भक्तपुरमा एउटै डोरीमा झुण्डिएको अवस्थामा दिदीबहिनी मृत फेला

भक्तपुर : मध्यपुर थिमि नगरपालिका–९ सिन्टीटारमा दुई किशोरी मृत अवस्थामा फेला परेका छन् । स्थानीय निरज चक्रधरको घरको भुइँ तलामा डेरा गरी बस्दै आएका सुर्खेत पञ्चपुरी नगरपालिका–८ की १७ वर्षीया मेनुका कँडेल र १५ वर्षीया सिर्जना कँडेल मृत्य अवस्थामा भेटिएका हुन्।

उनीहरू सोही घरको प्यासेजमा एउटै डोरीमा झुन्डिएरको अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता ढुण्डिराज न्यौपानेले जानकारी दिए। मेनुका र सिर्जना एकै घरका दिदीबहिनी भएको प्रहरीले जनाएको छ।

घरधनीका अनुसार दुई साताअघिमात्र ती किशोरीहरू डेरामा बस्न आएका थिए । परिवारसँग भारतको मुम्बइमा बस्दै आएका उनीहरू १५ दिनअघि मात्रै काठमाडौं आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। मृतकका बुवा मुम्बइबाट काठमाडौं आउँदै गरेको र उनी आइसकेपछि मात्रै घटनास्थलको मुचुल्का हुने प्रहरीले जनाएको छ।

बाजुरामा पक्की पुलको तीन वर्षमा एक पिलर मात्र निर्माण

बाजुरा । बाजुरा जिल्लाको हिमाली र मुगुको खत्याड गाउँपालिका बीचमा पर्ने कर्णाली नदिको झुगोलामा निर्माण हुन थालेको पक्की पुलको तीन वर्षमा एक पिलर मात्र निर्माण भएको छ । २०८१ साल मङ्सिरमा काम सम्पन्न गर्ने गरी २०७९ साल मङ्सिरमा कुशेश्वर कन्ट्रक्सन प्रालिसँग सम्झौता भएको थियो ।

आर्थिक वर्ष २०७८र०७९ सालको मङ्सिरमा पुलको काम सुरु गरेको निर्माण कम्पनीले २०८२र०८३ साउनको पहिलो हप्तासम्म एक पिलर मात्र निर्माण गरेको छ ।

बाजुरादेखि मुगु रारा हुँदै कर्णाली प्रदेशका सबै जिल्ला जोडिने गरी भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय कर्णाली प्रदेश सरकारले कर्णाली नदिको झोगलामा पक्की पुल निर्माणका लागि झण्डै १४ करोड ४९ लाख रकम विनियोजन गरेको थियो ।

केही वर्ष पहिला झोगलामा बेलिब्रिज पुल निर्माण गरिएको थियो । अहिले यही पुलदेखि बाजुरा र मुगुमा यातायातका जिप, ट्याक्र र ट्रकलगायतका सावारी साधन सुचारु हुने गरेको छ । यद्यपि झोगलामा पक्की पुल चाँडो निर्माण भए सवारी साधन सञ्चालनका लागि थप सहज हुने स्थानीयवासीको भनाइ छ ।

२०७८ सालमा सम्झौता भए पनि सरकारले डिजाईन स्टिमेट निर्माण गर्दा निकै ढिलाइ गरेपछि पुल निर्माणको काममा ढिलाइ भएको कुशेश्वर कन्ट्रक्सन प्रालि काठमाडौँका ठेकेदार जयराज घलेले बताए ।

उनले भने, “अरुभन्दा कर्णाली नदीमा पुल निर्माण गर्न निकै गाह्रो छ । यहाँ असारदेखि भदौसम्म पानीको निकै बहाव बढ्छ । पुसमा बल्ल त्यो पानीको बहाव घट्छ । अर्को यहाँ काम गर्दा केही सामान बिग्रियो भने पनि त्यो समान सपारेर यहाँसम्म पुर्‍याउन तीनरचार महिना लाग्छ ।”

अहिले एक वर्षको म्याद पुन थप गरेको छ । आगामी २०८२ सालको चैतभित्र पुल निर्माणको काम सम्पन्न गर्ने गरी यती बेला काम तीव्र रुपमा भइरहेको ठेकेदार घलेले बताए ।

यो योजना प्रदेश सरकारबाट आएकोले यसको काम कहिले सुरु भएको हो । कहिले सम्म काम सम्पन्न गर्नुपर्ने हो त्यो सबै कुरा पूर्वाधार विकास कार्यालयलाई मुगुलाई नै थाहा हुने खत्याड गाउँपालिका अध्यक्ष अजबहादुर मल्लले बताए ।

एनआरएनए नेदरल्याण्ड्सको अध्यक्षमा पोखरेल र आईसीसी सदस्यमा सापकोटा निर्वाचित

नेदरल्याण्ड्स, ८ साउन ।

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद नेदरल्याण्ड्सको ११ औं राष्ट्रिय अधिवेशनले विष्णु पोखरेलको नेतृत्वमा नयाँ कार्य समिति चयन भएको छ । अधिवेशनबाट आईसिसी सदस्यमा सिता सापकोटा चयन भएकी छन ।

बुधवार सम्पन्न अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा पेमा लामा, उपाध्यक्षमा थमन बहादुर कार्की, प्रेम पुन, महिला उपाध्यक्षमा इन्द्र कुमारी सापकोटा, युवा उपाध्यक्षमा अनिल कार्की, महासचिबमा दिनेश अर्याल, सचिवमा पुण्य प्रसाद वस्ती (प्रनिल), कोषाध्यक्षमा संदीप बिश्वकर्मा, युवा संयोजकमा आशिष उपाध्याय, महिला संयोजकमा कुमारी पौडेल थापा निर्वाचित भइन् । त्यस्तै सदस्यमा डम्बर कुमार कोइराला, निरज गुरुङ, सुरेन्द्र पराजुली निर्वाचित भए  ।

निर्वाचन समितिका संयोजक नारायण आचार्यले विशेष स्थानका लागि नयाँ समितिको सदस्यमा अमिर गुरुङलाई मनोनीत गरिएको र अन्य रिक्त विभिन्न पदमा नयाँ कार्यसमितिले सदस्य मनोनीत गर्ने बताए ।

गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय समितिका यूरोप उप संयोजक मीम पुर्जाको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा  संस्थापक अध्यक्ष शशिकान्त पौडेल, प्रमुख संरक्षक नारायण आचार्य, इनास ग्लोबलका संस्थापक अध्यक्ष पुष्प बरुवाल विशेष अतिथि रहेका थिए ।

अधिवेशनमा  एनआरएनए नेदरल्याण्ड्सका पूर्व अध्यक्ष ठाकुर प्रसाद शर्मा (मनोहरी), जनसम्पर्क समिति नेदरल्याण्ड्सका अध्यक्ष सालिक गौतम,  पत्रकार महासंघ यूरोप शाखाका उपाध्यक्ष द्रोण रिजाल लगायतको उपस्थिति रहेको थियो ।

एनआरएनए नेदरल्याण्ड्सका अध्यक्ष थानेश्वर कडेंलको अध्यक्षतामा सम्पन्न ११ औं अधिवेशनमा बिधान संसोधन समितिका संयोजक सालिक गौतमले संसोधित प्रतिवेदन पेश गरेका थिए । संघकी पूर्व महासचिव तथा उपाध्यक्ष सिता कुमारी थापाले संघको प्रगति प्रतिवेदन र महिला संयोजक सरोजा ढकाल गिरीले प्रगती प्रतिवेदन र कोषाध्यक्ष कमाल रसाइलीले आर्थिक प्रतिवेदन पेस गरेका थिए ।

बार्जुकोट भ्युटावर निर्माण अलपत्र

बाजुरा । बाजुरामा पर्यटकीय क्षेत्रको रूपमा निर्माण गरिएको बुढीगङ्गा नगरपालिका–४, बार्जुकोट भ्युटावर अलपत्र परेको छ । आन्तरिक तथा बाह्य पर्यटकहरूलाई भित्र्याउने तथा यहाँका स्थानीयको आर्थिक स्तर उन्नती गर्ने उद्देश्यले निर्माण गरिएको बार्जुकोट भ्युटावर निर्माण गरिएको थियो ।

आर्थिक वर्ष २०७७(७८ सालमा निर्माण कार्य सुरु गरिएको बार्जुकोट भ्युटावरको काममा लापरबाही भएपछि अहिले त्यो अलपत्र परेको हो । पर्यटकीय क्षेत्रको रूपमा रहेको सो टावर निर्माणको काम सम्पन्न नहुँदा अलपत्र रहेको बुढीगङ्गा नगरपालिका–४ का स्थानीय रामचन्द्र गिरीले बताए ।

उनले भने, “यो टावरभन्दा त यहाँ रहेको पहिलाको दरबारलाई नै निर्माण गरिदिएको भए बरु त्यसमा अहिले वयोवृद्ध युवायुवतीहरू हेर्नेका लागि आउने जाने गर्थे । त्यसलाई सङ्ग्राहलयको रूपमा पनि लिन सकिन्थ्यो । ”

यो काम न काजको भ्युटावर निर्माण गरेपछि अहिले यहाँका किशोर किशोरीहरू यसमा आएर मदिरा र धूम्रपान सेवन गर्ने गरेको गिरीले बताए । टावर निर्माण गरेपनि त्यसको काम सम्पन्न हुनु पर्ने हो । तर यो ठड्याउने काम मात्र भयो । लामो समय देखि काम सम्पन्न भएन ।

टावर सञ्चालनमा नल्याउँदा कतिपयका लागि अहिले यो गलत क्रियाकलाप गर्ने ठाउँको रूपमा रहेको छ । अहिले यो टावरमा १५ देखि २५ वर्ष उमेरका केटाकेटी बिहान, दिउँसो र रातिसम्म जाँडरक्सी लगायत धूम्रपान तथा मद्यपान गरेर त्यहीँ समय बिताउने गर्छन् ।

करिब पाँच वर्षदेखि बार्जुकोट भ्युटावर निर्माणको काम अलपत्र छ । टावर निर्माण सम्पन्न तथा सञ्चालन गर्ने विषयमा कसैले चाँसो लिएका छैनन् । यता टावर वन तथा पर्यटन विकास कार्यक्रम अन्तर्गत पर्ने भएकाले यसको रेखदेख डिभिजन वन कार्यालयले गरेको बुढीगङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय नरेन्द्र नाथले बताए।

प्रदेश सरकार अन्तर्गतको पर्यटन विकास मन्त्रालयको आर्थिक सहयोगमा आव २०७७र७८ मा बार्जुकोटमा भ्युटावर निर्माणको काम सुरु गरिएको थियो ।

ऐतिहासिक तथा पुरातत्वको दृष्टिकोणले महत्त्वपूर्ण मानिएको आर्जुकोट दरबार क्षेत्रमा निर्माण गरिएको भ्युटावर निर्माणका लागि आव २०७७(७८ मा ३५ लाख र आव २०७८(७९ दोस्रो वर्ष ५० लाख रुपियाँ बजेट विनियोजन गरिएको समितिका सचिव डम्मर रावत बताए ।

उनले भने, “टावर निर्माण उपभोक्ता समितिले उक्त रकमबाट पहिलो वर्ष चार लाख र दोस्रो वर्ष ३० लाख रुपियाँ भुक्तानी लिए पनि ७५ प्रतिशत काम सम्पन्न गरेको छ ।’’

रकम अपुग भएका कारण टावर निर्माण अलपत्र परेको हो । निर्माणको काम रोकिएपछि झ्यालढोका तोडफोड गरेका छन् । त्यसको रेखेदेख तथा सुरक्षा गर्न पनि बजेट नभएको अवस्था छ । स्थानीयवासीको ७५ प्रतिशत लगानीमा टावर निर्माण गर्नुपर्ने अवस्था आएको समितिका सचिव रावतले बताए । आव २०५८(५९ सालमा सशस्त्र द्वन्द्वको बेला नेकपा माओवादी पक्षबाट भत्काइएको बार्जुकोट दरबारमा भ्युटावर निर्माण गर्नुभन्दा दरबार नै निर्माण गरिदिएको भए राम्रो हुने तथा सङग्रालय बनाउन सहज हुने थियो ।

भ्युटावर सञ्चालन गर्ने निकाय सक्रिय नहुँदा विकृति बढ्दै गएको र अहिले बाटोमा हिँड्न पनि डरलाग्दो भएको गुनासो स्थानीयवासीको छ । आर्थिक वर्ष २०७७(७८ सालको योजनाहरूमा भ्रष्टाचार भएको उजुरीपछि अख्तियार दुरुपयोग अनुसन्धानको टोलीबाट छानबिन भइरहेको डिभिजन वन कार्यालय बाजुराका सुचना अधिकारी सुभाष ऐडीले बताए ।

उनले भने, “योजनाको त्यो बेला सुरु गरिएका सबै योजनाको काम कमसल भएको समाचारमा आएपछि अहिले उनीहरूको धरौटी रोकिएका छन् ।” योजनाको काम कमसल भयो भनेर अख्तियारले फाइल नै तानेपछि अहिले त्यो बेलाका सबै योजनाको धरौटी रोकिएको सुचना अधिकारी ऐडीले बताए ।

कैलालीमा चैते धान उत्पादन वृद्धि

कैलाली । कैलालीमा यस वर्ष चैते धान उत्पादनमा वृद्धि भएको छ । गत वर्षको तुलनामा यस वर्ष चैते धान उत्पादनमा दुई हजार ३८० मेट्रिकटनले वृद्धि भएको जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ ।

केन्द्रका सूचना अधिकारी दुर्गाप्रसाद ओझाले गत वर्ष जिल्लामा पाँच हजार ७२० मेट्रिकटन चैते धान उत्पादन भएकामा यस वर्ष आठ हजार १०० मेट्रिकटन उत्पादन भएको जानकारी दिए । उनले भने, “गत वर्षको तुलनामा यस वर्ष चैते धानखेतीको क्षेत्रफल पनि बढेको छ । जसले गर्दा उत्पादनमा वृद्धि भएको हो ।”

जिल्लामा गत वर्ष एक हजार १०० हेक्टर जग्गामा चैते धानखेती गरिएकामा यस वर्ष एक हजार ५०० हेक्टरमा खेती गरिएको उनले जानकारी दिए । सूचना अधिकारी ओझाका अनुसार यस वर्ष चैते धानको उत्पादकत्वसमेत वृद्धि भएको छ । गत वर्ष चैते धानको उत्पादकत्व पाँच दशमलव दुई मेट्रिकटन प्रतिहेक्टर रहेकामा यस वर्ष पाँच दशमलव चार मेट्रिकटन प्रतिहेक्टर पुगेको हो ।

सबैभन्दा बढी भजनी नगरपालिकामा चैते धानखेती गर्ने गरिएको बताउँदै उहाँले जिल्लाका अति डुबान प्रभावित हुने अन्य क्षेत्रका किसानले चैत धानखेती गर्दै आएका उललेख गरे । चैते धानखेतीका लागि किसानलाई ५० प्रतिशत अनुदानमा ज्ञान केन्द्रले यन्त्र उपकरण, बीउ, विषादीलगायत आवश्यक सामग्री उपलब्ध गराउँदै आएको सूचना अधिकारी ओझाले जानकारी दिए ।

लौटैया ताल पर्या-पर्यटनको नयाँ गन्तव्य बन्दै

कैलाली: कैलालीको भजनी नगरपालिका(२ स्थित राधाकृष्ण सामुदायिक वन क्षेत्रमा रहेको लौटैया ताल केही वर्ष अगाडिसम्म अस्तित्वमा थिएन । सुकुम्बासीले अतिक्रमण गरी बस्ती बसेको यस क्षेत्रमा अतिक्रमित संरचना हटाएर सामुदायिक वनका रूपमा संरक्षण गर्दै ताल निर्माण गरेपछि यो क्षेत्र पर्या(पर्यटनको नयाँ गन्तव्य बन्दै गएको हो ।

घामले पानीमा तरङ्ग खेलाइरहेको छ । तालको वरिपरि हरियाली वातावरणले अझै सौन्दर्य थपेको छ । आन्तरिक पर्यटक बोटमा चढेर तालमा रमाइरहेका छन् । यसरी रमाउने पर्यटकको सङ्ख्या दिनहुँ बढ्दै गएको छ । सामुदायिक वनका अगुवाहरूले एक दशकअघि अतिक्रमण हटाएर ताल निर्माण गरेपछि अहिले आन्तरिक पर्यटकका लागि यो ताल पर्या–पर्यटनको नयाँ गन्तव्य बन्दै गएको राधाकृष्ण सामुदायिक वनका अध्यक्ष खुमबहादुर खड्काले बताए । “तत्कालीन समयमा अतिक्रमण हटाउन त्यति सहज थिएन । अतिक्रमण हटाएको भन्दै मरणासन्न हुनेगरी कुटपिट गरेको याद ताजै छ”, उनले भने ।

खड्काले सुकुम्बासीलाई किन हटाएको भन्दै घरमा आएर आफूमाथि कुटपिट भएको स्मरण गरे । उनि यस सामुदायिक वनको स्थापना ९२०५६० देखि अध्यक्षका रूपमा छन । उनले भने, “सुरुआतमा म अध्यक्ष भएँ । बीचमा अरू पनि आए तर गाँउलेले फेरि मलाई अध्यक्ष बनाए ।” वन संरक्षणप्रतिको निरन्तर पहलका कारण तीन दशकदेखि वनमा कार्यरत रहेको खड्काले जानकारी दिए । अतिक्रमण, छाडा चरिचरण र बर्सेनि वन डढेलोका वारिपारि गाउँ देखिने वन अहिले घना हरियालीमा परिणत भएको उनको भनाइ छ ।

अहिले यो वनमा भारतको दुधुवा हुँदै आउने पाटबाघले डमरुहरू हुर्काउने गरेका अध्यक्ष खड्काले जानकारी दिए । अहिले वनमा चित्तल, बँदेल, गोहोरो, अजिङ्गरलगायत विभिन्न चराचुरुङ्गीको सुरक्षित बासस्थान छ हुनुका साथै लौटैया तालमा यी वन्यजन्तु पानी पिउन आउने गरेका उनले उल्लेख गरे ।

उनका अनुसार समूहले वनका खाली ठाउँमा बर्सेनि वृक्षारोपण गर्दै आएका छन् । वनमा बाँस, कुरिलो, सर्पगन्धालगायतका गैरकाष्ठ प्रजातिको रोपण गरिएको जनाउँदै उनले संरक्षणप्रतिको गहिरो लगाव र निरन्तरताको पहलका कारण सन् २००३ मा आफूलाई ‘अब्राहम कन्जरभेसन अवार्ड’पनि प्राप्त भएको बताए । उक्त सम्मानले आफूलाई वन संरक्षणमा थप उत्साहित बनाएको उनले धारणा राखे ।

खाली गरिएको उक्त क्षेत्रमा सानो ड्याम बनाएर प्राकृतिक रूपमा पानी जम्मा गर्नेगरी ताल बनाइएको खड्काले जानकारी दिए । “पहिले यहाँ माछापालनमा मात्रै प्रयोग हुन्थ्यो । तर हामीले ताललाई जगेर्ना गर्ने र पर्यटनसँग जोड्ने सोच बनाएर योजनाबद्ध विकास गरेका छौँ”, उनले भने।

योजनाबद्ध विकाससँगै पर्यटन प्रवर्द्धनमा केन्द्रित भएपछि आज लौटैया ताल आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको अध्यक्ष खड्काले बताए । उनका अनुसार तालको किनारैकिनार तारबार गरिएको छ । अहिले तालमा तीनवटा डुङ्गा (बोट) सञ्चालित छन् । यो ताल विद्यार्थी, स्थानीय बासिन्दा, वृद्धवृद्धा सबैको रोजाइमा पर्ने गरेको उनको भनाइ छ ।

विद्यार्थीका लागि रु १५ मा डुङ्गा चढ्न पाउने व्यवस्था गरिएको जनाउँदै पार्क निर्माण समितिका अध्यक्ष अर्जुन सोबले ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क सुविधा दिने गरिएको बताए । उनका अनुसार अन्य व्यक्तिलाई रु ३० शुल्क तोकिएको छ । सोबले भने, “दैनिक दुई सयभन्दा बढी पर्यटक यहाँ आउँछन् । सबैले पालो पाउँदैनन्, कहिलेकाहीँ डुङ्गा चढ्न नपाएर फर्किनेहरू पनि हुन्छन् ।” डुङ्गा सञ्चालन पछि दैनिक रु तीन हजारसम्म आम्दानी भइरहेको जनाउँदै उनले डुङ्गा सयर गर्न बढी विद्यर्थी आउने गरेका बताए ।

सामुदायिक वनको आम्दानी बढेसँगै स्थानीयलाई रोगजारीको अवसर पनि सृजना भएका वनका अध्यक्ष खड्काले बताए । “वनभित्र फोटो खिच्नका लागि फोटोग्राफरलाई महिनाको रु दुई हजार १०० लिनेगरी व्यवस्था गरिएको छ । नगरपालिका र वडामा दर्ता गरी फोटोग्राफरले फोटो खिच्न पाउने निर्णय गरिएको छ, जसका कारण स्थानीय युवाले रोजगारी पाएका छन्”, उनले भने ।

तालको नजिकै बन्न थालेको थारू सङ्ग्र्रहालयले लौटैया तालको महत्व बढाएको छ । सङ्घीय सरकारले रु ९० लाख र प्रदेश सरकारले रु १० लाख बजेटमार्फत सङ्ग्रहालयको संरचना निर्माण गरेको भजनी नगरपालिका–२ का वडाध्यक्ष दुर्गाबहादुर पुनले जानकारी दिए । उनले भने, “वडा कार्यालयमार्फत पनि केही रकम सहयोग गरेका छौँ । डुङ्गा सयरको सुविधासहित पार्क सञ्चालनमा आइसकेको छ । सङ्ग्रहालयको घर बन्न बाँकी छ ।”

पर्या–पर्यटनसँगै थारू कला, संस्कृतिको संरक्षणका लागि सङ्ग्रहालय बनाउन लागिएको भजनी(२ का वडाध्यक्ष पुनले बताए । उनका अनुसार हाल सङ्ग्रहालयको संरचना निर्माण अन्तिम चरणमा पुगेको छ । “भवन बन्दै छ, तर भित्र राखिने परम्परागत सामग्री, थारू जीवनशैली झल्काउने पुराना औजार र लुगाकपडा अझै सङ्कलन हुन बाँकी छ”, वडाध्यक्ष पुनले भने, “सङ्ग्रहालय बनेपछि लौटैया ताल आउनेहरूले डुङ्गा सयरका साथै थारू संस्कृति पनि नजिकबाट देख्न पाउनेछन् । यसले पर्यटकको चहलपहल झन् बढाउने छ ।”

वनका अध्यक्ष खड्काले अहिले ताल छ बिघा क्षेत्रमा फैलिएको जनाउँदै सामुदायिक वन समितिले यसलाई २० बिघासम्म विस्तार गर्ने योजना अघि सारेको बताए । कैलालीको यो सानो ताल आजभोलि सामुदायिक वनहरूमा पर्या(पर्यटनको सफल उदाहरण बन्दै गएको छ ।

यहाँ वनभोज खानआउनेहरूका लागि रु आठ सयमा भाडा, दाउँरा, पानीलगायत सामग्रीको व्यवस्था सामुदायिक वनले गर्दै आएको उल्लेख गर्दै वडाध्यक्ष पुनले यसबाट वनको आम्दानी बढ्नाका साथै स्थानीयलाई रोजगारी सृजना भइरहेको बताए ।

राधाकृष्ण सामुदायिक वनका अध्यक्ष खड्काले भने, “हामीले भर्खरै डुङ्गा सञ्चालन गरेका छौँ । यसलाई कम मूल्यमा सुविधा लिन पाउने व्यवस्था गरेका छौँ र आम्दानी पनि भइरहेको छ । त्यसैबाट वनको संरक्षणका साथसाथै फोहरमैला व्यवस्थापन र पर्या–पर्यटनका थप पूर्वाधार निर्माणमा लगानी गर्नेछौँ ।” वनमा पर्या(पर्यटनका क्षेत्रमा पूर्वाधार विस्तार गर्न थालिएको बताउँदै उनले सुरुआतमै आन्तरिक पर्यटकको रोजाइमा परेकाले आगामी दिनमा विस्तृत योजना बनाएर कार्यान्वयन गरिने उल्लेख गरे ।

वन ऐन र नियमावलीमा सामुदायिक वनमा पर्या–पर्यटन सञ्चालन गर्न सकिने प्रावधान रहेको जनाउँदै उनले सरकारले ‘सामुदायिक वनमा पर्या–पर्यटन सञ्चालन कार्यविधि’ समेत जारी गरेकाले सोहीअनुसार आगामी योजना निर्माण गरिने उल्लेख गरे ।

पानी जहाज विधेयक सर्वसम्मतिले स्वीकृत

काठमाडौँ- प्रतिनिधिसभाको आजको बैठकबाट ‘राष्ट्रियसभामा उत्पत्ति भएको पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ ।

प्रतिनिधिसभा नियमावली ७९ को नियम ११२ बमोजिम संशोधन पेस गर्न चाहने सदस्यहरूले सिंहदरबारस्थित प्रतिनिधिसभा, सङ्घीय संसद् सचिवालयमा संशोधन दिन सक्नुहुनेछ ।

टोपबहादुरको मुद्दामा साउन १८ गते पेसी तोकियो

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा दुई वर्षदेखि पुर्पक्षका लागि थुनामा रहेका नेपाल कम्युनिष्ट पार्टी (एमाले) का निलम्बित सचिव टोपबहादुर रायमाझीको मुद्दामा जाहेरीवाला र साक्षीको वकपत्र (बयान) सकिएपछि यही साउन १८ गतेका लागि पेसी तोकिएको छ ।

पूर्र्वउपप्रधानमन्त्री एवं अर्घाखाँचीबाट निर्वाचित भई हाल निलम्बित सांसद रायमाझीसहित अन्य विरूद्धको सो मुद्दामा जाहेरी र साक्षीको इन्कारी वकपत्रसँगै कागज गर्नेहरूको पनि बयान सकिएकाले यही साउन १८ गतेका लागि पेसी तोकिएको काठमाडौँ अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए ।

‘ठगी लिखत कीर्ते र राज्यविरूद्ध र सङ्गठित अपराधसम्बन्धी कसुर’ को उक्त मुद्दाको साक्षी वकपत्र प्रस्तुत गर्दै प्रेमराज पन्थीले तत्कालीन अवस्थामा जिल्ला प्रहरी कार्यालय टेकुमा जाहेरीपत्रमा हस्ताक्षर मात्र गरेको र अन्य व्यहोरा आफ्नो नभएको उल्लेख गरे ।

कानुन व्यवसायी अधिवक्ता धर्मराज रेग्मीले जिरह गर्दा पन्थीले टङ्क गुरूङको रेष्टुराँमा पटकपटक मूल प्रतिवादी सानु भण्डारी र केशव दुलालले बोलाएर जाने गरेको तर ती भेटघाटमा पूर्वमन्त्री रायमाझी र उहाँका स्वकीय सचिव लीला जिसी नरहेको लिखित बयान दिएका थिए ।

पन्थीले जाहेरी लेख्दा आफूूले ती कुरा उल्लेख नगरेको तथा आफूले एभरेष्ट होटलको चौथो तलामा सानु भण्डारीसँग मात्रै भेटेको, रायमाझीलाई नभेटेको स्पष्ट गरेको कानुन व्यवसायी अधिवक्ता रेग्मीले जानकारी दिए । उनका अनुसार पूर्वमन्त्री रायमाझीको मुद्दा २९ महिनादेखि विचाराधीन अवस्थामा छ ।

उक्त प्रकरणमा केशवप्रसाद दुलाल, सानु भण्डारी, सन्देश शर्मासमेत मूल प्रतिवादी बनाइएकामा पूर्वमन्त्री रायमाझीलाई सहायक प्रतिवादी बनाइएपछि २०८० वैशाख २० गते जिल्ला प्रहरी कार्यालय, काठमाडौँले पक्राउ पुर्जी जारी गरी विसं २०८० वैशाख ३१ गते पक्राउ गरेको थियो ।

जिल्ला अदालत काठमाडौँका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको एकल इजलासले वि.सं २०८० असार १ गतेको फैसलाबाट रायमाझीसहितलाई पुर्पक्षका लागि थुनामा राखेको थियो ।
‘धरौटीमा रिहा भई मुद्दा लड्न पाउँ’ भनी जिल्ला अदालतको फैसलाविरूद्ध रायमाझीले उच्च अदालत र सर्वोच्च अदालतमा रिट निवेदन दिएकामा जिल्ला अदालतको फैसला सदर भएको थियो ।

सोही प्रकरणमा जिल्ला अदालतको आदेशबाट पुर्पक्षका लागि थुनामा रहेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण, रायमाझीका छोरा सन्दीप रायमाझी, आङतावा शेर्पा र गोविन्द चौधरी सर्वोच्च अदालतको आदेशबाट धरौटी जमानतमा छुटेका छन् । सोही मुद्दामा सहप्रतिवादी रहेका टेकनाथ रिजालले बोलेको विषयमा उच्च अदालत, पाटनले निज रिजाल मानसिक रोगी भएको आदेश गरेको थियो ।

स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नु सरकारको प्राथमिकता : प्रधानमन्त्री ओली

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको प्राथमिकता स्वदेशमै रोजगारीको अवसर सिर्जना गरी युवालाई देशमै रोक्नु र वैदेशिक रोजगारीबाट फर्किएकालाई उनीहरूको पुँजी, सीप र अनुभवलाई उत्पादनमूलक क्षेत्रमा उपयोग गर्नु रहेको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूको प्रश्नोत्तरका क्रममा प्रधानमन्त्री ओलीले सरकारले विक्रम संवत् २०८२ देखि २०९२ लाई आन्तरिक रोजगार प्रवर्द्धन दशक घोषणा गरेको पनि स्पष्ट गरे ।

नेपालको विकासका प्रमुख क्षेत्रहरू जस्तै कृषि, उद्योग, पर्यटन, ऊर्जा एवं पूर्वाधार निर्माणको क्षेत्रमा सरकारी तथा निजी क्षेत्रबाट ठूलो लगानी भइरहेकाले ती क्षेत्रमा उल्लेखनीय रोजगारी सिर्जना हुने अवस्था रहेको उनको जवाफ थियो । उनले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रमको रुपमा पुनः संरचना गर्ने र यसलाई अझ सीपमूलक र रोजगारमूलक बनाउने नीति सरकारले लिएको जानकारी दिए ।

‘वैदेशिक रोजगारबाट फर्किएका युवाहरूलाई लक्षित गरी हाल कोशी र मधेश प्रदेशका २० पालिकामा रेमी परियोजनाअन्तर्गत पुनः एकीकरण र उद्यमशीलता प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिएको छ । जेन जी पुस्तालाई लक्षित गरी स्टार्ट अप, नवप्रवर्तन कार्यक्रममार्फत उद्यमशीलता विकासका कार्यक्रम सञ्चालन भइरहेका छन्,’ उनले भने ।

भ्रष्टाचार गर्दिनँ र गर्न दिन्न भन्ने अठोटमा आफू स्पष्ट रहेको बताउँदै उनले तथ्यका आधारमा आएका भ्रष्टाचारका घटनालाई सहन नसकिने बताए । तर कसैले आरोप लगाएकै आधारमा कारबाही भने नहुने उनले बताए ।

श्रीलङ्का पोर्टसमाथि हेल्प नेपालको सहज जित

काठमाडौँ। माल्दिभ्समा जारी सेन्ट्रल एसियन भलिबल सङ्घ (काभा) पुरुष क्लब च्याम्पियन्स लिगमा नेपालको हेल्प नेपाल स्पोर्ट्स क्लबले श्रीलङ्का पोर्टस अथोरिटीमाथि सहज जित निकालेको छ ।

लिग चरणको अन्तिम खेलमा हेल्प नेपालले पोर्टस अथोरिटीलाई ३–० को सोझो सेटमा हरायो । हेल्प नेपालले २५–१६, २५–१२, २५–२३ को नतिजा निकालेको थियो ।

जितसँगै पाँच खेलबाट ११ अङ्क बनाएको हेल्प नेपाल लिगका तेस्रो भएको छ । अब कांस्य पदकका लाथि हेल्प नेपालले पुनः पोर्टस अथोरिटीविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

यसअघि लिग चरणको अन्य खेलमा हेल्प नेपालले काजकिस्तानको झाइयक, माल्दिभ्सको धिवेही सिफाइङ्गे र क्लब एचडिसीलाई हराएको थियो । हेल्प नेपालले किर्गिस्तानको बिस्केसँग भने हार खेपेको थियो ।

इजरायली हवाई आक्रमणमा २१ प्यालेस्टाइनीको मृत्यु

काठमाडौँ । मङ्गलबार राति र बुधबार बिहान गाजा पट्टीको देइर अल–बलाह क्षेत्रमा इजरायलले गरेको हवाई आक्रमणमा परेर २१ जनाको मृत्यु भएको छ ।

मृतकमध्ये आधाभन्दा बढी महिला र बालबालिका रहेको गाजाको स्वास्थ्य मन्त्रालयले बताएको छ । प्यालेस्टाइनको यस क्षेत्रको अवस्था दिनप्रतिदिन खराब हुँदै गइरहेको छ ।

इजरायलको नाकाबन्दी र लामो समयदेखिको सैन्य कारबाहीका कारण करिब २० लाख जनसङ्ख्या भएको गाजाले भोकमरीको सामना गरिरहेको छ । राहत सामग्री वितरणको क्रममा हिंसा पनि बढेको छ ।

मङ्गलबार राति पहिलो आक्रमण गाजा शहरको उत्तर–पश्चिम क्षेत्रमा रहेको एक घरमा भएको थियो । शिफा अस्पतालका अनुसार यसमा ६ बालबालिका र दुई महिलासहित १२ जनाको मृत्यु भएको छ ।

दोस्रो आक्रमण उत्तरी गाजाको ताल अल–हवा क्षेत्रको एक अपार्टमेन्टमा भएको थियो, जसमा छ जनाको मृत्यु भएको थियो । मृतकहरूमा एक गर्भवती महिलासहित तीन बालबालिका र दुई महिला थिए । यस आक्रमणमा आठ जना घाइते भएका थिए ।

तेस्रो आक्रमण गाजा शहरको नासेर क्षेत्रमा रहेको पालमा भएको थियो, जसमा तीन बालबालिकाले ज्यान गुमाए । इजरायली सेनाले यी आक्रमणहरूबारे कुनै टिप्पणी गरेको छैन ।

मे महिनादेखि गाजामा खाना लिन खोज्दा एक हजारभन्दा बढी प्यालेस्टाइनी नागरिकको मृत्यु भएको संयुक्त राष्ट्र सङ्घको मानव अधिकार कार्यालयले मङ्गलवार भनेको थियो । धेरैजसो मृत्यु अमेरिकी समर्थित राहत वितरण केन्द्रहरू नजिकै भएका छन् ।

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार यस युद्धमा अहिलेसम्म ५९ हजारभन्दा बढी प्यालेस्टाइनी मारिएका छन् । तीमध्ये आधाभन्दा बढी महिला र बालबालिका रहेको मन्त्रालयले बताएको छ ।

यो मन्त्रालय हमास प्रशासनको हिस्सा हो, तर यसमा काम गर्ने कर्मचारीहरू पेशेवर डाक्टर र स्वास्थ्यकर्मी हुन् । संयुक्त राष्ट्र सङ्घ र अन्य अन्तर्राष्ट्रिय एजेन्सीहरूले यसको मृत्युको तथ्याङ्कलाई सबैभन्दा भरपर्दो मान्छन् ।

म भ्रष्टाचार गर्दिन र गर्न दिन्न भन्ने संकल्पप्रति दृढ छु : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘म भ्रष्टाचार गर्दिन र गर्न दिन्न भन्ने संकल्पप्रति दृढ’ रहेको बताएका छन् ।

बुधबार प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा सांसद महेन्द्र बहादुर शाहीको प्रश्नको जवाप दिँदै उनले यस्तो बताएका हुन् ।

‘म भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न भन्ने राष्ट्रिय संकल्पप्रति हामी सबै दृढ छौं’ प्रधानमन्त्री ओलीले भने ।

तथापि, कतिपयले फेसनको रुपमा लान्छना लगाउने गरेको उनले बताए । भ्रष्टाचारविरुद्ध शून्य सहनशिलताको नीति लिएर अगाडि बढेको पनि प्रधानमन्त्री ओलीले बताए ।

कसैले केही लेखेकै आधारमा वा आरोप लगाएका आधारमा नभएर तथ्यका आधारमा सरकारले आवश्यक कदम चाल्ने पनि उनको प्रतिवद्धता छ ।

भ्रष्टाचारका अभियुक्तलाई सीडीओले बनाए प्रमुख अतिथि, संसद्‍मा उठ्यो प्रश्न

काठमाडौं । भ्रष्टाचारमा आरोपित भएर निलम्बनमा परेका सांसदलाई प्रमुख जिल्ला अधिकरी (सीडीओ) प्रमुख अतिथि बनाएको भनेर नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले प्रश्न उठाएका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले टेरामक्स प्रकरणमा संलग्न रहेको आरोपमा अदालतमा मुद्दा दर्ता भएर कानुनी रूपमा सांसद पदबाट निलम्बनमा परेका मोहनबहादुर बस्नेतलाई सिन्धुपाल्चोकका सीडीओले प्रमुख अतिथि बनाएको बताएका हुन् ।

सीडीओले सरकारी कार्यक्रमको आयोजना गरेर सांसद पदबाट निलम्बनमा रहेका व्यक्तिलाई प्रमुख अतिथिको रूपमा आमन्त्रण गरिएको र शासनका साथ मञ्चमा राखेर फोटो खिचेर जिल्ला प्रशासन कार्यलयले आफ्नो सामाजिक सञ्जालमा राखेको बताए ।

‘यही संसद्ले सार्वजनिक पद निलम्बन गरेको हो । सरकारी कार्यक्रममा निलम्बनमा परेका र कानुनी रूपमा मुद्दा समेत लागेका व्यक्तिलाई प्रमुख अतिथिका रूपमा आमन्त्रण गरेर राख्नु भनेको यो संसद्को समेत अवमूल्यन हो,’ सापकोटाले भने ।

यो विषयमा गृहमन्त्रालयले आधिकारित धारणा दिनुपर्ने उनको माग छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग र हेलो सरकार सबैको ध्यानाकर्षण गर्न समेत चाहेको उनले बताए ।

अबदेखि पीसीएल नर्सिङको प्रवेश परीक्षा नहुने

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गत सञ्चालन हुने तीन वर्षे पीसीएल नर्सिङ (स्टाफ नर्स) कार्यक्रममा यस वर्षदेखि प्रवेश परीक्षा नहुने भएको छ ।

परिषद्ले एसईईको ग्रेडिङ प्रणालीलाई वैज्ञानिक र पारदर्शी मानेर जीपीएकै आधारमा विद्यार्थी छनोट गर्ने निर्णय गरेको हो । यससँगै अब देशभरिका इच्छुक विद्यार्थीलाई प्रवेश परीक्षाका लागि काठमाडौं धाउनुपर्ने बाध्यता हटेको छ ।

सीटीईभीटीका सूचना अधिकारी एकराज अधिकारीका अनुसार विगतमा हरेक वर्ष प्रवेश परीक्षा मार्फत मात्रै भर्ना लिइने गरिन्थ्यो । पछिल्लो समय केही प्राविधिक कार्यक्रममा विद्यार्थीको आकर्षण घट्दै गएको सीटीईभीटीले जनाएको छ ।

नर्सिङ, स्वास्थ्य सहायक (एचए), र फार्मेसी बाहेकका कोटामा सिट खाली हुने गरेकाले पनि सीटीईभीटीले प्रवेश परीक्षाको नीति परिवर्तन गरेको हो । ‘कतिपय कार्यक्रममा तोकिएको कोटाभन्दा पनि कम विद्यार्थी सहभागी हुन थालेपछि प्रवेश परीक्षाको औचित्यमै प्रश्न उठ्न थाल्यो,’ अधिकारीले भने, ‘४८ कोटा भएको कार्यक्रममा ४० मात्र विद्यार्थी आएपछि नयाँ नीति अपनाइएको हो ।’

उनका अनुसार प्रवेश परीक्षामा सोधिने प्रश्नसमेत गणित, विज्ञान र अग्रंजीमै केन्द्रित हुने भएकाले भर्खर एसईई दिएका विद्यार्थीका स्थायी मूल्यांकनलाई नै आधार बनाउने निर्णय गरिएको हो ।‘तीन घण्टाको हाम्रो प्रवेश परीक्षा र एसईईको तीन–तीन घण्टाको मूल मूल्यांकनमा फरक छैन,’ अधिकारीले थपे ।

उक्त निर्णय नेपाल सरकारको चालु आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रमसँग टेकेर गरिएको हो । नीति तथा कार्यक्रमको ६४औं बुँदामा भनिएको छ, ‘विद्यालय शिक्षा पूरा गर्नासाथ विद्यार्थीको ग्रेडिङको आधारमा प्राविधिक तथा व्यवसायिक वा विश्वविद्यालय शिक्षामा प्रवेश गराइने छ ।’

परिषद्ले जीपीए प्रणालीलाई प्रयोगमा ल्याउँदै अब विद्यार्थीले जीपीएका आधारमा अनलाइन आवेदन दिई भर्ना प्रक्रिया अघि बढाउन सक्ने व्यवस्था मिलाएको हो ।

राधा पोखरेलले चार महिनामै दिइन् राजीनामा

काठमाडौं । नेपाल बिमा प्राधिकरणकी सञ्चालक सदस्य राधा कुमारी पोखरेलले राजीनामा दिएकी छन् ।

उनले सोमबार मन्त्रालयमा राजीनामा बुझाएको बताएकी छन् । स्वास्थ्य अवस्थाका कारण आफू बैठकमा सहभागी हुन नसकेकाले राजीनामा दिएको पोखरेलले बताएकी छन् ।

पोखरेललाई गत चैत १ गतेदेखि लागु हुनेगरी चार वर्षका लागि महिला सञ्चालकमा अर्थमन्त्रीस्तरीय निर्णयबाट नियुक्त गरिएको थियो ।

पोखरेलले सरकारले नियुक्त गरेको चार महिनापछि प्राधिकरणबाट राजीनामा दिएकी हुन् । उनको योग्यतालाई लिएर बजारमा प्रश्न उठेको थियो । योग्यताकै कारण अध्यक्ष शरद ओझा पनि निलम्बनमा परेका छन् ।

मन्त्रिपरिषद् बैठकका १० निर्णय सार्वजनिक

काठ्माण्डौँ- साउन ४ गते बसेको मन्त्रिपरिषद् बैठकका १० निर्णय सार्वजनिक भएका छन् । बुधबार सञ्चार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बैठकको निर्णय सार्वजनिक गरेका हुन् ।

बैठकले राष्ट्रिय योजना आयोगका सदस्य गंगादत्त अवस्थीलाई भुटान भ्रमणको स्वीकृति दिने, विश्व बैंकबाट विकास प्रभावकारिताका लागि सार्वजनिक वित्त परियोजनाका लागि प्रस्ताव गरिएको १० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने, गृहमन्त्री रामनाथ अधिकारीको इथियोपिया भ्रमण स्वीकृत गर्नेलगायतका निर्णय गरेको छ ।

कसैले चाहँदैमा हाम्रो पार्टीको अस्तित्व मेटिँदैन : अध्यक्ष नेपाल

कीर्तिपुर : एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टीको अस्तित्व कसैले चाहँदैमा समाप्त नहुने स्पष्ट पारेका छन्।

पुष्पलाल स्मृति प्रतिष्ठानद्वारा आज कीर्तिपुर नगरपालिका-४ स्थित पुष्पलाल स्मृति पार्कमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले समाजवाद प्राप्तिको आन्दोलनमा पुष्पलालको विचार र प्रेरणालाई आत्मसात गर्दै अघि बढ्नुपर्ने बताए।

‘पुष्पलालले तत्कालीन सामाजिक परिस्थितिको यथार्थ विश्लेषण गर्नुभएको थियो। मैले पनि एमालेको नेतृत्व गर्दा त्यही विश्लेषणका आधारमा गणतन्त्रमा जाने निर्णय गरेँ,’ उनले भने, ‘त्यसबेला त्यो निर्णयको आलोचना गर्नेहरू थिए। तर परिस्थितिलाई सही ढंगले बुझ्नुपर्छ, निराशा फैलाउनु हुँदैन।’

कार्यक्रममा बोल्दै पार्टीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले राजतन्त्रको अन्त्यसँगै मुलुकमा पुँजीवादी जनवादी क्रान्ति सम्पन्न भएको भए पनि अहिले दलाल नोकरशाही पुँजीवाद हाबी भएको टिप्पणी गरे।

यस्तै, नेता वामदेव गौतमले नेपाली कम्युनिष्ट आन्दोलनका उपलब्धि पुष्पलालको योगदानकै जगमा आधारित रहेको बताए। आफू एकीकृत समाजवादीसँग एकता गरेर कम्युनिष्ट आन्दोलनमा सक्रिय रहेको उल्लेख गर्दै उनले पार्टी नेतृत्वलाई समय सापेक्ष जिम्मेवारी दिन आग्रह पनि गरे।

 

सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक

काठमाडौं : सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्। सभामुख घिमिरेले बुधबार दिउँसो १२ बजे नयाँ बानेश्वरस्थित संसद भवनको शंकर हलमा समितिको बैठक बोलाएको सभामुखको सचिवालयले जनाएको छ।

सभामुखका प्रेसविज्ञ शेखर अधिकारीले साउन १५ गतेसम्मको प्रतिनिधिसभाको क्यालेन्डरलगायत विषयमा छलफल गर्न बैठक बोलाइएको जानकारी दिए।

बैतडीमा बजेटको ठुलो हिस्सा फिर्ता, पुँजीगत खर्च ७० प्रतिशतभन्दा कम

बैतडी । सङ्घीय, प्रदेश र स्थानीय तहअन्तर्गतका सरकारी कार्यालयहरूले गत आर्थिक वर्ष २०८०/८१ मा बैतडी जिल्लामा करिब १६ अर्ब रुपियाँभन्दा बढी बजेट विनियोजन गरेका थिए । तर सोमध्ये करिब १३ अर्ब मात्रै खर्च भएको छ भने करिब तीन अर्ब रुपियाँ खर्च हुन नसकी फिर्ता भएको कोष तथा लेखा नियन्त्रक कार्यालय बैतडीले जनाएको छ ।

सङ्घीय सरकार मातहतका कार्यालयहरूका लागि गत आर्थिक वर्षमा आठ अर्ब सात करोड ६९ लाख रुपियाँभन्दा बढी बजेट विनियोजन गरिएको थियो । तर त्यसको ८५.०८ प्रतिशत अर्थात् ६ अर्ब ८७ करोड ४६ लाख रुपियाँ मात्रै खर्च भएको र बाँकी १४।९२ प्रतिशत बजेट फिर्ता भएको कोष तथा लेखा नियन्त्रक कार्यालय बैतडीका सूचना अधिकारी हरिदत्त पाण्डेयले बताए ।

सङ्घीय निकायतर्फ चालु खर्चमा ६ अर्ब २ करोड रुपियाँ विनियोजन भएकोमा पाँच अर्ब ४९ करोड रुपियाँ खर्च भएको र पुँजीगततर्फ २ अर्ब पाँच करोड रुपियाँमा एक अर्ब ३७ करोड रुपियाँ मात्र खर्च भएको जानकारी दिइएको छ । कुल पुँजीगत बजेटको ६६.८८ प्रतिशत मात्र खर्च भएको उनले बताए ।

प्रदेश सरकारअन्तर्गतका कार्यालयहरूमा सोही अवधिमा तीन अर्ब ३२ करोड १३ लाख रुपियाँ विनियोजन गरिएको थियो । तर दुई अर्ब ६१ करोड ६५ लाख रुपियाँ मात्र खर्च भएको छ । कुल बजेटमध्ये ७८.७८ प्रतिशत खर्च भएको हो भने २१.२२ प्रतिशत रकम फिर्ता भएको पाण्डेले बताए ।

प्रदेश सरकारका कार्यालयहरूद्वारा चालु शीर्षकमा ९२ करोड ९४ लाख रुपियाँ विनियोजन भई ७६ करोड ६२ लाख रुपियाँ खर्च भएको छ । यस्तै पुँजीगततर्फ दुई अर्ब ३९ करोड १९ लाख रुपियाँमध्ये एक अर्ब ८५ करोड २ लाख रुपियाँ खर्च भएको छ ।

जिल्लाका १० वटै स्थानीय तहमा भने पाँच अर्ब ३२ करोड रुपियाँ विनियोजन भएको थियो । तर चार अर्ब ५६ करोड रुपियाँ मात्र खर्च भएको हो । कुल खर्च ८५.८३ प्रतिशत छ भने १४.१७ प्रतिशत बजेट खर्च हुन नसकी फिर्ता भएको सूचना अधिकारी पाण्डेले बताए ।

स्थानीय तहमा चालु खर्चतर्फ तीन अर्ब ९० करोड रुपियाँमध्ये ३ अर्ब ५० करोड रुपियाँ खर्च गरिएको छ । यस्तै पुँजीगततर्फ एक अर्ब ४१ करोडमध्ये एक अर्ब ६ करोड रुपियाँ मात्र खर्च भएको छ । पुँजीगततर्फ खर्चको अनुपात ७५.०६ प्रतिशत छ ।

कोष तथा लेखा नियन्त्रक कार्यालय बैतडीका अनुसार बजेट खर्चमा सुधार भए पनि पुँजीगत खर्चको अनुपात अझै कमजोर देखिएको छ । खर्च गर्न नसकिएको बजेट भने तोकिएकै प्रक्रिया अनुसार फिर्ता पठाइएको जनाएको छ ।

आज ४७औं पुष्पलाल स्मृति दिवस मनाइँदै

काठ्माण्डौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७ औं स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

नेकपा एमाले, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) लगायत विभिन्न समूहमा छरिएका कम्युनिष्ट पार्टीहरूले आज विभिन्न कार्यक्रम गरी उनको योगदानको सम्झना गर्दैछन् । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको जन्म वि.सं. १९८१ असार १५ मा रामेछापको भँगेरीमा भएको थियो भने वि.सं. २०३५ साउन ७ गते उपचारका क्रममा भारतको गोविन्दबल्लभ पन्त अस्पतालमा उनको निधन भएको थियो ।

नागरिकको पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यका साथ २००६ साल वैशाख १० मा नेकपाको स्थापना कोलकाताको श्याम बजारमा पुष्पलाल, नरबहादुर कर्माचार्य, नीरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी, मोतीदेवी श्रेष्ठको सक्रियतामा भएको थियो । वि.सं.२०२५ मा पञ्चायती निरङ्कुशताको अन्त्यका लागि ‘संयुक्त जनआन्दोलनको कार्यदिशा’ अगाडि सार्ने पहिलो नेताका रूपमा पुष्पलाललाई मानिन्छ ।

पुष्पलालको स्मृति दिवसको अवसरमा नेकपा (एकीकृत समाजवादी) ले कीर्तिपुर नगरपालिका-४ चम्पादेवीस्थित पुष्पलाल उद्यानमा श्रद्धाञ्जलीसभा, अन्तरक्रिया, ग्रन्थ विमोचनलगायत कार्यक्रम गर्ने जनाएको छ ।

उत्तराखण्डसँग जोडिएका नेपाल–भारत सीमा नाका बन्द

धनगढी : भारतको उत्तराखण्ड राज्यमा हुने पञ्चायत निर्वाचनलाई मध्यनजर गरी दार्चुला र बैतडीसँग जोडिएका सीमा नाका ७२ घण्टाका लागि बन्द गरिएका छन्।आज बिहानैबाट साउन ८ गते निर्वाचन प्रक्रिया सम्पन्न नभएसम्म भारतसँग सीमा जोडिएका सबै नाकाहरू बन्द भएको जिल्ला प्रशासनले जनाएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार भारतको उत्तराखण्ड प्रदेशमा आगामी साउन ८ र १२ गते दुई चरणमा पञ्चायत, क्षेत्र पञ्चायत र जिल्ला पञ्चायतको निर्वाचन हुँदै छ।

सोही निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै दुवै देशका स्थानीय प्रशासनको समन्वयमा दार्चुलाका सीमा नाकाहरू ७२ घण्टाका लागि बन्द गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले बताए। भारतको उत्तराखण्डमा जुलाई २४ मा ग्राम पञ्चायत, क्षेत्र पञ्चायत र जिल्ला पञ्चायतको लागी मतदान हुने छ। भारतसँग दार्चुलाका लाली, बाकु, जौलजिवि, दत्तु, खलंगा पुलघाट, बडूगाउँ, तिग्रम, मल्घट्टे, मालघाट र सितापुल नाका जोडिएका छन्। यस्तै बैतडीसंग जोडिएका नाका भने ४ गतेदेखि नै बन्द छन्। ७ गतेसम्मका लागि नाका बन्द गरिएको जिल्ला प्रशासनले जनाएको छ।

सुदूरपश्चिम विश्वविद्यालयमा विद्यार्थीका दुई पक्षबीच झडप, भाँडियो स्ववियु चुनाव

कञ्चनपुर । सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा स्ववियु निर्वाचनका विषयमा विवाद हुँदा नेपाल विद्यार्थी संघ र अनेरास्ववियु क्रान्तिकारीका विद्यार्थीबीच झडप भएको छ।

स्ववियू निर्वाचनसम्बन्धी संशोधित नियमावली खारेज हुनुपर्ने भन्दै स्वतन्त्र विद्यार्थीहरुले लगाएको ताला तोडिएपछि नेविसंघ र अनेरास्ववियु क्रान्तिकारीका विद्यार्थी झडपको भएको हो।

झडपपछि मंगलबार तोकिएको मनोनयन दर्ता स्थगित भएको छ। अर्को सूचना जारी नहुञ्जेलसम्म मनोनयन दर्ता प्रक्रिया स्थगित भएको निर्वाचन अधिकृत कर्णदेव भट्टले बताए।

स्वतन्त्र विद्यार्थीहरुले संशोधित नियमावली खारेज, निर्वाचन प्रक्रिया समावेशी र निष्पक्ष हुनुपर्ने र निर्वाचन अधिकृत परिवर्तन गर्नुपर्ने भन्दै स्वतन्त्र विद्यार्थीहरुले सोमबार निर्वाचन कार्यालयमा ताला लगाएका थिए। मंगलबार उक्त ताला तोडिएपछि विवाद हुँदा झडपको स्थिति सृजना भएर चुनावी प्रक्रिया दोस्रो पटक भाँडिएको हो।

साउन १४ गते सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा स्ववियू निर्वाचनको मिति तोकिएको छ। विद्यार्थीबीचको झडपमा ३ जना विद्यार्थी घाइते भएका छन्। झडपले विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा केही समय निकै तनावको स्थिति सृजना भएको थियो।

यो घटनापछि मंगलबार नेविसंघले निर्वाचन अधिकृतको कार्यालयमा ताला लगाएको छ। ‘एकपक्षीय ढंगले संशोधन गरिएको निर्वाचन नियमावली खारेज हुनुपर्छ, निष्पक्ष निर्वाचनको वातावरण बन्नुपर्छ,’ स्वतन्त्र विद्यार्थी सुरेन्द्र विष्टले भने, ‘कुनै व्यक्ति विशेषलाई ल्याउन नियमावली नै संशोधन भएको छ।’

उनका अनुसार गत वर्ष विश्वविद्यालयका आंगिक क्याम्पसमा पुरानै नियमावली अनुसार निर्वाचन भएको थियो। उक्त नियमावली अनुसार विद्यार्थीको अध्ययन सकिएसंगै स्ववियूको कार्यकाल पनि सकिने व्यवस्था थियो।

तर अहिले सशोधन गरिएको नियमावलीमा भने अध्ययन सकिएपनि स्ववियू कार्यकाल भने निर्धारित समयमै सकिने व्यवस्था गरिएको छ। जुन २०८१ फागुनमा विरश्वविद्यालयको सिनेटले सशोधन गरेको हो।

नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य इन्द्र साउँदले विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा प्रशासनसंग छलफलमा बसिरहेका बेला क्रान्तिकारीका विद्यार्थीले पेट्रोल छर्केपछि झडप भएको बताए। उनले प्रहरीले समेत नेविसंघका विद्यार्थीलाई छानी छानी कुटपीट गरेको आरोप लगाए।

अनेरास्ववियु क्रान्तिकारीका गणेशराज मिश्रले स्वतन्त्र विद्यार्थीका नाममा नेविसंघले चुनाव भाँड्न खोजेको आरोप लगाए। उनले विगतमा पनि नेविसंघले नै निर्वाचन भाडेको आरोप लगाएका छन्।

अनेरास्ववियुले विज्ञप्ति जारी गर्दै विनाकारण तालाबन्दी गरेर विद्यार्थीले प्रतिनिधि छान्ने अधिकार कुण्ठित गरेको आरोप लगाएको छ। मनोनयन दर्ताका दिन सरोकारवालाको सहमतिमै ताला तोडेर निर्वाचन प्रक्रिया अघि बढिरहेकै बेला नेवि संघ र अखिल क्रान्तिकारीले चुनाव भाडने मनसायले एक आपसमा झडप  गरेको अनेरास्ववियु कञ्चनपुरका जिल्ला अध्यक्ष अमरबहादुर धामीद्धारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ।

निर्वाचन अधिकृत कर्णदेव भट्टले नियमावली गत वर्ष नै विश्वविद्यालयको सिनेटले गरेको बताए। विद्यार्थी संगठन र १५ वटा आंगिक क्याम्पसका स्ववियू सभापतिको आग्रहमा संशोधन गरिएको उनको दाबी छ।

तुइनमै चुँडियो नारायणको सन्तानको अनुहार हेर्ने सपना

दार्चुला : दार्चुलाको व्यास गाउँपालिका–२ तल्लो दुम्लिङ। बिहानको चिसो हावाले घरको आँगन हल्लाउँदै थियो। नौ महिनाकी गर्भवती श्रीमती जानकी बुढाथोकी (जन्ना) को आँखामा चनाखो प्रतीक्षा झल्किएको थियो। श्रीमान् नारायणसिंह बुढाथोकी भारतीय बजार जानको लागि तयारी गर्दै थिए, “सुत्केरीका लागि लत्ताकपडा, पोसिलो आहार र औषधि किन्न।”

स्वास्थ्यकर्मीले उनको श्रीमती जानकीलाई यही साउन ७ गते सुत्केरी हुने समय दिएको छ। तर, सन्तानको अनुहार हेर्ने र श्रीमतीका लागि सुत्केरी स्याहारका लागि सामान लिएर फर्किने त्यो यात्रा नारायणका लागि अन्तिम बन्न पुग्यो।

नारायण बिहानको समयमा गाउँका दुई साथीसहित महाकाली तर्ने तयारीमा थिए। नेपालतर्फबाट खलङ्गा पुग्ने पैदल मार्ग अप्ठ्यारो र समय लाग्दो थियो। त्यसैले धेरैजसोले महाकाली पार गरेर भारततर्फको सजिलो सडक मार्ग रोज्ने गरेका छन् र यो छोटो मार्गको हतारमा हरेक वर्ष स्थानीयको मृत्युवरण गर्नुपरेको छ। महाकाली नदी वारपार गर्ने गर्न झोलुङ्गे पुल नभएपछि स्थानीयवासीले अस्थायी तुइन प्रयोग गरेर यात्रा गर्ने गर्छन्।

यही असार ३१ गते नारायण पनि त्यही तुइन पार गरेर सामान लिन हिँडेका थिए। उनीसँगै गएका जितु पहिले तुइन पार गरे। डोरी खतरनाक रूपमा तन्कियो। उनी तर्दातर्दै डोरी महाकालीको छालतर्फ पुगिसकेको थियो। आधा लुगा भिजेरै भारतपट्टि पुगे जीतु। बल्लतल्ल ज्यान जोगाएर भारत पुगेका जितुले पारि ९भारत० पुगेर गहिरो श्वास फेरे। तर आफूभन्दा पछाडि आउँदै थिए गाउँकै नारायण।

जितुले तुइनमा चढेर वारि भारत आउँदै गरेका नारायणलाई हातको इशारामा नआउन भने तर नारायणले त्यो इशारा देखेनन वा बुझेनन्। चट्टानमा ठोक्किँदै आएको महाकालीको तीव्र वेग र चिच्चाहटले बोलेको सुन्ने सक्ने अवस्था थिएन।

पिठ्यूँमा किनमेल गर्न बोकेको झोला, काँधमा आशाको भरोसा बोकेर तुइन समातेर नारायण महाकालीमाथि कुद्न लागे। बीचमा पुग्दा भारततर्फको खम्बा एक्कासि भाँचियो, नारायण सिधै महाकालीमा हेलिन पुगे। बर्खाको उर्लंदो महाकालीको छालले सधैँका लागि महाकालीमा नारायण विलीन भए। “मेरो इशारा मात्रै बुझेको भए नारायण पारि गाउँतर्फ नै रोकिन सक्नुहुन्थ्यो, अकालमै ज्यान जाने थिएन”, आफ्नै आँखाअगाडि सँगैको साथी गुमाउनु पर्दा असह्य पीडा भएको बताउँदै जितुले भने, ‘‘उहाँको घरमा भाउजू र सानो छोराको अवस्था देख्दा साह्रै चिन्ता लागेको छ।’’

नारायणको बाटो पर्खेका श्रीमती जानकी अझै पनि घरको ढोकातिर आँखा गाडेर बसिरहेकी छिन्। परिवारको खुसीका लागि बच्चा जन्मनै लाग्दा श्रीमान्को मृत्युको खबरले उनी भक्कानिएर बोल्नै सक्दिनन्। जन्मिनै लागेका शिशुको अनुहार नदेखीकन नारायण अस्ताए उर्लंदो महाकालीको गर्जनमा । नारायणको यसअघि चार वर्षका एक छोरा छन्।

मागको सुनुवाइ नहुँदा बर्सेनि जान्छ ज्यान

विसं २०७२ मा प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई दुई वर्षभित्र तुइनमुक्त बनाउने घोषणा गरे। घोषणा गरेपछि दार्चुलाको व्याँस गाउँपालिकाको पाँच स्थानमा महाकाली नदीमाथि झोलुङ्गे पुल निर्माण भएका छन्। व्याँस गाउँपालिका–२ स्थित मालघाट, वडा नं ४ को मलघट्टे, वडा नं ५ को तिगरम, वडा नं ६ को बडूगाउँमा पनि झोलुङ्गे पुल छन्। व्याँस वडा नं १ को सीतापुलमा काठेपुल निर्माण भएको छ।

यस्तै, लेकमको लाली, मालिकार्जुनको जोलजीविमा झोलुङ्गे पुल निर्माण भएका छन्। वडा नं २ दुम्लिङमा झोलुङ्गे पुल निर्माणका लागि भारतले अनुमति नदिँदा पुल बन्न बाँकी रह्यो। दुम्लिङबाट हाल निर्माण भएको वडा नं २ कै मालघाट पुल पुग्न दुई घण्टा बढी समय लाग्छ।

स्थानीयवासीको माग पूरा नहुँदा यहाँका नागरिकले हरेक वर्ष तुइनबाट खसेर ज्यान गुमाउनु परेको छ। व्याँस गाउँपालिका–२ दुम्लिङका मात्रै २०७९ मा १८ वर्षीय सचिन बुढाथोकी र २०८० वैशाख ९ गते ४५ वर्षीय सिङ्दलसिंह भण्डारी महाकाली नदी तर्ने क्रममा तुइन चुँडिएर बेपत्ता भए। वडा नं २ का वडाध्यक्ष धिरनसिंह बुढाथोकीका अनुसार तुइनबाट खसेर वडा नं २ को मात्रै २६ जनाको मृत्यु भइसकेको छ।

व्यास–२ दुम्लिङमा अहिले पनि कम्तीमा तीन स्थानमा अस्थायी तुइन प्रयोग गरिन्छ। स्थानीय प्रभात बुढाथोकी भन्छन्, “हामीले झोलुङ्गे पुल बनाइदिन सरकारलाई कैयौँ पटक आग्रह ग¥यौँ, तर सरकारले वास्ता गरेन । हरेक मन्त्री प्रधानमन्त्री, सासंदलाई ज्ञापन बुझाएका छौँ।”

अर्का स्थानीय महेन्द्रसिंह बुढाथोकी भन्छन्, “दुम्लिङ, कल्जु क्षेत्रमा कम्तीमा एक सय घरधुरीको बसोबास छ। तर यहाँका बासिन्दाका लागि मात्रै तुइन विस्थापन गरेर झोलुङ्गे पुल बनेन।” दुम्लीङबाट नजिकै रहेको झोलुङ्गे पुल पुग्न दुई घण्टा हिँड्नुपर्छ। वडा नं २ मालघाटमा २०७८ साउन १५ गते जयसिंह धामीको तुइनबाट खसेर मृत्यु भएपछि झोलुङ्गे पुल बनेको थियो। त्यो पुलबाट राप्ला र मालका स्थानीय आवतजावत गर्ने गर्छन्।

दुम्लिङसम्म भर्खर मात्रै नेपाली सेनाले दार्चुला टिङ्कर सडक निर्माण गरिरहेको छ। सडकमा गाडी नगुडेको र झोलुङ्गे पुल पुग्न समय लाग्ने भएपछि यहाँका नागरिकले अवैध तर सजिलो विकल्पका रुपमा तुइनको प्रयोग गर्ने गर्छन्। वडाध्यक्ष धिरनसिंह बुढाथोकी थप्छन्, “प्रत्येक वर्ष दुम्लिङ क्षेत्रबाट कोही न कोही महाकालीमा हराउँछन्, तर राज्यको आँखामा यो ठाउँ देखिँदैन।” मागपत्र दिएकै दशकौँ भयो।

विसं २०७८ अघिसम्म भारतले अस्थायी रुपमा काठेपुल लगाउन दुम्लिङमा अनुमति दिएको थियो। तर कोरोनापछि भारतले अस्थायी काठेपुल भत्काइदिएपछि यो क्षेत्रका बासिन्दा लुकीछिपी तुइन लगाउने गर्छन्। अहिले पनि तुइन लगाएको देख्नेबित्तिकै भारतीय एसएसबीले काटिदिन्छ। फेरि त्यही ठाउँमा स्थानीयले आफ्नो सजिलोका लागि तुइन प्रयोग गर्छन्। प्रमुख जिल्ला अधिकारी अनिल पौडेल वैधानिक रुपमा तुइन नभए पनि स्थानीयले सजिलोका लागि तुइन प्रयोग गर्ने गरेको पाइएको बताउँछन्। “हामीले तुइन हटाउने प्रयास गरिरहेका छौँ, तर वैकल्पिक संरचना नहुँदा स्थानीय बाध्य हुँदा रहेछन्।”

घनश्याम भुसालको कटाक्ष : सबै सम्भव तर, घुस नखाने राज्य व्यवस्था बनाउन असम्भव

काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले विभिन्न समयमा भएका आन्दोलनबाट व्यवस्था परिवर्तन गरिएपनि सुशासन कायम हुन नसकेको बताएका छन् ।

पछिल्लो ३५ वर्षमा देशमा व्यवस्थागत परिवर्तन भएपनि भ्रष्टाचार अन्त्य हुन नसकेको उनको भनाइ छ ।

‘पञ्चायती शासन अन्त्य गर्न सकिन्छ, प्रजातन्त्र स्थापना गर्न सकिन्छ, राजतन्त्र फाल्न सकिन्छ, गणतन्त्र ल्याउन सकिन्छ, नाकाबन्दीका विरुद्ध भारतका गालामा तमाचा हान्न सकिन्छ, संविधान जारी गर्न सकिन्छ, यो सबै हुँदो रहेछ, तर घुस नखाने राज्य व्यवस्था बनाउन सकिँदो रहेनछ, यो हाम्रो दुर्भाग्य’, उनले भने ।

पुष्पलाल श्रेष्ठको स्मृति दिवसको पूर्वसन्ध्यामा स्कुल अफ माक्सीज्मले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै भुसालले एमाले, माओवादीलाई कटाक्ष गर्दै भने, ‘त्यत्रो क्रान्तिकारी पार्टी बनाउन सकिँदो रहेछ तर, घुस नखान सकिँदो रहेनछ ।’

पार्टी नेतृत्वकर्ताहरुले घुस खाएर पार्टी कब्जा गरेको भन्दै उनले आक्रोश पोखे । दलाल पूँजीवादकै विरुद्ध लडेर आएका कम्युनिष्ट पार्टीहरु अहिले उनीहरुको शरणमा परेको भुसालको छ ।

‘घुस खाने र पार्टी नेतृत्व कब्जा गर्नका लागि गुटबन्दी गर्न नसकिँदो रहेछ’, उनले भने ।

कम्युनिष्ट आन्दोलन स्खलित भएको भन्दै उनले ३५ वर्षयताको उपलब्धी हेर्दा विचित्र लाग्ने बताए । नेताहरुले आफ्नै छोराछोरीलाई रोजगारी दिन नसकेको भन्दै उनले मुलुकमा बेथिती बढेको बताए ।

आफूले प्रणालीगत र वैचारिकीको बहस उठाउन खोजेको उनको भनाइ थियो ।

उपसभामुख राना आज चीन भ्रमणमा जाँदै

काठमाडौँ । प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना जनवादी गणतन्त्र चीनको ६ दिने औपचारिक भ्रमणका लागि मंगलबार बेलुका हेनान प्रान्ततर्फ प्रस्थान गर्दै छिन् ।

उपसभामुख राना २ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बेलुका ११.३० बजे चीन प्रस्थान गर्न लागेकी हुन् ।

राना चीनको हेनान प्रान्तमा यही श्रावण ७ गतेदेखि ११ गते सम्म आयोजना हुने सांघाई सहयोग मञ्च मिडिया र थिंक ट्याङ्क शिखर सम्मेलनमा सहभागी हुने कार्यक्रम छ।कार्यक्रममा उनले “विकासको लागि शान्तिपूर्ण र स्थिर वातावरणको सुरक्षामा नेपालको दृष्टिकोण” विषयमा आफ्ना धारणा राख्ने कार्यक्रम छ ।

भ्रमणका क्रममा उपसभामुख रानाले हेनान प्रान्तका अधिकारीहरूसँग भेटघाट गर्नुका साथै सोही प्रान्तमा अवस्थित झेङझोउ शहरलगायत विभिन्न स्थानहरूको अवलोकन भ्रमण समेत गर्नेछिन् । राना श्रावण ११ गते स्वदेश फर्कने कार्यक्रम छ ।

रानासँग सङ्घीय संसद् सचिवालयका उपसचिव जगदीश न्यौपाने पनि चीन जाँदै छन् ।

दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माण सुरु

कञ्चनपुर : कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ स्थित सुक्खा बन्दरगाह निर्माणको काम सुरु भएको छ। मंगलबार नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेल सुक्खा बन्दरगाहको प्रारम्भिक निर्माण कार्यको थालनी गरेका हुन।

उनले बन्दरगाह निर्माणमा स्थलका रुख कटानको काम सम्पन्न भइसकेपछि भारतीय निर्माण कम्पनीलाई काम गर्नका लागि मन्त्रालय मार्फत पत्राचार भइसकेपश्चात भारतीय निर्माण कम्पनीले प्रारम्भिक काम सुरु गरेको बताए। ‘निर्माण कार्यको प्रारम्भिक काम सुरु भएको छ पहिलो चरणमा यहाँ फिलिङ, पर्खाल निर्माण र निर्माणका लागि आवश्यक सामग्रीहरू ल्याउने काम गर्नुहुन्छ। यसको विधिवत् रूपमा दुवै देशका प्रधानमन्त्रीहरूले शिलान्यास गर्नुहुन्छ’, उनले भने।

उनले बन्दरगाह निर्माणपछि सुदूरपश्चिम मात्रै नभएर नेपालकै आर्थिक विकासमा टेवा पुग्ने बताए। ‘यो व्यापारिक पूर्वाधार यसले भारतबाट आयात मात्रै नभएर निर्यात गर्ने गरि उद्योगधन्दाहरू खेल्नुपर्छ। यही नाका भएर तेस्रो मुलुकसँग निर्यात गर्न सकिने ठूलो अवसर छ त्यसकारण निर्यात गर्ने गरि पनि उत्पादनमा जोड दिनुपर्छ।’

बन्दरगाह निर्माणका लागि दोधारा चाँदनी नगरपालिका–१ स्थित गौरशिंकर सामुदायिक वनमा एक हजार सात सय पाँच रुख कटानी भएका छन्। भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण हुने सुक्खा बन्दरगाहका लागि नेपाल सरकार र भारत सरकार बीच जुन १, २०२३ मा समझदारी पत्रमा हस्ताक्षर भएको थियो। सोही सम्झौता अनुसार भारतीय पक्षले बन्दरगाह निर्माणका लागि दुई अर्ब ५४ करोड ३१ लख ९९ हजार भारतीय रुपैयाँ लागतमा ठेक्का सम्झौता गरेको छ।

बन्दरगाह निर्माणका लागि प्रयोग हुने ४२.३६ हेक्टर क्षेत्रफलमा दुई वटा गोदाम भवन, भन्सार चेक जाँच भवन, क्वारेन्टाइन भवन, इमिग्रेसन भवन, सुरक्षा भवन लगायतका पूर्वाधार निर्माण हुनेछन्। पहिलो चरणमा २५.०३ हेक्टरमा पूर्वाधार निर्माण हुने इन्टरमोडल यातायात विकास समितिले जनाएको छ।

निजामती सेवा विधेयकमाथि छलफल गर्न समितिमा पठाइयो

काठमाडौं – संघीय निजामती सेवा विधेयकलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइएको छ ।

मंगलबार बसेको राष्ट्रिय सभा बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त संघीय निजामती सेवा विधेयक २०८० लाई दफावार छलफलका लागि विधायक व्यवस्थापन समिति पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । सभाले उक्त प्रस्तावलाई सर्वसम्मतीले स्वीकृत गरेको हो ।

प्रतिनिधिसभा बैठकबाट सर्वसम्मत पारित भएको उक्त विधेयकमा रहेको कुलिङ अफ पिरियडबारे छेडखानी गरिएको पाइएपछि छानविन गर्न संसदीय समिति गठन समेत गरिएको छ ।

कुलिङ अफ पिरियडलाई राष्ट्रियसभाबाट सच्याउने भनिएपनि एमालेका केही सांसदहरुले कुलिङ पिरियड नै हटाउनुपर्ने संशोधन प्रस्ताव दर्ता गराएका छन् ।

त्यस्तै राष्ट्रियसभाले नेपाल नागरिकता (दोश्रो संशोधन) विधेयक २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समिति पठाएको छ । राष्ट्रियसभाको अर्को बैठक साउन ११ गते आइतबार बस्ने गरि स्थगित भएको छ ।

ओलीलाई पूर्वराष्ट्रपतिको सन्देश : म एमालेको राजनीतिमा आइसकेँ, पछि हट्दिनँ

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको सक्रिय राजनीतिबाट पछि नहट्ने मनस्थिति बनाएकी छन् । पार्टी नेतृत्वले अनिच्छा देखाइरहँदा पनि उनी जसरी पनि एमालेको सक्रिय राजनीतिमा फर्किने मनस्थिति बनाएको उनीनिकट एक नेताको दाबी छ ।

ती नेताका अनुसार एमाले पार्टी कार्यालय च्यासल (ललितपुर)मा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीसँगको ‘वान अन वान’ वार्ताका क्रममा यसबारे प्रष्ट सन्देश दिइसकेकी छन् ।

‘च्यासल बैठकमा अध्यक्षले सम्मानित पदमा रहिसकेको, राष्ट्रपति भइसकेको मान्छे राजनीतिमा आउँदा गाली–गलौच गर्छन् । दुर्वचन बोल्छन्, सहनुपर्छ । त्यसैले तपाई नआउनुस् भन्नुभयो,’ ती नेताले खबरहबसँग भने, ‘जवाफमा पूर्वराष्ट्रपतिले सदस्यता नवीकरण गरिसकेँ, म सक्रिय राजनीतिमा फर्किन्छु भनिसक्नुभएको छ ।’

ती नेताले भेटका क्रममा जनताको बहुदलीय जनवाद ‘जबज’को लोकतान्त्रिकरण र अध्यक्षको दुई कार्यकालमा आफैँ ‘ब्याक’ भएको प्रति प्रधानमन्त्री ओलीसँग असन्तुष्टि जनाएकी थिइन् ।

 

खोज्नुहोस