श्रमबिना प्रगति सम्भव छैन: प्रधानमन्त्री ओली

काठ्माण्डौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमबिना प्रगति सम्भव नभएको तथा श्रमिकको सम्मानबिना समृद्धि नहुने बताएका छन् ।

१ साउनदेखि लागू हुनेगरी श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि भएकामा खुसी व्यक्त गर्दै प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत उक्त कुरा बताएका हुन् ।

‘यसअघि हामीले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागू गरेर श्रमिकको भविष्य सुरक्षित गर्ने पाइला चालेका थियौँ । त्यसमा अहिलेसम्म करिब २१ लाख श्रमिक आबद्ध भइसकेका छन्,’ उनले फेसबुकमा लेखेका छन् ।

१ साउनदेखि लागू हुनेगरी श्रमिकको न्यूनतम पारिश्रमिक मासिक रु‍‍‍. १७ हजार ३००बाट बढाएर रु. १९ हजार ५५० बनाउने निर्णय भएको जानकारी दिँदै प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘श्रमिकलाई एक मुट्ठी भरोसा महत्वपूर्ण हुनेछ । जय श्रमिक, जय नेपाल !,’

नेपाली गलैँचा तेस्रो मुलुक निर्यात हुन थाल्यो

काठ्माण्डौँ। बारा-पर्सा औद्योगिक कोरिडोरमा अवस्थित प्रेस्टिज कार्पेट इन्डिस्ट्रिजले आफ्ना उत्पादन तेस्रो मुलुक निर्यात गर्न थालेको छ । इन्डिस्ट्रिजले गत बिहीबार ३० हजार वर्गमिटर गलैँचा सुक्खाबन्दरगाहबाट तेस्रो मुलुक निर्यात गरेको हो ।

उक्त इन्डिस्ट्रिजका युनाइटेड सञ्चालक अमन साहका अनुसार संयुक्त अरब इमिरेट्स, अफ्रिकी मुलुक केन्या र संयुक्त राज्य अमेरिकालगायत मुलुकमा आफ्ना उत्पादन निर्यात गर्न थालेको हो । यसअघि भारतमा आफ्ना उत्पादन निर्यात गर्दै आएको थियो ।

करिब रु एक करोड बराबरको गलैँचा सुक्खाबन्दरगाहबाट तेस्रो मुलुक निर्यात गरिएको सञ्चालक साहले बताए । लामो प्रयासपछि तेस्रो मुलुकमा पनि निर्यात गर्न बन्न सफल भएको उनको भनाइ छ ।

जितपुर–सिमरा उपमहानगर–२३ मा रहेको उक्त उद्योगले १०० जनालाई रोजगारी दिएको छ । उद्योगको वार्षिक २० लाख वर्गमिटर उत्पादन गर्ने क्षमता छ । उद्योगका अनुसार प्रतिवर्गमिटर मिटर रु ९०० देखि चार हजारसम्मका गलैँचा उत्पादन हुने गरेको छ । विगत पाँचवर्षदेखि सञ्चालनमा रहेको उद्योगमा रु ४० करोड लगानी भएको छ ।

अमेरिकामा डाटा साईन्समा नेपाली युवाको छलाङ

हिन्दी फिल्म ‘ओमशान्ति ओम’ मा शाहरुख खानको चर्चित डायलग छ, –“अगर तुम दिल से चाहो तो पूरी कायनात तुम्हें उससे मिलाने की कोशिश में लग जाती है ।

यो भनाई विश्व प्रसिद्ध उपन्यासकार पाउलो कोएल्होको चर्चित उपन्यास द अल्केमिष्टको ‘ह्वेन यु वान्ट समथिङ्ग, अल द युनिभर्स कन्स्पाईर्स ईन हेल्पिङ यु एचिभ ईट’ को अनुवादित अंश थियो । जसलाई चर्चित बनाए, शाहरुखले ।

‘यदि तिमीले मनबाट केही चाह्यौ भने सारा ब्रह्माण्ड तिमीलाई त्यो दिलाउने प्रयत्नमा लाग्दछ ।’ के साँच्चै होला त ? उनी सोच्थे ।

मनमा थियो, ईञ्जिनियर बन्ने सपना । मुटुमा गढ्यो, शाहरुखको डायलग ।

उनी संसारको भर भने परेनन् । हो, उनले सपना मात्र पछ्याएनन् । मिहिनेत गरे । र त, सपनाले उनलाई पछ्यायो । पुरा गरी छाडे, चिताएको कुरा । ती भाग्यमानी हुन्, धर्मराज उपाध्याय ।

२०४२ साल चैत २९ गते बझाङको चैनपुर नगरपालिका–७ सुत्यामा जन्मिएका उनी नन्दलाल र धनादेवीका दोस्रो सन्तान थिए । उनीभन्दा पहिले जन्मिएका सन्तानको न्वारान नहुदै मृत्यु भयो । त्यसपछि उनी जन्मिए । उनीपछि तीन भाई, एक बहिनी ।

बुवाले स्कुल देख्न पाएनन । यद्दपि पढ्न नपाएका बुवामा सन्तान पढाउनु पर्छ भन्ने चेत थियो । बुवाको त्यही चेतले उनी विद्यालय जान पाए । गाउँकै स्कुलमा कखरा सिके । डिलबगरको विद्यालयमा एक देखि चार कक्षासम्म पढे । बाढीले विद्यालय बगायो । उनी पाँच कक्षामा सुवेडाको सुनी पिपलचौर माविमा भर्ना भए । सुत्याबाट विद्यालय ओहोर दोहोरमै दैनिक चार घण्टा लाग्थ्यो । सेती नदीमाथिको झोलुंगे पुल थियो । त्यही पार गरेर उनी स्कुल जान्थे ।

२०५७ साल जेठ महिनामा ८ कक्षाको परीक्षा चल्दै थियो । सेती नदीमा उर्लिएको बाढीले झोलुंगे पुल बगायो । गणित विषयको परीक्षा रोकियो । रोकिएको परीक्षा चैनपुरस्थित बालमन्दिरमा दिए । झोलुंगे पुल बगाएपछि विद्यालय जान सकस भयो । बुवाले उनको पढाई प्रभावित हुन दिएनन् । उनलाई खप्तड हुदै दुई दिन पैदल हिडेर सिलगढी पु¥याए । र चढाए, सिलगढी नाचन्थलीबाट धनगढी जाने बसमा । उनलाई एकजना आफन्तको जिम्मा लगाएर बुवा बझाङ फर्किए । उनी धनगढी पुगे ।

उनी ९ कक्षामा धनगढी उपमहानगरपालिका–२ बैयाबेहडीस्थित शारदा माध्यमिक विद्यालय भर्ना भए । छेउमै थियो, ठूलो बुवाको घर । त्यही बसेर २०५८ सालमा एसएलसी पास गरे ।

प्लस टुमा कैलाली बहुमुखी क्याम्पसमा भर्ना भए । त्यहीबाट प्लस टु र स्नातक सके । र, सिद्धनाथ विज्ञान क्याम्पसबाट एमएस्सीको पढाई पुरा गरे ।

विहान क्याम्पस पढ्थे । दिउँसो निजी विद्यालयमा पढाउथे । एसएलसीपछि सिद्धार्थ बोर्डिङ स्कुल जुगेडामा पढाउन थाले । तलब थियो, सात सय ७५ रुपैया । उनी क्याम्पसबाट सोझै विद्यालय जान्थे । साईकलमा ४५ मिनेट लाग्थ्यो । स्नातक पढ्न थालेपछि त्यहाँको जागीर छोडे । स्टोन ब्रिज ईंगलिस स्कुलमा पढाउन थाले । तलव बढेर पाँच हजार पाँच सय रुपैया पुग्यो । डेढ वर्षपछि पुगे, डडेल्धुरा । तुफानडाँडास्थित ज्ञानोदय बोर्डिङ स्कुलमा गणित पढाउन थाले । अनुभवले खारिदै गए । पारिश्रमिक बढ्दै गयो । त्यहाँ उनको तलव नौ हजार पाँच सय रुपैया पुग्यो । क्याम्पस नगएरै स्नातकको परीक्षा दिए । पास भए । सिद्धनाथ विज्ञान क्याम्पसमा स्नातकोत्तरमा भर्ना भए । डडेल्धुरा छोडे ।

२०१० मा स्टेपिङ स्टोन ईंगलिस स्कुमा पढाउन थाले । केही समय क्रिसेण्ट कलेजमा पढाए । प्राईभेटबाट स्नातकोत्तरको परीक्षा दिए । २०१३ मा स्नातकोत्तरको पढाई पुरा गरे । डीभी परेपछि जागीर छोडे । उनको तलव थियो, १२ हजार पाँच सय रुपैया ।

२०१२ मा उनलाई डिभी प¥यो । सेप्टेम्बर २०१३ मा अमेरिका पुगे । गन्तव्य थियो, बोष्टन । बोस्टन पुगे । जहाँ थियो, ठूलो बुवाको परिवार । उनले सेभेन ईलेभनको स्टोरमा काम पाए । पद, सेल्स म्यान । प्रतिघण्टाको पारिश्रमिक १२ डलर ।

कोजेन डेटा सोलुसन कन्ट्रयाक्ट कम्पनीको अफरपछि करारमा जागीर खान शिकागो गए ।शिकागोमै रहदा उनले जर्जियामा कक्स कम्युनिकेशनमा करारमा जागीर पाए । त्यहाँबाट उनी बोष्टन गए । १४ फेब्रुअरी जर्जिया उडे । उनका साथमा थियो, एउटा क्रेडिट कार्ड । जसमा ८० डलर थियो । र थियो,  श्रीमतीले दिएको २५० डलर ।

जर्जियामा बस्ने कहाँ ? ठेगान थिएन । सबै बन्द भएपनि अमेरिकामा वालमार्ट बन्द हुदैन । कही बास नमिले वालमार्टमा रात बिताउने सोचेका थिए । यद्दपि बोष्टन छोड्नु अघि जर्जियामा भाडाका लागि एउटा घरमा रिक्वेष्ट गरेका थिए ।

जर्जियाका लागि जहाजमा चढ्दै गर्दा उनले मनमनै सोचे, नेपालीको घरमा कोठा मिलोस । दुई हप्तासम्म खाना । दुई हप्तामा सबै चुक्ता गर्नेछु ।

विमानस्थलमा झरे । संयोगले उनलाई त्यही बेला कल आयो । कल गर्ने महिला थिईन ।
तपाईलाई कोठा चाहिएको छ ? महिलाले सोधिन ।
छ,–उनले भने ।
अहिले कहाँ हुनुहुन्छ ? महिलाले अर्को प्रश्न गरिन् ।
प्रत्युत्तरमा उनले भने, बिमानस्थलमा ।

केही मिनेटको कुराकानीमा महिला भाडामा कोठा दिन मात्र सहमत भईनन् । आफ्नो श्रीमानलाई बिमानस्थलमा लिन पठाउने बताईन । कहाँ बस्ने ? अन्यौल थियो । कोठा मिल्ने भयो । ढुक्क भए ।  सम्पर्कको माध्यम मोवाईल थियो । त्यही अफ भयो । एक स्टोरमा चार्ज गरे । एकछिनपछि महिलाले पुनः कल गरिन । व्यस्तताका कारण श्रीमान आउने नसक्ने सुनाईन । र, एक जना भाईलाई पठाईन । राति ११ बजे उनी बिमानस्थलबाट बाहिर निस्के ।

उनी भोकै थिए । खाना पकाएर घरबेटी पर्खिरहेका थिए । खाना खाए । उनले आफूसंग पैसा नभएको सुनाए । र गरे, दुई हप्तामा कमाएर भाडा तिर्ने प्रतिबद्धता ।

दोस्रो दिन अफिस जानु पर्ने । ४५ मिनेटको बाटो । न गाडी । न खल्तीमा व्यालेन्स । बस चढेर अफिस पुगे । काममा खटिए । सबै खाजा खान गए । उनी भोकै ।

दोस्रो दिन एक जना साथी बनाए । जसले खाजा खुवाए । तेस्रो दिन अर्कै साथीले । यसरी १५ दिन बिते । उनी मिहिनेती थिए । ईमान्दार पनि । जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्थे । उनी पार्ट टाईम जागीरे थिए । हप्तादिनमै फुल टाईमर भए । एक वर्षको करार थियो ।

चार महिनासम्म उनी कसैको सम्पर्कमा रहेनन । यतिसम्म कि बोष्टनमा बस्ने श्रीमती निलमको समेत सम्पर्कमा पनि थिएनन् । चार महिनापछि उनकी श्रीमतीले साथी मार्फत उनलाई सम्पर्क गरिन् । साथीले उनी सकुशल रहेको जानकारी दिए । र, काममा व्यस्त भएकोले शंका नगर्न आग्रह गरे ।

चौथो महिनापछि उनी जर्जियाबाट डेनभर कोलोराडो गए । शुरु गरे, ट्राभल पोर्टको जागीर । त्यहाँ उनले तीन महिना काम गरे । लिड डाटा ईञ्जिनियर एण्ड आर्किटेक्ट ईञ्जिनियरका रुपमा २०१५ सेप्टेम्बरसम्म त्यहाँ काम गरे ।

२०१५ को अन्त्यमा सिटी अफ होप मेडिकल सेन्टरबाट अफर आएपछि उनी क्यालिफोर्निया पुगे । जो संसारकै ठूलोमध्येको एक क्यान्सर सेन्टर हो । काम गरेको नौ महिनामा सात पटक उनको पदोन्नती भयो । म्यानेजर भए । त्यसपछि  डाईरेक्टर अफ डाटा म्यानेजमेण्ट अफ एनालिटिक्स । डाटा मेनेजमेण्टको सम्पूर्ण जिम्मेवारी उनले पाएका थिए  ।

प्रतिघण्टा १२ डलरबाट शुरु भएको जागीरे जीवनको शुरुवात । उनी मासिक १५ हजार डलर बुझ्न थालिसकेका थिए । अनुभवले खारिदै गए । पदसंगै उनको सेवा सुविधा थपिदै गयो ।

सेप्टेम्बर २०१९ मा ह्याकनस्याक मेरिडियन हेल्थको अफरमा उनी न्यूजर्सी पुगे । उनले त्यहाँ डाईरेक्टर अफ डाटा म्यानेजमेण्ट अफ एनालिटिक्सको नियुक्ति पाए । उनी २३ वटा अस्पतालको डाटा रणनीति बनाउथे । सम्पूर्ण डाटाको व्यवस्थापन र विश्लेषण गर्थे । झण्डै २५ मिलियन भन्दा बढिको प्रोजेक्ट उनले लिड गर्थे ।

त्यहाँ मार्च २०२२ सम्म काम गरे । त्यसपछि २०२२ मा युनाईटेड हेल्थ ग्रुपमा जोडिए । यो अमेरिकाको ठूलो मध्येको एक हेल्थ केयर कम्पनी मात्र होईन, बीमा कम्पनी पनि हो । विश्वकै पाँचौ धनी हेल्थ ग्रुपका रुपमा रहेको युनाईटेड हेल्थ ग्रुपमा उनले डाईरेक्टर अफ डाटा म्यानेजमेण्ट अफ एनालिटिक्सको भूमिकामा दुई वर्ष काम गरे ।

त्यहाँ ३० मिलियन डलरको प्रोजेक्टको नेतृत्व गर्ने मौका पाएका उनले कम्पनीको १० मिलियन डलर जोगाए । साथै नयाँ प्रोसेसको आविष्कार समेत गरे । जहाँ उनको मातहतमा १०० भन्दा बढि कर्मचारी काम गर्थे ।

जुन २०२४ मा उनी संघीय सरकार अन्तर्गत रहेको मेरिल्याण्डको सिल्भर स्प्रिङस्थित फुड एण्ड ड्रग एडमिनिष्ट्रेसनमा जोडिए । जहाँ उनले आईटी विशेषज्ञ तथा डाईरेक्टरको जिम्मेवारी पाए । अमेरिकामा उनी यो तहमा काम गर्ने संभवत एक्लो नेपाली हुन् । फुड एण्ड ड्रग एडमिनिष्ट्रेसन अन्तर्गत ८० हजार कर्मचारी कार्यरत छन् । उनको मातहतमा म्यानेजर र डेभोलपरहरु छन् ।

ईलेक्ट्रोनिक मेडिकल रेकर्डस्(ईएमआर) सिष्टममा उनको दख्खल छ । ईएमआरको नयाँ एप्लिकेशन बनाए । कतिपय एप्लिकेशनको आधुनिकिकरण समेत गरे ।

भनिदैछ, अवको युग आर्टिफिसियसल ईन्टिलिजेन्स (एआई) हो । डाटा साईन्स विना एआईको अस्तित्व नै छैन्, उनी भन्छन्, एआई नै डाटा साईन्समा निर्भर छ । जसको फाउण्डेसन डाटा साईन्स हो ।

डाटा साईन्समा उनी र उनी जस्ता युवाहरुले गरेको अध्ययन, खोज र आविष्कारले एआईको आधार निर्माण गरेको हो । डाटाको सुरक्षा, आधुनिकिकरण, स्टोरेज र उत्कृष्ट भर्सनको खोज तथा अनुसन्धान जारी छ । र त, कार्यालय समयपछि पनि त्यसैमा घोत्लिरहन्छन् ।
……….
कतिपयले भन्छन्, काममा यति व्यस्त भए कि पढाईलाई निरन्तरता दिन पाएन । उनी अपवाद थिए । जागीरसंगै एमबीए र पीएचडीसंगै गरे । त्यो पनि एकै वर्ष ।

कोलोराडोको डेनभरस्थित अमेरिकन एकेडेमी अफ प्रोजेक्ट म्यानेजमेण्टबाट प्रोजेक्ट म्यानेजमेण्टमा मास्टर्स गरे । युनिभर्सिटी अफ फिनिक्सबाट कम्युटर साईन्स र ईनफरमेशन टेक्नोलोजीमा मास्टर्स गरे ।

उनले २०२२ मा एसपोर्ड युनिभर्सिटी एरोजेनाबाट बिजनस एडमिनिष्टे«सनमा एमबीए गरे ।  र, २०२४ मा युनिभर्सिटी अफ कुम्बरल्याण्ड केन्टुकीबाट डेटा साईन्स एण्ड एडभान्स एनालिटिक्स ईन मोडर्न हेल्थ केयर सिष्टममा पीएचडी सके । त्योसंगै नामका अगाडि डा. थप्ने एउटा सपना साकार भयो । र, भए डा. धर्मराज उपाध्याय ।

उनीसंग संसारका ख्यातिप्राप्त विश्वविद्यालयहरु हार्वर्ड र स्ट्यानफोर्डको सर्टिफिकेट छ । साथै अमेरिकाको सबैभन्दा ठूलो हेल्थ केयर ग्रुपमा काम गरेको अनुभव पनि । तिनै सर्टिफिकेट र अनुभवले उनलाई संघीय सरकार अन्तर्गत रहेको हेल्थ ग्रुपको उच्च ओहोदामा पु¥यायो । उनले सरकारको हेल्थको डाटा सिष्टम मात्र हेर्दैनन । उनले स्वास्थ्य क्षेत्रका लागि महत्वपूर्ण सफ्टवेयर डेभलप गर्छन्  । ईएमआर सिष्टमलाई एडभान्स बनाए । डाटाको सुरक्षा र आधुनिकिरणका लागि नयाँ फिचरहरु थपे । रिभ्यु र एप्रुभल प्रोसेसलाई सहज बनाए ।

डाटाको सुरक्षा सबैभन्दा महत्वपूर्ण कुरा हो । ह्याकरहरु सिष्टमभित्रै छिरेर डेटा नियन्त्रणमा लिन्छन् । र, करोडौ डलरको बार्गेनिङ गर्छन् । डाटामाथि नियन्त्रण गुमाउदा हेल्थ केयर ग्रुपहरुले वर्षेनी ठूलो क्षति बेहोर्छन् ।

दुई वर्षअघि उनलाई अमेरिकाको ठूलो मध्येको एक हेल्थ ग्रुपले हायर गरे । पछि थाह पाए, कम्पनीले डाटामाथि नियन्त्रण गुमाएपछि उनलाई हायर गरेको रहेछ । उनले डेटाको सुरक्षाका लागि सिष्टम डेभोलप गरे । र, डेटाहरु रिकभर गरे ।

उनले एपीक, सेर्नर, एलस्क्रिप्टस्, मेडीटेक लगायतका संसारका आधुनिक ईएमआर सिष्टमको कार्यान्वयन गरेका छन् ।

उनी स्वतन्त्र हेल्थ केयर नियामक अमेरिकी संस्था एड्भाईजरी बोर्ड अफ हेल्थ केयर कँग्रेस( ईवीजी)को बोर्ड सदस्य छन् । द ज्वाईन्ट कमिसन हेर्छन् ।

त्यस बाहेक उनी गोल्डन की–द ईन्टरनेशनल सोसाईटी र द नेशनल सोसाईटी अफ लिडरसीप एण्ड सक्सेसको बोर्ड मेम्बर हुन् । सर्वोत्कृष्ट विद्यार्थी मात्र यसको बोर्ड सदस्य हुन पाउने प्रावधान  छ ।
…………
उनी त्यो परिवेशमा जन्मिए । जहाँ मान्छेका सपना हुदैनथे । बस्, दुई छाक पेटभरी खान पाए पुग्यो । विद्यालय जान दुई घण्टा हिड्नु पथ्र्यो । परिवारको खर्च जुटाउन उनका बुवाले हिडेरै ब्रह्देव र धनगढीको चक्कर काटेका थिए ।

कतिपय मान्छे असफलताको दोष आफ्नो भूगोल र परिवेशमाथि थोपर्छन । उनले भूगोललाई दोष दिएनन् । परिवार र परिवेशप्रति उनको गुनासो कहिल्यै रहेन । एसएलसीसम्मको पढाई निशुल्क थियो । एसएलसीपछि पनि उनी परिवारका लागि बोझ भएनन् । पढाईसंगै जागीर शुरु गरे । आफ्नो सम्पूर्ण खर्च आफै जुटाए । बुवाले खर्च पठाउनु परेन ।

डीभीमा अमेरिका पुग्ने नेपालीले सही मार्ग निर्देशक पाउदैनन् । उनलाई पनि सही बाटो देखाउने कोही थिएनन् ।  त्यही कारण नेपालीहरु उवर, ग्याँस स्टेशन, रेष्टुरेण्टमा सिमित हुने गरेको उनको बुझाई छ । उनले पनि शुरुवाती दिनमा सेभेन ईलिभेनको स्टोरमा काम गरे । तर उनी त्यसैमा अल्झिएनन् । उनले काम गरे । संगै पढाईलाई पनि निरन्तरता दिए । जसले उनलाई अमेरिकामा उच्च तहमा पु¥यायो । उनले प्राप्त गरेको सफलतामा उनकी पत्नी निलमको दरो साथ र सहयोग   छ ।

ग्याँस स्टेशन, रेष्टुरेण्ट थुपार्नु मात्र होईन, जिन्दगी । जिन्दगी कसरी बाँच्यो ? व्यालेन्समा बाँच्नु पर्छ । बैंकमा व्यालेन्स भएर के गर्ने ? समाजमा बस्छ । सामाजिक छैन । पैसा कमाएको छ । प्रतिष्ठा छैन् । बंगला छ । पहिचान छैन् । व्याँलेन्स छ । तर डाक्टरले मुख बार्न भनेको छ । त्यो जिन्दगी, के जिन्दगी ?

जिन्दगी गुजार्ने कि बाँच्ने ? जिन्दगी त बाँच्ने हो, उनी भन्छन्, तर कस्तो जिन्दगी बाँच्ने ? बैभवपूर्ण र कि अभावग्रस्त ? बाँच्नका लागि पनि मिहिनेत त गर्नैपर्छ ।

‘मिहिनेत नगरी राजा बन्न त राजाकै छोरो भएर जन्मिनुपर्छ । बाँकी मान्छेले त राजा बन्न पनि मिहिनेत गर्नैपर्छ ।’ उनले अन्तिममा सफलताको सुत्र सुनाए ।
……………
उर्लिएर बग्ने सेती । त्यही छेउमा उनको घर । सपनामा पनि सेती सुसेल्थ्यो । आँखा खुल्यो कि सेती देखिन्थ्यो । घर छेउमै उनको बुवाको पसल । हटारुको आराम गर्ने । किनमेल गर्ने त्यही पसल थियो । चैनपुर जोड्ने सडक बन्यो । उधुम चल्ने पसलको व्यापार घट्यो ।

डीभीले डो¥याएर सुत्याबाट अमेरिका पुगे । संसारकै ठूला स्वास्थ्य संस्थाहरुको उच्च ओहोदामा रहेर काम गरे । अध्ययन र अवसरका क्रममा थुप्रै  राज्य चहारे । तीन वर्षदेखि फ्लोरिडामा ट्विन्स रिभर छेउमा बस्दै आएका छन् । वस्ती छ, समाजको सुगन्ध छैन् । जहाँ सम्बन्धमा  आत्मियता छैन । बर पिपलका चौतारी छैनन्, मनका भारी बिसाउने । छैनन्, सञ्चो विसञ्चो सोध्ने आफन्तहरु । मूर्दा वस्तीहरु । जहाँ मान्छे छन्, जीवन छैन । सुख छ । खुशी छैन ।

उनी फर्केर बालापन पुग्छन्, जहाँ माछा मार्नुको बेग्लै आनन्द हुन्थ्यो । सम्झनामा बग्छ, सेती नदी । उर्लिएर आउछ, बाहुली गाड ।

कहाँ सेती नदी ? कहाँ ट्वीन्स रिभर ? नोष्टाल्जिक हुन्छन्, ओहो ! पोल्ने घाम पनि त आफ्नै आँगनको प्यारो । फर्किएर फेरि कहिले पुगिएला सुत्या ?

सेतीका माछाको स्वाद फ्लोरिडामा खोज्छन् । मिलोस कहाँ ? कहाँ सुत्या ? आगो पैचो लिएर हुर्केको समाज ? कहाँ फ्लोरिडा ? जहाँ मान्छेको मृत्यु सरकारी आँकडामा सिमित हुन्छ । मलामी पाउने भाग्य यहाँ कहाँ ? फेरि पनि यो बैभवले संसारभरीका मान्छेलाई तानिरहेको देख्दा उनी चकित पर्छन् ।
………………….
मान्छे कहाँ जन्मियो ? कस्तो परिवार, परिवेश र भूगोलमा ? सफलता त्यसले निर्धारण गर्दैन । असफल मान्छेहरु परिवार, परिवेश र भूगोललाई दोष दिन्छन् । उनी पृथक थिए । उनले कसैलाई दोष दिएनन् । हो, भूगोलले मान्छेको क्षमता र संभावनालाई छेक्न सक्दैन । त्यसको उदाहरण हुन्, उनी । भनिन्छ, हरेक सफल व्यक्तिको पछाडि संघर्षको कथा हुन्छ, संघर्ष बिना सफलताको अस्तित्व हुदैन । उनको सफलता पनि संघर्षको परिणाम हो ।

उनले अभाव झेले । भोक सहे । गलेनन । थाकेनन । भएनन्, बिचलित । उनी अरुले बनाएको बाटोमा हिडेनन् । आफ्नो बाटो आफैले बनाए । र बनाए, पृथक पहिचान । उनलाई ग्याँस स्टेशन थप्ने रहर कहिल्यै जागेन । उनले अध्ययनलाई जीवनको ध्येय बनाए । सिकाईलाई जीवनको पाठशाला । र त, थपे हरेक वर्ष विश्वविद्यालयका सर्टिफिकेटहरु । जसलाई थन्क्याएनन, दराजमा । तिनकै अनुभवमा अमेरिकाको स्वास्थ्य क्षेत्रमा डाटा साईन्समा नयाँ आयामहरु थपिरहे । यो क्रम जारी छ । उनलाई नेपालको स्वास्थ्य क्षेत्रमा आफ्नो सिकाई, अनुभव, ज्ञान र अन्तर्राष्ट्रिय सम्बन्ध सदुपयोग गर्ने धोको छ । सरकारसंग हरेक नागरिकको स्वास्थ्य अवस्थाका बारेमा सूचना कहिले होला ? स्वास्थ्य संस्थाहरु डिजिटल युगमा कहिले प्रवेश गर्लान ? उनी घोत्लिन्छन् ।

शाहरुखको भनाईमा संसारमा एक मात्र धर्म छ । त्यो हो, कडा मिहिनेत । हो, सपना देखेर मात्र पुरा हुदैन् । त्यसलाई पुरा गर्न मिहिनेत गर्नै पर्छ । शाहरुखलाई फ्लो गर्ने उनी भन्छन्, यु ह्याभ टु वर्क हार्ड ।

शाहरुख जीवनको कठिन घडीमा एक्लै थिए । मुम्बईको भीडमा कस्ले सोधोस ? कसले खोजोस ? भोक, प्यास, अनिन्द्रा उनको साथी थिए । शाहरुखलाई एकदिन शहर नै किनिदिने झोक चलेछ ।
उनलाई पनि त्यस्तै झोक चल्छ, कहिलेकाही ।

बेहडाबाबालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउनुपर्छ : मुख्यमन्त्री शाह

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको प्रसिद्ध बेहडाबाबा मन्दिरलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन सबै लाग्नुपर्ने बताएका छन्।

बेहडाबाबा मन्दिर व्यवस्थापन समितिले आयोजना गरेको श्रावण एकमास शिव महापुराण धार्मिक मेला महा–महोत्सवको आज उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।मुख्यमन्त्री शाहले बेहडाबाबा मन्दिरलाई धार्मिक पर्यटकीय क्षेत्रको रूपमा विकास गरिने बताए।

बेहडाबाबाको विकासका लागि प्रदेश सरकारले करिब १३ करोड बजेट विनियोजन गरेको शाहले बताएका छन। बेहडाबाबा मन्दिर जाने बाटोमा पर्ने शिवगङ्गा नदी पुल निर्माण ढिलाइ हुनुको कारण खोजी गर्न र निर्माण कम्पनीलाई बोलाएर काम अगाडि बढाउनका लागि उनले आर्थिक मामिला राज्यमन्त्रीलाई निर्देशन पनि दिएका छन्।

स्पेन प्रकरण : सूची तयार पार्दै सीआईबी– अध्यागमन र राहदानी विभागमा पत्राचार

काठमाडौं । प्रहरीले स्पेनमा आयोजित राष्ट्रसंघीय कार्यक्रममा सहभागी हुन गएर नफर्किएका नेपालीहरुमाथिको अनुसन्धान सुरु गरेको छ ।

गत सोमबार मात्रै गृह मन्त्रालयले स्पेनमा सहभागी भएर नफर्किएकाहरुमाथि अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का एसएसपी होविन्द्र बोगटी नेतृत्वको टोली बनाएको थियो ।

सोही टोलीले मंगलबारदेखि नै स्पेनमा गएकाहरुको सूची तयार पार्ने काम थालेको हो ।

अनुसन्धानमा संलग्न अधिकारीका अनुसार स्पेनमा गएकाहरुको विवरणका लागि प्रहरीले अध्यागमन विभाग र राहदानी विभागलाईसमेत पत्राचार गरेको छ ।

ती अधिकारीले भने, ‘‘हामीले पहिलो चरणमा स्पेन गएकाहरुको सूची तयार पारिरहेका छौँ । उनीहरु कसरी कार्यक्रमका लागि स्पेन पुगे ? केका आधारमा स्पेनको भिसा प्राप्त गरे ? त्यस्ता कति जना नेपालीहरु छन् ? त्यसको तथ्यांक निकाल्ने काम भइरहेको छ ।’’

प्रहरी अधिकारीको प्रारम्भीक अनुसन्धानबाट करिब ६० देखि ७० जनाको हाराहारीमा नेपालीहरु स्पेन पुगेको आशंका छ । कतिपय नेपाली भारतबाट समेत गएको आंशका प्रहरीले गरेको छ । नेपालीहरुलाई भिजिट भिसामा पठाउन विभिन्न एनजीओ आइएनजीओहरुले नक्कली कागजात तयार पारेको आंशका प्रहरीले गरेको छ ।

कार्यक्रममा जाने नेपालीहरुको संख्या अधिक देखिएपछि शंकास्पद ५५ जनाको भिसा त्यही बेला रद्ध गरिएको थियो ।

प्रहरीले सुरुवाती अनुसन्धानमा स्पेन पुगेकाहरुको सूची तयार पारेर दोस्रो चरणमा स्पेन जान भिसा प्रक्रिया मिलाउने विभिन्न संस्थामाथि अनुसन्धान गर्ने र तेस्रो चरणमा पक्राउको प्रक्रियामा पुग्ने तयारी गरेको छ । भिजिट भिसाका नाममा नक्कली कागजात तयार पारेर पठाउन खोज्ने गिरोहमा निर्मम अनुसन्धान हुने सीआईबीको तयारी छ ।

३० जुनदेखि २ जुलाईसम्म भएको कार्यक्रमका लागि सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओलीसमेत स्पेन पुगेका थिए । सोही कार्याक्रममा स्पेन पुगेर नेपाल नफर्किएका नेपालीहरुबारे संसदमै आवाज उठेपछि अनुसन्धान गर्न गृहमन्त्री रमेश लेखकले सीआईबीलाई निर्देशन दिएका थिए ।

मैले हुन्न भनेपछि विवादमा तानियो- मन्त्री अधिकारी

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले विवादित अडियो प्रकरणमा आफ्नो संलग्नता नरहेको दाबी गरेका छन् ।

बिहीबार सिंहदरवारस्थित मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री अधिकारीले आफ्नो चरित्र हत्या गरिएको बताए ।

उनले भने- ‘आफ्नो अभिष्ट पूरा गर्न यहाँ आएका थिए । मैले हुन्न भनेपछि यी कुराहरू आएका हुन्। कुन नियतबाट ल्याइएको भन्ने कुरा प्रस्ट हुन्छ । अडियोमा सुनिएका सरोकारवाला व्यक्तिहरू हामीसँग सम्बन्धित होइनन् । मेरो बोली त्यहाँ छ कि छैन भन्ने पनि जागजहेर छ । जग्गा, जमिनका र सरुवाका कुरा पनि आइरहेका छन् । सरुवा मन्त्रालयको नियमित प्रक्रियाको कुरा हो ।’

मन्त्री अधिकारीले पोखराबाट सुरुवा भएका मालपोत अधिकृतले पनि सरुवाका लागि कुनै पहल नगरेको उनले बताए ।  उनले जस्तै पुरानो कुरा ल्याएर मेरो र मेरो परिवारको चरित्र हत्या गर्न खोजिएको समेत आरोप लगाए ।

भूमि मन्त्रीको स्पष्टीकरण : अडियो मेरो होइन, चरित्रहत्या गर्न खोजियो

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले आफूबारे सार्वजनिक भएको अडियो आफू र मन्त्रालयसँग सम्बन्धित नभएको दाबी गरेका छन्।

मन्त्रालयको एकवर्षे उपलब्धि सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्ने क्रममा उनले यस्तो बताएका हुन् ।

पोखराको जग्गासँग जोडिएर मन्त्री अधिकारी पनि विवादमा मुछिएका छन् ।

त्यसबारे स्पष्ट पार्दै उनले भनेका छन्, ‘अहिलेसम्म यो अडियोमा आएका बोल्ने भाषा, व्यक्त गर्ने व्यक्तिहरू हामीसँग सम्बन्धित छैनन् । मेरो शब्द छ कि छैन, मैले कुनै कुरा गरेको छ कि छैन भन्ने कुरा अडियोबाट स्पष्ट हुनुहुन्छ ।’

उनले यसलाई चरित्रहत्या गर्ने प्रयास भएको पनि बताए ।

‘…यो शुद्ध चरित्रहत्या गर्ने प्रयास हो । कुनै आफ्नो योजना पूरा गर्न खोजेका व्यक्तिले आफ्नो अभीष्ट पूरा गर्न मालपोत अधिकृतलाई फिर्ता गराउन आएका थिए । मैले हुन्नँ भनें । त्यसपछि यी कुराहरू बाहिर आए ।’

विद्या भण्डारीलाई नेतृत्व हस्तान्तरण गर्न सकिँदैन : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेको नेतृत्व हस्तान्तरण गर्न नसकिने बताएका छन् ।

वरिष्ठ पत्रकार विजय कुमारसँगको एक अन्तर्वार्तामा पूर्वराष्ट्रपति भण्डारीको सक्रिय राजनीतिमा फर्किएकोबारे सोधिएको प्रश्नमा अध्यक्ष ओलीले यस्तो धारणा राखेका हुन्।

कतिपयले केपी शर्मा ओलीकै चाहनामा भण्डारी अघि बढेको हुन सक्ने आकलन गरिरहेका बेला ओलीले त्यसलाई खण्डन गर्दै भनेका छन्– अहिले उहाँलाई नेतृत्व हस्तान्तरण गर्न सकिने अवस्था छैन । उहाँ राजनीतिमा आउनुहुन्छ भनेर पार्टीले मानेको छैन । ठानेको छैन । पार्टी काम छाडेर उहाँ धेरै बाहिर बस्नुभयो ।”

उनले पूर्वराष्ट्रपति भण्डारी एमालेको राजनीतिमा प्रवेश गर्ने कुरालाई पार्टीले उपयुक्त समयमा निर्णय गर्ने बताए ।

चीनले नेपालका कम्युनिष्टलाई एक बनाउने प्रयास गरेको बारेमा पनि पाण्डेले सोधेको प्रश्नमा ओलीको जवाफ थियो– नेकपा एमाले गोलबन्द छ त । फेरि कसलाई ? यो यस्तो हाइपोथेसिस र हिपोक्रेसीमा म विश्वास गर्दिनँ । एकता गरेर तर मारेका क्रिमियरहरुलाई फेरि ल्याएर पार्टीले के लाभ लिन्छ ? कम्युनिष्ट पार्टीलाई लाइट बालेर खोज्दा पनि नभेटिने बनाइदिन्छु भन्नेलाई फेरि ल्याउने ?”

उनले भण्डारी पार्टीको उपाध्यक्ष भएका बेलामा राजीनामा गराएर राष्ट्रपति बनाएको स्मरण गर्दै ओलीले अहिले एमालेको राजनीतिमा फर्किनेबारेमा उहाँले केही सल्लाह नगरेको बताए ।

“विद्याजीको हकमा उहाँले कहाँ–कहाँ परामर्श गर्नुभयो । कतै त गर्नुभयो होला परामर्श नभई पार्र्टीको अध्यक्ष म छु । पार्टीसँग उहाँको कुनै प्रस्ताव आएन– म राजनीतिमा फर्केर आउँछु, कसरी काम गरौँ । म राजनीतिमा आउन मिल्छ कि मिल्दैन ? आउँ कि नआउँ ? भनेर उहाँले छलफल गर्नुभएको छैन । देशलाई फाइदा हुन्छ कि हुँदैन ? प्रणालीगत हिसाबले के हुन्छ ? भनेर उहाँले सल्लाह गर्नुभएको छैन । फेरि फर्किएर सक्रिय राजनीतिमा आउँदा सर्वमान्य नेताबाट दल विशेषको नेता हुन आउँदा के हुन्छ भन्ने विषयमा विचार विमर्श गरौँ भनेर भन्नुभएको छैन ।”

उनले अरुसँग सल्लाह गरेको भए आफूलाई थाहा नभएको बताउँदै भनेका छन्– अरुसँग गरेको भए मलाई थाहा छैन । मसँग सल्लाह गर्नुभएको छैन । पार्टीमा आधिकारिक ढंगले छलफल गर्नुभएको छैन । उहाँको विषयमा पार्टीले निर्णय गर्नुपर्छ । उहाँ आफ्नै हिसाबले जानुभएको होइन, हामीले पठाएको हो । पार्टी छाडेर जानुभएको हो । त्यसैले पार्टीले निर्णय त गर्नैपर्छ । उहाँले प्रश्न उठाएर आउँछु भनेपछि आउन हुन्छ कि हुँदैन ? समाज र व्यवस्थामा के असर पर्छ ? उहाँकै जीवनमा के असर पर्छ उहाँमाथि गरिनुपर्ने निर्णय पार्टीले गर्छ नै । यो हेर्नुपर्छ, सल्लाह गर्नुपर्छ । उहाँ आफैँले विचार गर्नुपर्छ । हामीले पनि जानकारी प्राप्त गरेका छौँ । सार्वजनिक ढंगले आउँछु भनेका कुराहरु । उहाँसँग हामीले सोध्नुपर्छ ।”

ओलीले नकारे पूर्वराष्ट्रपति एमालेमा फर्किने कुरा, फर्किए पनि काम गर्न नसक्ने जिकिर

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पार्टीमा फर्किनेबारे कुनै छलफल नभएको बताएका छन् । ओलीले अहिलेसम्म भण्डारीले एमालेमा फर्किनेबारे नबोलेको पनि दाबी गरेका छन् । उनले भण्डारी एमालेमा फर्किनेबारे पार्टीले निर्णय गर्ने पनि बताएका छन् ।

पत्रकार विजयकुमार पाण्डेसँगको एक भिडियो अन्तर्वार्ताका क्रममा ओलीले भण्डारीको एमालेमा पुनरागमनबारे घुमाउरो भाषामा असन्तोष व्यक्त गरेका हुन् । गत असार १४ गते ओली नै उपस्थित भएको मदन भण्डारी फाउन्डेशनको कार्यक्रममा पूर्वराष्ट्रपतिले एमालेको सदस्यता नवीकरण गरिसकेको बताउँदै अब एमालेको राजनीतिमा फर्किएको घोषणा गरेकी थिइन् । तर ‌ओलीले भण्डारीका पछिल्ला गतिविधिमा असन्तुष्टि जनाउँदै उनले राजनीतिमा फर्किनेबारे आफूसँग कुनै सल्लाह नगरेको जिकिर गरेका हुन् ।

‘उहाँले न त मलाई सोध्नु भयो न सल्लाह नै गर्नुभयो । उहाँले राजनीतिमा फर्किनेबारे न त पार्टीसँग आधिकारिक रूपमा भनेको जानकारी छ,’ ओलीले भने, ‘एमालेमा फर्किनका लागि उहाँले कुनै माध्यमबाट खबर गरेको थाहा छैन । मौखिक वा लिखित रूपमा पनि उहाँले पार्टीसँग सम्पर्क गर्नुभएको मेरो जानकारीमा छैन।’

पूर्वराष्ट्रपति भण्डारीले एमालेको सदस्यता नवीकरण गरेसँगै आन्तरिक तरंग फैलिएको छ। ओलीले भण्डारीलाई एमालेमा स्वागत गर्ने विषयमा पार्टीले बैठकबाटै आवश्यक निर्णय गर्नु जरुरी रहेको पनि बताएका छन् ।

‘उहाँ हाम्रै पार्टीको उपाध्यक्ष हुनु हुन्थ्यो । हामीले नै उहाँलाई राष्ट्रपति बनाएर पठाएका हौँ’, उनले भने, ‘यो अवस्थामा राष्ट्रपतिबाट बिदा भइसकेकपछि पार्टीमा फर्किने विषय गम्भीर छ। यसबारे पार्टीले संस्थागत रूपमा निर्णय गर्नु जरूरी हुन्छ ।’

ओलीले पूर्वराष्ट्रपति एमालेको राजनीतिमा फर्किँदा नैतिक असरको पनि ख्याल गर्नुपर्ने बताएका छन् । पछिल्लो समय राष्ट्रको उच्च पदमा पुगिसकेका व्यक्तिले राजनीतिमा फर्किनु नैतिक रुपमा उचित कुरा नभएको बताउने गरिएको छ ।

‘उहाँ (विद्या भण्डारी) एमालेमा आउनु हुँदा त्यसले पार्ने असरबारे हामीले विचार गर्नुपर्ने हुन्छ । राजनीतिमा उहाँको पुनरागमनले गर्न सक्ने नैतिक, राजनीतिक, व्यवस्थागत र व्यक्तिगत असरबारे पनि हामीले सोच्नु आवश्यक छ’, उनले भने, ‘उहाँलाई यी सबै कुराको ख्याल गर्न सुझाउनु, निर्णयमा सघाउनु पार्टीकै जिम्मेवारीको कुरा हो । पार्टीको जिम्मेवारी दिने सवालमा पनि छलफल हुन्छ।’

भण्डारीले यसअघि नै राजनीतिमा फर्किन गरेको कोसिसबारे भने आफू जानकार रहेको ओलीले बताएका छन् । उनले भण्डारीबाट राजनीतिमा फर्किने संकेत पाएको पनि उल्लेख गरेका छन् । ‘उहाँको धारणा हामीले बुझ्नुपर्ने हुन्छ । उहाँको चाहना र धारणाबारे पार्टीमा छलफल हुन्छ’, उनले भने, ‘हामी उहाँबारे निर्णय लिन ढिला पनि गर्दैनौँ ।’

तर उनै ओलीले भण्डारीलाई ११ औँ महाधिवेशनबाट एमालेको नेतृत्वमा ल्याउने कुरामा पनि हाँसेर जवाफ दिएका छन् । उनले अहिले नै उनलाई एमालेको नेतृत्वमा ल्याउनेबारे केही पनि कुरा नभएको बताए । उनले अहिलेसम्म एमालेले पूर्वराष्ट्रपति राजनीतिमा फर्किने कुरा नस्वीकारेको बताए ।

ओलीले भण्डारी करिब १० वर्षदेखि एमालेमा नरहेकाले नेतृत्वमा फर्किएर काम गर्न पनि समस्या हुने बताएका छन्। निरन्तर नेतृत्वमा रहेर काम गरेको अनुभव नभएको अवस्थामा पूर्वराष्ट्रपतिले एमाले हाँक्न नसक्ने पनि उनले संकेत गरे ।

ओलीले एमालेमा फर्किनेबारे पूर्वराष्ट्रपतिले अरुसँग गरेको सल्लाहाबारे आफू जानकार नभएको बताए । तर उनले आफूसँऊ अहिलेसम्म कुनै सल्लाह नगरेको उनको भनाइ थियो ।

सपिङ मलमा आगो लाग्दा इराकमा ६० जनाको मृत्यु

काठमाडौं । इराकको कुट शहरस्थित एक ठूलो सुपरमार्केटमा भयावह आगलागी हुँदा अहिलेसम्म ६० जनाको ज्यान गएको छ भने ११ जना अझै हराइरहेका छन् ।

शहरका एक स्वास्थ्य अधिकारीले समाचार संस्था रोयटर्सलाई दिएको जानकारीअनुसार ५९ शवको पहिचान भइसकेको छ, तर एउटा अत्यधिक जलेको शवको पहिचान गर्न निकै गाह्रो भइरहेको छ।

इराकको सरकारी समाचार संस्था आईएनएले त्यहाँका क्षेत्रीय गभर्नरलाई दिएको जानकारीअनुसार, भवन र मलका मालिकविरुद्ध मुद्दा दर्ता गरिएको छ। यो मल पाँच दिन अघि मात्रै सञ्चालनमा आएको थियो। अहिले भने आगो नियन्त्रणमा आएको बताइएको छ।

हालसम्म आगलागीको वास्तविक कारण खुल्न सकेको छैन, तर गभर्नरले घटनाको अनुसन्धान सुरु भइसकेको र आगामी ४८ घण्टाभित्र प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरिने बताएका छन्।

सामाजिक सञ्जालमा भाइरल भएका भिडियोहरूमा शहरको पाँच तल्ले भवन आगोले ढाकिएको छ र दमकलकर्मी आगो निभाउने प्रयासमा जुटिरहेका छन्।

आगलागी पहिलो तल्लाबाट सुरु भई पूरै भवनमा फैलिएको हो। एक प्रत्यक्षदर्शीका अनुसार आगलागी एक एयर कन्डिसनर विस्फोटबाट सुरु भएको थियो।

भवनबाट भीषण आगोको लप्का र धुवाँ निस्किरहेको देखिन्छ, जहाँ फायर फाइटरको टोली आगो निभाउन र मानिसहरूलाई उद्धार गर्न लागि परेका छन्।

इराकको गृह मन्त्रालयका अनुसार सिभिल डिफेन्स टोलीले ४५ भन्दा बढी व्यक्तिलाई उद्धार गरेका छन्, तर अझै धेरै जना हराइरहेका छन्।

इराकका प्रधानमन्त्री मोहम्मद शिया अल-सुदानीले गृह मन्त्रीलाई घटनास्थलमा पुगेर अनुसन्धान गर्न र भविष्यमा यस्ता घटना रोक्न आवश्यक उपाय अपनाउन निर्देशन दिएका छन्।

घटनापछि पूरा प्रदेशमा तीन दिनको शोक घोषणा गरिएको छ।

विपद्‍बाट तीन महिनामा ९३ जनाको मृत्यु, २२ बेपत्ता

काठमाडौं- गत वैशाखदेखि असारसम्मको तीन महिनामा दुई हजार ६५ वटा विपद्जन्य घटना भएका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यो वर्षको तीन महिनामा ती विपद्जन्य घटनामा परेर ९३ जनाको मृत्यु भएको छ भने २२ जना बेपत्ता भएका छन्।

प्राधिकरणका प्रवक्ता एवं उपसचिव सुरेश सुनारका अनुसार ती घटनामा परेर आजसम्म चार सय ४५ जना घाइते भएका छन्। उनले ती घटनामा परेर चार हजार १३६ परिवार प्रभावित भएका जानकारी दिए।

प्राधिकरणले आज सार्वजनिक गरेको विसं २०८२ को पछिल्लो तीन महिनाको विवरणअनुसार बाढीका मात्रै एक सय ३७ घटना भएकामा ती घटनाबाट १३ जनाको मृत्यु र २२ जना बेपत्ता भएका छन्।

केही दिनअघि गत असार २४ गते रसुवा भोटेकोशीमा आएको बाढीले सबैभन्दा बढी मानवीय क्षति गराएको थियो। माथिल्लो क्षेत्रमा भएको हिमताल विष्फोटबाट उक्त घटना भएको थियो।

यस्तै, पहिरोका एक सय ७५ घटनामा छ जनाको मृत्यु भएको छ। चट्याङ्बाट २६, आगलागीबाट १४, जनावरको आक्रमणबाट १२ र लेक लागेर ११ जनाको मृत्यु भएको प्रवक्ता सुनारले जानकारी दिए। अन्य हावाहुरी, सर्पदंश, भारी वर्षाबाट पनि मानवीय क्षति भएको प्राधिकरणले जनाएको छ।

बाढीबाट मात्रै एक हजार २४६ तथा आगलागीबाट एक हजार ४८ परिवार प्रभावित भएका छन्। पहिरो, चट्याङ्, भारी वर्षा, सर्पदंश, हावाहुरी, वन डढेलो, सर्पदंशलगायत घटनाबाट सयौँ परिवार प्रभावित भएका जनाइएको छ।

अब भाषण होइन, परिणाम देखिने गरी काम गर्ने बेला होः ऊर्जामन्त्री खड्का

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले अब भाषण मात्र गरेर होइन, जनताको अपेक्षाअनुसार छिटो र प्रभावकारी काम गरेर परिणाम देखाउने बेला आएको बताएका छन् ।

विद्युत विकास विभागको ३२औं वार्षिकोत्सवको अवसरमा आयोजित विशेष समारोहलाई प्रमुख अतिथिको आशनबाट सम्बोधन गर्दै मन्त्री खड्काले भने,हामीले भाषण धेरै गर्‍यौं, अब साँचिकै काम गर्ने समय हो। यदि नीति र नियमले काम रोकिएको छ भने तिनमा सुधार गरेर भए पनि अघि बढ्नुपर्छ। ऊर्जा अब केवल उज्यालो दिने माध्यम होइन, यो मुलुकको समृद्धिसँग गाँसिएको विषय हो।’

मन्त्री खड्काले देशभरको हरेक चुल्होमा विद्युत् पुगोस् भन्ने सरकारको लक्ष्य रहेको उल्लेख गर्दै ऊर्जाको आवश्यकता रोकिने विषय होइन, ढिलाइ नगरौं, आवश्यक निर्णयहरू तत्काल लिई तीव्र गतिमा अघि बढ्नुपर्ने धारणा राखे।

मन्त्री खड्काले वर्तमान सरकारको प्राथमिकता ूदेशको समृद्धि साझेदारीको आधारमा सुनिश्चित गर्नेू रहेको उल्लेख गर्दै भने, ‘हामीसँग जे छ, त्यसको सदुपयोग गर्न सक्ने हो भने, ऊर्जा नै व्यापार र समृद्धिको मूल स्रोत बन्न सक्छ।’

उनले थपे, ‘कृत्रिम बौद्धिकताको युगमा प्रवेश गरिसकेका छौं, यो युग चलाउन ऊर्जा अनिवार्य छ। त्यसैले हामीले उत्पादन मात्र होइन, प्रशारण र वितरणतर्फ पनि विशेष ध्यान दिनुपर्छ।’

ऊर्जा मन्त्री खड्काले जमिन अधिग्रहण, प्रसारण लाइन विस्तार र संरचनागत अड्चनलाई हटाउन नीति–नियमको पुनरावलोकन गर्ने स्पष्ट संकेत दिए। उनले निजी क्षेत्रको योगदानलाई समेत मूल्यांकन गर्दै भने, ‘सरकार र निजी क्षेत्रको सहकार्यले मात्रै स्थायीत्व र प्रभावकारिता आउँछ।’

यो वर्ष ४३२ मेगावाट जलविद्युत् तथा ३५ मेगावाट सौर्य ऊर्जा उत्पादन गरेर योगदान दिने निजी तथा सरकारी पक्षप्रति धन्यवाद ज्ञापन गर्दै मन्त्री खड्काले भने,‘मुलुकको समृद्धि सरकार वा मन्त्री मात्रको दायित्व होइन, यो साझा प्रयास हो। त्यसैले सबै तह र तप्काले आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्छ।’

उनले ‘समस्या छ भने पहिचान गरौं, अप्ठ्यारा छन् भने तिनको समाधान गरौं, अब समय गुमाउने होइन, सम्भावनालाई काममा बदल्ने हो’ भन्ने प्रेरणादायी सन्देश पनि दिए।

ऊर्जा मन्त्रालय अन्तर्गतको विद्युत विकास विभागले आयोजना गरेको ३२ औं वार्षिकोत्सव समारोहमा ऊर्जा मन्त्रालयका सचिवहरु सुरेश आचार्य एवं सरिता दवाडी, ऊर्जा तथा जलस्रोत आयोगको सचिवालका प्रमुख सचिव दिनानाथ मिश्र, विद्युत नियमन आयोगका अध्यक्ष डा। रामप्रसाद धिताल, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य, स्वतन्त्र विद्युत उत्पादकहरुको संस्था इप्पानका वरिष्ठ उपाध्यक्ष मोहन डाँगी, सल्लाहकार, विभागीय प्रमुखहरू, विभिन्न विद्युत कम्पनीका प्रतिनिधिहरू, निजी क्षेत्रका अग्रज तथा विशेषज्ञहरूको उपस्थिति रहेको थियो।

विद्युत विकास विभागका महानिर्देशक नविन राज सिंहको अध्यक्षतामा सम्पन्न सो समारोहमा विद्युत विकास विभागले प्रकाशन गरेको ‘विद्युत प्रवर्द्धन स्मारिका(२०८२’ लाई प्रमुख अतिथि ऊर्जामन्त्री दिपक खड्काले विमोचन गरे। कार्यक्रममा सेवानिबृत कर्मचारीहरु मधु प्रसाद भेटवाल (सचिव पदबाट अवकाश), अरुण कुमार झा (उपमहानिर्देशकबाट अवकाश) र सरिता प्रधानलाई सम्मान गरिएको थियो । त्यसैगरी आर्थिक वर्ष २०८१/०८२ मा निर्माण सम्पन्न गरेका २० वटा विद्युत आयोजनाहरुका प्रवर्द्धकहरुलाई सम्मान गरिएको थियो ।

छाउगोठ बनाउने र बस्न बाध्य पार्नेलाई पाउने सुविधामा पुर्नविचार गछौं- गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले छाउगोठ बनाएको पाइए र महिनावारी हुँदा छाउगोठमा बस्न बाध्य पार्नेलाई स्थानीय तहबाट पाउने निश्चित सुविधामा पुर्नविचार गर्ने गरी मुलुकभरका स्थानीय तहलाई परिपत्र गरिने बताएका छन् ।

बिहीबार अन्तर पार्टी महिला सञ्जालका पदाधिकारीहरुसितको भेटघाटमा मन्त्री लेखकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई अनुरोध गरी देशभरका स्थानीय तहलाई यस्तो परिपत्र गर्ने गरी गृहकार्य गरिने बताए ।

उनले भने- ‘महिनावारीमा ठुलो अन्धविश्वासले काम गरेको छ । यसको निर्मलीकरणका लागि कसरी अगाडी बढ्ने अन्तर पार्टी महिला सञ्जालको पनि सहयोग र सुझाव आवश्यक छ ।’

महिलामाथि हुने हिंसा, बलात्कार लगायतका घटनामा सरकार गम्भीर रहेको मन्त्री लेखकको भनाई छ । उनले भने- ‘महिलाहरुको मर्यादा, गरिमा, स्वाभिमान र सुरक्षामा गम्भीर छु । अपराध गर्नेहरुलाई कारबाहीको दायरामा ल्याउने काम पनि भइरहेको छ ।’

सो क्रममा अन्तर पार्टी महिला सञ्जालका अध्यक्ष ममता गिरी सहितको टोलीले महिला बालबालिकामाथि हुने गरेको विभेद र हिंसाका घटनाहरु घटिरहेको भन्दै त्यसको नियन्त्रणका लागि मन्त्री लेखकलाई ज्ञापन पत्र समेत बुझाएका छन् ।

कर्मचारीलाई बिदामा नबस्न मुख्यमन्त्री शाहको निर्देशन

धनगढीः सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले बिदामा नबस्न कर्मचारीहरूलाई निर्देशन दिएका छन्।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय धनगढीमा बुधवार सुदूरपश्चिम प्रदेश लगानी तथा विकास सम्मेलन २०८२, नीति तथा कानुन अध्ययन तथा सिफारिस उपसमितिले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले अत्यावश्यकबाहेक अन्य समयमा बिदामा नबस्न निर्देशन दिएका हुन्। ‘सुदूरपश्चिम प्रदेश सरकार यतिबेला आगामी असोज १ र २ गते लगानी तथा विकास सम्मेलनको तयारीमा जुटेको छ,’ मुख्यमन्त्री शाहले भने, ‘कोहीपनि अत्यावश्यक बाहेक अन्य विदामा नबस्नु होला।’

उनले प्रमुख सचिव डा. कमलप्रसाद पोख्रेललाई मातहतका निकायमा निर्देशन परिपत्र गर्न निर्देशन दिएका छन्। लगानी तथा विकास सम्मेलन सफल बनाउन सबै लाग्नु पर्नेमा जोड दिँदै मुख्यमन्त्री शाहले प्रदेशमा लगानी मैत्री वातावरण बनाई लगानीकर्तामा विश्वासको वातावरण सिर्जना प्रदेश सरकार गम्भीर रहेको बताए। ‘काम गर्ने क्रममा विभिन्न कानुनी जटिलता आउन सक्छन्,’ मुख्यमन्त्री शाहले भने, ‘प्रदेश कानुन सचिव डा. वीरेन्द्रकुमार मिश्रले तत् तत् निकायमा समन्वय गरी एक हप्ताभित्र कानुनी समस्या पहिचान गर्नु होला।’

उनले दुई तरिका (अध्यादेश मार्फत र संकल्प प्रस्ताव पेस) बाट ऐन संशोधन गर्न सकिने बताए। लगानी तथा विकास सम्मेलन सुदूरपश्चिम प्रदेशको आर्थिक, सामाजिक र पूर्वाधार विकासका लागि एक कोसेढुङ्गो साबित हुनेछ। सम्मेलनबाट पूर्वाधार विकास, पर्यटन विकास, रोजगारी सिर्जना, पर्यटन प्रवर्धन, कृषि तथा वन उपजमा मूल्य अभिवृद्धि, सीमा व्यापार तथा अन्तरदेशीय आर्थिक साझेदारीलगायतका क्षेत्रमा टेवा पुग्ने विश्वास प्रदेश सरकारले लिएको छ।

सुदूरपश्चिमका मुख्यमन्त्री शाहको कानुनी जटिलताको पहिचान गर्न निर्देशन

धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशमा लागानीमैत्री वातावरण बनाउन देखिएका नीतिगत एवं कानुनी जटिलताको पहिचान गर्न कानुन मन्त्रालयका सचिवलाई निर्देशन दिएका छन्।

धनगढीमा बुधवार आयोजित अन्तरक्रियामा मुख्यमन्त्रीले लगानीको वातावरण बनाउन देखिएका कानुनी जटिलतालाई अध्यादेशमार्फत र त्यो सम्भव नभए सङ्कल्प प्रस्तावबाट संशोधन गर्न सकिने बताए।

प्रदेश सरकारले आगामी असोज १ र २ गते आयोजना गर्न लागेको लगानी तथा विकास सम्मेलनको तयारीका क्रममा नीति तथा कानुन अध्ययन तथा सिफारिस उपसमितिले गरेको अन्तरक्रियामा मुख्यमन्त्रीले भने, “काम गर्ने क्रममा आउनसक्ने कानुनी जटिलताका बारेमा सम्बन्धित निकायसँग समन्वय गरी एक हप्ताभित्रमा कानुनी समस्या पहिचान गर्नुहोला।”

लगानी तथा विकास सम्मेलनको आयोजनाले प्रदेशको आर्थिक, सामाजिक र पूर्वाधार विकासका लागि कोशेढुङ्गा साबित हुने विश्वास गरिएको छ। आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव आमोद दाहालले केन्द्रको कानुनसँग नबाझिने गरी प्रदेशले भइरहेका कानुनलाई लगानीमैत्री बनाएर सहजीकरण गर्नसक्ने बताए। उनले भने, “प्रदेशमा साझेदारी व्यवसाय ऐन, सहकारी ऐन, पर्यटनसँग सम्बन्धितलगायत कतिपय मौजुदा ऐनमा देखिएका जटिलतालाई संशोधन गरेर सहजीकरण गर्नुपर्ने देखिन्छ ” लगानी तथा विकास सम्मेलनको तयारीका क्रममा प्रदेश सरकारले आजै कोशी प्रदेश सरकारसँग ‘भर्चुअल’मार्फत अन्तरक्रिया गरेको छ।

त्यस क्रममा अनुभव आदान प्रदान एवं नीति तथा कानुनकाबारेमा छलफल भएको जनाइएको छ। कोशी प्रदेश सरकारले गत वैशाखमा लगानी सम्मेलन गरिसकेको छ।a

राजस्व संकलन १ खर्ब २० अर्बले वृद्धि

काठमाडौं- यसवर्ष राजस्व संकलन १ खर्ब २० अर्ब रुपैयाँले वृद्धि भएको छ ।

अर्थ मन्त्रालयका अनुसार गत वर्ष भन्दा यसवर्ष १ खर्ब २० अर्ब रुपैयाँले राजस्वमा वृद्धि भएको हो । गत वर्षको तुलनामा यो वृद्धि ११.३३ प्रतिशतले धेरै हो ।

गत आर्थिक वर्ष (आव) २०८१/०८२ मा ११ खर्ब ७८ अर्ब ८२ करोड रुपैयाँ राजस्व संकलन भएको छ । त्यसअघि आव २०८०/०८१ मा १० खर्ब ५८ अर्ब रुपैयाँ राजस्व संकलन भएको थियो ।

सरकारले आव २०८१/०८२ मा १४ खर्ब १९ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको भएपनि वार्षिक समीक्षामा संशोधन गरी १२ खर्ब ८६ अर्ब रुपैयाँको लक्ष्य तय गरिएको थियो । संशोधित लक्ष्य अनुसार ९१.६० प्रतिशत राजस्व संकलन भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका राजस्व महाशाखा प्रमुख उत्तरकुमार खत्रीले विपद, अन्तर्राष्ट्रिय परिस्थितिले गर्दा चुनौतीहरु हुँदाहुँदै पनि अघिल्लो आवको तुलनामा उत्साहजनक रुपमा राजस्व संकलन भएको बताए । उनले भने,‘तयारी सुरु गरिसकेका छौं । चालू आवमा राजस्व संकलनको लक्ष्य पूरा गर्ने गरी अघि बढ्नेछौं ।’

चालू आवमा १३ खर्ब १५‍ अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य छ । आव २०७१/०७२ मा ४ खर्ब ५ अर्ब, २०७२/०७३ मा ४ खर्ब ८१ अर्ब, २०७३/०७४ मा ६ खर्ब ९ अर्ब, २०७४/०७५ मा ७ खर्ब २६ अर्ब, २०७५/०७६ मा ८ खर्ब २९ अर्ब रुपैयाा राजस्व संकलन भएको थियो ।

त्यसैगरी २०७६/०७७ मा ७ खर्ब ९३ अर्ब, २०७७/०७८ मा ९ खर्ब ३५ अर्ब, २०७८/०७९ मा १० खर्ब ६६ अर्ब, २०७९/०८० मा ९ खर्ब ५७ अर्ब र २०८०/०८१ मा १० खर्ब ५८ अर्ब रुपैयाँ संकलन भएको थियो ।

बजेट अभावमा तीन वर्षदेखि अलपत्र त्रिनगर छात्रावास

कैलाली : धनगढीको त्रिनगर माविमा छात्रावास निर्माणका लागि सुरु गरिएको भवन निर्माण कार्य बजेट नआएपछि अलपत्र परेको छ । दुई वर्षदेखि निर्माण रोकिएपछि भवन क्षेत्र झारपातले छोपिएको छ ।

सामाजिक विकास मन्त्रालयले पहिलो वर्ष ४० लाख बजेट दिएर निर्माण सुरु गराए पनि त्यसयता निरन्तर दुई आर्थिक वर्षमा बजेट छुट्याएन ।

सुदूरपश्चिमका तत्कालीन मुख्यमन्त्री त्रिलोचन भट्टको सिफारिसमा मन्त्रालयले १ करोड २५ लाखमा भवन निर्माणका लागि रकम उपलब्ध गराउने बताएको थियो । जसलाई आर्थिक वर्ष ०७९/८० मा ४० लाख बजेट दिएर दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी रनिङ बजेटमा राखिएको थियो ।

पहिलो चरणमा रकम प्राप्त भएपछि प्रारम्भिक चरणको काम सुरु भयो । दोस्रो चरणमा सम्पन्न हुनुपर्ने भवनका लागि आर्थिक वर्ष ०८०/८१ र ०८१/८२ मा पनि बजेट विनियोजन भएन । विद्यालयले आव ०८२/८३ मा बजेट आउँछ कि भन्ने आश गरेको थियो । तर यो वर्ष पनि भवन निर्माण गर्न बजेट नआएको भन्दै विद्यालयका प्रधानाध्यापक भूपालसिंह खड्काले दुःख व्यक्त गरे ।

‘दुई वर्षमा बनिसक्नुपर्ने भवन तीन वर्ष बितिसक्यो । यो वर्ष त पक्कै बजेट आउला भन्ने सोचेका थियौं तर आएन,’ खड्काले भने । त्रिनगरमा सुदूरपश्चिमका सबै पहाडी जिल्लाबाट विद्यार्थी आउँछन् । छात्रावास बनेमा विद्यार्थीले डेरामा बस्नुपर्ने बाध्यता हट्ने र पढाइमा सहज हुने विद्यालयको अपेक्षा छ ।

प्रधानाध्यापक खड्का भन्छन्, ‘अहिलेसम्म निर्माण सम्पन्न भइसकेर विद्यार्थीले बस्न पाइसक्नु पर्ने तर बजेट नआएर निर्माण कार्य रोकिएको छ । यसमा विद्यालय गम्भीर छ र विशेष पहल गरिरहेको छ ।’

उता सामाजिक विकास मन्त्रालयका वरिष्ठ शिक्षा अधिकृत तथा सूचना अधिकारी जयदेव महरा विद्यालयले बजेट माग गर्न छुटाएको बताउँछन् । उनका अनुसार अधुरा भौतिक संरचनाका लागि माघ महिनामा बजेट माग्नु पर्छ । तर विद्यालयले माग गरेन । ‘अधुरो छात्रावास भवनका लागि विद्यालयले माघमा बजेट माग गर्नुपर्ने थियो, मागेन होला । त्यसैले बजेटमा छुटेको हुन सक्छ,’ उनले भने । अर्को वर्ष माग भए भवन निर्माणलाई बजेटमा समेटिने महराले बताए ।

प्रधानाध्यापक खड्का भने रनिङ बजेटको अर्थ सम्पन्न नभएसम्म बजेट दिने भएकाले मन्त्रालयले स्वतः छुट्याउनु पर्ने बताउ“छन् । ‘रनिङ बजेट भनेको योजना सम्पन्न नभएसम्म निरन्तर दिइने बजेट हो । यसमा मन्त्रालयले स्वतः बजेट छुट्याउनु पर्ने होइन र ?’ उनले भने ।

ककपिटमा भिडियो क्यामेरा राख्नुपर्ने ‘बलियो कारण’ छ : आइएटिए प्रमुख

काठमाडौ् । एयर इन्डिया दुर्घटनापछि अन्तर्राष्ट्रिय हवाई यातायात संघ (आइएटिए) का महानिर्देशक विली वाल्शले ककपिटमा भिडियो क्यामेरा राख्नुपर्ने ‘बलियो तर्क’ रहेको बताएका छन्।

गत जुन १२ मा भएको एयर इन्डिया दुर्घटनाको प्रारम्भिक प्रतिवेदनमा इन्जिनको इन्धन स्विच बन्द भएको देखिएपछि वाल्शले यो टिप्पणी गरेका हुन्। दुर्घटनामा २४२ मध्ये २४१ जनाको मृत्यु भएको थियो, साथै जमिनमा १९ जनाले ज्यान गुमाएका थिए।

वाल्शले भने, ‘दुर्घटना अनुसन्धानमा आवाजसँगै भिडियो रेकर्डिङले महत्वपूर्ण सहयोग पुर्‍याउन सक्छ’ उनले भने । पाइलटहरू यसबारे अनिच्छुक हुन सक्ने तर अनुसन्धानका लागि यसले ठूलो मद्दत गर्ने उनको ठम्याइ छ।

तर, इन्धन स्विच पुनःडिजाइनको सिफारिसबारे भने उनले विस्तृत प्रतिवेदन आउँदासम्म प्रतीक्षा गर्नुपर्ने बताए। वाल्शका अनुसार प्रारम्भिक प्रतिवेदनले अपेक्षाभन्दा बढी जानकारी दिएको तर अन्तिम निष्कर्ष नआएसम्म निर्णयमा पुग्नु नहुने कुरामा जोड दिए।

अनुसन्धानले पाइलटको कार्य जानाजानी वा अनजानेमा दुर्घटनाको कारण हुनसक्ने संकेत गरेको छ, जसले विशेषज्ञहरूमा बहस सुरु गराएको छ।

‘मिस नेपाल नर्थ अमेरिका २०२५’को जजमा प्रदीप, अनुप, नीति, आँचल

काठमाडौं । ‘मिस नेपाल नर्थ अमेरिका २०२५’का ५ जना जज (निर्णायक) घोषणा गरिएको छ । आयोजक संस्था ड्रीम्स युनिभर्सलले विज्ञप्ति जारी गर्दै जजको नाम खुलाएको हो ।

जजमा पूर्वमिस नेपाल सदीक्षा श्रेष्ठ, अभिनेताद्वय प्रदीप खड्का र अनुपविक्रम शाही, अभिनेत्रीद्वय आँचल शर्मा र नीति शाह छन् । यी सबै सेलिब्रेटीले २ अगस्टमा अमेरिकाको न्यूयोर्कमा हुने फिनालेमा सहभागिता जनाउनेछन् ।

उक्त मितिमा क्वीन्सको मेलरोज बलरुममा समारोह हुनेछ । आयोजक संस्थाका प्रमुख शैलेन्द्र श्रेष्ठले जजको नाम घोषणासँगै अब क्लोज क्याम्प सुरु हुने बताए ।

उनका अनुसार जुलाई २७ बाट बाल्टिमोरमा क्लोज क्याम्प सुरु हुनेछ, जहाँ १९ जना फाइनलिस्ट सहभागी हुनेछन् । उनीहरूलाई फिनालेको लागि आवश्यक तयारी र प्रशिक्षण कला सिकाइनेछ ।

आर्या आचार्य (पेन्सिलभेनिया), अमिसा भण्डारी (न्यूयोर्क), आर्या कोइराला (टेक्सास), बिना श्रेष्ठ (जर्जिया), दीपा गुरुङ (कोलोराडो), दीया श्रेष्ठ (न्यूजर्सी), हारा सुवेदी (न्यूयोर्क), कृष्मा सुवेदी (टिनिस), कुस्मिता खड्का (टेक्सास), कुसुम तिमल्सिना (टेक्सास) फाइनलिस्ट बनेका छन् ।

साथै, मिङ्मा वाई शेर्पा (कोलोराडो), मुना विष्ट (टेक्सास), नवीना लिम्बु (न्यूयोर्क), प्रतिमा श्रेष्ठ (टेक्सास), सब्बु बजिमय (भर्जिनिया), संस्कृति पाण्डे (कनेक्टिकट), सरिता तामाङ (न्यूयोर्क), स्नेह उपखेती (टेक्सास) र सुस्जिता पौडेल (मिनेसोटा) फाइनलिस्ट बनेका छन् ।

यो प्रतियोगिताको विजेताले मिस नेपालमा सीधै प्रवेश पाउनेछन् ।

सबै विश्विद्यालयले स्वीकृत गराए नयाँ आर्थिक वर्षको बजेट

प्रधानमन्त्री केपी शर्मा ओलीको अग्रसरतामा नयाँ आर्थिक वर्ष सुरु हुनुअगावै सबै विश्वविद्यालयले आगामी आर्थिक वर्षको बजेट र कार्यक्रम पारित गराएका छन्।

विश्वविद्यालयहरुको आर्थिक स्वच्छता र मुलुकको संसदीय लोकतान्त्रिक प्रणाली र विद्यमान आर्थिक ऐनसम्बन्धी व्यवस्था अनुकूल हुने गरी सबै विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुले सम्भवतः पहिलो पटक यसरी एकै समयमा बजेट पारित गरेका हुन्।

चालु आवको अन्तिम दिन असार ३२ गते मात्रै नेपाल संस्कृत विश्वविद्यालयको ७८ औं र लुम्बिनी बौद्ध विश्वविद्यालयको १८ औं सभा बैठक सम्पन्न भएको छ। आजै चिकित्सा शिक्षा आयोगको बैठक पनि राखिएको छ।

यही असार ३१ गते एकै दिन चार वटा विश्वविद्यालयको सभा बैठक (सिनेट) भएको थियो। उक्त दिन सुदूरपश्चिम विश्वविद्यालयको १३ औं, पूर्वाञ्चल विश्वविद्यालयको ४१ औं, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको १५ औं र कृषि तथा वन विज्ञान विश्वविद्यालयको १४ औं सभा बैठक सम्पन्न भई बजेट तथा कार्यक्रम पारित भएको थियो।

यस्तै, असार ३० गते मध्यपश्चिम विश्वविद्यालयको १७ औं, राजर्षि जनक विश्वविद्यालयको १० औं, असार २६ गते त्रिभुवन विश्वविद्यालयको वार्षिक साधारणसभा, असार २५ गते पोखरा विश्वविद्यालयको २५ औं सभा बैठक भई बजेट पारित भएको छ।

यसअघि काठमाडौं विश्वविद्यालय, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सभा बैठक आयोजना भइसकेको छ।

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. दीपक अर्याल यही असार २५ गते मात्रै नियुक्त भएकाले असार २६ गतेको सिनेटमा नीतिगत कार्यक्रम पनि स्थगन गरी चाँडै अर्काे बैठकमा ल्याउन भनिएको छ।

कुलपति ओलीको तत्परतामा सबै विश्वविद्यालय (प्रतिष्ठान) हरुले नयाँ आर्थिक वर्ष लाग्नुअगावै आगामी आर्थिक वर्ष बजेट तथा कार्यक्रम सिनेट बैठकबाट अनिवार्य स्वीकृतिका लागि छोटो सूचनामा पनि यसरी विश्वविद्यालयको सभा राखिएको मुलुककै पहिलो शैक्षिक परिघटना सावित भएको छ।

साथै, यी विश्वविद्यालयहरुका स्रोत सुनिश्चितबिनाका बजेट र कार्यक्रम राख्ने क्रम पनि रोकिएको छ। केही विश्वविद्यालयले घाटा बजेटसमेत प्रस्ताव गरेको स्थितिमा कुलपति ओली, सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तसहितको मार्गदर्शनमा यथार्थ बजेट हुने गरी संशोधित प्रस्ताव पारित भएको छ।

साथै, लामो समयसम्म लेखापरीक्षण नहुने र उक्त प्रतिवेदन सभामा पेस नहुने परिपाटी तथा लामो समय बेजुरु फछ्र्योट नहुने प्रवृत्ति पनि निरुत्साहित भएको छ। कुलपति ओलीले आगामी दिनमा आवअगावै स्वीकृत नभएको बजेटपछि अनुमोदन नहुने स्पष्ट पारे।

अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले प्रधानमन्त्री एवं कुलपति ओलीले साउन १ गतेअगावै सबै विश्वविद्यालयहरुले अनिवार्यरुपमा पारित बजेट मात्रै कार्यान्वयनमा ल्याई थिति बसाल्न दिएको निर्देशन कार्यान्वयनमा आउनु अति सकारात्मक भएको बताए।

उनले यसबाट सरकार र विश्वविद्यालको सम्पर्क र सम्बन्ध पनि सुमधुर भई बजेट र कार्यक्रममा समन्वय विस्तार सहयोग पुग्नुका साथै लेखा परीक्षणमा पनि सहयोग मिल्ने प्रतिक्रिया दिए।

कृषि तथा वन विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. शारदा थपलियाले कुलपतिको यस प्रकारको सुरुपष्ट निर्देशनले आफूहरुलाई शैक्षिक क्यालेण्डर कार्यान्वयन र सुशासन कायममा ऊर्जा मिल्ने बताए।

विगतमा आर्थिक वर्ष सुरु भइसकेपछि पनि वार्षिक बजेट र कार्यक्रम प्रस्तुत र पारित हुने, कतिपय विश्वविद्यालयका पदाधिकारीको रिक्तता र विवादका कारण सिनेट बैठक हुन नसक्दा विश्वविद्यालयहरुका आर्थिक थिति बस्न सकेको थिएन।

यस वर्ष प्रधानमन्त्री एवं कुलपति ओलीले छ महिलाअगावैदेखि आगामी आवको बजेट यस आवभित्र पारित गर्न पटकपटक निर्देशन दिएका थिए।

असारको दोस्रो साता प्रधानमन्त्री ओलीको संयुक्त राष्ट्रसङ्घीय विकासका लागि वित्तासम्बन्धी चौथो सम्मेलनका लागि स्पेनको औपचारिक भ्रमण, स्वदेश फर्केपछि नियमित अन्य काम, राजनीतिक भेटघाट, रसुवागढीमा आकस्मिक बाढीको विपत्ति र गृहजिल्ला झापाका कार्यक्रमका व्यस्तताका बीच प्रधानमन्त्री ओलीले आफू कुलपति भएका विश्वविद्यालय र प्रतिष्ठानहरुको सिनेट राखेका हुन्।

साउन १६ लाई राष्ट्रिय कोदो दिवसका रूपमा मनाइने

काठमाडौँ – सरकारले प्रत्येक वर्षको साउन १६ गतेलाई राष्ट्रिय कोदो दिवसको रूपमा मनाउने भएको छ। आज सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले यही असार २३ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय गर्दै साउन १६ गतेलाई राष्ट्रिय कोदो दिवसको रूपमा मनाउने जानकारी दिए।

उनका अनुसार सरकारले यही असार ३० गतेदेखि आगामी साउन ८ गतेसम्म संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा आयोजना हुने दिगो विकाससम्बन्धी उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारीलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने, नेपाल चीन कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवको अवसरमा आगामी साउन ६ गतेदेखि १२ गतेसम्म गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई चीन भ्रमणको लागि स्वीकृति प्रदान गर्ने, नेपाल राष्ट्र बैंकबाट रु एक हजार दरको नयाँ बैंक नोट प्रकाशनको लागि बैंक नोटको चित्र र आकार स्वीकृत गर्ने सरकारको निर्णय छ।

त्यस्तै, विश्व बैंकबाट विद्यालय क्षेत्र सुधार कार्यक्रमको लागि प्राप्त हुने थप १० दशमलव आठ मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता प्राप्त गर्ने, आर्थिक वर्ष २०८१/८२ का लागि उखु उत्पादक कृषकलाई प्रदान गर्ने अनुदान रकम प्रतिक्विन्टल रु तीन हजार ५०० कायम गर्ने, नेपाली सेनाका ३७ जना महासेनानीहरूको सरुवा गर्ने, रेसुङ्गा नगरपालिका गुल्मीलाई जिपलाइन र स्काई साइक्लिङ निर्माणको लागि गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका–८ मा रहेको राष्ट्रिय वनको जग्गा प्रयोग गर्न स्वीकृति प्रदान गर्ने, आगामी साउन ९ गतेदेखि १४ गतेसम्म नर्वेमा आयोजना हुने नर्भे टु स्ट्रेन्थन कोअपरेसन कार्यक्रममा सहभागी हुन वन तथा वातावरणमन्त्रीलाई स्वीकृति प्रदान गर्ने मन्त्रिपरिषद्को निर्णय रहेको मन्त्री गुरुङले जानकारी दिए।

रेस्टोरिडा रिफ्रेश सेन्टर प्रालिलाई पर्यापर्यटन व्यवसाय गर्ने कार्यको लागि सुनकोशी गाउँपालिका–६ सिन्धुलीमा रहेको हैसियत बिग्रेको राष्ट्रिय वनको जग्गा र धार्चे कृषि जडीबुटी उत्पादन तथा प्रशोधन फार्मलाई वन पैदावरमा आधारित उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थ उत्पादन गर्ने कार्यको लागि धार्चे गाउँपालिका–४ लाप्राक, गोरखामा रहेको हैसियत बिग्रेको राष्ट्रिय वनको जग्गा कबुलियती वनको रूपमा उपलब्ध गराउन स्वीकृति दिने, शिक्षा, विज्ञान तथा प्रविधि आगामी साउन ५ गतेदेखि १६ गतेसम्म चीनमा आयोजना हुने रिजनल वर्कसप अनक्लियर सेक्युरिटी रेस्पोन्स क्यापाविलिटी डेभलपमेन्ट फर बार्डरर्स एण्ड पोर्टस् कार्यक्रममा सचिव (विज्ञान तथा प्रविधि) लाई सहभागी हुन स्वीकृति दिने, नेपाल र जापान सरकारबीच सन् २०१९ मार्च २० मा हस्ताक्षर भएको जापानमा निश्चित सीपयुक्त कामदार पठाउने विषयको समझदारीपत्रको अवधि १९ मार्च २०२४ देखि थप पाँच वर्षका लागि नवीकरण गर्न स्वीकृति दिने निर्णय रहेको सरकारका प्रवक्ता गुरुङले उल्लेख गरे।

उनका अनुसार जल तथा ऊर्जा आयोगको सचिवालय र अन्तर्गतका कार्यालयहरूको सङ्गठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्ने, ‘क्यासिनो नियमावली, २०८२’ स्वीकृत गर्ने, ‘राष्ट्रिय जनसङ्ख्या नीति, २०८२’ स्वीकृत गर्ने, नेपाल लेखापरीक्षण सेवा समूहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको उपमहालेखापरीक्षक पदमा नायब महालेखा परीक्षक नारायण एमसीलाई बढुवा गर्ने सरकारको निर्णय रहेको छ।

पत्रकार सम्मेलनमा मन्त्री गुरुङले मन्त्रिपरिषद् बैठकको असार ३० गतेको निर्णयसमेत सार्वजनिक गरिएको बताए। आगामी साउन ११ गतेदेखि १३ गतेसम्म इथियोपियामा आयोजना हुने सेकेन्ड युएन फुड सिस्टम्स् समिट स्टक टेक (युएनएफएसएस प्लस फोर) कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा जयबहादुर टण्डनलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने सरकारको निर्णय रहेको उहाँले जानकारी दिए।

उनका अनुसार नेपाल बिमा प्राधिकरणका सञ्चालक समितिका अध्यक्ष शरद ओझाको आचरण, कार्यक्षमता र पदीय जिम्मेवारी पालना सम्बन्धमा समग्र रूपमा छानबिन गर्न उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको अध्यक्षतामा जीवनप्रकाश सिटौला र कपिलदेव ओली सदस्य रहेको समिति गठन गर्ने, छानबिन समाप्त भई अर्को व्यवस्था नहुञ्जेलसम्मका लागि नेपाल बिमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष भई कामकाज गर्नेगरी अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेललाई तोक्ने निर्णय गरिएको छ।

निर्माणाधीन नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाका लागि जापान सरकारबाट प्राप्त हुने जापानी येन पाँच अर्ब ७० करोड बराबरको थप सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने, आगामी साउन ६ गतेदेखि ८ गतेसम्म दक्षिण अफ्रिकाको जोहानस्वर्गमा आयोजना हुने ‘फस्ट ग्लोबल एसएमइ मिनिस्ट्रीयल मिटिङ’मा दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत प्रा कपिलमान श्रेष्ठलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने, जिल्ला समन्वय समिति डडेल्धुराको नाममा रहेको २–६–१–२ रोपनी जग्गा अमरगढी नगरपालिका, डडेल्धुरालाई बहुउद्देश्यीय भवन निर्माणका लागि उपयोग गर्न स्वीकृति दिने, राष्ट्रिय सहकारी नियमन प्राधिकरणको रिक्त अध्यक्ष पदमा डा खगराज शर्मा, रूपन्देहीलाई नियुक्ति गर्ने, फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समितिको कार्यावधि यही असार २९ गतेदेखि चार महिनाका लागि थप गर्ने सरकारको निर्णय छ।

नेपाली सेनातर्फ एक जना प्रमुख सेनानीलाई महासेनानी दर्जामा बढुवा गर्ने, एक जना महासेनानीलाई सहायक सेनानी दर्जामा बढुवा गर्ने र १९ जना सहायक सेनानीको सरुवा गर्ने, ग्रामीण सडक सञ्जाल सुधार आयोजनालाई नवलपरासी (बर्दघाट–सूस्ता पूर्व) जिल्लाको कावासोती नगरपालिका र हुप्सेकोट गाउँपालिकामा रहेको आलोक चक्रपथअन्तर्गत गिरुवारी–झ्यालबास–डण्डा–चौराहा–पनौती–वसन्तपुर सडकखण्ड स्तरोन्नतिका लागि राष्ट्रिय वनको तीन दशमलव ९९ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने, कोशी गाउँपालिका, सुनसरीको केन्द्र वडा नं १ लौकहीबाट परिवर्तन गरी वडा नं ३ बद्रीपुल कायम गर्ने, कालिगण्डकी गाउँपालिका, स्याङ्जाको केन्द्र वडा नं ४ कट्टीबाट परिवर्तन गरी वडा नं ४ गहलाम कायम गर्ने सरकारको निर्णय रहेका सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री गुरुङले जानकारी दिए।

आगामी साउन १० गतेदेखि १२ गतेसम्म चीनको सङ्घाईमा आयोजना हुने ‘वल्र्ड आर्टिफिल इन्टेलिजेन्स कन्फ्रेन्स– २०२५’ मा सहभागी हुन सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङलाई स्वीकृति प्रदान गर्ने, साउन ८ र ९ गते चीनको बेइजिङमा आयोजना हुने ‘ग्लोबल हेल्थ फोरम (जिएचएफ)–२०२५’ सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेललाई सहभागी हुन स्वीकृति प्रदान गर्ने सरकारको निर्णय रहेका मन्त्री गुरुङले बताए।

सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय

काठ्माण्डौँ- उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ।

बुधबार बसेको संसदीय दल बैठकले केपी शर्मा ओली नेतृत्वको संघीय सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो।

‘सरकारलाई दिएको समर्थन फिर्ता लिने संसदीय दलले निर्णय गरेको छ,’ जसपा नेपालका सांसद प्रकाश अधिकारीले सेतोपाटीसँग भने।

प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारूढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग अध्यक्ष उपेन्द्र यादवले असार ३० गते बालुवाटारमा छलफल गरेका थिए।

उक्त छलफल भएको दुई दिनमै जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो।

भूमि विधेयक पारित गर्न सहयोग गर्न प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाले जसपा नेपालबाट सहयोग खोजेका थिए। अध्यक्ष यादवले प्याकेजमै सहमति खोजेका थिए।

भूमि अध्यादेश ल्याउँदा पनि जसपा नेपालले विरोध गरेको थियो।

प्रतिनिधि सभामा जसपा नेपालका ५ जना र राष्ट्रिय सभामा ३ जना सांसद छन्। राष्ट्रिय सभामा सरकारलाई बहुमत पुर्‍याउन जसपा नेपालको साथ आवश्यक थियो।

यसअघि रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो। असार २१ गते नाउपा संसदीय दलले सरकारलाई दिएको समर्थन फिर्ताको निर्णय लिएको थियो।

नाउपाबाट सांसद अरूणकुमार चौधरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री छन्। पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिए पनि उनले अझै पदबाट राजीनामा दिएका छैनन्।

सरकारलाई दिएको समर्थन फिर्तासँगै प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनुपर्ने भएको छ।

संविधानको धारा १०० को उपधारा २ मा, ‘प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधि सभा समक्ष प्रस्ताव राख्नु पर्नेछ,’ भन्ने उल्लेख छ।

जसपा नेपाल भने सरकारमा सहभागी थिएन, सरकारलाई समर्थनमात्रै गरेको थियो।

नवनियुक्त सामान्य प्रशासनमन्त्री न्यौपानेले साँझ ६ बजे शपथ लिने

काठ्माण्डौँ- नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेको शपथ आज साँझ ६ बजे हुने भएकोछ।

शपथ राष्ट्रपति भवन शीतल निवासमा हुनेछ।

यसअघिका मन्त्री राजकुमार गुप्ता ‘घुस डिल’मा जोडिएको खुलासा भएपछि राजीनामा दिएका थिए।

लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले न्यौपानेलाई नयाँ मन्त्रीका रुपमा नियुक्त गर्न सिफारिस गरेका थिए।

कल्याणपुरका मेयर एक लाख घुससहित पक्राउ

सिरहा : विकास योजनाको काम दिएबापत घुस मागेको १ लाख रकमसहित सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासबाट खटिएको टोलीले उनलाई बुधबार आफ्नै कार्यकक्षबाट पक्राउ गरेको हो।

अख्तियारका अनुसार मेयर साहले नगरपालिकाको २० लाख रुपैयाँ बजेटमा निर्माण सम्पन्न भएको एक नालाको भुक्तानीका लागि उपभोक्ता समितिसँग कमिसन मागेका थिए।

कमिसन रकम दिन समितिले आनाकानी गरेपछि मेयर साहले भुक्तानीको चेक रोकेर राखेका थिए। अख्तियार स्रोतका अनुसार पटक-पटकको वार्तापछि मेयरले चेक काट्नुअघि रकम बुझाउन दबाब दिएका थिए।

सोही उजुरीका आधारमा अख्तियारले कारबाही अघि बढाएको थियो । सोही रकम लिँदै गर्दा अख्तियारको टोलीले मेयर साहलाई रंगेहात नियन्त्रणमा लिएको हो। हालः टोलीले नगरपालिका कार्यालयमा मुचुल्कालगायतका कानुनी प्रक्रिया पूरा गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासका प्रमुख रामबहादुर कुरुम्वाङले जानकारी दिए।

उनका अनुसार पक्राउ परेका मेयरमाथि थप अनुसन्धान अगाडि बढाइने छ।

अमेरिकाबाट नेपाली नागरिकको डिपोर्ट हुने क्रम तीव्र

काठमाडौं- अमेरिकाबाट नेपाली नागरिकको डिपोर्ट हुने क्रम तीव्र रुपमा जारी छ ।

जेठ २६ गते अमेरिकास्थित एरिजोना र हवाईबाट डिपोर्ट गरिएका ३७ जना नेपालीहरू ओम्नी एयर इन्टरनेसनलको चार्टर विमानमार्फत काठमाडौँ फर्किए ।

त्यसयता पनि डिपोर्ट हुने सिलसिला रोकिएको छैन ।

अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजालका अनुसार जेठपछि थप २४ जना नेपालीहरू डिपोर्ट भएर नेपाल आइपुगेका छन् ।

सन् २०२५ को जनवरीदेखि अहिलेसम्म कुल १९७ जना नेपाली अमेरिकाबाट डिपोर्ट भइसकेको उनले बताए ।

उक्त अवधिमा अमेरिकाबाट दुईपटक चार्टर्ड उडानमार्फत नेपालीहरूलाई फर्काइएको हो ।

सरकारले डेङ्गी सचेतनामा विशेष कार्यक्रम घोषणा गर्‍यो

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साउन महिनालाई डेङ्गी सचेतना महिनाका रूपमा घोषणा गरेको छ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच स्वास्थ्यमन्त्री प्रदीप पौडेलले डेङ्गी नियन्त्रण गर्न साउन महिनालाई डेङ्गी सचेतना महिनाका रुपमा राष्ट्रिय अभियान सञ्चालन गर्ने घोषणा गरेका हुन्।

अभियान घोषणा गर्दै मन्त्री पौडेलले साउन महिनाबाट डेङ्गी संक्रमणको जोखिम हुने भएकाले सचेतना अभियान सञ्चालन गर्न लागिएको जानकारी दिए। उनले डेङ्गी संक्रमणबाट आम नागरिकलाई जोगाउने दायित्व सरकारको भएकाले डेङ्गी सचेतना नै एकमात्र विकल्प रहेको जानकारी पनि दिए।

मन्त्री पौडेलले लामखुट्टे र लार्भा उत्पादन हुने आधार नष्ट गर्न अवको चार महिना सवै नागरिकसाथै निकायहरू सजग हुनुपर्ने पनि बताए।

डेङ्गी सचेतना राष्ट्रिय अभियान कार्यान्वयनको विषय समाजको पनि भएकाले सवै एक भएर डेङ्गी नियन्त्रणमा केन्द्रित हुनुपर्ने मन्त्री पौडेलले बताए।

डेंगी संक्रमण भदौदेखि कात्तिकसम्म उच्च रहने स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

सन् २०२४ मा विश्वभर १ करोड ४० लाखभन्दा बढी व्यक्तिहरूमा डेङ्गी संक्रमण भएको र ११ हजारभन्दा बढीको मृत्यु भएको स्वास्थ्य सेवा विभागले जनाएको छ।

गभर्नर पौडेलको हस्ताक्षर रहेको एक हजार दरको नोट छापिँदै

काठमाडौं- सरकारले एक हजार रुपैयाँ दरको नयाँ नोट छाप्ने भएको छ। नवनियुक्त गभर्नर विश्वनाथ पौडेलको हस्ताक्षर रहेको नयाँ नोट छपाइका लागि हालै बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृति दिएको हो।

अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले गरेको निर्णयमा भनिएको छ, ‘नेपाल राष्ट्र बैंकबाट एक हजार रुपैयाँ दरको नयाँ बैंक नोट प्रकाशित गर्न बैंक नोटको चित्र र आकार स्वीकृत गरियो।’

महिलामाथिका हिंसा रोक्न अनेमसंघको सुदूरपश्चिम सरकारलाई सात बुँदे ज्ञापन पत्र

धनगढी– महिलामाथि बढ्दो हिंसा, हत्या, शोषण र सामाजिक अन्यायको घटनामा सरकार जिम्मेवार हुनु पर्ने मागसहित अखिल नेपाल महिला संघ, सुदूरपश्चिम प्रदेश समितिले सुदूरपश्चिम प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाएको छ ।

महिला माथि भइरहेका सामाजिक विभेद र अन्यायका घटना प्रति गम्भीर चिन्ता व्यक्त गर्दै अनेमसंघले मुख्य मन्त्री कमल बहादुर शाहलाई ७ बुँदे मागसहित ज्ञापन पत्र बुझाएका हुन् ।

नेकपा एमाले निकट महिलाहरूको संगठन अनेमसंघले सुदूरपश्चिमका कैलाली कञ्चनपुरसहितका जिल्लाहरूले प्रशासन कार्यालय मार्फत एकसाथ गृह मन्त्रालयलाई ध्यानाकर्षण गराउन ज्ञापन पत्र बुझाएको प्रदेश अध्यक्ष झुमा देवी चौधरीले बताएकी छन् ।

सुदूरपश्चिममा अझै हिंसा, हत्या र यौन शोषण सँगै लैङ्गिक असमानता र छाउकुप्रथा जस्ता अन्यायपूर्ण व्यवहार भइरहेकोले अन्त्यको माग अनेमसंघले गरेको हो ।

संघले सामाजिक कुरीति, बालविवाह, बहुविवाह, दाइजो प्रथा, घरेलु हिंसा, तथा परम्परामा नाममा गरिने यौनजन्य शोषण र दुर्व्यवहार नियन्त्रणका लागि प्रभावकारी कानुनी व्यवस्था गरी तुरुन्त कार्यान्वयनको माग गरेको छ ।

गत असार २७ गते भारतबाट फर्केकी कमला लामा नामकी महिलाको मृत्युले जनमानसमा गहिरो स्तब्धता छाएको भन्दै अनेमसंघले रोजगारीको सिलसिलामा भारत गएकी कमला स्वदेश फर्केर घरमा बसेको केही समयमै राति छाउगोठमा सुत्दा प्रहरीले टोकेको र अस्पताल लैजाने क्रममा उनको मृत्यु भएको घटनालाई रहस्यमय भन्दै अनेमसंघले छानबिनको माग गरेको छ ।

यस्तै, गत जेठ २२ गते कैलालीको गौरीगंगा–१ मा तुलसी नाथ लाई आफ्नै देवरले हत्या गरी शव गहुँबारीमा गाडेको घटनाले समेत गम्भीर सामाजिक प्रश्न खडा गरेको र यो प्रकारको अमानवीय व्यवहारको सिकार महिला नै हुनु पर्ने अवस्थाको अन्त्य गर्न माग अनेमसंघको छ ।

अनेमसंघले महिलामाथिका हिंसा नियन्त्रणका लागि प्रभावकारी कानुनी कार्यान्वयन गर्नु पर्ने, छाउपडी, दाइजो प्रथा, बालविवाह, बहुविवाह जस्ता सामाजिक कुरीतिविरुद्ध अभियान सञ्चालन गर्नु पर्ने, प्रत्येक पालिकामा सुरक्षित महिला आवास गृहको स्थापना गरिनु पर्ने माग राखेको छ ।

यसैगरी महिला उद्यमशीलता प्रवर्द्धनका लागि अनुदान तथा सहुलियत, हिंसापीडित महिलाहरूलाई तत्काल राहत र न्याय सुनिश्चित गर्ने संयन्त्रको स्थापना गरिनु पर्ने माग पनि अघि सारेको छ ।

अनेमसंघले घटनाहरू दोहोरिरहनुले महिलाहरूको सुरक्षाप्रति राज्यको उदासीनता स्पष्ट भएको भन्दै गम्भीर हुन आग्रह गरेको छ ।

प्रदेश अध्यक्ष झुमा देवी चौधरी द्वारा हस्ताक्षरित ज्ञापन पत्रमा तत्काल सुधारात्मक र नीतिगत कदम चाल्न अनुरोध गरिएको छ ।

अनेमसंघले महिला अधिकारको सुनिश्चितता र सुरक्षित समाज निर्माणका लागि निरन्तर दबाबमूलक कार्यक्रमहरू अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

जवाफमा मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकार आफ्नो तर्फबाट जिम्मेवारी पूर्वक लागि परेको र सबैको सहकार्य र साथ आवश्यक हुने बताएका छन् ।

खोज्नुहोस