सुदूरपश्चिमको नीति तथा कार्यक्रम : ‘सीएम एक्सन रुम’ देखि ‘एक जिल्ला एक क्रिकेट मैदानसम्म’

द एभरेष्ट पोष्ट
१७ जेठ २०८२ २२:३५
सुदूरपश्चिमको नीति तथा कार्यक्रम  : ‘सीएम एक्सन रुम’ देखि ‘एक जिल्ला एक क्रिकेट मैदानसम्म’

सुदूरपश्चिम प्रदेश सरकारले शुक्रबार प्रदेशसभामा आर्थिक वर्ष ०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । प्रदेश प्रमुख नजिर मियाँले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा विगतमा झैं थुप्रै आकर्षक नारा तथा अभियानका कार्यक्रमहरु उल्लेख गरिएका छन् ।

उद्यम विकासअन्तर्गत ‘एक जिल्ला–एक उद्यम’, ‘गरौं उत्पादन–राखौं पहिचान’, ‘एक स्थानीय तह–दुई उत्पादन’ लगायतका नारा दिइएको छ । कृषि क्षेत्रअन्तर्गत कृषकलाई टेवा–घरदैलोमा प्राविधिक सेवा, पशुपक्षी पूर्ण खोप प्रदेश अभियान राखिएको छ । पर्यटन क्षेत्रको विकास कार्यक्रममा ‘पर्यटन पूर्वाधार–समृद्ध प्रदेशको आधार’, ‘बाकावीर पर्यटन प्रवर्द्धन कार्यक्रम’ सञ्चालन गर्ने भनिएको छ ।

वन क्षेत्रतर्फ ‘सामुदायिक वन–प्रदेशको धन’ नारा दिइएको छ । स्वास्थ्य क्षेत्रमा ‘मुख्यमन्त्री स्वास्थ्य सुधार तथा पोषण सुरक्षा कार्यक्रम’, ‘स्वास्थ्यमा प्रविधि–समृद्धिमा गति’, ‘सबै आमाको हक–सुरक्षित गर्भ र सुरक्षित जीवन’, ‘प्रदेशको समृद्धिका लागि स्वस्थ नागरिक’, ‘एक घण्टा–आफ्नै लागि’, ‘स्वस्थ बालबालिका’, ‘सबल नारी र सम्मानित जेष्ठ नागरिक–सुदूरपश्चिमको प्रतिबद्धता’ लगायतका नारा नीति तथा कार्यक्रममा राखिएको छ ।

सुदूरपश्चिम सरकारले आगामी आर्थिक वर्षमा प्रदेश लगानी तथा विकास सम्मेलन आयोजना गर्ने भनेको छ । मुख्यमन्त्री गरिबी निवारण तथा लघुउद्यम कार्यक्रम, प्रदेशमा पनि स्टार्टअप कार्यक्रम, कैलालीको डुडेझारीमा प्रदेशस्तरको आद्योगिक क्षेत्र स्थापनाका कार्यक्रम पनि नीति तथा कार्यक्रममा समेटिएको छ । विगतमा झैं कृषकलाई कृषि कर्जाका ब्याजमा अनुदान तथा कृषकलाई विभिन्न अनुदान उपलब्ध गराउने कार्यक्रम प्रस्तुत नीति तथा कार्यक्रममा समेटिएको छ ।

प्रदेश सरकारको एक सय वटा उच्च प्रतिफलयुक्त आयोजना छनोट गरी कार्यान्वयन गर्ने तथा प्रदेश गौरवका आयोजना र बहुवर्षीय आयोजनालाई प्राथमकिता दिएर कार्यान्वयन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । प्रदेशका गौरवका आयोजनाको निगरानी गर्न सीएम ‘एक्सन रुम’ स्थापना गर्ने भनिएको छ ।

शिक्षाअन्तर्गत कैलालीको टीकापुरमा विज्ञान तथा प्रविधि विश्वविद्यालय सञ्चालन गर्ने, बौद्धिक अपाङ्गता भएका बालबालिकाका लागि आवासीय विद्यालय सञ्चालन गर्ने, नौ वटै जिल्लामा एक/एक नमुना क्याम्पस सञ्चालन गर्ने भनिएको छ । जयपृथ्वीबहादुर सिंह शैक्षिक पूर्वाधार विकास तथा विद्यालय शिक्षा गुणस्तर सुधार कार्यक्रमअन्तर्गत प्रदेशसभा निर्वाचन क्षेत्रका एउटा माध्यमिक विद्यालयलाई नमुना विद्यालय बनाउने भनिएको छ ।

यस्तै, स्नातक र स्नातकोत्तर तह पूरा गर्ने चरणमा रहेका इच्छुक विद्यार्थीलाई इन्टर्नसिप र स्वयंसेवकका रूपमा परिचालन भनिएको छ । खेल क्षेत्रअन्तर्गत प्रदेश खेलकुद नीति बनाएर उत्कृष्ट खेलाडीलाई सम्मान र प्रोत्साहन गर्ने, ‘एक जिल्ला, एक क्रिकेट मैदान’ निर्माण गर्ने कार्यक्रम पनि नीति तथा कार्यक्रममा उल्लेख छ । स्वस्थ बालबालिका, सबल नारी र सम्मानित जेष्ठ नागरिक दशक कार्यक्रम (०८२–०९२) सञ्चालन गर्ने भनिएको छ ।

यस्तै, अघिल्ला वर्षजस्तै सुदूरपश्चिम प्रदेशको राजधानीमा पूर्वाधार निर्माण प्रक्रिया अगाडि बढाइने विषय पनि नीति तथा कार्यक्रममा समावेश गरिएको छ । प्रदेशको समृद्धिका लागि स्वस्थ नागरिक नारा दिएर स्वास्थ्य क्षेत्र सुधारका कार्यक्रम राखिएको छ ।

डडेलधुराको जोगबुढा, दार्चुलाको गोकुलेश्वर, कञ्चनपुरको बेलौरीलगायतका अस्पताललाई प्रदेशस्तरको बनाउने, अछामको बयालपाटा अस्पतालको स्वामित्व र व्यवस्थापन प्रदेश सरकारमातहत ल्याउन कानुनी प्रबन्ध गरी प्रदेशस्तरको अस्पताल रूपमा सञ्चालन गर्ने भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस