नाती र छोरीलाई सम्झिँदै जेलको अध्याँरो कोठाबाट प्रसाईंको बिलौना

काठमाडौं ।   राजावादी अभियन्ताका रुपमा प्रचारित विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईले डिल्लीबजार कारगारबाट भावुक सन्देश सार्वजनिक गरेका छन् । उनले नातीलाई सम्झँदै कारागारको अध्याँरो कोठाबाट फेसबुकमा मर्मस्पर्सी स्टाटस लेखेका हुन् ।

गत चैत १५ गते तीनकुनेमा भएको राजावादी हिंसामा ‘आओ आओ’ भन्दै भीड उक्साएर प्रहरीमाथि नै गाडी हुइँक्याउन खोज्ने प्रसाईलाई जेठ ३० गते काठमाडौँ जिल्ला अदालतले पूर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको थियो । सोही दिन डिल्लीबजार कारागार चलान भएका उनी त्यहिँबाट मुद्दा पुर्पक्ष गरिरहेका छन् ।

यसैबीच प्रसाईले स्वकीय सचिवमार्फत् एउटा अपील पत्र जारी गर्दै नातीलाई सम्झिएका हुन् । जेलको अनुभव शेयर गर्दै उनले घरपरिवारको प्रसंग झिकेर भावुक भनाइ राखेका छन् ।

‘हरेक नेपालीले आफ्नो सन्तानको साथमा जीवन जिउन पाउन्, प्रत्येक हजुरबुबा-हजुरआमाको काखमा नातीनातिना हुन् भनेर अभियान शुरु गरेको मलाई मेरो नातीले बहुत याद गर्छ रे !’, प्रसाईं भन्छन्, ‘परिवारले बाहिर जानुभएको छ, चाँडै आउनुहुन्छ भन्दा मोबाइलमा फोटो हेर्छ रे, एक मनले सोच्छ- कारागारमै भए पनि बोलाएर एकछिन नाती खेलाउँ, अनि फेरि सोच्छु- के सम्हालिएला र ? मनमा भक्कानो छुट्यो, नातीका अगाडि के भन्ला उसले ?’

प्रसाईंले छोरी डाक्टरी पढेर नेपाल फर्कंदा एयरपोर्टमा स्वागत गर्न जान नपाएकोमा पनि दु:खेसो पोखेका छन् ।

‘विद्यार्थी बनाएर पठाएको छोरी यहि महिना डाक्टर बनेर फर्किंदै छ, एयरपोर्टमा पुगेर पिताप्रेम दर्शाउँला भन्ने रहर, रहरमै सिमित भयो । मेरो हाल यस्तै छ, तपाईं सबैको सदा सुन्दर होस् भनी पशुपतिनाथसँग कामना गरिरहेको छु’, उनले थपेका छन् ।

पूर्वराजा ज्ञानेन्द्र शाहको चाहनामा राजावादी आन्दोलनको ‘जनकमाण्डर’ बनेका प्रसाईंले कारागारबाट भगवानलाई पनि सम्झिएका छन् ।

‘आज मैले आफ्नै जीवनलाई नियालिरहेको छु, एक समान्य परिवारमा आमाले मकै खन्दै गर्दा जन्मिएको म कुन उद्धेश्यको लागि जन्मिएँ होला ? शास्त्रले पनि भन्छ कि मानिसको जन्म कुनै न कुनै उद्धेश्य पूरा गराउन भगवानमार्फत् हुन्छ’, उनले भनेका छन्, ‘न मैले पढ्न सकेँ, न आमाको रहरअनुसार जागिरे हुन सके, बरु डाक्टर पढाउँने कलेज बनाएँ, हजारौँ मानिसलाई जागिर दिएँ, के यो सब भगवानको चाहना बेगर सम्भव थियो होला र ?’

प्रसाईले ‘एकदिन आकाशको बादल हटेर उज्यालो आउनेछ’ भन्दै शुभचिन्तकहरुलाई नआत्तिन पनि सन्देश दिएका छन् ।

 

नेप्से परिसूचक १८ अङ्कले घट्यो, साढे २६ अर्बको कारोबार

काठमाडौं ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिँदा कारोबार रकम साढे रु २६ अर्ब नाघेको छ । नेप्से परिसूचक १८ दशमलव ४४ अङ्कले घटेर दुई हजार ९६४ दशमलव २० को विन्दुमा कायम भएको हो ।

आज तीन सय २३ कम्पनीको पाँच करोड ८६ लाख ५३ हजार ७६२ कित्ता शेयर दुई लाख तीन हजार ६५८ पटक खरिदबिक्री हुँदा रु २६ अर्ब ५७ करोड ७४ लाख ३८ हजार २३७ बराबरको कारोबार भएको छ । आजको कारोबार रकम पछिल्लो करिब ११ महिनाकै उच्च हो ।

विकास बैंक समूह एक दशमलव २३, उत्पादन तथा प्रशोधन एक दशमलव शून्य आठ, म्युचुअल फन्ड शून्य दशमलव ३९ र व्यापार समूह एक दशमलव ४४ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । बैंकिङ शून्य दशमलव ७१, वित्त एक दशमलव ९९, होटल तथा पर्यटन एक दशमलव ७९, जलविद्युत् एक दशमलव शून्य नौ, लगानी एक दशमलव ६६, जीवन बिमा एक दशमलव ३५, निर्जीवन बिमा शून्य दशमलव ६७ र अन्य समूह शून्य दशमलव ८६ प्रतिशतले घटेको छ ।

आजको कारोबारमा समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड र ट्रेड टावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्य छ दशमलव ३४ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्ट लिमिटेडको रु एक अर्ब दुई करोड तीन लाख ३५ हजार ९२३ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा बढी लक्ष्मी सन्‌राइज बैंक प्रमोटरको शेयर २१ लाख २० हजार ९१२ कित्ता किनबेच भएको छ ।

सभामुख घिमिरे जेनेभा जाँदै, दुईवटा सेशनमा सम्बोधन गर्ने

काठमाडौं । सभामुख देवराज घिमिरे आज स्वीट्जरल्यान्डको जेनेभा प्रस्थान गर्दैछन् । उनी आज साँझ ६ बजे जेनेभाका लागि प्रस्थान गर्नेछन् ।  गत शुक्रबार उनले आफ्नो भ्रमणका ’boutमा राष्ट्रपति रामचन्द्र पौडेललाई जानकारी गराएका थिए ।

सभामुख घिमिरेका प्रेस विज्ञ शेखर अधिकारीका अनुसार जेनेभामा आयोजना हुने सभामुखहरूको सम्मेलनमा दुई वटा सेसनमा सम्बोधन गर्नेछन् । पहिलो सेशनमा  ‘शान्ति, न्याय र समृद्धिका लागि संसदीय सहकार्य’ र दोस्रो सेशनमा ‘हाम्रो डिजिटल भविष्य निर्माणमा सांसदहरूको भूमिका’ बिषयमाथी सम्बोधन गर्नेछन् ।

अख्तियार प्रमुखलाई कारवाही गर्न अख्तियारमा उजुरी

काठमाडौं । सर्वोच्च अदालतमा रिट हालेर रवि लामिछानेको तत्कालीन सांसद र मन्त्री पद खुस्काइदिएपछि एकाएक चर्चामा आएका र आफूलाई चित्त नबुझेका विषयमा उजुरी हाल्दै हिँड्ने सिन्धुलीका युवराज सफल अख्तियार प्रमुख प्रेमकुमार राईलाई कारवाही गराउन कस्सिएका छन् ।

नेपाल सरकारको सचिव पदमा कार्यरत रहँदा राई वाइडबडी जहाज घोटाला, नेपाल आयल निगम जग्गा घोटाला र नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएको जिकिर गर्दै अख्तियार गुहारेका युवराज कारवाही गराउन तम्सिएका हुन् । उनले आज राईमाथि अनुसन्धान गर्न माग गर्दै उजुरी दर्ता गराएका छन् ।

वाइडबडी विमान खरिदमा भएको आर्थिक अनियमितता सम्बन्धी मुद्दाको अभियोजनकर्ता अख्तियारमाथि नै प्रश्न उठेको छ र राई विवादमा परेका छन् । विशेष अदालतले गरेको उक्त मुद्दाको फैसलाको हालै सार्वजनिक पूर्णपाठमा अख्तियार प्रमुख राई (तत्कालीन सचिव) नेतृत्वको समितिले नै विमान खरिदको निर्णय गरेको तर उनलाई प्रतिवादी नबनाएकोमा प्रश्न उठाइएकाले विवादमा तानिएका छन् । यसैबीच युवराज उजुरी लिएर आज अख्तियार पुगेका हुन् ।

‘मिति २०८१ मङ्सिर २० गतेका दिन मुद्दा नं. ०८० सीआर ०१४५ माथि अन्तिम सुनुवाइ सम्पन्न गरी सार्वजनिक भएको पूर्णपाठमा समेत आरोपित प्रेम कुमार राईमाथि मुद्दा नचलाएकोमा विशेष अदालतले आपत्ति प्रकट गरेको छ’, विशेष अदालतको फैसला उदृत गर्दै उजुरीमा भनिएको छ, ‘त्यस्तै पूर्णपाठमा यसरी एउटै कार्यमा संलग्न कसैलाई अभियोजन नै नगर्ने र कसैलाई अभियोजन गर्ने जस्तो चयनमुखी अभियोजन गर्नु समान न्यायको सिद्धान्तविरुद्ध हुन्छ, यस्तो कार्यले कानुन सबैका लागि बराबर हो भन्ने भावनामा आघात पुर्‍याउँछ र न्यायप्रतिको विश्वास कमजोर बनाउँछ भनी विशेष अदालतको फैसलामा उल्लेख छ ।

अदालतको फैसलाले वाइडबडी जहाज खरिद प्रक्रियामा राईको संलग्नता ठहर भएको उल्लेख गर्दै उजुरीमा पूरक अभियिजन दायर गरी भ्रष्टाचार निवारण ऐन बमोजिम तत्काल अनुसन्धान अघि बढाउन आग्रह गरिएको छ ।  त्यस्तै, अख्तियार प्रमुख राई आपूर्ति सचिव भएका बेला आयल निगमको जग्गा खरिद अनियमिततामा समेत मुछिएको उजुरकर्ताको दाबी छ । निगमले भैरहवा, चितवन, सर्लाही, झापालगायतका जिल्लामा डेढ अर्ब भन्दा बढी मूल्यको जग्गा किन्दा करोडौँ घोटाला भएको र तत्कालीन संचालक समितिका अध्यक्ष राई त्यसमा संलग्न रहेको युवराजको जिकिर छ ।

‘राई आपूर्ति सचिव हुँदा निगमले भैरहवा, चितवन सर्लाही, झापा लगायतका जिल्लाहरूमा डेढ अर्बभन्दा बढीको जग्गा खरिद गरेको थियो । उक्त जग्गा खरिदका लागि निर्णय गर्ने सञ्चालक समितिका अध्यक्ष प्रेम कुमार राई नै थिए । अतः सो आयल निगमको जग्गा खरिद प्रकरणमा करोडौं रुपैयाँ अनियमितता भएको भनी जग्गा खरिद निर्णय कार्यान्वयन गर्ने तत्कालीन आयल निगम कार्यकारी निर्देशक गोपाल बहादुर खड्कामाथि मुद्दा चलाइएपनि जग्गा खरिद गर्ने निर्णय गर्ने प्रेम कुमार राईमाथि भने कुनै मुद्दा समेत चलाइएन’, सी-००३४९८ दर्ता नम्बर रहेको उजुरी पत्रमा भनिएको छ, ‘कोरोना महामारीको बेलामा प्रेम कुमार राई जोडिएको आयल निगम जग्गा प्रकरण सम्बन्धी मुद्दा हतार हतार तामेलीमा राखिएको छ । अतः तत्काल अख्तियार प्रमुख राई मुछिएका तामेलीमा राखेको मुद्दा जगाई निज विरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिम हदैसम्मको कारबाही गर्न प्रस्तुत उजुरी पेस गरेको छु ।’

नाउपाको नियमित कामबाट तत्काललाई रन्जिता श्रेष्ठ अलग, बास्तोलालाई तोकिन् कार्यवहाक

कैलाली । नागरिक उन्मुक्ति पार्टी नाउपाको कार्यबहाक अध्यक्षको जिम्मेवारी शिव बास्तोलाले पाएका छन् । अध्यक्ष रन्जिता श्रेष्ठले पोखरा महानगरपालिका ६ कास्कीका वरिष्ठ नेता बास्तोलालाई कार्यबहाक अध्यक्षको जिम्मेवारी दिएकी हुन् ।

नागरिक उन्मुक्ति पार्टीका बहुमत केन्द्रीय सदस्यहरूले अध्यक्षलाई २४ घण्टे अल्टिमेटमसहित केन्द्रीय समिति बैठक बोलाउन माग गरेका थिए । नभए ११ गते दिउँसो २ बजे केन्द्रीय समिति बैठकबाट थप निर्णय लिने चेतावनी दिएका थिए । २४ घण्टाभित्र केन्द्रीय समिति बैठक आह्वान नगरेर अध्यक्ष श्रेष्ठले विधानको सुविधा प्रयोग गर्दै कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकेकी हुन् । ‘मैले मेरो अधिकार र विधान अनुसार जिम्मेवारी दिएकी हुँ ’ उनले भनिन्

। केही दिनदेखि अस्वस्थ भएको र त्यसले पार्टीका दैनिक कार्य सञ्चालनमा असहजता भएको भन्दै उनले बास्तोलालाई कार्यबहाकको जिम्मेवारी दिएको उल्लेख गरेकी छन् । ‘नागरिक उन्मुक्ति पार्टीको विधान २०७८ को धारा २० को उपधारा (४) अनुसार, पार्टीका वरिष्ठ नेता श्री शिव बास्तोला लाई कार्यवाहक अध्यक्ष को जिम्मेवारी तोकिएको छ’ उनले दिएका पत्रमा उल्लेख गरिएको छ । उनले कार्यबहाक अध्यक्षलाई आफ्नो सबै अधिकारहरू प्रत्यायोजन गरेकी छन् ।

‘तपाइले पार्टीको विधानको अधीनमा रही अध्यक्षको रूपमा सम्पूर्ण अधिकार तथा कर्तव्यहरू निर्वाह गर्नुहुने छ र पार्टीका गतिविधिहरूलाई सफलतापूर्वक अगाडी बढाउनुहुने छ भन्ने विश्वास लिएको छु’ उनले दिएको पत्रमा उल्लेख गरिएको छ । आजै नाउपा बहुमत केन्द्रीय सदस्यहरूको बैठक आह्वान गरिएको छ । आजै उनले कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ नेतालाई दिइएकी छन् ।यो विषयले नाउपाको शक्ति सङ्घर्ष अझै पेचिलो हुने देखिन्छ ।

पटेरा खल्लामा बाढीकै त्रास

कञ्चनपुर : दोधारा चाँदनी नगरपालिका–३ पटेरा खल्लाका चक्रबहादुर शाही जोगबुडा नदीमा जलस्तर बढ्ने बित्तिक्कै पोहोर सालकै बाढीको बबन्डर सम्झिन्छन् । उनलाई फेरि जोगबुडाको बाढी बस्ती पसेर उठीबास हुने चिन्ता हुन्छ । नदी किनारमै घरभएका उनी बर्खा सुरु भएयता यस्तै चिन्तामा छन् । गत वर्ष जोगबुडा नदीको बाढी पस्दा बस्ती पूरै विस्थापित भएको थियो । त्यतिबेला विस्थापित १० दिनसम्म विद्यालयमै बसेका थिए । बाढीले बस्ती डुबानमा मात्रै परेन । खेतीपाति सबै पुरियो, भित्रको अन्न पनि सबै बगायो । गाई भैंसी र बाख्रा पनि बगे । घरहरु पनि धेरै भत्कायो ।

‘बाहिर धान खेत पूरै बाढीले पटान गर्‍यो, भित्र भकारीमा भएका धान गहुँ पनि भिजेर बिग्रिए,’ शाहीले भने, ‘कच्ची घर थियो त्यो पनि भत्कायो, बाख्रा र गाई पनि मरे ।’ उनका ४० बाख्रा थिए । ८ क्विन्टल धान र ५ क्विन्टल गहुँ सबै भिजेर कुहिएको थियो । त्यसपछि किनेरै खानुपरेको शाही बताउँछन् ।

कालिकोटको तिलागुफा नगरपालिकाबाट पहिरोका कराण विस्थापित भइ एक दशकअघि यहाँ पुगेका शाही बाढीका कारण बर्सेनि त्रसित छन् । ‘पहाडमा पहिरोले दु:ख दियो, तराईमा बाढीले,’ उनले भने, ‘गरिबका लागि जहाँ गएपछि दु:ख मात्रै ।’

यसपालि जोगबुडा किनारमा असल अलि तटबन्ध त बनाएको छ । तर त्यसले पनि भर नभएको पटेरा खल्लाकी स्थानीय आइती दमाईले बताइन् । उनले भनिन्, ‘पोहोर साल जेनतेन ज्यान जोगायौं, खेतीपाती र अन्न सबै बगायो, अहिले पनि कतिबेला जोगबुडा उर्लेर आउँछ र फेरि बस्ती पूरै डुबानमा पर्छ ।’

पटेरा खल्लामा ४० बढी परिवारको बसोबास छ । बस्तीमा बाढी पसेपछि सबै नजिकैको विद्यालयमा आश्रय लिन्छन् । कतिपय आफन्त र छिमेकीको घरमा जान्छन् । गत वर्ष असार तेस्रो साता भीषण वर्षासँगै आएको बाढी बस्ती पसेपछि यहाँका ४० परिवार दुई सातासम्म विद्यालयमा बसेका थिए । वडा कार्यालय र विभिन्न संस्थाले उनीहरुलाई खाद्यान्न सहयोग गरेका थिए । ‘नदी किनारमा पक्की तटबन्ध नबनेसम्म ढुक्क हुन सक्ने अवस्था छैन,’ इन्द्रबहादुर दमाईले भने, ‘पोहोरको बाढीले कच्ची घर भत्काएपछि अहिले धेरैले पक्की घर बनाएका छन् ।’ उनका अनुसार बर्सेनि बाढीको जोखिम भएकाले ऋण काढेर भए पनि पक्की घर बनाएको बताए ।

पटेरा खल्ला बर्खामा जहिल्यै डुबान हुने क्षेत्र हो । विगतमा यहाँ बस्ती थिएन । सुकुम्बासीहरुले एकाएक छाप्रो बनाएपछि यहाँ बाक्लै बस्ती बनेको छ । तर बर्खायाममा जहिल्यै डुबान हुने भएकाले स्थानीय ढुक्क भएर बस्न सकेका छैनन् । जोगबुडा नदी किनारमा पक्की तटबन्ध निर्माण भएपछि मात्रै ढुक्क हुन सक्ने उनीहरु बताउँछन् ।

आन्तरिक राजस्व कार्यालय डडेल्धुराले गर्‍यो कर संकलनमा वृद्धि

डडेलधुरा : डडेलधुरा, बैतडी, दार्चुला र बझाङ जिल्लाको कर संकलन गर्ने आन्तरिक राजस्व कार्यालय डडेलधुराले अघिल्लो आर्थिक वर्षको तुलनामा कर संकलनमा वृद्धि भएको जनाएको छ। कार्यालयका सूचना अधिकारी तथा कर अधिकृत रोशन झाका अनुसार आर्थिक वर्ष २०८१/८२ मा अघिल्लो वर्षको तुलनामा कुल १३ दशमलव ३८ प्रतिशतले कर संकलन वृद्धि भएको हो ।

आन्तरिक राजस्व कार्यालय डडेलधुराले डडेलधुरासहित सुदूरपश्चिमका अन्य तीन जिल्लाको कर संकलन गर्दै आएको छ। सुदूरपश्चिमका चार जिल्लामा कार्यक्षेत्र रहेको कार्यालयले अघिल्लो आर्थिक वर्ष २०८०/८१ भन्दा गत आर्थिक वर्ष २०८१/८२ मा कर संकलनमा वृद्धि गरेको हो।

कर अधिकृत झाका अनुसार चालु आर्थिक वर्षमा कार्यालयले संकलन गर्ने विभिन्न कर शीर्षकहरूमा अघिल्लो वर्षको तुलनामा वृद्धि देखिएको छ। विशेषगरी ब्याज करको वृद्धि दर अत्यन्त उच्च रहेको छ। झाका अनुसार ब्याज करमा १०६ दशमलव ३३ प्रतिशतले वृद्धि भएको छ, जुन अन्य शीर्षकहरूको तुलनामा सबैभन्दा बढी हो।

त्यस्तै, आयकरमा पनि १३ दशमलव ३९ प्रतिशतले वृद्धि भएको छ। यो वृद्धिले व्यक्तिगत तथा साझेदारी व्यवसायहरूबाट तिर्ने करमा सुधार आएको देखाएको छ। व्यक्तिहरूको आयस्रोत पारदर्शी हुँदै गएको र आय विवरण खुलाएर कर तिर्ने अभ्यासमा क्रमशः सुधार देखिएको उनले बताए। मूल्य अभिवृद्धि कर (भ्याट) मा १ दशमलव ५५ प्रतिशतले वृद्धि भएको छ, जुन अपेक्षाकृत न्यून भए पनि बजारमा भइरहेको कारोबार तथा बिक्रीमा कर प्रणालीको प्रभावकारी कार्यान्वयन भएको विश्वास गरिएको छ।

यसैगरी, बहाल करमा पनि सामान्य वृद्धि भएको छ। झाका अनुसार ० दशमलव ३५ प्रतिशतले बहाल कर बढेको छ। अन्तःशुल्कतर्फ २० दशमलव १८ प्रतिशतले वृद्धि भएको छ। यो शुल्क विशेषतः विलासिताजन्य सामग्री, मदिराजन्य वस्तु, सवारीसाधन लगायतका वस्तुमा लाग्ने भएकाले उपभोग हुने वस्तुहरूको आयात वा खरिदमा वृद्धि भएको अनुमान गर्न सकिन्छ।

कर शीर्षकहरूमा देखिएको वृद्धि कर प्रणालीप्रतिको जनचेतना, अनुगमन तथा प्राविधिक सुधारको परिणाम भएको कर अधिकृत झाको विश्वास छ। आर्थिक वर्ष २०८१/८२ मा कार्यालयलाई १ अर्ब १५ करोड ५७ लाख ८२ हजार रुपैयाँ कर संकलन गर्ने लक्ष्य दिइएको थियो। त्यसअनुसार ९४ करोड ९४ लाख २७ हजार रुपैयाँ संकलन भएको हो। अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा ८७ करोड १ लाख २७ हजार रुपैयाँ मात्र कर संकलन भएको थियो। झाका अनुसार यसपटक ७ करोड ९३ लाख रुपैयाँले कर संकलन बढेको हो।

राजनीतिमा को कहिले जेल पर्छ भन्न सकिन्न : प्रधानमन्त्री ओली

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिमा कहिले कसले जेल जानुपर्छ भन्न सकिने अवस्था नहुने बताएका छन्। पूर्वाग्रह र प्रतिशोधका कारण पनि जेल हालिने प्रवृत्ति रहेको भन्दै उनले यस्ता घटनाबाट राजनीतिमा गलत सन्देश जाने बताए। प्रधानमन्त्री ओलीले आइतबार बालुवाटारमा आयोजित बीपी कोईराला राष्ट्रिय पुरस्कार-२०८१ वितरण कार्यक्रममा बोल्दै यस्तो बताएका हुन्।

‘राजनीतिमा को कतिबेला जेल पर्छ भन्न सकिन्न,’ प्रधानमन्त्री ओलीले भने,‘कहिलेकाहीँ पूर्वाग्रह, प्रतिशोध वा मनोगत कारणले पनि जेल हालिन्छ।’  उनले दरबार हत्याकाण्डपछि ज्ञानेन्द्र शाहले शासन कब्जा गरे पनि नेताहरूमाथि प्रत्यक्ष प्रतिबन्ध नभए पनि जेल हाल्ने काम भएको स्मरण गरे। ‘त्यतिबेला दलहरूमाथि प्रतिबन्ध थिएन तर नेताहरूलाई जेल हालियो,’ उनले भने।

प्रधानमन्त्री ओलीले राजनीतिक रूपमा प्रतिशोधको भावना राखेर मुद्दा लगाउने र फसाउने कार्यहरू भइरहेकामा चिन्ता व्यक्त गरे। ‘सरकारी निकाय छाडेर, व्यक्तिगत रिसइवीका आधारमा पनि मुद्दा हाल्ने, फसाउने प्रवृत्ति देखिएको छ,’ उनले भने।

कार्यक्रममा प्रधानमन्त्री ओलीले बीपी कोरालाको व्यक्तित्व बहुआयामिक रहेको बताए। साहित्य, राजनीति, दर्शन र राष्ट्रियताको विषयमा बीपीको योगदान प्रेरणादायी रहेको भन्दै उनले विचार र मूल्यमा आधारित राजनीतिका पक्षधरहरूलाई बीपीको जीवनबाट सिक्नुपर्ने बताए।

एक वर्षमा ४५ सवारी दुर्घटना

कैलाली । पछिल्लो एक वर्षमा अछाममा ४५ वटा सवारी दुर्घटना भएका छन् । गत आर्थिक वर्षमा भएका उक्त दुर्घटनामा परी चार जनाले ज्यान गुमाएका छन् भने कैयौँ घाइते भएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय अछामका अनुसार मृत्यु हुनेमध्ये दुई पुरुष, दुई महिला छन् । दुर्घटनामा आठ जना गम्भीर घाइते भएका छन् भने ६७ जना सामान्य घाइते भएको कार्यालयको तथ्याङ्कमा उल्लेख गराएको छ ।

‘‘सवारी दुर्घटनाको प्रमुख कारण तीव्र गति, नियम उल्लङ्घन र चालकको लापरबाही हो,’’ ट्राफिक कार्यालय प्रमुख पदम सिंह महराले भने । महराका अनुसार गत आर्थिक वर्षमा ट्राफिक नियम उलङ्घन गर्ने दुई हजार आठ सय ४२ वटा सवारी साधनहरुलाई कारबाही गरिएको छ । नियम उलङ्घन गर्नेहरुलाई गरिएको कारबाहीबाट १९ लाख ६० हजार रुपियाँ राजस्व सङ्कलन गरिएको छ ।

कारबाही परेका सवारी साधनमध्ये सिटबेल्ड नभएका, ओभर लोड गरी चलाएका, मादक पदार्थ सेवन गर्नेलाई कारबाही गरिएको हो । यस्तै छतमा सामान ओसारपसार गर्ने र तीव्र गतिमा चलेका सवारी साधनलाई कारबाहीबाट सो रकम सङ्कलन गरिएको जिल्ला ट्राफिक कार्यालय अछामका कार्यालय प्रमुख प्रहरी सहायक निरीक्षक महराले जानकारी दिए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनचेतनाका लागि विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै आएको छ । कार्यालयले चालकको स्वास्थ्य परीक्षण, ओभर ट्रयाकसम्बन्धी कक्षा र नयाँ सवारी चालकलाई जनचेतनामूलक कार्यक्रम गर्दै आएको छ । यस्तै कार्यालयले समुदाय प्रहरी साझेदारी कार्याक्रम, विद्यालय सम्पर्क तथा कक्षा सञ्चालन, सरसफाई, यातायात व्यवसायी, चालक, परिचालकसँग दुर्घटनासम्बन्धी कार्यक्रम पनि गर्दै आएको छ ।

सुदूरपश्चिम प्रदेशमा विपतमा परेर चालिस जनाको मृत्यु

धनगढी । सुदूरपश्चिम प्रदेशमा विपतका घटनामा एक वर्षमा ४० जनाले ज्यान गुमाएका छन् ।  आर्थिक वर्ष २०८१/८२ मा १९ पुरुष र २१ महिलाले विपत्को घटनामा ज्यान गुमाएका हुन् । आन्तरिक मामिला तथा कानुन मन्त्रालय मातहतको प्रदेश आपत्कालीन कार्यसञ्चालन केन्द्रका अनुसार चट्याङमा सबैभन्दा बढी ११, पहिरोमा सात, बाढीमा छ जनाले ज्यान गुमाएका छन् ।

यसै गरी जनावर आक्रमणबाट चार, आगलागीबाट तीन, हावाहुरीबाट एकलगायत अन्य घटनामा छ जनाले ज्यान गुमाएका जनाइएको छ । यस अवधिमा ८८ पुरुष र १११ महिला गरी १९९ जना घाइते भएको केन्द्रको बुलेटिनमा उल्लेख छ । २०८१ साउन १ देखि असार ३२ गतेसम्म प्रदेशमा ७९७ वटा विपत्का घटना भएका थिए । घटनामा दुई हजार ३८० परिवार प्रभावित भएका छन् ।

यसै गरी १७२ घरमा आंशिक र १०७ घरमा पूर्ण क्षति भएको जनाइएको छ । विपत्का घटनाबाट १०१ गोठ र ४८२ चौपायाको क्षति भएको बुलेटिनमा उल्लेख छ । विपत्का घटनाका कारण वर्षभरिमा ३७ करोड १८ लाख रुपियाँ बराबरको क्षति भएको जनाइएको छ । यसैबिच प्रदेशवासीलाई मनसुनजन्य विपत्बाट जोगाउन र हुन सक्ने क्षति न्यूनीकरणका लागि मन्त्रालयले प्रदेश विपत् प्रतिकार्ययोजना तयार पारेको छ । मन्त्रालयले गर्नुपर्ने सम्पूर्ण काम गरेर तयार भएको र समितिबाट पारित हुन मात्रै बाँकी रहेको सूचना अधिकारी दीपेन्द्रसिंह विष्टले बताउनुभयो । उहाँले छिटै नै समितिमा लगेर पारित गरिने बताए ।

सुदूरपश्चिम प्रदेशमा यस वर्ष मनसुनजन्य विपत्बाट दुई लाख २७ हजार ७३० जना प्रभावित हुने प्रक्षेपण गरिएको छ । यसै गरी ४२ हजार ११२ घरधुरी प्रभावित हुने जनाइएको छ ।

इजरायलले गाजामा हवाई मार्गबाट राहत सामग्री खसाल्न सुरु गर्‍यो

काठमाडौँ, ११ साउन : इजरायली सेनाले विमानबाट गाजा पट्टीमा मानवीय सहायता सुरु गरेको छ । धेरै हप्ता देखिको अन्तर्राष्ट्रिय दबाब र प्यालेस्टिनी क्षेत्रमा बढ्दो भोकमरीको समस्या पछि सेनाले यो कदम चालेको हो ।

हवाईजहाजबाट खसाइएको सहायतामा पीठो, चिनी र डिब्बाबन्द खाद्य वस्तुहरू भएका प्याकेज आदि भएको आइतबार बिहानको एक विज्ञप्तिमा इजरायल रक्षा बल (आईडीएफ) ले भनेको छ ।

यसअघि इजरायलले संयुक्त राष्ट्रसङ्घ (युएन)का गाडीहरूको लस्करलाई गाजामा प्रवेश गर्न अनुमति दिन मानवीय कोरिडोर खोल्न तयार रहेको बताएको थियो । महिनौँदेखि सीमित आपूर्तिका कारण गाजाका २० लाख मानिसहरू सामूहिक भोकमरीको चपेटामा परेका छन् ।

भोकमरीका कारण केही दिनयता दिनहुँ मानिसको मृत्यु भइरहेको खबर आएको थियो । यसैबिच इजरायलले जानाजानी भोकमरी फैलाउन खोजेको आरोप अस्वीकार गरेको थियो । आफ्नो एउटा पोस्टमा आईडीएफले गाजामा मानवीय सहायता सुधार गर्न नयाँ कदम चाल्ने बारेमा जानकारी दिएको थियो ।

‘खाद्य वितरणको जिम्मेवारी संयुक्त राष्ट्रसङ्घ र अन्तर्राष्ट्रिय सहायता संस्थाहरूको हो । त्यसकारण संयुक्त राष्ट्रसङ्घ र अन्तर्राष्ट्रिय संस्थाहरूले सहायता वितरणमा सुधार गर्ने र सहायता हमाससम्म नपुगोस् भन्ने कुरा सुनिश्चित गर्ने अपेक्षा गरिएको छ’ पोस्टमा भनिएको छ ।

यसलाई किन अपर्याप्त भनियो ?

सहायता एजेन्सीहरूले इजरायलले गाजामा राहत सामग्री हवाईजहाज मार्फत खसाल्नुलाई ध्यान भड्काउन यसो गरेको आरोप लगाएका छन् । यसले गाजामा बढ्दो भोकमरी सङ्कटलाई समाधान गर्न नसक्ने एजेन्सीहरूले बताएका छन् ।

राहत सामग्री हवाईजहाज मार्फत खसाल्दा कहिल्यै पनि आवश्यक मात्रा वा गुणस्तरीय सहायता प्रदान गर्न नसकिने अन्तर्राष्ट्रिय उद्धार समितिका किरोन डोनेलीले भने । संयुक्त अरब इमिरेट्स (युएई) र जोर्डनले आगामी दिनहरूमा आफूले गाजा पठाउन खोजेको सहायता हवाईमार्फत खसाल्ने अपेक्षा गरिएको बताएका छन् ।

हजारभन्दा बढी अन्तर्राष्ट्रिय सहायता संस्थाहरू र मानव अधिकार समूहहरूले गाजामा ठुलो मात्रामा अनिकालको चेतावनी दिएका छन् । हमासद्वारा सञ्चालित गाजा स्वास्थ्य मन्त्रालयले शनिबार कुपोषणका कारण थप पाँच जनाको मृत्यु भएको बताएको छ ।

युद्ध सुरु भएयता खान नपाएर गाजामा मृत्यु हुनेको सङ्ख्या १२७ पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले बताएको छ । यसमा ८५ बालबालिका पनि छन् ।

निर्मला हत्याको अनुसन्धानमा खटिएका प्रहरी अधिकारी नै विभाजित हुँदा परिणाम शून्य

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया नाबालिका किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको सात वर्ष पूरा भएको छ । ०७५ साउन १० गते साथीको घर गएकी निर्मला ११ गते बलात्कारपछि हत्या गरिएको अवस्थामा शव फेला परेको थियो ।

हत्याको सात वर्ष पूरा हुँदा पनि अनुसन्धान अझै शून्य छ । प्रहरी संगठनका लागि सबैभन्दा पेचिलो बनेको निर्मला हत्या अनुसन्धान थप जटिल बन्दै गएको छ ।

निर्मलाको हत्यादेखि नै कञ्चनपुर रहेर अनुसन्धान गरेको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीसमेत रनभुल्लमा छ । पछिल्लो समय त सीआईबी टोली नै कञ्चनपुर जान छाडिसकेको छ । यस बीचमा निर्मलाको हत्या अनुसन्धान गर्न दर्जनौँ प्रहरी अधिकारीलाई अनुसन्धान अधिकृतका रूपमा प्रहरीले प्रहरी प्रधान कार्यालयले खटायो ।

तर, कुनै तथ्य फेला पार्न सकेका छैनन् । यस बीचमा प्रहरी संगठनका आधा दर्जन प्रहरी प्रमुख आईजीपी नै फेरिसकेका छन् ।

यसबीच कञ्चनपुर प्रहरीकै नेतृत्वसमेत नौपटक फेरिसकेको छ । निर्मलाको हत्या प्रकरणमा सुरुवाती अनुसन्धान गर्ने तत्कालीन एसपी डिल्लीराज विष्ट हाल (एसएसपी)बाट अवकाश र सीआईबीबाट खटिएका तत्कालीन डीएसपी हाल (एसपी) अंगुर जीसी नेतृत्वको टोलीले एकजना आरोपितलाई पक्राउ गर्‍यो ।

निर्मलाको बलात्कारपछि हत्या आरोपमा ४ भदौमा भीमदत्त नगरपालिका–१९ का दिलीपसिंह विष्टलाई पक्राउ गरी अभियुक्तका रूपमा सार्वजनिक गरेका थिए । तर, सोही कारणले एसपी विष्ट र डीएसपी जीसी आफैँ कारबाहीको भागीदार बन्न पुगे । दिलीप पक्राउपछि कञ्चनपुर तनावग्रस्तमात्रै बनेन, प्रहरी र स्थानीयवासीबीच निरन्तर झडपको अवस्था सिर्जना भयो ।

प्रहरीको गोली लागेर स्थानीय युवा सन्नी खुनाको प्रहरीको गोली लागेर ज्यान गयो । निर्मलाको भेजाइनल स्वाबसँग डीएनए नमिलेपछि अदालतको आदेशले दिलीप थुनामुक्त भए । कञ्चनपुर तनावग्रस्त बनेपछि गृह मन्त्रालयले तत्कालीन सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा छानबिन समिति बनायो ।

त्यही प्रतिवेदनका आधारमा गृह मन्त्रालयले तत्कालीन एसपी डिल्लीराज विष्टसहित सात जनालाई कारबाही गरिएको थियो । पछि सबै प्रहरी अधिकारीले सफाइ पाए । तर, निर्मला हत्याको अनुसन्धान जहाँको त्यही छ ।

अनुसन्धानमा खटिएका प्रहरी अधिकारीका अनुसार, अनुसन्धानमै खटिने प्रहरी अधिकारीको अनुसन्धान नै विभाजित हुँदा अनुसन्धानले पूर्णता पाउन नसकेको हो ।

अनुसन्धानमा खटिएका एक अधिकारी भन्छन्, ‘‘निर्मलाको अनुसन्धानले टुंगो पाउन जटिल छ । त्यो हाम्रो कारणले नै हो । अनुसन्धानमा खटिएका केही अधिकारी सुरुवाती अनुसन्धान अधिकारीको अनुसन्धान गल्ती देखाउन पक्राउ परेका दिलीप विष्ट होइनन् भन्छन् । तर, नयाँ कुनै पनि ल्याउन सक्दैनन् ।’’

 

‘सेवाग्राहीले जहाँ सेवा लिन कार्यालय समय कुर्नु पर्दैन’

अछाम, ११ साउन ।
सरकारी कार्यालय प्रति आम सेवाग्राहीको धारणा समान छ, समयमा काम हुदैन । अछामको जिल्ला प्रशासन कार्यालय भने अपवाद बनेको छ । सेवाग्राहीले सेवा लिन कार्यालय समय कुर्नु  पर्दैन ।

७६ वटा जिल्ला प्रशासन कार्यालय १० बजे खुल्छन् । र, पाँच बजे बन्द हुन्छन् । जिल्ला प्रशासन कार्यालय अछाम भने विहान ८ बजे खुल्छ । र, साँझ ६ बजे बन्द हुन्छ ।

कार्यालय समयमै सरकारी कर्मचारीहरु आफ्नो फाँटमा नभेटिने सेवाग्राहीले गुनासो गर्ने गरेका छन् । जिल्ला प्रशासन कार्यालय अछामका कर्मचारीहरु भने समयभन्दा दुई घण्टा पहिले नै आफ्नो फाँटमा हाजिर हुन्छन् । र, सेवा दिन थाल्छन् । साँझ कार्यालय समयपछि थप एक घण्टा सेवा दिन्छन् । दैनिक थप तीन घण्टा सेवा दिए वाफत कर्मचारीहरुले भत्ता वा अतिरिक्त सुविधा भने लिदैनन् ।

सेवाग्राहीको सुविधाका लागि जिल्ला प्रशासन कार्यालय अछामले कार्यालय समयभन्दा अघि पछि सेवा प्रवाह गर्ने निर्णयमा कर्मचारीहरुले साथ दिएका हुन् ।

पत्रकार गोविन्द खड्का काठमाण्डौंबाट प्रशासनिक कामका लागि शुक्रवार विहान ८ः३० बजे अछामको मंगलसेनस्थित जिल्ला प्रशासन कार्यालय पुग्दा कर्मचारीहरु सेवाग्राहीको काममा व्यस्त थिए । धनगढी फर्किन हतारले कार्यालय खुल्नुअघि नै पुगेका खड्का त्यतिबेला चकित भए, जव ९ नबज्दै उनको काम सम्पन्न भयो ।

एउटा व्यक्तिलको ईच्छाशक्ति र सकारात्मक सोचले सरकारी संयन्त्रप्रति रहेको नकारात्मक धारणा चिर्न योगदान पुगेको खड्काले बताए ।

निमित्त प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले सेवाग्राहीको सुविधा र सहजताका लागि कार्यालय समयभन्दा तीन घण्टा अतिरिक्त सेवा सञ्चालन गरेका हुन् । उनले बढ्दो सेवाग्राहीको चापलाई मध्यनजर गर्दै क्षेत्रगत आधारमा जोर बिजोर सेवा समेत प्रवाह गरिरहेका छन् ।

जिल्ला प्रशासन कार्यालय अछाम देशभरीमै त्यस्तो एक कार्यालय हो, जुन कार्यालयमा सेवाग्राहीले सेवा लिन कार्यालय समय कुर्नु पर्दैन । अरु कार्यालय आफ्नो समयमा खुल्छन्, आफ्नो सुविधा र सहजता अनुसार खुल्छन् । जिल्ला प्रशासन कार्यालय अछाम सेवाग्राहीको समयमा खुल्छ ।

एनपीएल दोस्रो संस्करणको खेलाडी अक्सन साउन २४ गते हुने

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि खेलाडीहरूको अक्सन यही साउन २४ गते हुने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुने नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणका लागि खेलाडी दर्ता प्रक्रिया सम्पन्न भएकोे जानकारी दिँदै क्यानले अक्सन बारे जानकारी दिएको हो ।

क्यानले शनिबार जारी गरेको विज्ञप्तिमा अक्सनका लागि ४५८ जना नेपाली क्रिकेट खेलाडीहरूले नाम दर्ता गरेको जनाएको छ।

दर्ता भएका सम्पूर्ण खेलाडीहरूको विवरण प्रतियोगितामा सहभागी आठवटै फ्रेन्चाइज टोलीहरूलाई उपलब्ध गराइएको क्यानले विज्ञप्तिमा उल्लेख गरेको छ ।

फिलिपिन्समा बाढी र पहिरो : मृत्यु हुनेकाे सङ्ख्या ३० पुग्यो

मनिला । फिलिपिन्समा गत साता यता लगातार भएको भीषण वर्षा, बाढी र पहिरोका कारण हालसम्म कम्तीमा ३० जनाको ज्यान गएको फिलिपिन्सको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्ले जानकारी दिएको छ ।

तीमध्ये १३ जनाको मृत्यु पुष्टि भइसकेको छ भने अन्यको पहिचान प्रक्रिया जारी छ । यस्तै, सात जना अझै हराइरहेका छन्, जसमा केही आकस्मिक बाढीले बगाएको र केही पहिरोमा पुरिएको आशंका गरिएको छ । घटनाहरूमा परी १० जना घाइते भएका छन् ।

उक्त प्राकृतिक प्रकोपले करिब १४ लाख ६० हजार परिवार प्रभावित भएका छन्, जसमा करिब ५३ लाख मानिस समावेश छन् । नागरिक सुरक्षा कार्यालयका अनुसार देशभरका ८८ शहर तथा नगरपालिकाले विपद् व्यवस्थापनलाई सहज बनाउने उद्देश्यले प्रकोपको अवस्था घोषणा गरिसकेका छन् ।

हाल टाइफुन विपा, फ्रान्सिस्को र को–मे नामक आँधीहरू देशको भूभागबाट बाहिरिइसकेका छन् । तर, मौसम विज्ञान विभागले लुजोन टापुको केही भागमा अझै केही दिन भारी वर्षा जारी रहने पूर्वानुमान गरेको छ । फिलिपिन्समा प्रत्येक वर्ष झन्डै २० वटा आँधीबेहरी आउने गर्छन्, जसले व्यापक जनधनको क्षति पुर्याउने गरेको छ ।

साउनभित्रै ड्राइभिङ लाइसेन्स छापेर वितरण गर्छौं : मन्त्री महर्जन

काठमाडौं। वाग्मती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जनले यही साउनभित्र सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छापेर वितरण थालिने बताएका छन् । शनिबार वाग्मती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालय परिसरमा न्युज एजेन्सी नेपालसँग उनले हालै सुरु गरिएको ई–ड्राइभिङ लाइसेन्स (ईडीएल) प्रणालीले सकारात्मक प्रभाव पार्न थालेको बताएका हुन् ।

गएको वैशाख १९ गते प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा वाग्मती ईडीएल प्रणाली तथा अनलाइन बिलबुक सेवा नागरिक एपमार्फत सार्वजनिक गरिएको थियो । उक्त सेवा सुरु भएको तीन महिनामा धेरै सेवाग्राहीले लाभ लिएको मन्त्री महर्जनको भनाइ छ ।

उनले नागरिकले आफ्नो सवारीसाधनसम्बन्धी विवरण अनलाइनमार्फत भरेर यातायात कार्यालयमा ‘भेरिफिकेसन’ गराउन सक्ने बताए । त्यसपछि पटक–पटक कार्यालय धाउनु नपर्ने व्यवस्था गरिएको उनले जानकारी दिए ।

“साउनभित्रै हामीले लाइसेन्स प्रिन्ट गरेर वितरण सुरु गर्छौं, यसबाट सेवाग्राहीहरूलाई सिधै फाइदा पुग्नेछ,” उनले भने, “जनताले पटक–पटक यातायात कार्यालय जानुपर्ने बाध्यता हटाउने र बिचौलिया संस्कृतिको अन्त्य गर्ने हाम्रो मुख्य उद्देश्य हो ।”

यो डिजिटल सेवा क्रमशः अरू प्रदेशमा पनि विस्तार हुने मन्त्री महर्जनले बताए । सातै प्रदेशले लाइसेन्स छाप्ने तयारी गरिरहेका छन् । त्यसको सुरुआत वाग्मतीले गर्न लागेको उनले उल्लेख गरे ।

इरानको जेलमा रहेका पाँच नेपाली स्वदेश फिर्ता

काठमाडौं — विभिन्न कारणले इरानको जेलमा रहेका पाँच नेपाली नागरिकलाई स्वदेश फिर्ता गराइएको छ।

परराष्ट्र मन्त्रालयका अनुसार, त्यहाँको अदालतबाट थुनामुक्त भएका नेपालीहरूलाई तेहरानस्थित नेपाली अवैतनिक वाणिज्यदूत तथा अन्तरराष्ट्रिय आप्रवासन संगठनको सहकार्यमा नेपाल ल्याइएको हो।

यसअघि पनि भारत सरकारको सहायतामा भारतीय उद्धार उडानमार्फत तीन चरणमा नौ जना नेपालीलाई इरानबाट स्वदेश फर्काइएको थियो।

इजरायल–इरानबीच गत जुन १३ देखि सुरु भएको द्वन्द्व जुन २३ मा युद्धविराम भएपछि क्षेत्रको शान्तिसुरक्षा अवस्था सहज बन्दै गएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

भावनाले मात्र कम्युनिस्टको एकता हुन सक्दैन : झलनाथ खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) सम्मानित नेता झलनाथ खनालले भावनाले मात्र कम्युनिस्टको एकता हुन नसक्ने बताएका छन् । शनिबार (साउन १०) काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

कम्युनिस्ट एकताबद्ध हुनु राम्रो भएको उनले उल्लेख गरे । सही विचार नभईकन एकताबद्ध गर्न नसकिनेमा उनले जोड दिए । सही विचार भनेको हाल नेपाल कुन ठाउँमा आइपुग्यो भन्ने मूल्यांकन गर्नु रहेको उनले बताए ।

हाल नेपाल समाजवादी क्रान्ति र रूपान्तरणको युगमा आइपुगेको उनले सुनाए । उनले कम्युनिस्टको मार्गदर्शक सिद्धान्त मार्क्सवाद, लेनिनवाद भएको बताए ।

प्रचण्डको ब्रान्ड भ्यालु राम्रो छ : वर्षमान पुन

काठमाडौं : माओवादी केन्द्रका उप-महासचिव वर्षमान पुनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको ‘ब्रान्ड भ्यालु राम्रो रहेको दाबी गरे।

पार्टी सम्बद्ध अखिल क्रान्तिकारीले शनिवार राजधानीमा गरेको कार्यक्रममा पुनले प्रचण्डले आफूलाई रूपान्तरण गर्न भने जरुरी रहेको बताए।

‘हामी अध्यक्ष प्रचण्डको नेतृत्वमा एकताबद्ध र गोलबन्द छौँ। प्रचण्ड परिवर्तनको राजनीतिको ब्रान्ड हो, हामीले उहाँलाई ब्रान्डका रूपमा स्थापित गरेका छौँ। उहाँको ब्रान्ड भ्यालु राम्रो छ।’

पुनले पटक पटक मन्त्री, सांसद भएका र दशक अघिदेखि पार्टीको महत्त्वपूर्ण भूमिकामा रहेका नेताहरूले बिग्रिएको जति दोष प्रचण्डको थाप्लोमा हालेर उम्किन नपाउने बताए।

‘हामी कोही अर्थमन्त्री, कोही गृहमन्त्री, कोही ऊर्जामन्त्री, कोही विभिन्न खालका मन्त्री भएका छौँ। मन्त्री हुँदा या सांसदमा हुँदा, पार्टीको उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव विभिन्न जिम्मेवारीमा छौँ,’ उनले भने ‘पार्टीलाई राम्रो बनाउने हाम्रो पनि दायित्व हुन्छ। हामीले सरकार र संसद्मा हुँदा के राम्रा नराम्रा गर्यौँ ? गर्न हुने र न हुने गर्यौँ ? हामी आफूतिर पनि फर्कन तयार हुनुपर्छ।’

दोस्रो तहका नेताहरूले पहिलो र पछिल्लो पुस्ताबीच समन्वय र सन्तुलन मिलाएर पार्टीलाई गतिशील बनाउने भूमिका खेल्नुपर्ने उनले बताए ।

एक वर्षमा साढे दुई लाखभन्दा बढी पर्यटकले गरे टीकापुर पार्क अवलोकन

कैलालीः गत आर्थिक वर्षमा कैलालीको टीकापुर पार्कमा साढे दुई लाखभन्दा बढी पर्यटकले अवलोकन गरेका छन्।

आर्थिक वर्ष २०८१/८२ मा दुई लाख ५३ हजार चार सय ६८ जना आन्तरिक पर्यटकले टीकापुर पार्कको अवलोकन गरेका हुन्। टीकापुर नगरपालिकाको मातहतमा रहेको टीकापुर पार्कबाट नगरपालिकाले गत आवमा रु ९३ लाख ४४ हजार चार सय १० राजस्व सङ्कलन गरेको छ । आ.व. २०८०/८१ मा नगरपालिकाले पार्कबाट रु ६३ लाख ९७ हजार एक सय ७५ राजस्व सङ्कलन गरेको थियो।

टीकापुर नगरपालिकाका राजस्व शाखा प्रमुख नन्द केसीले दिएको जानकारीअनुसार गतवर्ष दुई लाख १८ हजार दुई सय ८ जना स्वदेशी पर्यटकले पार्कको अवलोकन गरेका थिए। जसबाट रु ६५ लाख ४६ हजार दुई सय ४० राजस्व सङ्कलन भएको छ भने ३५ हजार दुई सय ६० जना विद्यार्थी तथा जेष्ठ नागरिकहरूले पार्क अवलोकन गरेका छन्। उनीहरूबाट नगरपालिकाले पाँच लाख ५८ हजार नौ सय राजस्व सङ्कलन भएको देखिन्छ।

त्यतिमात्र नभई पार्क अवलोकनमा आउने पर्यटकहरुको सवारीसाधन पार्किङबाट मात्रै रु आठ लाख ३७ हजार एक सय राजस्व उठेको नगरपालिकाका राजस्व शाखा प्रमुख केसी बताँछन्। त्यसैगरी पिकनिक स्पट, फोटोग्राफी, क्यामरालगायत विविधबाट रु १४ लाख ३२ हजार एक सय ७० सङ्कलन भएको छ।

पार्कमा रहेको वीरेन्द्र विश्राम घर पर्यटकका लागि खुला गरिएपछि पछिल्लो समय पर्यटकहरुको आवागमन बढ्दै गएको हो। पार्कमा पछिल्लो समय दैनिक करिब पाँच सय पर्यटक अवलोकनका लागि आउने गरेका छन्।

पार्कमा व्यावसायिक फोटोग्राफी सञ्चालन भएपछि पनि पर्यटकको संख्या बढेको देखिन्छ। अहिले पार्कभित्र करिब ३५ जना युवाहरू व्यावसायिक फोटोग्राफीको काम गर्दै आएका छन्। टीकापुर नगरपालिका–३ का नैनबहादुर चौधरी कुखुरापालन व्यवसाय छोडेर दुई वर्षदेखि फोटोग्राफरको काम गर्दै आएका छन्। कुखुरापालनबाट भन्दा राम्रो आम्दानी फोटोग्राफीबाट हुने भएपछि यतातिर लागेको उनको भनाइ छ। “सुरुवातका दिनमा धेरै राम्रो आम्दानी थियो, दिनमै चार÷पाँच हजार रुपैयाँसम्म कमाउन सकिन्थ्यो”, उनले भने, “आम्दानी राम्रो देखेपछि कुखुरापालन व्यवसाय छोडेर यता लागेको हुँ, तर अहिले धेरैजना यसैमा जोडिएका कारण त्यस्तो आम्दानी छैन।”

पार्कभित्र फोटोग्राफीको काम गर्ने अधिकांश युवाहरू अध्ययनसँगसँगै फोटोग्राफरको काम गर्दै आएका छन्। टीकापुर स्थिति खड्ग स्मृति माध्यमिक विद्यालयबाट कक्षा १२ को परीक्षा दिएका सुनिल चौधरी अहिले पार्कमा फोटोग्राफीको काम गर्दै आएका छन्। उनले फुर्सदको समयलाई सदुपयोग गर्दै दैनिक रु दुईदेखि तीन हजार आम्दानी गर्दै आएको बताए। “सबै दिन एउटै किसिमको हुँदैन । कुनै दिन बढी हुन्छ त कुनै दिन हुँदैन”, उनले भने, “आफ्नो अध्ययनको खर्च अनि कोठाको खर्च व्यवस्थापनमा कुनै समस्या छैन ।”

नगरपालिकाले चालू आर्थिक वर्षबाट पार्कको प्रवेश शुल्क वृद्धि गरेको छ । यसभन्दा पहिलेप्रति व्यक्ति ३० रुपैयाँ लाग्दै आएको शुल्क बढाएर ५० पुर्याइएको छ। त्यसैगरी विद्यार्थी, अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकहरूले यसभन्दा पहिले प्रतिव्यक्ति रु १५ तिर्दै आएकोमा अब रु ३० तिर्नुपर्ने हुन्छ। नगरपालिकाको आर्थिक ऐन २०८२ अनुसार उक्त दर हेरफेर गरिएको नगरप्रमुख रामलाल डगौरा थारुले बताए।

त्यसैगरी प्रतिदिन रु एक सयमा व्यावसायिक फोटोग्राफीको काम गर्दै आएका व्यवसायीको शुक्ल वृद्धि गरेको छ । अहिले प्रतिदिन फोटोग्राफरले पार्कभित्र फोटो खिचेको दुई सय शुल्क तिर्नुपर्ने भएको छ । “आवश्यकता र औचित्यका आधारमा धेरैपछि पार्कको प्रवेश शुल्क लगायतका करका दरमा हेरफेर गरिएको छ”, नगरप्रमुख थारुले भने, “यसलाई कार्यान्वयन गर्दै पार्कलाई थप व्यवस्थित र रमणीय बनाउँदै लगिने छ ।”

यी हुन् मिस नेपाल-२०२५ का २६ प्रतिस्पर्धी

काठमाडौं- द हिडन ट्रेजरले आयोजना गर्ने मिस नेपाल- २०२५ को ग्रान्ड फिनाले आगामी भदौ १४ गते ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा हुने भएको छ ।

शुक्रवार ललितपुरमा आयोजित ‘स्यास सेरेमोनी’ मा मिस नेपाल २०२५ को फिनालेमा प्रतिस्पर्धा गर्ने प्रतिस्पर्धीहरूलाई स्यास तथा प्रतिस्पर्धि नम्बर प्रदान गरिएको छ ।

फिनालेमा २६ जना प्रतिस्पर्धी सहभागी हुने भएका छन् । यी हुन् ग्रान्ड फिनालेका लागि छानिएका २६ प्रतिस्पर्धीहरु:

१. सान्भी मण्डल

२. संस्कृति भट्टराई

३. सुदिना हुमागाईं

४. श्रुती महर्जन

५. अनुराधा शर्मा ढकाल

६. अनुप्रिया ठाकुर

७. दीपशिखा नेपाल

८. जगदिश्वरी शाह

९. लुना लुइँटेल

१०. जशोदा कार्की

११. आश्रीया थापा

१२. उरुषा भण्डारी

१३. अञ्जिला रजक

१४. सृष्टिकुमारी तामा

१५. क्रिस्टिना बस्नेत

१६. आरती थापा

१७. समृद्धि केसी

१८. सइच्छा थापा

१९. स्वाती पञ्जियार

२०. सोनी घले

२१. श्रीयानी श्रेष्ठ

२२. स्मृति श्रेष्ठ

२३. ओजल रायमाझी

२४. निलिमा पाण्डे

२५. प्रियंका थापा

२६. प्रज्ञिका क्षेत्री

स्वास्थ्य मन्त्री पौडेलद्वारा बोआओ एसिया हेल्थ फोरममा नेपालका रणनीति प्रस्तुत

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बोआओ फोरम अन्तर्गतको एसिया स्वास्थ्य फोरम २०२५ मा सम्बोधन गरेका छन् ।

फोरमको पूर्ण सत्रमा नवप्रवर्तनद्वारा सञ्चालित स्वास्थ्य उद्योगको नयाँ भविष्य विषयमा सम्बोधन गर्दै मन्त्री पौडेलले नेपालले डिजिटल स्वास्थ्यमा रुपान्तरण गर्ने रणनीतिअन्तर्गत सक्रिय रुपमा काम गरिरहेको बताए । यसका माध्यमबाट नागरिकको स्वास्थ्य पहुँच वृद्धिसँगै गुणस्तरमा सुधार ल्याउन काम भैरहेको भन्दै उनले एसियाली देशहरुसँग सहकार्यका लागि तयार रहेको बताए ।

आधुनिक प्रविधिले लागत घटाउन, निदान, स्वास्थ्य प्रणाली व्यवस्थापन र जोखिम नक्साङ्कनमा शुद्धता सुधार गर्न सक्ने उल्लेख गर्दै मन्त्री पौडेलले स्वास्थ्यको पहुँचबाहिर रहेका नागरिकलाई ध्यानमा राखेर काम गरिरहेको बताए ।

मन्त्री पौडेलले फोरमअन्तर्गतको जलवायु परिवर्तनले स्वास्थ्यमा पारेको प्रभावसम्बन्धी सत्रमा समेत सम्बोधन गर्दै जलवायु परिवर्तनको असरका कारण प्रभावित नागरिकको विषयलाई उजागर गर्न जलवायु परिवर्तन र स्वास्थ्यबारे सम्मेलन गर्न लागिएको घोषणा गरे । जलवायु उत्पन्न स्वास्थ्य संकटको सामना गर्न तयारीका लागि नेपालको प्रयासबारे जानकारी गराउँदै यसलाई साझा मुद्दा बनाउन नेपालले पहल गरिरहने दृढता व्यक्त गरे ।

चीन भ्रमणका क्रममा मन्त्री पौडेलले त्यहाँको राष्ट्रिय रोग नियन्त्रण तथा रोकथाम प्रशासन (एनडीसीपीए) का निर्देशक शेन होङबिनसँग भेट गर्दै स्वास्थ्य सहकार्यका लागि आग्रह गरेका थिए ।

नेपाली राजदूत डा. कृष्णप्रसाद ओलीसमेत सहभागी द्विपक्षीय भेटमा हेटौंडाको भेक्टरजन्य रोग अनुसन्धान केन्द्रमा चिनियाँ सहयोग, सरकारी अस्पतालहरूमा न्यूरो उपचार केन्द्र लगायतका विषयमा छलफल भएको चीनस्थित नेपाली राजदूतावासले जनाएको छ ।

मन्त्री पौडेलले बेइजिङमा बसोबास गर्ने नेपाली समुदायसँग पनि भेट गर्दै चीनमा प्राप्त ज्ञान र सीपबाट राष्ट्रको लागि योगदान पु¥याउन आग्रह गरे ।

 

शिक्षा विधेयकमा सरकारले जालझेल गर्दैछ, शिक्षकहरूलाई धोखा हुन दिँदैनौँ: प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षकहरूमाथि बेइमानी हुन नदिने बताएका छन्।

सहिद शिक्षक स्मृति केन्द्रमा बहुउद्देश्यीय भवनको उद्घाटन गर्दै शिक्षक आन्दोलन, शिक्षा विधेयक र हालको राजनीतिक परिदृश्यबारे जानकारी गराए।

उनले भने, ‘तपाईँ लाखौँ आएर आन्दोलन गर्नुभयो। तर सरकारले अझै जालझेल गर्न खोज्दैछ। तर यो मुद्दा सरकारले जालझेल गरेर रोकिराख्न सक्दैन। तपाईँहरूले सोचेजस्तो सबै नहुनसक्ला तर भलै हामीले संविधानमा अगाडि जाने ढोका खुला गरेर सम्झौता गरेकै हो। त्यस्तो हुनसक्ला। तर, शिक्षकहरूलाई पूरै बेइमानी र धोखा हुन दिइनेछैन।’

शिक्षकहरूले सडकमा आउनु नपर्ने अवस्था संविधानले नै सुनिश्चित गरेको भएपनि त्यसअनुसार कार्यान्वयन नगर्दा आन्दोलन गर्न बाध्य भएको उल्लेख गरे।

पछिल्लो पटक आफू नेतृत्वको सरकारले शिक्षकहरूसँग गरेको सहमति कार्यान्वयन गर्न तत्परता नदेखाएको भन्दै असन्तोष व्यक्त गरे।
उनले भने, ‘सरकार तयार नभएपछि तपाईँहरू (शिक्षकहरू) सडकमा रहनुपर्‍यो, आन्दोलनमा हुनु भयो। तर सरकारको नेतृत्वबाट अपमानजनक व्यवहार भयो।’

एसियाली पारा तेक्वान्दो खेल्न जाने नेपाली टोलीको बिदाइ

काठमाडौं । काठमाडौं जिल्ला तेक्वान्दो संघले १०औं एसियाली पारा तेक्वान्दो च्याम्पियनसिप (जि ४) मा सहभागी हुने ५ खेलाडीसहित ७ सदस्यीय नेपाली टोलीलाई शनिबार बिदाइ गरेको छ ।

मलेसियाको कुचिङमा हुने प्रतियोगितामा पाँचै नेपाली खेलाडीले साउन १६ गते प्रतिस्पर्धा गर्ने छन् । टोली साउन १३ गते मलेसिया जाने छ ।

पाँचै खेलाडीले के–४४ क्याटगोरीअन्तर्गत विभिन्न तौलसमूहमा नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पुरुष ५८ केजीमूनि ओलम्पियन भरतसिंह महता तथा ६३ केजीमूनि अमिर भ्लोनले प्रतिस्पर्धा गर्ने छन् ।

महिला ५७ केजीमूनि पेरिस पारालिम्पिक तथा चौथो एसियाली पारा खेलकुदकी ऐतिहासिक कांस्य विजेता पलेशा गोबर्धन तथा ४७ केजीमूनि कामना प्रसाईं र रेणु तामाङले खेल्ने छन् । चीनको सांघाईमा अध्ययन गरिरहेकी पलेशा त्यत्तैबाट मलेसिया जाने छिन् ।

पारा तेक्वान्दोका सफल प्रशिक्षक कविराज नेगी लामाले यो प्रतियोगितामा पनि प्रशिक्षकको भूमिकामा छन् । व्यवस्थापकमा रामचन्द्र श्रेष्ठ रहेका छन् । प्रशिक्षक लामाले वरीयता सुधार गर्न प्रतियोगता महत्वपूर्ण भएको बताए ।

नेपालले सुरुको संस्करणदेखि निरन्तर प्रतियोगितामा सहभागिता जनाउदै आएको छ । हालसम्म नेपालले १ रजत र ५ गरी ६ पदक जितेको प्रशिक्षक लामाले जनाएका छन् । रञ्जना धामीले रजत र कांस्य जितेकी छन् । पलेशा, अरुण शाक्य, सीता भण्डारी र रोहितहाङ राईले कांस्य प्राप्त गरेका छन् ।

टोलीलाई नेपाल च्याम्बर अफ कमर्सअन्तर्गत शिक्षा तथा खेलकुद समितिका अध्यक्ष रुपक राजवंशी र उपाध्यक्ष सुनिता सिंह, काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष विक्रम खड्गीलगायतले ठमेलमा आयोजित एक कार्यक्रमबीच बिदाइ गरे ।

अध्यक्ष राजवंशीले टोलीलाई प्रोत्साहन स्वरुप ५० हजार नगद प्रदान गर्ने घोषणा गरे । सोही अवसरमा लायन्स क्लब अफ काठमाडौं तेक्वान्दो नेपाल र लायन्स क्लब अफ काठमाडौं मेरिगोल्डको पहलमा अमेरिकामा बस्दै आएकी पूर्व तेक्वान्दो खेलाडी सुमि परियारले उपलब्ध गराएको ट्रयाकसुट हस्तान्तरण गरिएको थियो ।

काठमाडौं जिल्ला तेक्वान्दो संघले पनि टोलीलाई टिसर्ट उपलब्ध गराएको थियो ।

कुलिङ पिरियडमा एमालेले म्याऊ गरिहाल्यो, प्रधानमन्त्रीलाई छानबिन गरौं : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड संघीय निजामती विधेयकमा कुलिङ पिरियडमा भएको छेडखानीमा अन्तिममा नेकपा एमालेले म्याउ गरेको आरोप लगाएका छन् ।

काठमाडौंमा शनिबार आयोजित एकीकृत अखिल नेपाल शिक्षक संगठनको एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले कुलिङ पिरियडमा भएको छेडखानीमा एमाले र यसको नेतृत्व जिम्मेवार रहेको आरोप लगाएका हुन् ।

‘कुलिङ अफ पिरियड २ वर्ष सर्वसम्मत भएको हो तर, अहिले सरकारको नेतृत्व गर्ने पार्टीले राष्ट्रिय सभामा पहिला भन्दा त सबैले संशोधन राख्ने, २ वर्षे कुलिङ अफ पिरियडको पक्षमा भन्ने थियो’ उनले भने, ‘तर अहिले त्यो राख्न हुन्न भनेर लास्टमा गएपछि चीज के रहेछ भने बिरालोले अन्तिममा म्याउ गरि छाड्यो भने जस्तै एमालेले म्याउ गरि नै हाल्यो।’

प्रचण्डले एमालेको नियत नै निजामती विधेयकमा छेडखानी र षड्यन्त्र गर्ने रहेको देखिएको आरोप लगाए । ‘उस (एमाले) को नियत नै रहेछ यसका विरुद्ध षड्यन्त्र गर्ने। त्यसकारण मैले भनेको छु यसको जिम्मेवारी प्रधानमन्त्री केपी ओलीले लिनु पर्दछ,’ उनले भने ।

प्रचण्डले थपे, ‘मैले संसदीय छानबिन समितिलाई भनेको छु, शंकाको सुई त पहिला पनि प्रधानमन्त्रीतिर सोझिएकै थियो तर ठोस रुपमा भन्ने आधार थिएन। अहिले एमालेका सांसदहरुले गरेको गतिविधिबाट र संशोधनबाट यो एमाले पार्टी र त्यसको नेतृत्वको नियतकै कारणले भएको हो।’

उनले छानबिनको दायरामा प्रधानमन्त्री स्वयंलाई पनि पारिनुपर्ने तर्क गरे । ‘छानबिनको दायरामा प्रधानमन्त्री स्वयं पनि पारिनु पर्छ भनेर हामीले भनेका छौं। हाम्रा माननीय सदस्यहरुले सदनमा पनि उठाउनु भएको छ।’

सुदुरपश्चिमको प्रदेश जनस्वास्थ प्रयोगशाला प्रमुखमा डा. मिश्र

धनगढी- सुदुरपश्चिम प्रदेशको प्रदेश जनस्वास्थ प्रयोगशालाको प्रमुखमा डा.भुषण मिश्रले जिममेवारी पाएका छन ।

सेती प्रादेशीक अस्पतालमा कार्यरत डा. मिश्रलाई सामाजिक मन्त्रालयले गत सोमबार सचिब स्तरीय निर्णय गरी थप जिममेवमरी दिएको हो ।

मेडीकल अधिकृत दरबन्दीमा कार्यरत रहेका डा. मिश्र अर्थोपेडीक सर्जन हुन ।

डाना कप २०२५ को उपाधि नेपाली टोलीले जित्यो

काठमाडौं । डेनमार्कमा सम्पन्न डाना कप २०२५ को उपाधि जित्दै नेपाली यू-१४ टोलीले ऐतिहासिक सफलता हात पारेको छ।

गोल्स एकेडेमी, एजी टेन फुटबल एकेडेमी र एकेडेमी नेपाल संयुक्त रूपमा बनेको टोलीले शुक्रबार भएको फाइनलमा केन्यालाई ३–१ ले पराजित गर्दै उपाधि जितेको हो ।

फाइनल खेलमा रिहान बुद्ध मगर, नोआ राय र अरणिस गुप्ताले गोल गर्दै टोलीलाई जित दिलाए।

यसअघि सेमिफाइनलमा नेपाली टोलीले यूएईको आईएफए स्पोर्टलाई ३–० गोलले हराउँदै पहिलोपटक फाइनलमा स्थान बनाएको थियो।

यो उपलब्धिसँगै नेपाली यू-१४ टोलीले अन्तर्राष्ट्रिय स्तरमा ऐतिहासिक सफलता हासिल गरेको छ।

सुदूरपश्चिम प्रदेश कराते महासंघद्वारा खेलाडी तथा प्रशिक्षकहरु सम्मानित

धनगढी, ९ साउन ।
श्रीलंकामा सम्पन्न ९औँ दक्षिण एशियाली कराते प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडी र  प्रशिक्षकहरुलाई धनगढीमा सम्मान गरिएको छ ।

सुदूरपश्चिम प्रदेश कराते महासंघद्धारा शुक्रबार धनगढीमा आयोजित खेलाडी तथा प्रशिक्षक सम्मान कार्यक्रममा उनीहरुलाई नगद सहित सम्मान गरिएको हो ।

धनगढी रंगशालामा आयोजित कार्यक्रम सुदूरपश्चिम प्रदेश कराते महासंघका अध्यक्ष त्रैलोक्यनाथ पाण्डेयको सभापतित्वमा सम्पन्न कार्यक्रममा सुदूरपश्चिम प्रदेश खेलकुद परिषदका सदस्य सचिव लोक बहादुर खड्का प्रमुख अतिथि रहेका थिए ।

अमेरिकामा बस्दै आएका करातेका पुर्व अन्तर्राष्ट्रिय खेलाडी तथा नेपाल कराते महासंघका केन्द्रीय उपाध्यक्ष मकेन्द्र बहादुर सिंहको आर्थिक सहयोगमा खेलाडीहरुलाई नगद सहित सम्मान गरिएको हो ।

कार्यक्रममा गत वर्ष भुटानमा सम्पन्न ८औँ दक्षिण एशियाली कराते प्रतियोगिता र भर्खरै श्रीलंकामा सम्पन्न ९औँ दक्षिण एशियाली कराते प्रतियोगितामा स्वर्णपदक प्राप्त गर्ने खेलाडी मनिषा कुमारी बोहरा र ९ औँ दक्षिण एशियाली कराते प्रतियोगितामा स्वर्णपदक प्राप्त गर्ने आस्था लुहार तथा सोही प्रतियोगितामा कास्य पदक प्राप्त गर्ने खेलाडीहरु सोनिया तिरुवा र कन्चन बोहरालाई नगद सहित सम्मान गरिएको थियो ।

त्यस्तै पदक बिजेता खेलाडी आस्था र सोनियाका प्रशिक्षक बिरेन्द्र बहादुर चन्द तथा मनिषा र कन्चनका प्रशिक्षक अशोक चन्दलाई पनि नगद सहित सम्मान गरिएको थियो ।

सोही कार्यक्रममा हालै काठमाडौँमा सम्पन्न १५औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने दुई जना खेलाडीहरुलाई पनि नगद सहित सम्मान गरिएको थियो ।

प्रतियोगितामा एथलेटिक्स तर्फ छात्राको ४०० मिटर दौडमा राष्ट्रिय रेकर्ड सहित स्वर्णपदक प्राप्त गर्ने संगीता बिके र १३ औं, १४औँ र १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण पदकको ह्याट्रिक गर्ने तेक्वान्दो खेलाडी दीपा जैशी पनि नगद सहित सम्मानित भईन् ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेशमा क्रियाशील अधिकांश खेलकुद संघका अध्यक्ष तथा पदाधिकारीहरु, राष्ट्रिय खेलकुद परिषद र सुदूरपश्चिम प्रदेश खेलकुद परिषदमा कार्यरत प्रशिक्षक, कर्मचारी सहित पाँच सय भन्दा खेलाडीहरुको उपस्थिति रहेको थियो ।

प्रमुख अतिथि खेलकुद परिषदका सदस्य सचिव लोक बहादुर खड्काले सम्मान तथा प्रशंसाले खेलाडीहरुको हौसला बृद्धि गर्ने बताउदै आयोजक संस्थालाई धन्यवाद दिए ।

आयोजक संस्थाका अध्यक्ष त्रैलोक्यनाथ पाण्डेयले सम्मानित खेलाडी तथा प्रशिक्षकलाई बधाई दिदै कार्यक्रममा सहभागी अतिथि, खेलाडी, प्रशिक्षक र कर्मचारीलाई धन्यवाद दिए ।

खोज्नुहोस