विपद् जोखिम न्यूनीकरण गर्न पूर्वसूचना प्रणाली चुस्त पारिएको छ : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रमेश लेखकले मनसुनजन्य विपद् जोखिम न्यूनीकरणका लागि पूर्वसूचना प्रणाली चुस्त पारिएको बताएका छन् ।

आइतबार राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा गृहमन्त्री लेखकले मनसुनजन्य विपद् जोखिम न्यूनीकरण र प्रतिकार्यका लागि समेत आवश्यक गृहकार्य भइरहेको जानकारी दिए ।

‘अहिले मनसुनको समयमा विभिन्न जोखिमहरु उत्पन्न हुने गर्दछन् । त्यसको जोखिम न्यूनीकरणका लागि पूर्वसूचना प्रणालीलाई दुरुस्त गर्ने, विपद् आइसकेपछि प्रतिकार्यका कामहरू गर्न तयारी गरिरहेका छौं,’ उनले भने ।

लेखकले गृह मन्त्रालय मातहत रहेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सरोकारवाला सबैसँग आवश्यक समन्वय र सहकार्य गरिरहेको समेत बताए ।

‘हामीसँग कानुनले नै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण गठन भएको छ,’ उनले भने, ‘गृह मन्त्रालय त्यसको सम्पर्क मन्त्रालय हो ।’

यस वर्षको मनसुनमा देशका अधिकांश स्थानहरूमा सरदरभन्दा बढी वर्षा हुने पूर्वानुमान गरिएको छ ।

गाजामा इजरायली बमबारी जारी, एकैदिन ११० जना मारिए

काठमाडौं । गाजाको रफाहमा अमेरिका समर्थित गाजा ह्युमानिटेरियन फाउन्डेसन (जीएचएफ)को खाद्यान्न वितरण केन्द्रमा खाद्यान्न लिन पर्खिरहेका ३४ सहित उक्त क्षेत्रमा ११० प्यालेस्टाइनी मारिएका छन् । त्यो घटनापछि पनि इजरायलले बमबारी जारी राखेको छ ।

इजरायली सेनाले नुसेरात शरणार्थी शिविरमा एउटा घरमा बमबारी गर्दा बालबालिकासहित कम्तीमा १० प्यालेस्टाइनी मारिएका छन् ।

इजरायली सेनाले गाजा सिटीको अल–मावासीमा आठ प्यालेस्टाइनी मारिएको जनाएको छ ।

नासेर अस्पतालका अनुसार, इजरायली सेनाले दक्षिणी अल–मावासीमा विस्थापित मानिस बसेका पालमाथि आक्रमण गर्दा कम्तीमा तीन प्यालेस्टाइनी मारिएका र धेरैजना घाइते छन् ।

गाजा सिटीको हमिद सडकस्थित एक अपार्टमेन्ट भवनमा इजरायली आक्रमणमा थप कम्तीमा पाँच प्यालेस्टाइनी मारिएका छन् ।

इजरायली सेनाले गाजा सिटीको साब्रा क्षेत्रमा आक्रमण गरेको छ । उक्त आक्रमणमा अल–दायह परिवारको घरमा एक बालकको मृत्यु भएको छ । त्यही क्षेत्रमा अर्को आक्रमणमा एक महिलाको मृत्यु भएको छ । तीनजना घाइते छन् ।

प्रत्यक्षदर्शीले बताएअनुसार, इजरायली सैनिकले शनिबार अल–शकुश क्षेत्रमा प्यालेस्टाइनीमाथि सिधै गोली चलाएका थिए ।

यसैबीच, इजरायलको तेल अभिभमा प्रदर्शनकारीले गाजामा मारिएका बालबालिकाका निम्ति मौनधारण गर्दै युद्धविरामको माग गरेका छन् ।

सडकको किनारमा प्रदर्शनकारीले मैनबत्ती र गाजामा मारिएका सयौँ बालबालिकाको तस्बिर बोकेर जनचेतना जगाउने प्रयास गरे । जबकि, अर्को ठूलो समूहले गाजामा अझै बन्धक बनाइएका सबैको तत्काल रिहाइको माग गर्दै मार्च गरे ।

स्पेनमा मान्छे छाडेर आयो भन्ने घटिया प्रचार गरियो : प्रधानमन्त्री

झापा। प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिकास्थित मदनडाँगी-ताराबारी-डिपु सडक स्तरोन्नति आयोजनाको आज उद्घाटन गरेका छन्।

विश्व बैंकको सहयोगमा नगरपालिकाको गौरवको आयोजनाका रूपमा रहेकोे सो सडक नेपालभरका १७ सडकमध्ये छानिएको एक हो। ४४ करोड २४ लाख लागतमा निर्मित ४.८६ किमी सो सडक समयमै सम्पन्न भएको नमूना आयोजना मानिन्छ।

प्रधानमन्त्री ओलीले देशभर विकास निर्माणका लहर ल्याउने क्रममा यो सडक पनि रहेको जनाउँदै मेची महाकालीसम्म थालेका काम सक्ने अभियानमा सरकार रहेको बताए। प्रधानमन्त्री ओलीले दमकको बेलडाँगीमा विशाल रंगशाला निर्माण हुने घोषणा पनि गरे।

उनले हरेक क्षेत्रमा सुधार ल्याउने योजनाबमोजिम स्वयंसेवी भावनाका साथ महत्त्वपूर्ण विषयमा नि:शुल्क अनलाइन कक्षा संचालन गरेपछि यस वर्ष एसइइमा नतिजा १३ प्रतिशतले सुधार आएको बताए।

आफ्नो स्पेन भ्रमण सफल भएको पक्षलाई ओझेल पार्ने गरी केही विरोधी र अराजक तत्वले अरु कुरा नपाएर स्पेनमा मान्छे छाडेर आयो भनेर झुट र घटिया प्रचार गरेको भन्दै उनले यस्ता कुराहरूको जवाफ दिन आवश्यक नभएको टिप्पणी गरे।

कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, पूर्व मुख्यमन्त्रीहरु शेरधन राई, उद्वव थापालगायत सहभागी थिए।

घट्यो हरिहाँसको सङ्ख्या

कैलाली । घोडाघोडी ताल तराईकै ठुलो सिमसार क्षेत्रका रूपमा रहेको छ । जैविक विविधताले महत्वपूर्ण घोडाघोडी तालमा रुख नासिएसँगै हरिहाँसको सङ्ख्या घट्न थालेको छ । घोडाघोडी संरक्षणका लागि सन् १९९२ सालदेखि विभिन्न निकायले काम गर्दै आएका छन् ।

सन् २००९ देखि घोडाघोडी तालको जैविक विविधतामा काम गर्दै आइरहेको स्थानीय संस्था चरा संरक्षण नेटवर्कले हरेक वर्ष घोडाघोडीमा चरा गणना गर्ने काम गर्छ । नेटवर्कका अध्यक्ष दयाराम चौधरीले विगतको तुलनामा घोडाघोडीमा चराको सङ्ख्या घट्दै गएको बताए ।

उनले घोडाघोडीमा स्थानीय र आगन्तुक चराको वासस्थान असुरक्षित बन्दै गएपछि चराको सङ्ख्यामा कमी आउन थालेको जानकारी दिए ।

अध्यक्ष चौधरीले भने, “घोडाघोडीमा विभिन्न प्रजातिका चरा रहे पनि यहाँको सूचक प्रजाति हरिहाँस हो । पानीमा रमाउने हरिहाँसले सुकेका रुखमा गुँड लगाउने र अन्डा पार्ने तथा बच्चा कोरल्ने गर्दछ । सुकेका रुख नासिँदै गएपछि हरिहाँसको वासस्थानमा खलल पुगेको छ ।” घोडाघोडी तालको वरपर सामुदायिक वन रहेको छ । हरेक वर्ष सामुदायिक वनले सुक्खा, ढलापढा रुख काट्दा चराको वासस्थानमा समस्या आएको हो ।

अध्यक्ष चौधरीले केही वर्ष पहिला घोडाघोडी तालको आसपासको क्षेत्र मैतुवा, सिमथरी, तीनचटियामा रहेका सुकेको रुखमा हरिहाँसले गुँड लगाएको देखेपछि ती क्षेत्रमा आफूहरूले सुखेका रुख नकाट्न आग्रह गरेको बताए।

पहिलो पटक सन् १९९२ सालमा घोडाघोडीमा ६६२ वटा हरिहाँस रहे पनि हाल २३० को हाराहारीमा झरेकोे उनले जानकारी दिए। हरिहाँसको सङ्ख्यामा कमी आउनुमा चोरीसिकारी, गुँड भत्काउने, तालमा माछा मार्ने, सिङ्गडा टिप्ने व्रिmयाकलाप बढ्दै जानु मुख्य रहेको छ । नेटवर्कले यस वर्षसमेत घोडाघोडीको सूचक प्रजातिको गणना गर्ने जनाएको छ ।

सन् २०२३ मा २१२ को सङ्ख्यामा रहेका हरिहाँस २०२४ हल्का बढेर २२५ वटा रहेको थियो । घोडाघोडी क्षेत्रमा हरेक वर्ष नेपाल पन्छी संरक्षण सङ्घले समेत जाडो र गर्मी समयमा सिमसार क्षेत्रको चराको गणना गर्ने काम गर्दछ ।

सङ्घका हिरुलाल डङ्गौराले यस वर्ष हरिहाँसको गणना तीन दिन लगाएर सकिएको जनाउँदै त्यसको रिपोर्ट केही दिनमा आउने बताए ।

घोडाघोडीमा चराको सङ्ख्या घटेसँगै पहिला पहिला देखिने चरा अहिले देखिन छाडेका छन् । चराविद् डा। हेमसागर बरालले पहिलो पटक घोडाघोडी पुग्दाको अनुभव सुनाउँदै भने, “म पहिलो पटक घोडाघोडीमा पुग्दा देखेका कैलो टाउके हाँस बर्सौं भयो देखिन छोडेको छ ।”

घोडाघोडी सूचक प्रजातिका रूपमा रहेको हरिहाँसकै कारण विश्व रामसार साइडमा सूचीकृत भएको हो । हरिहाँसको सङ्ख्यासमेत हरके वर्ष घटबढ भइरहेको छ । हरिहाँसको वासस्थान नासिँदै गएपछि सङ्ख्यामा कमी आएको हुन सक्ने चराविद् बराल बताछन । चराविद् बरालले घोडाघोडी सिमसार क्षेत्र सङ्घीय र प्रदेशको दायित्वभित्र पर्ने भएकाले सरकारले दिगो योजना बनाई सिमसार क्षेत्रको जैविक विविधता संरक्षणमा काम गर्नुपर्ने सुझाव दिए ।

गाजाको राहत केन्द्र नजिकै २४ जनाको मृत्यु

काठामडौं : दक्षिणी गाजामा रहेको नासेर अस्पतालले राहत केन्द्र नजिकै २४ जनाको मृत्यु भएको जनाएका छ।

घटनास्थलमा उपस्थित प्यालेस्टिनीले शनिबार राहत केन्द्रमा खाना लिन पुगेको र इजरायली सेनाले गोली चलाएको बताएका छन्।

इजरायल रक्षा बल (आईडीएफ)ले आफ्नो तर्फबाट भएको गोलीबारीमा कोही पनि घाइते नभएको बताएको छ।

एक इजरायली सेना अधिकारीले भने,‘मानिसलाई तितरबितर पार्न चेतावनीपूर्ण गोली चलाइएको थियो। आईडीएफ ले खतरा महसुस गरेको कारणले गोली चलाइएको थियो।’

बीबीसीले दुवै पक्षको दाबी स्वतन्त्र रूपमा प्रमाणित नगर्ने जनाएको छ।

सर्पको डसाइबाट कञ्चनपुरकी कमलाको मृत्यु

रञ्जना बिसी,

कैलाली । शुक्रबार सर्पको टोकाइबाट कञ्चनपुरको कृष्णपुर नगरपालिका १ निगालिकी ३० वर्षीय कमला आउजिको मृत्यु भयो। सुरक्षित पक्कै घर हुँदाहुँदै घरबाट करिब ६० मिटरको दुरीमा रहेको छाउगोठमा सुत्न गएकी उनलाई राति १० बजे बजे सर्पले टोकेको थियो। आफन्तका अनुसार उनका झुल लगाएर सुतेकी कमला गर्मी भएपछि झुल बाहिर टाउको निकालेर सुतेकी थिइन्। त्यहीबेला उनलाई सर्पले टोकेको थियो। छाउगोठबाट उनी चिच्याएको आवाज आएपछि वरपरका छिमेकी के भयो भन्दै छाउगोठ पुगेका थिए ।

बेहोस अवस्थामा भेटिएकी उनलाई आफन्तले राति नै अटो बोलाएर उपचारका लागि राति १२ बजे धनगढीको सेती प्रादेशिक अस्पताल पुर्याएका थिए । गम्भीर अवस्थामा पुगेकी उनलाई बिहान ४ बजे सघन उपचार कक्ष आइसियुमा राखिएको थियो । तर उपचारकै क्रममा शनिबार राति ८ बजे आउजीको मृत्यु भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ।

मृतक आउजीका परिवार विगत लामो समय देखि इंडिया बस्दै आएका छन् । कमलापनि गत वैशाखमा मात्रै इन्डियाबाट घर आएकी हुन ।

आफ्नु छाउगोठ नभएका कारण उनी जेठाजुको छाउगोठमा सुतेको आफन्तले बताए ।

कमलाका जेठाजु सिद्ध आउजिका अनुसार कमलाको पक्की घर छ । तर छाउ भएको बेला घरभित्र बस्दा देउता रिसाउने भएकाले उनी छाउगोठ सुत्ने गरेको उनले बताए ।

‘बाहिर सरेका बेला घर भित्र बस्न पाइँदैन । हामीले नमाने पनि हाम्रा देउता छाउ भयको बेला घर भित्र बसेको राम्रो मान्दैनन् ,’ उनले भने । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार आउजी को परिवार अछाम बाट बसाइँ सरेर कञ्चनपुर आएको हो । उनका नाबालक १५ वर्षीय, १२ वर्षीय र पाँच वर्षीय तीन छोरा छन् भने श्रीमान रोजगारीको सिलसिलामा भारतमा छन् ।

कृष्णपुर नगरपालिकाका मेयर हेमराज ओझा मृतक कमलालाई छाउगोठमा बस्न कसैले बाध्य नबनाएको बताउँछन् । उनको घरमा कोही नभएकाले उनलाई कसैले बाध्य नबनाएर सो इच्छाले उनी छाउगोठमा बसेको उनले बताए । मेयर ओझाका अनुसार कृष्णपुर नगरपालिकाले गतवर्ष मात्रै वडा नम्बर १ स्थित निगालीका चारवटा छाउगोठ भत्काएको थियो। यस वर्ष पनि छाउगोठ भत्काउने कार्यक्रम रहेको उनले जानकारी दिए ।

‘हामी पटक पटक विभिन्न जनचेतनाका कार्यक्रम गर्दै छौ । तर समाजमा जरा गाडेर बसेको यो कुपर्था लागि महिलाहरू स्वयम छोड्न चाहँदैनन् ,’ ओझा भन्छन् ।

भानु जयन्ती नेपाली भाषाको गौरव गाउने महान दिन : सभामुख घिमिरे

काठमाडौँ । सभामुख देवराज घिमिरेले आदिकवि भानुभक्त आचार्यको जन्म दिन नेपाली भाषाको गौरव गाउने महान दिन भएको बताएका छन् । आइतवार २१२ औँ भानु जयन्तीको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले नेपाल मात्र नभइ आज दार्जलिङका पहाडसम्म दौरा सुरुवाल, गुन्युचोलो, नरसिंहा, झ्याम्टोको संयोजनले गुञ्जायमान हुने गरेको बताए । संसारभर नेपाली भाषाको र भानुभक्तको प्रशंसाको सुरुवात हुनु अद्वितीय उदाहरण भएको जिकिर गरे ।

भानु जयन्तीमा नेपालीहरुले आफ्नो संस्कृति र भाषाको महत्वलाई अझ उजागर गर्दै लैजानुपर्ने उल्लेख गरे । भानु जयन्ती भाषा, संस्कृति र पहिचानसँग सम्बन्धित चाड भएको बताए ।

सभामुख घिमिरेले भने, ‘भानु जयन्ती केबल जन्मजयन्ती होइन, नेपाली भाषाको गौरव गाउने महान दिन हो । नेपाल मात्र होइन, दार्जलिङका पहाडसम्म दौरा सुरुवाल, गुन्युचोलो, नरसिंहा, झ्याम्टोको संयोजनले गुञ्जायमान हुनु र संसारभर नेपाली भाषाको र भानुभक्तको प्रशंसाको शुरुवात हुनु अद्वितीय उदाहरण हो ।

त्यो उत्सवमा भानु जयन्ती सबैभन्दा ठूलो चाड मानिन्छ । किनभने त्यो चाड भाषासँग सम्बन्धित चाड हो । संस्कृति र पहिचानको महान चाड हो ।’ सभामुख घिमिरेले नेपाली भाषालाई अझ प्रगतिशिल र विश्व साहित्यको हिस्सा बनाउने प्रण गर्न जरुरी रहेको बताए ।

नेपाली रहेसम्म भानुभक्तको महत्व रहन्छ : शिक्षामन्त्री पन्त

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले नेपाली भाषा, राष्ट्र र पहिचान जीवित रहेसम्म आदिकवि भानुभक्त आचार्यको महत्व र ऐतिहासिकता अक्षुण्ण रहने बताएका छन् । आइतबार २१२औँ भानु जयन्तीको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पन्तले आफ्नो भाषाको जगेर्ना गर्ने, त्यसलाई फैलाउने र साहित्य सिर्जनामार्फत भाषिक सेवा गर्ने व्यक्तित्वहरूको सम्मानमा भानु जयन्ती मनाउनुको विशेष तात्पर्य रहेको स्पष्ट पारे ।

हरेक व्यक्तिले सधैँ नभई आफ्नो कालखण्डको नेतृत्व गर्ने बताउँदै मन्त्री पन्तले भानुभक्तले आफ्नो समयमा साहित्यिक नेतृत्व प्रदान गरी नेपाली भाषालाई एकीकृत र लोकप्रिय बनाएको धारणा राखे । उनले भानुभक्तलाई नेपाली भाषाका मूर्धन्य व्यक्तित्वको रूपमा चित्रण गर्दै उनको स्मरण गर्नु सम्पूर्ण नेपाली भाषीका लागि गौरव र श्रद्धाको विषय भएको बताए ।

मन्त्री पन्तले भने, ‘भानु जयन्ती मनाउनुको मूल तात्पर्य आफ्नो भाषाको जगेर्ना गर्नु, भाषालाई फैलाउनु र भाषामा साहित्य सिर्जना गर्ने व्यक्तित्वहरूलाई सम्झनु हो । जुन बेलासम्म हामी नेपाली जीवित रहन्छौँ, जुन बेलासम्म नेपाल भन्ने देश रहन्छ र जुन बेलासम्म नेपाली भाषा रहन्छ, त्यसबेलासम्म भानुभक्तको महत्व र ऐतिहासिकता रहन्छ ।’

कार्यक्रममा मन्त्री पन्तले विश्वमा विभिन्न भाषाहरू लोप हुँदै गएको सन्दर्भ उल्लेख गर्दै नेपाली भाषालाई समृद्ध बनाउने र संरक्षण गर्ने कार्य चुनौतीपूर्ण रहेकोतर्फ पनि ध्यानाकर्षण गराए । उनले भानुभक्त जस्ता मूर्धन्य व्यक्तित्वको सम्मान र सम्झनाले नै भाषा संरक्षणको अभियानमा ऊर्जा मिल्ने विश्वास व्यक्त गरे ।

साफ यू २० च्याम्पियनसिपमा बंगलादेशसँग खेल्दै नेपाली टोली

काठमाडौं : साफ यू २० महिला च्याम्पियनसिपमा नेपालले घरेलु टिम बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ।
नेपाल र बंगलादेशबीचको खेल नेपाली समयअनुसार आइतबार ६ः४६ मा बसुन्धरा किङ्स एरिनामा सुरू हुनेछ। बंगलादेश यो प्रतियोगितामा नेपालको लागि सबैभन्दा बलियो प्रतिस्पर्धी हो।

सन् २०२२ यता सिनियर महिला टिम र कुनै पनि उमेर समूहको खेलमा नेपालले बंगलादेशलाई हराउन सकेको छैन। त्यस अर्थमा पनि आजको खेल नेपालका लागि पछिल्लो ३ वर्ष यताको इतिहास पल्टाउने मौका हुन सक्नेछ।

यसअघि भएको पहिलो खेलमा नेपालले भुटानलाई ६-१ गोल अन्तरले पराजित गरेको थियो। प्रतियोगितामा नेपाल, भुटान, बंगलादेश र श्रीलंका मात्र सहभागी छन्।

नेपाली टोली : बिर्सना चौधरी (कप्तान), लीला जोशी, करुणा बुढाथोकी, सुजाता तामाङ, सरिता कुमारी नाथ, माया मास्के, सेमिहाङ्मा लिम्बु पन्धाक, सिम्रन राई, झुमा विश्वकर्मा, गङ्गा रोकाया, अनिशा राई, सीता रोकाया, कविता गुरुङ, सुशीला के.सी., अस्मिता गुरुङ, सेनु परियार, कुसुम खतिवडा, शुक्रिया मियाँ, मनिषा सेन, वर्षा ओली, पूर्णिमा राई, मीना देउवा र समीक्षा मगर ।

फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा ब्रेक थ्रु, ईआईए स्वीकृत

धनगढी, २८ असार ।
फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तथा खेलग्रामको वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रक्रिया सम्पन्न भएको छ ।

नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले ईआईए स्वीकृत गरेसँगै परियोजना निर्माणमा  ब्रेक थ्रु भएको फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समितिका अध्यक्ष सुवाश शाहीले बताएका छन् ।

ईआईएसँगै परियोजना निर्माणका लागि आवश्यक महत्त्वपूर्ण कानूनी प्रक्रिया पूरा हुनु ठूलो उपलब्धि भएको शाहीले बताए ।

शाहीका अनुसार सरकारको उच्च प्राथमिकतामा रहेको यस परियोजनाका लागि आवश्यक जग्गा प्राप्ति, विकास समिति गठन तथा डीपीआर निर्माण जस्ता महत्वपूर्ण प्राविधिक कार्यहरु सम्पन्न भइसकेका छन् ।

शाहीका अनुसार २६ अर्ब लागत अनुमान गरिएको खेलग्राममा क्रिकेट रंगशाला मात्रै ५० हजार दर्शक क्षमताको हुनेछ ।  खेलग्राममा क्रिकेट रंगशाला सहित फुटबल मैदान, पौडी पोखरी, ट्र्याक एण्ड फिल्ड, स्पोर्टस् म्युजियमसहित विभिन्न खेलकुद आयोजना गर्न सकिने मल्टि स्पोर्टस हलसहितका पूर्वाधार हुनेछन् ।

ईआईए पास भएसँगै अब स्रोतको सुनिश्चितता गर्दै ग्लोबल टेन्डरमा जाने प्रक्रिया अघि बढ्ने बताईएको छ, शाही भन्छन्, जसले फाप्लामा एकदिन विश्वकप आयोजना गर्ने हाम्रो सपनालाई मुर्तरुप दिनुका साथै धनगढीलाई सिटी अफ क्रिकेटका रुपमा ग्लोबल ब्रान्डका रुपमा स्थापित गर्नेछ ।

उनले खेलपर्यटनका माध्यमबाट सुदूरपश्चिमसँगै देशको आर्थिक उन्नयनका लागि कोशेढुंगा बन्ने यस परियोजनालाई मुर्तरुप दिन अहम् भूमिका खेल्ने  परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, युवा तथा खेलकुद मन्त्री माननीय तेजुलाल चौधरी, वन तथा वातावरण मन्त्री माननीय ऐनबहादुर शाही लगायत सबैलाई धन्यवाद दिए ।

यस्तो हुनेछ रंगशाला 

कैलाली जिल्ला कारागारमा कैदीबन्दी बीच झडप 

कैलाली  । कैलाली जिल्ला कारागारभित्र कैदीबन्दीहरूबीच झडप भएको छ ।  प्रहरीका अनुसार कारागारका नाइके खगेन्द्र बोगटीलाई कुटपिट गरिएको छ । बोगटीमाथि भूपेन्द्र बडुवाल हत्या प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका कपिल श्रेष्ठको समूहले कुटपिट गरेको हो ।

सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी बाल नरसिंह राणा र प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाल कारागार पुगेका थिए । कुटपिट पछि बोगटीलाई उपचारका लागि  सेती प्रादेशिक अस्पताल लगिएको थियो । ठुलो चोटपटक नभएकाले सामान्य उपचारपछि उनलाई फिर्ता ल्याइसकेको  राणले बताए ।

घटनाबारे बुझ्न खोज्दा एसपी राणले घटना सामान्य भएकाले ठुलो मुद्धा नबनाउन आग्रह गरे । उनले भने ‘मान्छेहरू भएको ठाउँमा यस्तो त भइहाल्छ । हामी अनुसन्धान गरिरहेका छौ । यो बिग इस्यु हो जस्तो लाग्दैन मलाई ।’

घटनाको विस्तृत विवरण अहिलेसम्म सार्वजनिक गरिएको छैन। झगडा कसले सुरु गर्‍यो र किन भयो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।कैलाली कारागारमा पटक पटक यस्ता घटना हुने गरेका छन् । केही दिन अघि मात्रै डडेलधुराको भागेश्वर गाउँपालिका–५ का २८ वर्षीय हरिशसिंह पालीको शङ्कास्पद मृत्यु भएको थियो ।

देशमा केही भएन भन्ने भाष्य गलतः उपप्रधानमन्त्री सिंह

काठमाडौँ– उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले देशमा केही भएको छैन भन्ने गलत भाष्य निर्माण गरी भ्रम फैलाउने प्रयास भइरहेको बताएका छन्।

आज यहाँ नेपाली कांग्रेस नागार्जुन नगरपालिका–२ ले आयोजना गरेको ‘एसइई सम्मान’ कार्यक्रममा उनले युवा विद्यार्थीहरूलाई यथार्थ नबुझी लहैलहैमा नलाग्न आग्रह गरे। उनले भने, “देशमा केही भएन, हुँदैन भन्ने गलत भाष्य बनाउन खोजिएको छ जसले जे भने पनि त्यसलाई पत्याएर लहैलहैमा लाग्नुहुँदैन। युवा विद्यार्थीहरूले सत्य–तथ्य बुझेर विवेकको प्रयोग गर्नुपर्छ। विगतमा के थियो र अहिले के परिवर्तन भएको छ, युवा र विद्यार्थीहरूले आफ्ना अग्रज र अभिभावकहरूसँग सोधेमा स्पष्ट हुन्छ। अझै धेरै गर्न बाँकी छ, तर केही नभएको भन्ने भाष्य गलत हो।”

उनले नेपालको शिक्षा क्षेत्रमा विगतको तुलनामा उल्लेखनीय प्रगति भएकोमा जोड दिए। आफू विद्यार्थी हुँदा विषय छनोटमा सीमितता रहेको स्मरण गर्दै उपप्रधानमन्त्री सिंहले नेपालमै बसेर अन्तरराष्ट्रियस्तरको शिक्षा प्राप्त गर्न सकिने अवस्था सिर्जना भएको बताए।

“देशलाई विकास र निर्माणको बाटोमा अगाडि बढाउने जिम्मेवारी हाम्रो हो, यसमा हामी गम्भीर भएर काम गर्नुपर्छ र गरिरहेका छौँ”, उनले भने। उपप्रधानमन्त्री सिंहले अध्ययनका लागि मात्र विदेश जानुपर्ने बाध्यता अहिले नरहेको बताउँदै देशमै बसेर उच्च शिक्षा आर्जन गर्न विद्यार्थीहरूलाई आग्रह गरे।

प्रधानमन्त्रीबाट भागीरथा न्यौपाने बुद्धशान्ति अस्पतालको उद्घाटन

काठ्माण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको बुद्धशान्ति गाउँपालिका, बुधबारेस्थित भागीरथा न्यौपाने बुद्धशान्ति अस्पतालको आज उद्घाटन गरेका छन्।

नेपालकै पहिलो तत्कालीन प्रधानपञ्च भागीरथा न्यौपानेको नाम जोडिएको सो आधारभुत अस्पताल १० शैय्याको रहेकोे छ । अस्पतालले दैनिक चार सयलाई सेवा दिनेछ ।

प्रधानमन्त्री ओलीले पुरानो पुस्ताको आदर्श व्यक्तित्व भागीरथाका सन्तानले जग्गा दान दिएर अस्पताल बन्न सकेको उल्लेख गरे।
मर्दा कसैले केही नलाने भएकोले भागीरथाहरुको प्रेरणाबाट सामाजिक सेवामा लाग्न आग्रह गरे।

उनले अस्पतालको क्षमतावृद्धिका लागि सरकारले सहयोग गर्ने विश्वास दिलाए। प्रधानमन्त्री ओली आज र भोलि झापा र इलाममा हुने विभिन्न कार्यक्रममा सहभागी हुनेछन्।

खेलकुदका पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेका छौँ : मन्त्री चौधरी

काठमाडौँ । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले खेलकुदका पूर्वाधार निर्माणलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन् । शनिबार कोशी प्रदेश खेलकुद बोर्डले आयोजना गरेको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले यस्तो बताएका हुन् ।

मन्त्री चौधरीले आगामी आर्थिक वर्षको बजेटमा सरकारले खेलकुद क्षेत्रको बजेट दोब्बरले बढाएको बताए । उनका अनुसार सरकारले विगतका वर्षहरूमा युवा तथा खेलकुद मन्त्रालयलाई तीन करोड बजेट विनियोजन गर्दै आएकोमा आगामी आर्थिक वर्षको बजेटमा दोब्बरले बढाएर ६ अर्ब विनियोजन गरेको छ। मन्त्री चौधरीले ६ अर्ब बजेट मध्ये ४ अर्ब खेलकुद क्षेत्रका पूर्वाधार निर्माणका लागि विनियोजन गरिएको बताए । चौधरीले भने‘ आगामी आर्थिक वर्षका मन्त्रालयले ४ अर्ब बजेट पूर्वाधार निर्माणका लागि मात्रै विनियोजन गरेको छ ।’

मन्त्री चौधरीले बजेट विनियोजन गरिएका आयोजनाको तत्काल डीपीआर गर्न र डीपीआर गरेका आयोजनाबारे मन्त्रालयलाई साउन भित्रै जानकारी दिन पनि आग्रह गरे । उनले आगामी आर्थिक वर्ष द्रुत गतिमा खेलकुदका पूर्वाधार निर्माण गर्ने दाबी पनि गरे । मन्त्री चौधरीले राम्रा खेलाडी उत्पादनका लागि स्कुल देखि ओलम्पिक भन्ने कार्यक्रम पनि सरकारले कार्यान्वयनमा लैजाने तयारी गरेको जानकारी दिए ।

उनले कोशी प्रदेश खेलकुदमा पछि परेका कारण खेलकुद क्षेत्रलाई उकास्ने र खेलाडीको क्षमता अभिवृद्धिमा सहयोग पुग्ने कार्यक्रम ल्याउन प्रदेश सरकार र स्थानीय तहहरूलाई आग्रह गरे । कार्यक्रममा खेलकुद क्षेत्रका खेलाडी, प्रशिक्षक, पदक विजेता खेलाडी र पत्रकारहरूलाई समेत सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।

विद्या भण्डारी राजनीतिमा आउनु सकारात्मक छ : झलनाथ खनाल

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा आउनुलाई सकारात्मक रुपमा लिएको बताएका छन् ।

शनिबार चीनको भ्रमण सकेर स्वदेश फर्किएका उनले सञ्चारकर्मीहरूसँग कुरा गर्दै यस्तो बताएका हुन् । उनले अहिलेको नेपालमा सबैभन्दा ठुलो वामपन्थी समूह नेकपा एमाले रहेको बताउँदै एमालेले नै अरू सबैलाई एकताबद्ध गर्न जरुरी रहेको बताए ।

एमालेले एकताबद्ध गर्न नचाहँदा नै वामपन्थी आन्दोलन विभाजित अवस्थामा रहेको बताए । एमालेले वामपन्थी एकता गर्न चाहने हो भने ठुलो मात्राको वामपन्थी एकता हुनसक्ने सम्भावना रहेको बताए ।

पूर्व प्रधानमन्त्री खनालले भने, ‘अहिलेको नेपालमा सबैभन्दा ठुलो वामपन्थी समूह नेकपा एमाले नै हो । त्यो समूहले नै अरू सबैलाई एकताबद्ध गर्न नचाहेको हुनाले वामपन्थी आन्दोलन विभाजित अवस्थामा रहेको पनि हो ।

त्यसो हुनाले एमालेले वामपन्थी एकता गरौँ, भनेर चाहने हुने हो भने अलि ठुलो मात्राको वामपन्थी एकता हुनसक्ने सम्भावना रहेको छ । अहिले जे खालको समस्याबाट एमालेको नेतृत्व आक्रान्त देखिन्छ, यदि विद्या भण्डारीले त्यो कुरा महसुस गरेर वामपन्थी एकता आजको आवश्यकता हो भन्ने महसुस गरेर राजनीतिमा प्रवेश गर्ने, एमालेमा प्रवेश गर्ने र म अब पहलकदमी गर्छु, एमालेको अध्यक्ष पनि बन्छु भन्ने कुरा गरेको हो भने यसलाई हामीले सकारात्मक रूपमा लिनुपर्छ ।’

पूर्व प्रधानमन्त्री खनालले भण्डारी वामपन्थी एकता आजको आवश्यकता हो भन्ने महसुस गरेर राजनीति र एमालेमा प्रवेश गरेको भए त्यसलाई सकारात्मक रूपमा लिनुपर्ने बताए ।

अर्थतन्त्रका १८ सूचक सकारात्मक भएको प्रधानमन्त्रीको दाबी

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकार आएपछि एक वर्षमा अर्थतन्त्रका १८ वटा सूचक सकारात्मक भएको दाबी गरेका छन्।

उनले लेखेका छन्, ‘हाम्रो सरकार आएसँगै एक वर्षमा अर्थतन्त्रका १८ वटा सूचक सकारात्मक भएका छन्। यसलाई अझ प्रगतिमा लैजान हामी काम गर्दैछौं।’

उनले जारी गरेका सकारात्मक सूचकहरूमा निर्माण, उद्योग, विद्युत तथा ग्यास, प्रशासनिक सेवा, सूचना प्रविधि, व्यापार, शिक्षा, स्वास्थ्य सेवा, खानी, यातायात, बैंक तथा बीमा, औद्योगिक उत्पादन, घर जग्गा, कृषि तथा वन, वैज्ञानिक सेवा, र आवास तथा भोजन क्षेत्र समेटिएका छन्।

टी-२० विश्वकप एशियाली छनोटमा नेपालको पहिलो खेल कुवेतसँग हुने

काठमाण्डौ – नेपालले टी-२० विश्व कपको एशियाली तथा पूर्वी एशिया प्यासेफिक छनोटको पहिलो खेलमा नेपालले कुवेतको सामना गर्ने भएको छ । ओमानमा असोज २२ गते छनोट प्रतियोगिता शुरू हुनेछ । नेपालले पहिलो दिन कुवेतसँग खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ ।

आज प्रकाशन भएकाे खेल तालिका अनुसार नेपालले दोस्रो खेलमा असोज २४ जापानसँग खेल्नेछ । सुपर सिक्सको शीर्ष तीनमा रहने राष्ट्रले अर्को वर्ष भारत र श्रीलङ्कामा आयोजना हुने विश्व कप खेल्नेछ ।

नेपाल लगातार दोस्रो पटक तथा समग्रमा तेस्रो पटक विश्वकपमा स्थान बनाउने तयारीमा छ । छनोटको तयारीका क्रममा नेपालले अस्ट्रेलिया भ्रमण तथा वेस्ट इण्डिजसँगको टी-२० आई सिरिज खेल्नेछ ।

विश्वकप छनोटमा नेपाल, कुवेत र जापानसहित नाै राष्ट्रको सहभागिता रहने छ । सहभागी नाै राष्ट्रलाई तीन समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा यूएई, मलेशिया र कतार रहँदा समूह ‘बी’ मा नेपाल, कुवेत र जापान रहेका छन् ।

समूह ‘सी’ मा ओमान, पपुवा न्यूगिनी र समओ रहेका छन् । समूहको शीर्ष दुईमा सुपर सिक्समा पुग्नेछन् । अक्टोबर १२ देखि १७ सुपर सिक्स हुनेछ र त्यसको शीर्ष तीनमा पर्ने टोली विश्व कपमा पुग्नेछ ।

भारत र श्रीलङ्कामा हुने टी-२० विश्वकप २०२६ मा २० राष्ट्रको सहभागिता रहनेछ । हिजो युरोप क्षेत्रीय छनोटबाट इटली र नेदरल्याण्ड्स छनोट भएसँगै विश्वकप खेल्ने १५ देशको छनोट भइसकेको छ ।

सिमलताल घटनाको एक वर्ष: अझै पत्तो छैन ३९ यात्रुको अवस्था

काठ्माण्डौँ- एक वर्ष पुग्दा पनि सिमलतालबाट त्रिशूली नदीमा खसेका बसका ३९ जना यात्रु अझै भेटिएका छैनन् ।

गत वर्षको २८ असारको राति दुईवटा बस एकै ठाउँबाट पहिरोसँगै त्रिशूलीमा खसेका थिए । ती बसका यात्रुमध्ये ३९ जना अझै बेपत्ता छन् । नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा दुई बसमा ६२ जना यात्रु थिए । तीमध्ये तीन जना जीवित र २० जनाको शव भेटिएको थियो भने बाँकी अझै बेपत्ता छन् ।

दुवै बस अहिलेसम्म भेटिएको छैन । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार बा प्र ०३–००६ ख १५१६ नम्बरको एञ्जल्स डिलक्स बसमा २६ जना यात्रु थिए । तीमध्ये १० जना मृत फेला परेको र अन्य १६ जना अझै बेपत्ता छन् । उक्त बसमा सात जना भारतीय यात्रु सवार रहेका थिए । तीमध्ये दुई जना मृत फेला परेका थिए भने बाँकी ५ जना भारतीय नागरिक अझै बेपत्ता छन् ।

त्यस्तै, बा प्र ०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्समा ३६ जना यात्रु रहेका थिए । तीमध्ये तीन जना जीवित, १० जनाको शव फेला परेको र २३ जना अझै बेपत्ता रहेको उनले जानकारी दिए । तीमध्ये भारतीय चार जना थिए । तीन जना मृत फेला परेका थिए भने एक जना बेपत्ता छन् ।

वीरगञ्जबाट काठमाडौं जाँदै गरेको एञ्जल डिलक्स र काठमाडौंबाट रौतहटको गौरका लागि छुटेको बागमती गणपति डिलक्स बस पहिरोसहित त्रिशूलीमा खसालेको थियो । उक्त समयमा नेपाली गोताखोरले मात्र नसकेपछि विदेशबाट समेत गोताखोर मगाइएको थियो । तर, गोताखोरले पनि बेपत्ता यात्रु र बस फेला पार्न सकेका थिएनन् ।

त्रिशूलीमा बाढी आएपछि लामो समय खोजी कार्य गरिएको भए पनि बेपत्ता यात्रु र बस अझै फेला पार्न सकिएको छैन । त्यतिबेला फेला परेका मृतक २० जनामध्ये कतिपय शव त्रिशूली र कतिपयको शव नारायणी नदी किनारका विभिन्न क्षेत्रबाट फेला पारिएको थियो भने दुई वटा शव भारतमा फेला परेको थियो ।

घटनाको विस्तृत अध्ययनका लागि गृह मन्त्रालयले तत्काल सहसचिव छवि रिजालको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । गृहमन्त्री रमेश लेखकले आफ्नो पहिलो निर्णय कार्यदल गठनमा हस्ताक्षर गरेका थिए । उक्त कार्यदलले प्रतिवेदन पेश गर्दै विपद् व्यवस्थापनलगायत सवारी दुर्घटना न्यूनीकरणको प्रभावकारी व्यवस्थापनका लागि सरोकारवाल निकाय जिम्मेवारीका साथ पहल गर्नुपर्नेमा रायसमेत दिएको थियो ।

कार्यदलको प्रतिवेदन बुझ्दै गृहमन्त्री लेखकले सडक दुर्घटनाका कारण लामो समयदेखि जनधनको क्षति भइरहेका प्रति चिन्ता व्यक्त गरेका थिए ।गृहमन्त्री लेखकले प्रतिवेदन अक्षरशः कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गर्दै कार्यदलले दिएको सुझाव मन्त्रालयले पनि कार्यान्वयन गर्नुका साथै अरु निकायलाई पनि कार्यान्वयन गर्न लगाउने बताएका थिए ।

सिमलताल दुर्घटनाको मुख्य कारण भेलबाढीकै कारण दुईवटा बस बगाएको आशय सहितको निष्कर्ष कार्यदल निकालेको थियो । प्रतिवेदनमा दुर्घटनास्थलमा स्थानीय पालिकाले सडक निर्माण गर्दा भिरालो र पहाडी क्षेत्रमा उचित इन्जिनियरिङ–डिजाइन बिना नै ग्रामीण सडक खनिएको उल्लेख छ । प्रतिवेदनमा दुर्घटना स्थलमा कमजोर भूगोल तथा अत्याधिक क्रस स्लोप भएको देखिएको जनाइएको थियो । सडकमा कुनै टेवा पर्खाल निर्माण नगर्दा वर्षातको समयमा पहिरो गई सडकमा क्रस गर्दै गएका दुईवटा बसलाई पहिरोले धकेलेर त्रिशूली नदीमा खसालेको देखिएको प्रतिवेदनमा उल्लेख छ ।

अध्ययनका क्रममा दुर्घटनामा बाच्न सफल भएका व्यक्ति, प्रत्यक्षदर्शी, सडक विभाग, चितवन प्रशासन कार्यालयलगायतसँग छलफल गरिएको थियो । सडक दुर्घटनामा ज्यान गएकाको परिवारलाई उचित क्षतिपूर्ति र बिमा वापतको रकम दिन ढिलाइ नगर्न प्रतिवेदनले सुझाव दिएको छ । बेपत्ता भएका ३९ जनाको खोजी यथासक्य गर्न भनिएको थियो ।

एयर इन्डियाको विमान खस्नुअघि ककपिटमा दुई पाइलटबीच भएको थियो यस्तो कुरा

गत जुन १२ तारिख भारतको अहमदाबादमा विमान दुर्घटना भएको ठिक एक महिनापछि यसको प्रारम्भिक अनुसन्धान प्रतिवेदन जारी गरिएको छ।  यो प्रतिवेदन भारतको विमान दुर्घटना अनुसन्धान ब्युरो (एएआईबी) ले शनिबार (जुलाई १२ तारिख) सार्वजनिक गरेको हो। प्रतिवेदनले विमान भुइँमा बजारिनुअघि दुई पाइलटबीच भएको कुराकानीलाई प्रस्तुत गरेको छ। यो कुराकानी ककपिट भ्वाइस रेकर्डरमार्फत प्राप्त गरिएको हो।

 

रिपोर्टअनुसार, उडेको केही सेकेन्डपछि विमानका दुवै इन्जिन अचानक बन्द भए। त्यसबेला दुई पाइलटबीच भएका कुरा अनुसन्धान प्रतिवेदनमा उल्लेख गरिएको छ।

‘तपाईंले कटअफ किन गर्नुभयो?’

 

विमान अहमदाबादस्थित विमानस्थलबाट बेलायतको लन्डनस्थित ग्याटविक विमानस्थलका लागि उडेको थियो। जसमा एटीपीएल लाइसेन्स प्राप्त क्याप्टेन (पीआईसी), सीपीएल लाइसेन्स प्राप्त सह-पाइलट र दस जना क्याबिन क्रु थिए। यस विमानका मुख्य पाइलट क्याप्टेन सुमित सभरवाल थिए र क्लाइभ कुन्दर पनि पहिलो अधिकारीका रूपमा उनीसँगै थिए। दुवै पाइलट मुम्बईका थिए र एक दिनअघि मात्र अहमदाबाद पुगेका थिए। उडानअघि उनीहरूले पर्याप्त आराम पाएका थिए।

यस उडानका क्रममा सह-पाइलटले विमान उडाइरहेका थिए र क्याप्टेनले निगरानी गरिरहेका थिए। उडेपछि विमानले भारतीय समयअनुसार १३:३८:४२ मा १८० नटको अधिकतम रेकर्ड गरिएको वायुगति हासिल गर्‍यो। लगत्तै इन्जिन १ र इन्जिन २ को इन्धन कट-अफ स्विच एक-एक गरी ‘रन टु कट-अफ’ स्थितिमा गयो, जुन एक सेकेन्डको फरकमा भएको थियो। इन्जिनको इन्धन आपूर्ति बन्द हुनेबित्तिकै इन्जिन १ र इन्जिन २ को गति टेकअफ स्तरबाट घट्न थाल्यो।

रिपोर्टअनुसार, ककपिट भ्वाइस रेकर्डिङमा एक पाइलटले अर्कालाई सोधे- किन कटअफ गरेको? अर्का पाइलटले जवाफ दिए- होइन, गरेको छैन।  रिपोर्टमा कुन आवाज कुन पाइलटको हो भन्ने कुरा स्पष्ट छैन। केही सेकेन्डपछि एक पाइलटले जमिनमा रहेका हवाई ट्राफिक नियन्त्रण अधिकारीलाई ‘मेडे, मेडे, मेडे’ सन्देश पठाए। उनीहरूले कुनै प्रतिक्रिया पाएनन् र तुरुन्तै विमान दुर्घटना भयो।

विमान दुर्घटनास्थलका तस्बिर।विमान दुर्घटनास्थलका तस्बिर।

विमान दुर्घटनाको कारण अझै स्पष्ट भएन

अनुसन्धानकर्ताहरूले एयर इन्डियाको विमान दुर्घटनाको प्रारम्भिक रिपोर्टबाट दुई महत्त्वपूर्ण कुरा खुलासा गरेका छन्। पहिलो कुरा के हो भने उडेको केही सेकेन्डपछि विमानका दुवै इन्जिनका इन्धन कट-अफ स्विच रनबाट कट-अफ पोजिसनमा सरेका थिए, जसका कारण विमान अचानक १८० नटको गतिमा रोकियो। ककपिटको भ्वाइस रेकर्डिङमा एक पाइलटले अर्कालाई इन्जिन किन बन्द गरेको भनेर सोधे तर जवाफ गरेको छैन भन्ने आयो।

अनुसन्धान प्रतिवेदनबारे एयर इन्डियाको प्रतिक्रिया

एयर इन्डियाले दुर्घटनाबारे प्रारम्भिक अनुसन्धान प्रतिवेदन सार्वजनिक भएपछि विज्ञप्ति जारी गरेको छ। उसले ‘दुर्घटनापीडित परिवारका पक्षमा उभिएको’ र अनुसन्धान एजेन्सीहरूलाई पूर्ण रूपमा सहयोग गरिरहेको बताएको छ। विज्ञप्तिमा रिपोर्टका विवरणबारे कुनै टिप्पणी गरिएको छैन।

विज्ञप्तिमा भनिएको छ, ‘एयर इन्डिया एआई१७१ दुर्घटनाबाट पीडित परिवारहरूको साथमा छ। हामी यो दु:खद घटनाले शोकमा छौँ र सबै सम्भावित सहयोग प्रदान गर्न प्रतिबद्ध छौँ। हामी १२ जुलाई २०२५ मा विमान दुर्घटना अनुसन्धान ब्युरो (एएआईबी) द्वारा जारी गरिएको प्रारम्भिक रिपोर्ट प्राप्त भएको पुष्टि गर्छौं।’

उनले अगाडि भनेको छ, ‘एयर इन्डियाले नियामकहरूसहित सबै सम्बन्धित पक्षहरूसँग नजिकबाट काम गरिरहेको छ। हामी अनुसन्धानमा एएआईबी र अन्य अधिकारीलाई पूर्ण सहयोग गर्न जारी राख्नेछौँ। अनुसन्धान जारी रहेकाले हामी कुनै पनि विशेष विवरणमा टिप्पणी गर्न सक्दैनौँ र त्यस्ता सबै प्रश्न एएआईबीलाई गर्न आग्रह गर्दछौँ।’

जुन १२ मा अहमदाबादस्थित विमानस्थलबाट उडान एआई १७१ लन्डनका लागि उडेको केही समयपछि मेडिकल होस्टल भवनमा ठोकिँदै खसेको थियो। दुर्घटनामा चालक दलका सदस्यसमेत विमानमा रहेका २४१ यात्रु र मेडिकल होस्टल भवनमा बसेका २९ जनाको गरी २७० जनाको मृत्यु भयो। दुर्घटनामा विमानका एक यात्रु मात्र बाँच्न सफल भए।

विमान दुर्घटनास्थलविमान दुर्घटनास्थल

 

फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृत

धनगढीः धनगढीको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला तथा खेल ग्रामको वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) स्वीकृत भएको छ।

नेपाल सरकार, वन तथा वातावरण मन्त्रालयले शुक्रवार रङ्गशालाको वातावरणीय प्रभाव मूल्याङ्कन स्वकृत गरेको हो।

फाप्ला अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला तथा खेल ग्रामले वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृत भएसँग निर्माणको कानुनी बाटो खुल्ला भएको बताएको छ। वातावरणीय प्रभाव मूल्याङ्कनको काम औपचारिक रूपमा शुक्रवारदेखि सकिएको हो।

धनगढीको फाप्लामा क्रिकेट रङ्गशाला तथा खेल ग्रामको परियोजना निर्माणका लागि जग्गा प्राप्ति, विकास समिति गठन, विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) निर्माण लगाएको काम पूरा भएका छन्। रङ्गशाला निर्माणका प्राविधिक कामहरू पूरा भएका हुन। रङ्गशाला निर्माणमा २६ अर्बको लगानी आवश्यक पर्ने देखिएको छ। ५० हजार दर्शकको क्षमता रहेको क्रिकेट रङ्गशाला तथा खेल ग्राम निर्माणका लागि बजेटको जोहो गर्नुपर्ने देखिएको छ।

धनगढी उपमहानगरपालिका–३ फाप्लामा क्रिकेट रङ्गशालासहित फुटबल मैदान, पौडी पोखरी, ट्र्याक एन्ड फिल्ड, स्पोट्र्स म्युजियम, तथा विभिन्न खेलकुद आयोजना गर्न सकिने मल्टिस्पोट्र्स हल लगायतका पूर्वाधार निर्माण गर्ने योजना रहेको छ।

कञ्चनपुरमा औलोको जोखिम बढ्दै

कञ्चनपुर । कञ्चनपुरमा औलोको जोखिम बढ्दै जान थालेको छ । एनोफिलिज जातको पोथी सङ्क्रमित लामखुट्टेको टोकाइबाट हुने औलोका आयातित बिरामीको सङ्ख्या बढ्दै जान थालेको हो ।

स्वास्थ्य कार्यालय कञ्चनपुरका औलो निरीक्षक सिद्धराज भट्टका अनुसार चालु आर्थिक वर्षको हालसम्म औलोबाट जिल्लामा ५६ जना सङ्क्रमित भएका छन् । भारत र अफ्रिकन मुलुकबाट फर्केका व्यक्तिहरूमा औलोको सङ्क्रमण उच्च रहेको पाइएको छ । भारतबाट फर्केका ५२ जना, अफ्रिकन मुलुकबाट फर्केका दुई जना र स्थानीय दुई जनामा औलोको सङ्क्रमण देखा परेको औलो निरीक्षक भट्टले बताए ।

‘प्लाज्मोडियम फाल्सिपारम र प्याज्मोडियम भाइभेक्स लगायतका दुई परजिविबाट औलो सर्ने गर्दछ’, निरीक्षक भट्टले भने, ‘भाइभेक्सभन्दा प्लाज्मोडियम फाल्सिपारम बढी जोखिमयुक्त हुने गरेको छ, समयमै उपचार नभए फाल्सिपारमबाट बिरामीको मृत्यु हुनसक्ने सम्भावना उच्च रहने गर्दछ ।’

औलो सङ्क्रमितमध्ये प्लाज्मोडियम फाल्सिपारमबाट १२ जना र प्याज्मोडियम भाइभेक्सबाट ४४ जना बिरामी सङ्क्रमित भएको पाइएका छन् । गत वर्षको यसै अवधिमा भारतलगायत मुलुकबाट फर्केका २९ जनामा औलोको सङ्क्रमण देखा परेको थियो ।

‘बर्सेनि भारतबट फर्कने व्यक्तिहरूमा औलोको सङ्क्रमण देखिँदै आएको छ, स्थानीय औलोका बिरामी न्यून मात्रामा रहे पनि आयातीत बिरामीको सङ्ख्या बढ्दो छ’, औलो निरीक्षक भट्टले भने, ‘खुला सीमानाकाका कारण औलो नियन्त्रण गर्नमा चुनौती छ, सीमानाकामै औलोका शङ्कास्पद बिरामीको रगत चेकजाँच गर्ने व्यवस्थालाई भरपर्दो बनाउन आवश्यक छ ।’

औलो लागेको व्यक्तिलाई लामखुट्टेले टोक्दा रगतसँगै औलोको परजीवी पनि चुस्ने र लामखुट्टे सङ्क्रमित हुने भएकाले त्यस्ता सङ्क्रमित लामखुट्टेले स्वस्थ मानिसलाई टोकेमा औलो सर्ने उनको भनाइ रहेको छ । उनका अनुसार औलोबाट बच्न साँझ बिहानको समयमा पूरै शरीर ढाक्ने लुगा लगाउने, शरीरको खुला भागमा कीटनाशक मलम लगाउने, घरभित्र, घरबाहिर, आँगनमा बस्दा लामखुट्टे धपाउन धूप बाल्ने, सुत्ने बेलामा झुलको प्रयोग गर्ने, घर वरिपरि सफा राख्ने, घर वरिपरि पानी जम्न दिनुहुँदैन ।

औलो रोगबाट बच्ने उत्तम उपाय नै लामखुट्टेलाई टोक्न नदिनु नै हो । नेपालबाट औलो सन् २०२५ भित्रै निवारण गरी बिरामीको सङख्या शून्यमा झार्ने लक्ष्य लिइएको छ ।

प्रधानमन्त्री ओलीद्वारा खेलाडीलाई बधाई

काठ्माण्डौँ- प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले हासिल गरेको जितप्रति खेलाडीलाई बधाई दिएका छन्।

सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले भुटानलाई ६–१ को फराकिलो गोलअन्तरले जितेकोमा नेपाली खेलाडीलाई बधाई दिए। ‘साफ यु–२० उमन्स कपमा आज नेपालले भुटानलाई ६–१ को फराकिलो अन्तरले जितेकोमा हार्दिक बधाई!’ प्रधानमन्त्री ओलीले लेखेका छन्।

शुक्रबारदेखि बंगलादेशमा साफ यु–२० महिला कप प्रतियोगिता सुरु भएको छ।

नाउपाको दोधारे नीति : पार्टी प्रतिपक्षमा,मन्त्री सरकारमा राज्यमन्त्री भन्छन् – राजीनामा बुझाइसके

भानुभक्त आचार्य,

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले १९ गते नाउपाको तर्फबाट प्रदेशमा उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रहेका रामेश्वर चौधरीलाई बर्खास्त गरे । मुख्यमन्त्रीलाई जानकारी नगराई नियुक्ति दिएको आर्थिक अनियमितता गरेको भन्दै अख्तियारमा उजुरी परेकोलगायतका आरोप लागेका मन्त्री चौधरीलाई बर्खास्त गरेलगत्तै संरक्षक रेशम चौधरीले पार्टी प्रतिपक्षमा बस्ने सामाजिक सञ्जालमार्फत जानकारी दिए । त्यसको भोली पल्ट सुदूरपश्चिम प्रदेशबाट बाहिरिएको नागरिक उन्मुक्ति पार्टीले २२ गते सङ्घीय सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।

संसदीय दलका नेता गङ्गा चौधरीको अध्यक्षतामा संसदीय दलको कार्यालयमा बसेको बैठकले पार्टी प्रतिपक्षमा बस्ने र सङ्घीय सरकारको संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।

‘नागरिक उन्मुक्ति पार्टी हालसम्म सत्ता पक्षमा बसेर समर्थन गरिरहेकाले सरकारबाट गरेको अपेक्षा बमोजिम कार्य नभएको हुनाले नेपाल सरकारको सङ्घीय र प्रदेश लगायत सबै ठाउँमा समर्थन फिर्ता लिई प्रतिपक्षको बेन्चमा बस्ने र नेपाल सरकारको पर्यटन संस्कृति र नागरिक उड्डयन मन्त्रालयको राज्यमन्त्री रहेका माननीय अरुण कुमार चौधरी ज्यूलाई सरकारबाट फिर्ता बोलाउने कुरा सर्वसम्मतबाट पारित गरियो’ २२ गते संसदीय दलको कार्यालयका बसेको बैठकले गरेको निर्णयमा भनिएको छ ।

संसदीय दलको निर्णय संसद् सचिवालयमा जानकारी गराइ नाउपाको स्थान प्रतिपक्षमा बनाइएको थियो । त्यसपछि अध्यक्ष रन्जिता चौधरी प्रतिपक्षमा बसिन् भने राज्यमन्त्री चौधरीसहित संसदीय दलका नेता गङ्गा चौधरी र प्रमुख सचेतक लालवीर चौधरी संसद्मा उपस्थित भएनन् ।

संसदीय दलको बैठकबाट पार्टी प्रतिपक्षमा बस्ने निर्णय गर्दा अझै नागरिक उन्मुक्ति पार्टीको तर्फबाट राज्यमन्त्री अरुण चौधरी सोही पदमा छन् । नाउपा अध्यक्ष श्रेष्ठले सर्वसम्मतबाट पार्टी प्रतिपक्षमा बस्ने निर्णय गरिसकेको हुँदा राज्यमन्त्रीले पनि राजीनामा दिने बताइन् ।

‘हामीले सर्वसम्मत प्रतिपक्षमा बस्ने निर्णय गरिसकेका छौँ राज्यमन्त्री ज्यूले राजीनामा दिनुहुन्छ ’ उनले भनिन् ।

पार्टी प्रतिपक्षमा बस्दा आफू सरकारमै रहेको भन्दै आलोचना झेलिरहेका राज्यमन्त्री चौधरीले भने आफूले शुक्रबारनै राजीनामा दिएको बताए । तर,स्वीकृत भएको वा नभएको भन्नेबारे आफूले जानकारी नपाएको उनको भनाइ छ ।

‘मैले हिजो सम्माननीय प्रधानमन्त्री ज्यूको सचिवालयमा राजीनामा पेस गरेको छु ’ उनले भने, ‘स्वीकृत भए नभएको भन्नेबारे मलाई जानकारी छैन ।’

२५ गते नै राजीनामा बुझाउन प्रधानमन्त्रीलाई भेटेको तर, अध्यक्ष रज्जिता श्रेष्ठसँग प्रधानमन्त्रीले संवाद गरेपछि राजीनामा नदिएरै आएको उनको भनाइ थियो । उनले शुक्रवार भने आफू प्रधानमन्त्री कार्यालय गएर राजीनामा दर्ता गरेर आएको बताए ।

राज्यमन्त्री चौधरीले राजीनामा दिएको दाबी गरिरहेपनि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको वेबसाइटमा उनलाई राज्यमन्त्रीकै रूपमा उल्लेख गरिएको छ ।

यसैबिच आज नाउपाका बसै सांसदहरुहरुलाई रुपन्देहीमा बैठकलाई लागि बोलाइएको थियो । अन्तिम समयमा बैठक स्थगित भएपछि यस विषयमा त्यहाँ पनि छलफल हुन सकेन ।

पार्टीले विदा गरे स्वीकार्न तयार छु : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफूमाथि मुद्दा लगाइएकै कारण पार्टीले विदा गरे स्वीकार गर्न तयार रहेको बताएका छन्।

शुक्रबार काठमाडौंमा पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियूको प्रथम केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफुमाथि लगाइएको मुद्दाका आधारमा कमिटीले विदा गरे आफु विदा भएर जान तयार रहेको बताएका छन्। आफूमा पार्टी बनाउने आँट रहेको र बिभिन्न चूनौतिको सामना गरेर अघि बढ्ने उनले बताए।

अध्यक्ष नेपालले आफुले जीवनमा एक पैसा पनि घुस नलिएको भन्दै कुनै डर नरहेको धारणा राखे। नेपाल सरकारको नीतिगत निर्णयमाथि अख्तियारले छानविन गर्न नपाउने व्यवस्था संविधानमा हुँदाहुँदै आफूमाथि प्रतिशोधपूर्ण ढंगले मुद्दा चलाइएको उहाले बताए।

अध्यक्ष नेपालले अहिले आफूमाथि प्रतिशोध साध्नेहरू पछि आफूले खनेको खाल्डोमा आफैँ पनि पर्न सक्ने जिकिर गरे।

नेपाली यू-१९ क्रिकेटका तीन खेलाडीले भारतमा एक महिने प्रशिक्षण लिने

काठमाडौं । नेपाली यू–१९ क्रिकेट खेलाडीहरू नरेन भट्ट, साहिल पटेल र पूजा महतोले भारतमा एक महिने प्रशिक्षण लिने भएका छन् ।

नेपालस्थित भारतीय राजदूतावासले घोषणा गरेको ‘नेपाली युवाका लागि राजदूत क्रिकेट फेलोशिप’अन्तर्गत तीन खेलाडीलाई भोपालस्थित एलबी शास्त्री क्रिकेट शालामा एक महिने लामो व्यावसायिक क्रिकेट प्रशिक्षणमा पठाउन लागिएको हो ।

सन् २०२५ को जुन महिनामा घोषणा गरिएको उक्त फेलोशिप कार्यक्रमले नेपाली क्रिकेट प्रतिभाको विकासमा टेवा पुर्‍याउने लक्ष्य लिएको राजदूतावासले जनाएको छ ।

१५ जुलाईदेखि १४ अगस्ट २०२५ सम्म हुने उक्त प्रशिक्षण कार्यक्रमको अवसरमा भारतका लागि नेपाली राजदूत नवीन श्रीवास्तवले आज खेलाडीहरूसँग भेटघाट गरेका छन् । उक्त भेटघाटमा नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द पनि सहभागी थिए ।

भेटका क्रममा राजदूत श्रीवास्तवले खेलाडीहरूलाई शुभकामना दिँदै क्रिकेटजस्तो साझा चासोका माध्यमबाट नेपाल–भारतबीचको जनता–जनताको सम्बन्धलाई थप मजबुत बनाउन खेल कूटनीति महत्त्वपूर्ण माध्यम भएको उल्लेख गरे ।

राजदूतावासका अनुसार उक्त पहलले नेपाली युवाहरूको सीप विकासमा मात्र होइन, दुई देशबीचको आपसी सम्बन्धमा समेत सघाउने अपेक्षा गरिएको छ । प्रशिक्षणले खेलाडीहरूको व्यावसायिक क्षमतामा गुणात्मक सुधार ल्याउने विश्वास व्यक्त गरिएको छ ।

भोटेकोशी बाढी : बेपत्तामध्ये १३ जनाको शव फेला, एकको मात्रै परिचय खुल्यो

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीमा परी बेपत्ता भएका २० जनामध्ये १३ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकाअनुसार भेटिएकामध्ये एक जनाको मात्रै परिचय खुलेको छ ।

प्राधिकरणले नेपाल-चीन सीमाबाट करिब ३५ किलोमिटरमाथि तिब्बती क्षेत्रमा अवस्थित प्यूरेपू हिमनदीमा रहेको सुप्राग्लेसियल ताल अचानक फुट्दा बाढी आएको जनाएको छ ।

बढ्दो तापक्रम र हिमतालहरूको तीव्र विस्तारका कारण हिमताल विस्फोटका घटना बढ्दै गएका छन् भने हिम-बाढीले महत्त्वपूर्ण पूर्वाधारहरूमा गम्भीर क्षति पुऱ्याएको छ । हालैको रसुवाको हिमबाढीले रसुवागढीस्थित नेपाल-चीन मितेरी पुल, रसुवागढी सुक्खा बन्दरगाहको ठूलो हिस्सा र सो क्षेत्रका तीनवटा जलविद्युत् आयोजनामा क्षति पुऱ्याएको छ ।

भन्सार पासको प्रतिक्षामा रहेका ट्रक, कन्टेनर र विद्युतीय सवारीहरू बगाएको र डुबाएको छ । स्याफ्रुबेँसीदेखि रसुवागढीसम्मको करिब १६ किलोमिटर सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।

रसुवागढी–केरुङ व्यापारिक मार्ग ठप्प हुँदा अरबौं रूपयाँ बराबरको आर्थिक क्षतिको आशंका गरिएको छ । सम्बन्धित मन्त्रालयहरू र स्थानीय तहहरूको सहयोगमा क्षतिको विस्तृत मूल्यांकन गर्ने कार्य अगाडि बढाइएको प्राधिकरणले जनाएको छ ।

क्रिकेटर सुशीललाई सुदूरपश्चिम रोयल्सको एक लाख सहयोग

काठमाडौं– सुदूरपश्चिम रोयल्सले क्रिकेटर सुशील रावललाई एक लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले शुक्रबार क्रिकेटर रावललाई एक लाख रुपैयाँ हस्तान्तरण गरेका हुन् ।

मलेसियामा सम्पन्न एसीसी यु–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगितामा नेपाललाई उपाधि दिलाउन अहम् भूमिका खेलेका रावलले शुक्रबार बिहान आफ्नो आर्थिक अभावबारे सामाजिक सञ्जालमा लेखेका थिए ।

उनले केही महिनामै हुन लागेको यु–१९ राष्ट्रिय टोलीको छनोटका लागि तयारी गर्न भारत जानुपर्ने र त्यसका लागि करिब १ लाख रुपैयाँ खर्च लाग्ने बताएका थिए ।

‘आर्थिक अवस्था कमजोर छ भन्दा मलाई लाज छैन,’ क्रिकेटर रावलले फेसबुकमा लेखेका थिए, ‘तर अब सहयोगबिना यो यात्रा सम्भव छैन। त्यसैले मलाई खादा र माला होइन, आर्थिक सहयोग दिनुहोला ।’

सुदूरपश्चिम प्रदेशमा ७० प्रतिशत बजेट खर्च, २९ प्रतिशत बजेट फ्रिज

धनगढी। सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१/८२ मा जम्मा बजेटको ७० प्रतिशत मात्र खर्च गरेको छ । प्रदेश सरकारको कुल चालु र पुँजीगत खर्चका लागि विनियोजित ३१ अर्ब ५३ करोड ६६ लाख रुपैयाँमध्ये २२ अर्ब २८ करोड १३ लाख रुपैयाँ मात्र खर्च भएको हो ।

प्रदेश लेखा नियन्त्रक कार्यालय धनगढीका अनुसार चालु खर्चतर्फ ७६.८१ प्रतिशत र पुँजीगत खर्चतर्फ ६६.५० प्रतिशत बजेट मात्रै खर्च भएको छ । प्रमुख लेखा नियन्त्रक वासुदेव जोशीका अनुसार पुँजीगततर्फको १८ अर्ब ७५ करोड ५९ लाख बजेटमध्ये १२ अर्ब ४७ करोड २७ लाख रुपैयाँ खर्च भएको छ ।

चालु खर्चतर्फको १२ अर्ब ७७ करोड ६ लाख बजेटमध्ये ९ अर्ब ८० करोड ८५ लाख रुपैयाँ खर्च भएको छ । उनका अनुसार करिब ९ अर्ब २५ करोड ५२ लाख रुपैयाँ बजेट खर्च नभई फ्रिज भएको छ मन्त्रालयगत हिसाबले सामाजिक विकास मन्त्रालयले सबैभन्दा राम्रो खर्च प्रगति ७५.९ देखाएको छ । यस मन्त्रालयले विनियोजित ६ अर्ब ४४ करोडमध्ये ४ अर्ब ८९ करोड खर्च गरेको हो ।

दोस्रो स्थानमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय रहेको छ, जसले १ अर्ब ९१ करोडमध्ये १ अर्ब ४० करोड रुपैयाँ खर्च गर्दै ७३.१ प्रतिशत प्रगति गरेको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले २ अर्ब ७५ करोडमध्ये १ अर्ब ८६ करोड खर्च गर्दै ६७.७ प्रतिशत प्रगति गरेको छ ।

भौतिक पूर्वाधार विकास मन्त्रालयले सबैभन्दा धेरै १४ अर्ब ९० करोड बजेट विनियोजन पाएको थियो, तर यसले १० अर्ब ३९ करोड १० लाख मात्र खर्च गर्दै ६९.७ प्रतिशत प्रगति गरेको छ ।आन्तरिक मामिला तथा कानुन मन्त्रालयको खर्च स्थिति भने सबैभन्दा निराशाजनक रहेको बताइएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले विनियोजित ३१ अर्ब २२ लाखमध्ये २० करोड ७८ लाख रुपैयाँ खर्च गरेर ६६.५ प्रतिशत खर्च प्रगति गरेको छ । आर्थिक मामिला मन्त्रालयले २० करोड ६२ लाख बजेटमध्ये १३ करोड ९९ लाख खर्च गर्दै ६७.८ प्रतिशत प्रगति गरेको छ ।

खोज्नुहोस