खुटिया खोलामा एकैसाथ अस्ताए जुम्ल्याहा दाजुभाइ

कैलाली १२ भदौ ।
कैलालीको गोदावरी नगरपालिका–९, सेहरी झोलुंगे पुल नजिक खुटिया खोलामा बिहीबार दिउँसो जुम्ल्याहा दाजुभाइको ज्यान गएको खुलेको छ । साथीको जन्मदिन मनाउन गएका सात किशोरमध्ये चार जनाले खुटिया खोलामा डुबेर ज्यान गुमाएका थिए ।
मृतकमध्ये धनगढी उपमहानगरपालिका–४ का १६ वर्षीय जेफ भण्डारी र जाबेज भण्डारी जुम्ल्याहा हुन् । जोयल भण्डारी र क्रान्ति भण्डारीका जुम्ल्याहा दुई सन्तान थिए । दुबै जनाको जीवन पनि एकैसाथ खुटिया खोलामा अस्तायो । यो असह्य पीडाले भण्डारी परिवारमात्र होइन, पूरै धनगढी शोकमा डुबेको छ ।
प्रहरीको विवरण अनुसार भण्डारीसँगै मृत्यु हुनेमा धनगढी–४ तारानगरका डिल्लीराज जोशी र हरिप्रिया जोशीका १७ वर्षीय छोरा सक्षम जोशी, धनगढी–५ जाइका बलिराम चौधरी र सोनदेवी चौधरीका १५ वर्षीय छोरा प्रतीक चौधरी रहेका छन् ।
मृत्यु भएकाहरु मध्ये प्रतिक, सक्षम जोशी र जावेज वाल्मीकि इन्टरनेसनल धनगढीमा र जेफ ग्यालेक्सी उच्च माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत थिए । जेफ र जाबेज जुम्ल्याहा दाजुभाई हुन् ।
घटनास्थलमै पुगेका इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) रणबहादुर चन्दका अनुसार दिउँसो साढे १२ बजेतिर किशोरहरू नदीमा पसेका थिए । खोलाको बेगसँगै विपत्तिमा परेका उनीहरूको शव स्थानीयवासी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सहयोगमा करिब चार घण्टापछि, अपराह्न ४ बजे फेला परेको थियो ।
डीएसपी चन्दले भने, ‘सातै जना साथीले जन्मदिनको रमाइलो गर्दै खाना खाएपछि वारिपट्टी फर्कने क्रममा डुबेका हुन् । एक जना डुबेपछि बचाउन खोज्दा अन्य तीन जनाको पनि ज्यान गएको देखिन्छ । बाँकी तीन जना भने पारिपट्टी नै रोकिएका कारण सकुशल रहे ।ु
समूहमा सहभागी सात जनामध्ये नवीन डडाल, युवराज कुँवर र आकाश मल्ल भने सकुशल रहेका छन् । उनीहरूलाई घटनास्थल नजिकै अर्धनग्न अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । शव अहिले सेती प्रादेशिक अस्पतालमा पोस्टमार्टमका लागि राखिएको छ । परीक्षणपछि परिवारको जिम्मा लगाइने प्रहरीले जनाएको छ ।