कैलालीको कैलारी गाउँपालिकाका ९० प्रतिशत विद्यार्थी ‘ननग्रेडेड’

धनगढी : कैलालीको कैलारी गाउँपालिकाका ९० प्रतिशत विद्यार्थी माध्यमिक शिक्षा परीक्षा (एसइई) मा फेल भएका छन्। कैलारी गाउँपालिकाका सामुदायिक विद्यालयको २०८१ को एसइईको नतिजा लज्जास्पद आएको हो।
कैलारीबाट एसइईमा सहभागी नौ विद्यालयका १० प्रतिशत विद्यार्थी मात्र ग्रेडेड भएका छन्। ९० प्रतिशत विद्यार्थी ननग्रेडेड (फेल) भएको कैलारी गाउँपालिकाको शिक्षा शाखाले जानकारी दिएको छ। शाखा प्रमुख गणेशप्रसाद मिश्रले ४०२ जना विद्यार्थीले एसइई परीक्षा दिएकोमा ४१ जना मात्र ग्रेडेड भएका बताए।
दिपेन्द्र माध्यमिक विद्यालय, हसुलियाका ५२ परीक्षार्थीमध्ये १६, राष्ट्रिय माध्यामिक विद्यालयको ८१ परीक्षार्थीमध्ये आठ, जनकल्याण मावि पवेराको ५६ परीक्षार्थीमध्ये एक, सरस्वती मावि खरुवाखेराको ३८ परीक्षार्थीमध्ये दुई जना मात्र ग्रेडेड भएका छन्।
यस्तै, जानकी मावि बनकट्टाको २५ परीक्षार्थीमध्ये तीन, लक्ष्मी मावि पृथ्वीपुरको ४३ परीक्षार्थीमध्ये चार र जनता मावि गदरियाको ५० परीक्षार्थीमध्ये छ जना ग्रेडेड भएका छन्।
राष्ट्रिय मावि भुईयाफाँटा भने लगातार दोस्रो पटक निल भएको छ। सो विद्यालयबाट २०८१ को एसइई परीक्षामा २४ जना विद्यार्थी सामेल भएका थिए। गत वर्ष पनि यो विद्यालयको एसइई नतिजा शून्य रहेको थियो।
शैक्षिक सुधारको सक्दो प्रयासका बाबजुद पनि लगातार दोस्रो पटक नतिजा निल आउनु ठुलो चिन्ताको विषय रहेको राष्ट्रिय मावि भुईयाँफाँटाका प्रधानाध्यापक रामकुमार चौधरीले बताए। नजिता निल आउनुमा एउटै पक्षको मात्रै कमी कमजोरी नरहेको उनले बताएका छन्। गाउँपालिकाको शिक्षा शाखा प्रमुख गणेशप्रसाद जोशीले विद्यालयको नतिजा निल आउनुमा शिक्षकको मुख्य कमजोरी रहेको बताए।
कैलारीमा निजी विद्यालयबाट एसइईमा सहभागी ६७ जनामध्ये ३० जना (४५ प्रतिशत) परीक्षार्थी ग्रेडेड भएका छन्।