विधान संशोधनमा सुझाव दिन एमालेको आग्रह

द एभरेष्ट पोष्ट
१४ साउन २०८२ १४:५५
विधान संशोधनमा सुझाव दिन एमालेको आग्रह

काठमाडौँ । नेकपा (एमाले) ले आगामी विधान महाधिवेशनमा प्रस्तुत गरिने विधान संशोधन प्रस्तावमाथि सुझाव सङ्कलन अभियान सुरु गरेको छ। पार्टीले मातहतका कमिटी र सदस्यहरूलाई भदौ १० गतेभित्र लिखित सुझाव पार्टी केन्द्रीय कार्यालयमा पठाउन आग्रह गरेको छ। यो जानकारी एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार जारी गरेको अन्तरपार्टी निर्देशन (अपानी–१२) मा उल्लेख छ।

प्राप्त सुझावहरूमाथि विधान महाधिवेशनअघि बस्ने केन्द्रीय कमिटीको बैठकमा छलफल गरी आवश्यक निर्णय लिइनेछ। एमालेको दोस्रो विधान महाधिवेशन आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीमा हुँदैछ। यस महाधिवेशनमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव, र महासचिव शङ्कर पोखरेलले सङ्गठनात्मक प्रस्ताव प्रतिवेदन प्रस्तुत गर्नेछन्। यी तीनवटै प्रतिवेदन पार्टीको सचिवालय, पोलिटब्युरो र केन्द्रीय कमिटीबाट संशोधनसहित पारित भइसकेका छन्।

अपानी–१२ अनुसार, पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनका प्रतिनिधिहरू नै विधान महाधिवेशनका प्रतिनिधि हुनेछन्। यद्यपि, दशौँ महाधिवेशनमा सहभागी नभएका र यसबीचमा केन्द्रीय कमिटी तथा निकायमा मनोनित भएका सदस्यहरू आयोजकको हैसियतमा विधान अधिवेशनमा सहभागी हुन पाउने व्यवस्था गरिएको छ।

अध्यक्ष ओलीले एमाले राष्ट्रिय राजनीतिको केन्द्र भागमा रहेको र पार्टीको भविष्य अन्य दलको तुलनामा ‘निकै उज्यालो’ रहेको बताएका छन्। उनले अपानी–१२ मार्फत कार्यकर्तालाई सन्तोष मानेर नबस्न आग्रह गर्दै पार्टीको यात्रा ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा र गन्तव्य पूरा गर्ने कुरामा केन्द्रित हुनुपर्नेमा जोड दिएका छन्।

ओलीले जनप्रतिनिधिमूलक निकायको कामलाई थप प्रभावकारी बनाउन तथा पार्टीलाई बलियो र निर्णायक राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। उनको मुख्य लक्ष्य ‘मिसन ८४’ सफल बनाउँदै पार्टीको नेतृत्वमा एकल बहुमतको सरकार निर्माण गर्नु रहेको छ।

अपानीमा पार्टीको सङ्गठनात्मक जीवन पहिलेको तुलनामा व्यवस्थित हुँदै गएको र बैठक, कार्यक्रम तथा अभियानमा कार्यकर्ताको सहभागिता बढेको उल्लेख छ। यद्यपि, पार्टी कामलाई आधारभूत तहमा र जनसङ्गठनका कामलाई समुदायकेन्द्रित गर्न अझै नसकिएको, नेपाली समुदायको बढ्दो उपस्थितिसँगै प्रवासको काम विस्तार गर्न नसकिएको, र पार्टी निर्माणमा नेतृत्व तथा कार्यकर्ताको स्वपरिचालनको अवस्थामा थप सुधार ल्याउनुपर्ने आवश्यकता पनि औँल्याइएको छ।

पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन र ‘मिसन ८४’ लाई सफल बनाउनका लागि सङ्गठनात्मक कामलाई थप सुधार गर्नु आवश्यक रहेको एमालेले बताएको छ। सचिवालय, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकका महत्त्वपूर्ण निर्णयहरू जानकारी तथा कार्यान्वयनका लागि यो अन्तरपार्टी निर्देशन जारी गरिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस