सगरमाथाको चुचुरोमा नथामिएका निमाका आँशु

द एभरेष्ट पोष्ट
१७ जेठ २०८२ १८:३२
सगरमाथाको चुचुरोमा नथामिएका निमाका आँशु

दीर्घराज उपाध्याय ।

कोलोराडो, ३० मे ।
१८ अप्रिल २०१४ को बिहान करीव ६ बजेर ३० मिनेट जाँदा सगरमाथाको चुचुरोमा उक्लिदै गरेको १६ जना आरोहीको टोली १९ हजार फिटस्थित ‘खुम्बु आइसफल’ ले पुरियो । सगरमाथाकै काख खुम्जुङमा जन्मिएका छिरिङ ओङ्चु त्यही हिमपहिरोमा अस्ताए ।

पहिलो पटक सगरमाथा उक्लिन हिडेका छिरिङको शव त्यही साँझ हेलिकोप्टरले पासाङ ल्हामु गाउँपालिका–४ खुम्जुङको आगनमा पु¥याएर फर्किदा उनकी पत्नी निमा डोमाले सोचिन, जीवन सकियो । तीन वर्षीया छोरी र छ वर्षीय छोरा टुहुरा भए । डोमा सहारा विहीन । त्यसपछिका दुई वर्ष घर बाहिर निस्किईनन । रोएर बिताईन ।

सगरमाथाको इतिहासमा यति धेरै मानिसको ज्यान लिने त्यो सबैभन्दा ठूलो दुर्घटना थियो । शेर्पाहरुको बाँच्ने आधार बनेको त्यही सगरमाथाले निमाको भने बाँच्ने आधार खोसेको थियो ।

विदेशीलाई जोगाएर आफू मृत्युको शिकार भएका पथप्रदर्शक शेर्पाहरु सगरमाथाको पश्चिमी भागबाट टुक्रिएको बरफका ठूला टुक्राहरुमा पुरिएका थिए । ती बरफका टुक्राहरु ३४.५ मिटरसम्म बाक्लो र १४.३ किलोग्रामसम्म तौल भएका थिए ।

दुई दिदी र एक दाईकी कान्छी बहिनी निमा सगरमाथा सुन्दै हुर्किईन । बुवा आङ्छुवी शेर्पा भरिया, पथप्रदर्शक हुदै सगरमाथा आरोही भए । बुवाले फर्किदा चकलेट ल्याउथे । बुवा सगरमाथा आरोहणका कुरा गर्थे । उनलाई सगरमाथा आरोहणका कुरा भन्दा चकलेटले खुशी दिन्थ्यो ।

एड्मण्ड हिलारी स्कुलमा ८ कक्षा पढेपछि उनले स्कुल जान पाईनन् । स्कुल छुटेपछि २००५ मा उनी छिरिङ ओङ्चुसंग बैबाहिक बन्धनमा बाधिईन । टे«किङ पेशाका ओङ्चु महिनौपछि घर फर्किन्थे । उनी भान्सा, चुलोचौको र खेतबारीमा व्यस्त हुन्थिन् ।

भनिन्छ, सगरमाथा आरोहण नगर्ने के शेर्पा ?

उनका बुवा आङ्छुवी शेर्पाले १९९३ मा सगरमाथा आरोहण गरिसकेका थिए । उनका पति ओङ्चुले ससुरा आङ्छुवीको पद्चाप पछ्याए ।

सगरमाथामाथि बिजय हात पार्न घरबाट विदावारी भएर निस्किएका उनका पति १८ अप्रिल २०१४ को विहान सूर्योदय नहुदै हिउँमा अस्ताए । ओङ्चुको सगरमाथाको टाकुरामा टेक्ने सपना र जीवन हिमपहिरोमा अस्ताएको त्यो उनको जीवनको कालो दिन थियो ।

विद्यालयको विदामा उनी भरिया भएर नाम्चे पुग्थिन । बुवाले हिमालबाट फर्किदा ल्याउने चकलेटले लोभ्याएर निमामा थाहै नपाई भरिया हुने रहर पलाएको थियो । हिमाल हेरेर धीत नमर्ने शेर्पाहरुको दिमागमा सगरमाथा टेक्ने भूत सवार हुन्थ्यो । तर शेर्पा महिला त्यसमाथि एकल महिलाहरुका लागि सगरमाथा टेक्ने सपना दुरुह थियो । निमा तिनै मध्ये एक थिईन ।

पासाङ ल्हामु गाउँपालिकामा मात्र सगरमाथाले सहारा खोसेका उनी जस्तै २०० एकल महिला थिए । खुम्जुङ गाउँमा ३० जना भन्दा बढि थिए । १८/१९ वर्षको उमेरमा एकल भएका महिलाहरु झै गर्भमै टुहुरा भएका बालबालिकाहरु थुप्रै थिए । ५० वर्षभन्दा माथिको उमेर समूहका महिलाहरुलाई पनि सगरमाथाले एकल बनाएको थियो ।

छोराछोरीलाई पढाउने स्पोन्सर भेटिएपछि उनी दुई वर्षपछि २०१६ मा काठमाण्डौं पुगिन । त्यही बेला काठमाण्डौंमा एकल महिलाहरुको भेला भयो । भेलामा ३० जना सहभागी थिए । संयोजन गर्ने व्यक्ति थिए, कर्मा दाइ ।  उनलाई आङ छिरिङ लामाले सगरमाथा चढ्न हौसला दिए । उनको संस्था आङ हिमालयनले टे«किङ तथा पर्यटनका क्षेत्रमा काम गथ्र्यो ।

भेलापछि उनलाई लाग्यो, अव रोएर बस्न हुदैन । एकल म मात्र होईन रहेछु ।

उनी ४५ दिने आरोहण तालिममा सहभागी भईन । तालिम दिने संस्था थियो, नेपाल पर्वतारोहण संघ । तालिमले उनको हौसला बढायो । उनी जुनिपर फण्डसंग जोडिईन । शेर्पाका एकल महिलाहरुलाई पर्वतारोहणको तालिम र आरोहणमा जुनिपर फाउण्डेसनले सहयोग गर्दै आएको छ । निमालाई पनि जुनिपरले सहयोग गरेको हो ।

उनले पहिलो पटक ६५८४ मिटर अग्लो चुलु ईष्ट हिमाल चढिन् । त्यसपछि उनले सगरमाथा चढ्ने अठोट गरिन । तर उनीसंग सगरमाथा चढ्न पैसा थिएन । उनीसंगै कस्सिईन्, फुरा दिकी ।

उनी काठमाण्डौंबाट खुम्जुङ गईन । आर्थिक सहयोगका लागि महिला समूह गुहारिन । देउँसी र भैली खेलिन । संघसंस्था र आफन्तका अगाडि हात फैलाईन । सबैले गच्छे अनुसार सहयोग गरे । जहाँ ईच्छा,त्यहाँ उपाय । केही समयमै पैसा जुट्यो । त्यसपछि उनी हानिईन, सगरमाथा तर्फ ।

त्यो सगरमाथा, जसले उनको आड, भरोसा, सहारा सबैको खोसेको थिए । जसले अधुरो बनाएको थियो, उनका श्रीमानको टाकुरामा टेक्ने सपना ।

उनी केही दिनमा सगरमाथाको आधार शिविर पुगिन् । र, त्यहाँ केही दिन अभ्यास गरिन् । सगरमाथाको चुचुरो चुम्ने लक्ष्य सहित अघि बढ्नु अघि आधार शिविरमा आफ्ना लुगाहरु प्याक गरिन । चाहिने जति लुगा मात्र लिएर अघि बढ्नि ।  उनले मनमनै सोचिन, सगरमाथाबाट लाश आएपनि छोराछोरीले सुरक्षित रुपमा सामान पाउन ।

उनी हिउँ छिचोल्दै अघि बढ्दै गईन । कही डोरीको सहाराले उक्लिन्थिन । हिउँको कठिन र जोखिमपूर्ण पहिरो उस्तै थियो । त्यसमा ज्यान जाने डर उस्तै । उनी त्यसरी अघि बढ्दै गर्दा सोच्थिन्, श्रीमानले कति दुःख गरेर परिवार पालेका रहेछन् । त्यो सम्झिदा उनी भक्कानिन्थिन् । आँखाबाट आँशु बर्बरती खसिरहदा उनी मनलाई भने दरो बनाउदै अघि बढ्थिन ।

पासाङ ल्हामुले सन्देश दिईसकेकी थिईन्, महिलाहरु पनि हिमाल चढ्न सक्छन् । समाजलाई निमाले थप सन्देश दिनु थियो–एकल महिलाहरु पनि हिमाल चढ्न सक्छन् ।

उनीसंग श्रीमानको अधुरो सपना पुरा गर्ने अर्को दृढ अठोट थियो । श्रीमानले टेकेका ठाउँहरु सम्झिदा उनी रुन्थिन । पहिरोमा पुरिएर जहाँ उनका श्रीमानको मृत्यु भएको थियो, त्यहाँ पुगेपछि त उनले आफूलाई सम्हाल्न सकिनन् । उनी त्यहाँ निकै बेर रोईन । श्रीमानको मृत्यु कति पीडादायी भयो होला ? उनले सास फेर्न पाए होलान कि नाई ? श्रीमानले उद्दारका लागि गुहार मागिरहदा कसैले उनको आवाज सुन्यो होला कि नाई ? कति छटपटिए होलान मृत्यु अघि ? यस्ता थुप्रै प्रश्नहरु उनीभित्र ज्वाराभाटा झै उठेका थिए, त्यो कठ्यांग्रिदो हिउँको चिसोमा ।

बुवाले हिमाल चढेर ल्याएको चकलेट उनलाई झलझली याद आउथ्यो । त्यो बालापन, जतिबेला उनी सोच्थिन्, हिमालमा चकलेट टिप्न पाईन्छ । बाबाले भन्थे, मैले छोरीका लागि हिमालबाट चकलेट टिपेर ल्याएको हूँ ।

उनी त्यहाँ चकलेट खोज्थिन् । तर कहाँ चकलेट भेटिनु ? त्यहाँ आरोहीले छोडेका प्लाष्टिक र खानेकुराका खोष्टा मात्र थिए । त्यतिबेला मात्र थाह पाईन, बुवाले हिमाल चढ्न छोरीले नरोकोस भनेर सधै झुट बोलिरहे । श्रीमान र बुवाले बेहोरेको हिमाल आरोहणको पीडादायी र कष्टकर यात्रा उनले आफैले भोगीरहेकी थिईन् । उनी रोकिईनन । अघि बढिरहिन ।

२३ मे २०१९ मा उनले सगरमाथाको चुचुरोमा पाईला टेकिन । सारा दुःख, कष्ट र पीडा बिर्सिएर उनी खुशीले रोईन । धीत नमरुञ्जेल रोईन । उनीसंगै रोईन, फुरा दिकी । दुई एकल महिलाले शेर्पाको पोशाकमा एकसाथ सगरमाथा चढेर पहिलो पटक ईतिहास रचेको दिन थियो त्यो । आफूलाई अभागी ठान्ने निमाले आफूलाई भाग्यमानी ठानेको दिन थियो त्यो । सधै पीडा, बेदना र पती बियोगमा आँशु बगाएकी निमाका आँखाहरु फेरि एक पटक निथ्रुक भिजेका थिए ।
उनी चिच्याईन । कराईन । र, रोईरहिन डाको छोडेर ।

सगरमाथाको टाकुरामा चढेको त्यो पल सम्झिदै उनले सुनाईन, म जीवनमा दुई पटक निकै रोए । पहिलो पटक श्रीमानको मृत्युमा । दोस्रो पटक श्रीमानको अधुरो सपना पुरा गरेको दिन ।

पीडा, अभाव, बियोगले थिचिएकी निमाले सगरमाथामाथि बिजय हात पारेको त्यो दिन उनी जिन्दगीमा कहिल्यै बिर्सिन सक्दिनन् । त्यो दिन म कसरी बिर्सिन सक्छु ? जुन दिन म सबै पीडा बिर्सिएर खुशीमा रोएकी थिए, भन्छिन्, सधै मेरो पीडा सगरमाथा भन्दा अग्लो थियो । सगरमाथा त्यो दिन मेरो पैताला मुनी थियो ।

हो, सगरमाथा त्यो दिन म भन्दा होचो थियो, छ वर्षपछि उनी यो भनिरहदा उनका आँखामा आँशु उसैगरी बगिरहेका थिए, सगरमाथाको चुचुरो चुमेको दिन उनका आँखाबाट त्यसैगरी आँशु बगिरहेको थियो ।

