बाजुराका आगलागी पिडितलाई नेपाल भारत मैत्रीसंघद्धारा राहत सामग्री प्रदान

धनगढी, १८ असार ।

जेठ २३ गते भएको आगलागीबाट पिडित बाजुराको बुढीगङ्गा नगरपालिका–६ बाम्का बजारका ४० घरपरिवारलाई नेपाल भारत मैत्री संघले राहत सामग्री प्रदान गरेको छ ।

नेपाल भारत मैत्री संघ केन्द्रीय कार्यालयले उपलब्ध गराएको खाद्यान्न सामग्री सुदुरपश्चिम प्रदेश संघको समन्वयमा बितरण गरिएको हो ।

नेपाल भारत मैत्री संघका केन्द्रीय उपाध्यक्ष हरि शंकर ठाकुरले वडा अध्यक्ष भवनसिंह केसीको रोहवरमा आगलागी पिडित ४० परिवारलाई खाद्यान्न वितरण गरिएको बताए ।

उनले प्रति परिवार एक बोरा चामल, दुई किलो दाल, एक किलो चिनी, एक दर्जन, एक सर्फ, एक थान कम्बल, एक थान वितरण गरिएको बताए

देशका लागि आन्दोलन गर्नै पर्छ : राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देशमा यथास्थितिको अन्त्य गरेर नयाँ सम्झौता र समझदारीबाट अगाडि बढ्न आन्दोलन गर्नै पर्ने बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित वर्तमान मुलुकको अवस्था र राष्ट्रिय प्रजातन्त्र पार्टीको नेतृत्वदायी भूमिका विषयक अन्तर संवाद कार्यक्रममा बोल्दै उनले आम जनतालाई ठिक तरिकाले बुझाउन नसक्दा आन्दोलनलाई प्रभावकारी बनाउन नसकेको भन्दै आन्दोलनलाई प्रभावकारी बनाउनुपर्ने बताएका हुन् ।

उनले भने, ‘हामीले ठिक तरिकाले संगठन निर्माण गर्न नसक्दा र आम जनतालाई ठिक तरिकाले बुझाउन नसक्दा हामीले आन्दोलनलाई प्रभावकारी र परिणाममुखी बनाउन सकेनौँ । तर फेरि पनि भन्छु हामीले यो देशमा यथास्थितिको अन्त्य गरेर एउटा नयाँ सम्झौता र समझदारीबाट देशलाई अगाडि लानको लागि आन्दोलन गर्नै पर्छ र आन्दोलन उठाउनै पर्छ । आन्दोलन अनिवार्य छ र हामीले गर्ने संगठनको सबै क्रियाकलापहरू आन्दोलनको तयारीको रूपमा नै हामीले बुझ्नुपर्छ ।’

यस्तै, उनले नेपालमा ठूला ठूला परिवर्तन आन्दोलनबाट नै भएको भन्दै नेपालमा आधारभूत रूपमा प्रणालीमा नै परिवर्तन गर्ने हो भने आन्दोलन नै प्रथम कुरा भएको बताए ।

उनले भने, ‘२००७, ४६ र ६२, ६३ सालको तीन वटा परिवर्तन आन्दोलनको बलमा नै भएको थियो । चुनावबाट राणा शासनको अन्त्य भएको थिएन, आन्दोलनबाटै भएको थियो । नेपालमा आधारभूत रूपमा प्रणालीमा नै परिवर्तन गर्ने हो भने आन्दोलन नै प्रथम कुरा हो । आन्दोलनले नै यो व्यवस्था परिवर्तन हुन सक्छ । यो नेताहरूमा समस्या छ तर यो नेताहरूले ल्याएको व्यवस्थामा पनि समस्या छ । यो व्यवस्थाले ल्याएको निर्वाचन प्रणाली भ्रष्ट छ, नेतालाई पैसा खुवाएर मन्त्री, प्रधानमन्त्री बन्नुपर्ने र प्रधानमन्त्री भइसकेपछि देशको लागि होइन आफ्नो निर्वाचन क्षेत्रको लागि काम गर्ने व्यवस्था छ ।’

भ्रष्ट नेताहरूले जोगिनको लागि अख्तियार र अदालत जस्तो ठाउँमा पनि आफ्नो मान्छे नियुक्त गरेको पनि उनको आरोप छ । उनले भने, ‘भ्रष्टाचार कसले गर्छ भन्दा नेताहरूले गर्छ । उनीहरूलाई कारबाही गर्ने संवैधानिक निकाय को हो भन्दा अख्तियार, अदालत हो र बढो सम्मान पूर्वक भन्छु नेताले नियुक्ति गरेका ती मानिसले नेतालाई कारबाही गर्छ कि गर्दैन होला त, नेतालाई कारबाही गर्ने ठाउँमा नेताले नियुक्ति गरेको मान्छे भएपछि भ्रष्टचारीहरूलाई कसले कारबाही गर्छ । त्यस कारण समस्या व्यवस्थामा छ र यो व्यवस्था नै परिवर्तन गर्नुपर्छ ।’

राष्ट्रियसभाबाट पारित भयो भन्सार विधेयक

काठमाडौं । भन्सार विधेयक, २०८० राष्ट्रियसभाबाट पारित भएको छ । बुधबारको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भन्सार विधेयक, २०८० लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पेस गरेकोमा उक्त प्रस्ताव सर्वसहमतिले पारित भएको हो।

प्रस्ताव पेस गर्दै अर्थमन्त्री पौडेलले नयाँ कानुन कार्यान्वयनपछि भन्सार चुहावट नियन्त्रण, प्रविधिको प्रयोग बढाउने, भन्सार जाँचपास छिटोछरितो र प्रभावकारी ढङ्गले काम गर्न सकिने विश्वास व्यक्त गरेका थिए।

भन्सार जाँचपास प्रक्रियालाई थप प्रविधिमैत्री र सहज बनाउन तथा नेपाल पक्ष राष्ट्र रहेको क्योटो महासन्धि अनुकूल हुनेगरी भन्सार ऐन संशोधन आवश्यक रहेको भन्दै सरकारले यो विधेयक ल्याएको हो।

व्यापार सहजीकरणका लागि भन्सारसँग सम्बन्धित प्रावधान भन्सार ऐन नियमबाट सम्बोधन गर्न आवश्यक रहेको भन्दै सरकारले यो विधेयक ल्याएको हो । यो ऐन प्रमाणीकरण भएको मितिले ९१औँ दिनदेखि लागू हुनेछ । राष्ट्रियसभाको अर्को बैठक यही असार २० गते शुक्रबार अपराह्न १ बजेर १५ मिनेटमा बस्नेछ ।

एसिसी यु–१६ : फाइनलमा नेपालको प्रतिद्वन्द्वी मलेसिया

काठमाडौँ। एसिसी मेन्स यु–१६ इस्ट जोन कपमा साविक विजेता नेपालले सेमिफाइनलमा आयोजक मलेसियाको सामना गर्ने छ ।
नेपालले समूह ‘ए’ को विजेता र मलेसियाले समूह ‘बी’ को उपविजेताको रूपमा अन्तिम चारको भेट पक्का गरेका हुन् । नेपाल र मलेसियाबिचको खेल सिलेगंर ट्रफ क्लबको मैदानमा बिहान पौने आठ बजे सुरु हुने छ ।

नेपालले समूहको चारवटै खेल जितेको थियो । मलेसियाले भने तीन जित र एक हारको नतिजा निकालेको थियो । यस्तै दोस्रो सेमिफाइनल हङकङ र सिङ्गापुरबिच प्रतिस्पर्धा हुने छ ।

एसिएन क्रिकेट काउन्सिलको आयोजनामा सञ्चालित प्रतियोगितामा १० देशले भाग लिएका थिए । सहभागी देशलाई दुई समूहमा विभाजन गरिएको थियो । फाइनल खेल असार २१ गते हुने छ ।

राष्ट्रियसभाबाट विनियोजन विधेयक पारित

काठमाडौं । राष्ट्रियसभाबाट विनियोजन विधेयक पारित भएको छ । बुधबार बसेको सभाको बैठकले विनियोजन विधेयक बहुमतले पारित गरेको हो ।

प्रतिनिधिसभाबाट पारित भएर गएको विनियोजन विधेयकलाई राष्ट्रियसभाको बैठकले पनि बहुमतले पारित गरेको हो ।

२८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ सरकार अघि बढेको छ : मन्त्री खड्का

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ सरकार अघि बढेको बताएका छन्।
बुधबार राष्ट्रियसभा बैठकमा आफ्ना मन्त्रालयमाथि विनियोजित बजेटमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री खड्काले ऊर्जा क्षेत्र मुलुक निर्माणको मेरुदण्ड रहेको बताए। उनले नेपालले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएकाले सोहीअनुसार यो क्षेत्रलाई बजेटको प्राथमिकतामा राखिएको बताए।

बुधबार राष्ट्रियसभा बैठकमा आफ्ना मन्त्रालयमाथि विनियोजित बजेटमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री खड्काले ऊर्जा क्षेत्र मुलुक निर्माणको मेरुदण्ड रहेको बताए। उनले नेपालले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएकाले सोहीअनुसार यो क्षेत्रलाई बजेटको प्राथमिकतामा राखिएको बताए।

कर्णाली, माथिल्लो कर्णाली, भेरी, जगदुल्लालगायत आयोजनामा लगानी परिचालन र निर्माण अघि बढाउन सरकारले आफ्नो वार्षिक नीति तथा कार्यक्रममार्फत प्रतिबद्धता समेत जनाइसकेको उनले बताए। उनले जगदुल्ला जलविद्युत् आयोजनाको ठेक्का आह्वान भई प्राप्त बोलपत्रहरू मूल्याङ्कन भई आशयको सूचना जारी भइसकेको जानकारी दिए। बूढीगण्डकी जलविद्युत् आयोजनालाई सार्वजनिक–निजी साझेदारी अवधारणामा अघि बढाइने उनले बताए।

मन्त्री खड्काले वर्षायाम सुरु भएसँगै विद्युत् उत्पादन बढेको र प्रसारण लाइनबाट बढी विद्युत् प्रवाह हुँदा भार व्यवस्थापन गर्नुपर्ने भएकाले कहिलेकाहीँ लाइन जाने गरेको जिकिर गरे।

नेपालको सहयोगलाई निरन्तरता दिने एमसीसीको निर्णय

काठमाण्डाै – अमेरिकी सहयोग नियोग ‘मिलेनियम च्यालेन्ज कर्पोरेशन’ (एमसीसी) ले नेपाल कम्प्याक्टको कार्यान्वयनलाई निरन्तरता दिने निर्णय गरेको छ ।
‘मिलेनियम च्यालेन्ज एकाउन्ट’ (एमसीए– नेपाल) ले आज एक विज्ञप्ति निकालेर निर्णयको स्वागत गरेको छ । विज्ञप्तिमा अमेरिकी वैदेशिक सहयोगमा लगाइएको स्थगनका सन्दर्भमा विशेष छुटअन्तर्गत एमसीसी नेपाल कम्प्याक्टको कार्यान्वयनलाई निरन्तरता दिनका लागि अनुमति दिने सम्बन्धमा अमेरिकी सरकारबाट भएको निर्णयको एमसीए–नेपालले स्वागत गरेको उल्लेख छ । तर यो निर्णय कुन मितिमा भयो भन्नेबारेमा एमसीए नेपालले खुलाएको छैन ।

एमसीए–नेपालले २ सय ९७ किलोमिटर विद्युत् प्रसारण लाइन निर्माण तथा सडक मर्मतलगायतका कार्यसम्बन्धी खरिद प्रक्रिया सम्पन्न गर्नेसहितका कम्प्याक्ट क्रियाकलाप कार्यान्वयन गर्न एमसीसीसँग निकटतापूर्वक काम गरिरहेको छ ।

पूर्वराष्ट्रपति भण्डारीले सुरक्षाबाहेक सुविधा नलिने भन्दै गृह मन्त्रालयमा पठाइन् पत्र

काठ्माण्डौँ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सुरक्षाबाहेक सेवा सुविधा नलिने भन्दै गृह मन्त्रालयलाई पत्र लेखेकी छन्।
बुधबारदेखि लागू हुने गरी सेवा सुविधा फिर्ता गरिएको व्यहोरासहितको पत्र राष्ट्रपति भण्डारीले स्वकीय सचिव राजकुमार राईमार्फत् गृह मन्त्रालयमा पठाएको उनको सचिवालयले जनाएको छ।

सरकारले पूर्वराष्ट्रपति भण्डारीलाई दुई जना स्वकीय र तेलबापत रकम पठाउँदै आएको थियो। उक्त सेवा सुविधा अबदेखि नलिने पूर्वराष्ट्रपतिले पठाएको पत्रमा उल्लेख छ।

उनले सुरक्षाबाहेक सेवा सुविधा नलिने उल्लेख गर्दै पत्र पठाएको गृह मन्त्रालय स्रोतले जनाएको छ।

‘पूर्वराष्ट्रपतिले आफ्नो कार्यकाल पूरा गरी सेवानिवृत्त हुनु भएपछि पूर्व राष्ट्रप्रमुखको हैसियतमा नेपाल सरकारले उपलब्ध गराउने सेवा सुविधामध्ये सुरक्षा बाहेक सम्मानित राष्ट्रपति विद्यादेवी भण्डारीज्यूले आजैका मिति देखि लागु हुने गरी कुनै पनि सेवा सुविधा नलिन निर्देशन मुताबिक श्रीमान सचिवज्यू समक्ष निवेदन पेस गरेको छु। यसको कार्यान्वयन गरी सहयोग गरिदिनुहुन अनुरोध गर्दछु,’ पूर्वराष्ट्रपति भण्डारीका स्वकिय सचिव राईले लेखेको पत्रमा उल्लेख छ।

दुई कार्यकाल राष्ट्रपति बनेकी उनी हालै नेकपा (एमाले) को सक्रिय राजनीतिमा फर्केकी छिन्। उनले एमालेमा आफ्नो सदस्यता नवीकरण गराएकी छन्।

सरकारले पूर्वराष्ट्रपतिलाई मासिक भत्ता, घरभाडा, इन्धन, पत्रपत्रिका खर्च, टेलिफोन खर्च, अतिथि सत्कार खर्च, बिजुली, पानी र इन्टरनेटको खर्च तथा सचिवालय (उपसचिव, गाडी चालक र कार्यालय सहयोगी) लगायत सेवा सुविधा दिने गरेको छ।

पूर्वराष्ट्रपति भण्डारीले आवास र सवारी सुविधा लिएकी थिइनन्। राष्ट्रपतिको कार्यकाल सकिएपछि भण्डारी काठमाडौंको भंगालस्थित निजी निवासमा बस्दै आएकी छन्।

ओली सरकार लामो टिक्दैन: माओवादी

काठमाडौं- नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले केपी ‌ओली नेतृत्वको वर्तमान सरकार लामो समय नटिक्ने बताएका छन्।
उनले माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा बुधबार बोल्दै ओली सरकार सबै कोणबाट असफल भइसकेको र धेरै समय नटिक्ने बताएका हुन्।

उनले पत्रकारहरूमाझ भने- ‘हामी त यही सरकार नै चलिरहोस् भन्नेमा छौँ। सरकार ढाल्न हामी लागेका छैनौँ, जनताप्रति नै छौँ। तर सानेपामा पनि गरमागरम बहस चलिरहेको छ। त्यहाँ पनि उकुसमुकुस चलिरहेको छ। सत्तापक्षका सांसदहरूको अभिव्यक्ति तपाईँहरूले नै देखिराख्नुभएको छ। कांग्रेसमा ठुलो अन्तर्विरोध छ, कांग्रेसको नेतृत्वले पनि पार्टीभित्रको आक्रोशलाई थाप्न सक्दैन।’

उनले आफूले मिति नतोके पनि यो सरकार लामो नटिक्ने बताए। उनले एमालेभित्र पनि अन्तर्विरोधको सूचना आफूलाई आइरहेको बताए। ‘एमालेभित्र पनि आन्तरिक लोकतन्त्र समाप्त भइसकेको छ, विस्फोटनको चरणमा छ,’ उनले भने।

शिक्षकहरू पुनः आन्दोलनमा फर्किने वातावरण नबनाइयोस् : माओवादी

काठमाडौं– प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले विद्यालय शिक्षा विधेयक यथाशीघ्र पारित गरेर शिक्षकहरू पुनः आन्दोलनमा फर्किने वातावरण नबनाउन सरकारसँग आग्रह गरेको छ ।
माओवादी केन्द्रले पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा बुधबार पत्रकार सम्मेलन गरेर सरकारलाई नेपाल शिक्षक संघसँग भएको सहमति अनुसार विद्यालय शिक्षा विधेयक यथाशीघ्र पारित गर्न आग्रह गरेको हो ।

‘नेपाल शिक्षक महासंघसँग भएको सहमति कार्यान्वयन गर्नुपर्नेमा सरकारका सरोकारवाला पक्षहरूहरू बीचको अन्तरविरोध बाहिर देखिनु सरकार सहमतिप्रति गम्भीर नभएको पुष्टि हुन्छ,’ प्रवक्ता अग्निप्रसाद सापकोटाले भने, ‘शिक्षा विधेयक यथाशीघ्र पारित गरी शिक्षकहरूलाई पुनः आन्दोलनमा फर्कने वातावरण नबनाउन आग्रह गर्दछौँ ।’

सरकारले नेपाल शिक्षक महासंघसँग असार १५ भित्र विद्यालय शिक्षा विधेयक पारित गर्ने सहमति गरेको थियो । सहमतिअनुसार विधेयक पारित नहुनुलाई प्रतिपक्षी माओवादी केन्द्रले दुःखद भनेको छ ।

 

इजरायल ६० दिनको युद्धविराममा सहमत भएको डोनाल्ड ट्रम्पको घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने युद्धविरामलाई अन्तिम रूप दिन आवश्यक सर्तहरूमा सहमति जनाएको बताएका छन्।
“हामी युद्ध अन्त्य गर्न सबै पक्षहरूसँग मिलेर काम गर्नेछौं,” ट्रम्पले ट्रुथ सोसलमा लेखेको पोस्टमा लेखे , यद्यपि उनले सर्तहरूको बारेमा कुनै विवरण दिएनन्।

ट्रम्पले लेखे, “कतार र इजिप्टले शान्ति स्थापना गर्न कडा परिश्रम गरेका छन् र उनीहरूले यो अन्तिम प्रस्ताव प्रस्तुत गर्नेछन्। मलाई आशा छ कि हमासले यो सम्झौता स्वीकार गर्नेछ किनकि योभन्दा राम्रो परिस्थिति अर्को हुने छैन बरु झनै खराब हुनेछ।”

अक्टोबर ७, २०२३ मा हमासले इजरायलमा आक्रमण गर्‍यो। यसमा लगभग १,२०० जना मारिए। यसपछि इजरायलले गाजामा सैन्य कारबाही सुरु गर्‍यो।

हमासको स्वास्थ्य मन्त्रालयका अनुसार त्यसबेलादेखि गाजामा कम्तिमा ५६,६४७ जनाको मृत्यु भइसकेको छ। यद्यपि, हमासले यी सर्तहरू स्वीकार गर्नेछ कि गर्दैन भन्ने कुरा अझै स्पष्ट छैन।

ट्रम्पको यो घोषणा अर्को हप्ता इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँगको भेटअघि आएको हो, जसको बारेमा ट्रम्पले आफू धेरै दृढ रहने बताएका छन्।

अमेरिकी राष्ट्रपतिले मंगलबार भने कि उनी विश्वास गर्छन् कि नेतान्याहू पनि गाजामा शत्रुता अन्त्य गर्न चाहन्छन्। ट्रम्पले यो पनि भने, “मलाई लाग्छ हामी अर्को हप्ता सम्झौता गर्नेछौं।”

गत हप्ता हमासका एक वरिष्ठ अधिकारीले बीबीसीलाई बताएअनुसार मध्यस्थकर्ताहरूले गाजामा नयाँ युद्धविराम गर्न र बन्धकहरूलाई रिहा गर्न प्रयासहरू तीव्र पारेका थिए, तर इजरायलसँगको वार्ता अझै पनि अवरुद्ध नै छ।

इजरायलले हमासलाई पूर्ण रूपमा नष्ट गरेमा मात्र द्वन्द्व अन्त्य हुन सक्ने बताएको छ। हमासले लामो समयदेखि स्थायी युद्धविराम र गाजाबाट पूर्ण इजरायली फिर्ताको माग गर्दै आएको छ।

गाजामा अझै पनि लगभग ५० इजरायलीहरू बन्धक बनाइएका छन्, जसमध्ये कम्तिमा २० जना जीवित रहेको सम्भावना छ।

दार्चुलामा विद्यालयको भवन जीर्ण हुँदा त्रिपाल मुनि कक्षा सञ्चालन

दार्चुला : दार्चुलाको मार्मा गाउँपालिका–६ स्थित सिराडभुमि आधारभूत विद्यालय छिपानमा अहिले त्रिपाल मुनि कक्षा सञ्चालन भइरहेको छ।
सशस्त्र द्वन्द्वकालमा निर्माण गरिएको चार कोठे विद्यालय भवन जीर्ण भएर भत्किन थालेपछि विद्यालयले त्रिपाल मुनि राखेर विद्यार्थी पढाउन थालिएको हो।

विद्यालयको अधिकांश भवन जीर्ण अवस्थामा छ। “चार कोठे भवनको छड, सिमेन्ट कक्षा कोठामा झर्न थालेपछि विद्यार्थीलाई जोखिम भयो”, विद्यालयका प्रधानाध्यापक प्रेमसिंह डडालले भने,“बर्खाको बेला भवन भत्किएर केही भइहाल्यो भने के गर्ने भनेर विद्यार्थीलाई त्रिपालमा राखेर पढाउन थालेका हौँ।”

प्रधानाध्यापक डडालका अनुसार कक्षा ६ र कक्षा ७ का विद्यार्थीलाई विद्यालयले त्रिपाल खरिद गरेर कक्षा बनाएको छ। कक्षा ६ मा आठ र कक्षा ७ मा ११ विद्यार्थी अध्ययनरत छन्। विद्यालयमा कूल १०१ विद्यार्थी अध्ययनरत छन्। भौतिक पूर्वाधार विद्यालयको जीर्ण अवस्थामा छन्। विसं २०७७÷७८ मा गाउँपालिकाले दुई कोठे भवन निर्माण गरेको थियो। त्यहीँ भवनको माथि अहिले त्रिपाल राखेर कक्षा सञ्चालन भइरहेको डडालले बताए।

विसं २०६० अघि जिल्ला शिक्षा कार्यालय निर्माण गरेको दुई कोठे भवन पनि जीर्ण अवस्थामा पुगेको छ। भवन भत्किने खतरा भएको छ। नयाँ भवनका लागि दुई वर्षदेखि सुदूरपश्चिम प्रदेश सरकारलाई आग्रह गर्दै आए पनि हालसम्म सुनुवाइ नभएको उनले बताए। “एकातिर गर्मीको समय छ, अर्कोतिर बर्खा सुरु भएको छ, चार कोठेसँगै अर्को दुई कोठे भवन पनि जीर्ण भएर समस्या हुनेवाला छ”, प्रधानाध्यापक डडालले भने, “विद्यालयको भौतिक अवस्थाबारे वडा सरकार र पालिका सरकार जानकार भए पनि नयाँ बन्न सकेन्।” कहीँबाट भवन निर्माण हुन नसक्ने अवस्था आएपछि कक्षा प्रभावित हुन नदिन त्रिपालमा राखेर पढाइ गरिएको प्रधानाध्यापक डडालको भनाइ छ।

वडा नम्बर ६ का वडाध्यक्ष सन्तोषसिंह कोट्टारी विद्यालय भवन जीर्ण रहेको भए पनि त्रिपाल मुनि कक्षा सञ्चालन गर्नुपर्ने अवस्थाबारे जानकारी नआएको बताए। “मैले पनि सामाजिक सञ्जालमा तस्बिर देखेपछि थाहाँ पाए, यो विषयमा विद्यालयसँग जानकारी लिइरहेको छु, आगामी आर्थिक वर्षमा दुई कोठे विद्यालय भवन निर्माणका लागि बजेट विनियोजन गरिएको छ”, वडाध्यक्ष कोट्टारीले भने।

गाउँपालिका अध्यक्ष जमनसिंह धामी विद्यालय भवन अभाव हुने अवस्था आएपछि आगामी वर्षका लागि २० लाख बजेट विनियोजन गरिएको बताए। त्रिपालमा विद्यार्थी पढाइरहेको विषयमा आफूहरूलाई विद्यालयले कुनै जानकारी नगरेको उनले बताए।

प्रदेशको सफलता नै गणतन्त्रको सफलता : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रदेशको सफलता नै संघीय लोकतान्त्रिक गणतन्त्रको सफलता भएको बताएका छन् ।
बुधबार शीतल निवासमा सातै प्रदेशका प्रदेश प्रमुखहरूसँग भेटघाट गर्दै राष्ट्रपति पौडेलले पछिल्ला आन्दोलनहरूको उपलब्धिलाई संस्थागत गर्ने महत्वपूर्ण आधार प्रदेश भएको बताए ।

प्रदेशको आन्तरिक स्रोतको सक्दो प्रयोग गरेर प्रादेशिक विकासका नयाँ-नयाँ सपनाहरू बनाउन, प्रत्येक प्रदेशले आफ्नो मौलिकता निर्माण गरेर अगाडि बढ्न सम्बन्धित सरकारलाई सुझाव दिनुपर्नेमा उनले जोड दिए ।

पौडेलले विकास निर्माण, सुशासन, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, साहित्य, कला, संस्कृतिजस्ता क्षेत्रको विकास, विस्तारमा सुझाव दिने र यी क्षेत्रमा सम्पर्क तथा सम्बन्ध विस्तार गर्ने काममा लाग्न सुझावसमेत दिए ।

राष्ट्रपति पौडेलले सबै मिलेर संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्नेतर्फ लाग्न आग्रह गरेका छन् । सो अवसरमा सातै प्रदेशका प्रदेश प्रमुखहरूले आफूले भोग्नुपरेका कठिनाई, कानून नियमका अन्यौलबारे जानकारी गराउँदै समाधानका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराइदिन आग्रह गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

आगामी आवमा २ सय नयाँ झोलुङ्‍गे पुल निर्माण लक्ष्य

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ मा २ सय नयाँ झोलुङ्‍गे पुल निर्माण गर्ने भएको छ ।
शहरी विकास मन्त्रालयले सो योजना रहेको सार्वजनिक गरेको हो । यस आवमा १ सय वटा पुलको भने मर्मत गरिने भएको छ । ४० वटा नयाँ सडक पुल यस मन्त्रालयको बजेटमा बनाउने लक्ष्य राखिएको छ । ३० सडक पुल मर्मत गरिने भएको छ ।

यस आवमा २४९ सिँञ्चाइ आयोजना सम्पन्न गरी ३ हजार ७ सय हेक्टर जमिन सिञ्चित गर्ने लक्ष्य सार्वजनिक गरिएको छ ।

यो वर्ष १ सय किलोमिटर सडक निर्माण गरिने भएको छ । ३ सय किलोमिटर सडक कालोपत्र गर्ने लक्ष्य राखिएको छ । ६० वटा स्थानीय तहका प्रशासकीय भवन निर्माण भएको हुने समेत मन्त्रालयले वनाएको छ ।

उपत्यकाका नदी, खोला करिडोरमा १० किलोमिटर सडक स्तरोन्नतिको लक्ष्य राखिएको छ । काठमाडौंमा २६ स्थानका सार्वजनिक जग्गा संरक्षण र पार्क निर्माणको लक्ष्य छ ।

उपत्यकाको चार स्थान जितपुर फेदी, डुकछाप, इशान नयाँ शहर र ताथवी चलाबुमा जग्गा एकीकरणको भौतिक विकास योजना स्वीकृत गराई जग्गा विकासको काम सुरु गरिने मन्त्रालयले जनाएको छ ।

बागमती नदीमा सौन्दर्यकरण, टुकुचा फोहोरपानी प्रशोधन केन्द्र डिजाइन र निर्माण ५० प्रतिशत सक्ने लक्ष्य राखिएको छ । बागमती र यसका सहायक नदीमा २.५ किलोमिटर नदी तटबन्द बनाइने भएको छ ।

सुदूरपश्चिम प्रदेश सरकार नैतिक हिसाबले ढलिसक्यो : मानबहादुर धामी

धनगढी। नेकपा (माओवादी केन्द्र) नेता एवम् सुदूरपश्चिम प्रदेश सभा सदस्य मानबहादुर धामीले सुदूरपश्चिम प्रदेश सरकार नैतिक रुपमा ढलिसकेको बताएका छन ।
अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयकमाथिको छलफलमा आज भाग लिँदै उनले अधिकांश प्रदेश सभा सदस्यले सरकारको बजेटमाथि समर्थन नजनाएकाले सरकारले नैतिकता गुमाइसकेको बताएका हुन्। प्रदेश सरकारको बजेटमाथि छलफलमा सहभागी २७ मध्ये एक/दुई जनाबाहेक बाँकी कसैले बजेटमाथि समर्थन नजनाएको उनको भनाइ थियो।
नैतिक रुपमा सरकारले आफ्नो धरातल गुमाइसकेको भन्दै धामीले एकचोटी फेरि विश्वासको मत लिन मुख्यमन्त्रीलाई आग्रह गरेका छन। उनले भने,“यो सरकार नैतिक रुपमा ढलिसकेको छ। नैतिकताका आधारमा कुर्सीमा बस्ने अधिकार छैन। मुख्यमन्त्रीज्यू तपाईंले फेरि एक पटक विश्वासको मत लिनुहोस्।”

नेता धामीले सङ्ख्यात्मक रुपमा भने सरकारले बहुदलको सुन्दर कचौरामा मेजवानी गरिरहेको जिकिर गर्दै थपे,“संसदीय व्यवस्था भैंसीको टाउको झुन्ड्याएर कुकुरको पुच्छर बेच्ने थलो बनिसकेको छ।”

सुदूरपश्चिमको बजेट सर्वसम्मतले पारित

कैलाली। सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ल्याएको बजेट सर्वसम्मतिले पारित भएको छ। बुधबार बसेको प्रदेश सभा बैठकमा बजेटमाथिको छलफल सम्पन्न भएपछि बजेटसँग सम्बन्धित विधेयक सभामुख भण्डारीले सर्वसम्मतिले पारित भएको घोषणा गरेका हुन्।

प्रदेशका आर्थिक मामिला मन्त्री थापाले १ असारमा ३३ अर्ब ४७ करोड रुपैयाँको बजेट पेश गरेका थिए। बजेटमाथि १५ गतेदेखि छलफलमा सुरु भएको थियो। सत्ता र विपक्षी दलका गरी २७ जना प्रदेश सभा सदस्यले भाग लिएका थिए।

छलफलका क्रममा अधिकांश प्रदेश सभा सदस्यहरूले योजना खरिदबिक्रीमा विचौलिया संलग्न भएको आरोप लगाउँदै त्यसबारे छानबिनका लागि संसदीय समिति गठन गर्न माग गरेका थिए।

यद्यपि बजेटको आलोचना र छानबिनको माग भइरहँदा समेत अन्ततः सत्तारुढ दलकै सदस्यहरूको समर्थनमा बजेट विधेयक सर्वसम्मतिले पारित भएको हो।

राष्ट्रपति पौडेलसँग सातै प्रदेशका प्रदेश प्रमुखको भेट

काठमाडौँ । सात वटै प्रदेशका प्रमुखहरूले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गरेका छन् । बुधवार बिहान राष्ट्रपति भवन शीतल निवासमा सात वटै प्रदेशका प्रदेश प्रमुखहरूले शिष्टाचार भेट गरेका हुन् ।
हाल कोशी प्रदेश प्रमुख परशुराम खापुङ्ग, मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी, बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा, गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट, लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगर, कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशी र सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँ रहेका छन् ।

भेटका क्रममा प्रदेश प्रमुखहरूले आफ्नो आफ्नो प्रदेशको अवस्थाबारे जानकारी गराएका थिए ।

विवादित निजामती सेवा विधेयक राष्ट्रियसभामा टेबल

काठमाडौं : विवादित निजामती सेवा विधेयक राष्ट्रियसभामा टेबल भएको छ। बैठकमा राष्ट्रिय सभाका सचिव डा.सुरेन्द्र अर्यालले निजामती सेवा विधेयक टेबल गरेका हुन्। आइतबार उक्त विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित भएको थियो।
संसदीय समितिमा लामो छलफलपछि संघीय निजामती विधेयक समितिबाट पारित हुँदा एउटा विषय र प्रतिनिधिसभाबाट पारित हुँदै अर्कै भएर आएपछि अहिले चर्को आलोचना भइरहेको छ। अब राष्ट्रिय सभाले उक्त विषयलाई सच्च्याउनुपर्ने आवाज उठिरहेका छन्।

राज्य व्यवस्था समितिबाट निजामति कर्मचारीहरू अवकासमा गएपछि वा राजीनामा दिएपछि दुई वर्षसम्म कुनै संवैधानिक वा सरकारी नियुक्ति नपाउने समितिले निर्णय गरेको थियो। सोही निर्णयअनुसार असार १५ गते प्रतिनिधिसभा बैठकमा उक्त विधेयक पारित भएको थियो। तर,त्यसलाई हेरफेर गरी अर्को दफासमेत समावेश भएर आएपछि चर्को विरोध सुरू भएको छ।

निजामती सेवासम्बन्धी विधेयकको कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा जालझेल गरिएको भन्दै राज्यव्यवस्था समितिका सभापति र सांसदप्रति चौतर्फी प्रश्न उठेका छन्। अवकाश पाएका वा राजीनामा दिएका विशिष्ठ श्रेणीका कर्मचारीका लागि २ वर्ष कुलिङ पिरियड राखिएकोमा ‘बाहेक’ शब्द घुसाएको भन्दैसमिति सभापति रामहरि खतिवडासहित समितिका कर्मचारीमाथि प्रश्न तेर्सिएका हो।

मंगलबार सभामुख देवराज घिमिरेसँगको छलफलमा नेकपा एमाले,नेकपा माओवादी केन्द्र, रास्वपा, राप्रपा, एकीकृत समाजवादीका सांसदले पनि तत्काल छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने माग गरेका छन्। ‘बाहेक’ शब्द घुसाएर अवकाशप्राप्त वा राजीनामा दिएका मुख्यसचिवसहित सचिव र सहसचिवका लागि कुलिङ पिरियड लागू नहुने गरी व्यवस्था गरिएको भन्दै सांसदले संसदीय समिति छानबिनको माग गरेका छन्।

सांसदले मात्र होइन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले ‘कुलिङ अफ पिरियड’को व्यवस्थामा भएको हेरफेरमाथि छानबिन गर्न सभामुख देवराज घिमिरेलाई आग्रह गरेका छन्।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गुप्ताले प्रतिनिधिसभाबाट बहुमतले पारित गरिएको ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’मा व्यवस्था गरिएको ‘कुलिङ अफ पिरियड’को उद्देश्य र आशय नै उल्ट्याउनेगरी अनधिकृत ढङ्गबाट भएको हेरफेरप्रति आक्रोश पोखेका छन्। उनले भनेका छन्,‘यो त सार्वभौम संसदकै अपमान भयो, यो सामान्य घटना होइन। संसदले छानबिन गरी दोषीलाई तत्काल कारबाही गरोस्।’

मन्त्रीलाई नै झुक्क्याएर सभापति खतिवडाले प्रतिवेदन पेस गरिनु गम्भीर आशंकाको विषय भएको मन्त्री गुप्ताको भनाइ छ।

पूर्वमुख्यमन्त्री रावलको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग

धनगढी। पूर्व मुख्यमन्त्री एवम् सत्तारुढ दल नेकपा (एमाले) का संसदीय दलको नेता राजेन्द्रसिंह रावलले प्रतिपक्षीलाई सदनमा बाँदरको संज्ञा दिएपछि उनको त्यस अभिव्यक्तिलाई संसद्को रेकर्डबाट हटाउन माग गरिएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा ९माओवादी केन्द्र० ले रावलको अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउन माग गरेको हो । प्रदेशसभामा बुधबार सरकारको बजेटमाथिको छलफलमा बोल्दै रावलले प्रतिपक्षीलाई बाँदरको संज्ञा दिएका थिए । प्रतिपक्षीले घरमा आगो लगाउने कार्य गरिरहेको भन्दै उनले भने, “बाँदरले आफ्नो घर पनि बनाउँदैन । अर्काको घर पनि बन्न दिँदैन । हिजो सरकार चलाउँदा त्यो प्रवृत्ति देखेकै हौं । हिजो दुई दुई सरकार चलाउँदा त्यो प्रवृत्ति हामीले भोगेरै आएका छौं । त्यो प्रवृत्ति आज पनि छ ।”

रावलले प्रतिपक्षीलाई उक्साहट र हिनताबोधको कुरा नगर्न आग्र गर्दै थपे, “हिनताबोधको कुरा नगर्नुस् । सरकार चलाउनलाई जनताको बिचमा जानुस । प्रतिस्पर्धा गर्नुस् । पहल कदमी लिनुस् । जिते हस्तिनापुरीमा राज गर्नु होला । हारे चुपरीमुनिको बास बस्नू पर्ला । अहिले चपरीमुनि बास बस्ने म्यान्डेट प्राप्त भएकाले चपरीमुनि नै बास बस्नुस् ।”

पूर्वमुख्यमन्त्री रावलको अभिव्यक्तिप्रति माओवादीका मानबहादुर धामीले आपत्ति जनाउनु भएको थियो । उहाँले रावलको अभिव्यक्ति प्रदेश सभा नियमावलीविपरित रहेको भन्दै संसदको रेकर्डबाट हटाउन माग गरे । “उनको अभिव्यक्ति संसदीय मर्यादा र मानवीय स्वभावभित्र पर्दैन । सभामुख महोदय, यसलाई तुरुन्त संसदको रेकर्डबाट हटाइयोस्”, धामीले भने ।

रावलको अभिव्यक्तिमाथि छानविन गरेर माग अनुसारको कारबाही प्रक्रिया अगाडि बढाउने सभामुख भीमबहादुर भण्डारीले बताए ।

 

संविधानसभा सदस्य यादवको निधन

काठमाडौँ : संविधानसभा सदस्य रामअयोध्या यादवको निधन भएको छ।
बाराको सुवर्ण गाउँपालिका–२ कवहीजगात गाउँ घर भएका यादवको ७२ वर्षको उमेरमा वीरगन्जस्थित हेल्थकेयर अस्पतालमा उपचारका क्रममा बुधबार निधन भएको छोरा डाक्टर जितेन्द्र यादवले जानकारी दिए।

यादव मधुमेह रोगबाट लामो समयदेखि पीडित थिए। उनी २०७० सालको दोस्रो संविधानसभाका लागि बारा निर्वाचन क्षेत्र नम्बर १ बाट कांग्रेसबाट निर्वाचित भएका थिए।

उनी कांग्रेसका पूर्व जिल्ला सचिव तथा महासमिति सदस्य हुन्। उनका २ छोरा, २ छोरी र श्रीमती छन्। यादवको अन्तिम संस्कार आजै बाराको गाउँमा गरिने परिवारले जनाएको छ।

खुकुरी प्रहार गरी श्रीमतीको हत्या, श्रीमान पक्राउ

काठ्माण्डौँ – श्रीमतीको हत्या गरेको आरोपमा रुकुम पश्चिम प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

गएराति ३० वर्षीया देविका बुढाथोकीको खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा उनका श्रीमान ३२ वर्षीय चन्द्रबहादुर बुढाथोकी पक्राउ परेका हुन्।

जिल्लाको चौरजहारी नगरपालिका–३ टाटागाउँका चन्द्रले राति घरमै श्रीमतिको घाँटीमा खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी प्रमुख डिएसपी प्रमेश विष्टले बताए।

स्थानीयले घटनाबारे जानकारी दिएपछि राति नै इलाका प्रहरी कार्यालय चौरजहारीबाट प्रहरी निरीक्षक दिपेन्द्र रावतको नेतृत्वमा खटिएको टोलीले चन्द्रलाई नियन्त्रणमा लिएको थियो ।

प्रहरीले हत्यामा प्रयोग भएको खुकुरी पनि बरामद भएको जानकारी दिएको छ ।

डिएसपी बिष्टकका अनुसार आपसी विवादपछि श्रीमानले श्रीमती माथि खुकुरी प्रहार गरेको कुरा प्रारम्भिक अनुसन्धान बाट खुलेको जानकारी दिए ।

श्रीमान – श्रीमतीका बीचमा यसअघि पनि पटक / पटक झगडा हुने गरेको कुरा खुल्न आएको प्रहरीले बताएको छ । घटनाबारे थप अनुसन्धान हुने प्रहरीले बताएको छ

शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्लेमा राखिएको छ ।

घोडाघोडी नगरपालिकाद्वारा उत्कृष्ट नतिजा ल्याउनेलाई सम्मान

कैलाली। कैलालीको मध्यक्षेत्रमा रहेको घोडाघोडी नगरपालिकाले शैक्षिक सत्र ०८१र०८२ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी तथा विद्यालयलाई सम्मान गरेको छ ।
बुधबार नगरपालिका कार्यालयमा आयोजित सम्मान कार्यक्रममा नगरपालिका भित्र कक्षा आठ र माध्यामिक शिक्षा परीक्षा (एसइई)मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी तथा विद्यालयका प्रधानध्यापकलाई नगदसहित प्रमाणपत्रले सम्मान गरेको हो ।

सम्मानित हुनेमा संस्थागततर्फ पायोनियर स्कलर्स एकेडेमि, पिसलाईट ईङलिस बोर्डिङ स्कुल रहेका छन् भने सामुदायिक विद्यालय तर्फ जनज्योती माध्यामिक विद्यालय र छडी माध्यामिक विद्यालय रहेका छन् ।

छडी र पिसलाईट विद्यालयले कक्षा आठमा उत्कृष्ट नतिजा ल्याउन सफल भएको हो भने जनज्योती र पायोनियरले एसइईमा उत्कृष्ट नतिजा ल्याएको छ ।

पायोनियर विद्यालयमा २८ जनाले एसइई दिएकोमा २७ जना पास भएका छन् । जसमध्ये आठ जना ए प्लस, ११ जना ए ग्रेड ल्याउन सफल भएको विद्यालयका प्रधानध्यापक कुलप्रसाद भट्टले जानकारी दिए । उक्त विद्यालयबाट रक्षा बुढाले चार जिपीए ल्याई नेपालमै उत्कृष्टको लिष्टमा पर्न सफल भएका छन् ।

त्यसैगरी ५१ वटा सामुदायिक विद्यालय रहेको घोडाघोडी नगरमा जनज्योती माध्यामिक विद्यालय जनकपुरले ७६ प्रतिशत नतिजासहित एसइई नतिजामा उत्कृष्ट विद्यालयको रुपमा रहेको छ । उक्त विद्यालयमा ५१ जना एसइई परिक्षा दिएकामध्ये ४१ जना पास भएका छन् ।

उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी तथा विद्यालयलाई सम्मान गर्दै घोडाघोडी नगरपालिकाका नगरप्रमुख खडकबहादुर रावतले नगरको शिक्षामा विगतमा भन्दा सुधार हुदै गएको बताए । उनले नगरपालिकाको बजेटमा समेत शिक्षालाई प्राथमिकतामा राखेर विद्यालयको भौतिक सुधारदेखि गुणस्तर सुधारमा ध्यान दिएको बताएका छन।

सम्मान कार्यक्रममा नगरपालिका शिक्षाशाखा प्रमुख खगेन्द्रबहादुर सिंह, उपप्रमुख गुलियाकुमारी चौधरी, वडा नम्बर १ का वडाअध्यक्ष एवम् प्रवक्ता घनश्याम ओझा, नगरशिक्षक महासंघका अध्यक्ष काशीराम जोशीलगायतले उत्कृष्ट विद्यार्थी तथा विद्यालयलाई शुभकामना व्यक्त गरे ।

कार्यक्रममा वडा अध्यक्ष, कार्यपालिका सदस्य, नगरशिक्षा समितिका पदाधिकारी, अभिभावक, विद्यार्थी, प्रधानध्यापक, शिक्षकलगायतको उपस्थिति रहेको थियो ।

महिला फुटबल : आज नेपाल र श्रीलंका भिड्दै

काठमाडौं । एएफसी महिला एसियन कप छनोट प्रतियोगिताअन्तर्गत आज नेपाल र श्रीलंकाबीच स्पर्धा हुँदै छ । उज्वेकिस्तानको तासकेन्दस्थित मिली रंगशालामा नेपाली समयानुसार साँझ ६ः१५ मा खेल हुनेछ ।

समूह ‘एफ’मा रहेको नेपालले पहिलो खेलमा लाओसलाई ९–० गोलन्तरले पराजित गरेको थियो ।

श्रीलंकाले उज्वेकिस्तानसँग १०–० को पराजय व्यहोरेको थियो । हालसम्मका प्रतियोगितामा नेपाल श्रीलंकासँग पराजित भएको छैन । अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाल श्रीलंकासँग सातपटक खेलेको छ ।

फिफा वरीयतामा नेपाल १००औँ स्थानमा छ भने श्रीलंका १५९औँ स्थानमा छ ।

राउन्ड रोविन पद्धतिमा सञ्चालित उक्त प्रतियोगिता समूहको शीर्षस्थानमा पुग्ने टोली अर्को वर्ष अस्ट्रेलियामा हुने एसियन कपमा सहभागी हुनेछ ।

मध्य रातमा प्रदेश सांसद ललिता दासमाथि आक्रमण

काठ्माण्डौँ- जनता समाजवादी पार्टी नेपालकी मधेश प्रदेश सांसद ललिता दासमाथि आक्रमण भएको छ । उनीमाथि गए राति सिरहाको लहानमा आक्रमण भएको हो ।

प्रदेश राजधानी जनकपुरधामबाट मंगलबार राति करिब साढे १२ बजेतिर पूर्व-पश्चिम राजमार्गअन्तर्गत लहान नगरपालिका– १ मा बसबाट ओर्लिएलगत्तै दुई जना अपरिचित युवाहरूले सांघातिक आक्रमणको प्रयास गरेको उनले बताएकी छन् । ती युवाहरूले लखेट्न थालेपछि आफू भागेर ज्यान जोगाएको उनको भनाइ छ ।

भागेर आफ्नो घरमा पुगेर ज्यान जोगाएको उनले बताइन् । प्रदेशसभामा दलित, महिला, अन्यायमा परेका व्यक्ति र उनीहरूमाथि अत्याचार गर्नेहरूको विषयमा कुरा उठाइरहेकाले आफ्नो आवाज बन्द गर्न षड्यन्त्रमूलक ढंगले आक्रमणको प्रयास भएको दासको दावी छ ।

इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायव उपरीक्षक कैलाश राईले प्रदेश सांसदमाथि आक्रमणको प्रयास भएको बारेमा खबर आएलगतै आफूले तत्काल मोबाइल टोलीलाई पठाएको बताए । उनले घटनाको अनुसन्धान भइरहेको जानकारी दिए ।

शेखर कोइरालाको माग : निजामती विधेयकमा हेरफेर गर्नेलाई सजाय देऊ

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले प्रतिनिधिसभाबाट पास गरिएको निजामती कर्मचारी सेवा विधेयकमा केही प्रावधान परिवर्तन गर्ने दोषीलाई कारबाही गर्नुपर्ने माग गरेका छन् ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा निजामती विधेयकमा सरकारी सेवाबाट राजीनामा वा अवकाश भएको मितिले दुई वर्षसम्म कुनै पनि सरकारी नियुक्ति लिन नपाउने व्यवस्थामा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समिति सचिवालयका कर्मचारी वा सांसदले विधेयकमाथि आफू खुसी प्रावधान राखेको उल्लेख गरे ।

‘राज्य व्यवस्था समितिबाट निजामती विधेयक सर्वसम्मतीले पारित हुन्छ, अनि संसद्मा आइसकेपछि हेरफेर हुन्छ, यो सरासर आपराधिक काम हो, यसमा को दोषी हो भन्न सक्दिन । तर, जो दोषी हो, उसले कुनै पनि हालतमा क्षमा पाउनुहुँदैन, यी र यस्तै क्रियाकलाप हुँदै जाने हो भने देश कता जान्छ ?,’ कोइरालाले प्रश्न गरे ।

राज्य व्यवस्था समितिले ‘निजामती कर्मचारी वा अन्य सरकारी सेवाबाट राजीनामा दिएको वा अवकाश भएको कर्मचारीले सेवाबाट अवकाश भएको मितिले दुई वर्ष अवधि पूरा नभइ कुनै पनि संवैधानिक वा सरकारी पदमा नियुक्ति पाउने छैन’ भन्ने व्यवस्था गरेको थियो । तर, त्यसलाई खण्डित गर्ने गरी दफा ८२, (५), (क) मा ‘संवैधानिक वा कूटनीतिक नियुक्ति तथा नेपाल सरकारले गर्ने अन्य कुनै नियुक्तिबाहेकको पदमा’ मात्र नियुक्ति लिन नपाइने भन्ने व्यवस्था गरी ‘कुलिङ अफ पिरियड’ को व्यवस्थालाई थप परिभाषित गरिएको छ ।

नेपाल र विश्वको वर्तमान परिस्थितिमा विशेश्वरप्रसाद कोइरालाको प्रजातान्त्रिक समाजवादको अझै बढी सान्दर्भिक भएको उल्लेख गर्दै कोइरालाले देशको राजनीतिक, सांस्कृतिक, धार्मिक र सामाजिक अवस्थालाई नेपाली साहित्यको माध्यमबाट चित्रण गर्न साहित्यकारसँग आग्रह गरे ।

नेपाल भारत जनमैत्री संगठन टीकापुरको अध्यक्षमा देउवा

टीकापुर(कैलाली), १७ असार ।
नेपाल भारत जनमैत्री संगठनको मंगलबार टीकापुरमा आयोजित भेलाले भागिरथी देउवाको अध्यक्षतामा  ११ सदस्यीय नगर कमिटी गठन गरेको छ ।

संगठनका महासचिव सम थापाको प्रमुख आतिथ्यतामा भएको भेलाबाट उपाध्यक्षमा सुनिता अधिकारी, सचिवमा नृप ठकुल्ला र कोषाध्यक्षमा  धन बहादुर बुढा सर्वसम्मत निर्वाचित भएका छन् ।

यसैगरी सदस्यहरु जयन्ती साँउद, शिलु खतिवडा, विकाश वर्मा, गोमती रेग्मी, हरि उपाध्याय निर्वाचित भएका छ्न ।

भेलाले सल्लाहकार पदमा कलावती स्वार, केशरी विष्ट, पुष्प बम, कल्पना जैसी, सिर्जना पण्डित शर्मा, सुशिला टमट्टा र राधा रावल चयन भएका छन ।

भेलामा संगठनका केन्द्रीय सदस्य  सर्पराज साँउद, अनन्त खडका र कैलाली जिल्ला अध्यक्ष नविन खनालको समेत उपस्थिति थियो ।

सागर ढकालले रुपन्देहीबाट उपनिर्वाचन लड्ने संकेत

काठमाडौं । पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध चुनाव लडेर चर्चामा आएका सागर ढकालले रुपन्देही क्षेत्र नं. ३ बाट उपनिर्वाचन लड्ने संकेत दिएका छन्।

मंगलबार सामाजिक सञ्जालमा लेख्दै उनले रुपन्देही-३ को उपनिर्वाचनलाई प्रमुख दलहरूको ‘राणा शासन’ विरुद्धको निर्णायक लडाइँको सुरुवात बनाउनुपर्ने बताएका छन्।

उनले सीधै उम्मेदवारी घोषणा नगरे पनि मतदातालाई ‘नेपालको इतिहास रच्न तयार हुनुहुन्छ ?’ भन्दै आफू त्यस क्षेत्रमा केन्द्रित रहेको स्पष्ट पारेका छन्।

ढकालले काठमाडौंमा बालेन शाह र चितवनमा रवि लामिछानेले प्राप्त गरेको मतको उदाहरण दिँदै लेखेका छन्, ‘अब रुपन्देही ३ मा करिब ९०,००० मत छन्, त्यसमा तपाईं हामीले ६२,००० मत पार गर्नुपर्छ र नेपालको इतिहास रच्नुपर्छ।’

प्रमुख तीन दललाई एउटै कित्तामा राख्दै उनले भनेका छन्, ‘कांग्रेस, एमाले, माओवादी एउटै हुन्। यिनको राणा शासनको अन्त्य ८४ मा गर्नको लागि सुरुवात यहाँबाट गर्नुपर्छ।’

उनले आफ्नो पोस्टमा नारायणगढ-बुटवल सडक खण्डको दुर्दशा, न्यायालयको अवस्था र कुलमान घिसिङ प्रकरणलाई समेत जोडेर प्रमुख दलहरूको कार्यशैलीप्रति तीव्र आक्रोश व्यक्त गरेका छन्। उनले भनेका छन्, ‘यो चुनाव जनता भर्सेस राणा शासन हो।’

उनले रुपन्देही-३ को चुनावलाई केवल एउटा क्षेत्रको चुनाव नभई सिंगो देशको आवाज बोल्ने अवसरको रूपमा लिन मतदातालाई आह्वान गरेका छन्।

विकास साझेदारहरुलाई औपचारिक माध्यमबाट आउन आग्रह

सेभिया (स्पेन)। संयुक्त राष्ट्रसङ्घीय ‘विकासका लागि वित्त’सम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा स्पेनमा रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज विभिन्न उच्चस्तरीय ‘साइड इभेन्ट’मा सम्बोधन गरेका छन ।

प्रधानमन्त्री ओलीले स्पेन सरकारका अध्यक्ष एवं प्रधानमन्त्री पेड्रो साञ्चेजद्वारा आयोजित विकास सहायतामा नयाँ सोचसम्बन्धी उच्चस्तरीय छलफलमा सहभागी भई उक्त विषयको ‘राउण्ड टेबल’मा आफ्ना विचार प्रस्तुत गरे ।

आजै प्रधानमन्त्री ओलीले अल्पविकसित र साना टापु भएका मुलुकहरुको उच्चस्तरीय बैठकको अध्यक्षता गरी सम्बोधन गरेका छन भने ‘राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरुको पहलमा खानेपानी र सरसफाइ क्षेत्रमा लगानी’सम्बन्धी उच्चस्तरीय छलफललाई सम्बोधन गरे ।

विकास सहायता र विश्व साझेदारीको ऐक्यबद्धतामा नयाँ सोचबारे नेपालको स्पष्ट धारणा व्यक्त गर्दै प्रधानमन्त्री ओलीले विश्वमा कोही पनि पछाडि नपरुन् भन्ने सोचका साथ विकास सहायतालाई ‘च्यारिटी’ का रुपमा मात्र नलिई गरिबीको अन्त्य र नागरिकको क्षमतावृद्धिका लागि उपयोग गर्दै दिगो शान्ति र विकासका लक्ष्य हासिल गर्न साझा पहल हुनुपर्ने धारणा व्यक्त गर ।

“उस्तै किसिमका सानासाना विकास परियोजनाहरू सरकार र गैरसरकारी क्षेत्रबाट समानान्तर रुपमा सञ्चालन गर्ने प्रवृत्ति पनि देखिएको छ । त्यसरी छरिएको सहायताबाट समतामूलक विकासले गति लिँदैन”, प्रधानमन्त्री ओलीले भने, “विकास साझेदारहरु निश्चित च्यानलबाट सहायताका लागि अग्रसर हुनुपर्छ । यस कुरालाई सेभिया–प्रतिबद्धताले पनि हामीलाई उप्रेरित गरेको छ । हामी सबै त्यस बाटोबाट अघि बढौँ ।”

उहाँले सम्पन्न मुलुकले बोलीमा नभई व्यवहारमा आफ्ना सहायताका प्रतिबद्धता पूरा गर्नुपर्नेमा जोड दिँदै वास्तवमै जनताको जीवनमा अर्थपूर्ण परिवर्तनका लागि प्रभाव पर्ने क्षेत्रमा सहकार्य हुनुपर्ने बताए । अल्पविकसित मुलुकहरुको उच्चस्तरीय बैठकको अध्यक्षता गर्दै प्रधानमन्त्री ओलीले विकास साझेदारहरूलाई सेभिया (सेभिल्ला) प्रतिबद्धतालाई पूर्ण र इमानदारीपूर्वक सम्मान गर्न आग्रह गरे ।

यसैगरी घरेलु स्रोत परिचालनलाई बलियो बनाउन, निजी लगानीसहित मिश्रित वित्त प्रणालीलाई बढवा दिन, राष्ट्रिय कार्यक्रमहरूमा थप अनुदान र आधिकारिक विकास सहायता ९ओडिए०लाई औपचारिक निकायबाट परिचालन गर्न पनि सम्बद्ध पक्षसँग उनले अनुरोध गरे ।

प्रधानमन्त्री ओलीले विज्ञान, प्रविधि र नवप्रवर्तनको शक्तिलाई सदुपयोग गर्दै पूर्वाधार निर्माण, पहुँच विस्तारसहित हाम्रा जनताको जीवनस्तर सुधारका पक्षमा साझा सङ्कल्पसहित समग्र विश्व एक हुनुपर्नेमा जोड दिए ।

सेभिया प्रतिबद्धताले हामी सबैलाई आशा र भरोसासहित निष्पक्ष, समृद्ध तर दिगो भविष्य निर्माण गर्ने मौका दिने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री ओलीले सही वित्तीय विश्लेषणका आधारमा लगानी बढाउँदै गरिबीसँग लड्न, कार्यक्षमता अभिवृद्धि गर्न र दिगो अवसर सिर्जना गर्न एक भई अघि बढ्नुपर्नेमा जोड दिए ।

 

खोज्नुहोस