सुदूरपश्चिमका द्वन्द्वपीडित : कोही न्यायको आसमा, कोही आफन्तको पर्खाइमा

द एभरेष्ट पोष्ट
१६ जेठ २०८२ १४:३६
सुदूरपश्चिमका द्वन्द्वपीडित : कोही न्यायको आसमा, कोही आफन्तको पर्खाइमा

काठमाडौँ :  २०५९ कात्तिक १५ को साँझ । ७ बजे रेडियो नेपालमा समाचार बज्यो- ‘सरकारी फौज र आतंककारीबीचको झडपमा गोली लागेर कैलालीको पहलवानपुरमा एकजनाको निधन भएको छ । मृतक पवेरा गाविस-१ का आशाराम (परिवर्तित नाम/ठेगाना) रहेको पुष्टि भएको छ ।’

छेउमै बसेर समाचार सुनिरहेकी फूलमती (परिवर्तित नाम) आत्तिँदै रेडियो नजिकै गइन् । पूरा समाचार सुनेपछि उनको मनमा चिसो पस्यो । नपसोस् पनि कसरी, खबरमा भनिएको ठाउँ, गाउँ र मृतकको नाम श्रीमान्‌सँग ठ्याक्कै मिलेको थियो । परिवारमा रुवाबासी चल्यो । फूलमती त्यो सामचार सत्य मान्न तयार थिइनन् । उनी सासू-ससुरालाई सम्झाउन थालिन्, ‘आशारामलाई केही भएको छैन । घर आउने समय भयो । अब आइपुग्नुहुन्छ ।’

फूलमतीले भनेजस्तै आशाराम त आएनन्, बरु गाउँभरिका मान्छे भने दौडिएर घरमा आइपुगे । कसैले खबर ल्यायो, ‘पहलवानपुरमा मारिएको मान्छे आशाराम दाइ नै हो रे ।’ केहीबेरमै खबर पक्का भयो- हत्या गरिएका व्यक्ति फूलमतीकै श्रीमान् थिए ।

आशाराम न कुनै नेता न सुरक्षाकर्मी । गाउँका सामान्य पसले थिए । तर समाचारमा उनका लागि माओवादी, आतंककारीजस्ता शब्द प्रयोग भए । सदाझैं पसल खोल्न बिहानै घरबाट हिँडेका उनी त्यसपछि कहिल्यै फर्किएनन् । कसले गोली चलायो ? किन हत्या गरियो ? शव कहाँ छ ? कुनै उत्तर थिएन । दोस्रो दिन बिहान फूलमती पसल पुग्दा तोडफोड र सामान लुटिएको रहेछ ।

आसपासका केही मान्छेले माओवादी हो भन्दै सेनाले लगेको उनलाई सुनाए । ‘त्यो द्वन्द्वकालीन समयमा प्रश्न सोध्न पनि सकिँदैनथ्यो,’ फूलमती भन्छिन्, ‘सास नभए पनि लास त भेटिएला भनेर धेरै कोसिस गर्‍यौं तर पाएनौं ।’

श्रीमान्‌को हत्यारालाई करबाही गर्न भन्दै फूलमतीले जिल्ला प्रहरी कार्यालय कैलालीमा मुद्दा दर्ता पनि गरिन् । न्याय त परको कुरा, न छानबिन भयो, न चित्तबुझ्दो जवाफ आयो । उल्टै उनलाई माअेवादी हो भन्दै अपहरण गरेर अत्तरियाको तेघरी ब्यारेक पुर्‍याइयो । त्यहाँ शारीरिक र मानसिक हिंसा भोगेको उनी सुनाउँछिन् ।

फूलमती २६ वर्षको उमेरमा विधवा भइन् । दुई सन्तान हुर्काइन् । सरकारबाट सहयोगका नाममा १० लाख रुपैयाँ पाइन् । त्यो पैसाले केही सहयोग त पुग्यो तर श्रीमान्‌का अगाडि खासै ठूलो अर्थ राखेन । उनको माग पैसाभन्दा हत्यारालाई कारबाही होओस् भन्ने थियो । अब त्यो आस पनि मरिसकेको छ ।

श्रीमान्‌को सम्झनामा फूलमतीले दुई कुरा चटक्क छाडिन् । एउटा पहलवानपुरको पसल, अर्को रेडियो । भन्छिन्, ‘आज पनि कतै रेडियो बजेको सुन्दा डर लाग्छ ।’ श्रीमान् बितेको २३ वर्ष बिते पनि रेडियोको त्यो खबर अझै उनको कानमा गुञ्जिरहन्छ ।

कैलालीकी कृष्णीदेवी चौधरीको कथा पनि फूलमतीको भन्दा फरक छैन । उनका श्रीमान् विनोद चौधरी ०५८ फागुन २७ गते कामको सिलसिलामा घरबाहिर जाँदा अपहरणमा परे । त्यतिबेला विनोद कैलालीको शिव प्राविका स्थायी शिक्षक थिए ।

फागुन २७ देखि ०५९ जेठ १५ सम्म तेघरी ब्यारेकमा राखिएका विनोदलाई त्यो बेलासम्म खाना, लत्ताकपडा लगेर कृष्णीले पनि भेटेकी थिइन् । तर जेठ १६ गते राति ब्यारेकबाट सरुवा गरिने भन्दै त्यहाँबाट बेपत्ता पारेको उनले बताइन् । ‛जेठ १५ सम्म त उहाँ त्यहीँ हुनुहुन्थ्यो । तर १६ गते राति त्यहाँबाट सरुवा गर्ने भनेर लगियो । हामीलाई त लगेको पनि थाहा थिएन । उहाँ सँगै बस्नुभएको साथी अनिल चौधरीले भनेपछि थाहा पायौं । आँखामा पट्टी बाँधेर लगेका हुन् रे,’ उनले भनिन् ।

बेपत्ता भएको १९ वर्षसम्म कुनै खबर नआएपछि आफन्तको सल्लाहमा ४ वर्षअगाडि श्रीमान्‌को अन्तिम संस्कार गरेको उनले सुनाइन् । सहयोगका नाममा सरकारबाट उनले केही पाएकी छैनन् । ‘परिवारमा एकजनालाई रोजगारीको व्यवस्था गरिदिए सहज हुने थियो,’ उनी भन्छिन् । बुवा बेपत्ता हुँदा ३ वर्षका उनका छोरा अहिले २५ वर्षका छन् ।

कञ्चनपुरकी लक्ष्मीदेवीले भने छोरी परलोटीको बाटो कुरेको २३ वर्ष कट्यो । ०५८ फागुन १३ गते विद्यालय गएकी परलोटी त्यसपछि घर फर्किइनन् । १५ वर्षकी उनी सधैंजसो त्यो दिन पनि बिहानै विद्यालय गइन् । साँझसम्म नफर्किएपछि अभिभावकले खोजी सुरु गरे । छोरी त फेला परिनन् तर परिवारले उनको अपहरण भएको जानकारी भने पाए । अपहरण भएको तेस्रो दिन फागुन १६ गते जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा खोजीको अपिल गर्दै अभिभावक पुगे । तर, केही पत्ता लागेन । त्यसयता राष्ट्रिय मानव अधिकार आयोग, माइती नेपाल, इन्सेक, कारागार र हेडक्वाटरसम्म पुग्दा पनि परलोटी फेला नपरेको लक्ष्मीको पीडा छ ।

‘बिहान राम्रैसँग स्कुल गएकी छोरीलाई स्कुलबाटै अपहरण गरेर लगे । त्यसपछि खोजीनिती गर्दा आर्मीको ब्यारेकमा छ भन्ने थाहा पायौं । त्यहाँ हामीलाई जान दिइएन,’ उनी भन्छिन्, ‘कति दिनसम्म त यतै छ भन्थे, पछि कता लगे थाहै भएन ।’ २३ वर्षपछि पनि लक्ष्मीलाई त्यो दिनले पोलिरहन्छ ।

छोरी फर्किन्छे कि भन्ने आस उनले अझै मारेकी छैनन् । ‘मलाई मेरी छोरी बितेको छ जस्तो लाग्दैन । कतिबेला टुप्लुक्क आउँछे अनि आमा भनेर बोलाउँछे जस्तो लाग्छ,’ लक्ष्मीले रुँदै भनिन् । छोरीको अवस्थाबारे पटकपटक सरकारसँग आग्रह गर्दा पनि आश्वासन मात्रै पाएको उनको गुनासो छ । सरकारबाट उनले अहिलेसम्म २ लाख क्षतिपूर्तीबाहेक अरु केही पाएकी छैनन् । आफूलाई राहत नभई छोरी चाहिएको लक्ष्मी बताउँछिन् ।

फूलमती, कृष्णी र लक्ष्मी प्रतिनिधि पात्र मात्रै हुन् । राज्य पक्ष र तत्कालीन माओवादीबीच भएको सशस्त्र द्वन्द्वमा मारिएका, बेपत्ता परेका र अंगभंग भएका सबै परिवारको अवस्था लगभग उस्तै छ । ०७१ सालको माघमा सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गठन भए । तर जुन उद्देश्यका साथ आयोग बने राज्यले त्यो पूरा गर्न सकेनन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका सुदूरपश्चिम प्रदेश प्रमुख खडकराज जोशी द्वन्द्वपीडितका लागि आयोगले कुनै पनि काम गर्न नसकेको बताउँछन् । ‘आयोगले इमानदारीसाथ काम गरेन । जसका लागि गठन भए, तिनै द्वन्द्वपीडित यिनका विरुद्धमा आवाज उठाउँछन्,’ जोशी शंका व्यक्त गर्छन्, ‘यी आयोगले वास्तविक पीडितका लागि काम गर्लान् भन्ने पनि आस छैन ।’Victims of conflict in Far West: Some are hoping for justice, some are waiting for their relatives

इन्सेकको तथ्यांकअनुसार सशस्त्र द्वन्द्वबाट सुदूरपश्चिममा १ हजार ६ सय ८२ जना प्रभावित भएका छन् । जसमध्ये १ हजार ५ सय ५८ जनाले ज्यान गुमाएका छन् भने ५९ जना बेपत्ता पारिएका छन् । यस्तै, ६५ जना अपांग भएका छन् । प्रभावितहरुमा १ हजार ४ सय ७३ पुरुष र २ सय ९ जना महिला छन् ।

द्वन्द्वमा हिंसा र यौन हिंसामा परेका महिलालाई सरकारले अभिभावकत्व प्रदान गर्नुपर्नेमा उनीहरु लक्षित काम गर्न नसकेको राष्ट्रिय द्वन्द्वपीडित महिला सञ्जाल कैलालीकी अध्यक्ष कृति चौधरी बताउँछिन् । ‘द्वन्द्वपीडत महिला अहिले पनि त्यो घटनाबाट माथि उठ्न सकेका छैनन्,’ उनी भन्छिन, ‘अझ यौन हिंसामा परेका महिला त गम्भीर स्वास्थ्य समस्या र मानसिक समस्या भोगिरहेका छन् ।’

उनका अनुसार द्वन्द्वमा यौन हिंसामा परेको थाहा पाएपछि पीडित महिलाहरु परिवारबाट पनि हिंसा भोगिरहेका छन् । सरकार द्वन्द्वपीडतका समस्या र मुद्दाबाट पन्छिन नमिल्ने उनी बताउँछिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस