इन्डोनेसियामाथि फराकिलो जितसहित नेपाल सेमिफाइनलमा

काठमाडौं : इस्ट जोन कप यु-१६ क्रिकेटमा नेपालले इन्डोनेसियामाथि ३७० रनको फराकिलो जित दर्ता गर्दै सेमिफाइनल प्रवेश गरेको छ।
कोलालाम्पुरपस्थित सेलाङ्गोर ट्रफ क्लबमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ४२० रन बनाएको थियो।
२४ ओभर सकिँदा इन्डोनेसियाले ८ विकेट गुमाउँदै ५० रन पूरा गरेको थियो। त्यसपछि २५ औँ ओभरमा कप्तान विपिन शर्माले लगातार २ विकेट लिँदै इन्डोनेसियालाई ५० रनमा प्याक गरेका हुन्।
नेपालका लागि कप्तान विपिन प्रसाद शर्माले सर्वाधिक ६ विकेट लिए। उनले ७.३ ओभरमा २ मेडन सहित १२ रन खर्चेर ६ विकेट लिएका हुन्। सुगम बुढाथोकी र शुभम खनालले समान १–१ विकेट लिए।
त्यसअघि, ब्याटिङ गरेको नेपालका लागि व्यक्तिगततर्फ ओपनर प्रसिद्ध जैशीले सर्वाधिक १३२ रनको शतकीय पारी खेले। उनले ११४ बलमा १५ चौका र १ छक्का प्रहार गरे।
प्रसिद्धले रौनक श्रीवास्तवसँग तेस्रो विकेटका लागि १४८ रनको शतकीय साझेदारी गरेका थिए। पहिलो विकेटका लागि ओपनरद्वय प्रसिद्ध र परिमार्जन यादवले १३० रनको शतकीय साझेदारीसहित नेपाललाई उत्कृष्ट सुरुवात दिलाएका थिए।
परिमार्जनले ७१ रनको पारी खेले। रौनक श्रीवास्तवले ८८ र जोए थाथाले ५७ रनको अर्धशतकीय पारी खेले। तीन ब्याटरको अर्धशतक र प्रसिद्धको शतकको साथमा नेपालले बोर्डमा बलियो स्कोर बनाएको हो।
नेपालले ४८ ओभरमा ५ विकेट गुमाउँदै ४०० रन पूरा गरेको थियो। त्यसपछिको २ ओभरमा २० रन जोड्यो । सुगम बुढाथोकी ३९ र रोशन शाही १० रनमा अविजित रहे।
इन्डोनेसियाका लागि केतुत डर्मा पुत्राले सर्वाधिक २ विकेट लिए। काभिन निरज चड्डा, महेन्द्र युद्ध प्रतामा र रयान रिजाले १–१ विकेट लिए।
समूह ‘ए’मा रहेको नेपालले पहिलो खेलमा सिंगापुरलाई ६ विकेट र दोस्रो खेलमा जापानलाई ९ विकेटले पराजित गरेको थियो। नेपालले समूह चरणको अन्तिम खेल मंगलबार भुटानसँग खेल्नेछ।