साथीको जन्मदिन मनाउन गएका थिए खुटियामा मृत फेला परेका चार किशोर

द एभरेष्ट पोष्ट
१२ भदौ २०८२ १७:२७
साथीको जन्मदिन मनाउन गएका थिए खुटियामा मृत फेला परेका चार किशोर

धनगढी  । कैलालीमा साथीको जन्मदिन मनाउन गएका चार किशोरको खुटिया खोलामा डुबेर मृत्यु भएको छ। गोदावरी नगरपालिका–९, शहरी झुलोंगे पुल नजिक बिहीबार दिउँसो नुहाउने क्रममा उनीहरूको मृत्यु भएको हो। इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी रणबहादुर चन्दका अनुसार मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–४ का १७ वर्षीय सक्षम जोशी, १६ वर्षीय जेव भण्डारी, १७ वर्षीय जाबेज भण्डारी र १५ वर्षीय प्रतिक चौधरी रहेका छन्।

“साथीहरूको समूह जन्मदिन मनाउन गएको थियो। खोलामा नुहाउने क्रममा उनीहरू हात समातेर तर्न खोज्दा ४ जना गहिरो भागमा फसे। हात छुटेपछि अन्य तीन जना बचे,” डिएसपी चन्दले भने। उनका अनुसार किशोरहरू दिउँसो साढे १२ बजे वेपत्ता भएका थिए भने स्थानीयवासी, प्रहरी र सशस्त्र प्रहरीको सहकार्यमा खोजी गर्दा उनीहरूको शव अपराह्न साढे ४ बजे फेला परेको हो।

उनीहरू सँगै गएका १७ वर्षीय नबिन डडाल, १७ वर्षीय युवराज कुवर र १७ वर्षीय आकाश मल्ल भने सकुशल रहेका छन्। मृतकहरूमध्ये तीन जना बाल्मिकी इन्टरनेशनल स्कुल र एक जना ग्यालेक्सी स्कुलमा कक्षा ११ मा अध्ययनरत रहेको प्रहरीले जनाएको छ। घटनापछि स्थानीय शोकमा डुबेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस