‘पत्रकारिता क्षेत्रका लागि राज्यले व्यवस्थित योजना ल्याउनुपर्छ’: मन्त्री पौडेल

काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले पत्रकारिता जगत अत्यन्तै जोखिममा रहेको बताएका छन् ।

नेपाल प्रेस युनियनको ३४ औँ स्थापना दिवसको अवसरमा वृहत् स्वास्थ्य शिविर कार्यक्रममा बोल्दै उनले लोकतन्त्रको विकासका निम्ति, पारदर्शी समाज निर्माण गर्नका निम्ति, सुशासन कायम गर्नका निम्ति पत्रकार र यो पत्रकारिता क्षेत्रको महत्त्वपूर्ण भूमिका रहे पनि अझै पत्रकारिता जगत जोखिमै रहेको बताएका हुन् ।

उनले भने, ‘पत्रकारिता जगत अत्यन्तै जोखिममा छ । एकदमै महत्त्वपूर्ण भूमिका पत्रकारहरूले निर्वाह गर्नुभएको छ । वास्तवमा लोकतन्त्रको विकासका निम्ति, पारदर्शी समाज निर्माण गर्नका निम्ति, सुशासन कायम गर्नका निम्ति पत्रकार र यो पत्रकारिता क्षेत्रको महत्त्वपूर्ण भूमिका हुन्छ । देशका निम्ति, समाजका निम्ति बोलिरहने पत्रकारहरूको आफ्नो निम्ति के भइरहेको छ भन्ने कुरा राज्यले धेरै ख्याल गरिरहेको छ जस्तो देखिँदैन । ’

साथै उनले पत्रकारिता क्षेत्रका लागि एउटा व्यवस्थित योजनाका साथ राज्य अगाडि जानुपर्ने बताए । उनले पारदर्शी समाज निर्माण गर्न, सुशासन कायम गर्नका निम्ति पत्रकार जगतको उपस्थिति अनिवार्य रहेकाले यो जगतमा काम गर्नेहरूलाई उत्साहित बनाउन जरुरी रहेको बताए ।

उनले भने, ‘खासगरी पत्रकारिता क्षेत्रका लागि हामीले एउटा व्यवस्थित योजनाका साथ अगाडि जानुपर्छ । समाजका निम्ति पारदर्शी समाज निर्माण गर्न, सुशासन कायम गर्नका निम्ति पत्रकार जगतको उपस्थिति अनिवार्य छ । यो जगतमा काम गर्नेहरूलाई उत्साहित बनाउन जरुरी छ । जीवन निर्वाहको व्यवस्थित अवसर पत्रकारिताभित्र हुनुपर्छ भन्ने विषयलाई आत्मसाथ गरेर त्यही अनुसारको योजनाहरू बनाइनुपर्छ । पत्रकार महासंघको सदस्य संख्या कति हो ? त्यसको यकिन विवरण हामीलाई दिएर त्यो सदस्य संख्याको आधारमा हामीहरुले पत्रकारहरूलाई निःशुल्क उपचार गराउन मन्त्रालय तत्पर छ ।’

सुदूरपश्चिममा लामो दूरीका यातायात ठप्प

कैलाली : सुदूरपश्चिम प्रदेशमा रहेका यातायात व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् । गण्डकी प्रदेश सरकारले हालै ल्याएको ऐनको विरोध गर्दै यातायात व्यवसायीहरुले आइतबारदेखि लामो दूरीका सवारीसाधन ठप्प पारेका छन् ।

यसैगरी व्यवसायीहरुले जेठ १९ गते अर्थात् सोमबारदेखि सार्वजनिक यातायात पूर्ण रुपमा ठप्प पार्ने घोषणा समेत गरेका छन् । गण्डकी प्रदेश सरकारले रातो नम्बर प्लेटका दुई पाङ्ग्रे तथा चार पाङ्ग्रे निजी सवारी साधनले यात्रु ओसारपसार गर्न पाउने गरी ऐन ल्याएपछि त्यसको विरोधमा देशभरका यातायात व्यवसायीहरु आन्दोलनमा उत्रिएका हुन् ।

नेपाल यातायात व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेश समितिका संयोजक टेकराज जोशीले यातायात व्यवसायीहरुले आज कालो पट्टी र सवारीसाधनमा कालो झण्डा लगाउने बताए ।

उनले निजि सवारी साधनले सार्वजनिक सवारी साधन सरह सञ्चालन गर्न पाउने व्यवस्थाको आफूहरुले विरोध गरेको बताउनुहुँदै सार्वजनिक सवारी साधन सञ्चालनको विधि र आयातलगायतका विषयमा प्रदेश सरकारको ठोस नीति के हो रु भन्ने प्रश्न गरे ।

गण्डगी प्रदेश सरकारले ल्याएको ऐन खारेज गर्नुपर्ने तथा विगतमा यातायात व्यवसायीसँग सरकारले गरेका सहमति, सम्झौताहरु कार्यान्वयन हुनुपर्ने माग आफूहरुको रहेको संयोजक जोशीको भनाइ छ ।

माग पूरा नभए सार्वजनिक यातायात पूर्णरुपमा ठप्प पार्ने यातायात व्यवसायीहरुले घोषणा गरेका छन् । राज्यलाई लाखौँ रुपियाँ कर तिरेर सञ्चालनमा रहेका सार्वजनिक यातायातलाई राज्यले धरासायी बनाउन खोजेको आरोप लगाएका छन् ।

शेख हसिनाविरुद्धको मुद्दा अघि बढाउने तयारी

ढाका । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना वाजेदमाथि मानवताविरुद्धको अपराधको अभियोगमा आइतबारबाट मुद्दा चल्ने भएको छ । उनको निर्देशनमा प्रहरीद्वारा लापरबाहीपूर्ण कारबाही गरिएको र प्रदर्शनकारीको हत्यामा संलग्नताको आरोप लगाइएको छ ।

सन् २०२४ को अगस्टमा विद्यार्थी नेतृत्वको जनविद्रोहको उत्कर्षमा ७७ वर्षीया हसिना हेलिकोप्टरमार्फत भारत गएकी थिइन् ।

“अभियोजन टोलीले पूर्वप्रधानमन्त्री हसिनाविरुद्ध आइतबार अभियोग पत्र दायर गर्ने तयारी गरेको छ,” अभियोजनकर्तामध्येका एक गाजी एमएच तमिमले बताए ।

संयुक्त राष्ट्रसंघका अनुसार सन् २०२४ को जुलाईदेखि अगस्टसम्म हसिनाको सरकारले प्रदर्शनकारीलाई दबाउने निर्मम अभियान चलाउँदा एक हजार ४०० जनाको मृत्यु भएको थियो ।

घरेलु अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरण (आईसीटी)ले हसिनाको अपदस्थ सरकार र उनको प्रतिबन्धित अवामी लिग पार्टीसँग सम्बन्धित पूर्ववरिष्ठ व्यक्तिहरूविरुद्ध मुद्दा चलाइरहेको छ।

सरकारी स्वामित्वको बंगलादेश टेलिभिजनबाट उक्त मुद्दाको सुनुवाइको प्रत्यक्ष प्रसारण हुने सम्भावना छ ।

अभियोजकहरूले गत महिना हसिनाविरुद्धको मुद्दामा आफ्नो प्रतिवेदन पेस गरेका थिए र अदालतले आइतबार औपचारिक आरोप जारी गरेर कारबाही सुरु गर्ने अपेक्षा गरेको छ ।

आईसीटीका मुख्य अभियोजक ताजुल इस्लामले मे १२ मा हसिनामाथि ‘दुरुत्साहन, उक्साहट, संलग्नता, सूत्रधार, र जुलाई विद्रोहको क्रममा सामूहिक हत्या रोक्न असफल भएको’ गरी कम्तीमा पाँचवटा आरोप लगाइएको बताए ।

अनुसन्धानकर्ताहरूले भिडियो फुटेज, अडियो क्लिप, हसिनाको फोन वार्तालाप, हेलिकोप्टर र ड्रोन गतिविधिको रेकर्ड र दमनका पीडितको बयान संकलन गरेका छन्।

पूर्वप्रधानमन्त्री हसिना भारतमा स्वनिर्वासित जीवन बिताइरहेकी छिन् । ढाकाबाट जारी पक्राउ पुर्जी र सुपुर्दगी आदेशको अवहेलना गर्दै उनले व्यक्तिगत रूपमा मुद्दाको सामना गरिरहेकी छिन् । ।

उनले आफूमाथि लागेका आरोपलाई ‘राजनीतिबाट प्रेरित’ भन्दै खण्डन गर्दै आएकी छिन् ।

पूर्वगृहमन्त्री असदुज्जमान खान कमाल र पूर्वप्रहरी प्रमुख चौधरी अब्दुल्लाह अल–मामुन पनि उक्त मुद्दामा मुछिएका छन् । उनीहरूमाथि पनि यस्तै आरोप लगाइएको छ ।

आईसीटी कोर्टले मे २५ मा अघिल्लो सरकारसँग जोडिएको पहिलो सुनुवाइ सुरु गरेको थियो । त्यस घटनामा अगस्ट ५ मा ६ जना प्रदर्शनकारीको हत्या गरेको आरोपमा आठजना प्रहरी अधिकारीमाथि मानवताविरुद्धको अपराधको अभियोग लगाइएको छ ।

तीमध्ये चारजना हिरासतमा छन् भने चारजनाको अनुपस्थितिमा मुद्दा चलिरहेको छ ।

सन् १९७१ मा बंगलादेशको स्वतन्त्रता संग्रामका क्रममा पाकिस्तानी सेनाले गरेका अपराधको अनुसन्धान गर्न हसिनाले सन् २००९ मा आईसीटीको स्थापना गरेकी थिइन् ।

यसले धेरै प्रमुख राजनीतिक विरोधीलाई मृत्युदण्डको सजाय सुनाएको थियो । हसिनाले यसलाई प्रतिद्वन्द्वी समाप्त गर्ने हतियारका रूपमा प्रयोग गरेको आरोप लाग्दै आएको थियो ।रासस/एएफपी

देशभर सहकारीबाट ९ खर्ब २३ अर्ब ४७ करोड रुपैयाँ कर्जा प्रवाह

काठमाडौं । देशभर सहकारीबाट ९ खर्ब २३ अर्ब ४७ करोड रुपैयाँ कर्जा प्रवाह भएको तथ्य सार्वजनिक भएको छ।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८१/८२ का अनुसार सहकारीबाट ठूलो रकम कर्जा प्रवाह भएको देखाएको हो।

सर्वेक्षणअनुसार सहकारी क्षेत्रमा  ११ खर्ब २५ अर्ब २८ करोड बचत परिचालन भएको देखिन्छ। जसमध्ये ९ खर्ब २३ अर्ब ४७ करोड कर्जा प्रवाह भएको छ।

त्यस्तै सहकारी क्षेत्रमा काम गर्नेहरु घटेको आर्थिक सर्वेक्षणले देखाएको छ। २०८१ असारसम्म सहकारी क्षेत्रमा ९४ हजार २ व्यक्ति प्रत्यक्ष रोजगार रहेकोमा २०८१ फागुनसम्म यस्तो रोजगार ९० हजार २ सय ६५ रहेको छ। सहकारी तथा गरिबी सूचना व्यवस्थापन प्रणालीमा २०८१ असारसम्म १७ हजार ६ सय ९६ सहकारी संस्था आवद्ध भएकामा २०८१ फागुनसम्म यस्तो संख्या १८ हजार ८ सय ९९ पुगेको छ।

आर्थिक सर्वेक्षणअनुसार अझै पनि सर्वसाधारणको अर्बौं बचत रकम उठ्न बाँकी रहेको देखाउछ। समस्याग्रस्त घोषित २२ सहकारीमध्ये ३ को हरहिसाब राफसाफ मात्रै भएको छ भने सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानी हुन बाँकी सहकारी संस्था १९ रहेका छन्। हालसम्म ६२ हजार ७ सय १० कुल दाबीकर्तामध्ये ७ हजार १५५ सदस्यको सम्पूर्ण बचत फिर्ता भएको छ भने करिब १ हजार सदस्यको आंशिक वचत फिर्ता भएको देखिन्छ। बाँकी सदस्यको बचत फिर्ता हुन सकेको छैन।

आर्थिक सर्वेक्षणअनुसार पीडित बचतकर्ताले गरेको मागदाबी ३९ अर्ब ९३ करोड ५६ लाख ६६ हजार ७ सय १० रहेको छ जसमध्ये चालू आर्थिक वर्षको फागुनसम्म ८४ करोड १ लाख ९९ हजार १ सय ८४ रकमसहित २०८१ फागुनसम्म १ अर्ब ६७ करोड ६७ लाख २० हजार ५८ रकम पीडित बचतकर्ताले फिर्ता पाएका छन्।

२०८१ फागुनमा सहकारी संस्थाको संख्या ३२ हजार ९ सय ६५ रहेको छ। यस अवधिसम्म सेयर सदस्य संख्या १ करोड ९ लाख ५ हजार १ सय ९२ र सेयर पुँजी १ खर्ब ४३ अर्ब २९ करोड रहेको छ। सहकारी क्षेत्रमा देखिएका विद्यमान समस्या समाधानका लागि बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको नियमन गर्न सहकारी ऐन, २०७४ मा संशोधन गरी राष्ट्रिय सहकारी नियमन प्राधिकरणको स्थापना भइसकेको छ।  तर त्यो प्राधिकरणले अझै नेतृत्वकर्ता, पदाधिकारी पाएको छैन। जसकारण काम प्रभावकारी गर्न सकिरहेको छैन।

सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि २०८१ जेठ १५ मा सहकारी संस्था वचत रकम दुरुपयोगसम्बन्धी छानबिन समिति गठन भई समितिले प्रतिवेदन पेस गरेको एक वर्ष नाघिसकेको छ। सो प्रतिवेदनकै कारण पूर्वगृहमन्त्री रवि लामिछाने सहकारी बचतकर्ताको अर्बौं रकम दुरुपयोगको आरोपमा अहिले पनि अनुसन्धानका नाममा कारागारमा छन्।

जीवि राईसहित अन्य ठूला सहकारी वचतकर्ताको अर्बौं अपचलन गर्नेहरुलाई सरकारले अझै पक्राउ गर्न सकिरहेको छैन।

सुदूरपश्चिममा समानुपातिक सांसदले प्रत्यक्षसरहकै योजना र बजेट मागे

कैलाली । सुदूरपश्चिम प्रदेश सभामा रहेका समानुपातिक महिला सांसदहरूले आगामी आर्थिक वर्षको बजेटमा प्रत्यक्ष निर्वाचित सांसद सरहको आफूहरूले पनि योजना र बजेट पाउनु पर्ने माग गरेका छन् ।

मुख्यमन्त्री कमलबहादुर शाहलाई ज्ञापन पत्र बुझाएको भोलि पल्टै महिला समन्वय समितिमा रहेका पदाधिकारी तथा सदस्यहरूले आ–आफ्नो संसदीय दलको बैठकमा यस विषयमा कुरा राखेका थिए ।

शनिवार नेपाली कांग्रेस संसदीय दलको बैठक आह्वान नगरिएको भए पनि १२ जना सांसदहरू जम्मा भएपछि मुख्यमन्त्रीसँग छलफल गरेका थिए । छलफलमा आर्थिक मामिला तथा योजना मन्त्री बहादुर थापा र सामाजिक विकास मन्त्री मेघराज खड्का थिए । उनीहरूले यस विषयमा खासै प्रतिक्रिया नदिएपछि प्रमुख सचेतक विक्रम धामीले खुलेरै योजना र बजेटबारे मुख्यमन्त्रीलाई गुनासो गरे ।

‘हामीले हालेका योजना पर्दैनन्, बिचौलियाका योजना पर्छन् ती बिचौलिया हाम्रो क्षेत्रमा गएर हालीमुहाली गर्छन् अब यस्तो हुनुभएन ’ उनले भने ‘यस पटकको बजेट र योजना प्रस्ट हुनुपर्छ बिचौलियाको बिगबिगी रोकिनु पर्छ ।’

प्रमुख सचेतक धामीले यस अघि पनि आफ्नो निर्वाचनमा थुप्रै योजना पर्दा आफ्नो नपरेको गुनासो गरेका थिए । शनिवार पनि उनले त्यस्तो अवस्था सृजना हुन नदिन मुख्यमन्त्रीलाई सङ्केत गरे  ।

कांग्रेस सचेतक गीता चौधरीले प्रत्यक्षसरहको बजेट र योजना समानुपातिक सांसदहरूको पनि हुनुपर्ने बताएकी थिइन् । उनले महिला सांसदहरूसँगै समानुपातिक सांसदहरूको विषयमा पनि गम्भीर बन्नु पर्ने अवस्था रहेको मुख्यमन्त्रीलाई ध्यानाकर्षण गराइन् । महिला भनेर, समानुपातिक भनेर विभेद गर्न नपाइने उनको तर्क थियो । सुदूरपश्चिममा समानुपातिक तर्फ १८ महिला सांसद छन् भने ३ पुरुष पनि समानुपातिक छन् । यहाँ प्रत्यक्ष निर्वाचित महिला छैनन् ।

‘उहाँ (गीता)ले समानुपातिकलाई प्रत्यक्षसरहको बजेट र योजना हुनुपर्छ भनेर प्रस्ताव राख्नु भयो । उपस्थित महिला सबै सांसदहरूले त्यसलाई समर्थन गर्नु भएको थियो ’ बैठकमा सहभागी एक कांग्रेस सांसदले भने, ‘उहाँ पछि एक एक गर्दै अरू सांसदहरूले पनि त्यही माग दोहोराएका थिए ।’

समानुपातिक सांसदहरूको योजना सोही निर्वाचन क्षेत्रमा हाल्ने कि प्रदेशका सबै जिल्लामा हाल्न सकिने भन्ने विषयमा पनि बैठकमा कुरा भएको थियो । कांग्रेस सांसदहरूको प्रविधित्व नभएको क्षेत्रमा त्यस्ता योजनाहरूलाई प्राथमिकता दिन सकिने विषयमा पनि बैठकमा कुरा उठेको थियो । त्यसो गर्दा सांसदहरूलाई पनि कमिसन लिएको आरोप लाग्नसक्ने सम्भावित अवस्था बारे कांग्रेसकै अर्की सांसद जुना दानीले सचेत गराएकी थिइन् ।

‘हामीले अन्य क्षेत्रमा योजना हाल्दा कमिसनको कुरा पनि आउन सक्छ । यो विषयमा समेत हुनुपर्छ ’ उनले बैठकमा भनेको कुरा उद्धृत गर्दै अर्का एक सांसदले भने, ‘ उहाँ (जुना)ले भनेको कुरा ठिकै हो भन्ने पनि भयो ।’

महिला समानुपातिक सांसदहरूले प्रत्यक्ष सरहको बजेट र योजना माग्दा केही प्रत्यक्ष पुरुष सांसदहरूले भने आफूहरूको पैसा बढी खर्च भएको जस्ता टिप्पणी गरेका थिए ।

सबैको कुरा सुनेका मुख्यमन्त्रीले अन्ततः यस विषयमा छलफल गरेर निष्कर्ष निकाल्नेगरिको जिम्मा प्रमुख सचेतक विक्रमसिंह धामीलाई दिए ।

‘ल माननीय ज्यू समानुपातिक सांसदहरूलाई बजेट र योजना दिने कि नदिने ? दिँदा कसरी दिने ? उहाँहरूको कार्यक्षेत्र के हुने यस्ता विषयमा छलफल गरेर केही सुझाव लिएर आउनुहोस् ’ मुख्यमन्त्री शाहले प्रमुख सचेतक धामीलाई भनेका थिए ।

शनिवार कांग्रेसमा मात्रै होइन माओवादी केन्द्रमा पनि समानुपातिक सांसदहरूलाई पनि प्रत्यक्ष सरहको योजना र बजेट हुनुपर्ने विषय उठेको थियो । माओवादी सांसद तथा पूर्व मन्त्री लक्ष्मी विकले संसदीय दलमा यस विषयमा कुरा उठाएकी थिइन् । माओवादी संसदीय दलका नेता खगराज भट्टले यस विषयमा छलफल गर्ने बताएका थिए ।

शनिबारको नेकपा एमाले संसदीय दलको बैठक पनि यस विषयमा कुरा भएको थियो।‘ पहिलो कुरा योजना माग्ने की नमाग्ने भन्ने विषयमा कुरा भयो माग्दा सबैलाई समान हुनुपर्छ भने विषयमा छलफल भएको थियो’ एमालेका एक सांसदले भने ‘छलफलमा निष्कर्ष आएन ।’

एमाले संसदीय दलका नेता पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावलले भने आफूले योजना माग नगर्ने विषय दलको बैठकमा राखेका थिए। एमाले संसदीय दलको बैठकमा एमाले पार्टी प्रदेश कमिटीका नेताहरूको पनि उपस्थिति रहेको थियो।

नागरिक उन्मुक्ति पार्टीको दलको बैठक आज१० बजे बस्दै छ । उक्त बैठकमा पनि बजेट र योजनाबारे छलफल हुने बताइएको छ ।

अहिलेसम्म प्रदेश सभा सदस्यहरूले कति रकम पाउने ती रकमको योजना कसरी हाल्ने, प्रत्यक्ष र समानुपातिकलाई कसरी दिने भन्ने विषयमा कुनै टुंगो लागेको छैन। केही सांसदहरू १५ करोडको डिमान्ड गरिरहेका छन् भने केही १० करोडको लबिङमा छन्। समानुपातिक महिला सांसद्हरुले भने प्रत्यक्ष बराबरकै योजना र रकम हुनुपर्ने अडानमा छन्।

शनिवार आ–आफ्नो दलको बैठकमा कुरा राखेका महिला सांसदहरूले शुक्रवार मुख्यमन्त्री शाहलाई संयुक्तरुपमा ज्ञापन पत्र बुझाएका थिए । प्रत्यक्षसरहको बजेट र योजनासँगै उनीहरूले अरू माग पनि राखेका छन् ।

समितिको ज्ञापन पत्रमा लैङ्गिक समानता, महिला सशक्तीकरण, एकल महिला, अपाङ्गता भएका महिला, दलित महिला लगायत विशेष अवस्थाका महिलालाई लक्षित कार्यक्रमका लागि छुट्टै बजेट व्यवस्था गर्न माग गरिएको छ। महिला लक्षित कार्यक्रमहरूको बजेट वृद्धि, समावेशी नीति निर्माण, स्वरोजगार, उद्यमशीलता, सीप विकास र लगानी अनुदानका कार्यक्रममा महिलाको सहभागिता बढाउने प्रस्ताव पनि समेटिएको छ।

त्यस्तै, प्रत्येक स्थानीय तहमा ‘महिला सहायता केन्द्र’ स्थापना, मातृ स्वास्थ्य तथा प्रजनन सेवाको पहुँच विस्तार र मोबाइल स्वास्थ्य सेवा सञ्चालन गर्ने प्रस्ताव पनि समितिले अघि सारेको छ। किशोरी स्वास्थ्य, सुरक्षित महिनावारी, पोषण, आत्मरक्षा तालिम, बालविवाह न्यूनीकरणलगायतका विषयहरूमा पनि बजेट विनियोजन गर्नुपर्ने धारणा समितिको छ।

महिला नेतृत्वमा आधारित सहकारी संस्था, घरेलु उत्पादनको बजारीकरण, ‘एक महिला एक उद्यम’ कार्यक्रम र लैङ्गिक संवेदनशील पूर्वाधारमा लगानी बढाउन सुझाव दिइएको छ। जलवायु परिवर्तन र विपद् न्यूनीकरणको सवालमा महिला नेतृत्वको समावेश र नीति निर्माणमा समानुपातिक सहभागिताको माग पनि समितिले राखेको छ।

सुदूरका सुईना र संघीय बजेट

दीर्घराज उपाध्याय ।
प्रजातन्त्रको पुनस्र्थापनापछि कर्णाली नदीमा पुल निर्माण भएपछि नेपालको बाँकी भूगोलसंग जोडिएको सुदूर पश्चिम भावनात्मक रुपमा अझै जोडिन सकेको छैन् । काठमाण्डौंद्धारा शासित सुदूरपश्चिमबाट सिंह दरवारको नेतृत्व पटक पटक यही भूगोलबाट निर्वाचत नेताहरुले गर्ने अवसर नपाएको होईन । अझ यस पटक मन्त्रीमण्डलमा ईतिहासमै सबैभन्दा बढि महत्वपूर्ण पद र संख्यामा सुदूरपश्चिमबाट निर्वाचित व्यक्तिहरुको उपस्थिति छ ।

संघीय सरकारको २५ सदस्यीय मन्त्रिपरिषद्मा सुदूरपश्चिमबाट पाँच जना मन्त्री छन् । गृहमन्त्री रमेश लेखक (कञ्चनपुर), परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा (धनगढी), उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी (बैतडी), संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे (बाजुरा) र राज्यमन्त्री अरूणकुमार चौधरी (कैलाली) सुदूरपश्चिमबाट सरकारमा प्रतिनिधित्व गर्छन् ।

तर बजेटमा सुदूरपश्चिम यस पटक पनि उपेक्षित भयो । सरकारमा रहेका दलका नेता र कार्यकर्ताहरुले बजेटले सुदूर पश्चिमलाई सम्बोधन गरेको भन्दै हर्ष बढाई गरेका छन् । तर संघीय सरकारले बिनियोजन गरेको बजेट र योजनाले सुदूरपश्चिमको कायापलट हुने वा जनताको जीवनस्तर परिवर्तन गर्ने संभावना देखिदैन् ।

न नयाँ योजना थपिएका छन् । न त पुराना, न हाल निर्माणाधीन र सञ्चालनका क्रममा रहेका योजनाहरुका लागि पर्याप्त बजेट बिनियोजन गरिएको छ । बजेटमा पुरानै रटान छ । उल्लेख गर्न पुराना योजना कुनै बाँकी छैनन । बिडम्बना ती योजनामा उल्लेख्य बजेट भने बिनियोजन गरिएको छैन् ।

सरकारले यसअघिकै बजेटमा उल्लेख गरिएको कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिकामा सुख्खा बन्दरगाह निर्माण कार्य अघि बढाउने घोषणा गरेको छ ।

सरकारले कञ्चनपुरको दैजीमा लगानी बोर्ड मार्फत् निजी क्षेत्रको सहभागितामा आधुनिक औद्योगिक क्षेत्रको निर्माण गरिने भनेको छ । सरकारको यो पुरानै रटान हो ।

सरकारले बजेटमार्फत आगामी आर्थिक वर्षमा शुक्लाफाँटा–खप्तड पदयात्रा सञ्चालन गर्नेदेखि खप्तड, रामारोशन, बडिमालिका, बूढीनन्दा, रारा, स्वर्गद्वारी र मुक्तिनाथसम्मको पर्या–पर्यटन पदमार्ग विकास गर्ने योजना अघि सारेको छ । यस्तै धार्मिक, सांस्कृतिक तथा पर्यटकीय गन्तव्य खप्तडमा पूर्वाधार विकास गर्ने भनेको छ ।

निर्माणपछि पनि सञ्चालनमा आउन नसकेका सुदूर पश्चिमका पहाडी जिल्लाका बिमानस्थलहरुसंगै बजेटको अभावमा स्तरोन्नतीको पर्खाईमा रहेको धनगढी बिमानस्थललाई सम्बोधन नगरेको बजेटमा डडेल्धुरामा विमानस्थल स्थापनाको काम अघि बढाउने उल्लेख गरिनुको कुनै अर्थ छैन् । डडेल्धुराको अजयमेरुमा विमानस्थल स्थापनाका लागि विस्तृत आयोजना प्रतिवेदन तयार गरिने बजेटमा उल्लेख गरिएको छ ।

धनगढी बिमानस्थलको स्तरोन्नती र जग्गा अधिग्रहणका लागि बिगतमा सरकारले बिनियोजन गरेको दुई अर्व पाँच करोड रुपैया काटियो । पछिल्लो बजेट यसमा मौन देखिन्छ । त्यति नै रकम बिनियोजन गरिएको भएपनि केही आश गर्न सकिन्थ्यो । पर्याप्त बजेट बिनियोजन नगरिएका कारण धनगढी बिमानस्थल यस पटक पनि स्तरोन्नती हुने संभावना छैन् ।

कैलाली गोदावरी नगरपालिकामा पर्ने गेटामा शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा ल्याउने उल्लेख गरिएको बजेटमा पर्याप्त बजेट र त्यसलाई तत्काल सञ्चालन गर्ने कुनै खाका उल्लेख छैन् । ५० शैया स्वीकृत गरेर विश्वविद्यालय र मेडिकल कलेज कसरी सञ्चालन हुन सक्छ ? कसैले प्रश्न गर्दैन ? घोषणा गर्दैमा कसरी विश्वविद्यालय सञ्चालन हुन सक्छ ? विश्वविद्यालय सञ्चालनका लागि आवश्यक बजेट र दरवन्दीको सवाल त सरकारले बिर्सेको हो कि भन्ने लाग्छ । सातै प्रदेशमा मुटुरोग र क्यान्सर रोगको उपचार विस्तार गर्ने लक्ष्य राखेको सरकारले प्रदेश र जिल्ला अस्पतालको बेहाल अवस्था नजरअन्दाज गरेको छ ।

कैलालीको धनगढी उपमहानगरपालिकामा पर्ने चटकपुरमा फाप्ला क्रिकेट रङ्गशाला निर्माण प्रकृया अघि बढाउने भनिएको बजेट वक्तव्यमा उल्लेख गरिएको रकम हात्तिको मुखमा जिरा प्रतित हुन्छ । फाप्लाका लागि १५ अर्व रुपैया बजेट आवश्यक पर्ने देखिएको छ । जवकी सरकारले फाप्लासँगै काठमाडौंको मूलपानी क्रिकेट रङ्गशाला, मोरङको गिरिजाप्रसाद कोइराला रङ्गशाला र रूपन्देहीको सिद्धार्थ क्रिकेट रङ्गशाला निर्माणका लागि ४२ करोड रुपैयाँ विनियोजन गरेको छ । सरकारले चास्नी देखाएर गुलाव जामुनको सपना देखाउन खोजेको देखिन्छ ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पर्ने गड्डाचौकी–अत्तरिया सडक खण्ड स्तरोन्नति गर्ने घोषणाले यस वर्ष निरन्तरता पाएको छ । जसका लागि सरकारले २१ अर्ब १९ करोड रुपैयाँ विनियोजन गरेको छ । यो सुखद कुरा हो ।

सरकार यसअघि निर्माण सम्पन्न भईसकेका योजनाका बारेमा बेखवर देखिन्छ । कैलालीको मोहना पुल–अत्तरिया सडकखण्डमा चार लेनको सडक निर्माण गर्ने बताईएको छ । जवकी उक्त पहिले ६ लेनको बनिसकेको छ ।

अत्तरिया–खोड्पे–दार्चुला सडकखण्डको विस्तृत अध्ययन सम्पन्न गरी डेडिकेटेड डबल लेनमा स्तरोन्नति गर्ने कार्य सुरु गर्ने योजना पनि बजेट वक्तव्यमा समेटिएको छ । महाकाली करिडोरअन्र्तगत ब्रम्हदेव–झुलाघाट–तुसारपानी खण्डको स्तरोन्नति र तुसारपानी–टिङ्कर खण्डको ट्रयाक खोल्न आवश्यक बजेट छुट्याइएको भनिएको छ । तर अहिलेसम्मको निर्माणको अवस्था निराशाजनक छ । अहिलेकै पुस्ताले त्यो सडक निर्माण सम्पन्न भएको हेर्न पाउने अवस्था देखिदैन ।

बजेट वक्तव्यमा कैलालीको खुटियादेखि डोटीको दिपायल जोड्ने सडक स्तरोन्नतिका लागि आवश्यक रकम विनियोजन गरिएको भनिएको छ । यस्तै; झापाको बाहुडाँगीदेखि डडेल्धुराको रुपालसम्मका बस्ती र बजारलाई जोड्ने मदन भण्डारी राजमार्ग निर्माणका लागि दुई अर्ब ५१ करोड रुपैयाँ विनियोजन गरिएको छ । आवश्यकताभन्दा थोरै बजेट विनियोजन हुदा ती सडकहरुको निर्माणले कसरी गति लिन सक्छ ?

दार्चुलामा चमेलिया–जौलजीबी २२० केभी प्रसारण लाइन अध्ययन सम्पन्न गरी निर्माण सुरु गरिने योजनालाई सरकारले बजेटमा प्राथमिकता दिएको छ । यस्तै; आगामी आर्थिक वर्षभित्र २१० मेगावाट क्षमताको चैनपुर सेती जलविद्युत आयोजना (बझाङ) को निर्माण प्रारम्भ गर्ने घोषणा पनि भएको छ ।

कर्णाली–चिसापानी बहुउद्देश्यीय आयोजनाको विस्तृत इन्जिनियरिङ डिजाइन गरी लगानी ढाँचा एकिन गरिने पनि बजेटमा उल्लेख छ । छ दशकदेखि चर्चामा रहेको यो आयोजनाको अझै ढाचाँ र लगानी एकिन हुन नसक्नु दुर्भाग्य हो ।

संघ, प्रदेश, स्थानीय तह र समुदायको सहकार्यमा प्रशोधित खानेपानी उपलब्ध गराउन सरकारले सात प्रदेशका सात शहरमा नमूना आयोजना सञ्चालन गर्ने भनेको छ । जसअनुसार सुदूरपश्चिमको कुनै एक शहरमा प्रशोधित खानेपानीका लागि नमूना आयोजना सञ्चालन हुने बजेटमा उल्लेख गरिएको छ । यस्ता अमूर्त, अधुरा र अनुमानित योजना र बजेटले सुदूरपश्चिमको विकास र सृमद्धि हुने भए उहिल्यै भईसक्थ्यो ।

आगामी आर्थिक वर्षमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका मध्य तथा उच्च पहाडी जिल्लाका ८० स्थानीय तहमा उच्च मूल्यका बालीवस्तुको खेती प्रदर्शन गर्न ८३ करोड रुपैयाँ विनियोजन गरिएको छ । अन्य भूगोल र त्यसको बजेटलाई पनि सुदूरपश्चिमसंग जोडेर बिनियोजन गरिनुको परिणाम के भयो ? बिगतले देखाईसकेको छ । त्यस्ता योजना कतै न कहीका भएका छन् । सरकारले त्यही कुरा दोहर्याएको छ ।

कैलालीको रानी जमरा–कुलरिया र कञ्चनपुरको महाकाली सिँचाइ आयोजनाहरू आगामी तीन वर्ष भित्रमा सम्पन्न गर्ने सरकारको लक्ष्य छ । तर लक्ष्य अनुसार बजेट बिनियोजन छैन ।

सरकारले सुदूरपश्चिममा हिंसा पीडित महिलाका लागि पुनस्र्थापना केन्द्र स्थापनाका लागि ६२ करोड रूपैयाँ विनियोजन गरेको छ । सोही रकमबाट सरकारले मधेश प्रदेश र काठमाडौं उपत्यकामा पनि पुनस्र्थाथापना केन्द्र स्थापना गर्ने भनिएको छ
विकासमा पछि पारिएको सुदूरपश्चिम अभाव, बेरोजगारी र अशिक्षासंग पनि जुधिरहेको छ । आर्थिक अभावका कारण पलायन हुने र रोजगारीका लागि भारत तथा खाडी मुलुक जाने क्रम तिब्र भएको सुदूरपश्चिममा रोजगारीका अवसर सृजना गर्ने सरकारसंग ठोस योजना देखिएन । सरकारसंग सुदूरपश्चिममा ठूला उद्योग सञ्चालनमा ल्याउने नीति छैन् । रोजगारीका अवसर कसरी सृजना हुन सक्छन् ? चीन जोड्ने महाकाली करीडर र सेती लोकमार्गलाई द्रुत रुपमा निर्माण गर्ने सरकारको ईच्छाशक्ति देखिएन । न त पर्याप्त बजेट बिनियोजन गरेको पाईयो ।

पश्चिम सेती, पञ्चेश्वर र अपर कर्णाली जस्ता गेम चेञ्जर परियोजनामा सरकारको चासो खासै देखिएन । द्रुत मार्ग नाम दिईएको खुटीया–दीपायल सडक कछुवा गतिमा छ । त्यसलाई गति दिने बजेट छैन ।

गेटा मेडिकल कलेजको निर्माणाधीन भवन वर्षौदेखि अलपत्र छ । त्यो सञ्चालनमा आउनु कहाँ हो कहाँ ? त्यसका नाममा भ्रष्टाचार र आफ्ना कार्यकर्ता भर्ती हुने क्रम शुरु भईसक्यो । यतिका वर्षसम्म त्यो सञ्चालन नहुनुको जिम्मेवारी कसैले लिदैनन् । सरकारले गर्ने एउटा सानो निर्णयको जस लिन तछाडमछाड गर्ने नेताहरु सुदूरपश्चिमको विकास नहुनुको अपजस लिन भने तयार हुदैनन । न त सुदूर पश्चिमको विकासका लागि उनीहरु एक ठाउँमा उभिन्छन् । प्रधानमन्त्री तथा उच्चस्तरीय चीन तथा भारतमा सुदूरका एजेण्डा समावेश नै हुदैनन । र, बजेटमा यहाँका ठूला एजेण्डा पर्दैनन् । अनि कसरी पुरा हुन्छन्, सुदूरका सुईना ? अनि कसरी हुन्छ, सुदूर पश्चिमको विकास र समृद्धि ?

सुदूरका सुईना र संघीय सरकारको बजेटका बीचमा यसपटक पनि कही तालमेल भएको देखिदैन । अव त बजेट आउदा यहाँका बुद्धिजीवि र नागरिक समाजले बिरोध गर्न छोडिसक्यो । सत्तासीन दलका नेता र कार्यकर्ताले थपडी बजाउदै आएका छन् नै । उनीहरुले यस पटक पनि त्यो धर्म ईमान्दारीपूर्वक निर्वाह गरेकै छन् ।

खोज्नुहोस