१६ दिनकी सुत्केरी भाउजूको देवरबाटै हत्या, सुनको लोभले लियो ज्यान

कैलाली । कैलालीको गौरीगंगा नगरपालिका–७ कैलाशपुरमा शुक्रवार बिहान मृत भेटिएकी १९ वर्षीय सुत्केरी तुलसी नाथको आफ्नै देवरले हत्या गरेको प्रहरीले निष्कर्ष निकालेको छ ।
विगतदेखिको सामान्य विवाद र सुनका गहनाका कारण आफूले भाउजूको हत्या गरेको पक्राउ परेका नवीन नाथले प्रहरीलाई बयान दिएका छन् ।

‘भाउजू सुतेको बेला सिरानीले मुख च्यापेर हत्या गरे, उहाँले कानमा लगाएको गहना निकाले र शव बाहिर लगेर नालीमा फालिदिए’ प्रहरीसमक्ष उनले बयान दिएका छन् ।

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक(डिएसपी) रणबहादुर चन्दले पनि सहोदर देवरले तुलसी नाथको हत्या गरेको अनुसन्धानबाट खुलेको बताए ।

‘शवको पोस्टमार्टम हुन बाकी छ । तर, घटनाको प्रकृति र पक्राउ परेका युवकको बयानका आधारमा उनैले हत्या गरेको प्रारम्भिक ठहर छ ’ उनले भने ।

नवीनले सुनका गहनाका लागि आफूले हत्या गरेको स्वीकार गरिसकेको उनले बताए ।

भाउजूको हत्यापछि कानमा लगाएका सुनका गहना निकालेर घर नजिकै ढुङ्गामुनि लुकाएको भन्दै आफ्नो बुवालाई दिएको सूचनाको आधारमा प्रहरीले घटनामा उनको संलग्नता भएको पुष्टि गरेको थियो ।

सामान्य विवाद र सुन मोहले हत्या

शुक्रवार घर नजिकै १६ दिने सुत्केरीको मृत्यु भएको र शिशु सकुशल रहेको खबर फैलियो । इलाका प्रहरी कार्यालय मसुरियाले पनि मालाखेतीलाई सोही जानकारी गरायो ।

मालाखेतीबाट प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) रणबहादुर चन्द घटनास्थल तर्फ लागे । शवमा कुनै घाउ चोट नदेखिएपछि विष सेवनबाट वा सर्पको टोकाइबाट मृत्यु भएको आकलन गरियो । तर, प्रहरी प्रमुखलाई भने घटना सुरुबाटै शङ्कास्पद लागिरहेको थियो ।

मृततकको घरमा उनका देवर, देउरानी र एउटा ९ कक्षमा पढ्ने नन्द थिइन् । घटना भएको रातमा पनि सुत्केरी भाउजूलाई आफूले खाना पकाएर खुवाएको बयान दिएका देवरबाटै घटना भएको पुष्टि गर्न प्रहरीले एक दिन कुर्नु प¥यो ।

मृतकले केही दिन अघिसम्म लगाइरहेका कानका सुनका रिङहरू शवमा नदेखिएपछि घटना थप शङ्कास्पद बन्यो । ‘आठ ओटा रिङहरू कानमा थिएनन् त्यसपछि घटना त्यसैको लागि हो भन्ने बुझ्न सकस भएन ’ प्रहरी नायव उपरीक्षक चन्दले भने ‘घटनामा संलग्न देवर नै हुन् भन्ने पुष्टि हुन अझै केही समय अनुसन्धान जारी रह्यो । ’

नवीन नाथले सुरुमा प्रहरीलाई दिएको बयान र पछि अनुसन्धान अघि बढ्दै जान भन्न थालेको विषय केही फरक पर्न थालेपछि उनी शङ्काको घेरामा परेका थिए । शनिवार मृतकका सासू ससुरा तथा पक्राउ परेका युवकका बुवा आमा आएपछि घटनाको तथ्य पत्ता लगाउन प्रहरीले उनीहरूको पनि मद्दत मागेको थियो ।

‘देवरबाटै घटना भएको करिब ठहर हुँदा पनि प्रमाण नपाउँदासम्म केही भन्न सकिने अवस्था थिएन बुवा आमालाई उनले सुनका रिङहरू लुकाएको ठाउँ भनेपछि उनको पुष्टि भएको ठहर भयो ’ अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले भने ।

बुवा आमालाई त्यस विषयमा छोरालाई सोध्न पनि प्रहरीले आग्रह गरेको थियो । सुनका गहना भेटेपछि प्रहरीलाई उनले आफूले घटना घटाएको बयान दिएका थिए ।

‘सुरुबाटै मलाई हेप्ने गरेको हुँदा रिस उठेको थियो । त्यही रिसमा मैले सिरानीले मुख थुनेर मारेको हुँ ’ अन्तिममा शनिवार उनले प्रहरीलाई आफै भने ।

करिब २ वर्षपछि नवीनको दाजुसँग तुलसी नाथको विवाह भएको थियो । विवाह पहिले अभिभावक जस्तै रहेकी उनी दाजुसँग विवाह भएपछि भाउजू भएकी थिइन् । आफूलाई पटक पटक काम नगर्ने ,काम नभएको जस्ता कुराले हेप्नेगरेपछि मारेको उनले प्रहरीलाई भने ।

हत्या पछि हसियाले सुनका रिङ निकालेर शवलाई केहीबेरपछि घर नजिकैको नालामा फालेको नवीनले प्रहरीलाई बयान दिए । सुनका रिङ पानीका बगेको हुनसक्ने घटना बनाउन उनले भाउजूको हत्या पछि गलामा लगाएको माला पनि आफै फुकालेर पानीमा फालेका थिए ।

१६ दिनको सुत्केरी भाउजूको बीभत्स हत्या गर्ने युवकलाई कानुन अनुसार कडा कारबाही हुने प्रहरीले जनाएको छ ।

कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) बाल नर सिंह रानाले जटिल अवस्थामा पुगेको घटनालाई सूक्ष्म अनुसन्धान गरेर सफलता प्राप्त भएको बताए ।

‘घटनाको अवस्था जटिल थियो । सूक्ष्म अनुसन्धान र छानबिन पछि सत्य तथ्य पत्ता लागेको छ ’ उनले भने ‘जिल्ला र इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको विशेष टोलीले घटनाको तथ्य उजागर गरेको हो ।’

अमेरिकाले खतरनाक युद्धको सुरुवात ग‍र्‍यो : इरान

एजेन्सी- इरानले आफ्ना आणविक केन्द्रमा आक्रमण गरेर अमेरिकाले ‘खतरनाक युद्ध’को सुरुवात गरेको प्रतिक्रिया दिएको छ । इरानको परराष्ट्र मन्त्रालयले जारी गरेको वक्तव्यमा अमेरिकी आक्रमणले संयुक्त राष्ट्रसंघको बडापत्र र अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गरेको बताएको छ ।
“कूटनीतिक प्रक्रियाका बीच अमेरिकाले कूटनीतिलाई धोका दिएको कुरा बिर्सनुहुँदैन,” इरानको परराष्ट्र मन्त्रालयले भनेको छ ।

वक्तव्यमा इजरायललाई ‘नरसंहारकारी’ र ‘कानुनविहीन’ राष्ट्रको रूपमा व्याख्या गरिएको छ ।

“यस आक्रमणले संयुक्त राष्ट्रसंघको बडापत्र र अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गरेको छ । अमेरिकी सरकारले यो जघन्य अपराधको गम्भीर परिणाम तथा भयानक प्रभावका लागि पूर्ण जिम्मेवारी बहन गर्नुपर्छ,” वक्तव्यमा भनिएको छ ।

परराष्ट्र मन्त्रालयले चेतावनी दिँदै अगाडि भनेको छ, “अमेरिकी सैन्य आक्रमण र यो दुष्ट शासनले गरेका अपराधहरूको पूर्ण र दृढ प्रतिरोध गर्ने तथा इरानको राष्ट्रिय सुरक्षा र हितको संरक्षण गर्न आवश्यक सबै उपायहरू अवलम्बन गर्नु इरानको वैधानिक अधिकार हो ।”

वक्तव्यमा संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीलाई अमेरिकाले गरेको ‘स्पष्ट र आपराधिक गैरकानुनी कार्य’लाई तुरुन्त सम्बोधन गर्न आग्रह गरिएको छ । साथै, संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्लाई आक्रमणको निन्दा गर्न अत्यावश्यक बैठक बोलाउन आह्वान गरिएको छ ।

अमेरिकी आक्रमण क्षेत्रीय शान्तिका लागि गम्भीर खतरा : इराक
इराकले इरानका आणविक केन्द्रहरूमा अमेरिकी आक्रमणले मध्यपूर्वको स्थिरतालाई गम्भीर खतरा पुर्‍याएको बताएको छ ।

“यो सैन्य उन्मादले मध्यपूर्वमा शान्ति र सुरक्षाका लागि गम्भीर खतरा उत्पन्न गरेको छ । क्षेत्रीय स्थायित्वमा ठूलो जोखिम निम्त्याएको छ,” इराकी सरकारका प्रवक्ता बासिम अल–आवादीले वक्तव्यमा भनेका छन् ।

अल–आवादीले थप भनेका छन्, “निरन्तर आक्रमणहरूले खतरनाक उन्माद निम्त्याउन सक्छन् । र, यसको परिणाम कुनै एक देशको सीमाभन्दा बाहिर फैलिन सक्ने खतरा छ, जसले सम्पूर्ण क्षेत्र र विश्वको सुरक्षालाई प्रभावित पार्न सक्छ ।”

इराकले तत्काल तनाव कम गर्न आह्वान गरेको छ । युद्धले विनाशमात्र ल्याउने भएकाले अन्तर्राष्ट्रिय समुदायले यस विषयमा गम्भीर ध्यान दिनुपर्ने इराकको भनाइ छ ।

६१ किलो सुन प्रकरणमा पक्राउ परेकी अमला रोकालाई अदालत लगियो

काठमाडौं । ६१ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेकी अमला रोकालाई अदालत उपस्थित लगिएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रवक्ता तथा एसपी युवराज खड्काले रोकालाई अदालत लगिएको बताए । ‘उहाँविरुद्ध यसअघि नै मुद्दा दर्ता भएकाले सरकारी वकिलमार्फत अदालत पेश गरिन्छ । त्यसका लागि उहाँलाई पठाइसकेका छौं,’ प्रवक्ता खड्काले भने ।

गत शुक्रलबार सीआईबीले रोकालाई काठमाडौंको टोखाबाट पक्राउ गरेको थियो ।

उनको खोजीका लागि अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मा डिफ्यूटन नोटिस जारी भएको थियो । उनी सुनकाण्डमा मुछिएका बेलिजयम नागरिक दाबा छिरिङका श्रमतीसमेत हुन् । ठमेलस्थित होटेल भियना उनको नाममा दर्ता छ ।

राजस्व अनुसन्धान विभागले २ साउन २०८० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार राजस्व जाँच पास गरेर बाहिरिएको ६१ किलो सुन बरामद गरेको थियो ।

१९ दिनपछि थप अनुसन्धानका लागि भन्दै विभागले सीआईबीलाई फाइल बुझाएको थियो ।

अमला रोल्पाकी माओवादी नेतृ समेत हुन् । रोकासँग विवाह गरेपछि सुन तस्करीमा संलग्न दावा छिरिङले माओवादी नेताहरुसँग सम्बन्ध बनाएका थिए ।

रोकासहित तीन चिनियाँ नागरिकसँग हेलिकप्टरमा गोसाइकुण्ड घुम्न गएको पाइएको पूर्वउपराष्ट्रपति पुत्र दिपेश पुनसमेत विवादमा मुछिएका थिए । उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको छानबिन समितिले उनको समेत बयान लिएको थियो ।

निर्माण पुरा नहुँदै भत्कियो तामाकोशीको पुल

रामेछाप : रामेछापको मन्थली नगरपालिका–६ को कुनाउरीबाट वडा नं ७ भटौली ठेडिखोला जोड्ने गरी तामाकोशी नदीमाथि निर्माण भइरहेको पक्की पुल सम्पन्न नहुँदै भत्किएको छ।
आइतबार बिहान पुलको निर्माणाधीन एउटा स्पानको स्ल्याव पुरै खसेको छ। स्ल्याव यसअघि गत बैशाख २६ गते क्रयाक भएको थियो। त्यसपछि निर्माण कम्पनीले सो भागलाई टाल्ने काम गरिहरेको अवस्थामा आइतबार बिहान स्ल्याब पुरै भाँचिएर भुईँमा झरेको स्थानीय पाण्डव प्रसाईँले बताए।

‘पहिले भाँचिएको पुललाई प्राविधिक र निर्माणका कम्पनीको मिलेमतोमा टालटुल पारेर जिम्मामा लगाउने प्रयास भइरहेको थियो, तर अडिएन आज बिहान पुलको बिचको एक कौल स्ल्याब पुरै भाँचिएर झर्यो’ उनले भने

सडक विभागको पुल शाखाबाट आर्थिक वर्ष २०७८÷७९ सो पुल ठेक्का लगाइएको थियो। सो पुल ‘डिजाइन एण्ड विल्ड’ मोडलमा निर्माण भएको हो।

पुलको निर्माण जिम्मा कालिका–कल्पवृक्ष जेभीले पाएको थियो। पुलको कुल २ सय ३० मिटर लम्बाइ र ११ मिटर चौडाइको छ। पुल कर बाहेक २२ करोड ५५ लाख ४० हजार रुपैयाँमा निर्माण गर्ने ठेक्का सम्झौता भएको थियो। निर्माण कम्पनिले हालसम्म प्रतिशत भुक्तानी भइसकेको छ।

सो पुल निर्माणको म्याद २०८२ साल भदौ मसान्तसम्म भए पनि निर्माण कम्पनीले यसै असारभित्र काम सकेर जिम्मा लगाउने तयारी गरेको थियो। तर पुलको निर्माण नसक्दै भत्किएको छ।

यो पुल मन्थली नगरपालिका–६ र ७ लाई सिधा जोड्न तथा मन्थलीबाट खाँडादेवी, दोरम्बा शैलुङ, सुनपाति गाउँपालिका जान छोटो दुरीको सडक हुने गरी निर्माण गरिएको थियो।

शिक्षा प्रणाली परिवर्तन गर्न सांसदहरूको माग

काठमाडौँ- प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक-२०८२ अन्तर्गत विभिन्न मन्त्रालय र निकायका खर्च शीर्षकमाथि छलफल जारी रहँदा सांसदहरूले शिक्षा क्षेत्रको सुधार र बजेटमा प्राथमिकता दिनुपर्नेमा विशेष जोड दिएका छन्।

राष्ट्रिय जनमोर्चाका वरिष्ठ नेता तथा सांसद चित्रबहादुर केसीले नेपालमा शिक्षा प्रणालीको दिशा नै पुनर्विचार गर्नुपर्ने आवश्यकता औँल्याउँदै भने,‘हामी हाम्रा युवालाई के पढाइरहेका छौँ? के सिकाइरहेका छौँ? अहिलेको शिक्षा प्रणालीले विदेश जानुपर्ने सोच मात्र तयार गरिरहेको हो कि भन्ने गम्भीर प्रश्न उठेको छ।’

