डिआईजीमा बढुवा भएका ११ प्रहरी अधिकारीको पदस्थापन

काठमाडौं । नेपाल प्रहरीका ११ नायव महानिरीक्षक (डीआईजी)को पदस्थापन भएको छ । एसएसपीबाट डिआईजीमा बढुवा भएका उनीहरूलाई गृहमन्त्री स्तरीय निर्णयअनुसार पदस्थापन तथा काज गरिएको हो ।
प्रहरी प्रधान कार्यालयका अनुसार एसएसपीबाट डिआईजीमा बढुवा भएकाहरु मध्येबाट डीआईजी सुदर्शनप्रसाद कोइरालाको प्रहरी प्रधान कार्यालय विशेष ब्युरो, विनोद घिमिरेको महानिरीक्षकको सचिवालय, दीपेन्द्र घर्ती क्षेत्रीको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, दीपक रेग्मीको अन्वेषण योजना तथा विकास निर्देशनालयमा र माधवप्रसाद श्रेष्ठको कर्णाली प्रदेशमा पदस्थापन गरिएको छ ।
यसैगरी, दिलीपसिंह देउवाको अपराध अनुसन्धान विभाग महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालय, दीपककुमार बस्नेतको प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभाग, ओमबहादुर रानाको अख्तियार, जयराज सापकोटाको कार्यविभाग, सञ्जीव शर्मा दासको अपराध अनुसन्धान विभाग अपराध अनुसन्धान निर्देशनालय र सुरेन्द्र बहादुर गुरुङको साइबर ब्युरोमा पदस्थापन भएको छ ।