रवि लामिछाने गृहमन्त्री हुँदा सबैभन्दा धेरै भिजिट भिसाको आडमा मान्छेहरू बेचविखन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भिजिट भिसा दुरुपयोग प्रकरणमा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउनुपर्नेमा आफूहरू पनि स्पष्ट रहेको बताएका छन् । बुधवार प्रतिनिधिसभाको बैठकमा बोल्दै शर्माले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र संसदीय छानबिन समितिले यस विषयमा काम गरिरहेको जनाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रक्रिया बाहिर गएर विरोध जनाउनु उचित नहुने टिप्पणी गरे ।
शर्माले पछिल्ला पाँच गृहमन्त्रीको कार्यकालका तथ्याङ्क प्रस्तुत गर्दै सबैभन्दा धेरै भिजिट भिसामा नागरिक विदेश गएको रवि लामिछाने गृहमन्त्री भएको छोटो अवधिमा भएको उल्लेख गरे । उनले भने, ‘सबैभन्दा धेरै भिजिट भिसामा मानिस विदेश गएको तपाईंकै सभापति गृहमन्त्री भएका बेला हो । अब के यसै आधारमा भन्न सकिन्छ कि मानव तस्करीकै सबैभन्दा ठूलो लहर रविजीको पालामा भएको हो ?’
शर्माले भावनामा बहकिएर, अराजक शैली अपनाएर र जिद्दी अडान राखेर विषयलाई राजनीतिकरण गर्नुको सट्टा संवैधानिक निकायहरूले अगाडि बढाएको प्रक्रियालाई सहयोग गर्न र विधिको शासनमा विश्वास गर्न आग्रह गरे ।