कांग्रेस पूर्वसांसद आफताब आलमले उच्च अदालतबाट पाए सफाइ

पर्सा १४ जेठ । रौतहटमा भएको बम विस्फोटका अभियुक्त मोहम्मद आफताब आलमलाई उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जले सफाइ दिएको छ ।
जिल्ला अदालत रौतहटको आदेशलाई उल्ट्याएर उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जले आलमलाई रिहा गर्न आदेश दिएको हो ।
न्यायाधीशद्वय खुसीप्रसाद थारु र अर्जुन महर्जनको इजलासले बुधबार जिल्ला अदालतको फैसला उल्ट्याउँदै सफाइ दिएको हो ।
आलम जिल्ला अदालत रौतहटको आदेशविरुद्ध उच्च अदालत जनकपुरको वीरगन्ज इजलासमा पुगेका थिए । उक्त इजलासले पनि जिल्ला अदालतको पुर्पक्षका लागि थुनामा राख्न दिएको आदेश सदर गरेको थियो ।
पहिलो संविधानसभाको निर्वाचनको पूर्वसन्ध्यामा २०६४ चैत २७ गते राति अहिलेको राजपुर नगरपालिकाको फरदवा गाउँमा भएको बम विस्फोटको घटना र त्यसपछि प्रमाण नष्ट गर्न २३ जनालाई इँटाभट्टामा जिउँदै जलाएर मारेको अभियोगमा नेता आलम, उनका भाइ मोहम्मद महताब आलम र शेख सराजसहित ११ जनाविरुद्ध ०७६ साल कात्तिक १८ गते मुद्दा दर्ता भएको थियो । सोही मुद्दामा कांग्रेस नेता आलम ०७६ असोज २६ मा पक्राउ परेका थिए ।
उच्च अदालतले संकलित सबुद प्रमाणबाट मोहम्मद आफताब आलमको घरमा २०६४/१२/२७ मा बम विस्फोटको वारदात वस्तुनिष्ठ प्रमाणले पुष्टि हुन नसकेको, घाइते भनिएका पिन्टु भनिने त्रिलोकप्रसाद सिंह र ओसी अख्तरलाई ट्याक्टरमा हाली राजा इँटाभट्टामा लगी पोलेको भन्ने ठोस सबुद प्रमाण भेटिन नसकेको र विधि विज्ञान प्रयोगशालाबाट पनि मृतकलाई इँटाभट्टामा पोलेको अभियोग लागी पुष्टि हुन नसकेको सफाई दिएको जनाएको छ ।