भिजिट भिसाको विषय कुनै दल र नेताप्रति लक्षित छैन : मनिष झा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसा प्रकरणको विषय कुनै दल र नेताप्रति लक्षित नभएको बताएको छ । सांसद सुमना श्रेष्ठको निर्देशनमा नक्कली उजुरी दिन लगाएको समाचार बाहिरिएपछि रास्वपाले यस्तो प्रष्टीकरण दिएको हो ।

‘हामीले पटक पटक भनेकै छौँ । हामी भिजिट भिसा र मानव तस्करीको संगठित अपराधको विरुद्ध आन्दोलन गर्दैछौँ । यसमा विगत १८ वर्ष र १४ गृहमन्त्री सबैको छानबिन गरौँ भनेको छौँ,’ कार्यवाहक प्रवक्ता मनिष झाले एक्स (ट्विटर) मा पार्टीको धारणा सार्वजनिक गर्दै भनेका छन्, ‘हाम्रो मुद्दा कोही एक दल र नेताप्रति लक्षित छैन । कोही एक व्यक्तिको पछि लाग्ने हाम्रो राजनीतिक आचरण र अभ्यास छैन र त्यो हाम्रो राजनीतिक प्राथमिकता पनि हैन ।’
उनले जेठ १४ गते ‘भिजिट भिसा र मानव तस्करीसँग सम्बन्धित प्रकरणको कारण ठगिएको कोही भए प्रमाणसहित सम्पर्कमा आउनु’ भन्दै आव्हान गरेपछि २ हजारभन्दा धेरै पीडित सम्पर्कमा आएको पनि बताएका छन् ।

‘त्यसमध्ये केही आफ्नो दुःखको कथा र ठगिएको सम्बन्धित प्रमाण लिएर पार्टी कार्यालयमा आउनुभयो,’ झाले भनेका छन्, ‘हामीले उहाँहरूलाई सम्बन्धित सरकारी निकाय र संवैधानिक नियोगमा लगायतमा उजुरी दिन सुझाएका हौँ । र, यो एक राजनीतिक दलले गर्ने स्वाभाविक व्यवहार र नियमित अभ्यास हो ।’

‘रास्वपा केन्द्रीय सदस्य तथा सांसद सुमना श्रेष्ठको निर्देशन भनेर उल्लेख गर्दै नक्कली उजुरी दिन लगाएको’ भन्ने समाचारले पार्टीको ध्यानाकर्षण गराएको झाको भनाइ छ । ‘रास्वपाले यसलाई विषयान्तर गर्न र संसद्को रोष्ट्रमबाट गृहमन्त्री लेखकले पीडितलाई दिएको धम्कीको नियोजित ऋंखला मानेको छ’ उनले लेखेका छन्, ‘सासंद श्रेष्ठले निर्देशन दिएको’ भनेर आएको समाचार गलत छ ।’

दुर्गा प्रसाईंको भिडियो खिचेका दाहाललाई ५ हजार धरौटीमा छोड्न अदालतको आदेश

काठमाडौं । गएको चैत १५ मा तीनकुनेमा भएको राजावादी प्रदर्शनमा दुर्गा प्रसाईंको भिडियो खिचेका पत्रकार प्रकाशचन्द्र दाहाललाई अदालतले धरौटीमा छोड्न आदेश दिएको छ ।
न्यायाधीश रेशराज शर्माको इजलासले दाहाललाई ५ हजार धरौटीमा छोड्न आदेश दिएको अदालतका सूचना अधिकारी दीपक श्रेष्ठले बताए ।

प्रसाईंले ‘आओ, आओ’ भन्दै गरेको भिडिओ खिचेका दाहालविरुद्ध सरकारी वकिलको कार्यालय काठमाडौंले आपराधिक उपद्रव र सङ्गठित अपराधको अभियोगमा मुद्दा दर्ता गराएको थियो ।

दाहाल ‘नेपाल पुकार’ नामक अनलाइन पोर्टल चलाउँछन् । त्यही नामको युट्युब च्यानल पनि उनले चलाउँछन् । दुर्गा प्रसाईंले गाडी चलाउँदै आफ्ना समर्थकलाई बोलाइरहँदा त्यही गाडीमा रहेका दाहालले आफ्नो युट्युब च्यानलमा लाइभस्ट्रिम गरेका थिए ।

दाहालले आपराधिक समूह/सङ्गठनसँग मिलेमतो गरी राज्य संस्था र संवैधानिक संरचना पल्टाउने उद्देश्यले भएको घोषणा सभामा उपस्थित भई आपराधिक उपद्रव गरेको अभियोग पत्रमा दाबी गरिएको छ ।

सन्दीपसहित ६ नेपाली खेलाडी बिबिएलको ड्राफ्टमा

काठ्माण्डौँ- अस्ट्रेलियाको चर्चित फ्रेन्चाइज क्रिकेट प्रतियोगिता बिग ब्यास लिग (बिबिएल) को नयाँ सिजनको ड्राफ्टमा नेपालका ६ जना खेलाडी समावेश भएका छन् ।

ड्राफ्टमा पर्नेमा सन्दीप लामिछाने, देव खनाल, शेर मल्ल, विपिनप्रसाद शर्मा, आरिफ शेख र अर्जुन साउद रहेका छन् ।

सन्दीपले बिबिएलमा खेल्ने अनुभव पहिले नै हासिल गरिसकेका छन् । उनले मेलबर्न स्टार्स र होबर्ट हरिकेन्सबाट दुई संस्करणमा प्रतिनिधित्व गरेका थिए ।

यो वर्षको ड्राफ्टमा कुल १९ देशका ४४० खेलाडी सहभागी छन् । सन्दीप र ललित गत संस्करणको ड्राफ्टमा पनि सहभागी भएका थिए । तर, उनीहरूमाथि कुनै पनि टोलीले बोली लगाएनन् ।

बिबिएलको अक्सन आगामी १९ जुनमा आयोजना गरिनेछ ।

कैलालीमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

कैलाली । पछिल्लो तीन घण्टामा कैलालीमा भारी वर्षा भएको छ । कैलालीस्थित बुडियम वर्षामापन केन्द्रमा भारी वर्षा मापन भएको र थप वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।  कैलाली भई बहने स–साना खोलाहरूमा बहाब बढ्न सक्ने भएकोले तटीय क्षेत्र तथा डुबान भइरहने होचा भू–भागमा रहनेले साँझसम्म सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

विभागले बुधबार (असार ४) दिउँसो २:५५ बजे जारी गरेको सूचनामा भनिएको छ, “पछिल्लो ३ घण्टामा कैलालीस्थित बुडियम वर्षामापन केन्द्रमा भारी वर्षा मापन भएको र थप वर्षा हुने सम्भावना रहेकोले, कैलाली जिल्ला भई बहने स–साना खोलाहरूमा बहाब बढ्न सक्ने भएकोले तटीय क्षेत्र तथा डुबान भइरहने होचा भू–भागमा रहनुहुनेहरूले साँझसम्म सतर्कता अपनाइराखौँ ।”

गाजामा इजरायली आक्रमणमा ३० जनाको मृत्यु

एजेन्सी । गाजा पट्टीका धेरै क्षेत्रमा सहायता खोज्नेहरू, घरहरू र विस्थापित व्यक्तिहरूको शिविरहरूलाई लक्षित गरी भएको इजरायली हवाई आक्रमणमा ३० प्यालेस्टिनीको मृत्यु हुनुका साथै र दर्जनौँ घाइते भएका छन् ।
मध्य गाजा पट्टीको सालाह अल-दिन स्ट्रिटमा बुधबार बिहानै सहायताका लागि पर्खिरहेका मानिसमाथि इजरायली आक्रमणमा ११ जना प्यालेस्टिनी मारिएको र करिब एक सय जना घाइते भएको चिकित्सा स्रोतहरूले बताएका छन् । मध्य गाजा पट्टीको माघाजी शरणार्थी शिविरमा रहेको एउटा घरलाई निशाना बनाएर गरिएको आक्रमणमा छ जना मारिएका छन् भने अन्य घाइते भएका छन् ।

दक्षिणी गाजा पट्टीमा, खान युनिसको अल-मवासी क्षेत्रको अल-अत्तारमा विस्थापित व्यक्तिहरूको शिविरमा इजरायली विमानले आक्रमण गर्दा तीन भाइसहित पाँच प्यालेस्टिनी मारिएको र अन्य धेरै घाइते भएका छन् । गाजा सहरमा, सहरको दक्षिणपूर्वमा अल-जेइटाउन छिमेकमा रहेको अली बिन अबी तालिब मस्जिद नजिकैको घरमा इजरायली आक्रमणमा आठ जना नागरिकको मृत्यु र अन्य धेरै घाइते भएका छन् ।

सन् २०२३ अक्टोबर ७ देखि गाजा पट्टीमा इजरायली आक्रमणबाट मर्नेहरूको सङ्ख्या ५५ हजार चार सय ९३ पुगेको छ भने एक लाख २९ हजार तीन सय ३२० जना घाइते भएका छन् । जनवरी १९ देखि लागू भएको युद्धविराम सम्झौता अन्तर्गत दुई महिना रोकिएपछि इजरायली कब्जाले मार्च १८ मा गाजा पट्टीमा आफ्नो आक्रमण पुनः सुरु गरेको थियो । यद्यपि, अभूतपूर्व मानवीय त्रासदीको सामना गरिरहेको पट्टीका विभिन्न क्षेत्रलाई लक्षित गर्दै इजरायलले बारम्बार आफ्ना सर्तहरू उल्लङ्घन गरेको छ ।

पश्चिम भारतमा वर्षाका कारण कम्तीमा १८ जनाको मृत्यु

काठमाडौं । भारतको पश्चिमी गुजरातका केही भागमा भारी वर्षाका कारण सोमबारदेखि कम्तीमा १८ जनाको मृत्यु भएको राज्य अधिकारीहरूले बताएका छन् । अधिक भारी मनसुनी वर्षाका लागि तयारी गरिरहेका राज्यका दक्षिणका बासिन्दाहरूलाई सहयोग गर्न विपद् प्रतिक्रिया टोलीहरू तैनाथ गरिएको छ ।
‘वर्षासँग सम्बन्धित घटनामा १८ जनाको ज्यान गएको छ, विपद् प्रतिक्रिया टोलीहरूले तल्लो क्षेत्रमा दर्जनौँलाई उद्धार गरेका छन्’, राज्य सरकारले मङ्गलबार राति भनेको छ । सबैभन्दा बढी प्रभावित क्षेत्रहरूमा पालिताना र जेसर सहरहरू समावेश छन् । यी सहरमा मङ्गलबार पछिल्लो २४ घण्टामा आठ सय ६७ मिलिमिटर ३४ इन्च वर्षा भएको छ ।

राज्य राहत आयुक्त आलोककुमार पाण्डेले खराब मौसमका कारण आँधीबेहरी, चट्याङ र संरचनात्मक पतनका कारण १८ जनाको मृत्यु भएको बताए । ‘स्थितिलाई सम्हाल्न राज्य पूर्ण रूपमा तयार छ र द्रुत राहत तथा उद्धार कार्य सुनिश्चित गर्न अन्तर–विभागीय समन्वयलाई तीव्र बनाइएको छ’, पाण्डेले भने ।

उद्धार गरिएका मध्ये गढडा क्षेत्रका आँपको बगैँचामा फसेका १८ जना खेत मजदुर र सुरेन्द्रनगर जिल्लाका २२ जना थिए । त्यहाँ बगिरहेको नदीको पानी उनीहरूको घरमा प्रवेश गरेको थियो । भारतको जुनदेखि सेप्टेम्बरसम्मको वार्षिक मनसुन मौसमले तीव्र गर्मीको गर्मीबाट राहत दिन्छ र पानीको आपूर्ति पुनःपूर्तिका लागि महत्त्वपूर्ण छ ।

तर एक अर्ब ४० करोड जनसङ्ख्या भएको भारतभरि आकस्मिक बाढी र भूस्खलनका कारण हरेक वर्ष वर्षाको मौसममा धेरै मानिसको मृत्यु हुन्छ ।

उच्चस्तरीय सुशासन आयोगको बैठक सम्पन्न

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज उच्चस्तरीय सुशासन आयोगको पहिलो बैठक सम्पन्न भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिरिषद्को कार्यालय सिंहदरबारमा भएको बैठकमा आयोग गठनको उद्देश्य, कार्यक्षेत्र निर्धारण र प्राथमिकताका कार्यसूचीबारे छलफल भएको थियो । आयोगमा राजनीतिक दल, विज्ञ र निजी क्षेत्रका प्रतिनिधिको मनोनयन यथाशीघ्र गर्नेगरी अर्को साता दोस्रो पूर्ण बैठक बस्ने भएको छ ।

गत वैशाख ८ गतेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री ओलीको अध्यक्षतामा १५ सदस्यीय आयोग गठन गरेको थियो ।

आयोगमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया, सामान्य प्रशासन तथा सङ्घीय मामिला मन्त्री राजकुमार गुप्तालगायत सहभागी थिए ।

मन्त्रिपरिषद् बैठकका १८ निर्णय

काठ्माण्डौँ- सरकारले पुल सुधार तथा मर्मत कार्यक्रम तेस्रो चरणका लागि विश्व बैंकबाट प्राप्त हुने करिब २० अर्ब ७९ करोड नेपाली रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गरेको छ ।
असार २ गते बसेको मन्त्रिपरिषद्को बैठकले विश्व बैंकबाट प्राप्त हुने करिब २० अर्ब ७९ करोड नेपाली रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

उनका अनुसार, सरकारले दक्षिण कोरिया सरकारबाट बर्दियामा सञ्चालन हुने समावेशी ग्रामीण विकास परियोजनाका लागि प्राप्त हुने करिब एक अर्ब आठ करोड ८० लाख नेपाली रुपैयाँ अनुदान सहायता स्वीकार गरेको छ ।

त्यस्तै, विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट रणनीतिक सडक सञ्जाल तथा व्यापारिक मार्ग सुधार आयोजनाका लागि उपलब्ध हुने करिब २९ अर्ब ७२ करोड नेपाली रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय बैठकले गरेको छ ।

 

यस्ता छन् सरकारका निर्णय :
– पुल सुधार तथा मर्मत कार्यक्रम तेस्रो चरणको लागि विश्व बैंकबाट प्राप्त हुने करिब २० अर्ब ७९ करोड नेपाली रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने ।

– दक्षिण कोरिया सरकारबाट बर्दिया जिल्लामा सञ्चालन हुने समावेशी ग्रामीण विकास परियोजनाका लागि प्राप्त हुने करिब १ अर्ब ८ करोड ८० लाख नेपाली रुपैयाँ अनुदान सहायता स्वीकार गर्ने ।

– विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट रणनीतिक सडक सञ्जाल तथा व्यापारिक मार्ग सुधार आयोजनाका लागि उपलब्ध हुने करिब २९ अर्ब ७२ करोड नेपाली रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने ।

– मत्स्यपालन अनुदान सम्बन्धी विश्व व्यापार संगठन सम्झौता अनुमोदनको लागि संघीय संसदसमक्ष पेश गर्न स्वीकृति प्रदान गर्ने ।

– वैदेशिक रोजगार न्यायाधिकरणको अध्यक्ष पदमा उच्च अदालत पाटन, हेटौंडा इजलासका माननीय न्यायाधीश डा. श्री शान्ता सेढाई सापकोटालाई तोक्ने ।

– सत्य निरुपण तथा मेलमिलाप आयोगका सचिव श्री पाराश्वर ढुङ्गानालाई कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको सचिव पदमा सरुवा गर्ने ।

– सशस्त्र प्रहरी नायव महानिरीक्षक श्री गणेशबहादुर ठाडा मगरलाई सशस्त्र प्रहरी बल, नेपालको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा नियुक्त गरी पदस्थापन गर्ने ।

– २०८२ असार १६ गतेदेखि २१ गतेसम्म सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा स्पेनको औपचारिक भ्रमणमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डल गठन गर्ने ।

– नेपाल सरकारको नाममा दर्ता रहेको १० रोपनी जग्गा १५ शय्याको अस्पताल निर्माण गर्न आँबुखैरेनी गाउँपालिका, तनहुँलाई प्रयोग गर्न दिन स्वीकृति दिने ।

– जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, चितवनलाई २ बिघा, १३ कठ्ठा १५ धुर सार्वजनिक प्रकृतिको जग्गा सय शय्याको आयुर्वेद अस्पताल निर्माणका लागि प्रयोग गर्न स्वीकृति दिने ।

– २०८२ असार १३ गतेदेखि १५ गतेसम्म टर्कीमा आयोजना हुने ग्लोवल ट्रान्सपोर्ट कनेक्टिीभिटी फोरम २०२५ कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री माननीय देवेन्द्र दाहाललाई सहभागी हुन स्वीकृति प्रदान गर्ने ।

– २०८२ असार ३ गतेदेखि ४ गतेसम्म दुबईमा आयोजना हुने खेलकुदमा एन्टी–डोपिङ (एओआरआइएम) सम्बन्धी २० औँ एशिया/ओशिनिया क्षेत्र अन्तर–सरकारी मन्त्रीस्तरीय बैठक विषयक कार्यक्रममा सहभागी हुन युवा तथा खेलकुद मन्त्री माननीय तेजुलाल चौधरीलाई स्वीकृति प्रदान गर्ने ।

– २०८२ असार ९ र १० गते भारतको पुणेमा आयोजना हुने नेपाल–भारत द्विपक्षीय परामर्श समूहको सोह्रौं बैठकमा नेपालका तर्फबाट सहभागी हुने नेपाली प्रतिनिधिमण्डल गठन गर्ने ।

– मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए) लाई ४०० के. भी. डवलसर्किट विद्युत् प्रसारणलाइन आयोजना निर्माणको लागि नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लाको सुनवल नगरपालिका, रामग्राम नगरपालिका र बर्दघाट नगरपालिकामा रहेको राष्ट्रिय वनको ४३.६६ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने ।

– २०८२ असार २३ गतेदेखि २७ गतेसम्म स्वीट्जरल्याण्डको जेनेभामा सञ्चालन हुने वल्र्ड समिट अन द इन्फरमेसन सोसाइटी फोरम हाई लेभल इभेन्ट तथा एआई फर गुड ग्लोवल समिट २०२५ कार्यक्रममा सहभागी हुन सञ्चार तथा सूचना प्रविधिमन्त्री माननीय पृथ्बी सुब्बा गुरुङलाई स्वीकृति प्रदान गर्ने ।

– २०८२ असार ९ गतेदेखि १३ गतेसम्म थाइल्याण्डको बैंककमा आयोजना हुने थर्ड मिनिस्ट्रियल कन्फ्रेन्स अन सिभिल रजिस्ट्रेसन एन्ड भिटल स्टाटिजक्सि इन एसिया एन्ड द प्यासिफिक कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री माननीय प्रदीप पौडेललाई सहभागी हुन स्वीकृति प्रदान गर्ने ।

– इन्टरनेसनल बिग क्याट एलाइन्सको सदस्यता प्राप्त गर्न स्वीकृति प्राप्त गर्ने ।

– नेपाल प्रशासन सेवा समुहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त पदमा राजपत्राङ्कित प्रथम श्रेणीका सहसचिव डा. खगेन्द्रप्रसाद सुवेदीलाई बढुवा गर्ने ।

– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव श्री निर्मला अधिकारी भट्टराईलाई सत्य निरुपण तथा मेलमिलाप आयोगको सचिव पदमा कायममुकायम मुकरर गर्ने ।

कैलाली कारागारमा हरिसिंहको रहस्यमय मृत्युपछि डडेल्धुरामा राजमार्ग बन्द

धनगढी : कैलाली कारागारमा २८ वर्षीय हरिसिंह पालीको हत्या गरिएको भन्दै डडेल्धुरामा राजमार्ग बन्द गरिएको छ।
डडेल्धुराको भागेश्वर गाउँपालिका–५ का पालीको प्रहरीले कुटपिट गरेर हत्या गरेको भन्दै राजमार्ग बन्द गरिएको हो। उनको सोमवार राति सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको कैलाली प्रहरीले बताएको छ। बैंकिङ्ग कसुरमा पक्राउ परेका पालीका शरीरमा निलडाम छन्। उनको टाउँकोको पछाडीबाट रगतसमेत आएको छ।

उनलाई २९ फागुनमा कैलाली जिल्ला अदालतले १० दिन कैद र दुई लाख रुपैयाँ जरिवाना तोकेको थियो। सोही सजाय कार्यान्वयन गर्न पालीलाई डडेल्धुराको अमरगढी नगरपालिका–५ स्थित तुफानडाँडाबाट पक्राउ गरिएको थियो। पक्राउपछिको दुई दिनमै उनको कैलाली कारागारमै मृत्यु भएको हो।

मृतकका काका पदम सिंह पालीले प्रहरी नायब निरीक्षक हरिजित नाथमाथि रकम मागेको आरोप लगाएका छन्। उनले असार २ गते मात्र हरिजित नाथकै खातामा ८५ हजार रुपैयाँ ट्रान्सफर गरेको बताए। उनले भने, ‘हामीले ८५ हजार पठाएका थियौ। तर, त्यसपछि प्रहरीको वर्दीको आडमा उनीमाथि यति धेरै दमन गरियो कि शरीरभर निलडाम थिए, टाउकाबाट रगत बगेको थियो।’ यसअघि पनि हरिजितले महेन्द्रनगरमा दुई घण्टा हिरासतमा राखेर बार्गेनिङ गरेर छोडेका परिवारका सदस्यले आरोप लगाएका छन। प्रहरीले पालीलाई निजी सवारी प्रयोगमा डडेल्धुराबाट कैलाली ल्याइएको हो।

उनको शव सेती प्रादेशिक अस्पतालको शवगृहमा राखिएको छ। शवमा कुटपिटको निलडाम रहेको भिडियोसमेत सार्वजनिक भएको छ। आफन्तहरूले सत्यतथ्य नखुलेसम्म र दोषीलाई कारबाही नभएसम्म शव नउठाउने अडान लिएका छन्। तर, कैलाली कारागारका जेलर वसन्त खत्रीले भने राति साढे १० बजेतिर शौचालयमा लडेको खबर सुरक्षा गार्डले गरेका बताएका छन्।

त्यसपछि कारागारमा कार्यरत अहेवलाई पठाइएको थियो। घटना गम्भीर देखिएपछि सेती अस्पताल लगिएको थियो। राति १२ः१५ मा उनको निधन भएको हो। पाली १ गते मात्रै कारागार आएका थिए।

मस्कको स्टारलिंकलाई भारतमा लाइसेन्स प्रदान

काठमाडौं । नयाँदिल्लीले एलन मस्कको स्टारलिंक स्याटेलाइट इन्टरनेट सेवालाई इजाजतपत्र प्रदान गरेको छ । यसले भारतको ‘कनेक्टिभिटीको अर्को सीमा’ खोलेको भारतका सञ्चारमन्त्रीले बताएका छन् ।

पृथ्वीको निम्न कक्षाका उपग्रहहरू प्रयोग गरेर दुर्गम स्थानहरूमा उच्च गतिको इन्टरनेट पहुँच प्रदान गर्ने स्टारलिङ्कको सुरुआतले भारतमा प्रिडेटरी मूल्य निर्धारणदेखि स्पेक्ट्रम बाँडफाँटसम्मका विषयहरूमा तीव्र बहस सुरु गरेको छ ।

सञ्चारमन्त्री ज्योतिरादित्य सिन्धियाले स्टारलिंकका मालिक स्पेसएक्सका अध्यक्ष र प्रमुख परिचालन अधिकारी ग्वेनी सटवेलसँग ‘फलदायी बैठक’ गरेको बताए । ‘सटवेलले स्टारलिंकलाई दिइएको इजाजतपत्रको प्रशंसा गर्दै यसलाई यात्राको उत्कृष्ट सुरुआत भन्नुभएको छ,’ मन्त्रीले मङ्गलबार मस्कको स्वामित्वमा रहेको सामाजिक सञ्जाल प्लेटफर्म एक्समा भने ।

यो भारतका दुई ठूला टेलिकम सेवा प्रदायक जिओ प्लेटफर्म र यसको प्रतिद्वन्द्वी भारती एयरटेलले मार्चमा आफ्ना ग्राहकहरूलाई स्टारलिंक इन्टरनेट प्रदान गर्न स्पेसएक्ससँग सम्झौता गरेको घोषणा पछि आएको हो । स्पेसएक्सका मालिक मस्कले एसियाका सबैभन्दा धनी व्यक्ति र जिओ प्लेटफर्मका मालिक मुकेश अम्बानीसँग स्याटेलाइट स्पेक्ट्रम कसरी प्रदान गर्ने भन्ने विषयमा कुरा गरेका छन् ।

भारतमा मस्कका व्यापारिक चासोहरू हाल एक्समा मात्र सीमित भएता पनि टेक उद्यमीको इलेक्ट्रिक सवारी साधन निर्माता टेस्लाले देशमा प्रवेशको तयारी गरिरहेको छ ।

 

प्रधानमन्त्रीको स्पेन भ्रमण मन्त्रिपरिषद्‌बाट स्वीकृत

काठमाडौं– सरकारले असार १६ गतेदेखि हुने प्रधानमन्त्रीको स्पेनको औपचारिक भ्रमणमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डल गठन गर्ने निर्णय गरेको छ ।
बुधबार सिंहदरबारमा असार २ गते बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले असार १६ गतेदेखि २१ गतेसम्म प्रधानमन्त्रीको नेतृत्वमा स्पेनको औपचारिक भ्रमणका सहभागी हुने नेपाली प्रतिनिधिमण्डल गठन गर्ने निर्णय भएको जानकारी दिए । प्रधानमन्त्रीको नेतृत्वमा २१ सदस्य प्रतिनिधिमण्डल स्पेन जाने उनले बताए ।

मन्त्रिपरिषद्ले पुल सुधार तथा मर्मत कार्यक्रम तेस्रो चरणका लागि विश्व बैंकबाट प्राप्त हुने करिब २० अर्ब ७९ करोड नेपाली रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ ।

त्यस्तै दक्षिण कोरिया सरकारबाट बर्दिया जिल्लामा सञ्चालन हुने समावेशी ग्रामीण विकास परियोजनाका लागि प्राप्त हुने करिब १ अरब ८ करोड ८० लाख नेपाली रुपैयाँ अनुदान सहायता स्वीकार गर्ने र विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थासँग रणनीतिक सडक सञ्जाल तथा व्यापारिक मार्ग सुधार आयोजनाका लागि करिब २९ अर्ब ७२ करोड नेपाली रुपैयाँ बरावरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय भएको प्रवक्ता गुरुङले बताए ।

बैठकले सत्य निरूपण तथा मेलमिलाप आयोगका सचिव पाराश्वर ढुङ्गानालाई कानून मन्त्रालयको सचिव पदमा सरुवा गर्ने निर्णय भएको उनले जानकारी दिए ।

प्रवक्ता गुरुङले निजामती विधेयकलाई रोक्नुपर्ने कुनै कारण नभएको भन्दै प्रतिनिधिसभामा पेश भएर छलफल भएपछि पारित हुने बताए । विधेयक रोक्न सरकारलाई कर्मचारीले दबाब दिएको भन्ने हल्लामा सत्यता नरहेको उनले उल्लेख ग रे।

प्रवक्ता गुरुङले सरकारी सञ्चारमाध्यमलाई समावेशी बनाउँदै लैजाने सरकारको नीति रहेको बताए ।

राष्ट्रपतिबाट एक विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनबाट पारित भएको एक विधेयक प्रमाणीकरण गरेका छन् ।
उनले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धी विधेयक प्रमाणीकरण गरेका हुन् ।

राष्ट्रपतिले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालय शीतल निवासकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्तिमार्फत जानकारी दिएकी छन् ।

उपसभामुख राना दक्षिण अफ्रिका प्रस्थान

काठमाडौँ, ४ असार स्उपसभामुख इन्दिरा रानामगर दक्षिण अफ्रिका दक्षिण अफ्रिकाको प्रिटोरिया सहरमा आयोजना हुने लोकतन्त्रसम्बन्धी उच्चस्तरीय संवादमा भाग लिन आज  त्यसतर्फ प्रस्थान गरेका छन्  ।

उनले इन्टरनेशनल इन्स्टिच्युट फर डेमोक्रेसी एण्ड इलेक्टोरल असिस्टेन्स ९आइडिइए०, ओपन सोसाइटी फाउण्डेशन र दक्षिण अफ्रिकाको अन्तरराष्ट्रिय सहयोग तथा सम्बन्ध विभागको आयोजनामा यही असार पाँच र छ मा हुने ‘अफ्रिकामा लोकतन्त्रको पुनःपरिकल्पना, विश्वव्यापी दक्षिणका तुलनात्मक अनुभवहरू’। विषयक उच्चस्तरीय संवादमा भाग लिने कार्यक्रम छ । उहाँ जेठ ८ गते स्वदेश फर्किनेछन् ।

विमानस्थलबाट १ किलो सुनसहित भारतीय नागरिक पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलोभन्दा बढी सुनसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारती नागरिक ५३ वर्षीया मीना सुर्जित सिंह खेमानी छिन् । उनलाई मंगलबार राति विमानस्थलबाट प्रहरीले पक्राउ गरेको हो ।

विमानस्थलको आगमन भन्सार एरियाको टनेलबाट १ किलो १५९ ग्राम सुनसहित उनलाई प्रहरीले पक्राउ गरेको हो । अर्धठोसको स्वरूपमा उक्त सुन ल्याइएको प्रहरीले बताएको छ । एयर अरेबियाको उडानमार्फत शारजाहबाट काठमाडौँ आएकी उनलाई शंका लागेर जाँच गर्दा सुन फेला परेको प्रहरीले बताएको छ । प्लाष्टिकले र्‍याप गरेका तीन वटा डल्ला अर्धठोस सुन उनीबाट बरामद भएको छ ।

मुलुकको समृद्धि नै संविधान र गणतन्त्रले राखेको अभिष्ट हो : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले जनताको जीवनस्तरमा सुधार र मुलुकको समृद्धि नै हाम्रो संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अभिष्ट भएको बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नाममा स्थापित ‘पुष्पलाल राष्ट्रिय पुरस्कार २०८२’ वितरण समारोहमा उनले अग्रज नेताको संघर्ष, त्याग र नेपाली जनताको ठूलो बलिदानबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्राप्त गरेकाले गणतन्त्रको अभिष्ट जनताको जीवनस्तरमा सुधार र मुलुकको समृद्धि भएको उल्लेख गरेका हुन् ।

सो अवसरमा राष्ट्रपति पौडेलले राजनीति तर्फको सम्मान शान्त मानवी, इतिहासतर्फका सम्मान डा मेदिनीप्रसाद सेढाईं र साहित्यतर्फ राममणि पोखरेललाई सम्मान गरेका थिए । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले हरेक वर्ष प्रदान गर्दै आएको सो पुरस्कारको राशि १ लाख रहेको छ ।

राष्ट्रपति पौडेलले भने, ‘सुशासन र जनतामा सेवा प्रवाहको चुस्ततासहित हाम्रा स्रोत, साधनहरूको समुचित उपयोगबाट लोकतन्त्र र संविधानले राखेको लक्ष्य पूरा हुनेछ । यो लक्ष्य पूरा गरे मात्र लोकतन्त्रका लागि आफूलाई समर्पण गरेका नेताहरूप्रति सच्चा श्रद्धाञ्जली हुनेछ ।’

राष्ट्रपति पौडेलले पुष्पलालले नेपाली समाजको आर्थिक ढाँचा, वर्ग विश्लेषण, उत्पादन प्रणाली र समाजका अन्तरविरोधहरूलाई सूक्ष्म ढङ्गले अभिलेखन गर्न पनि योगदान गरेको उल्लेख गरे।

राष्ट्रपति पौडेलले पुष्पलालको चिन्तन नेपाली कम्युनिष्टहरूलाई लोकतान्त्रिक प्रक्रियामा रूपान्तरण गर्न एउटा महत्वपूर्ण वैचारिक जग भएको बताउँदै उहाँको यो विचार उपयुक्त थियो भन्ने ०४६ सालको परिवर्तनले पुष्टि गरेको बताए।

राष्ट्रपति पौडेलले पुष्पलालको यो विचार उपयुक्त थियो भन्ने ०४६ सालको परिवर्तनले पुष्टि गरेको बताए। संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री बद्रीप्रसाद पाण्डेले पुष्पलालको विचार नेपालको बामपन्थी आन्दोलनलाई नेतृत्व दिन सार्थक रहेको विचार व्यक्त गरे । नेकपा (एकीकृत समाजवादी)का नेता डा. बेदुराम भुसालले पुष्पलालले बामलोकतान्त्रिक धारलाई साथसाथ लैजानुपर्छ भन्ने वितचार २०४६ सालको परिवर्तनले सिद्ध गरेको बताए ।

सम्मानित व्यक्तित्व राजनीतिज्ञ मानवीले तत्कालीन पञ्चायत व्यवस्थाको अप्ठ्यारो परिस्थितिमा परिवर्तनका लागि आफूले जुनकिरी झै बनेर काम गरेको अनुभव सुनाए । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव हरिप्रसाद मैनालीले पुरस्कार स्थापनाको उद्देश्य र सम्मानित व्यक्तित्वको बारेमा चर्चा गरेका थिए ।

कतै पनि सग्लो र धोएको मुला जस्तो पार्टी भेटिंदैन : बिष्णु पौडेल

काठमाडौं- सत्तारुढ नेकपा एमलेका उपाध्यक्ष एवं उपप्रधान तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले नेकपा एमालेमा देखिएका समस्याको समाधान गर्न नेतृत्व सक्षम रहेको बताएका छन्।
समकालीन राजनीतिक पार्टीमा एमाले नै कम आन्तरिक समस्या भएको पार्टी रहेको उनले बताएका छन्। यस पार्टीमा देखिएका समाधानका लागि कसैको सहयोग नचाहिने उनले स्पष्ट पारे।

नेकपा एमाले जनसंगठन संयन्त्रको बैठकलाई सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले सो कुरा बताएका हुन्। ‘कतै पनि सग्लो पार्टी भेटिंदैन । धोएको मुला जस्तो, गंगाजल जस्तो पार्टी भेटिंदैन’ उपाध्यक्ष पौडेलले भने, ‘तर एमाले कम आन्तरिक समस्या भएको पार्टी हो। जे जस्ता समस्या पार्टीमा देखिन्छन् तिनलाई समाधान दिन वर्तमान नेतृत्व सक्षम छ।’ एमालेमा केही केही समस्या भए पनि तिनलाई नीति र विधीको माध्यमबाट समाधान गरिने उनले बताए।

उपाध्यक्ष पौडेलले पार्टीको विधान महाधिवेशन नजिकिदै गरेकोले त्यसको तयारीमा पार्टी लागिरहेको जानकारी दिए। भदौको तेस्रो साता हुने विधान महाधिवेशनले १० औं राष्ट्रिय महाधिवेशनपछि पार्टीले बैधानिक रुपमा सच्याउनु पर्ने, कार्यन्वयन गर्न भएका अफ्ठ्यारालाई सहज बनाउन विधान महाधिवेशनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए। ‘विधान महाधिवेशन अघिल्लो विधान महाधिवेशन देखि हालसम्म पार्टी संगठन सञ्चालनमा देखिएका समस्यालाई वैधानिक रुपमा नै सुधार गर्ने विधि तय गर्नेछौं’ उपाध्यक्ष पौडेलले भने, ‘केन्द्रीय कमिटीले विधानमा संसोधन गर्नुपर्ने विषयहरु प्रस्ताव गर्द । यी विषयहरु हामी महाधिवेशन प्रतिनिधिलाई पहिले नै पठाएर थप समृद्ध गर्न भन्नेछौं।’ उनले विधान महाधिवेशन नै नभइ पार्टी नेतृत्वका विषयमा अनावश्यक अनुमान गर्ने र विभाजित हुने काम नगर्न उनले जनसंगठनलाई निर्देशन दिए । ‘विधान महाधिवेशन भन्दा पहिला नेतृत्वको विषयमा छलफल नगरौं’ पौडेलले भने, ‘विधान महाधिवेशनले विधि तय गरेपछि नेतृत्वको बारेमा छलफल गरौंला। एमालेमा नेतृत्वको विषयमा कुनै समस्या छैन ।’

उपाध्यक्ष पौडेलले पार्टी र जनसंगठनमा देखिएको शिथिलतालाई चिर्न सबै लाग्नुपर्ने बताए। ‘एमालेमा कुनै बेला सिटी फुकेको भरमा हजारौं मानिस सडकमा आउँथे । अहिले किन मानिसह शिथिल भएका छन् ?’ उपाध्यक्ष पौडेलले भने, ‘आम जनतामा उर्जा भर्न र जनताको बीचमा जान पार्टीका महत्वपूर्ण अंग जनसंगठन नै हुन् । उनीहरुले यो भूमिका निवार्ह गर्नु पर्दछ।’ उपाध्यक्ष पौडेलले पार्टी निर्माणमा जनसंगठनको शसक्त भूमिका निर्वाह गर्नुपर्ने बताए। उनले २०४६/०४७ सालका जनसंगठन, २०६२/०६३ सालका जनसंगठन धेरै शसक्त भएको स्मरण गर्दै उनले वर्तमान अवस्थामा जनसंगठन पनि सुस्ताएको बताए।

टी-२० सिरिज : बिहीबार नेपालले नेदरल्यान्ड्ससँग दोस्रो प्रतिस्पर्धा गर्दै

काठमाडौं – नेपालले बिहीबार त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ। पहिलो खेलमा तीन वटासम्म सुपर ओभर खेलेर नेदरल्यान्ड्ससँगको खेललाई ऐतिहासिक बनाएको नेपालको दोस्रो भिडन्तलाई महत्त्वका साथ हेरिएको छ।
पहिलो खेलमा तेस्रो सुपर ओभर पुग्दासमेत पराजित भएको नेपाल दोस्रो भेटमा नेदरल्यान्ड्ससँग बदला लिने दाउमा छ। त्रिकोणात्मक सिरिजका दुईदुई खेल सकिँदा तीन टिमले एक जित र एक हार भोगेका छन्। पहिलो खेलमा नेदरल्यान्ड्ससँग पराजित भएको नेदरल्यान्डले दोस्रो खेलमा नेपाललाई सुपर ओभरमा हराएको हो। स्कटल्यान्ड भने दोस्रो खेलमा नेपालसँग दुई विकेटले पराजित भएको छ।

रनरेटका आधारमा आयोजक स्कटल्यान्ड सिरिजको शीर्ष स्थानमा छ भने नेपाल दोस्रो र नेदरल्यान्ड तेस्रो स्थानमा छन्। बुधबार स्कटल्यान्डसँग नेदरल्यान्डसले प्रतिस्पर्धा गर्दैछ। नेपालले भने बिहीबार र शुक्रबार लगातार दुई खेल खेल्ने छ। बिहीबार नेदरल्यान्ड्सको सामना गर्न लागेको नेपालले अन्तिम खेलमा शुक्रबार आयोजक स्कटल्यान्डको सामना गर्नेछ।

सिरिजको उद्घाटन खेलमा आइतबार आयोजक स्कटल्यान्डले नेदरल्यान्ड्सलाई ३९ रनले हराएको थियो। दोस्रो खेलमा नेदरल्यान्ड्सले नेपाललाई तेस्रो सुपर ओभरमा हरायो। तेस्रो खेलमा नेपालले आयोजक स्कटल्यान्डलाई दुई विकेटले हराएको छ।

अब हुने तीन खेलले सिरिजको उपाधिको टुंगो लाग्ने छ। ठुलो र सानो स्कोरको जस्तोसुकै खेल भए पनि नेपालको खेल हेर्न लायक छ। स्कटल्यान्ड भ्रमणपछि नेपाली क्रिकेटको चर्चा विश्वका मिडियामा भइराखेको छ। अघिल्लो खेल रोचक बनेकाले धेरैले नेदरल्यान्ड्सँगको नेपालको दोस्रो खेलको प्रतिक्षा गरेका छन्।

नेपाल र नेदरल्यान्ड्सको दोस्रो खेल बिहीबार साँझ ७:४५ बजे सुरु हुनेछ। रोहित पौडेलको कप्तानीमा रहेको नेपालको टिमका नियमित खेलाडी सोमपाल कामी, गुल्सन झा र नन्दन यादव घाइते हुँदा लोकेश बम, किरण ठगुन्ना, रुपेश सिंह र बसिर अहमद जस्ता नयाँ खेलाडीले अवसर पाइरहेका छन्। यो सिरिजका दुई खेलमा आशिफ र आरिफ शेख दाजुभाइसँगै भीम सार्कीलाई समेत बेन्चमा राखिएको छ।

तीन टोलीबिच लिग-२ को सिरिजपछि टी-२० सिरिज भएको हो । लिग-२ को एक दिवसीय सिरिजमा नेपालले चार खेलमा तीन जित निकालेको छ ।

प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको बैठक बस्दै

काठमाडौं– समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक आज बस्दैछ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आज दिउँसो ३ बजे बस्ने बैठकमा प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुने प्रधानमन्त्रीका स्वकीय अधिकृत उदय पोखरेलले जानकारी दिए।

प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (राप्रपा)को जारी अवरोध, समसामयिक गतिविधिलगायत विषयमा उनीहरूबीच छलफल हुने जनाइएको छ ।

इजरायलमा रहेका नेपालीको उद्धारका लागि दूतावासद्वारा विवरण संकलन सुरू

काठमाडौँ : इजरायलस्थित नेपाली दूतावासले इजरायल र इरानमा रहेका नेपालीको उद्धार प्रयोजनका लागि विवरण संकलन सुरू गरेको छ ।
तेल अविवस्थित दूतावासले सूचना निकाल्दै नेपालीको उद्धार तथा स्वदेश फिर्ती प्रयोजनका लागि अनलाइन दर्ताको व्यवस्था गरेको हो ।

‘इजरायलमा विकसित पछिल्लो परिस्थितिका बीच समस्यामा/त्रासमा रहेका नेपाली नागरिकहरूको आवश्यकतानुसार उद्धार, स्वदेश फिर्ती तथा अन्य प्रयोजनका लागि आधार प्राप्त होस् भन्ने हेतुले दूतावासले सूचना संकलनको काम शुरू गरेको छ’ भन्दै सूचनामा सहभागी हुन इच्छुकले अनलाइन रजिष्ट्रेसन गर्न सकिने उल्लेख गरेको छ ।

इजरायल र इरानबीचको युद्ध बढ्दै गएपछि विभिन्न देशले आफ्नो नागरिकको उद्धार कार्य थालेका छन् ।

दक्षिणी गाजाको खान युनिसमा इजरायली आक्रमण, कम्तीमा ५१ प्यालेस्टिनीको मृत्यु

काठमाडौँ। इजरायली सेनाले मङ्गलबार बिहान दक्षिणी गाजा पट्टीको खान युनिसमा सहायताको पर्खाइमा रहेका कम्तीमा ५१ प्यालेस्टिनीको हत्या गरेको छ। यो आक्रमण खान युनिसको अल–ताहलिया राउन्डअबाउट नजिकै भएको थियो।
यस घटनामा २०० भन्दा बढी व्यक्ति घाइते भएका छन्, जसमध्ये २० जनाको अवस्था गम्भीर रहेको जनाइएको छ। घटनाको बारेमा इजरायली सेनाबाट तत्काल कुनै प्रतिक्रिया आएको छैन।

मार्च १८ मा इजरायलले एन्क्लेभमा आफ्नो सैन्य कारबाही पुनः सुरु गरेको थियो। इजरायलले आफ्नो हमलाहरू पुनः सुरु गरेदेखि कम्तीमा ५,१३९ प्यालेस्टिनीहरू मारिएका छन् भने १६,८८२ जना घाइते भएका छन्। गाजास्थित स्वास्थ्य अधिकारीहरूले दिएको जानकारीअनुसार, अक्टोबर २०२३ देखि अहिलेसम्म कुल मृत्यु हुनेको सङ्ख्या ५५,४३२ पुगेको छ र घाइतेहरूको सङ्ख्या १ लाख २८ हजार ९ सय २३ पुगेको छ।

आजदेखि सुन पसल खुल्ने

काठमाडौँ: सुनचाँदी व्यवसायीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुनचाँदी कारोबारमा लगाइएको दुई प्रतिशत विलासिता कर तथा हिरा र बहुमूल्य पत्थरमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने व्यवस्थाबाट परेको मर्काबारे ध्यानाकर्षण गराएका छन् ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घका र नेपाल रत्न तथा आभूषण सङ्घका अध्यक्षसहितको टोलीले मङ्गलबार प्रधानमन्त्रीलाई भेटेर आफ्ना मागका विषयमा जानकारी गराएका हुन् ।

भेटमा प्रधानमन्त्रीले व्यवसायीका मागका विषयमा सम्बन्धित निकायसँग बुझेर पूरा गर्न सक्ने माग सम्बोधन गर्न लाग्ने बताउनुभएको महासङ्घका प्रथम उपाध्यक्ष धर्मसुन्दर वज्राचार्यले जानकारी दिनुभयो । व्यवसायीले राखेका मागका विषयमा प्रधानमन्त्रीले सकारात्मक आश्वासन दिनुभएकाले यस विषयमा आफूहरू पनि आशावादी रहेको उनले जानकारी दिए ।

प्रधानमन्त्रीले संवादबाट समस्याको समाधान खोज्न आफूले सम्बन्धित मन्त्रालयसँग बुझ्ने र मिल्नेसम्मका माग पूरा गर्न लागिपर्ने विश्वास दिलाउनुभएको उहाँले जानकारी दिए ।

व्यवसायीले विलासिता कर लागु गर्दा सुनचाँदी व्यवसाय धराशायी हुने भएकाले पुनर्विचार गर्न माग गरेका हुन् । विलासिता कर र भन्सारका दर छिमेकी भारतको भन्दा बढी हुँदा नेपाली व्यवसायीले प्रतिस्पर्धा गर्न नसक्ने भएकाले पनि खारेज गर्न व्यवसायीले माग गर्दै आएका छन् ।

मागका विषयमा प्रधानमन्त्रीको सकारात्मक आश्वासन आएपछि व्यवसायीले बुधबारदेखि सुनचाँदी पसल खुला गर्ने बताएका छन् । कर र भ्याट खारेजीको माग गर्दै एक हप्ताअघिदेखि सुनचाँदी व्यवसायीले पसल बन्द गरेर विरोधका कार्यक्रम गर्दै आएका छन् । सरकारले सुनको कारोबारमा दुई प्रतिशत विलासिता कर र हिरा तथा बहुमूल्य पत्थरमा १३ प्रतिशत भ्याटको व्यवस्था गरेको छ ।

एनसीसी अमेरिकाले एनआरएनए अध्यक्ष श्रेष्ठको स्वागतमा शुक्रबार भव्य कार्यक्रम गर्दै

अमेरिका । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् एनसीसी अमेरिकाले महेश कुमार श्रेष्ठ नेतृत्वको अन्तर्राष्ट्रिय समन्वय परिषद् आइसीसीसँग सहकार्य गर्ने भएको छ ।

हाल संयुक्त राज्य अमेरिकाको भ्रमणमा रहेका गैर आवासीय नेपाली संघ (एनआरएनए) आइसीसीका अध्यक्ष श्रेष्ठको सम्मानमा मेरिल्याण्ड राज्यको बाल्टिमोरमा स्वागत कार्यक्रम आयोजना गर्न लागिएको छ ।

एनआरएनए मेरिल्याण्ड च्याप्टरको सहयोगमा एनआरएनए  एनसीसी अमेरिकाले यही शुक्रबार (२० जुन) साँझ ७ बजे एक बृहत् स्वागत तथा अन्तरक्रिया कार्यक्रम राखेको छ ।

उक्त स्वागत कार्यक्रममा सहभागी हुन एनसीसी अमेरिकाले नेपाली संघसंस्थाका अध्यक्ष लगायत पदाधिकारीहरु, समाजसेवी, व्यवसायी तथा एनआरएन अभियन्ताहरुलाई आमन्त्रण गरेको एनसीसी अमेरिकाले जनाएको छ ।

गत मे ३ र ४ तारिखमा काठमाडौँमा आयोजित एनआरएनको  एकता महाधिवेशनद्वारा श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति (आइसीसी) निर्विरोध निर्वाचित भएको थियो । अध्यक्षमा निर्वाचित भए यता श्रेष्ठको यो पहिलो अमेरिका भ्रमण हो ।

यस अघि गत आइतबार अध्यक्ष श्रेष्ठको स्वागतमा टेक्सासमा पनि एक कार्यक्रम आयोजना गरिएको थियो ।

अमेरिका निवासी  एनआरएनए आइसीसीका उपाध्यक्ष सुनील साहको संयोजनमा आयोजित उक्त अन्तरक्रियामा ड्यालसस्थित विभिन्न नेपाली संघसंस्थाका पदाधिकारी तथा एनआरएन अभियन्ताहरुको उत्साहजनक उपस्थिति थियो ।

यसैगरी सानफ्रान्सिस्कोमा पनि अध्यक्ष श्रेष्ठको सम्मानमा कार्यक्रम आयोजना भएको थियो ।

महिला नेतृत्वको जग बन्दै ‘भलमन्सा’ प्रथा

यशोदा शर्मा

कैलाली : गाउँको मुख्य व्यक्तिका रूपमा बरघर (भलमन्सा) चुन्ने परम्पराले थारु समुदायका महिलाहरु नेतृत्व लिन अग्रसर हुन थालेका छन् । हरेक गाउँमा एक भलमन्सा अनिवार्य हुन्छ । माघ महिना अर्थात् थारु समुदायको नयाँ वर्षको सुरुवातसँगै, गाउँमा भलमन्सा चयन हुन्छ, जसले समग्र गाउँको नेतृत्व सम्हाल्नुपर्छ ।

भलमन्साको निर्णयबाटै सिंगो गाउँका कामकाज सञ्चालन हुन्छन् । सानो विवाद होस् या ठूलो घटना, विकास निर्माण होस् या आतिथ्य सत्कार । जन्मदेखि मृत्युसम्मका सबै सामाजिक गतिविधिमा भलमन्साको उपस्थिति अनिवार्य हुन्छ । जुन भूमिका परम्परादेखि पुरुषहरु सम्हाल्दै आएका थिए । पछिल्लो समय थारु महिला यो भूमिकामा देखिन थालेका छन् ।

नेतृत्व क्षमता, समझदारी र निर्णायक भूमिकामार्फत सफल भलमन्सा बन्न सक्ने कुरा महिलाहरुले प्रमाणित गरेका छन् । जसको उदारण हुन घोडाघोडी नगरपालिका–३ नारायण गाउँकी सितावी कठरिया । १ सय ७८ थारु र ९१ पहाडी समुदायको घरधुरी रहेको नारायण गाउँको नेतृत्व तीन वर्षदेखि सितावीको हातमा छ । थारा समुदायिक वन उपभोक्ता समूहकी सचिव भएर ५ वर्ष काम गरिसकेकी उनी अहिले सिङ्गो गाउँको नेतृत्व एक्लै सम्हाल्न सक्ने भएकी छिन् । ‘मैले जेजति कुरा सिके सबै सामुदायिक वनको कार्यसमितिमा बसेपछि सिके,’ उनी भन्छिन्, ‘त्यो भन्दा पहिला त म दुई मान्छेको अगाडि बोल्न पनि सक्दैनथे ।’

आफू भलमन्सा भएर आएपछि अन्य महिलाको व्यक्तित्व विकासमा पनि सहयोग पुगेको उनी बताउँछिन् । महिलाहरु आफ्ना समस्या महिलासँगै बाँड्ने भएकाले उनीहरुका समस्या सम्बोधन हुँदा महिला सशक्तिकरणमा सहयोग पुगेको उनको बुझाइ छ । सुरुको वर्ष भलमन्साको काम गर्न असहज लागे पनि अहिले सितावीलाई सहज लाग्न थालेको छ । गाउँका समस्याबारे उनी अहिले विभिन्न सार्वजनिक कार्यक्रमसँगै स्थानीय र प्रदेश सरकारसम्मम खुलेरै राख्न सक्छिन् ।

गाउँमा समस्या समाधान गर्ने, मुद्दा मामिला मिलाउने, विकास निर्माणदेखि, विपन्नलाई सहयोग गर्ने सबै काम उनको टाउकोमा छ । यत्रो काम गर्दा पनि कतैबाट सहयोग नपाउँदा सितावि निराश हुन्छिन् । भन्छिन्, ‘भलमन्सालाई केही छैन । वर्षको १५ सय मात्र दिन्छन्, त्यसले के हुन्छ ? अन्य गाउँमा धान दिने चलन छ । मेरो गाउँमा त्यो पनि छैन ।’

गाउँमा हुने सबै क्रियाकलापबारे छलफल भलमन्साकै घरमा हुन्छ । काम परेर गाउँमा आउने कोही पनि भलमन्साकै घरमा पुग्छन् । त्यस्तो बेला घरआएका सबैलाई चिया, नास्ता र कहिलेकाँही खानाको पनि व्यवस्था गर्नुपर्छ । भलमन्साबाट आम्दानी केही नभए पनि खर्च हुने बाटो अनेक भएको उनी बताउँछिन् । सितावी भलमन्सा भएपछि गाँउमा थुप्रै परिवर्तन भएका छन् । बाटोघाटो, पालिकाबाट आधुनिक कृषियन्त्र उपलव्ध गराउनदेखि महिलालाई स्वरोजगार बनाउन विभिन्न तालिम उनकै पहलमा सञ्चालन भए । तर पनि पहिलेका पुरुष भलमन्सा र अन्य गाँउका पुरुषले उनलाई साथ दिएका छैनन् । उसो त भलमन्सा चयन हुने समयमा गाउँका पुरुषहरु उनको विरुद्धमा थिए । तर बाक्लो महिला उपस्थितिका अगाडि पुरुषहरुको केही नचलेपछि सितावी चयन भएकी थिइन् । अहिले ७६ जना भलमन्सा रहेको घोडाघोडीमा नगर भलमन्सा समितिकी उनी कोषाध्यक्ष छिन् ।

नेतृत्व क्षमता विकास गर्ने क्रममा सितावीले धेरैबाट प्रेरणा र सल्लाह सुझाव पाइन् । त्यहि हौसलाले उनलाई राजनीतितर्फ पनि डोर्याएको छ । भन्छिन्,‘सबैले राम्रो नेतृत्व गर्न सक्नुहुन्छ राजनीतितर्फ लाग्नुपर्छ भनेर हौसला दिनुहुन्छ । मलाई पनि अब गाउँमा मात्र होइन पालिकामै गएर नेतृत्व गर्न मन छ ।’

महिलाले भलमन्साको जिम्मेवारी सहजै निभाउन सक्छन् भन्ने सितावी जस्तै अर्की उदाहरण हुन ज्ञानुदेवी चौधरी । घोडाघोडी–३ चौरट्टीकी ४२ वर्षीय उनी ८६ घरधुरीको नेतृत्व गरिरहेकी छिन् । ज्ञानुदेवी ०८१ माघमा सबैको सहमतिमा भलमन्सामा चुनिएकी थिइन् ।

उनी भलमन्सा भएपछि पहिलेको भन्दा केही नयाँ काम सुरु गरेको बताउँछिन् । पहिला वडामा योजना माग्न जाँदा पहिले वडामा जाने र त्यसपछि मात्र गाउँमा छलफल गरिन्थ्यो । तर ज्ञानुदेवीले पहिला गाउँमा बसेर छलफल गरेपछि मात्रै वडामा योजना माग्न जाने नियम बनाएकी छन् । यो उनले सुरुवात गरेको उदाहरणीय काम हो । यसको सिको गरेर अन्य गाउँका भलमन्साले पनि त्यस्तै नियम बनाएका छन् । ‘पहिला गाउँमा बासिन्दा भेला भएर छलफल गर्ने, के–के कुराको आवश्यकता छ र कस्ता कस्ता योजना माग्ने भनेर छलफल गर्ने चलन थिएन । अहिले गाउँको आवश्यकता अनुसार के आवश्यक छ त्यसलाई प्राथमिकतामा राखेर वडामा जान्छौं,’ उनले भनिन् ।

पुरुषलाई मुख्य मान्ने समाजमा महिला भएर गाउँको नेतृत्व गर्दा थुप्रै चुनौती भोग्नु पर्ने उनको अनुभव छ । उनका अनुसार महिला भलमन्सालाई सबैभन्दा बढी समस्या गाउँमा कसैको मृत्यु भएपछि हुन्छ । एकातिर थारु परमपरामा भलमन्साले मलामी जानुपर्ने र मृतकको घरमा राति कुरुवा बस्नु अनिवार्य हुन्छ । अर्कोतिर यो दुबै प्रक्रियामा पुरुषहरु मात्रै सहभागी हुन्छन् । यो अवस्थामा महिला भलमन्सा जिम्मेवारी पूरा गर्न नसकेकोमा दुखी हुन्छन् । असहजताका बावजुद पनि यो दुबै प्रक्रियामा ज्ञानुदेवी सहभागी हुन्छिन् । ‘मान्छे बितेको ठाउँमा प्राय पुरुषले नै बस्ने गरेको भएर राति महिलालाई बस्न अप्ठेरो हुने हुन्छ । म त सकेसम्म सबै ठाउँमा जाने गर्छु’,उनी भन्छिन् ।

यही अनुभव छ गोदावरी नगरपालिका–५ बर्वट्टा गाउँकी राजकुमारी चौधरीको पनि छ । उनी तीन वर्षदेखि भलमन्सा भएको छिन् । गाउँमा महिलाले पनि पुरुषको सरह काम गर्न सके पनि समाजले हेर्ने नजर परिवर्तन गर्न गाह्रो हुने उनको अनुभव छ ।

 

थारु समुदायमा सबै काम सामूहिक हुन्छ, खासगारी विवाह, मृत्यु र अन्य चाडपर्वहरु । कसले के काम गर्ने, खटाउने जिम्मेवारी भलमन्साकै हुन्छ । कसैले भनेको नमानेमा जरिवाना स्वरुप दण्ड सजायका पनि व्यवस्था हुने गर्छ । ज्ञानुदेवीले आफ्नो गाउँमा खटाएको काम नगर्नेलाई ५ सय जरिवाना तोकेकी छन् । ‘जरिवाना तिर्नुपर्छ भनेर पनि सबैले भनेको काम गर्छन्,’ उनले भनिन् । उनी भलमन्सा भइसकेपछि गाउँका महिलालाई सेवासुविधा लिन निकै सहज भएको स्थानीय फुलमति चौधरीले बताइन् । गाउँमा हुने भेला मिटिङ वा अन्य कार्यक्रममा पुरुषको भन्दा महिला बढी सक्रिय रहेको उनले बताए ।

सितावी जस्तै ज्ञानुको गुनासो पनि भलमन्सालाई काम अनुसारको सुविधा नभएको भन्ने छ । भलमन्सा भएवाफत प्रत्येक घरधुरीबाट १५ किलो धान पाउने गरे पनि काम धेरै हुने भएकाले त्यसमा सन्तुष्ट नरहेको उनी बताउँछिन् । ज्ञानुका लागि महिलाले परिवारसँगै गाउँको जिम्मेवारी वहन गर्नुर् कुनै क्रान्ति भन्दा कम छैन् । भन्छिन्, ‘चुनौति त धेरै छन् तर हार मानेको छैन । पुरुष भन्दा राम्रो सँग गाउँको नेतृत्व गरेर देखाउँछु ।’

घोडाघोडीका गाउँमात्रै होइन थारु समुदाय रहेका कैलालीका विभिन्न ठाउँमा थुप्रै महिलाले भलमन्साको जिम्मेवारी सम्हालेका छन् । भजनी नगरपालिका–२ मिनाबस्तीकी नैना चौधरी पनि दुई वर्षदेखि गाउँको नेतृत्व सम्हाल्दै छिन्् । मुक्तकमैया बस्तीका नामले चिनिने उनको गाउँमा ९८ घरधुरी छन् ।

पितृसतात्मक सोच भएको समाजमा महिला नेतृत्वलाई सहजरुपमा नस्वीकार्ने उनको भोगाइ छ । उनी भलमन्सा हुँदा गाउँमा पुरुष हुँदाहुदै किन महिला भलमन्सा बनाउने भनेर पुरुषहरुले विरोध गरेका थिए । मिनाबस्तीमा मानवीय क्षति गर्ने रुख प्रशस्त थिए । उनी भलमन्सा भएपछि पहिलो काम जिल्ला वन, वडा कार्यालय र उपभोक्ता समितिबाट अनुमति लिएर रुख कटान गरिन् । पुरुष भलमन्साले गर्न नसकेको यो काम गरेपछि भने गाउँमा उनको तारिफ हुने गर्छ । नैनाले नेतृत्व क्षमता विकास गर्न नगरपालिका र विभिन्न निकाएबाट तालिम पनि लिएकी छिन् ।

राजनीतिमा बढी रुचि राख्ने उनी ०७४ को स्थानीय तहको चुनावमा ६ मतले वडासदस्य हारिन् । त्यो हारलाई सिकाइको रुपमा लिँदै आगामी चुनावमा वडाध्यक्षमा लड्ने तयारीमा छिन् ।

कैलारी गाउँपालिका–३ की भलमन्सा गणेशदेवी चौधरी पनि आगामी निर्वाचनमा चुनाव लड्ने तयारीमा छिन् । दुई वर्षदेखि भलमन्साको जिम्मेवारी सम्हालेकी उनलाई काम गर्न कहिल्यै असहज भएन । दुई वर्षअघि पुरुषहरुले नै महिला भलमन्सा बनाउने भनेर उनलाई चयन गरेका थिए । भलमन्सा प्रणालीमा महिलाको आगमनले परम्परागत संरचनामा परिवर्तन मात्रै ल्याएको छैन, थारु समुदायमा महिलाको सक्रिय सहभागिता र नेतृत्वलाई नयाँ उचाइमा पुर्‍याएको छ । यसले गाउँको सामाजिक एकता, समावेशी निर्णय र महिला सशक्तीकरणको यात्रालाई थप मजबुत बनाएको थारु अगुवाहरु बताउँछन् ।

थारु कल्याणकारिणी सभाकी पूर्व केन्द्रीय सदस्य इन्दु चौधरी भलमन्सालाई थारु महिला नेतृत्वको पहिलो खुड्किलो मान्छिन् । भन्छिन्,‘हाम्रो समुदायमा महिला नेतृत्वको यो सुखद सुरुवात हो । पहिले पुरुषहरु मात्रै भेला भएर पुरुष भलमन्सा छान्नु हुन्थ्यो अहिले महिलाहरु हामी गाउँको नेतृत्व गर्छौ भनेर आउनुहुन्छ ।’

यद्यपि पुरुष सरह काम गर्न महिलालाई सहज नभएको उनी बताउँछिन् । ‘भलमन्सा बनेर मत्रै भएन काम, कर्त्यव्य पनि पुरुष सरह पाउनु पर्यो,’ उनले भनिन् । उनका अनुसार भलमन्साले गाउँमा विभिन्न घटना हेर्ने भएकाले उनीहरुलाई कानुनी ज्ञान पनि हुन आवश्यक छ । यसका लागि स्थानीय सरकारले क्षमता अभिबृद्धि तालिम दिनुपर्ने उनको माग छ ।

भलमन्सा प्रथाले थारु महिलालाई नेतृत्वदायी भूमिकामा आउन सहयोग गरेको थारु कल्याणकारिणी सभा कैलालीका अध्यक्ष बिरु थारु बताउँछन् । उनका अनुसार कैलालीमा मात्रै ३७ जना महिलाहरु भलमन्सा भएर गाउँको नेतृत्व गरिरहेका छन् । सभाले भलमन्सा महिलाहरुको नेतृत्व विकास गर्न क्षमता अभिवृद्धि तालिम दिनुपर्ने भए पनि स्रोत अभावका कारण नसकेको बताए ।

सुदूरपश्चिमको कैलाली र कञ्चनपुर आदिवासी थारु समुदायको बाहुल्यता छ । यो समुदायमा रहेको बरघर प्रथालाई संरक्षण, प्रवर्द्धन र विकास गर्न कानुनी रुपमै अघि बढ्नुपर्ने थारु अगुवाहरु बताउँछन् । उनीहरुकै माग अनुसार सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषद्बाट ‘बरघर र भलमन्सा प्रथा संरक्षण तथा विकास सम्बन्धी विधेयक’ तयार भएको छ ।

सुदूरपश्चिम प्रदेशसभा सदस्य गिता चौधरीका अनुसार विधेयक विधान समितिबाट पास भएपछि प्रदेशसभामा दर्ता हुने छ । तर अहिले बजेटको समय भएकाले विधेयकको काम अघि बढ्न सकेको छैन । परम्परागत रुपमा चल्दै आएको बरघर र भलमन्सा प्रणाली प्रदेशसभाबाट विधेयक पास भएपछि कानुनी रुपमा काम, कर्तव्य र अधिकार छुट्याएर लागु हुने प्रदेशसभा सदस्य चौधरी बताउँछिन् ।

 

मृत्युको १६ वर्षपछि पनि माइकल ज्याक्सन धेरै कमाउने सेलिब्रेटी

न्यूयोर्क । फोर्ब्स म्यागेजिनले सबैभन्दा धेरै कमाउने मृत सेलिब्रेटीको सूची सार्वजनिक गरेको छ । सूचीमा यी कलाकारले कमाईको हिसाबले शाहरुख खान, टेलर स्विफ्ट र टम क्रूज जस्ता सेलिब्रेटीलाई पछाडि पारेका छन् ।

मृत्युको १६ वर्ष पछि पनि सूचीको शीर्ष स्थानमा छन् । उनी अझै पनि हरेक वर्ष ६०० मिलियन डलर कमाइरहेका छन् । उनी को हुन् ? अनुमान गर्नूस !

उनी हुन्- पप संगीतका राजा माइकल ज्याक्सन । फोर्ब्सले हालै विश्वको सबैभन्दा धेरै कमाउने मृत सेलिब्रेटीहरूको वार्षिक सूची जारी गरेको छ । ज्याक्सन फेरि एक पटक सन् २०२४ को सूचीको शीर्ष स्थानमा छन् ।

उनी एक पप आइकन थिए जसको सन् २००९ मा ५० वर्षको उमेरमा मृत्यु भयो । उनी आफ्ना गीत र नृत्य स्टेपका लागि सबैमाझ लोकप्रिय थिए । अहिले पनि उनी हरेक वर्ष लाखौं डलर कमाइरहेका छन् ।

 उनले सन् २०२४ मा स्ट्रिमिङ, लाइसेन्स सम्झौताबाट ४६०० मिलियन कमाएका छन् । तर सबैभन्दा ठूलो कमाई उनको संगीतमय बायोपिक ‘एमजे’को अधिकार बिक्रीबाट आएको छ ।

सन् २०२४ मा ज्याक्सनको कमाई धेरै विशेष छ किनभने यो रकम ती सेलिब्रेटीहरू भन्दा बढी छ जो अझै जीवित छन् र धेरै सम्पत्ति र प्रसिद्धि कमाइरहेका छन् । टेलर स्विफ्ट आफ्नो विश्वव्यापी हिट ’इरास टुर’ का कारण सबैभन्दा धेरै कमाउने सेलिब्रेटी थिइन् ।

उनी अहिले ज्याक्सनपछि दोस्रो स्थानमा झरिन् । स्विफ्टले सो वर्ष ४०० मिलियन डलर कमाइन् । त्यति मात्र होइन, ड्वेन जोनसन (८८ मिलियन डलर), टम क्रूज (२५ मिलियन डलर) र शाहरुख खान (२० मिलियन डलर) जस्ता अन्य व्यक्तिहरू पनि उनीभन्दा पछाडि छन् ।

ज्याक्सनले पहिलो पटक ज्याक्सन फाइभ मार्फत संगीत उद्योगमा प्रवेश गरे । उनले आफ्ना भाइबहिनीहरूसँग मिलेर एउटा समूह बनाए र सफलताको स्वाद चाखे । १८ वर्षको भएपछि उनले आफ्नो एकल करियरलाई अगाडि बढाए । अनि त्यसपछि उनले आफ्नो कलाले संसारमा शासन गरे ।

रवीन्द्र मिश्रलाई तीन लाख धरौटीमा छोड्ने आदेश

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई अदालतले तीन लाख धरौटीमा रिहा हुने आदेश गरेको छ ।

गत चैत १५ गते भएको तीनकुने घटनाका अभियुक्त मिश्रलाई काठमाडौं जिल्ला अदालतकी न्यायाधीश तारादेवी महर्जनको इजलासले तीन लाख धरौटीमा छाड्न आदेश गरेको हो ।

प्राविधिक रूपमा प्रहरीको फरार सूचीमा रहेका मिश्र मंगलबार आफैँ अदालत उपस्थित भएका थिए । सोही घटनाका एउटै अभियोग लगाइएका राप्रपाका महामन्त्री धवलशमशेर जबरा पनि सोमबार तीन लाख धरौटीमा छुटेका छन् ।

मिश्र र राणा धरौटीमा छुटे पनि सोही घटनाका योजनाकार मानिएका दुर्गा प्रसाईं भने अदालतको आदेशबाट पुर्पक्षका लागि थुनामा गएका छन् ।

चैत १५ को आन्दोलन अराजक भएपछि प्रसाईं, धवलशमशेरसहित भागेपछि मिश्र भने फिल्ड कमान्डरका रूपमा उत्रिएका थिए । चैत १५ मै पक्राउ परी काठमाडौं जिल्ला अदालतबाट लगातार म्याद थप भएपछि मिश्र श्रीमती शारिका कार्कीको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको आदेशबाट जेठ २ गते रिहा भएका थिए । रिहा भएपछि उनी प्रहरीसमक्ष हाजिर हुन नजाँदा ५० हजार जरिबाना तिरेका थिए ।

मानव तस्करीविरूद्व आवाज उठाउँदा संसदबाट निकालिन्छ भने निकालियाेस् : साेबिता गौतम

काठमाडौं- रास्वपा सांसद साेबिता गौतमले मानव तस्करीविरुद्ध आवाज उठाउँदा संसदबाट निष्कासन गरे स्वीकार गर्ने बताएकी छन् ।
तर, सत्ताको संरक्षणमा नेपाली बेचिएको विषयमा निष्पक्ष उच्चस्तरीय छानबिन समितिको माग पूरा नभएसम्म निरन्तर संसदमा आन्दोलन गरिरहने उनकाे भनाइ छ ।
कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले मंगलबार प्रतिनिधिसभा बैठकमा निलाे रिबन पहिरेर रचनात्मक विराेध गरेकाे रास्वपा सांसदलाई प्रतिनिधिसभा नियमावली बमाेजिम चेतावनी दिएर निष्कासन गर्न माग गरेका थिए ।
यसकाे जवाफमा सांसद गौतमले प्रतिक्रिया दिएकी हुन् ।
`विरोधका आयाम अनेकौं हुन्छन्, रास्वपा शान्त र सभ्य विरोधमा उभिन्छ,´ उनले भने, `आज मानव तस्करीविरुद्धको ऐक्यबद्धता स्वरूप निलो सल लगाएर आएको, नियमापत्ति भएछ। हुन्छ, संसदबाट निकालियोस्।´
तर, नयाँ पुस्ता रचनात्मक आन्दोलन गरिरहने उनकाे भनाइ छ । `नयाँ पुस्तालाई सांसद कुट्न आउँदैन। (कांग्रेस विरोधमा हुँदा प्र.म. केपी शर्मा ओलीलाई कुट्न आएकै घटना आर्काइभमा कैद छ) । कुर्सी भाँच्न आउँदैन। माइक फोड्न आउँदैन,´ उनले भनेकी छिन् ।

सुदूरपश्चिम विश्वविद्यालयलाई नमूना बनाउन सबैको सहयोग आवश्यक : मुख्यमन्त्री शाह

महेन्द्रनगर– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिम विश्वविद्यालयलाई नमूना विश्वविद्यालय बनाउनका लागि सबैको सहयोग आवश्यक रहेको बताएका छन् ।
विश्वविद्यालयको १६ औँ स्थापना दिवसका अवसरमा मंगलबार महेन्द्रनगरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सबैको सहयोगले नमूना विश्वविद्यालय बनाउन सकिने बताए ।

‘कृषि, पर्यटन, धार्मिक पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनको विषयमा अध्ययन-अध्यापन हुनुपर्छ,’ मुख्यमन्त्री शाहले भने, ‘रोजगारी र उत्पादन बढाउने र हाम्रो सीप र क्षमतालाई विश्व बजारमा लैजानु पर्छ ।’

उनले प्रदेश सरकार सुदूरपश्चिम विश्वविद्यालयलाई सहयोग गर्न तयार रहेको समेत बताए । कार्यक्रममा २५ वर्षदेखि निरन्तर कार्यरत ४३ कर्मचारी र प्राध्यापकलाई दीर्घ सेवा पदक एवं प्रमाणपत्र वितरण गरिएको थियो ।

देशभित्र भविष्य खोज्ने अभियानलाई चलाउनुपर्छ: अर्थमन्त्री पौडेल

काठ्माण्डौँ – उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले देशभित्र भविष्य खोज्ने अभियानलाई तिब्रता दिनुपर्ने बताएका छन्। कोरियाको अनुभवमा आधारित सफलताका कथाहरू नाम पुस्तकको राजधानीमा विमोचन गर्दै उनले सम्भावना हुँदाहुँदै पनि देशभित्र आफ्नो भविष्य खोज्नेहरू अहिले कमी रहेको बताएका हुन्।
अर्थमन्त्री पौडेलले प्रकृतिको वरदानका रुपमा चिनिने नेपालमा धेरै काम गर्न सकिने बताए। विदेशमा सिकेको सीप पुँजी सबैले नेपालमा उपभोग गर्नसके देश छिट्टै विकसित हुने उनको भनाइ छ।

‘भूगोलका हिसावले देश सानो छौं तर प्राकृतिक दृष्टिकोणले हामी सम्पन्न छौं। संस्कृतिक, ऐतिहासिक, पुरातात्विक, दृष्टिकोणले हामी सम्पन्न छौं। त्यसअर्थमा हामीले हाम्रो देश भित्र भविष्य खोज्नुपर्छ,’ उनले भने, ‘आजको दुनियाँमा कोही पनि आफ्नो देशभित्र रहेर अघि बढ्न सम्भव हुँदैन। विभिन्न सन्दर्भमा अध्ययनका शिलशिलामा श्रम, व्यवसायका शिलशिलामा मानिसहरू एउटाबाट अर्को मुलुकमा गइरहेका हुन्छन्।’

कोरियामा सिकेको सीप र पुँजीलाई नेपालमै सदुपयोग गरेर मुलुकलाई समृद्धिको दिशामा अघि बढाउन युवाहरूलाई पौडेलले आह्वान गरे।

खोज्नुहोस