राजनीतिमा फर्कने बाटोमा ओली नै बाधक बनेको पूर्वराष्ट्रपति भण्डारीको आरोप

द एभरेष्ट पोष्ट
१० भदौ २०८२ १५:५०
राजनीतिमा फर्कने बाटोमा ओली नै बाधक बनेको पूर्वराष्ट्रपति भण्डारीको आरोप

काठमाडौं : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई सक्रिय राजनीतिमा फर्कनबाट रोक्न खोजेको आरोप लगाएकी छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता मनिष झासँगको भेटमा भण्डारीले पहिले राजनीतिमा आउन बाटो खुला रहेको बताएका ओलीले अहिले आफ्नो बोली फेरेको गुनासो गरेकी हुन्।

बुधबार बिहान भण्डारी निवास भंगालमा भएको भेटवार्तापछि प्रवक्ता झाले सञ्चारकर्मीसँग कुरा गर्दै भण्डारीको भनाइ उद्धृत गरे, ‘म राजनीतिक रूपमा अगाडि बढिसकेँ, अब नफर्कने। अस्तिसम्म केपी ओलीले नै पूर्वराष्ट्रपति राजनीतिमा आउन मिल्छ भनेर अन्तर्वार्ता दिनुभएको छ। अहिले उहाँले आफैँ बोली फेरेर मलाई रोक्दै हुनुहुन्छ।’

भण्डारीले आफू एमालेबाटै राजनीतिमा अघि बढ्न चाहेको स्पष्ट पारेको पनि झाले जानकारी दिए। केही समयअघि अध्यक्ष ओलीले एक अन्तर्वार्तामा पूर्वराष्ट्रपतिलाई राजनीतिमा आउन कुनै बाधा नभएको र त्यो बेकारको कुरा भएको बताएका थिए, जुन भिडियो अहिले सामाजिक सञ्जालमा पुनः चर्चामा आएको छ।

यद्यपि, रास्वपा प्रवक्ता झाले भेटवार्तापछि जारी गरेको औपचारिक प्रेस नोटमा भने यो विषय उल्लेख गरिएको छैन। प्रेस नोटमा भेटलाई ‘राजनीतिक शिष्टाचार’ र ‘राजनीतिक संवादको सुरुवात’ भनिएको छ।

‘आज बिहान उहाँको निवासमा १० बजेदेखि साढे ११ बजेसम्म लगभग डेढ घण्टाको कुराकानी छलफल भयो,’ प्रेस नोटमा भनिएको छ, ‘वर्तमान असाधारण राजनीतिक अवस्थाबारे उहाँको सरोकार र यसको समाधानको आवश्यक पहलबारे छलफल भयो।’

प्रेस नोटअनुसार, पूर्वराष्ट्रपति भण्डारीले सहकारी प्रकरणलाई समाधान गर्नुको साटो अनावश्यक राजनीतिक मुद्दा बनाएकोमा चिन्ता व्यक्त गर्दै गृहमन्त्री रवि लामिछानेप्रति सद्भाव रहेको बताएकी थिइन्।

साथै, उनले नयाँ पुस्ता राजनीतिमा आउनुलाई सकारात्मक रूपमा लिँदै आफूले अभिभावकको भूमिका निर्वाह गर्न र उनीहरूलाई सघाउन तयार रहेको प्रतिबद्धता व्यक्त गरेकी थिइन्।

भेटघाट र संवादलाई निरन्तरता दिने आशय व्यक्त भएको प्रेस नोटमा उल्लेख भए पनि भेटपछि बाहिरिएको अध्यक्ष ओलीप्रतिको टिप्पणीले एमालेभित्रको शक्ति सन्तुलन र भण्डारीको राजनीतिक भविष्यबारे नयाँ बहस सिर्जना गरिदिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस