आयोगको निर्णयपछि रञ्जिताले भनिन्- नाउपालाई एकता र सुधारतर्फ लैजान्छु

द एभरेष्ट पोष्ट
२९ साउन २०८२ १२:४४
आयोगको निर्णयपछि रञ्जिताले भनिन्- नाउपालाई एकता र सुधारतर्फ लैजान्छु

कैलाली ।  नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रन्जिता श्रेष्ठ नै कायम भएकी छन् । रन्जिता श्रेष्ठलाई हटाउँदै नाउपामा एक समूहले राष्ट्रिय भेला मार्फत लालवीर चौधरीलाई अध्यक्ष तोकेको थियो । तर, चौधरीलाई अध्यक्ष बनाइ अद्यावधिकका लागि दिइएको निवेदन निर्वाचन आयोगले अस्वीकृत गरेको छ ।

श्रेष्ठले आयोगको निर्णयलाई ‘जिम्मेवारीपूर्वक ग्रहण’ गरेको बताएकी छन् । नेपाल प्रेससँगको संक्षिप्त कुराकानीमा श्रेष्ठले आफू संस्थापक अध्यक्षको हैसियतमा पार्टीलाई विधि, विधान र नियमअनुसार अघि बढाउने प्रतिबद्धता जनाइन् ।

‘अबको प्राथमिकता व्यक्तिगत विवाद होइन, पार्टीको एकता र जनताको मुद्दा हो,’ उनले भनिन् ।

आयोगको निर्णयलाई उनले न्यायिक र वैधानिक प्रक्रिया अन्तर्गत आएको भन्दै संगठनलाई विधिको बाटोमा अघि बढाउने अवसरका रूपमा लिएको बताइन् । कारबाहीका सवालमा श्रेष्ठले व्यक्तिगत रिस-ईर्श्या होइन, पार्टीको हित र अनुशासनलाई आधार मानेर मात्र कदम चाल्ने प्रष्ट्याइन् ।

नाउपामा देखिएको आन्तरिक विवादबारे उनले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर नियम र सहमतिअनुसार अघि बढे समस्या समाधान हुने बताइन् । पारिवारिक सम्बन्ध र राजनीतिक जीवन अलग-अलग रहेको उल्लेख गर्दै श्रेष्ठले ‘पार्टीभित्र सबै बराबरीका सदस्य हुन्, चाहे उनीहरू आफन्त हुन् वा नहुन्’ भनिन् ।

निर्वाचन आयोगको निर्णयपछि अध्यक्षको जिम्मेवारी आफूले वहन गरिरहेको बताउँदै श्रेष्ठले पार्टी सञ्चालनमा सहकार्य, जिम्मेवारी बाँडफाँट र सामूहिक नेतृत्वलाई निरन्तर प्राथमिकता दिने प्रतिबद्धता जनाइन् ।

यसैगरी श्रेष्ठले प्रतिपक्षमा बस्ने निर्णय रेशम चौधरीको सल्लाहमा लिएको बताएकी छन् ।

‘यो निर्णय २२ गते साँझ ७ बजे बानेश्वरमा संसदीय दलका नेता गंगाराम चौधरीज्यूले बोलाएको बैठकमा कैलालीबाट पार्टीका संरक्षक रेशम चौधरीज्यूको सल्लाहमा लिइएको हो । संसदीय दलको निर्णय संसदभित्र वैधानिक मान्यता पाउने व्यवस्था छ’, उनले भनिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस