सुदूरपश्चिम विश्वविद्यालयका पदम र ईश्वरले अन्तर्राष्ट्रिय बहसमा नेपालको प्रतिनिधित्व गर्ने

कैलाली । सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत दुई कानुन संकायका विद्यार्थीले भारतको प्रयागराजमा हुने अन्तर्राष्ट्रिय बहस प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने भएका छन्।
कैलाली बहुमुखी क्याम्पसमा कानुन संकायको चौथो सत्रमा अध्ययनरत डडेल्धुराका पदम बहादुर साउद र विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा अध्ययनरत दार्चुलाका ईश्वर दत्त भट्ट भदौ १५ गते आयोजना हुने उक्त प्रतियोगितामा सहभागी हुनेछन्।
‘महाकुम्भ’ स्थल प्रयागराजमा आयोजना हुने सो प्रतियोगितामा विश्वभरका २९ विश्वविद्यालयका प्रतिनिधिहरू सहभागी हुँदैछन्। नेपालबाट प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरेका पदम र ईश्वर कानुनी बहसमा सुदूरपश्चिम क्षेत्रका प्रतिभावान विद्यार्थीका रूपमा स्थापित हुँदै गएका छन्।
उक्त अन्तर्राष्ट्रिय मञ्चमा ‘संयुक्त राष्ट्रसंघ शान्ति स्थापनामा सफल छ कि असफल ?’ भन्ने विषयमा बहस हुनेछ। विभिन्न चरणहरू पार गर्दै अन्तिम सूचीमा पर्न सफल यी दुई विद्यार्थीलाई सुदूरपश्चिम विश्वविद्यालय र सम्पूर्ण नेपाली समुदायका तर्फबाट बधाई तथा सफलताको शुभकामना व्यक्त गरिएको छ।
विद्यार्थीद्वय साउद र भट्टको यो सहभागिता सुदूरपश्चिम क्षेत्रका लागि मात्र नभई सम्पूर्ण नेपाली कानुन क्षेत्रका विद्यार्थीहरूका लागि प्रेरणादायक मानिएको छ।