एनपीएलका लागि सुदूरपश्चिमले रिटेन गर्‍यो ६ खेलाडी

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को आगामी संस्करणका लागि सुदूरपश्चिम रोयल्सले ६ खेलाडी रिटेन गरेको छ ।
सुदूरपश्चिमले सामाजिक संजालमार्फत कप्तान दीपेन्द्रसिंह ऐरीसहित ६ खेलाडीलाई रिटेन गरेको जनाएको छ । रिटेन हुने खेलाडीमा ऐरीसहित विनोद भण्डारी, आरिफ शेख, अविनाश बोहरा, ईशान पाण्डे र नरेन साउद छन् ।

अघिल्लो संस्करणमा सुदूरपश्चिम उपविजेता बनेको थियो ।अर्जुन कुमाल, नरेश बुढाथोकी, खडक बहादुर बोहरा, भोजराज भट्ट, अमित श्रेष्ठ र वसन्त खत्रीलाई भने सुदूरपश्चिमले रिलिज गरेको छ ।

इजरायलबाट ६ सयभन्दा बढी नेपालीले फर्कन नाम टिपाए

काठमाडौं । परराष्ट्र मन्त्रालयले इजरायलबाट नेपाल फर्कन ६ सयजनाले नाम टिपाएको जनाएको छ । इजरायल–इरानबीच युद्धका कारण नेपाल फर्कन चाहने नेपालीलाई अनलाइन पोर्टल खोलेर विवरण लिन सुरू गरिएको थियो । “उक्त पोर्टलमा हालसम्म ६०० जनाभन्दा बढीले विवरण दर्ता पनि गराइसकेका छन् । यो क्रम जारी नै छ,” परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयले गत बुधबार नै दोस्रोपटक ट्राभल एड्भाइजरी जारी गरेर हाल इजरायल तथा इरानमा रहेका नेपाली नागरिकहरूलाई सुरक्षाका दृष्टिकोणले अधिकतम सतर्कता अपनाउन र नेपालबाट इजरायल वा मध्यपूर्वका अन्य मुलुकको भ्रमण नगर्न अनुरोध पनि गरिएको थियो ।

शुक्रबार परराष्ट्र मन्त्रालयमा सम्पन्न श्रम रोजगार तथा सामाजिक सुरक्षा, संस्कृति पर्यटन तथा नागरिक उड्डयन र गृह मन्त्रालयसँगको संयुक्त बैठकमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इजरायल र इरानमा विकसित परिस्थितिअनुसार त्यहाँ रहेका नेपाली नागरिकहरूको सुरक्षा र उद्धारका लागि नेपाल सरकारले सम्भव भएका सबै उपायहरू अवलम्बन गर्ने र नेपाल फर्कन चाहनेहरूलाई उद्धार गर्ने तयारीमा रहेको बताएकी छन् ।

मन्त्री डा. राणाले इजरायल र इरानमा जारी रहेको युद्धका कारण उत्पन्न परिस्थिति र त्यसको तयारी बारेमा छलफलका क्रममा सो जानकारी गराएकी छन् ।

मन्त्री डा. राणाले परराष्ट्र मन्त्रालयको समन्वयमा इजरायलस्थित नेपाली दूतावासले सक्रिय रूपमा काम गरिरहेको, स्वदेश फर्कन चाहने नेपालीका लागि रजिष्ट्रेसन पनि खुलेको जानकारी दिइन् । स्वदेश फर्कन चाहेमा उद्धारका लागि त्यसको प्रबन्धको तयारीमा सरकार रहेको पनि स्पष्ट पारिन् ।

“जिटुजी प्रक्रियाअन्तर्गत इजरायल पुगेका नेपालीहरू नेपाल फर्कन वा सुरक्षित स्थानमा जान चाहेमा सोका लागि सहजीकरण गर्नु इजरायलको पनि दायित्व हो । त्यसका लागि सीमा क्षेत्रबाट अन्य मुलुकमा जान सहयोग गरिदिन इजरायल सरकारलाई अनुरोध गरिसकिएको छ । नेपालीहरू स्वदेश फर्कन चाहेमा उहाँहरूको उद्धारका लागि नेपाल सरकार तयारी अवस्थामै छ,” उनले भनिन् ।

सो बैठकमा श्रममन्त्री शरदसिंह भण्डारीले मन्त्रालय पनि त्यहाँ रहेका नेपालीहरूसँग निरन्तर सम्पर्कमा रहेको र उनीहरू स्वदेश फर्कन चाहेमा उद्धारको तयारीमा नेपाल सरकार लाग्नुपर्ने बताए । उनले हाल इजरायल जाने अन्तिम तयारीमा रहेकाहरूलाई श्रम स्वीकृति नदिइ रोकी राखिएको पनि बताए ।

यही जुन १३ मा इजरायल र इरानबीच युद्ध सुरु भएकै दिन परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत् दुवै पक्षलाई अधिकतम संयमता अपनाउन र वार्ताद्वारा समस्या समाधान गर्न अपिल गर्दै ती मुलुकमा रहेका नेपालीहरूलाई सम्बन्धित नेपाली राजदूतावासहरूसँग सम्पर्कमा रहन अनुरोध गरेको थियो ।

त्यसपछि जुन १५ मा सम्पर्क विवरणसहितको ट्राभल एड्भाइजरी जारी गरी सुरक्षाका दृष्टिकोणले अधिकतम सतर्कता अपनाउन नेपालीहरूलाई अनुरोध गरिएको थियो । ती मुलुकहरूमा हाल हवाई मार्ग बन्द रहेको अवस्थामा सुरक्षित स्थान वा सीमावर्ती मुलुकमा जान चाहने नेपालीहरूलाई अनलाइन भिसा उपलब्ध गराउने लगायतका काममा सहजीकरण गरिदिन खाडीस्थित सबै नेपाली नियोगहरूलाई परराष्ट्र मन्त्रालयले गत बुधबार नै निर्देशन दिएको छ ।

यसै हप्ता नेपालका लागि इजरायलका राजदूत स्मुलिक एरी बाससँग परराष्ट्र मन्त्री डा. राणाले भेट गरी नेपाली नागरिकहरूको सुरक्षाको उचित प्रबन्ध मिलाउन इजरायल सरकारलाई अनुरोध गरेकी थिइन् ।

त्यसैगरी इजरायलस्थित नेपाली राजदूतावास र इरान हेर्ने कतारस्थित नेपाली राजदूतावासलाई सम्बन्धित सरकारी अधिकारीहरू, यस क्षेत्रमा काम गर्ने संघसंस्थाहरू र नेपाली समुदायसँग निकटको सम्पर्क स्थापित गर्न र सोका सम्बन्धमा मन्त्रालयलाई ‘रियल टाइम रिपोर्टिङ’ गर्न निर्देशन दिइएको छ । हाल इजरायलमा पाँच हजार ५०० देखि सात हजार नेपाली रहेका र तीमध्ये धेरैजसो तेल अभिभ, जेरुसेलम र हाइफामा रहेका छन् । त्यस्तै, इरानमा १८ जना नेपाली रहेका छन् ।

राष्ट्रिय सभामा १९ सांसदको कार्यकाल फागुनबाट सकिँदै, १८ पदमा निर्वाचन हुने

काठमाडौं । सरकार राष्ट्रिय सभा सदस्यको निर्वाचनको तयारीमा जुटेको छ ।
आगामी फागुनमा कार्यकाल सकिएर १९ जना राष्ट्रिय सभा सदस्यहरू बिदा हुँदैछन् । त्यसमध्ये १८ पदका लागि निर्वाचन हुनेछ भने एक जना राष्ट्रपतिबाट मनोनित सांसद बामदेव गौतमको कार्यकाल सकिँदैछ । राष्ट्रपतिबाट मनोनित सांसदको कार्यकाल सकिएपछि राष्ट्रपतिले अर्को सदस्य मनोनित गर्छन् ।

बाँकी रिक्त हुने १८ स्थानका लागि चुनाव गर्ने तयारीमा सरकार जुटेको हो ।

यो विषयमा निर्वाचन आयोगले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग परामर्श गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री ओलीलाई आयोगका कार्यबाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहित आयुक्तहरूले भेटेर छलफल गरेका हुन् । जहाँ राष्ट्रियसभामा आगामी फागुन २० गते रिक्त हुने १८ स्थानका लागि निर्वाचन तय गर्ने विषयमा छलफल भएको हो ।

आगामी फागुनमा कार्यकाल सकिएर बिदा हुने सांसदहरूमा एमालेका ८, माओवादी केन्द्रका ७, एकीकृत समाजवादीका १, जनता समाजवादी पार्टी नेपालका १, लोकतान्त्रिक समाजवादी पार्टीका १ र मनोनीत १ सांसद छन् ।

आगामी फागुनमा बिदा हुने एमालेका सांसदहरूमा इन्दिरा देवी गौतम, गोपाल भट्टराई, तुलसाकुमारी दाहाल, देवेन्द्र दाहाल, भगवती न्यौपाने, विमला घिमिरे, शारदा देवी भट्ट र सुमित्रा बीसी छन् ।

बिदा हुने माओवादी सांसदहरूको संख्या ७ छ । जसमा गोपीबहादुर सार्की अछामी, गंगाकुमारी बेलवासे, जगप्रसाद शर्मा, तारामान स्वाँर, नारायणकाजी श्रेष्ठ, मायाप्रसाद शर्मा र राधेश्याम पासवान छन् ।

एकीकृत समाजवदीका बेदुराम भुसाल, जनता समाजवादी पार्टी नेपालका मृगेन्द्रकुमार सिंह यादव र लोकतान्त्रिक समाजवादी पार्टीका शेखरकुमार सिंहको कार्यकाल पनि आगामी फागुनमा सकिनेछ ।

प्रधानमन्त्रीसँग उपनिर्वाचनबारे आयोगको परामर्श

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीसँग निर्वाचन आयोग, नेपालले प्रतिनिधिसभा र प्रदेशसभाको रिक्त दुई स्थान, राष्ट्रियसभामा आगामी फागुन २० गते रिक्त हुने १८ स्थानसहित स्थानीय तहको रिक्त स्थानमा निर्वाचन गर्ने विषयमा आज परामर्श गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री ओलीलाई आयोगका कार्यबाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहित आयुक्तहरुले भेटेर आगामी कात्तिकको दोस्रो साता प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचन गर्न र राष्ट्रियसभामा आगामी फागुन २० गते रिक्त हुने १८ स्थानका लागि निर्वाचन तय गर्ने विषयमा छलफल गरेको हो ।

प्रतिनिधिसभाका सदस्यको रुपन्देही क्षेत्र नं. ३ र गण्डकी प्रदेशसभाको मनाङ क्षेत्र नं. १ (२) को रिक्त सदस्यका लागि कात्तिकको दोस्रो साता निर्वाचन गर्ने गरी नेपाल सरकारको परामर्शमा यही असार १६ गतेभित्र आयोगले मिति तोक्ने तयारी गरेको छ । यसैगरी स्थानीय तहमा १३ वटा वडाध्यक्षको पद रिक्त रहेको आयोगले अवगत गराएको छ ।

प्रधानमन्त्री ओलीले निर्वाचनका लागि आयोगले गरेको तयारी अनुसार आवश्यक सहजीकरणका लागि नेपाल सरकारका तर्फबाट सहयोग हुने विश्वास दिलाए। उनले संवत् २०८४ को निर्वाचनका लागि गर्नुपर्ने तयारी पनि गर्दै गर्न आयोगलाई सुझाव दिए । भेटका अवसरमा आयुक्तहरु डा जानकीकुमारी तुलाधार र सगुनशमशेर जबरा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उच्चाधिकारीलगायत सहभागी थिए।

सरकारले सदनलाई हेपेको माओवादीको टिप्पणी

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले सरकारले संसद्लाई हेपेको टिप्पणी गरेको छ ।

शुक्रबार प्रतिनिधि सभाको बैठक सुरु भए लगत्तै आकस्मिक समय लिएर बोल्दै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले यस्तो टिप्पणी गरेका हुन् ।

‘सरकारले यो सदनलाई यति हेपेको छ कि यसको बयान गरी साध्य नै छैन’, पाण्डेले भने ।

बारम्बार संसद्को कार्यसूची आउने र कार्यसूचीमा आएको विषय हटाउने भइरहेको उनले बताए । पाण्डेको प्रश्न छ, ‘कार्यसूचीमा विषय हाउने र हटाइनेको कारण के ?’

बजेटको मन्त्रालयगत छलफलमा सम्बन्धित मन्त्रीको अनुपस्थिति रहेको भनेर पनि उनले प्रश्न उठाए । मन्त्रीको अनुपस्थितिमा छलफल चलाउनु प्रतिनिधि सभा नियमावली विपरित हुने उनले बताए ।

मन्त्रीको अनुपस्थितिबेगर छलफल गराए प्रतिनिधि सभा नियमावलीको ठाडे उल्लघंन हुने उनले बताए । उनी प्रश्न गर्छन, ‘नियमावलीलाई हामीले पालना गर्नुपर्ने अनि सरकारले चाहीँ पालना गर्न नपर्ने ? यो कहाँसम्मको अन्याय हो ?’

समयमौ मन्त्रालगत बजेटको किताब नपाएका कारण सांसदले खर्च कटौतीको प्रस्ताव समेत राख्न नपाएको उनको गूनासो छ ।

संसदमा जारी रहेको अवरोध हटाउन पनि सरकारले अग्रसरता नलिएको उनको आरोप छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा मागेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संसद्को बैठक बहिष्कार गरेको छ ।

विगतमा रास्वपाका सांसदहरू वेल घेरेर बसेका थिए । शुक्रबारबाट रास्वपाका सांसदहरूले पनि सदनको कामकारबाही बहिष्कार गरेका छन् ।

राप्रपाका सांसदहरूले भने यसअघि देखि नै सदनको कामकारबाही बहिष्कार गर्दै आएका छन् ।

भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समिति गठन हुनुपर्ने वा उच्च स्तरीय न्यायीक छानबिन आयोग गठन हुनुपर्ने माग राख्दै आएका छन् ।

एएफसी एसियन कप छनोट खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं । एएफसी महिला एसियन कप–२०२५ छनोटका लागि नेपाली राष्ट्रिय फुटबल टिमको घोषणा भएको छ ।
नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक प्याट्रिक डे विल्डेले शुक्रबार २३ सदस्यीय टोली घोषणा गरेका हुन् ।

छनोटमा नेपाल समूह ‘एफ’ मा छ । उक्त समूहमा नेपालसँगै लाओस, श्रीलंका र उज्वेकिस्तान छन् ।

नेपालले छनोटको पहिलो खेलमा जुन २९ मा लाओससँग खेल्नेछ । यस्तै, जुलाई २ मा श्रीलंकासँग र जुलाई ५ मा उज्वेकिस्तानसँग खेल्नेछ । यो समूहका सबै खेल उज्वेकिस्तानमा हुने तालिका छ ।

गाजामा राहत लिनेमाथि आक्रमण : १२ जनाको ज्यान गयो

इजरायलले गाजामा राहत लिन बसेकामाथि आक्रमण गर्दा १२ जनाको ज्यान गएको छ । अमेरिका र इजरायलले सञ्चालन गरेको गाजा ह्युमनेटेरियन फाउन्डेसन (जीएचएफ)ले राहत वितरण गरिरहेको समयमा यो आक्रमण भएको हो ।
गएको मे महिनादेखि जीएचएफले संयुक्त राष्ट्र सङ्घको राहत कार्यक्रमलाई प्रभावित हुनेगरी राहत वितरण गर्न शुरु गरेपछि अहिलेसम्म त्यहाँ सयौँको ज्यान गइसकेको बीबीसीले जनाएको छ ।

गाजामा पछिल्लो समय ज्यान गुमाउनेमा हमास केन्द्रित विद्रोहीहरुभन्दा धेरै राहत सङ्कलन गर्न जाने छन् । हिजो राहतका लागि हजारौँ जना लाइन लागि रहेको समयमा आक्रमण भएको हो ।

सदनमा आज पनि रास्वपा र राप्रपाको विरोध

काठ्माण्डौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले आज पनि प्रतिनिधिसभाको बैठकमा नाराबाजी गरेका छन्।
विपक्षी दल रास्वपा र राप्रपाले आज शुक्रबार पनि विरोध जारी राखेका हुन्। सभामुख देवराज घिमिरेले उनीहरुलाई बस्नका लागि बारम्बार आग्रह गरेका छन्। तर सांसदहरूले भने विरोध गरिरहेका छन्।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै उनीहरूले संसद् बैठकमा नाराबाजी गरेका हुन्।

शिक्षाबिना आर्थिक र सामाजिक विकास सम्भव छैन : उपेन्द्र यादव

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले देशको समृद्धि र आत्मनिर्भरताको मुख्य आधार शिक्षामा आमूल सुधारको खाँचो औंल्याएका छन्।
रासससँगको संवादमा अध्यक्ष यादवले भने,‘देश आत्मनिर्भर बन्न शिक्षा प्रणालीमै युगअनुसारको रूपान्तरण गर्नुपर्छ। शिक्षा जीवन उपयोगी र मानिसलाई सक्षम बनाउने खालको हुनुपर्छ।’

उनका अनुसार शिक्षासँगै कृषि, उद्योग र पर्यटन क्षेत्रको विकास नगरी आत्मनिर्भर नेपाल बनाउने कुरा केवल नारामै सीमित हुन्छ। ‘हामी कृषिमा आधारित देश हौं, त्यसलाई आधुनिकीकरण र व्यवसायीकरण गर्नुपर्छ,’ उनले भने।

शिक्षाको सुधारबारे थप प्रस्ट्याउँदै यादवले तलदेखि माथिसम्म शिक्षामा आमूल परिवर्तन हुनुपर्ने धारणा राखे। ‘मूल्य र मान्यतामा आधारित शिक्षाबिना आर्थिक र सामाजिक विकास सम्भव छैन’ अध्यक्ष यादवले भने।

नेपालले आज स्कटल्यान्डको सामना गर्ने

काठमाडौं- स्कटल्यान्डमा जारी टी-२० आई सिरिजको अन्तिम खेलमा नेपालले आज घरेलु टोलीसँग खेल्दैछ ।
खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजेदेखि ग्लास्गोमा सुरु हुनेछ ।

नेपाल स्कटल्यान्डलाई हराएर सिरिज जित्ने धुनमा छ । अंकतालिकामा नेपाल ३ खेलमा २ मा जित र १ मा हारका साथ शीर्ष स्थानमा छ । नेपालले यो खेल जितेमा नेपालको ६ अंक हुनेछ । जसले तालिकाको शीर्ष स्थानमा रहँदै नेपाल च्याम्पियन हुनेछ ।

आजको खेलमा स्कटल्यान्ड विजयी भएमा नेपाल र घरेलु टोलीको अंक बराबरी हुन्छ । त्यस्तोमा रन रेटमा अघि रहेका कारण एक टोली च्याम्पियन हुनेछ ।

यसअघि नेपालले स्कटल्यान्डलाई २ विकेटले पराजित गरेको थियो । त्यसअघि नेपाल नेदरल्याण्ड्ससँग पराजित भएको थियो । बिहीबार भएको खेलमा भने नेपालले नेदरल्याण्ड्सलाई ६ विकेटले हराएको थियो ।

गायक प्रविण भट्टराईको दोस्रो गीत ‘तिमी र म’ बजारमा

कोलोराडो, १९ जुन ।

गायक प्रविण भट्टराईको ‘तिमी र म ’ बोलको गीतको म्युजिक भिडिओ बजारमा आएको छ । भट्टराईको यो दोस्रो म्युजिक भिडिओ हो । यसअघि २०२३ को नोभेम्बरमा उनले पहिलो गीत आमालाई नभन्नु है को म्युजिक भिडिओ बजारमा ल्याएका थिए ।

झण्डै चार वर्षपछि २०२५ मेमा सार्वजनिक भएको भट्टराईको दोस्रो गीत ‘तिमी र म’ को रचनाकार अनिल शर्मा हुन् । गीतमा कल्याण सिंहले संगीत भरेका छन् ।

डुक्मणी थपलियाले निर्माण गरेको गीतको छायांकन, सम्पादन र निर्देशन सागर खरेलले गरेका हुन् । म्युजिक भिडिओका दृष्यहरु कोलोराडाको विभिन्न स्थानमा छायांकन गरिएका हुन् ।

गीतको म्युजिक भिडिओमा मोडल आयुश श्रेष्ठ र ईकृष्या थपलियाको अभिनय रहेको छ । म्युजिक भिडिओमा सरु बारोकोटीले डे«स डिजाईन र मेकअपमा साथ दिएकी छन् । गायक भट्टराईले गीत बजारमा ल्याउन सहयोग गर्ने निर्माता थपलिया, चिरीज मःम सहित सबैलाई धन्यवाद दिए ।

गायक भट्टराईले किशोरावस्थाका स्रोताहरुलाई लक्षित गरी गीत बजारमा ल्याएको बताए ।

किशोरावस्थाको फिलिङ र माया गर्ने मान्छेको साथले जीवनमा मिल्ने मिठो अनुभूतिलाई गीतका माध्यमबाट व्यक्त गरिएको गायक भट्टराईले बताए ।

उनले गीतको म्युजिक भिडिओ हेरेर सुझाव, सल्लाह र प्रतिक्रिया दिन दर्शक तथा स्रोताहरुलाई आग्रह गरे ।

अदालतको आदेशः पत्रकार पाठकलाई पक्रन नपाइने, नेपाल खबर र बिजमान्डुले समाचार हटाउन नपर्ने

काठमाडौँ । बिहीबार दुई अदालतले नेपाली पत्रकारितामा महत्वपूर्ण दुई मुद्धामा पत्रकारिताका पक्षमा आदेश गरेका छन् । उच्च अदालत पाटनले पत्रकार दिलभूषण पाठकका पक्षमा र काठमाडौँ जिल्ला अदालतले नेपाल खबर अनलाइनका पक्षमा आदेश गरेको हो ।

उच्च अदालत पाटनले पत्रकार दिलभूषण पाठकलाई साइबर अपराध मुद्दामा पक्राउ गर्न नपाउने आदेश गरेको छ । उच्चका न्यायाधीशद्वय टंकप्रसाद गुरूङ र टीकाराम आचार्यको इजलासले पाठकलाई साइबर अपराधमा पक्राउ गर्न नपाउने आदेश दिएको हो ।

आदेशमा सञ्चार माध्यम वा पत्रकारले सम्प्रेषण गरेका सामग्रीबाट मर्का पर्ने व्यक्तिले प्रेस काउन्सिल नेपालमा उजुरी दिन सक्ने व्यवस्था भएकाले विद्युतीय कारोबार सम्बन्धी कसूरमा अनुसन्धान गर्नु नपर्ने उल्लेख छ ।

यसअघि असार २ गते उच्च अदालतले पाठकलाई तत्काल पक्राउ नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । सो आदेश निरन्तर हुने कि नहुने भन्ने विषयमा आज भएको छलफलपछि अन्तरिम आदेशलाई निरन्तरता दिएको हो ।

यस्तो छ अदालतको आदेशः
‘निवेदक दिलभूषण पाठकले पेस गरेको पत्रकार परिचयपत्र लगायतको कागज प्रमाणपत्रबाट निज लामो समयदेखि पत्रकारिता क्षेत्रमा संलग्न भई आएको देखिएको, इन्टरफेस नेपाल नेटवर्क कम्पनीको रूपमा दर्ता भएको ट्रेडमार्क दर्ता प्रमाणपत्रसमेत लिएको तथा सूचना तथा प्रसारण विभागबाट अनलाइन सञ्चार माध्यमको रूपमा समेत दर्ता भई अनुमति लिएको भन्ने देखिन्छ । नेपालको संविधानले पूर्ण प्रेस स्वतन्त्रताप्रति प्रतिबद्धता व्यक्त गरेको भई धारा १७ को उपधारा ९२० ९क० ले विचार र अभिव्यक्तिको स्वतन्त्रताको संरक्षण गरेको, धारा १९ मा सञ्चारको हक तथा धारा २७ मा सूचनाको हकको व्यवस्था भएको पाइन्छ। प्रेश काउन्सिल ऐन, २०४८ मा स्वस्थ पत्रकारिताको विकासको लागि प्रेस काउन्सिलको व्यवस्था भई समग्र पत्रकारिता क्षेत्रको नियमनकारी निकायका रुपमा सो काउन्सिल कियाशील रहेको अवस्था छ। उक्त ऐनको दफा १२ मा भएको व्यवस्था तथा ऐन अनुसार लागू भएको पत्रकार आचार संहिता, २०७३ को व्यवस्था अनुसार सञ्चार माध्यम वा पत्रकारले सम्प्रेषण गरेको सामाग्रीबाट मर्का पर्ने व्यक्तिले उक्त काउन्सिलमा उजुरी दिन सक्ने व्यवस्था भई त्यस्तो उजुरी उपर काउन्सिलबाट छानविन र कारवाही हुन सक्ने अवस्था रहेको देखिन्छ। उल्लिखित परिप्रेक्ष्यमा निवेदकले सम्प्रेषित गरेको सामाग्रीबाट कसूर भएको भनी परेको जाहेरीको आधारमा निजलाई पक्राउ गरी अनुसन्धान गर्नुपर्ने सम्मको अवस्था स्थापित भएको नदेखिंदा प्रस्तुत मुद्दाको अन्तिम किनारा नभएसम्म निवेदकलाई पक्राउ नगर्नु नगराउनु भनी उच्च अदालत नियमावली, २०७३ को नियम ४२ बमोजिम यस अदालतबाट मिति २०८२र०३र०२ मा जारी भएको अल्पकालिन अन्तरिम आदेशलाई निरन्तरता दिएको छ।’

नेपाल खबर र बिजमान्डुको पक्षमा आदेशः
काठमाडौँ जिल्ला अदालतले नेपाल खबर र बिजमान्डु अनलाइनको पक्षमा फैसला गरेको छ । दुवै अनलाइनले प्रकाशित समाचार हटाउन नपर्ने भएको छ ।

अदालतले नेपाल नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले दायर गरेको निषेधाज्ञाको निवेदन खारेज गरिदिएको हो । जिल्ला न्यायाधीश श्यामविहारी मौर्यको इजलासले दुई दिनको सुनुवाइपछि यो फैसला गरेको हो ।

यो फैसलासँगै नेपालखबर र बिजमान्डुले श्रेष्ठका विषयमा प्रकाशित समाचार सामग्रीहरू हटाउनु नपर्ने भएको हो । श्रेष्ठले बिचौलियामार्फत घुस मागेको विषयका समाचार प्रकाशन भएपछि नेपालखबर र बिजमान्डुविरुद्ध श्रेष्ठले निवेदन दायर गरेका थिए ।

निषाधाज्ञाको निवेदनमा एकपक्षीय सुनुवाइपछि गत जेठ २७ गते न्यायाधीश पीताम्बर शर्माको इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

जेठ २७ गते न्यायाधीश शर्माको इजलासले धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठबारे प्रकाशित समाचार हटाउन र थप नलेख्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो । सोही आदेशमा नेपाल खबर र बिजमान्डुसँग लिखित जवाफ माग गर्दै बुधबारका लागि छलफलमा झिकाएको थियो ।

त्यसलाई निरन्तरता दिने कि नदिने भन्ने विषयमा जिल्ला अदालतका न्यायाधीश श्यामविहारी मौर्यको इजलासमा बुधबार बहस नसकिएपछि बिहीबार पनि हेर्दाहेर्दैमा राखिएको थियो । बिहीबार प्रतिवादीका तर्फबाट बहस सकिएपछि निवेदक श्रेष्ठका वकिलले जवाफी बहस गरेका थिए ।

श्रेष्ठले अल्पकालीन अन्तरिम आदेशलाई नै निरन्तरता दिन माग गरेका थिए। नेपालखबर र बिजमान्डुले भने श्रेष्ठ सार्वजनिक पद धारण गरेको व्यक्ति भएकोले प्रश्न उठ्नु स्वभाविक भएको बताउँदै निवेदन नै खारेजीको माग गरेका थिए ।

उनीहरुको माग बमोजिम नै अदालतले फैसला गरेको हो ।

 

शर्माको ‘झोले त तै‌, झोले त मैं’ गीत सार्वजनिक

काठमाडौँ  : लोक तथा दोहोरी गायक पशुपति शर्माको ‘झोले त तै‌, झोले त मैं’ बोलको गीतले सार्वजनिक भएको छ ।

मुलुकका प्रमुख राजनीतिक दल, शीर्ष नेताहरुलाई व्यंग्य गरिएको म्युजिक भिडियो ‘पशुपति शर्मा’ अफिसियल च्यानलबाट बिहीबार रिलिज गरिएको हो । गीतमा शर्माकै शब्द, स्वर, संगीत तथा अभिनय रहेको छ ।

पछिल्लो समय सत्तारुढ एमालेका नेताहरुले ‘म झोले हो’ भन्ने अभियान चलाएका थिए । उक्त सन्दर्भपछि शर्माले नयाँ गीत तयार पारेका हुन् । समसामयिक विषयवस्तुमा गीतमार्फत तीखो व्यंग्य गर्न सिपालु शर्माले ‘सबै पार्टी सही, खराब त तैं, खराब त मैं’ लगायत शब्द समेटेका छन् ।

उक्त गीतले सार्वजनिक भएको ७ घण्टाको अवधिमा १ लाख ३० हजारभन्दा बढी भ्यूज बटुलेको छ । करिब २ हजार जनाले कमेन्ट गरिससकेका छन् ।

एकीकृत समाजवादीका उपमहासचिव मेटमणि चौधरीविरूद्ध जाहेरी

काठ्माण्डौँ- नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव तथा सांसद मेटमणि चौधरीविरूद्ध जिल्ला प्रहरी कार्यालय दाङमा जाहेरी परेको छ।
बुधबार कार्यालयमा हुलाकमार्फत चेक अनादर कसुरमा जाहेरी परेको कार्यालय प्रमुख एसपी अर्जुनप्रसाद तिमिल्सिनाले जानकारी दिए।

‘हुलाकमार्फत चेक अनादरको जाहेरी आएको छ। यसबारे हामी छलफलमा छौं,’ उनले भने।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयको उच्च स्रोतका अनुसार चौधरीविरूद्ध एभेरेस्ट बैंकको ५ करोड ४० लाखको चेक अनादरको जाहेरी परेको हो।

उनीविरूद्ध रोल्पाका ठेकेदार धात बुढामगरले जाहेरी दिएका प्रहरीले जनाएको छ।

हुलाकमार्फत परेको जाहेरीलाई सनाखत गर्न प्रहरीले जाहेरवालालाई कार्यालयमा बोलाएको छ।

‘जाहेरवालालाई सनाखत गर्नका लागि बोलाउने प्रक्रिया हुन्छ। सनाखत भएपछि अनुसन्धानको नियमित प्रक्रियामा अघि बढ्छ,’ स्रोतले भन्यो, ‘हस्ताक्षर नमिलेर चेक बाउन्स भएको भन्ने कुरा छ। हामी हेर्दै छौं।’

यस विषयमा कुराकानी गर्न एकीकृत समाजवादीका उपमहासचिव चौधरीलाई सम्पर्क गर्दा उनले फोन उठाएनन्।

चौधरी गत आम निर्वाचनमा दाङ क्षेत्र १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए।

कैलाली कारागारमा कैदी मृत्यु प्रकरण : प्रहरी सई पक्राउ

कैलाली । कैलाली कारागारमा डडेलधुराका २८ वर्षीय हरिस सिंह पालीको रहस्यमय मृत्यु प्रकरणमा जिल्ला प्रहरी कार्यालय, कैलालीमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) हरजीत नाथ पक्राउ परेका छन्। कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक ९डीएसपी० राजकुमार सिंहका अनुसार मृतककी पत्नी जानकी साउँदले दिएको किटानी जाहेरीको आधारमा सई नाथलाई पक्राउ गरिएको हो। नाथ पक्राउ परेपछि पीडित पक्ष शव बुझ्न तयार भएको उनले बताए । सेती प्रादेशिक अस्पतालमा राखिएको शवको परिक्षण सकिएपछि शव परिवारलाई बुझाइने जनाइएको छ।

मृतक पालीमाथि बैंकिङ कसुरको मुद्दा चलेको थियो। उनीविरुद्ध पक्राउ परेका नाथले नै बैंकिङ कसुर मुद्दा दिएका थिए । पालीलाई  २०८० फागुनमा जिल्ला अदालत कैलालीले दोषी ठहर गर्दै १० दिन कैद र दुई लाख रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो। फैसला पछि फरार रहेका उनलाई डडेलधुरा प्रहरीले २९ जेठमा पक्राउ गरी ३० गते कैलाली ल्याइएको थियो।

त्यसपछि असार १ गते अदालतमा उपस्थित गराइएका उनलाई अदालतको आदेशपछि सोही दिन कारागार चलान गरिएको थियो। तर कारागार पुगेको भोलिपल्ट, असार २ गते राति करिब साढे १० बजे पाली कारागारको बाथरुम नजिकै अचेत अवस्थामा फेला परे। उपचारका लागि तत्कालै सेती प्रादेशिक अस्पताल पुर्याइएका पालीलाई १२ बजे  चिकित्सकले घोषणा गरेका थिए ।

मृतकका शरीरमा चोटपटक देखिएको भन्दै उनका परिवारले कुटपिटबाट हत्या गरिएको आशंका गरेका छन्। मृतककी पत्नी जानकी साउँदले प्रहरी सई नाथकै योजनामा श्रीमानको हत्या भएको आरोप लगाएकी छिन्। पक्राउ परेका नाथलाई हिरासतमा राखिएको छ भने घटना बारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

कैलाली कारागारमा पाली मृत्यु प्रकरण : प्रहरीका सई पक्राउ

कैलाली । कैलाली जिल्ला कारागारमा कैदीबन्दीको मृत्यु प्रकरणमा नेपाल प्रहरीका एक प्रहरी नायब निरीक्षक (सई) पक्राउ परेका छन् । डडेल्धुराको भागेश्वर गाउँपालिका वडा नम्बर ५ का २८ वर्षीय हरिस सिंह पालीको मृत्यु प्रकरणमा जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत सई हरजीत नाथलाई पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले मृतकका परिवारले दिएको किटानी जाहेरीका आधारमा सई नाथलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जानकारी दिए ।

सई जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत छन्, उनको नाममा मृतकका आफन्तले किटानी जाहेरी दिएपछि पक्राउ गरेर अनुसन्धान भइरहेको छ, आज नै हो, उनलाई नियन्त्रणमा लिएको, डिएसपी सिंहले भने ।

पालीमाथि बैङ्किङ कसुर मुद्दा दर्ता गरिएको थियो, जुन मुद्दाका वादी स्वयं सई नाथ थिए। जिल्ला अदालतले २०८० साल फागुनमा उनलाई १० दिन कैद र २ लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।

डडेल्धुराबाट २९ जेठमा पक्राउ परेका पालीलाई ३० गते धनगढी ल्याइएको र अदालतमा पेस गरी असार १ गते जेल चलान गरिएको थियो । तर, असार २ गते राति, पाली कारागारको बाथरुम नजिक अचेत अवस्थामा फेला परेका थिए । उनलाई तत्काल सेती प्रादेशिक अस्पताल पुर्‍याइए पनि सोही राति उनको मृत्यु भयो ।

मृतककी श्रीमती जानकी साउँदले सई नाथसहित पाँच जनाविरुद्ध योजना बनाएर कारागारभित्र हत्या गरिएको आरोप लगाउँदै जाहेरी दिएकी थिइन् । तर, प्रहरीले जाहेरी सच्याउन भनेपछि पछि उनले नाथविरुद्ध मात्र जाहेरी दर्ता गराएकी हुन् ।

पोष्टमार्टमपछि मात्रै शव बुझ्ने अडान लिएको परिवार पक्ष, सई नाथ पक्राउ परेपछि शव बुझ्न तयार भएको छ । शवको परीक्षण सेती प्रादेशिक अस्पतालमै सम्पन्न गरिएको प्रहरीले जनाएको छ ।

ओली-देउवा-प्रचण्डबीचको भेट स्थगित

काठमाडौं- समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख तीन दलका शीर्ष नेताहरूको बिहीबारका लागि तय भएको बैठक स्थगित भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा दिउँसो २ बजे बस्ने भनिएको बैठक विशेष कारणवश हाललाई स्थगन भएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।

बुधबारका लागि तय भएको बैठक नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ काठमाडौं बाहिर रहेकाले आज दिउँसो ३ बजेका लागि सारिएकामा पुनः २ बजे बस्ने भनिएको थियो ।

विपिनको कप्तानीमा यू–१६ राष्ट्रिय क्रिकेट टोली घोषणा

काठमाडौं । आगामी जुन २० देखि जुलाई ६ सम्म मलेसियामा हुन गइरहेको एसीसी इस्ट जोन कप २०२५ का लागि यू–१६ राष्ट्रिय क्रिकेट टोली घोषणा भएको छ ।
विपिन शर्माको कप्तानीमा बिहीबार १४ सदस्यीय टोली घोषणा गरिएको नेपाल क्रिकेट संघले जनाएको छ ।

टोलीको उपकप्तानको जिम्मेवारी सुर्यान्शु कोइरालालाई दिइएको छ ।

यस्तै परिमर्जन यादव, शिवांश बजगाईं, रौनक श्रीवास्तव, सचिन भट्ट, सुयोग भट्टराई, सुभम खनाल, जोय थापा र अभय यादव पनि टोलीमा छन् ।

यसैगरी सुगम बुढाथोकी, सुशीलबहादुर रावल, प्रसिद्ध जैसी र रोशन शाहीसमेत टोलीमा अटाएका छन् ।

२०६४ साल यताका १४ जना गृहमन्त्रीमाथि छानबिन हुनुपर्छ : ज्ञानबहादुर शाही

काठमाडौँ: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले भिजिट भिसा प्रकरणको विषयमा सबै दलहरू एकजुट भएर अघि बढ्न अपिल गरेका छन् । प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै सांसद शाहीले भिजिट भिसा प्रकरण कुनै दल विशेषको मुद्दा नभएको भन्दै एकजुट भएर अघि बढ्न आह्वान गरेका हुन् ।
उनले उक्त प्रकरणमा अहिलेका गृहमन्त्री रमेश लेखकको मात्र नभई २०६४ साल यताका १४ जना गृहमन्त्रीमाथि छानबिन हुनुपर्ने बताए । उनले भने, ‘भिजिट भिसा प्रकरण कुनै दल विशेषको मुद्दा होइन । हामी सबैको साझा मुद्दा हो । आजको एक जना गृहमन्त्रीको कुरा होइन, २०६४ सालदेखिका १४ वटा गृहमन्त्रीको मुद्दा हो ।

राप्रपाको तर्फबाट सबै दलहरूलाई अपिल छ –हामी एक ठाउँमा आएर मानव बेचबिखनविरुद्ध एकजुट बनौँ । यो कुनै व्यक्ति वा दलको मात्र मुद्दा होइन । आज लाखौँ मान्छेहरू बेचिएर अलपत्र परेका छन् । जबसम्म यो भिजिट भिसा प्रकरणमा छानबिन समिति बन्दैन तबसम्म आन्दोलन जारी रहन्छ ।’

उनले अवरोधका बिच संसद् नचलाउन समेत सभामुखसँग आग्रह गरे । अवरोधका बिच संसद्को कारबाही अगाडि बढाए आज पनि बैठक बहिस्कार गर्ने उनको भनाइ छ ।

मनसुनजन्य विपदबाट जोगिन कञ्चनपुरमा पूर्व तयारी

कञ्चनपुरः  मनसुन सक्रिय हुँदै जाँदा यस वर्ष विपद् जन्य घटनाबाट जोगिन कञ्चनपुरमा पूर्व तयारी थालिएको छ।

जिल्ला विपद् व्यवस्थापन समितिले नौ वटै पालिकामा मनसुन जन्य विपदका घटनाबाट जोगिन पूर्व तयारी थालिएको हे। कञ्चनपुरको दक्षिणी क्षेत्र र दोधाराचाँदनी नगरपालिकामा बाढी र डुबानको समस्या अत्यधिक हुने भएकाले ती पालिकाहरूमा स्वयम् सेवक खटाइ उनीहरूलाई तालिम उपलब्ध गराइएको जिल्ला विपद् व्यवस्थापन समिति कञ्चनपुरले जनाएको छ।

जिल्ला विपद् व्यवस्थापन समिति अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले दोधारा चाँदनी नगरपालिकामा ५२ स्वयम् सेवक, लालझाँडी गाउँपालिकामा ५० स्वयम सेवक र लालझाडी गाउँपालिकामा २७ जना स्वयम् सेवकलाई पूर्व तयारी तालिम उपलब्ध गराइएको बताए। बाढी प्रभावित बस्ती, समुदाय र व्यक्तिको पहिचान गरी विपदको समयमा घर छोड्न र डुबानबाट जोगाउन सहज हुने प्रमुख जिल्ला अधिकारी ढकालको भनाइ छ।

स्वयम् सेवकहरुलाई आवश्यक सामग्री उपलब्ध गराउन पनि पालिकाहरूसँग छलफल भएको उहाँले बताउनुभयो । विपद् आएका बखत उनीहरूले समयमै डुबानमा परेकाको उद्धार गर्ने, उचित स्थानमा सार्नै र बाढी प्रभावित क्षेत्रको समयमै सूचना प्रदान गर्ने प्रमुख जिल्ला अधिकारी ढकालले बताए।
यस्तै, जिल्ला विपद् व्यवस्थापन समितिले ‘मनसुन पूर्व तयारी तथा विपद प्रतिकार्य योजना २०८२’ अपडेट गरेको छ, जुन साउन १ गतेदेखि लागू हुने जनाइएको छ । ‘हरेक पालिका, गैरसरकारी संस्था र सुरक्षा निकायमा आवश्यक सामग्रीको व्यवस्था गरिएको छ,’’ प्रमुख जिल्ला अधिकारी ढकालले भने, ‘‘पालिकामा रहेको सामुदायिक प्रतिकार्य समूहलाई तत्पर रहन आग्रह गरेका छौँ।’’

बाढी प्रभावित क्षेत्रमा कटान र डुबानको समस्या निवारण गर्न कटान रोक्न पूर्व तयारी थालिएको उहाँले बताए। हाल महाकाली नदीमा नेपाली सेनाले गाइडबण्ड निर्माणको काम गरिरहेको छ भने अन्य बाढी प्रभावित क्षेत्रमा पालिकाहरूले तटबन्ध निर्माणको काम गरिरहेका जनाइएको छ।
विपदबाट जोगिन बन्दोबस्त सामग्रीको तमतयार अवस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी ढकालले बताए। विपद प्रतिकार्य योजनामा पहिचान गरी त्यसै अनुरूप आवश्यक परेको बेला संयन्त्र परिचालन गरिने उहाँले बताए।

यस्तै, सशस्त्र प्रहरी बल नेपाल न.३५ गण हे.क्वा. शैलेश्वरी कञ्चनपुरले जिल्लाका विभिन्न ६ स्थानमा विपद् बेस क्याम्प खडा गरेको छ।, मनसुन जन्य विपदमा परेकाको तत्कालै उद्धारका लागि बेस क्याम्पस खडा गरिएको सशस्त्र प्रहरी बल नेपाल न.३५ गण हेर्ड क्वाटर शैलेश्वरी कञ्चनपुरका प्रमुख लोकेन्द्र भट्टले जानकारी दिए। उनका अनुसार, शुक्लाफाँटा नगरपालिका १२ कालागौडी, गड्डाचौकी, भुजेला, कृष्णपुर नगरपालिका ५ सीमरी, बेलौरी नगरपालिका १० भुडा र दोधाराको कुतियाकभरमा विपद् बेस क्याम्प खडा गरिएको छ। प्रति बेस क्याम्पमा १० जना जनशक्ति परिचालन गरिने उहाँको भनाइ छ। हाल जिल्लामा विपद्सम्बन्धी तालिम गरेका ४० जना जनशक्ति उपलब्ध रहेका छन।

उहाँका अनुसार, जिल्लामा विपद् सूचक तयार गर्नै योजना पनि अगाडि बढाइएको छ। हाल १२ सय विपद् सूचक तयार गरिएको शैलेश्वरी कञ्चनपुरका प्रमुख लोकेन्द्र भट्टले जानकारी दिए। उनले भन्ने ‘‘प्रत्येक वडामा २५ सूचकका दरले ९३ वटै वडामा २३ सय विपद् सूचक तयार गर्दे छौँ।’’

सांसद थापाले संसद्‌मै च्याते बजेट पुस्तक

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद अम्मरबहादुर थापाले बजेट पुस्तक च्यातेका छन् ।
बिहीबारको प्रतिनिधिसभा बैठकमा थापाले ‘बजेट नै उल्टो बाटोमा’ रहेको भन्दै पुस्तक च्यातेका हुन् ।

थापाले भने, “भौतिक मन्त्रालयको बजेटले दैलेखमात्रै नभई धेरै ठाउँका जनतालाई सम्बोधन गर्न सकेन । बजेट किताबले जनताबाट उठेको राजस्वले जनतप्रति उत्तरदायी पूरा नगरेकोले मलाई मन परेन । च्यात्ने अनुमति लिएर च्यातेँ धन्यवाद ।” बजेटमा एकाधिकार कायम रहेको उनको भनाइ छ ।

थापा दैलेख क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद हुन् ।

 

प्रतिनिधिसभा बैठकमा रास्वपा र राप्रपाको विरोध कायमै

काठमाडौं : प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले अवरोध जनाएका छन्। बैठकको कारवाही अघि बढ्ने वित्तिकै विपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायत दलहरूका सांसद सिटबाट उठेर विरोध जनाएका छन्।
त्यसपछि सभामुख देवराज घिमिरेले बोल्नका लागि रास्वपा सांसद हरि ढकाललाई समय दिएका छन्। उनले बोल्ने क्रममा भिजिट भिसाको नाममा लाखौं लाखौं युवा ठगिएको विषयमा आन्दोलित हुँदैगर्दा सरकारले आफ्नो आन्दोलनलाई वेवास्ता गरेको आरोप लगाए।

उनले भिजिट भिसा प्रकरणमा विपक्षी दलहरूले उठाएका विषयमा गृहमन्त्री रमेश लेखकले जवाफ दिनुपर्नेमा उल्टै कटाक्ष गरेको टिप्पणी गरे। उनले आफ्ना माग पूरा नभएसम्म आन्दोलन जारी रहने बताए।

विपक्षी दलहरूको अवरोधकै बिच सभामुखले सदन अगाडि बढाएका छन्।

अमेरिकाले रोकेको अन्तर्राष्ट्रिय विद्यार्थीलाई भिसा दिने प्रक्रिया पुनः सुरु गर्ने

एजेन्सी- अमेरिकी विदेश मन्त्रालयले विदेशी विद्यार्थीको भिसाका लागि अपोइन्टमेन्टको तालिका पुनः सुरु गर्ने बताएको छ । तर भिसा आवेदन दिने विद्यार्थीहरूको सामाजिक सञ्जाल खाता जाँच गरिने बताइएको छ ।
यसका लागि, सबै आवेदकहरूलाई उनीहरूको सामाजिक सञ्जाल प्रोफाइलको गोपनीयता सेटिङ सार्वजनिक राख्न निर्देशन दिइनेछ ।

‘हामी हाम्रो भिसा जाँचमा उपलब्ध सबै जानकारीहरू अमेरिकामा प्रवेशको लागि योग्य नहुन सक्ने आवेदकहरू, विशेष गरी राष्ट्रिय सुरक्षामा खतरा निम्त्याउन सक्ने व्यक्तिहरू पहिचान गर्न प्रयोग गर्छौँ,’ मन्त्रालयले एक प्रेस विज्ञप्तिमा भनेको छ ।

नयाँ दिशानिर्देशहरू अन्तर्गत, आवेदकहरूको अनलाइन उपस्थिति सहित व्यापक र कडा छानबिन गरिने बताइएको छ ।

मन्त्रालयका अनुसार विदेशमा रहेका अमेरिकी दूतावास र वाणिज्य दूतावासहरूले चाँडै नै यी भिसा आवेदनहरूको तालिका पुनः सुरु गर्नेछन् । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वभरका आफ्ना दूतावासहरूलाई विद्यार्थी भिसाका लागि अपोइन्टमेन्ट रोक्न आदेश दिएका थिए ।

ट्रम्प प्रशासनले आवेदकहरूको सामाजिक सञ्जाल खाताहरूको गहन अनुसन्धान गर्ने योजनामा काम गरिरहेको बताएको थियो ।

भिजिट भिसा प्रकरणलाई संसद्‌मा थप चर्काउन रास्वपाको निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भिजिट भिसा प्रकरणलाई संसद्‌मा थप चर्काउन निर्देशन दिएको छ ।
बुधबार बसेको पार्टीको सचिवालय बैठकले उक्त प्रकरणमा अझ सशक्त रूपमा संसदमा प्रस्तुत हुन निर्देशन दिएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भिजिट भिसा प्रकरणलाई संसद्‌मा थप चर्काउन निर्देशन दिएको छ ।

बुधबार बसेको पार्टीको सचिवालय बैठकले उक्त प्रकरणमा अझ सशक्त रूपमा संसदमा प्रस्तुत हुन निर्देशन दिएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

यस्तै, बैठकले केन्द्रीय विभागहरुमा मनोनयन तथा जिम्मेवारी हेरफेर गरेको छ । नीति तथा विचार विभागको प्रमुखको जिम्मेवारी डा. स्वर्णिम वाग्लेलाई दिइएको छ भने राजन गौतम कृषि विभाग प्रमुख बनेका छन् ।

इजरायलले दियो दुई इरानी सहर खाली गर्न धम्की

एजेन्सी। इरान र इजरायलबिचको युद्ध सातौँ दिनमा पुगेको छ । यसैबिच, इजरायली सेना (आईडीएफ) ले बिहीबार बिहान दुई इरानी सहरहरू अरक र खोन्डुबका मानिसहरूलाई क्षेत्र खाली गर्न चेतावनी दिएको छ ।
अराकमा हेभी वाटर रियाक्टर छ । यो रियाक्टर इरानको आणविक कार्यक्रमको महत्त्वपूर्ण हिस्सा हो । अरकमा ठुलो मात्रामा हतियार पनि उत्पादन गरिन्छ ।

खोन्दबमा पनि आईआर–४० नाम गरेको हेभी वाटर रिएक्टर । यो पनि इरानको आणविक कार्यक्रमको महत्त्वपूर्ण हिस्सा हो । यो स्थान अरकबाट लगभग ४० किलोमिटर टाढा छ । अरकलाई जस्तै यसलाई पनि अन्तर्राष्ट्रिय स्तरमा निगरानी गरिँदै आएको छ ।

पछिल्लो ६ दिनमा यस इरान–इजरायल युद्धमा २४ इजरायली नागरिक मारिएका छन् । यसैबिच, वासिङ्टनस्थित एक मानवअधिकार समूहले इरानमा मृत्यु हुनेको सङ्ख्या ६३९ पुगेको बताइएको छ । यी आक्रमणमा कम्तीमा पनि १ हजार ३२९ जना घाइते भएको दाबी उसले गरेको छ ।

इजरायली ह्याकरहरूले बुधबार राति इरानको सरकारी सञ्चालित आईआरआईबी टिभी सहित धेरै समाचार च्यानलहरू ह्याक गरेका छन् । यस समयमा मानिसहरूलाई विद्रोह गर्न आह्वान गरिएको थियो ।

यी ह्याकरहरूले २०२२ मा इरानमा भएको विरोध प्रदर्शनको भिडियोहरू चलाएका थिए । यी भिडियोमा महिलाहरूले आफ्नो कपाल काटिरहेका देखिन्थे ।

त्रिकोणात्मक टी–२० : आज नेपाल नेदरल्यान्ड्ससँग खेल्दै

काठमाडौँ : त्रिकोणात्मक टी–२० सिरिज अन्र्तगत आज नेपाल नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ । बिहीबार नेपाल र नेदरल्यान्ड्सको दोस्रो खेल साँझ ७ः४५ बजे सुरु हुनेछ ।
नेपालले पहिलो खेलमा तीन वटासम्म सुपर ओभर खेलेर नेदरल्यान्ड्ससँगको खेललाई ऐतिहासिक बनाएको थियो । यसअघि तीन खेल खेलिसकेको नेदरल्यान्ड्सले दुई खेलमा जित निकाल्दै चार अंक बनाएको छ ।

दुई खेल खेलेको नेपालले भने एक हार र एक जित निकाल्दै दुई अंक मात्र बनाएको छ । पहिलो खेलमा स्कटल्यान्डसँग पराजित भएको नेदरल्यान्ड्सले दोस्रो खेलको तेस्रो सुपर ओभरमा नेपाललाई हरायो भने तेस्रो खेलमा स्कटल्यान्डमाथि १७ रनको जित निकालेको थियो ।

पहिलो खेलमा नेदरल्यान्ड्समाथि ३९ रनको जित निकालेको स्कटल्यान्ड भने दोस्रो खेलमा नेपालसँग दुई विकेटले पराजित भएको छ ।

नेपाल र स्कटल्यान्डले अन्तिम खेल शुक्रबार खेल्दैछन् । समान दुई अंक भए पनि तालिकामा स्कटल्यान्ड दोस्रो र नेपाल तेस्रो स्थानमा छन् ।

नेपालको लगातार दोस्रो जित

काठमाडौँ : नेपालले बिलि जिन किङ कप टेनिसमा लगातार दोस्रो जित हात पारेको छ ।

समूह ‘बी’को बुधबार भएको खेलमा नेपालले कतारलाई ३–० ले हरायो । पहिलो खेलमा नेपालले म्यान्मारलाई २–१ ले हराएको थियो ।

श्रीलङ्काको कोलम्बोमा जारी प्रतियोगिताको पहिलो सिंगल्समा नेपालकी शिभाली गुरुङले दाना खलिफालाई ६–० र ६–२ को सोझो सेटमा पराजित गरिन् । दोस्रो सिंगल्समा नेपालकी अभिलाषा विष्टले मुबारका अल नाइमीलाई ७–६ र ६–४ ले हराइन ।

यस्तै डबल्समा नेपालका सुनिरा थापा र स्वस्तिका विष्टको जोडीले हिन्द अल मुदाहका र मुबारकाको जोडीलाई ४–६, ७–५ र ११–९ ले पाखा लगाइन ।

समूह चरणको अन्तिम खेलमा नेपालले बिहीबार श्रीलङ्कासँग खेल्ने नेपाली टोलीका अफिसियल अजय विष्टले जानकारी दिए ।

नेपालमा एमसीसी परियोजना जारी रहने

काठमाडौं– संयुक्त राज्य अमेरिकाले ९० दिनको वैदेशिक सहायता रोक्ने निर्णयलाई विशेष अपवादअन्तर्गत राखेको छ । यसले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्टको पूर्ण कार्यान्वयनलाई निरन्तरता दिन अनुमति दिने छ।

यो निर्णय अमेरिकी सरकारले विश्वव्यापी रूपमा आफ्नो वैदेशिक सहायता कार्यक्रमहरूको व्यापक समीक्षाको अंशकाको रूपमा आएको हो।

नेपालस्थित अमेरिकी मिसनले जारी गरेको विज्ञप्ति अनुसार, विदेशमन्त्री एन्टोनी ब्लिन्केनले फेब्रुअरीमा अपवादलाई अनुमोदन गरे, जसले गर्दा अन्य अमेरिकी सहायता पहलहरूको अस्थायी निलम्बनको बावजुद नेपाललाई वित्त पोषित पूर्वाधार परियोजनाहरू अगाडि बढाउन सक्षम बनायो।

‘एमसीसी नेपाल कम्प्याक्ट पूर्ण कार्यान्वयनका साथ जारी राख्न अधिकृत छ,’ विज्ञप्तिमा भनिएको छ, जसले नेपालसँगको द्विपक्षीय साझेदारीप्रति अमेरिकी सरकारको निरन्तर प्रतिबद्धतालाई जोड दिन्छ। ‘एमसीसी र नेपालस्थित अमेरिकी मिसनले समीक्षाको रचनात्मक नतिजाको समर्थनमा सरोकारवालाहरूलाई संलग्न गराइरहन्छन्।’

खोज्नुहोस