उनले नेपालको शैक्षिक प्रणालीले देशमै काम गर्ने, सिर्जनशील र उद्यमशील जनशक्ति उत्पादन गर्न नसकेको बताउँदै शिक्षा प्रणाली परिवर्तनको माग गरे।

त्यस्तै, नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले पनि शिक्षा, महिला, बालबालिका र ज्येष्ठ नागरिकको हक अधिकार सुनिश्चितताका लागि प्रयाप्त र सन्तुलित बजेट आवश्यक रहेको बताए। ‘बालबालिकाको शिक्षा, महिला अधिकार र सुरक्षामा सरकारले बजेट कटौती गर्नु गलत छ,’ उनले भने।

गंगा कार्कीले पनि बजेटले दोलखालगायत क्षेत्रमा शिक्षाको पहुँच विस्तारमा पर्याप्त ध्यान नदिएको भन्दै आपत्ति जनाइन्। उनले कृषि, खेलकुद र पर्यटनसँगै शिक्षा पनि दीर्घकालीन विकासको मूल आधार भएको बताइन्।

सांसदहरूले शिक्षा क्षेत्रलाई सामाजिक रुपान्तरणको आधार मानेर सशक्त बनाउनु आवश्यक रहेको धारणा व्यक्त गरे। यसैबीच, बैठकमा अन्य सांसदहरूले भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन, महिला तथा बालबालिका मन्त्रालयको बजेट बृद्धि र युवालाई रोजगारमुखी कार्यक्रमको आवश्यकताबारे पनि सरकारको ध्यानाकर्षण गराएका छन्।

भारतमा उद्धार गरिएका ३५ नेपालीलाई नेपाल ल्याइँदै

काठ्माण्डौँ- आकर्षक रोजगारीको झुटो आश्वासनमा भारतको उत्तराखण्डस्थित काशीपुरमा बन्धक बनाइएका ३५ जना नेपाली युवक सम्भवतः मंगलबार नेपाल फर्काउने तयारी गरिएको छ । गत बिहीबार नेपाली राजदूतावास, भारतीय प्रहरी र केन इन्डिया नामक सामाजिक संस्थाका निर्देशक नवीन जोशीको अगुवाइमा ती नेपालीहरूको उद्धार गरिएको थियो ।

निर्देशक जोशीका अनुसार अदालती र प्रशासनिक प्रक्रिया पूरा गरेर उनीहरूलाई सकुशल नेपाल ल्याउने तयारी भइरहेको छ । ‘एक महिनासम्म निरन्तर खटिएर ठूलो हिम्मत र साहसका साथ ३५ नेपालीलाई उद्धार गर्न सक्षम भएका छौँ । नेपालीलाई फसाउने गिरोहमध्ये एक नेपाली र दुई भारतीयलाई पक्राउ गरिएको छ र थप अनुसन्धान जारी छ,’ निर्देशक जोशीले भने ।

पीडितहरूलाई विभिन्न जिल्लाबाट झुक्याएर भारत पुर्‍याई बन्धक बनाइएकै अवस्थामा कुटपिट, यातना र आर्थिक शोषण गरिएको थियो । पीडित मध्येका इलामको महमाइ–८ का सौगात काफ्लेका अनुसार एक जना वीरेन्द्र शाही भन्ने व्यक्तिले आफ्नो अङ्कलको फेक आइडी बनाएर महिनाको ३८ हजार दिन्छु भनेर काशीपुरमा ल्याएर फसाएको बताए ।

‘मैले केही थाहा पाइनँ मेरो दिनेश अङ्कलको फेक आइडी बनाएको रहेछ । अङ्कलले नै भनिसकेपछि राम्रो पैसा कमाइने रहेछ भनेर पैसा बुझाएर आएँ । लगभग चार लाख ऋण नै लाग्यो । विश्वासमा परेर यता आइयो तर फसियो,’ उनले भने,‘यता रहनुभएको अकंलसँग भेट पनि भएन । खानेकुरा पनि सुरुमा चिकेम–मटन दिने र राम्रो काम लगाइदिने भनियो । तर विभिन्न बहानामा कोठा थुनेर राखियो । यातना दिइयो । खानेकुरा पनि आलु, बेसार–पानी दिइयो । ज्यादै दुःख पायौँ ।’

घटनाको जानकारी पाएपछि परराष्ट्र मन्त्रालयको निर्देशनमा दूतावासले उत्तराखण्ड प्रहरीले स्थानीय सामाजिक संस्था केन इन्डियाको सहयोगमा असार ५ गते उनीहरूको उद्धार कार्य सम्पन्न गरेको थियो ।

केन इन्डियाका निर्देशक जोशीका अनुसार गिरोहले सोझा नेपालीहरूबाट ४० देखि ७० हजार रुपैयाँसम्म असुल्ने गरेको बताए । ‘यसरी गलत व्यक्ति र मानव तस्करहरूमार्फत महिनामा ५० जना नेपालीहरू भारतका विभिन्न ठाउँमा पुर्‍याइने गरेको हामीले पत्ता लगाएका छौँ,’ उनले भने ।

जोशी विगत डेढ दशकदेखि भारतको दिल्लीमा बसेर मानव बेचबिखनविरुद्धको अभियानमा सक्रिय रहँदै आएका छन् । नेपालका गाउँहरूबाट भारतका विभिन्न सहर र तेस्रो मुलुक जाने क्रममा दलालबाट ठगिएका, बेचिएका वा अलपत्र पारिएकाहरूलाई जोशीको नेतृत्वको संस्थाले उद्धार गर्दै आइरहेको छ ।

बैतडीमा मकै बालिमा फौजी किराको समस्या देखियो

बैतडी‍- मकैमा अमेरिकन फौजी किराको समस्या देखिएपछि किसान चिन्तित भएका छन्। कृषि ज्ञान केन्द्रका प्रमुख हरिदत्त जोशीका अनुसार दोगडाकेदार र शिवनाथ गाउँपालिकामा फौजी किराले मकैबाली नष्ट गर्न थालेको छ। उनले मकै बालीमा किराको समस्या देखिएको गुनासो आएको र विषादी वितरण गर्न थालिएको बताए।

केन्द्रले यसअघि नै इमामेक्टिन वेन्जोएट नामक विषादी वितरण गरिरहेको छ। हाल भने कृषि ज्ञान केन्द्रमा पनि उक्त विषादी अभाव छ। किराले मकैको बोट सखाप पार्ने गरेको दोगडाकेदार–७ का दीपेन्द्र कार्कीले बताए। उनले भने, ‘फौजी किराले मकैबाली सखाप पारेको छ। उत्पादनमै कमी हुने देखिन्छ।’ लामो समयसम्मको खडेरीका कारण फौजी किरा बढी सक्रिय भएको हो।

दिनभरि मकैको बोटमा लुक्ने र रात परेपछि मकैको घोघा, डाँठ, पात र टुप्पा खाएर थोरै समयमा बाली नष्ट गर्ने गरेको दोगडाकेदार गाउँपालिकाका कृषि शाखा प्रमुख सुरेश भट्टले बताए।

उनले भने,‘फौजी किरा देखिएका स्थानका किसानलाई हामीले विषादी छर्किन सुझाव दिएका छौँ।’ मकैको पकेट क्षेत्रमा नै कीराले नोक्सान गरेको छ। पाँच वर्षयता हरेक वर्ष फौजी किराको समस्या देखिने गरेको छ। बैतडीमा १३ हजार हेक्टर क्षेत्रमा मकैखेती गरिँदै आएको छ।

इरानमाथिको आक्रमणलाई लिएर अमेरिकामै विरोध

अमेरिकामा डेमोक्र्याटिक पार्टीका नेताहरूले इरानका परमाणु केन्द्रहरूमा गरिएको अमेरिकी हवाई आक्रमणको निन्दा गरेका छन् । बीबीसीका अनुसार, कंग्रेससदस्य अलेक्जेन्ड्रिया ओकासिओ–कोर्टेजले यो कदम अमेरिकी संविधान र कंग्रेसका युद्धसम्बन्धी अधिकारको गम्भीर उल्लंघन भएको भन्दै यो राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध महाभियोगको आधार बन्ने बताएकी छन् ।

उनले सामाजिक सञ्जाल ‘एक्स’मा लेखेकी छन्, ‘उहाँले अत्यन्तै हतारमा यस्तो निर्णय लिनुभयो, जसले अमेरिका दशकौँसम्म अल्झिन सक्ने युद्ध सुरु गर्न सक्छ ।’ कग्रेस सदस्य राशिदा तालिबले पनि आक्रमणको कडा आलोचना गर्दै यो अमेरिकी संविधानको गम्भीर उल्लंघन भएको र कंग्रेसले तत्काल हस्तक्षेप गर्नुपर्ने आवश्यकता रहेको बताइन् ।

उनले भनिन्, ‘हामीले विगतमा देखेका छौँ, कसरी ‘विनाशकारी हतियार’ भएको झूटा बहानामा मध्यपूर्वमा दशकौँसम्म युद्ध चलाइयो । अब फेरि हामी त्यसै झेलमा पर्न चाहँदैनौं ।’

त्यस्तै, कंग्रेसका अर्का सदस्य जिम म्याकगभर्नले यस घटनालाई ‘पागलपन’ को संज्ञा दिएका छन् । उनले भने, ‘ट्रम्पले कंग्रेसको अनुमतिबिना इरानमाथि बम खसालेर अमेरिकालाई अवैध रूपमा अर्को मध्यपूर्वी युद्धमा तानेका छन् । के हामीले अहिलेसम्म कुनै पाठ सिकेनौँ ?’

प्रसिद्धको अर्धशतकमा सिंगापुरमाथि नेपालको जित

काठमाडौं । ओपनर प्रसिद्ध जैसीले अर्धशतक बनाएपछि एसीसी मेन्स यू-१६ इस्ट जोन कपमा नेपालले विजयी सुरुवात गरेको छ । आइतबार भएको पहिलो खेलमा नेपालले सिंगापुरलाई ६ विकेटले हराएको हो ।
सिंगापुरले दिएको १३९ रनको लक्ष्य नेपालले ३३.३ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो । प्रसिद्ध ५५ रनमा अविजित रहे । रौनक श्रीवास्तवले ४० रन बनाए ।

सिंगापुरका आकाश तेजाले ३ विकेट लिए । युवान पाण्डेले १ विकेट लिए ।

त्यसअघि कप्तान विपिन प्रसाद शर्मा र सचिन भट्टले उत्कृष्ट बलिङ गरेपछि टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुर ३६.१ ओभरमा सबै विकेट गुमाएर १३८ रनमा अलआउट भएको थियो ।

विपिनले १० ओभरमा १ मेडन राख्दै ३४ रन खर्चेर ४ विकेट लिए । सचिनले ६.१ ओभरमा २ मेडन राख्दै १६ रन खर्चेर ३ विकेट लिए । अभय यादव र शुभम खनाले समान १ विकेट लिए ।

सिंगापुरका लागि कप्तान रियान नइकले सर्वाधिक ५३ रन बनाए । यस्तै ओपनर आहान भुथानदमले ३८ रन बनाए ।

नेपालले अब दोस्रो खेल मंगलबार जापानसँग खेल्ने छ ।

आज पनि सदनमा रास्वपाको नाराबाजी, बजेटमाथिको छलफल जारी

काठमाडौं । रास्वपाका सांसदले आज पनि प्रतिनिधिसभाको बैठकमा वेल घेराउसहित नाराबाजी गरिरहेका छन् ।
रास्वपाको नाराबाजी र राप्रपाको वहिष्कार बाबजुद सदनमा बजेटमाथिको मन्त्रालयगत छलफल अघि बढाइएको छ ।

रास्वपाका सांसद असिम साहले आफूहरूको एक्लोपनलाई कमजोरी नठान्न चेतावनी दिँदै गृहमन्त्री रमेश लेखकको राजीनामा अडान दोहोर्‍याए । त्यस्तै राप्रपाका शांसद धवल शमशेर राणाले चैत १५ को आन्दोलनमा मञ्चमा अश्रुग्यास हानेर राज्यले हिंसा मच्चाएको आरोप लगाए ।

एसीसी यू–१६ : नेपाललाई सिंगापुरले दियो १३९ रनको लक्ष्य

काठमाडौं । एसीसी पुरुष यू–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा सिंगापुरले नेपाललाई जितका निम्ति १३९ रनको लक्ष्य दिएको छ ।

मलेसियाको यूकेएम ओभल क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको सिंगापुरले ३६.१ ओभरमा सबै विकेट गुमाउनुअघि १३८ रन बनायो । सिंगापुरका कप्तान रियन नायकले सर्वाधिक ५३ रनको योगदान दिए । ओपनर आहान भुधानभामले ३८ रन जोडे । अर्का ओपनर रोशन अरुन ११ बनाउँदै आउट भए ।

सिंगापुलाई १३८ रनमा समेट्ने क्रममा नेपालका कप्तान विपीन शर्माले चार विकेट लिए । सचिन भट्टले तीन तथा शुभम खनाल र अभय यादवले समान एक/एक विकेट लिए ।

एसियाली क्रिकेट परिषद् (एसीसी)को वार्षिक कार्यतालिकाअनुसार सञ्चालित उक्त प्रतियोगितामा विभिन्न १० टोलीको सहभागिता छ । प्रतियोगितामा नेपाल समूह ‘ए’मा छ । नेपालको समूहमा सिंगापुर, इन्डोनेसिया, भुटान र जापान छन् । समूह ‘बी’मा आयोजक मलेसियासहित हङकङ, माल्दिभ्स, थाइल्यान्ड र म्यानमार छन् ।

कैलालीमा मृत भेटिएकि सुत्केरीको देवरबाटै हत्या

धनगढीः कैलालीमा मृत भेटिएकि सुत्केरीको देवरबाटै हत्या गरिएको खुलाशा भएको छ।
जिल्लाको गौरीगंगा नगरपालिका–७ कैलाशपुरमा शुक्रवार बिहान मृत भेटिएकी १९ वर्षीया सुत्केरी तुलसी नाथको हत्या गरेको अभियोगमा उनका सहोदर देवर नवीन नाथलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) रणबहादुर चन्दले जानकारी दिएका छन्।

प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) रणबहादुर चन्दका अनुसार “नवीनले सुनका गहनाका लागि आफूले भाउजु सुतेको बेला सिरानीले मुख च्यापेर हत्या गरेको बयान दिएका छन्।’ भाउजुको हत्यापछि कानमा लगाएका सुनका गहना निकालेर घर नजिकै ढुङ्गामुनि लुकाएको अवस्थामा फेला परेका जनाइएको छ। नाथ शुक्रवार बिहान घर नजिकैको नालामा मृत भेटिएकी थिइन् भने उनको १६ दिनको नवजात शिशु भने सकुशल फेला परेको थियो।

यलाको सम्मानमा लेखिएको कविता सङ्ग्रह न्यूयोर्कमा विमोचित

न्यूयोर्क, २२ जुन ।

नेपाली कवि रजन महार्जनको अङ्ग्रेजी भाषामा प्रकाशित पहिलो कविता सङ्ग्रह ओड टु यला (Ode to Yala) न्यूयोर्कको क्विन्समा एक विशेष साहित्यिक कार्यक्रममा सार्वजनिक गरिएको छ।

निराला पब्लिकेशन्स, नयाँ दिल्लीद्वारा प्रकाशित यो सङ्ग्रहमा २३ वटा छोटा र लामा कविताहरू समावेश छन्, जसले कविको जन्मभूमि यला (पाटन)—काठमाडौँ उपत्यकाको ऐतिहासिक शहरको सौन्दर्य, संस्कृति र आत्मासँग गहिरो नाता जोडेको छ। यस सङ्ग्रहमा प्रवासको जीवन र आफ्नो मौलिक पहिचानबीचको द्वन्द्वलाई पनि कवितामार्फत् समेटिएको छ।

पारिवारिक वातावरणमा सम्पन्न भएको विमोचन कार्यक्रममा हिमालयन कवि युयुत्सु शर्मा, कविकीचार वर्षीया छोरी अरलानी, पत्नी अस्मिता र ससुरा अमृत मान महार्जन तथा सासु मीना महर्जनले संयुक्त रूपमा पुस्तक सार्वजनिक गरिन्।

कार्यक्रममा कवि महार्जनले आफ्ना कविता मार्फत् जन्मभूमिलाई सम्मान गर्न पाएको खुशी व्यक्त गर्दै न्यूयोर्कस्थित नेपाली समुदायप्रति आभार प्रकट गरे।

कवि युयुत्सु शर्माले नेपालबाट अङ्ग्रेजी भाषामा हुने लेखनको परिवर्तित परिदृश्यमा ओड टु यला को सांस्कृतिक र साहित्यिक महत्वमाथि प्रकाश पारे ।

उनले कवि महार्जनको काव्यशैलीले जन्मभूमिप्रतिको माया र स्मृतिलाई जीवन्त चित्रहरूमा प्रस्तुत गरेको भन्दै प्रशंसा गरे। “ओड टु यला मार्फत्,” उनले भने, “महार्जनले प्रवास र पहिचानबीचको द्वैतता अँगाल्दै कविको रूपमा आफ्नो स्वरलाई दृढ बनाएका छन्।”

कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (INLS) का प्रतिनिधिहरू गीता खत्री, ज्योति पौडेल, लक्ष्मी श्रेष्ठ, रजिन्द्र श्रेष्ठ लगायतले पुस्तकको सफलताको शुभकामना व्यक्त गरे।

वक्ताहरूमा आनन्द श्रेष्ठ, गोविन्द कोइराला, तुलसी चित्रकार र नेपालभाषा कवि अमृत मान जा पनि थिए।

निराला पब्लिकेशन्सको संयोजनमा फुडमाण्डुमा सम्पन्न विमोचन कार्यक्रममा न्यूयोर्कका विभिन्न नेपाली सामाजिक तथा साहित्यिक सङ्गठनहरूका प्रतिनिधिहरू र नेपाली समुदायको उल्लेखनीय उपस्थिति थियो ।   ओड टु यला अहिले अमेजन, फिलिपकार्ट, र दराजमा उपलब्ध छ र चाँडै नेपालका प्रमुख पुस्तक पसलहरूमा पनि पाइनेछ।

इरानका परमाणु केन्द्रहरूमा अमेरिकी हमला, तेहरानलाई थप चेतावनी दिँदै ट्रम्पको सम्बोधन

राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकाले इरानको फोर्दो, नटान्ज र इस्फहानमा रहेका परमाणु केन्द्रहरूमा बम हमला गरेको बताएका छन्।

ट्रम्पले ती हमलाहरू “निकै सफल” भएको जनाउँदै इरानको मुख्य प्रशोधनस्थल फोर्दोमा बमको “फूल पेलोड” खसालिएको समेत बताए।

इरानी सरकारी सञ्चारमाध्यमहरूले फोर्दो केन्द्रको एक भाग “शत्रुको आक्रमणमा परेको” जनाएको छ।

बीबीसीको अमेरिकी साझेदार सीबीएस न्यूजका अनुसार अमेरिकाले शनिवार इरानलाई “कूटनीतिक रूपमा” सम्पर्क गर्दै ती हमला मात्र उसको योजनामा रहेको र “शासनसत्ता परिवर्तनको प्रयासको योजनामा नरहेको” जनाएको थियो।

ट्रम्पले आफ्नो सोसल मिडिया ‘ट्रुथ सोसल’मा लेख्दै आफ्ना सबै विमानहरू इरानको हवाई क्षेत्र बाहिर आइसकेको र अमेरिका फर्कँदै गरेको जनाएका छन्।

अमेरिकी हमलामा परेको फोर्दो परमाणु स्थलको भूउपग्रहबाट खिचिएको तस्बिर

कैयौँ रिपब्लिकनहरूले डोनल्ड ट्रम्पको कदमको समर्थनमा प्रतिक्रिया गरेका छन् भने केही अमेरिकी सांसदहरूले कङ्ग्रेसको स्वीकृति नलिएकोमा ट्रम्प प्रशासनको आलोचना गरेका छन्।

ट्रम्पको सम्बोधन

ट्रम्प

तस्बिर स्रोत,Reuters

हमलालगत्तै टेलिभिजनमार्फत सम्बोधन गर्ने क्रममा ट्रम्पले “इरानका प्रमुख आणविक प्रवर्द्धन केन्द्रहरू पूर्ण रूपमा र पूरै ध्वस्त पारिएको” बताउँदै “इरानले अब शान्ति कायम गर्नुपर्ने” बताए।

“यदि उनीहरूले त्यसो गरेनन् भने भविष्यका हमलाहरू निकै ठूला र निकै सहज हुनेछन्,” उनले भने।

चार मिनेट लामो उक्त सम्बोधनमा ट्रम्पले बेन्जमिन नेतन्याहूलाई बधाई दिँदै आफूहरूले “इजरेलका लागि यस भयानक खतरा” मेट्न “एकसाथ” काम गरेको बताए।

“त्यहाँ कि त शान्ति हुनेछ या त इरानका लागि विगत आठदिनमा हामीले देखेभन्दा निकै ठूलो त्रासदी हुनेछ,” इरानलाई थप चेतावनी दिँदै ट्रम्पले भने।

“याद रहोस्, धेरै निशानाहरू बाँकी छन्। आजको रात अहिलेसम्मकै सबैभन्दा कठिन र सायद सबैभन्दा घातक समेत थियो। तर यदि शान्ति चाँडै आएन भने हामी अन्य ती निशानाहरूमा सटिक रूपमा, छिटै र कुशलतापूर्वक जानेछौँ।”

इजरेलमा कडा सुरक्षा व्यवस्था

इजरेल इरान द्वन्द्व

अमेरिकी हमलासँगै इजरेली सेनाले देशमा सुरक्षा व्यवस्था कडा पारिएको जनाएको छ। जसमा भेलाहरूमा प्रतिबन्ध र विद्यालय तथा कार्यालयहरू बन्द गर्ने समावेश छन्।

अमेरिकी हमलाप्रति प्रतिक्रिया जनाउँदै इजरेल वासिङ्टनसँग “पूर्ण समन्वय” मा रहेको इजरेली सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।

इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले इरानमा आक्रमण गर्ने राष्ट्रपति ट्रम्पको कदमलाई ‘साहसिक निर्णय’ बताउँदै त्यसको प्रशंसा गरेका छन्।

उनले एक भिडियो सन्देशमार्फत यस अमेरिकी हमलाले इतिहास बदल्ने बताएका छन्।

‘बी-२ विमान प्रयोग’

अमेरिकी लडाकु विमान

तस्बिर स्रोत,Getty Images

ती इरानी परमाणु केन्द्रहरूमा हमलाका लागि अमेरिकी लडाकु विमान बी-२ बमर प्रयोग गरिएका भनिएका विवरणहरू आएका छन्।

ती ठूला जेटहरू इरानको जमिनमुनि रहेका परमाणु केन्द्रसम्म पुग्न सक्ने अस्त्र बोक्न सक्षम विमान मानिन्छन्।

ती विमानले बोक्ने अस्त्र साठी मिटरसम्मको गहिराइमा विस्फोट हुनुभन्दा पहिले जमिनमुनि रहेका लक्ष्यहरू छेड्नेगरी बनाइएका छन्।

यसअघि अमेरिकी सेनाले आफ्ना बी-२ स्टिल्थ बमवर्षकहरूलाई प्रशान्त महासागरमा रहेको अमेरिकी टापु क्षेत्र गुआममा सारेको थियो।

त्यससँगै वासिङ्टन इजरेल र इरानबीचको द्वन्द्वमा प्रत्यक्ष रूपमा संलग्न हुने योजना बनाइरहेको हुनसक्ने बारे प्रश्नहरू उठेका थिए।

वीवीसीबाट ।

सिन्धुपाल्चोकको जनता माविका छ जना विद्यार्थीलाई छात्रवृति प्रदान

सिन्धुपाल्चोक,८ असार ।
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–९ ज्यामिरेस्थित जनता माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत छ जना विद्यार्थीलाई छात्रवृति प्रदान गरिएको छ ।

अमेरिकाको एट्लान्टा राज्यको जर्जियामा बस्ने शौभाग्य श्रेष्ठ र उनकी पत्नी गंगा श्रेष्ठका नामबाट स्थापित शुभ गंगा छात्रवृति अक्षयकोषबाट छ जना जेहेन्दार विद्यार्थीलाई जनही पाँच हजार रुपैयाका दरले छात्रवृति प्रदान गरिएको हो ।

शुक्रवार विद्यालयमा आयोजित दाता सम्मान तथा छात्रवृति प्रदान कार्यक्रममा आयुषा खड्का, सन्देश थापा, करुणा मगर, सजिता बस्नेत, सुनिता मिजार र बिनिता थापालाई छात्रवृति प्रदान गरिएको हो ।

प्रमुख अतिथि मेलम्ची नगरपालिका वडा नम्बर ९ का अध्यक्ष किरणदीप खड्काले छात्रवृति वाफतको रकम विद्यार्थीहरुलाई हस्तान्तरण गरेका हुन् । कार्यक्रमको सञ्चालन सहायक प्रधानअध्यापक माधव अधिकारीले गरेका थिए ।

श्रेष्ठले झण्डै ५० वर्ष अघि जनता माध्यमिक विद्यालयमा एक वर्ष पढाएका थिए । तत्कालीन समयमा राष्ट्रिय विकास सेवाले एमएमा अध्ययनरत विद्यार्थीलाई अनिवार्य रुपमा एक वर्ष शिक्षण तथा सामाजिक कार्यमा खटाउथ्यो । श्रेष्ठले राविसेकै सोही कार्यक्रम अन्तर्गत एमए अध्ययनका क्रममा एक वर्ष जनता माविमा पढाएका थिए । उनले आपूmले पढाएको जनता माध्यमिक विद्यालयमा दुई वर्षअघि छ लाखको अक्षयकोष स्थापना गरेका थिए । सोही अक्षयकोषको व्याजबाट वर्षेनी छ जना विद्यार्थीलाई छात्रवृति प्रदान गर्ने गरिएको छ ।

सांसद कार्कीको प्रश्न– पैसा कमाउन देश बेच्ने हो ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद रोशन कार्कीले भिजिट भिसा प्रकरणबारे उच्चस्तरीय छानबिन हुनुपर्ने बताएकी छन् । शनिबार (असार ७) प्रतिनिधिसभा बैठकमा उनले यस्तो बताएकी हुन् ।

आफूहरूले जनताको आवाज उठाउँदा पनि सरकार बेखबर रहेको भन्दै उनले चिन्ता व्यक्त गरिन् । रुस, युक्रेन सेनामा रहेका नेपाली पनि भिजिट भिसाबाटै त्यहाँ पुगेका उनले बताइन् ।

“…हाम्रा दाजुभाइ, दिदिबहिनीहरू बेचिएका छन् । उनीहरूमार्फत लाखौँ रुपैयाँ असुल गर्नेजस्तो निर्लज्जता केही पनि छैन,” उनले भनिन् ।

गृहमन्त्री रमेश लेखक भिजिट भिसा प्रकरणमा जोडिएको आरोप लगाउँदै उनले आफूहरूले राजीनामा माग गरेको उल्लेख गरिन् । गठबन्धन दलले सुशासन कायम गर्ने भए गृहमन्त्रीलाई बर्खास्त गर्नुपर्ने उनले माग गरिन् ।

‘एक करोड दैनिक आम्दानीको हिस्सा गठबन्धन सरकारका टाउकेहरूले पनि खाएका त छैनन् ?’ भन्दै उनले प्रश्न गरिन् ।

सांसद कार्कीले ‘पैसा कमाउन देश पनि बेच्ने हो ?’ भन्दै प्रश्न गरिन् । अविलम्ब उच्चस्तरीय छानबिन समिति बनाउनुपर्नेमा उनले जोड दिइन् । उनले गृहमन्त्री लेखकले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताइन् ।

राज्यले थारुलाई नेपाली नमानेको रेशम चौधरीको गुनासो

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले राज्यले थारुलाई नेपाली नमानेको बताएका छन् । उनले थारुहरूले आफू पनि नेपाली हो भन्दा समेत राज्य मान्न तयार नरहेको गुनासो गरे ।
उनले भने– ‘मलाई डिल्लीबजार सदरखानामा थुनेको होइन, थारुको पहिचानलाई थुनेको हो, एक पटक होइन, थारुको पहिचान मेटाउने गरी पटक पटक थुनेको हो त्यसैले अब आफ्नो पहिचानका लागि जाग्नुपर्ने बेला आएको छ ।’

काठमाडौँमा आयोजित बृहत् थारु सांस्कृतिक कार्यक्रममा बोल्दै संरक्षक चौधरीले भने, ‘म राजनीतिक व्यक्ति होइन, मलाई जबरजस्ती बनाइएको हो, म सांस्कृतिक व्यक्ति हुँ ।’

यो राज्यले थारुमाथि गरेको अन्यायको बयान समेत गर्न नसकिने बताउँदै उनले टिकापुर घटनाले थुप्रै थारु चेलीबेटीको चिर हरन गरेको भन्दै दुःख व्यक्त गरे । सो घटनामा सयौँ मोटरसाइकल र साइकल जलाउने कार्य भयो तर त्यसका लागि कोही पनि नबोलेको उनले गुनासो गरे ।

टिकापुर घटनामा आफू संलग्न नभए पनि राज्यले थुनेको गुनासो गर्दै उनले भने, ‘मैले जेलबाट नै राज्यलाई गीतको माध्यमबाट प्रश्नहरू गरेको छु ।’

चितवन दुर्घटनामा घाइतेको पहिचान खुल्यो

काठमाडौं । चितवनको राप्ती नगरपालिका–३ स्थित पूर्व–पश्चिम राजमार्गमा शनिबार बिहान यात्रुवाहक बस र इभी भ्यान ठोक्किँदा भएको दुर्घटनामा घाइते भएका २४ जनाको पहिचान खुलेको छ। घटनामा ७ जनाको मृत्यु भएको थियो।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी रविन्द्र खनालका अनुसार धनगढीबाट काकडभिट्टा जाँदै गरेको प्रदेश १–०१–००१ ख ३५८३ नम्बरको यात्रुवाहक बस र विपरीत दिशाबाट आइरहेको बागमती प्रदेश ०३–००१ ज २९९ नम्बरको इभी भ्यान शनिबार बिहान करिब ११ बजे ठोक्किँदा सो दुर्घटना भएको हो।

दुर्घटनामा घाइते भएका २४ जनाको नाम चितवन प्रहरीले सार्वजनिक गरेको छ। घाइते हुनेहरूमा हेटौंडा उपमहानगरपालिका–८ की ३४ वर्षीया गंगा घलान गम्भीर घाइते भएकी छन्।

मध्यम घाइतेहरूमा हेटौंडा–१३ का १६ वर्षीय सक्षम थापा, हेटौंडा–१२ का ३२ वर्षीय सिंहबिर घलान, हेटौंडा–४ का ३१ वर्षीय बिष्णु लम्साल, झापा गौरादह–९ की ६५ वर्षीया सुशीला बराल, र कञ्चनपुर बेलौरी–४ का ४८ वर्षीय वीरबहादुर जैसी रहेका छन्।

सामान्य घाइतेहरूमा झापा गौरादह–९ की ६७ वर्षीया उमा बराल, झापा गौरादह–६ का ७० वर्षीय टिका न्यौपाने, झापा दमक–८ की ८३ वर्षीया लक्ष्मी पौडेल, झापा मेचीनगर–१५ का २३ वर्षीय प्रवेश सौरेन, कञ्चनपुर पूरनवास–६ की ७० वर्षीया चन्द्रकुमारी थापा र ६९ वर्षीय जम बहादुर थापा, कैलाली लम्कीचुवा–८ का ४५ वर्षीय जम बुढा, लम्कीचुवा–१ का ३७ वर्षीय लोकेन्द्र बुढा र ४८ वर्षीय बलसिंह बुढा, कैलाली गोरीगंगा–११ का ३२ वर्षीय सुरेश बोगटी, कैलाली गोदावरी–४ का ३४ वर्षीय महेश चौधरी, मोरङ बेलबारी–७ का २७ वर्षीय सुमन चौधरी, रौतहट चपुर–७ का ४५ वर्षीय वुलटन साह कानु, सप्तरी राजविराज–५ का ५६ वर्षीय श्रीचन्द्र राय, कालिकोट पलाता–४ का ५३ वर्षीय रत्न बुढा, अछाम साफेबगर–१० का ३२ वर्षीय अर्जुन बहादुर राउत, रुकुम पश्चिम आठबिसकोट–९ का ३० वर्षीय सन्देश ओली, र मकवानपुर बकैया गाउँपालिका–४ की २६ वर्षीया अनिसा घिमिरे छन्।

घाइतेहरूको चितवन मेडिकल कलेज, पुरानो मेडिकल र भरतपुर अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनापछि पूर्व–पश्चिम राजमार्गको उक्त खण्डमा सवारी आवागमन अवरुद्ध भएको थियो। इलाका प्रहरी कार्यालय भण्डारा, खैरहनी र टाँडीबाट खटिएको टोलीसहित ४५ जना सुरक्षाकर्मीको सहयोगमा उद्धार गरिएको थियो।

दुर्घटनामा परेका सवारीसाधन हटाएर राजमार्ग दिउँसो १२ः ०५ बजेपछि सञ्चालनमा ल्याइएको थियो। मृतकको सनाखत र विस्तृत विवरण संकलनको कार्य जारी रहेको प्रहरीले जनाएको छ।

आज पनि संसद्‌मा रास्वपा र राप्रपाको अवरोध

काठमाडौं । व्यवस्थापिका संसदको आजको बैठक पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अवरुद्ध गरेका छन्।
उनीहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै जेठ १२ गतेदेखि संसद् अवरुद्ध गर्दै आइरहेका छन्।

त्यसकै निरन्तरतास्वरुद्ध आज पनि उनीहरूले संसद् अवरुद्ध गरेका हुन्। अवरोधकै बीच सभामुख देवराज घिमिरेले संसद् सञ्चालन गरेपछि राप्रपा र रास्वपा बैठक बहिष्कार गरी बाहिरिएका छन् ।

फ्रेन्चाइज महिला भलिबल लिगको दोस्रो संस्करण भदौ २० गतेदेखि हुने

काठमाण्डौ – फ्रेन्चाइज महिला भलिबल लिगको दोस्रो संस्करण भदौ तेस्रो हप्तादेखि हुने भएको छ । आयोजक इन्फिनिटी ड्रिम्स प्राालिले दोस्रो वात्सल्य एभरेस्ट महिला भलिबल लिग (ईडब्लूभीएल) को औपचारिक मिति घोषणा गरेको छ । प्रतियोगिता भदौ २० देखि २८ सम्म काठमाण्डौमा आयोजना हुनेछ ।
नेपाल भलिबल सङ्घले औपचारिक स्वीकृति दिएसँगै प्रतियोगिताको तयारी अगाडि बढाइएको इन्फिनिटी ड्रिम्सकी सीईओ स्नेभी चापागाईंले जानकारी दिए । प्रतियोगितामा पहिलो संस्करणमा जस्तै यसपालि पनि छ टिमको सहभागिता रहनेछ ।

हरेक टिमले तीन जना विदेशी खेलाडी अनुबन्ध गर्न पाउने छन् । गएको वर्ष नौ वटा देशका खेलाडीले एभरेस्ट महिला लिग खेलेका थिए । प्रतियागिताको पहिलो संस्करणमा कर्णाली यश्विजले उपाधि जितेको थियो ।

धनगढीबाट काकडभिट्टा जाँदै गरेको बस दुर्घटनाः सात जनाको मृत्यु, १८ घाइते

धनगढीः धनगढीबाट काकडभिट्टा जाँदै गरेको बस दुर्घटना हुुँदा सात जनाको मृत्यु भएको छ,भने १८ घाइते भएका छन्।
चितवनका प्रहरी प्रमुख गोविन्द पुरीका अनुसार पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिकाको खहरे पुलमा धनगढीबाट काँकडभिट्टातर्फ गइरहेको यात्रुवाहक बस र मकवानपुरबाट नारायणगढ आइरहेको विद्युतीय सवारी साधन आपसमा ठोक्किँदा दुर्घटना भएको हो।

घाइतेको चितवन मेडिकल कलेज, पुरानो मेडकल कलेज र भरतपुर अस्पतालमा उपचार भइरहेको छ।

पत्रकार रजकको परिवारलाई रास्वपाले गर्‍यो तीन लाख सहयोग

काठमाडौं । तीनकुने घटनामा मृत्यु भएका पत्रकार सुरेस रजकको परिवारलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आर्थिक सहयोग गरेको छ ।

तेस्रो स्थापना दिवसको अवसरमा चैत १५ गते तीनकुने घटनामा मृत्यु भएका पत्रकार रजकका परिवारलाई रास्वपाले तीन लाख रुपैयाँ सहयोग गरेको हो ।

रास्वपाले आगामी दिनमा पत्रकारको सुरक्षाप्रति राज्य संयन्त्र, राजनीतिक दल र आन्दोलनकारी जिम्मेवार रहन माग गरेको छ ।

नैतिकताका आधारमा गृहमन्त्रीले राजीनामा दिनुपर्छ : सांसद कार्की

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद रोशन कार्कीले भिजिट भिसाका नाममा भइरहेको मानव बेचबिखन र अनियमितताबारे गम्भीर आरोप लगाउँदै गृहमन्त्रीको राजीनामाको माग गरेकी छन्।
शनिबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद कार्कीले लामो समयदेखि राप्रपाले जनताको पक्षमा आवाज उठाउँदै आएको उल्लेख गर्दै उनले विशेषगरी भिजिट भिसाको दुरुपयोग गरी विदेश पठाइएका नेपालीहरू, बेचिएका चेलिबेटीहरू र जीवन जोखिममा पारिएको भन्दै राजीनामा माग गरेकी हुन्।

‘आज हामी धेरै लामो समयदेखि आन्दोलनरत छौंं’, सांसद कार्कीले भनिन्, ‘हामीले आवाज उठाएका छौं। नेपाली जनताको लागि, विदेशमा गएर बेचिएका चेलीहरुका लागि, रसिया गएर मारिएका र काल कुरेर बसेका नेपालीहरुका लागि। यि सबै काम भिजिट भिसाको कमालले हो।’

उनले भिजिट भिसा प्रकरणमा छानविन र उच्चस्तरीय छानविन हुनुपर्ने बताइन्।

सांसद कार्कीले भिजिट भिसासम्बन्धी प्रकरणमा गृहमन्त्रीको नाम जोडिएको भन्दै नैतिकताको आधारमा राजीनामा दिनुपर्ने माग गरिन्।

गाजामा मानवीय सहायता पर्खिरहेका ३४ जना प्यालेस्टिनी मारिए

एजेन्सी- गाजामा मानवीय सहायता पर्खिरहेका कम्तीमा ३४ जना प्यालेस्टिनी नागरिक इजरायली सेनाको आक्रमणमा मारिएका छन् ।
मध्य र दक्षिणी गाजामा भएको गोलाबारीमा उनीहरु मारिएको अस्पताल स्रोतलाई उद्धृत गरी अलजजिराले जनाएको छ ।

पछिल्लो आक्रमणमा परी गाजाभर कम्तीमा ८२ जना प्यालेस्टिनीको ज्यान गएको विवरण छ । तर यसको स्वतन्त्र पुष्टि हुन सकेको छैन ।

अस्पताल स्रोतले दिएको जानकारी अनुसार, मध्य गाजामा ३७ जना मारिएका छन्, जसमध्ये २३ जना सहायता प्राप्त गर्न आएका नागरिक थिए ।

त्यस्तै गाजा सिटीमा २३ र दक्षिण गाजामा २२ जना मारिएकोमा ११ जना सहायता लिन आएका नागरिक रहेका छन् ।

सम्पूर्ण गाजा क्षेत्र अहिले भोकमरी र मानवीय सङ्कटको चरम अवस्थामा पुगेको अन्तर्राष्ट्रिय समुदायले बताएका छन् ।

सदनमा जनताको आवाज सुनिएन : सांसद श्रेष्ठ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन आयोग बनाउन माग गरेकी छिन् । आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले अहिलेसम्म जनताको माग राखेर आन्दोलन गर्दा सदनमा जनताको आवाज नसुनिएको बताइन् ।

उनले सरकारले संसदीय छानबिन समिति, उच्चस्तरीय छानबिन आयोग किन नबनाएको भन्दै प्रश्न गरिन् । जनताले सदनमा आफ्नो आवाज नसुन्ने हो भने कहाँ गएर सुनाउने ? भन्दै प्रश्न गरिन् ।

सांसद श्रेष्ठले भिजिट भिसाबाटै रसिया, खाडी मुलुकमा नेपालीहरू जाने गरेको बताइन् ।

नेपाली समाजमा अनुशासनको कमी छ: प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अनुशासन योगको पहिलो सूत्र भएको बताएका छन् । शनिवार ललितपुरमा ११ औँ विश्व योग दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाली समाजमा अनुशासनको कमी रहेको बताए ।
उनले आज विश्वमा अहिंसा र शान्ति चाहिएको र यसको पूर्ति योगले मात्रै गर्नसक्ने जिकिर गरे । हतियारधारी र अहङ्कारीहरूले योग र अनुशासन बुझ्न जरुरी रहेको भन्दै उनले मान्छेको अहङ्कार सबैभन्दा ठुलो खतरा रहेको बताए ।

प्रधानमन्त्री ओलीले आवश्यकता नभएका कुराहरूको लोभ गर्न नहुने बताए ।

इरानमा फसेका नेपालीलाई भारतले उद्दारमा मद्दत गर्ने

काठ्माण्डौँ – इजरायल र इरानबीच जारी युद्धका कारण इरानमा फसेका नेपाली नागरिकलाई भारत सरकारले उद्दारमा मद्दत गर्ने भएको छ ।
भारतले इरानमा फसेका नेपाल नागरिकसँगै श्रीलंकालीलाई पनि उद्दारमा मद्दत गर्नेछ ।

इरानको राजधानी तेहरानस्थित भारतीय दूतावासका अनुसार भारतले आफ्ना छिमेकी मुलुकहरू नेपाल र श्रीलङ्काका नागरिकहरूलाई इरानबाट उद्दार गर्न सहयोग गर्नेछ ।

दूतावासले एक्समा पोस्टमार्फत यो जानकारी दिएको हो । इरानस्थित भारतीय दूतावासले भनेको छ, ‘नेपाल र श्रीलङ्काको सरकारको अनुरोधमा दूतावासले इरानमा फसेका नेपाल र श्रीलङ्काका नागरिकहरूको उद्दारमा सहयोग गर्नेछ ।’ दूतावासले नेपाल र श्रीलङ्काका नागरिकहरूलाई आफूसँग सम्पर्क गर्न पनि अनुरोध गरेको छ ।

यसका साथै, भारतीय दूतावासले नेपाली र श्रीलङ्काली नागरिकहरूको सहायता गर्नका लागि टेलिग्राम च्यानल र आपतकालीन नम्बरहरू पनि सार्वजनिक गरेको छ ।

इरानमा रहेका नेपाली तथा श्रीलङ्काली नागरिकहरू सम्पर्क गर्नका लागि टेलिग्राम च्यानल वा आपत्कालीन नम्बरहरू प्रयोग गर्न सक्ने छ । यसका लागि दूतावासले +९८९०१०१४४५५७, +९८९१२८१०९११५ र +९८९१२८१०९१९ फोन नम्बर उपलब्ध गराएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारद्वारा ४२ प्रतिशत बजेट खर्च

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले कूल विनियोजित बजेटको ४२ दशमलव २७ प्रतिशत बजेटमात्रै खर्च गरेको छ । चालु आव २०८१/८२ को साउनदेखि जेठ मसान्तसम्मको ११ महिनाको अवधिमा प्रदेश सरकारले कूल विनियोजित बजेटको ४२ दशमलव २७ प्रतिशत अर्थात् रु १३ अर्ब ३३ करोड चार लाख खर्च गरेको हो ।
सो अवधिमा प्रदेश सरकारले चालुतर्फ रु छ अर्ब ९७ करोड दुई लाख र पुँजीगततर्फ रु छ अर्ब ३६ करोड दुई लाख खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयका प्रमुख वासुदेव जोशीले जानकारी दिए। उनका अनुसार भौतिक पूर्वाधार विकास मन्त्रालयले सबैभन्दा बढी रु पाँच अर्ब ७९ करोड ३३ लाख बजेट खर्च गरेको छ ।

सामाजिक विकास मन्त्रालयले रु दुई अर्ब ८६ करोड ७३ लाख, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले रु ९९ करोड ६७ लाख र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले रु ९२ करोड ७६ लाख खर्च गरेको उनले जानकारी दिए।

कार्यालय प्रमुख जोशीका अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले रु १६ करोड ७५ लाख, आर्थिक मामिला मन्त्रालयले रु ११ करोड ९२ लाख र आन्तरिक मामिला तथा कानुन मन्त्रालयले रु पाँच करोड २१ लाख खर्च गरेको छ ।

त्यस्तै, प्रदेश व्यवस्थापिकाले रु १३ करोड ४१ लाख, प्रदेश नीति तथा योजना आयोगले रु दुई करोड ११ लाख र प्रदेश लोकसेवा आयोगले रु ४४ लाख खर्च गरेको उनले जानकारी दिए। प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार प्रदेश सरकारले चालु आवका लागि कूल रु ३१ अर्ब ६२ करोड ९८ लाख बजेट विनियोजन गरेको थियो । त्यसमध्ये, चालुतर्फ १२ अर्ब ८५ करोड ७४ लाख र पुँजीगततर्फ १८ अर्ब ७६ करोड २४ लाख बजेट विनियोजन गरेको थियो ।

खोज्नुहोस