ट्रम्पद्वारा वाशिङ्गटन डिसीमा आपतकाल घोषणा, प्रहरी संघीय नियन्त्रणमा

द एभरेष्ट पोष्ट
२८ साउन २०८२ १३:०६
ट्रम्पद्वारा वाशिङ्गटन डिसीमा आपतकाल घोषणा, प्रहरी संघीय नियन्त्रणमा

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वाशिङ्गटन डिसीमा सार्वजनिक सुरक्षा आपतकाल घोषणा गर्दै राजधानीको प्रहरी विभाग (एमपीडी) लाई संघीय नियन्त्रणमा लिएका छन्। यो कदमसँगै वाशिङ्गटनका सडकहरूमा ठूलो संख्यामा प्रहरी अधिकारी र एफबीआई एजेन्टहरू तैनाथ गरिएको छ, जसले शहरमा आपराधिक गिरोहहरूलाई नियन्त्रणमा लिने भनिएको छ।

पत्रकारहरूलाई सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले भने, ‘डिस्ट्रिक्ट अफ कोलम्बिया होम रुल एक्टको प्रयोग गर्दै हामी वाशिङ्गटन डिसी प्रहरी विभागलाई संघीय नियन्त्रणमा लिइरहेका छौँ। तपाईंहरू लुटपाट, बलात्कार, गोली प्रहार वा हत्या भएको हेर्न चाहनुहुन्न होला।’ ट्रम्पले वाशिङ्गटन डिसीको हत्या दर ‘पृथ्वीको सबैभन्दा खराब ठाउँहरू’ भन्दा पनि बढी भएको र कार चोरीका घटनामा पनि वृद्धि भएको दाबी गरे। यद्यपि, प्रहरीको तथ्याङ्कले हालैका वर्षहरूमा हिंसात्मक अपराधमा कमी आएको देखाएको छ।

राष्ट्रपति ट्रम्पले राजधानीमा ‘हिंसक गिरोह, रक्तपिपासु अपराधी, लागुऔषध दुर्व्यसनी र घरबारविहीन व्यक्तिहरू’ ले कब्जा जमाएको आरोप लगाएका छन्। उनले एक पूर्व कर्मचारीमाथि भएको आक्रमणको उल्लेख गर्दै भने- ‘बदमाशहरूको समूहले उनलाई निर्दयीपूर्वक पिटेको र रगतले लतपतिएको अवस्थामा छाडेको थियो।’

राष्ट्रपतिले सरकारी कर्मचारी, एक डेमोक्र्याटिक सांसद र एक इन्टर्नमाथि पनि आक्रमण भएको बताउँदै यसले सरकारको काममा बाधा पुगेको र अमेरिकाका लागि खतरा उत्पन्न भएको बताए। यो निर्णय डिस्ट्रिक्ट अफ कोलम्बिया होम रुल एक्टको धारा ७४० अन्तर्गत लिइएको हो, जसले राष्ट्रपतिलाई आपतकालीन अवस्थामा प्रहरी बललाई संघीय उद्देश्यका लागि प्रयोग गर्ने अधिकार दिन्छ। यस कदमलाई वाशिङ्गटन डिसीका स्थानीय अधिकारीहरूले चिन्ताजनक भनेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस