिडिओमा नेतन्याहुले कुनै टिप्पणी गरेका छैनन् । उनले भनेका छन्, ‘यसबाट तपाईँहरूलाई एउटा आभास हुन्छ, हमास अत्यन्तै दबाबमा छ ।’

अमेरिकाले रद्द गर्‍यो ६ हजार विद्यार्थीको भिसा

अमेरिकाको विदेश मन्त्रालयले ६ हजारभन्दा धेरै विदेशी विद्यार्थीको भिसा रद्द गरेको छ । अमेरिकी कानुनको उल्लङ्घन गरेको तथा भिसामा तोकिएको म्याद सकिएपछि पनि अमेरिकामै बसेको भन्दै मन्त्रालयले उक्त कदम चालेको हो ।

उल्लङ्घनका अधिकांश घटना कुटपिट, मादक वा नशालु पदार्थ खाएर गाडी चलाएको, लुटपाटको घटनामा संलग्न भएको र आतंकवादलाई समर्थन आदिसँग सम्बन्धित भएको बताइएको छ ।

ट्रम्प प्रशासनले गैरकानूनी आप्रवासन र अन्तर्राष्ट्रिय विद्यार्थीमाथि कडाइ गरिरहँदा यो कदम चालिएको हो । विदेश मन्त्रालयले आतंकवालाई समर्थनको अर्थ के हो भनेर स्पष्ट खुलाएको छैन । तर ट्रम्प प्रशासनले प्यालेष्टाइनको समर्थमा विरोध प्रदर्शन गर्ने केही विद्यार्थीलाई निशाना बनाएको बुझिएको छ । भिसा रद्द हुनेमध्ये करिब चार हजारको भिसा कानुन उल्लङ्घनसँग सम्बन्धित रहेको मन्त्रालयले बताएको छ ।

अरू २०० देखि ३०० विद्यार्थी भिसा भने आतङ्कवादको कारण खारेज गरिएको भनिएको छ । यो वर्षको सुरुमा ट्रम्प प्रशासनले विदेशी विद्यार्थीको भिसा अपोइन्टमेन्ट शेड्यूल रोकेको थियो ।

जुन महिनामा यसलाई पुनः सुचारु गरिएको भए पनि आवेदकहरूले स्क्रिनिङका लागि आफ्नो सामाजिक सञ्जाल खाता पब्लिक बनाउनु पर्ने भनिएको थियो ।

होबर्ट हुरिकेन्सविरुद्ध ब्याटिङमा नेपाल

काठमाडौं । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० क्रिकेट शृंखलामा नेपाली राष्ट्रिय क्रिकेट टिमले होबर्ट हुरिकेन्स एकेडेमीविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।

मंगलबार पाल्मेस्र्टोनमा टस जितेर नेपाली टिमका कप्तान रोहितकुमार पौडेलले ब्याटिङको निर्णय लिँदै होबर्ट हुरिकेन्सलाई फिल्डिङमा निम्त्याए ।

प्रतियोगितामा आज नेपाल पहिलो जितको खोजीमा छ । नेपाल पहिलो खेलमा नर्दन टेरिटोरीसँग ४२ रनले पराजित भएको थियो । नेपाल दोस्रो खेलमा बंगलादेश ‘ए’सँग ३२ रनले हारेको थियो । नेपाल तेस्रो खेलमा मेलबर्न स्टार्ससँग ३१ रनले पराजित भएको थियो ।

सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको पदाधिकारी नियुक्ति प्रक्रिया अड्कियो

कैलाली । सुदूरपश्चिम प्रदेशकै गौरवको आयोजना मानिएको सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक गत जेठ ४ गते प्रतिनिधिसभाबाट पारित भयो । असार ४ गते राष्ट्रपति रामचन्द्र पौडेलबाट ऐन प्रमाणीकरण पनि भइसक्यो । तर ऐन कार्यान्वयनमा आएको महिना दिन बितिसक्दा समेत विश्वविद्यालय सभाको गठन र पदाधिकारी नियुक्ति प्रक्रिया भने अघि बढेको छैन ।

देशभर दुई दर्जनभन्दा बढी मेडिकल कलेज र १५६ वटा हायर हेल्थ सेन्टर सञ्चालनमा हुँदा सुदूरपश्चिममा एउटा पनि थिएन । यो अवस्थामा स्वास्थ्य विज्ञान विश्वविद्यालयले यहाँका जनतालाई ठूलो आशा दिएको दियो । तर सञ्चालन प्रक्रिया अघि नबढ्दा झन्डै ७ अर्ब लगानी र ७७ बिघा जग्गामा बनेका ५३ भन्दा बढी ठूला संरचनाहरू अहिले प्रयोगविहीन छन् ।

६०० शय्याको क्षमता रहेको पूर्वाधार बने पनि तत्काल ५० बेडको अस्पताल सञ्चालन गर्ने भनियो, त्यो प्रक्रिया पनि अलपत्र छ । यसले विश्वविद्यालय सञ्चालनमा बाधा आएको भन्दै स्थापनार्थ संघर्ष समितिले सरकारको ध्यानाकर्षण गराएको छ ।

स्वास्थ्य विज्ञान विश्वविद्यालय नहुँदा गम्भीर रोग उपचारका लागि दैनिक सयौं सुदूरपश्चिमेली भारत धाउन बाध्य छन् । यसरी हरेक वर्ष करोडौं रुपैयाँ बाहिरिनुपर्ने बाध्यताले जनस्तरमै चासो बढाएको छ ।

विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिका संयोजक लोकराज पाण्डेय अस्पताल सञ्चालनमा ढिलाइ हुँदा जनआकांक्षामा ठेस पुगेको बताउँछन् । ‘सुदूरपश्चिमेली जनताले दशकौंदेखि प्रतीक्षा गरेको मेडिकल विश्वविद्यालय अहिले ऐन पारित भई कानुनी आधार पाएको छ । तर सञ्चालनमा ढिलाइ भइरहेको छ । जबसम्म यहाँ एमबीबीएस पढाइ सुरु हुँदैन, रिसर्च सेन्टर बन्दैन हामी लागिपर्नेछौं,’ उनले भने

३०० शय्याको अस्पताल सञ्चालन गरी विश्वविद्यालयमा एमबीबीएस अध्यापन सुरु भए सुदूरपश्चिम मात्र नभई देशकै अर्थतन्त्रलाई टेवा पुग्ने उनी बताउँछन् । उनका अनुसार स्वास्थ्य क्षेत्रमा दशरथ चन्द विश्वविद्यालय ठूलो रिसर्च सेन्टर सँगै मेडिकल टुरिजमको हब बन्ने सम्भावना उच्च छ ।

मुख्यमन्त्रीलाई ज्ञापन

विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले पदाधिकारी नियुक्ति र विश्वविद्यालय सभाको गठनमा पहल गर्न मुख्यमन्त्री कमलबहादुर शाहलाई मंगलबार विशेष ज्ञापनपत्र बुझाएको छ । समितिका संयोजक पाण्डेय, सह–संयोजक आनन्दप्रसाद भट्ट र सचिव धर्मसिंह कुँवरको नेतृत्वको टोलीले ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनमार्फत यसै आर्थिक वर्षभित्रै एमबीबीएसको सिट संख्या तोक्न, कम्तीमा, ३०० शय्याको अस्पताल सञ्चालन गर्न र पदाधिकारी नियुक्ति प्रक्रिया तत्काल अघि बढाउन माग गरेको छ । सँगै प्रयोगात्मक अभ्यासका लागि ६०० शय्याको अस्पताल निर्माणका लागि बनेका संरचनामा यसै आर्थिक वर्षमा कम्तीमा ३०० शय्याको अस्पतालको संगठनात्मक व्यवस्थापन तथा सर्वेक्षण अगाडि बढाउन नेपाल सरकारसँग विशेष पहल गर्न प्रदेश सरकारलाई ध्यानाकर्षण गराएको छ ।

Continue reading “सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको पदाधिकारी नियुक्ति प्रक्रिया अड्कियो”

एनआरएनए अमेरिकाको बोर्ड अफ डाईरेक्टरमा ठकुल्ला निर्वाचित

न्यूयोर्क, १८ अगष्ट ।
गैरआवासीय नेपाली संघ  राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) अमेरिकाको बोर्ड अफ डाईरेक्टरमा हेमबहादुर ठकुल्ला निर्वाचित भएका छन् । ठकुल्ला तीन हजार दुई सय ३१ मत ल्याएर बिजयी भएका हुन् ।

सतेन्द्र शाहको प्यानल अधिकांश पदमा बिजयी हुदा ठकुल्ला भानु खरेलको प्यानलबाट निर्वाचित भएका हुन् । ठकुल्ला खरेलको टीमबाट निर्वाचित हुने एक्ला बोर्ड अफ डाईरेक्टर हुन् ।

ठकुल्लाले आफूलाई मतदान गरेर बिजयी बनाउने सम्पूर्ण मतदाता प्रति आभार व्यक्त गरेका छन् । उनले निर्वाचनको परिणाम सार्वजनिक भएपछि सम्पूर्ण मतदाता र शुभेच्छुकहरुलाई धन्यवाद दिए ।

अछाम स्थायी घर भएका ठकुल्ला क्यालिफोर्नियाको लस एन्जलसमा बसोबास गर्दै आएका छन् । उनी सुदूरपश्चिम नेपाली समाज क्यालिफोर्नियामा लामो समयदेखि आबद्ध रही सामाजिक सेवामा सक्रिय छन् ।

नेपाली र नेपालको साझा हित र विकासका लागि ईमान्दारीपूर्वक भूमिका निर्वाह गर्ने प्रतिबद्धता गरेका ठकुल्लाले गैरआवासीय नेपाली संघलाई सबैको अपनत्व हुने साझा संस्था बनाउने बताए । ठकुल्लाले सन् २०२१–२०२३ कार्यकालमा क्यालिफोर्निया च्याप्टरमा उत्कृष्ट योगदान पु¥याएका   थिए ।

क्यालिफोर्नियाको पशुपती नाथ बुद्ध मन्दिरको ट्रष्टी रहेका ठकुल्ला मन्दिर व्यवस्थापन समितिको सदस्य समेत रहिसकेका छन् ।

 

एनआरएनए अमेरिकाको अध्यक्षमा साह निर्वाचित

न्यूयोर्क, १८ अगष्ट ।

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको अध्यक्षमा सतेन्द्र साह फराकिलो अन्तरले निर्वाचित भएका । निकटतम प्रतिद्वन्द्वी भानु खरेललाई सात सय २२ मतको अन्तरले पराजित गर्दै साह अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

साहले तीन हजार दुई सय २८ मत ल्याउदा खरेलले दुई हजार पाँच सय छ मत ल्याए । अध्यक्ष पदका अर्का उम्मेदवार रामहरी अधिकारीले दुई हजार ६३ मत ल्याए ।

उपाध्यक्ष र महासचिव सहित अधिकांश पदमा बिजयी भएका साह प्यानलले वरिष्ठ उपाध्यक्ष भने गुमाए ।

बरिष्ठ उपाध्यक्षमा रामहरी अधिकारीको प्यानलका सन्तोष पहारी तीन हजार तीन सय ८८ मत ल्याएर बिजयी भए । बरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी डा. पुरुषोत्तम दाहालले दुई हजार आठ सय ३९ र सरोज सिग्देलले एक हजार चार सय ६५ मत पाए ।

उपाध्यक्षमा प्रदीप चौलागाई(२८८२), गंगाधर आचार्य(२८५८), आङछिरिङ शेर्पा (२७९४), सुरेन्द्र लौडारी (२६८८) बिजयी भए ।
महिला उपाध्यक्षमा सुनिला सार्की तीन हजार चार सय तीन मत ल्याएर बिजयी भईन् । उपाध्यक्षमा दुर्गा तिवारी(२७५५), गीता बजगाई(१६०९) पराजित भईन् ।

युवा उपाध्यक्षमा दुई हजार आठ सय २३ मत ल्याएर बिजय वाईवा निर्वाचित भए । निकटत प्रतिद्धन्द्धी नवराज न्यौपानेले दुई हजार सात सय ६९ र सुबोध रेग्मीले दुई हजार ५२ मत पाए ।

महासचिवमा मोहन न्यौपाने चार हजार १३ मत ल्याएर निर्वाचित भए । निकटतम प्रतिद्वन्द्वी अनुप खनालले तीन हजार एक सय ५८ मत पाए ।
सचिवमा सूर्य वस्ताकोटी निर्वाचत भए । वस्ताकोटीले दुई हजार छ सय २३ मत ल्याउदा उनका निकटतम प्रतिद्वन्द्वी बासुदेव भट्टले दुई हजार तीन सय ६५ मत र सुभाष बैठाले एक हजार नौ सय ९३ मत पाए ।

कोषाध्यक्षमा रविन्द्र उप्रेती तीन हजार नौ सय ४६ मत ल्याएर निर्वाचित भए । उनका निकटतम प्रतिद्वन्द्वी महेन्द्र बस्नेतले तीन हजार छ सय १५ मत पाए ।

युवा संयोजकमा सनसार चौलागाई तीन हजार नौ सय ७१ मत ल्याएर बिजयी भए । निकटतम प्रतिद्वन्द्वी बिकी थापाले तीन हजार पाँच सय ८२ मत ल्याए ।

महिला संयोजकमा करिना कुँवर चार हजार तीन सय ६८ मत सहित बिजयी भईन् । पराजित सरस्वती शर्माले तीन हजार दुई सय ३९ मत पाईन् ।

बोर्ड अफ डाईरेक्टरमा सन्तोष लम्साल (४३९६), माधव गौतम (४१४१), बाबुराम काफ्ले (३७६१), ध्रुव गौतम (३७२१), राजु शाह (३५४६), ईन्द्रकान्त चौधरी (३३९२), ओम विश्वकर्मा (३३०९) र हेम बहादुर ठकुल्ला (३२३१) बिजयी भए ।

 

रवि लामिछानेको स्वास्थ्यमा समस्या, रगतको नमूना परीक्षणका लागि लगियो वीर अस्पताल

काठ्माण्डौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको स्वास्थ्यमा समस्या देखिएको छ। पार्टीका उपसभापति डिपी अर्याल (डोलप्रसाद) ले उनको स्वास्थ्यमा समस्या देखिएको बताएका हुन्।

‘सभापतिलाई नख्खु ल्याउँदै गर्दा म भारतमा थिएँ। भारतको हैदरावादबाट आज बिहान मात्रै काठमाडौं आएँ। लगत्तै सभापतिलाई भेट्न आएँ। उहाँको स्वास्थ्यमा केही समस्या हो कि भन्ने देखिएको छ,’ उनले भने।

सभापति लामिछानेलाई भेट्न सोमबार दिउँसो उपसभापति अर्याल नख्खु कारागार पुगेका थिए।

कारागार स्रोतले पनि सभापति लामिछानेको स्वास्थ्यमा समस्या देखिएको जानकारी दियो। सभापति लामिछानेलाई जन्डिस (कमलपित्त)को आशंका गरिएको छ। जन्डिसको आशंका हुनेबित्तिकै उनको रगतको नमूना परीक्षणका लागि वीर अस्पताल लगिएको कारागार स्रोतले बतायो।

‘उहाँलाई जन्डिसको आशंका गरिएको छ। रगत झिकेर परीक्षणका लागि नमूना वीर अस्पताल लगिएको छ,’ कारागार स्रोतले भन्यो।

सहकारी ठगी प्रकरणमा पुपर्क्षका लागि थुनामा रहेका सभापति लामिछानेलाई गत शनिबार रूपन्देहीबाट ललितपुरको नख्खु ल्याइएको थियो।

विद्यालय शिक्षा विधेयकको प्रतिवेदन समितिमा पेस

काठमाडौं । विद्यालय शिक्षा विधेयकको प्रतिवेदन शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा पेस भएको छ । सोमबार समितिका सचिव दशरथ धमलाले प्रतिवेदन बैठकमा पेस गरेका हुन् ।

प्रतिवेदनमा कुल १७४ वटा दफा छन् । १४ वटा दफा थप गरिएका छन् । ९८ दफा संशोधन गरी चारवटा दफा हटाइएको सचिव धमलाले जानकारी दिए ।

शिक्षामन्त्रीकाे प्रस्ताव– निजी विद्यालयले दिने आवासीय सुविधासहितको छात्रवृत्ति नियमावलीमा राखौँ

काठमाडौं । शिक्षामन्त्री रघुजी पन्तले निजी विद्यालयले दिने आवासीय सुविधासहितको छात्रवृत्ति नियमावलीमा राख्न प्रस्ताव गरेका छन् । सोमबार प्रतिनिधिसभाअन्तर्गतको शिक्षा समितिको बैठकमा मन्त्री पन्तले यस्तो प्रस्ताव गरेका हुन् ।

“निजी विद्यालयले दिने आवासीय सुविधासहितको छात्रवृत्ति नियमावलीमा राखौँ,” मन्त्री पन्तले प्रस्ताव गरे ।

आवासीय सुविधा कानुनमैभन्दा पनि त्यसलाई नियमावलीमा राख्न आग्रह गरे ।  “मन्त्रालयलाई विश्वास गर्नुस्, त्यसलाई नियमावलीमा राखेर जाउँ । संविधानकाे तीनखम्बे अर्थनीति छ,” उनले भने ।

खोज्नुहोस