जीवन र मृत्युको दोसाँधमा ५२ दिन विताएर उनी घर फर्किन । घर पुग्दा सगरमाथा आरोहण गर्ने श्रीमानको अधुरो सपना पुरा गरेकोमा अत्यन्त खुशी थिईन् ।

सगरमाथापछि उनले अन्य थुप्रै हिमालहरुको सफल आरोहण गरिन । धीत कहिल्यै नमर्ने गरी आफू भित्र प्रगाढ भएको आरोहणको नशालाई नेपालमै छोडेर अमेरिका हानिने निमाले कहिल्यै सोचेकी थिईनन् ।

४० वर्षको उमेरमा उनी एसएलसी दिएका छोरा पेम्बा छेतेन र ९ कक्षामा अध्ययनरत छोरी निमा याङ्जीको सुखद भविश्यको चिन्ताले सबैचिज छोडेर अमेरिका पुगेकी छन् ।

छोराछोरी उनलाई हिमाल नचढ्न आग्रह गर्थे । छोराछोरी भन्थे, बुवा हिमालमै बित्नुभयो । तपाई पनि बिते हाम्रो अवस्था कस्तो होला ?

हिमाल चढेपछि धेरै पैसा पाईन्छ, उनी सम्झाउथिन्, त्यही पैसाले तिमीहरुलाई पढाउनेछु ।
उनी सगरमाथा चढेर फकिईन । तर आर्थिक अभाव उस्तै रह्यो ।

सगरमाथापछि उनी माउण्ट आमादब्लम, चोलात्से, आईसल्याण्ड र लोबुजे पीक चढिन।

सगरमाथाको काख र उसको त्यो अटुट प्रेम खुम्जुङमै छोडेर अमेरिका पुगेकी निमाले धमिलो साँझमा कोलोराडोको शेर्पा हाउसमा भएको भेटमा भनिन्, यतिबेला छोराछोरीकै लागि यहाँ छु । समयसंगै गन्तव्य, सपना र बाटो परिवर्तन हुदो रहेछ । मेरो हकमा पनि त्यही भयो ।

अमेरिकाका लागि निमालाई युएस शेर्पा ब्राण्डले स्पोन्सर गरेको हो । अमेरिकाबाट फर्केर बाँकी जीवन नेपालमै पर्वतारोहणमै बिताउने चाहना बताउन पनि उनी चुकिनन् ।

जेठाजु ओङगेल शेर्पाको लुगाको कम्पनी छ, युएस शेर्पा । निमा त्यही ब्राण्डको एम्बेसडर हुन्  । त्यही ब्राण्डको निमन्त्रणामा उनी पहिलो पटक २०२२ मा अमेरिका आईन् । केही महिनापछि उनी नेपाल फर्किईन । त्यसको केही समयपछि स्पोन्सरको निमन्त्रणामा स्पेन पुगिन । दुई महिनापछि त्यहाँबाट पनि फर्किईन ।

लडाईमा मारिने सिपाहीलाई सरकारले शहीद घोषणा गर्छ । उसको परिवारलाई राहत, क्षतिपूर्ति र आजीवन पेन्शन दिन्छ, उनले आफूभित्र दबिएका थुप्रै प्रश्नहरु एक साथ ओकेलिन्, देशका लागि मर्ने आरोही र पथप्रदर्शक शेर्पाको जिन्दगीको के कुनै मूल्य छैन् ? उनीहरुलाई राज्यले सम्मान गर्न पर्दैन ? उनीहरुका परिवारलाई राहत, क्षतिपूर्ति र पेन्शन दिनु पर्दैन ?

सगरमाथा चिनाउने शेर्पाहरु देश किन छोडिरहेका छन्, सरकारले कहिले सोधीखोजी गर्ला ? उनले छुट्टिदा अन्तिम प्रश्न गरिन् ।

One thought on “सगरमाथाको चुचुरोमा नथामिएका निमाका आँशु

  1. गजबको स्टोरी छ, यो पढेर मेरो आँखा नै रसाएर आयो..!! धन्यवाद छ दीर्घराज उपाध्याय भाइलाई..!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस