आफताब आलमलाई मस्तिष्कघात, आईसीयूमा राखेर उपचार

द एभरेष्ट पोष्ट
१७ जेठ २०८२ २०:००
आफताब आलमलाई मस्तिष्कघात, आईसीयूमा राखेर उपचार

१६ जेठ, काठमाडौं । नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई मस्तिष्कघात भएको छ । उनको माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचार भइरहेको छ ।

अस्पतालका एक चिकित्सकका अनुसार आलमलाई आईसीयूमा भर्ना गरेर उपचार सुरु गरिएको छ । परिवारले बिहान साढे १० बजे नै आलमलाई अस्पताल पुर्‍याएको थियो ।  ती चिकित्सकका अनुसार बिहान सात बजेतिर आलमलाई मस्तिष्कघात भएको थियो ।

‘उहाँ अस्पताल आइपुग्दा बोली लरबरिएको थियो भने दाहिने हर कमजोर अवस्थामा थियो,’ ती चिकित्सकले भने । त्यसपछि एमआरआई गरेर हेर्दा एक्युट स्ट्रोक देखिएको थियो ।

‘अहिले औषधि चलाएर आईसीयूमा राखेर उपचार गरिरहेका छौं,’ उपचारमा समंलग्न ती चिकित्सकले भने । ती चिकित्सकका अनुसार अलामले मधुमेह, उच्चरक्तचापको औषधि समेत सेवन गर्दै आइरहेका छन् ।

बम विस्फोटका घाइतेहरूलाई ज्युँदै इँटाभट्टामा जलाएर मारेको अभियोगमा जिल्लाबाट दोषी करार भएका नेपाली कांग्रेसका पूर्वसांसद आलमसहित चार जनालाई बुधबार उच्च अदालतको वीरगञ्ज इजलासले  ज्यान मुद्दामा सफाइ दिएको थियो ।

२०६४ सालको संविधानसभा निर्वाचनको अघिल्लो दिन रौटहटमा विस्फोट भएको थियो । कांग्रेस उम्मेदवार आलमको घरमा बम बनाउने क्रममा विस्फोट भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस